Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तलब नदिएर जागिरबाट निकालिएका पत्रकारको दुबईमा यसरी भयो दुखद अन्त्य

Posted on August 23, 2014August 23, 2014 by mysansar

niresh साउन २० गते दुबईमा निधन भएका एभिन्युज टेलिभिजनका पूर्व क्यामरापर्सन निरेशराज जोशीको मंगलबार १३ दिन पछाडि पशुपति आर्यघाटमा दाहसंस्कार भयो। कार्यस्थलमै विद्युत सट भई गम्भीर घाइते बनेका जोशीको उपचारको क्रममा ज्यान गएको परिवारका सदस्यले बताए। जोशीको अन्तिम बिदाइका लागी एभिन्युज टेलिभिजनका उनका केही पूर्व सहकर्मीहरु, शुभचिन्तक तथा परिवारका सदस्यको बाक्लो उपस्थिति आर्यघाटमा देखिन्थ्यो। साढे तीन वर्ष एभिन्युज टेलिभिजनको केन्द्रीय स्टुडियोमा कार्यरत उनी जागीरबाट नियतवस निकालिएपछिको बाध्यात्मक परिस्थितिमा दुई महिनाअघि (बैशाख ३ गते) दुबई उडेका थिए।

परिवारका जेठा छोरा उनी तीन वर्षीय नाबालक छोराका पिता थिए। उनकी श्रीमती, दुईजना भाइ र पाको उमेरका बाबाआमा छन्। मृत्यु शाश्वत सत्य हो, टारेर टर्दैन। तर पत्रकारिता जस्तो अरुलाई सुसूचित गर्ने विशिष्ट पेशामा कार्यरत निरेश जोशी टेलिभिजनबाट निकालिएको केही समयपछि नै विदेशी भूमिमा अल्पायुमै मृत्युवरण गर्न विवश भए।

परिवारप्रतिको दायित्व र पत्रकारिताबाट विरक्तिएर विदेशिएका निरेश काठको बाकसमा शव बनेर फर्किँदा निरेश परिवार उनका सहपाठी र शुभचिन्तक निकै मर्माहत बनेका छन्।

निरेश कसरी दुबई पुगे?
समाजको पहरेदारी गर्ने पत्रकारिता अंगालेका निरेश गल्फ मुलुकमा रोजिरोटीको लागि पुग्नु पर्ने बाध्यता नै नेपाली पत्रकारितामा मौलाएको अराजकता र गैर व्यवसायिकताको ज्वलन्त रुप हो।

निरेशले पत्रकारिता चाहेर होइन बाध्यताले छाड्नु पर्‍यो। पत्रकारितामा सक्रिय हरेकका परिवार छन्, समाजमा धेरै थोरै भए पनि मान प्रतिष्ठा र इज्जत छ। दैनिक रोजीरोटी चलाउन आर्थिक व्यवहार पनि सन्तोषजनक हुनै पर्‍यो।

अरुले देख्नलाई पनि केन्द्रको चल्तीमा रहेको स्टेशनमा काम गर्ने पत्रकार धेरै अपेक्षा गर्छन्। तर्किएर कति दिन भाग्ने?

यता, बिचरा पत्रकार एक वर्षदेखि तलब नपाएर छटपटाइरहेको हुन्थ्यो। साथीलाई एक कप चिया खुवाउन असमर्थ हुन्थ्यो। एक सरो फेर्न सक्दैन थियो। बिहान जसोतसो छाक टारे बेलुकीको लागि उसलाई निकै संघर्ष गर्नु पर्थ्यो। परिश्रम गरे अनुरुप मासिक तलब आए मात्रै पनि त जिन्दगी लखरलखर भए पनि अघि बढ्थ्यो नि।

तर टेलिभिजन सञ्चालकहरुले पत्रकारलाई जागीर दिएपछि तलब दिइराख्न जरुरी ठानेनन्। यो प्रवृतिको सूत्रधार एभिन्युजका मालिक भाष्करराज राजकर्णिकार नै हुन र उनैले यो सूत्र सबैभन्दा बढी प्रयोग गरे। असर निरेश लगायत हामी श्रमजीवीमा पर्‍यो। एकलसरो जीवन नै धान्न नसक्ने पेशाले परिवार नै चलाउन पर्‍यो भने केही सीमित उपाय मात्र बाँकी रहन्छ- पेशाको दुरुपयोग गरी आर्थिक जोहो गर्ने, पेशालाई निर्वाहमुखी बनाउन आन्दोलन पहल गर्ने, अन्तमा सुटुक्क पेशा त्यागेर पलायन हुने।

तितो सत्य के बन्यो भने जीविकोपार्जनका लागि नियमित तलब लेऊ भनेर इमान्दार साथीहरुलाई एकजुट बनाएर एभिन्युज व्यवस्थापनसँग माग्नु र तलब पाउनु पर्ने अधिकारका लागि लड्नु नै निरेश जोशी एभिन्युजबाट निकालिनु पर्ने कारण बन्यो।

साढे तीन वर्ष काम गरेका निरेशलाई स्थायी नियुक्ति पत्र दिइएको थिएन। जुन कानुनतः स्वतः गलत हो। अस्थायी करार सम्झौता सकिन एक दिन अगाडि (सन् २०१३ अगस्ट ३०) निरेशलाई बिना कुनै पूर्व जानकारी भोलिबाट कार्यलय नपस्न जानकारी गराइयो। उनी निकालिए।

झण्डै आठ दश महिना नेपालमै केही गर्न निरेश तम्सिए। कुनै विकल्प नरहेपछि आफन्तको सहयोगमा उनी २०७१ वैशाख ३ गते विद्युतीय कम्पनीमा काम गर्न तल्लो स्तरको कामदार बनेर खाडी मुलुक दुबई उडे।

धोकेबाज सहकर्मीहरु
टेलिभिजनमा पत्रकारलाई तलब नदिने थालनी एभिन्युजबाटै भयो। केही वर्ष अगाडि त्यहीँ कार्यरत पत्रकारहरुको एउटा सशक्त टोलीले भाष्करप्रवृतिविरुद्ध आन्दोलनको घोषणा गर्‍यो। सबै सहकर्मीलाई एक ठाउँमा भेला गराएर आन्दोलनका लागि तयार बनायो। केही योजना पनि तयार गर्‍यो।

योजना बनाउन र आन्दोलनका लागि केही मान्छे खुबै उफ्रिए पनि। तर अफसोच तिनै उफ्रनेले तलब माग्न एकजुट साथीहरुलाई धोका दिँदै बैठकमा भएको गोप्य योजना फोन गरेर भाष्करलाई सुनाई दिए। पछि छानी-छानी एक-एकको कमजोरी खोज्दै एक अर्कामा फाटो ल्यएर धेरैलाई एभिन्युज छाड्न बाध्य पारियो।

२०७० असार अन्तिम साता पनि केही थान हाकिमहरु मालिकसँग मातेर तलब अझै पाँच महिना नदिए पनि हामी कुटेर भए पनि काम लगाउन सक्छौँ भन्दै पुरुसार्थ देखाएछन्। पछिल्लो समय निरेश पनि ट्रेड युनियन गठनको लागि साथीहरु बटुलेर अगाडि बढ्दै थिए। केही थान चम्चे बाहेक ६५ जना साथीहरुले निरेश लगायतको टोलीलाई साथ दिएको पनि थियो। तर निरेशलाई नै सम्झौता सकिएको बहानामा निकालेपछि युनियन गठन प्रक्रिया श्रम कार्यलय बाग्मती पुगेर रोकियो। निरेश निकालिए। यसको विरोध र कानुनी उपचारका लागि कसैले पनि सुझाएनन्।

करिब सय हाराहारीका सहकर्मी पनि भाष्करविरुद्ध बोलेनन्, पत्रकार महासंघ एभिन्युज प्रतिष्ठान पनि मौन रह्यो। पत्रकार हकहितमा काम गर्ने भनौँदाहरुलाई पनि यो घटना आफ्नो दायराभित्र पर्ने लागेन।

युनियन गठनका लागि तम्साउनेले पनि अन्तिम घडीमा निरेशको पक्षमा बोल्न नसकेको नाटक गर्‍यो। धोकेबाज सहकर्मीका कारण एक्लो निरेश यो कानुन बिक्ने देशमा कसरी लड्न सक्थ्यो र। हारेको सिपाही बनेर विकल्पको खोजीमा भौँतारिरह्यो।

कानुनको धज्जी
निरेशराज जोशीसँगै करार सम्झौता सकिएका झण्डै ४० जना पत्रकार थप पाँच महिनासम्म बिना कुनै सम्झौता र कानुनी हैसियत बेगर म्याद सकिएको कार्ड झुण्याएर एभिन्युजमा काम गरिरहे। उनीहरु अहिले पनि काम मै छन्।

एमालेको प्रेस चौतारी, माओवादीको क्रान्तिकारी, कांग्रेसको प्रेस युनियन र पत्रकार महासंघ एभिन्युज शाखाका पदाधिकारीसहित थिए ती गैर कानुनी तवरमा काम गर्नेमा। यो तथ्य मैले पाएपछि सामाजिक सञ्जालमार्फत् नाम सार्वजनिक गरेँ। तर अफसोच एभिन्युजले करार थप्देला, पत्रकार हकहितका संगठन एभिन्युजलाई दबाब दिन जालान् भन्ने ठानेको नतिजा गलत निस्कियो। साथीहरुले मलाई तथानाम गाली गरे। फेसबुकमा साथीको लिस्टबाटै हटाए। केहीले ब्लक गरे कोही बाटोमा भेटिँदा पनि बोलेनन्। एभिन्युजले गोप्य सूचना चोरीको आरोपमा ममाथि मुद्दा हाल्यो।

पछि थाहा पाएँ, हामी जस्तो सेलिब्रेटी करारमा काम गरेको र त्यो पनि करार सकिएको भनेर सबैले थाहा पाए इज्जत डाउन हुन्छ भनेर साथीहरुलाई चित्त दुखेको रे। कहाँ गयो कानुन? पत्रकारलाई काममा कसरी राख्ने हो ? सेवा सुविधा सर्तहरु के के छन् ? मालिकको इच्छामा पत्रकारको जागीर चल्ने हो या कानुन र नियम छ ? यी सबै जिज्ञासाको जवाफ श्रमजीवी पत्रकार सम्बन्धी ऐनको दायरामा छ। तर पनि व्यवस्थापन सँधै ऐन कुल्चिएर अगाडि बढी रह्यो। टिभी स्थापना भएको सात वर्ष लाग्यो। आजसम्म कोही पनि पत्रकार कर्मचारी स्थायी भएको मलाई जानकारी छैन। उनीहरुको विमा, सञ्चयकोष, नियमित र न्युनतम पारिश्रमिक केही छैन। उल्टै सरकारलाई विद्युत महसुल, कर तिर्दैन,कहाँ छ कानुन ?

पलायनको शृङ्खला
नेपाल टेलिभिजनलाई अपवाद मानेर हेर्ने हो भने अधिका‍श सञ्चार गृह विदेशिन वा आइएनजिओ र एनजिओमा जागीर खान भर्‍याङको रुपमा साबित भएका छन्। पत्रकार सेलिब्रेटी बनेर नेपालमा कुर्सी हल्लाएर खाएको जागिर छाडेर पलायन हुने एकाध बाहेक कोही पनि विदेश वा स्वदेशमै कुर्सीमा बसेर सही गर्ने जागीर खान गएका छैनन्। उनीहरु संसारको जुनसुकै कुनामा किन नहुन् तल्लो स्तरकै काममा छन्। जुन इज्जत र काम यहाँ गर्थे त्यो इज्जत छैन त्यहाँ। अरब गएका भन्दा युरोप, अमेरिका जाने त्यहाँको हावा पानीले सुकिला त देखिएलान् तर तिनीहरु यहाँको सेलीब्रेटीपन धान्न नसकेर,पत्रकारीता पेशामा मर्यादा र व्यवसायिकता नदेखेर हिँडेका छन् हिँडाइएका छन्।

निरेशको अवमूल्यन
निरेशराज जोशीको निधनको खबर सामाजिक सञ्जालमा भदौ ३ गते मंगलबार दिउँसैदेखि छाएका थिए। उनको अन्तिम बिदाई राति आठ बजे पछाडि हुँदैछ भन्ने पनि सार्वजनिक भएको थियो। तर आर्यघाटमा श्रद्धाञ्जलिका लागी उसका हितैषी बाहेक कोही पनि पुगेनन्। पत्रकारिता क्षेत्रका अगुवा नेता जगत नेपाल निरेशका पारिवारीक नातामा पर्थे, सुनिल दाहाल पूर्व सहकर्मी थिए भने बलदेव भट्ट पनि निरेशका हितैषी नै थिए। यी बाहेकका कोही पनि प्रतिनिधि उनको अन्तिम बिदाईमा नदेखिनुको मुख्य कारण अवसरवादी पत्रकारिता राजनीति र निरेशलाई सञ्चारकर्मीको रुपमा स्वीकार नगरिनु हो।

एउटा पत्रकार व्यवसायिकताको लडाँई लडिरहँदा जागीरबाट निकालियो। पत्रकार हक हितका लागि हरिया डलर र सरकारी ढुकुटीको जिम्मा लिएकाले देखेनन्। ऊ विरक्तिएर खाडी पलायन भयो, त्यो पनि देखेनन्। बिचरा ऊ संसार छाडेर गयो र पनि देखेनन् थाहा पाएनन्।

थुइक्क नार्मद पत्रकारका नेता भनौदाहरु, तिमीहरु बाटोमा कतै भेटियौ भने तिमीहरुपट्टी फर्किएर थुक्न लायक पनि देखिएनौ अब। तिमीहरुको झण्डा उचालेन होला निरेशले तर आफ्नो उमेरको साढे तीन वर्ष उसले जनताको सुसूचित हुन पाउने अधिकारको लागि क्यामेरा बोकेर दौडिएको हाम्रो आँखाले देखेका छौँ। निरेशलाई जस्तै बाध्यतामा पारेर संसार छाड्न बाध्य बनाउने तिमीहरुको प्रवृतिले निरेशलाई सञ्चारकर्मी भन्न सकेन।

निरेश परिवारको आँसु र उसको आत्माले तिमीहरुलाई र बाँदरे प्रवृत्तिका मालिक भनौदाहरुलाई पिरोल्छ या पिरोल्दैन हेर्दै जाउँला। म यसकारण आक्रोशित छु कि मैले उल्लेख गरेको विगतमा निरेशको हात समाइदिने कोही हुन्थ्यो भने आज त्यो नियति भोग्नु पर्दैन थियो कि ?

21 thoughts on “तलब नदिएर जागिरबाट निकालिएका पत्रकारको दुबईमा यसरी भयो दुखद अन्त्य”

  1. कालिकाप्रसाद उपाध्याय says:
    August 27, 2014 at 4:02 am

    हेमन्त भाइ (निरेशको बोलाउने नाम) को निधनको वास्तविकता यस्तो रहेछ । यसबाट नेपालका ठूल्ठूला प्राइभेट संचारगृहले श्रमजीवी पत्रकारलार्इ कसरी चाहिंदाको भाँडो नचाहिंदाको ठाँडो बनाउँदा रहेछन् भन्नेकुरा बुझ्न गाह्रो पर्दैन ।

    यसबाट एउटा अर्को तथ्य अोझेलमा परेको छ जस्को कहींकतै चर्चा हुँदैन । त्यो के भने हामी सँधैं नेताहरूलार्इ गाली गर्छउँ, सोलोडोलो एउटै तराजुमा जोखेर । तर यो कुरा विर्सन्छउँ कि नेपालमा दुर्इ किसिमका नेता छन् ।

    एकथरि जो हाटहुटमा जिन्दगी विताउने टपर्टुइयाँहरू, पैसा कमाउन सकिन्छ भने इमान जमान सबै छाडेर नाङ्गिन तयार हुन्छन्, नेतृत्वको बलमा अबैध धन्दा गरेर, पावर प्रयोग गरेर सम्पत्ति थुपार्ने, स्वास्नी छोराछोरीलार्इ पिए बनाउने, छोराछोरीलार्इ लोभलाग्दा जागिर र छात्रवृत्ति दिलाउने । यतिसम्मकि पैसो निस्कन्छ भने पुरूष भएर सुत्केरी भत्ता लिन पनि पछि नपर्ने ।

    अर्को थरि यस्ता छन् जो सिद्धान्तको राजनीति गर्छन्, इमान बेच्दैनन्, सके राम्रो गर्छन् नसके पनि नराम्रो गर्दैनन् । समाजमा रहेको पद या प्रतिष्ठालार्इ निजी या पारिवारिक प्रयोजनमा दुरूपयोग गर्दैनन् ।

    यही अर्कोथरिभित्र हेमन्तका बुबा पर्नुहुन्छ । कुनै दलमा संलग्न भएकाले उक्त दलका शीर्षनेतालार्इ भनेर हेमन्त, नीरज, धीरज, रिताम्भरा कसैलार्इ पनि अाकर्षक ठाउँमा जागिर लगाउन रंगनाथ जोशीका लागि गाह्रो कुरा थिएन ।

    जनताका पक्षमा सकेको गर्ने तर पद र प्रतिष्ठाको लालच नभएका यस्ता सिद्धान्तनिष्ठ नेताहरू सबै पार्टीमा थोरबहुत छन् तर तिनलार्इ टपर्टुइयाँहरूले राजनीतिक परिदृष्यबाट गुमनाम बनाइदिएका छन् । यस्ता पढेलेखेका, इमान्दार बुद्धिजीवीहरूलार्इ नेपालको राजनितिका धूर्त खेलाडीहरूले कहिल्यै ठाउँ नदिने हुँदा पढेलेखेका युवाहरूको राजनीतिमा विकर्षण भएको हो ।

    देश, समाज, पार्टी मात्रै भनेर अरू लालच नभएका कैयैां सिद्धान्तनिष्ठ कार्यकर्ताहरूको यो विजोग प्रतिनीधि घटना मात्र हो । हेमन्तको परिवार दुर्इ छाक खान नपुग्ने र एकसरो लाउन नसक्ने होइन तर नेपालमा खुराफाती गरेर करियर बनाउन नसक्ने कर्मठ युवाहरूका लागि विदेश भासिनु एउटा छनोट बिनाको विकल्प भएको छ ।

    Reply
  2. सिर्जने says:
    August 25, 2014 at 10:24 pm

    निरेशराज जोशी को मृत्युमा दुख लागेको छ, उहाको परिवारमा मेरो समबेदना /
    अधिकार मागेर पाइदैन भन्ने सुनेको थिए धेरै अगाडी, नेपालका श्रमजीवी पत्रकार महोदयहरु अलि एक जुट भएर भिड्नु पर्यो यस्तो समस्यासंग / पर्दाफास गर्दै जानुस, जनताले मुल्यांकन गर्दै जान्छ, तपाईहरुकै हातमा कलम छ, अनलाइनमा प्रकाशन गर्न तिनका बाउको प्रेस चाहिदैन क्यारे!

    Reply
  3. tulsi chintak bhattrai says:
    August 25, 2014 at 5:13 pm

    बडो दुखद समाचार ,,,haardik समबेदना निरेश जी प्रति .म पनि एउटा पूर्व पत्रकार को नाताले र नेपालमा पत्रकारिता बाट जिबन धान्न नसकेर विदेश पलाएन भएको मान्छेको नाताले पनि केहि कुरा भन्न मन लाग्यो . बास्तवमा भन्नु पर्दाखेरी देश त हुनेखानेको मात्रै हो
    बाकि सबै हामी हरु त बलिका बोका सरह … सच्चाई गर्ने र भलाई चाहने हरु त देश बाट परदेशिनु अनि अकालमा उतै मर्नु …हो तेस्तै भयो पत्रकार निरेश राज जोशी लै पनि,,
    त्येसैले त भन्न मन लाग्छ .
    बदलिए संसारका सबै यो देशका बद्लियेनन //
    कोहि छौ भने खोजौ अब नया युग कहा छ //

    Reply
  4. HARI PRASAD LAMICHHANE-SAUDI says:
    August 25, 2014 at 3:46 pm

    पत्रकार मित्रको दुर्घटनामा निधन भएको कुराले दुख लाग्यो| नेपालमा पत्रकारहरु अल्लि धेरै भएकी जस्तो लाग्छ घरि घरि त , सम्भंधित छेत्रमा अध्यन र चाहिने जति योग्यता न भै जबर्जस्तिको पत्रकार हुदा श्रम शोषणको समस्या हो कि जस्तो पनि लाग्ने |

    Reply
  5. ramesh bantawa says:
    August 25, 2014 at 11:02 am

    दोषी को ? बिना तलब एक एक बर्ष काम गर्ने कि तिनका मालिक ?अन्याय गर्ने र सहने दुवै बराबर पापका भागीदार हुन् भन्छन सबै पत्रकार लाई चेतना भया I हार्दिक श्रद् न्जली दिवंगत जोशी प्रति

    Reply
  6. Bhisma raj Sitaula says:
    August 25, 2014 at 3:52 am

    कुनै बेला मैले पनि (२०६२-२०६५) राजधानी दैनिक मा बेतलबी काम गरेको अझै भुल्न सकेको छैन . एउटा निस्पक्ष पत्रकारले नेपालमा बाच्न कति मुस्किल पर्छ त्यो त साथीहरुलाई भन्ने पर्दैन ……..RIP पिडित पत्रकार ज्यु …

    Reply
  7. माधवराज तिवारी says:
    August 24, 2014 at 2:26 pm

    सञ्चारगृहमा काम गर्नेहरू एक जुट हुन नसक्दा यस्त्तो समस्या जन्मिएको छ । अर्को कुरा पत्रकारिता नपढेका चम्चेहरू ठूला पत्रकार बनेर श्रमजिवीको सूचना बेचेर मालिकको खुट्टा मोल्ने काम गर्छन यो नेपालका सबै टेलिभिजनमा छ । त्यसकार पत्रकारहरू जब सम्म अाफ्नो क्षमतामा विश्वास गर्ने हुँदैनन तवसम्म हाम्रो हालत पनि निरेशको जस्तै नहोला भन्न सकिन्न । मननयोग्य र मर्मस्पर्शी लेखका लागि नविन जीलाइ धन्यवाद ,

    Reply
  8. भोजेन्द्र says:
    August 24, 2014 at 12:25 pm

    हार्दिक श्रद्धाञ्जली निरेश जी । तपाईंको आत्माले शान्ति पाओस् । यो पत्रकारिता भन्ने क्षेत्र नै यस्तो शोषण हुने ठाउँ रहेछ जहाँ सित्यैमा काम गर्न धेरै हुनेखानेहरु तम्सिने गरेकाले पनि वास्तविक पत्रकारको यो हविगत हुन पुगेको छ । जेजस्तो भए पनि सँधैभरी शोषकको जय हुँदैन, एक दिन न एक दिन सडकमा आउलान्, तिनीहरुलाई श्रमजीविको आँसु लाग्नेछ । यस्तै परिस्थिति बनेर जागिर छोडेको तीन वर्ष पुग्यो, टिटिभीले मेरै झण्डै एक वर्षको पारिश्रमिक अझै दिएको छैन तर टिभी चै चलाई रहेका छन् । यसबीचमा अरु कति बलिका बोका भइसके होलान् तर साहुहरु करोडौंको गाडी चढेर हिडिरहेका छन् । सञ्चार क्षेत्र छाडा साँडे झैं बेलगामको घोडा भइरहेसम्म यस्तै हो श्रमजीविको कहिल्यै भलो हुँदैन । 🙁

    Reply
  9. Bishal Malla says:
    August 24, 2014 at 8:31 am

    एकदमै राम्रो लेख / नेपाली पत्रकारितामा भएका सामन्ती र सोसकको विरुद्ध तिमीले उठाएको आवाजमा सफल होस् नबिन /

    Reply
  10. Dinesh says:
    August 24, 2014 at 3:32 am

    सति ले सरापेको देस भनेको येही होला येहा चरी जस्तो गुण्ड को संमान हुन्छ, एउटा कलाकार मर्दा राष्ट्रिय सोख हुन्छ अनि साँढे तीन वर्ष टेलिभिजन कर्ममा लागेर बाध्यातावश विदेशिन पुगेका स्वा. सञ्चारकर्मी निरेशराज जोशिका लागी केहि हुन्न. भास्कर राज भन्ने ब्यापारी हो तेस्लाई फाइदा मात्र चाहिन्छ, आरु बाकी को के कुरा गर्नु

    Reply
  11. समित says:
    August 23, 2014 at 10:46 pm

    news24 मा पानि तेस्तै छ ……..६ महिना सम salary नआउने आए पानि जामा २ महिनाको आउने ….चिरन्जीवी देवकोटा , प्रेम बानिया र अनिल जोशी…..तिनीहरुले मिलेर salary नदिएको न्यु मा आन्दोलान गरेका News24 को कर्मचरीहरुलाई कोठामा बोलाएर जबर्जस्ति राजिनामा दिन लगाएको थियो …मैले पनि news24 छोडेको १ वर्ष भएसक्यो …..मेरो आजै ६ महिना को salary लिन बाकी छ plus experience letter….जुन मैले अहिले सम पाएको छैन .

    Reply
  12. Rabi Roshi says:
    August 23, 2014 at 9:53 pm

    वाढी पहिरो, दुर्घटना र हत्या हिंसाका समाचारलाइ वक्स न्युज वनाउने पत्रकार मित्रहरुले आफ्नै कुल कुलायनीे पत्रकारको यो दुखद निधन हुँदा किन कलम चल्दैन होला ? धेरै वर्ष अघि नेपाल टेलिभिजनमा ढुकढुकी कार्यक्रम चलाउने भाष्कर राज कर्णिकार जो हालका एभिन्युजका मालिक नै हुन् भनुँ, उनी आफै कुनै जमानामा आफै निमेकी पत्रकार थिए उनले त निरेशराजलाई वास्ता गरेनन् गरेनन्, तर लेख्नै पर्ने समाचार भन्दा भान्सा खान्कीका र अन्य भ्रमण तथा आफ्नै सम्मानको फोटो फेसवुकमा टास्न मात्र जानेका समपेसाकर्मी पत्रकार महोदयले किन त्यति धेरै महत्व नदिएका होलान् ? मलाई लाज लागेको चाहिँ छैन यस सन्दर्भमा । मृत्युले सवैलाई कराप्नेछ भन्ने किन नजानेका होलान् वाँचेका समपेसाकर्मी पत्रकारहरुले ?

    Reply
  13. AMAN RAI says:
    August 23, 2014 at 8:45 pm

    हिमालय टाइम्समा १ वर्षको तलब नपाएर विदेश हिडेको मा पनि एउटा पिडित हु . नरेश जी को कुराले मन चसक्कै बनायो . उहाको आत्माले चिर सान्ति पवोस .

    Reply
  14. jaya karki says:
    August 23, 2014 at 7:25 pm

    नबिन ढुंगानाले AVenues टिवीमा कार्यरत पत्रकार निरेषको ज्यान नै जानेगरि बिजोग बनाउने मालिकको पर्दाफास गरेपछि पत्रकार महासंघ भन्ने ठेकेदार तथा ………..कम्पनीले र अरु हितैसी युनिएनले कस्तो कदम र साबाधानी अपनाउने छन् हेर्न बाँकि छ. के अझै मृतक पत्रकार निरेषकालागि सहयोगी
    हात badhauna सकिन्न र ? उनका परिवार र नानीका लागि राहतका लागि
    मित्रहरुले कदम चाल्दा राम्रो हुनेथियो .यो काम उनको सहानुभूति रहेको साथीहरु र संगठनबाट गर्न अनुरोध छ.
    ज्यान मार हरु को कोपभाजन मा परेका निरेश प्रति hardik sraddanjali.

    Reply
  15. Binod