Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मौलिकता र संस्कृतिको संरक्षण

Posted on September 2, 2014September 2, 2014 by सुदर्शन

– ध्रुव थापा /क्यालिफोर्निया

ब्रिटिश उपनिवेशवादले कहिले छुन वा अतिक्रमण गर्न नसकेको नेपाल सगरमाथा झैँ शिर उच्च पारेर गर्ब गर्छ। तर त्यहि नेपालका सन्तान अहिले ब्रिटिस सेना र लाहुर हुदै बैदेसिक रोजगारी, बिद्यार्थी, डिभी भिसा र अनेक बहानामा विश्वको हरेक कुनामा काम र दामको खोजीमा पुगेकाछन। अहिले नया विश्व नेपाली समाजको स्थापना भइ रहेको छ जसको क्रम दिन प्रतिदिन बाडिने रहेको छ। तर नेपाली जहि गएपनि एउटा हृदयको टुक्रामा सिंगो नेपाललाई बोकेर गएको हुन्छ र बोकेको हुन्छ सगरमाथा र गौतम बुद्धलाई । उ पुगेको देशमा यदि उसले नेपाल चिनाउन सकेन भने उसले त्यहाँ सोहि दुइटा नाम लिए पुग्छ र त्यसैको प्रयोग प्राय नेपालीले गर्ने गर्छन ।त्यसैले होला नेपालमा भन्दा बिदेशमा बस्ने नेपालीलाई आफ्नो देश, भाषा, रिति रिवाज र भेष भूषाको सधै माया लागिरहेको हुन्छ। सायद आफ्नो “आइडेण्टीटी क्राइसिस” जोगाउन त्यसो गरेको हुनु पर्छ।

देशमा भन्दा परदेशमा नेपाली मौलिकताको महत्व हुन्छ, त्यो हुनु स्वाभाविक पनि हो , किनकी हरेकले परदेशमा आफ्नो परिचय र पहिचान खोजिरहेको हुन्छ। जसको ज्वलन्त उदाहरण भारत, भुटान र बर्मामा रहेका नेपालीहरुको संस्कार, रिति रिवाज आज पनि त्यहि छ जुन उनीहरुले एक सताब्दी अघि देखि मान्ने गर्थे। त्यसैले नेपालमा धेरै कुराको परिवर्तन आइ सक्दापनि ति देशहरुमा रहेका नेपालीहरुमा त्यहि मौलिकता रहेको पाइन्छ जुन अहिले नेपालमा समेत पाइदैन। त्यसको मुख्य कारण भनेको उनीहरुका पुर्खाले त्यस समयमा लिएर गएका त्यहि धरोहरलाई आज पर्यन्त सम्हालेर राखेको हुन् ।

जसले जुन बेला जे लिएर विदेशिए त्यसैलाई संगाली राख्नु मानिवीय स्वभाव पनि हो। जस्तै हामी परदेशमा सबै भन्दा धेरै के को कमि महसुस गर्छौ ? यसको एउटा सहज उत्तर छ त्यहि कुराहरु जुन हामीले दैनिक जीवनमा आफ्नो देशमा हुदा गरेका थियौ। त्यसैले अहिले पछिल्लो कालमा आएर विदेशिने नेपालीले आफु संगै नया नेपाल , नया राजनीतिक, सामाजिक र जीवन शैलीलाई लिएर आएका छन् जसको कारण अहिले नया सोच र बिचारको साथ् आफ्नो भाषा, संस्कृती देखि नेपाली राजनीतिमा संघियता र जातीय पहिचानको आवाज अत्यधिक रहेको पाइन्छ। त्यो हो समय अनुसारको परिवर्तन र आफु सित् लिएर विदेशिने मानसिकता। अहिले यहि बिषयले नेपालीहरु बसोबास गर्ने देशहरु र विश्वको हरेक कुनामा जरो गाड्न थालेको विभिन्न नेपाली जातीय, प्रान्तीय र मुलधार पार्टीका भात्री संगठन खोलिनुले पुस्टि पारेको छ। त्यो अहिलेको समयको मांग र हामी आफ्नो देशमा हुदा देखेको , भोगेको र प्रत्यक्ष जीवनमा यसले प्रभाव पारेको हुनाले हामी जहि गएपनि हामि संगै यो एउटा संस्कारको रुपमा लिएर आएका हौ ।

त्यहि कुराहरु अन्य देशबाट आएका नेपाली मुलका मानिस हरुमा पाईंदैन जस्तै भुटान, बर्मा र भारतबाट आएका नेपालीहरुमा यो सब भिन्नता छैन किनकि उनीहरुले त्यो संस्कारमा देश छाड्न अघि अनुभव गर्न पाएनन् त्यसैले उनीहरुमा जातीय, प्रान्तीय र राजनीतिक भिन्नता अहिले नेपालबाट आउने नेपालीहरु भन्दा धेरै कम छ। उनीहरुलाई जातीय वा प्रान्तीय भन्दा रास्ट्रीय अस्तित्वले धेरै महत्व राख्छ त्यसैले भारतीय गोर्खा र गोर्खाल्याण्डको आन्दोलन बंगालले जातीय बिभाजन ल्याएर आन्दोलनलाई कमजोर बनाउन खोजेको प्रस्टै देखिन्छ। त्यो एउटा राजनैतिक दाउ पेच हो जसले गर्दा आफ्नो शक्ति बनाइ राख्न जनताको सबै भन्दा संबेदनशील बिषयलाइ हतियार बनाएर आफ्नो स्वार्थ पूर्ति गर्न खोज्नु हो । त्यसको एउटा उदाहरण ब्रिटिशले भारत र पाकिस्तानलाई त्यहि संबेदनशील बिषयलाई मुख्य हतियार बनाएर एक अर्कामा अहिले सम्म पनि लडी रहने बनाएर गयो।

त्यसै गरि नेपाली मुलका भुटानी सरनार्थीले आफ्नो रिति रिवाज भाषा संस्कृति त्यतिकै माया गरेका छन् र उनीहरुमा हाम्रो जस्तो त्यति धेरै भेदभाव छैन, हालै एउटा भुटानी गायकले क्यालिफोर्नियामा भएको एउटा कार्यक्रममा गीत गाउदा भनेको कुरा यहाँ राख्न मन लाग्यो, उसले गीत गाउँन अघि स्टेजबाट भनेको थियो ,” यो तपाईहरुको रास्ट्रिय गीत हो तर मलाई अति मन पर्छ, त्यसैले म त्यहि गीत बाट सुरु गर्छु”, त्यो भन्नु को अर्थ के हो त ? किनकी त्यहाँ उसले आफ्नोपन महसुस गरेको हुन्छ त्यहा एउटा नेपालीपन झल्केको हुन्छ र उसलाई त्यहि नेपालीपन मन पर्छ।
त्यसैले त जब हामी आफ्नो देसलाई छोडेर परदेशमा हुन्छौ त्यहा एउटा मेचीकोले महाकालीको लाई भेट्दा होस् वा एउटा जातिले अर्को जातिलाई भेट्दा आफनै सहोदर भाइ भतिजा भेटे जस्तै गर्छन , त्यहाँ अरु कुनै भेदभाव हुदैन हुन्छ त मात्र रास्ट्रीयता , आत्मियता र सद्भावना। त्यसैले बिदेशमा हामी नेपालीले गर्ब गर्ने एउटै बिषय के छ भने हामी जुन धर्म वा जातिको पर्व भए पनि सबैले आस्थासहित संगै मनाउने गरछौ । यही सहिष्णुता र सद्भावपूर्ण व्यवहार नै नेपाली संस्कृतिको विशेषता हो।

तर समय, काल र परिस्थित अनुसार बिस्तारै संस्कृति र सांस्कृतिक मान्यता बदलिन थालेको छ। बिदेशमा मात्रै नभइ नेपालमै पनि आधुनिकता र बिश्वब्यापीकरणले गर्दा पश्चिमी संस्कृति, रहन सहन र भोजनले स्थान पाउन थालेको छ। अहिले नेपालमा “पिज्जा र फास्ट फुड कल्चरले” युवा पिडीलाई प्रभाव पारि रहेको छ। त्यस्तै केहि दसक अघि “चाउ चाउ संस्कारले नराम्रो जरा गाडेको कारण धेरैलाई यो हाम्रो मौलिक खाना वा नास्ता हो जस्तो लाग्नु स्वाभाविक हो। जसको फलस्वरूप थाहै नपाई नेपाली संस्कृति र मौलिकता लोप हुने स्थितिमा पुग्न थालेको छ। अहिले नेपालदेखि लिएर विदेशमा बस्ने नेपाली समुदायमा समेत यसले धेर थोर प्रभाब परिरहेको छ। हाम्रो भाषा, संस्कृति र हाम्रो मौलिकता रहेसम्म नेपालीको अस्तित्व कायम रहन्छ। मौलिक संस्कारलाई मूल्य , मान्यता र श्रद्धा अनुरूप निरन्तरता दिएमात्र संस्कृतिको जगेर्ना हुन्छ । किनभने त्यही परम्परागत, अलौकिक बिबिध संस्कृति नै हाम्रो पहिचान हो। जहाँ भाषा र संस्कृतिको कुरा छ त्यहि गासिएको छ हाम्रो मौलिक परिकारहरु जुन हरेक जात जाति र प्रान्त अनुसार फरक मात्रै छैन त्यसको एउटा बिसिस्ट स्थान समेत रहेको छ।
संस्कृति र मान्यतामा ह्रास आउन नदिन हामी आफ्ना क्रियाकलापमा सचेत हुनैपर्छ। आफ्नो मौलिकता नगुमाई विदेशी भूमिमा रहेरै पनि नेपाली संस्कृतिलाई निरन्तरता दिनु अहिलेको आवस्यकता हो नत्र बिदेशी भूमिमा जन्मेको हाम्रो सन्तानले हाम्रो संस्कृति , रिति रिवाजलाई हल्का रुपमा लिने र केहि बर्ष पछि मान्न छाड्ने स्थिति नआउला भन्न सकिन्न। अहिलेका “हाइ टेक” बाल बालिकाहरुलाई केहि सिकाउनै पर्दैन उनीहरुले त हामीले गरेको क्रिया कलापबाट नै धेरै कुरा सिकी रहेका हुन्छन। यो मनोबैज्ञानिक पद्दति हो। आजका बाल बालिकाहरुलाई कुनैपनि बिधुतिय वा नया “इलेक्ट्रोनिक” सामग्रीहरु चलाउन सिकाइ रहनै पर्दैन हेर्दा हेर्दै उनीहरु चलाउन थालि सकेका हुन्छन बरु हामीहरु उनीहरुबाट कसरि चलाउने भनेर सोधी रहेका हुन्छौ। त्यसैले हामीले बिदेशमा बसेर मनाउने रिति रिवाजलाई किन र कसरि मनाउनु पर्छ त्यसको ज्वलन्तन उदाहरण आफुले गरेर देखाउनु पर्छ ताकि उनीहरुले सहि र सत्य कुरोको अनुसरण गर्न सकुन, तर अहिले बिडम्बना स्वरुप यसको मूल्य र मान्यतामा आएको फरकले आत्मीयता र आस्था भन्दा बढी व्यावसायिक र भड्किलो आधुनिकताले बिकरालरूप लिनथालेको छ। त्यो हामीले हाम्रो सन्तानलाई दिन खोजेको संस्कृति र परम्परा कदाचित होइन। “सय थरि बाजा एउटै ताल भने जस्तै , अहिले सय थरि संस्था एउतै चाल” हुने हो भने भविस्यमा हाम्रो सन्तानले हामीले मान्दै र धान्दै आएको नेपाली संघ सस्था देखि आस्थालाई पनि तिलान्जली दिएर पश्चिमी संस्कृतिमा हराउने छन्।

समाजमा हाम्रो रिति रिवाज र खानपान एक आपसका परिपुर्वकहरु हुन् । हाम्रो खाना र परिकार संस्कृति चिनाउने साधन मात्र नभई सभ्यताको सूचकपनि हो । अझ हामी बिदेशमा बस्नेको लागि त हाम्रो रिति रिवाज र परिकार हाम्रो पहिचान पनि हो तर अहिले यो आधुनिकता र देखासेकिले गर्दा हाम्रो मौलिकता धरापमा पर्न थालेको छ, नेपाली जात -जातिहरुको आ-आफ्नो मौलिक खानाहरु छन् । सगरमाथाको फेदी सोलुखुम्बु देखि तराईको फाँट सम्म आउदा दुरी धेरै तय गर्नु त पर्दैन तर भाषा संस्कृति , रिति रिवाज र मौलिकतालाई हेर्दा नेपाली कति धनि छ भनेर भनि रहनु नपर्ला। त्यसैले यहाँ हरु सबैलाई बिनम्र अनुरोध गर्छु के तपाइँ आफ्नो जात जातिको चाड पर्व र मौलिक खाना के के हो तल कमेन्टमा लेख्न सक्नु हुन्छ? यहाँ तपाइँ सबैलाई आफ्नो जात र मौलिकता सेर गर्ने थलोको रुपमा प्रयोग गर्न आग्रह गर्दछु। आउनुहोस हामि सबै मिलि आफ्नो मौलिकता र संस्कृतिको संरक्षण गरौ।

1 thought on “मौलिकता र संस्कृतिको संरक्षण”

  1. लौटन अवधि says:
    September 2, 2014 at 10:29 am

    धैत विदेश जादा को अनुभब मेरो : नेपाल मा पनि त्यति धेरै सस्था र बिभाजन छैन होला जति विदेश मा बस्ने नेपालि हरु मा बिभाजन छ ! कुनै अमुक सस्था को सदस्य को घर मा बसे बापत अर्को सस्था ले गर्न लागेको कार्य क्रम समेत रद्द गरेको अनुभब छ मेरो !

    जातिय सस्था त हुदै भै हाले ! गुरुङ मा पनि तमु र गुरुङ समाज हुने रहेछ ! तमु को कार्यक्रम मा गयो भने गुरुङ रिसाउने गुरुङ को कार्यक्रम मा गयो तमु रिसाउने खै के भिन्नता रहेछ कुन्नि ! नेपाल मा त गुरुङ भएनी तामाग भएनी तमु : भन्दै हिड्या देखिन्छ !पार्टीका दास हरु त पुग्या छन् पुग्या छन् ! एन आर एन देखि क्षेत्र, अञ्चल, जिल्ला, गाबिस, टोल हुदा हुदा खोला को नाम बाट समेत सस्था बनाएर हिड्या छन् !

    मेरो भनाइ को तात्पर्य के हो भने सस्था बनाउनु नराम्रो होइन तर पानि बाराबार को स्थिति ल्याउनु चाहि घातक हो ! आपस मा लड़ामति र एक ले आर्को लाइ गिराउनु नै मुख्य उदॆस्य देखियो यी सस्था हरु को !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme