Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोइरालाको हात्माकथा : … अनि रक्तपात टर्‍यो !

Posted on August 23, 2014August 23, 2014 by mysansar

ananta २०३६ सालमा जनमत संग्रहको प्रचार प्रसार भैरहेको थियो। सुधारिएको पञ्चायत कि नसुध्रेको प्रजातन्त्र भन्नेमा व्यापक तयारी थियो। पञ्चायती शासकहरु जोडबलले पञ्चायत सुधार्छौं भन्दै उफ्रिरहेका थिए। म जन्मेकै थिइनँ।

उबेलाका जिल्ला सभापति थिए। बडेमानको भुँडी भएका। उनी एउटा सेतो घोडा चढ्थे, हट् घोडा हट्। ती सभापति हाम्रो घरमा आए। घोडाबाट ओर्ले र बुबालाई पञ्चायतमा भोट हाल्न भने। म जन्मेकै थिइनँ तर मसँग जन्मिने धैर्य नै थिएन। प्रजातन्त्र र स्वतन्त्रताको पक्षपाती मजस्तो मान्छेका बाउलाई पञ्चायतलाई भोट हाल्न उक्साउने? । म सिधा बुबाको जिब्रोमा आएँ र सभापतिलाई भनेँ, ‘तपाइँलाई कसले अधिकार दियो पञ्चायतलाई भोट माग्न? प्रजातन्त्र हाम्रो आस्था हो, पञ्चायतलाई भोट हाल्न मेरो छाती चिरिनुपर्छ। ओखलढुंगाको मान्छेलाई पञ्चायतलाई भोट हाल्नुस् भन्ने?’

सभापतिले भने, ‘एकपटकलाई पञ्चायत सुध्रिने मौका दिनुस्, तातो रीस नगर्नुस्।’ मैले मान्ने कुरै थिएन। ‘जसले प्रजातन्त्रलाई भोट हाल्न रोक्छ, त्यसलाई अगाडि लाइनमा बसेर म भुटदिन्छु। तपाइँलाई थाहा छ, ओखलढुंगामा बच्चा जन्मिँदा समेत प्रजातन्त्र, स्वतन्त्रता भनेर रुन्छ।’ उनी केही हच्किए। मैले त मिलाएर गर्नुस् भनेको हुँ, आगे तपाइँको मर्जी। भोलि यही समाजमा बस्नुपर्छ भन्दै आँखा तरे। र फेरि हट्ट घोडा हट् गर्दै गए। धन्न केही अनर्थ भएन र जनमत संग्रहमा रक्तपात टर्‍यो।

*** ***

२०४६ सालमा बहुदलीय व्यवस्था जिन्दावाद भन्दै नारा लाग्न थाल्यो। गाउँमा जान्नेसुन्नेहरु झन्डा बोकेर नारा लगाउँदै हिँड्न थाले। नारामा के भन्थे थाहा छैन तर हामी फुच्चेहरु चाहिँ सिमाली र बाँसका लौरा बोकेर दौडिन्थ्यौं। झटन झटन- जिन्दावाद भन्दै लौरा माथि माथि उठाउथ्यौं। एकदिन नारा लाउँदै गाउँ डुल्ने क्रममा पञ्चायती खेमाकाहरुले डाँडाबाट घेरा हालेछन्। म स्कुलबाट भर्खर घर पुगेको थिएँ। गाउँमा एककिसिमको डर व्याप्त थियो।

मेरो चुप लागेर बस्ने स्वभाव थिएन। पञ्चहरुले घेरा हालेको ठाउँतिर अघि बढेँ। हेर्छु त, बहुदलबादीहरू तल खोलामा छलिएर बसेका छन्, पञ्चहरू डाँडामा। माथिबाट ढुंगा लडाएर मार्लान् भन्ने त्राही त्राही छ। बहुदलबादीहरू त्यही १०-१५ को संख्यामा थिए, उता पञ्चहरुको ठुलो ग्यांग। मैले झट्ट दिमाग लाएँ। ५ जनाजति तल खोलैमा बस्ने र पञ्चहरुलाई भुलाउने। बाँकी सबै छलिएर पञ्चभन्दा माथि डाँडामा जाने र आक्रमण गर्ने।

बहुदलबादीहरुलाई मेरो जुक्ति मन पर्‍यो। मेरो अगाडि एकजना मभन्दा उमेरमा अलि ठुलो दाजु थियो। उ त छलिएर हिँड्नुपर्नेमा नडराई पञ्चहरुको सिधै हिँड्ने। मैले भनेँ, ‘दाजु, लुकेर हिँड्नुस्, ढुंगा लडाए भने त मरिन्छ।’ उनले भने, ‘यी मुला पञ्चहरुको त्यत्रो हुति नै छैन। ठुलो समुह देखाएर तर्साउने मात्र हुन्। बहुदलका लागि ज्यान दिइन्छ।’ त्यसदिनदेखि उनीप्रति मेरो सम्मान बढेर गयो। उनले भन्दा पो थाहा पाएँ म पनि सिधै तलबाटै हिँडिरहेको रहेछु।

हामी लुकेरै पञ्चभन्दा माथि पुग्यौं। उनीहरुको छेउबाटै एउटा ढुंगो लडायौं। हामी उनीहरूलाई लाग्ने गरी ढुंगा लडाउन सक्थ्यौं। तर हामी रक्तपात होस् भन्ने चाहन्नथ्यौं। भोलि त आखिर मिलेरै बस्नुपर्छ, दाजुभाइ नै हौं भन्ने हाम्रो ध्येय थियो। उनीहरुले तलबाट ढुंगा हानेर तर्साउन खोजे। हामीले फेरि अर्कोतिरबाट ढुंगा लडायौं। ढुंगा उनीहरुको छेउबाटै गयो। अन्तत: उनीहरु हार मानेर भागे।

***  ***

२०५८ सालको एक महिना। पल्लो गाउँमा एकजना पूर्व पञ्चको हत्या भयो। हत्या त्योबेलाका माओवादी भनिने अराजक जत्थाले गरेको थियो। हत्या रातिनै भएकोले बिहानसम्म त्यसको हल्ला हाम्रो गाउँसम्म आइपुगेको थियो। मेरो मन भत्भती पोल्न थाल्यो। म एकपटक मेरा भान्दाइसँग प्रौढ शिक्षाको चेकजाँचका क्रममा ती पञ्चको घर पुगेको थिएँ। उनकी श्रीमतीले हामीलाई घ्यूमा मेथी पड्काएर बाक्लो दूध चिया ख्वाएकी थिइनँ।

मेरा दिमागमा यी सबै दृश्य चलचित्रको कथा जस्तै गरी आइरहेको थियो। मैले आफूलाई रोक्नै सकिनँ। बिहान चिया पनि नखाइ त्यता दौडिएँ। म पुग्दा ती पूर्व पञ्चको शव आँगनमा लडिरहेको थियो। प्रहरी मुचुल्का उठाउँदै थियो। उनको हत्या हलोले हिर्काएर गरिएको रहेछ। मलाई असह्य भयो। रीसले आँखै देखिनँ। लुरुक्क परेर छेउमा उभिएका एकजना गाउँलेलाई सोधेँ, ‘माओवादी कता भागे?’ ती गाउँलेले भने, ‘खोइ, राति यहीं मास्तिर बसेछन् र बिहान सखारै भागेछन्।’ म ती माओवादीलाई खोज्दै बाटैबाटो घरतिर लागेँ। बाटोमा कतै पनि माओवादीको चालचुल थिएन। उनीहरूलाई नभेटेपछि स्वभाविक रुपमा रक्तपात टर्‍यो।

***       ***

२०५६ साल। म सदरमुकाम छेउमा फूपुको घर गएको थिएँ। मेरा काका गाविस अध्यक्ष हुनुहुन्थ्यो। कांग्रेसबाट जित्नुभा’को। काकाको बासै सदरमुकाममा हुन्थ्यो। म पनि दुई चारदिन काकासँगै सदरमुकाम बस्ने योजनामा थिएँ। तर काकाले उता गाउँतिर पनि रेखदेख गर्नुपर्छ भन्नुभएपछि म  सदरमुकामबाट फर्किँदै थिएँ।

म स्कूलबाट अलि तल पुगेको थिएँ। मेरो घरबाट १ घन्टाको दुरीमा थिएँ म। बाटोमा सेनासँग जम्का भेट भयो। सेनाले चेकिङ् गर्न खोज्यो। ‘कोइराला भन्ने चिनिनस्? बाटो छोड्छस् कि जागिर खाइदिऊँ?’ भन्या सेना लगलग काम्यो। बच्चैदेखिको झोंक्की स्वभावको मान्छे थिएँ। त्यसमाथि गाविस अध्यक्षको भतिजो। मेरो रीस मर्ने कुरै भएन। सेनाको हातबाट फ्याट्ट बन्दुक खोसेँ। उल्टोपटीबाट एक दिएँ र भनेँ, ‘आइन्दा मान्छे चिनेर चेक गरेस्’। बिचरो रुन मात्रै नसकेर घुँडा मारेर माफी माग्यो। सिपाहीले घुँडा मारेर माफी मागेकै कारण यो रक्तपात पनि टर्‍यो।

*** ****

गाउँमा म बदमासको राजा नै थिएँ। कहिलेकाहीं देशका युवराजका बारेमा सुनेका कथाले मेरो जीवनमा खुबै प्रभाव पारेका थिए। म घरमा कहिल्यै बस्दिनथेँ। कहिले कसकोमा, कहिले कसकोमा सुत्ने। एकदिन बिहान ब्रस बोकेर धारामा मुख धुन जाँदै थिएँ, गाइँगुइँ सुनियो। गाइँगुइँ मेरै बारेमा थियो। एकजना गाउँभरी कै कुरौटे काकी (गाउँभरीका महिलालाई काकी नै भनिन्थ्यो) ले मेरो चरित्रको बारेमा हल्ला फिँजाइछिन्।

धारामा ती काकी पनि थिइन्। म केही बोलिनँ। मुख धुएँ, टाउको नुहाएँ। ती काकीले पानीको गाग्री भरिन्। उनी अघिअघि म पछिपछि। उनी पानीको गाग्रो बोकेर घर छिरिन्। म चाहिँ उनलाई आची ख्वाउँछु भन्दै एउटा दाउरामा आची बोकेर उनको घरभित्र छिरेँ। त्यसपछि त गाउँमा हंगामै भयो। पञ्च भलादमी बसे। मेरा आँखामा सिधा नहेरी हात मल्दै पञ्च भलादमीले ‘भाइ, एकपटकलाई माफी माग्देऊ, तिम्रो इज्जत बढ्छ’ भने। म त सानैदेखिको झोँकी। मैले गल्ती नगरेको कुरामा किन माग्ने माफी? ‘म माग्दिनँ माफी। मेरा बारेमा अफवाह फैलाउने आची खाने नै हो’ भनेर बम्किएँ। पञ्च भलादमीले चुँ पनि बोल्न सकेनन्। आखिर उनीहरू हच्किए र अर्को एउटा रक्तपात टर्‍यो।

*** ***

मैले जसरी पनि काठमाडौं त जानैपर्छ भन्ने सोच आयो। राजधानीजस्तो ठाउँ, एकपटक पुग्न पाए जीवनमा केही प्रगति गर्न सकिन्थ्यो कि झैं लाग्यो। विराटनगर बस्नै मन लागेन। सानामा बुबाले भन्नुहुन्थ्यो, ‘उमेर पुगेको छोरो घरमा बस्ने हैन। हामी १६ वर्षको उमेरमा त कलकत्ता पुगिसकेका थियौं।’ यो वाक्यले च्वास्स घोचिराख्थ्यो। ‘कलकत्ता नसकेपनि काठमाडौं त पुग्छु,’ मैले अठोट गरेँ। दाजुलाई भनेँ, मानेन। मैले जिद्दी छोडिनँ। एउटा पेन्ट र टिसर्ट झोलामा हालेँ र १ हजार बोकेर हिँडेँ।

त्यो बेला ‘गजराज भिभिआइपी कोच’ सारै चर्चित बस थियो विराटनगर-काठमाडौं चल्ने नाइट बस। फिल्म देखाउँदै ल्याउँथ्यो। कञ्चनबारीबाट त्यही बसमा चढेँ। काठमाडौं आइपुगियो। नयाँ बसपार्कमा ल्याएर बसले ओराल्दियो। कसैलाई चिनेको छैन, जानेको छैन। कहाँ जाने? भगवान भए हात थाप्लान् भनेर बसपार्कबाट बाहिर निस्कँदै थिएँ, काकाको छोरो टुप्लुक्कै। उसले रातोपुलमा मामाको छोराको कोठामा ल्याएर छोड्दियो। रातोपुलमा लामो समय बेरोजगार भएर बसियो।

भाग्यले एउटा जागिर पाइयो मार्केटिंगको। तलब उबेलाको ३ हजार। काठमाडौंमा क्याबिन रेस्टुराँको खुब चर्चा थियो। तलब आएको दिन रातोपुल कोठा नगइ सिधै पुरानो बानेश्वरको क्याबिन रेस्टुराँ छिरेँ। बिएर मगाएँ। चिकेन चिल्ली मगाएँ। क्याबिनमा एक्लै छु। वेट्रेस मगाको कुरा ल्याउँछन्, जान्छन्। मसँग त बस्दैनन् त। सानैदेखि झोंकी स्वभाव मेरो। म सिधै काउन्टरमा गएँ। ‘के हो? तपाइँका वेट्रेस मलाई साथ दिँदैनन्। यही हो सेवा?’

रेस्टुराँवाल डरायो। उसले निहुरिएरै भन्यो, ‘सर माफ गर्नुहोला, म एकजना पठाइदिन्छु। हजुर हल्ला नगरी बसिदिनुहोला।’ मेरो रीसको पारो तातिसकेको थियो। ‘म किन चुप लाग्ने? यो रेस्टुराँका सबै ग्राहक बोलाएर यहाँ हंगामा गर्दिन्छु।’ रेस्टुराँको मालिकले खुट्टै ढोगुँला झैं गर्‍यो र भन्यो, ‘भैगो सर, म दुईटी पठाइदिन्छु।’ म क्याबिनमा गएर बसेँ। दुईटी फ्यात्त परेका वेट्रेस आएर मेरा दुईतिर बसे। रेस्टुराँवाला पछि सरेकाले यो पटकको रक्तपात पनि टर्‍यो। तर ती वेट्रेसले  के के मगाए कुन्नि, बील तिर्दा त एकमहिनाको तलब झ्वाम्।

हात्माकथाको यो अंश @anantabrt को ब्लगबाट साभार गरिएको हो।

21 thoughts on “कोइरालाको हात्माकथा : … अनि रक्तपात टर्‍यो !”

  1. लौटन अवधि says:
    August 25, 2014 at 10:30 am

    लामखुट्टेको हवाई आक्रमण र झिंगा को छापामार आक्रमण ले त्रस्त भएको अवस्था हो ! लगातार को हवाई आक्रमण ले यहा ठुलो रक्तपात को अवस्था को सिर्जना भएको छ ! कोहि कट्टु वाल महासये आएर हवाई आक्रमण रोकिदियेमा ठुलो रक्तपात टर्ने सम्भावना छ !!

    Reply
  2. पुर्कोट को कान्छो says:
    August 24, 2014 at 1:55 pm

    मज्जा आयो पढेर, हासे मर्नेगरी :’ म ती माओवादीलाई खोज्दै बाटैबाटो घरतिर लागेँ र सुते हुनु पर्ने अनि अ र्को रक्तपात टर्‍थ्यो
    पुर्कोट को कान्छो

    Reply
  3. basant says:
    August 24, 2014 at 12:18 pm

    कटुवाल को व्यंग प्रस्तुति राम्रो लाग्यो … गफै दिने हो भने येसरी पनि दिन सकिन्छ भन्ने प्रमाण

    Reply
  4. Mohan Subba says:
    August 24, 2014 at 10:43 am

    कोइरालाको हात्माकथा त हावाकथा जस्तै लाग्यो अनि एक महिनाको तलब दुइटी तरुनिहरुको बिचमा बसेर एकछाक टारेको हो भने चाहि झ्वाक तन्नेरी नै हो /

    Reply
  5. Rajan Upriti says:
    August 24, 2014 at 9:10 am

    टाढा भएर मात्रै रक्तपात टर्यो, समयको बर्बादी गर्नेलाई नत्र …….

    Reply
  6. Rajim says:
    August 24, 2014 at 6:23 am

    कोइरालाको आत्मकथा अलि हावा लाग्यो हुन त आत्मकथा भनेको नै आफ्नो बारेमा बढाई चढाई गर्नु हो सिपाहीले घुंडा टेकेर माफी मागेको सुन्दा हासोले मन थाम्नै सकिन

    Reply
  7. Naam Prasad says:
    August 24, 2014 at 6:17 am

    यो पढेर एउटा पाठक ले अनन्त कोइरालालाई गाला मा पड्कायो | अनन्ते परमधाम पुग्यो | धर्ति बाट एउटा मान्छे रुपी बोझ टर्यो |

    Reply
  8. कमल says:
    August 24, 2014 at 5:38 am

    जहरसाँप कटवालको भन्दा मजाको रहेछ| एक महिनाको कमाई ज्य्वाम्म पारेर रक्तपात टरेकै हो| यसले चै रौँ हल्लाएकै हो| गजबको व्यंग्य|

    Reply
  9. Abhyankar says:
    August 24, 2014 at 5:31 am

    एउटो कट्टुवाल दोस्रो हाफ कट्टुवाल, अनि हामि पत्याउने चाही के लंगौती वाल

    Reply
  10. madan bajracharya says:
    August 24, 2014 at 3:12 am

    क्रान्ति पछि भयको परिबर्तन र परिबर्तित व्यवस्थामा “ठुला” बनेकाको कर्तुतहरु नियाल्दा नेपालमा भयको क्रान्ति को पछाडी को थिय भनेर सोच्न बादी हुन्छ/ कांग्रेसले नेतृत्व गरेको भनिने २००७को क्रान्ति पछि ल नेपालको नागरिकले तानाशाह भनियको मोहन शमशेर फेरी पनि प्रधान मन्त्रि बने भने कांग्रेसी नेताहरु तेस्को मन्त्रि बने/ अनि तिनीहरुले सन् १९५०को सन्धि गरे कोशी गण्डकी सुम्पे भारतलाई/ तर आफु सत्तामा पुगे पछि ३ बर्ष भित्र नेपालीलाई प्रजातान्त्रिक संबिधान दिन्छु भन्ने तेतिबेला मोहन शमशेरको मन्त्रि बनेको कांग्रेसी नेताहरुले नेपालीलाई आफुले बाचा गरेको संबिधान पनि दियनन!!!/ यसको अर्थ त् यहि हुन्छ कि २००७ सालको परिबर्तनको फाइदा कांग्रेसीहरुले नेपालीलाई दियनन भारतलाई दिय/ कुरा यतिमै सिट भयन/ २००७ सालको परिबर्तनको फाइदा सबै भारतलाई तक्राउने नेताहरुले रानातन्त्रको बिरोध आफु कांग्रसी नहुँदा देखि गर्ने गणेशमानलाइ अपमानित गर्दै पार्टी छोड्न समेत बाध्य गरे; किन; भारतलाई तिनै भारत खुसुआउन मात्रै नेपालमा क्रान्ति गर्ने नेताहरुले २०४८ को परिबर्तन पछि कोशी गण्डकी सुम्पे जस्तै टनकपुर भारतलाई सुम्पेकोमा गणेशमान ले बिरोध गरेकोले?

    अब २०३६ को क्रान्ति को पछाडी के छ त्यो बारेमा/ नेपालमा ब्यबस्था परिबर्तन बात फाइदा लिन पल्केको भारतले महेन्द्र र बीरेन्द्रलाई दवाउन पनि सकेन फकाउन पनि सकेन/ महेन्द्र र बिरेन्द्रको पंचायती ब्यबस्था सल्ल्क्क निशुल्क नेपालको श्रोत लिन पल्केको भारतको निमित अत्यन्त निरासाजनक रह्यो र महेन्द्र र बिरेन्द्रको भारतलाई निराश बनाउने पंचायती व्यबस्थाको बिरोध गर्दै भारत प्रवाशमा रहेका नेताहरु भारतको निमित घर ज्वाइ जस्तै घाँदो बने/ तव ” खुरुक्क नेपाल नफर्के भारतले “…..” गरेर भारत बात लखेट्ने देखे पछि ती नेताहरु मेल मिलाप को नारा लगाउंदै नेपाल फर्केर २०३६को देखावटी क्रान्ति गरे/ उनीहरुको त्यो ३६ साले क्रान्ति देखावटी मात्रै थियो भन्ने कुरा ती नेताहरुले धाँधली गरेर जनमत जितेको पंचायत स्वीकारेको र मात्र बर्गीय सगथानको सदस्य बन्नु नपर्ने भयो भने पंचायत प्रवेश गर्ने भने बाटै प्रमाणित हुन्छ/

    अब २०४८को परिबर्तन को पछाडिको कारण खोतलौं/ बिरेन्द्रले नेपालको सिमाना भित्र जवर्जस्ती टनकपुर बाँध बनाउन आयको भारतलाई रास्ट्र संघमा मुद्दा ठोक्ने धम्कि दियर भारतलाई बनाउंदै गरेको बाँध भंत्कायर फर्कन बाध्य बनायो/ नेपालमा रहेको पेट्रोल खानि उपयोग गर्न खोजे/ तेतिबेला सेल कम्पनीले तराइमा व्यबसाइक तरिकाले निकाल्न सकिने पेट्रोलियम को ठुलो खानि रहेको पत्ता लगाई सकेको थियो/ भारतले तेतिबेला सेल कम्पनीलाई तराइमा पेट्रोल खोज्न र निकाल्न आबस्यक सामान कलकत्तामा रोकेर नेपालमा आर्थिक नाका बन्दि सुरु गरेको थियो/ भारतको नाका बन्दीको कारणले मुस्किलमा परेको नेपालीको असंतुस्तिलाई आधार बनायर बिरेन्द्रको बिरोध गरे/ भारतले तेती बेला यदि बिरेन्द्रले भुटानले जस्तै नेपालको सबै जलश्रोतमा भारतको अधिकार हुने सन्धि गर्न माने नेपालको नेताहरुको कथित बिरोध सम्म्य पार्दिने प्रस्ताव पठायको थियो/ बिरेन्द्रले भारत सिट भुटानले जस्तै घुंडा टेक्नु भन्दा नेपालकै नेपाली र नेताहरु सिट झुक्न माने बात पंचायत हट्यो र पंचायत ब्यबस्ता हट्यो र ई नेताहरु २००७ सालमै जस्तो सिंह दरवार पुगे/ तर पन्चेको स्थानमा पुगेका ई नेताहरुले २००७ सालमा सिंह दरवार पुग्दा भारतलाई कोशी गण्डकी सुम्पे जस्तै टनकपुर मात्रै होइन सिंगो महाकाली र महाकाली भन्दा अलि पर भारतलाइ शारदा ब्यारेज बनाउन भाडामात्रै दियको भुमि समेत सुम्पे/

    अब यसपालिको भारत सिट झुक्नु भन्दा नेपाली सिट झुक्न तयार भयको राजा बिरेन्द्र महान रास्ट्रवादी भयको र नेपालाई मिच्दै आउने भारत र भारतको दलाली गर्ने नेताहरुको बिरोध गरेर शसस्त्र क्रान्ति गर्ने मावोबादीको जनयुद्ध पछि भयको परिबर्तन कस्तो हुन्छ भन्ने कुराको झल्को पनि देखिन थालेकै छ/ मावोबादी र मावोबादिले भारतको दलाली गर्ने भनेर बिरोध गरियको नेताहरु बीच मावोबादिले मुर्दाबाद भनेको भारतको दिल्लीमै सम्झौता भयो/ त्यो सम्झौता पछि मावोबादीको निमित आफैले भारतको दलाली गर्ने भनेर बिरोध गरेको नेता “महानायक” बने/ भारत असल छिमेकी बने/ सिंगो तराइलाइ मधेसीको मात्रै मधेश नबने तराइ नै नेपाल बात अलग्याउने धम्कि दिने मधेश बादी मावोबादीको यक ज्यानको मित्र मात्रै बनेन मावोबादी समेत मधेस बादी बने/ मावोबादीको जनयुद्धमा मावोबादी र मावोबादिले बिरोध गरेको सरकार बात बीसौं हजार नागरिकको हत्या भयो र बीसौं हजार नागरिक मार्ने मावोबादी र नेताहरुकै सरकार बन्यो/ यसैलाई परिबर्तन भनियको छ र यो कथित परिबर्तन पछि नागरिकले अरु त् अरु न्याय समेत पाउन सकेन तर भारतको प्रधान मन्त्रि नेपाल आउँदा १९ तोपको सलामी सहित आज सम्म विदेशको कुनै पनि प्रधान मन्त्रि नेपाल आउँदा नपायको समान पाय; लगभग भुटानले गरे जस्तै सन्धि भारत सिट नेपालले पनि गर्ने संकेत पनि पाय/ अब के यो भन्दा बढी अरु लेख्नु पर्ला नेताहरुले “नेपालीलाइ भारतलाइ थप केहि बुझाउन कै निमित मात्रै परिबर्तनको नौटंकी गरेको छ भन्न् ?

    Reply
    1. bikram timsina says:
      August 25, 2014 at 2:01 pm

      लेखक महोदय पक्कै बैध्ये बा को नुन खाएको हुनु पर्छ
      तेही वयेरा इन्डिया को बिरोध वन्द अरु केहि छैन नि यो लेखमा

      Reply
      1. madan bajracharya says:
        August 25, 2014 at 11:01 pm

        बिक्रम ज्यु
        इन्डियाको बिरोध होइन नेपालको नेताहरुको प्रवितिको बिरोध गरेको हो/ बिचरा भारतको बिरोध किन गर्ने? आफ्ना यक अरव जनताको निमित चाहिने पानि र बत्तिको ब्यबस्था भारतमै उपलब्ध श्रीतले उसले गर्ने सक्दैन र भारत छिमेकी मुलुक बात उचित मोलमा किन्न पनि चाहँदैन, मात्र छिमेकी मुलुकका केहि नेता किनेर बा फकायर सितैमा बा कौडीको भाउमा पानि र बत्ति लिंदै आयको छ र अझै लिन खोज्दै छ/ तर यो कुरामा भारत भन्दा भारत सिट बिकिने झुक्ने नेताहरुनै बढी दोषी छन्/ मैले भन्न खोजेको मात्र यहि हो/

        तपाइंलाई भारतले नेपालको निमित केहि गरेको छ भने लाग्छ भने भन्नुस नेपाल बात नाजायज फाइदा नलियर भारतले नेपाललाई के दियको छ र भारतको जवर्जस्ती सिर्जना भयको नेपालको समस्या समाधान गर्न भारतले के गरेको छ?

        भारतको पहिलाका प्रधान मन्त्रि तर्सायर नेपाल बात केहि लिन खोज्थे भने अहिलेका ले फकायर लिन खोजे/ भारतले नेपाल बात दिनु भन्दा लिन नै बढी खोजेको छ दिन खोजेको छैन र भारतको कारणले सिर्जना भयको समस्याको समाधान गर्न तत्परता देखायको छैन/ यो भन्दा विडम्बनाको कुरा त् केहो भने नेपालको नेताहरुले कोशी गण्डकीमा महाकाली सम्झौतामा नेपाल ठगियको बारेमा र कालापानी लगायत भारतले मिचेको नेपालको भूमिको बारेमा मोदीलाइ भन्न समेत हिम्मत गरेको छैन/

        Reply
  11. rupak says:
    August 24, 2014 at 2:45 am

    सारै राम्रो र सटिक जवाफ कटुवाल जर्साप को आत्मकथा लै.

    Reply
  12. श्रीजन , भर्जिनिया says:
    August 23, 2014 at 9:14 pm

    रमाइलो लाग्यो र मात्रै आज रक्तपात टर्यो

    Reply
  13. suzee says:
    August 23, 2014 at 9:09 pm

    विदेश तिर बाट हात्मकथा किन्न के गर्नुपर्ने हो !!!!

    Reply
    1. सिर्जने says:
      August 29, 2014 at 8:44 pm

      सुजी जी, हत्माकथा कपि पेस्ट गर्नुस अनि प्रिन्ट गर्नुस, हातमा कथा पाईहालियो 🙂

      Reply
  14. Khagendra Tamang says:
    August 23, 2014 at 7:35 pm

    अरुले तपाई भनोस -नभनोस,आफैले मपाई !

    Reply
  15. Nabin Adhikari says:
    August 23, 2014 at 5:50 pm

    कति हास्नु मा त हासेरै मर्छु होला 😀

    Reply
  16. aakash vaani says:
    August 23, 2014 at 4:12 pm

    You deserved nobel peace prize

    Reply
    1. biplov says:
      August 23, 2014 at 7:39 pm

      नोबेल पुरस्कार नेपालकै प्रधानमन्त्रिले दिने भए त तिमीलाइ नै दिन्थे, कोइराला भएकोले, नदिए यिनले हप्काएरै पनि लिन्थे, के गर्नु यिनकै दुर्भाग्य भनैाँ, कोइराला अम्रिकाका प्रधानपञ्च भा भे पनी थोर धेर यिनको योग्यताको कदर हुन्थ्यो, त्यो पनि यीनैको दुर्भाग्ये ।

      Reply
  17. Sheetal says:
    August 23, 2014 at 2:41 pm

    Omg!! You have saved more bloodshed than CNC Katuwal…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme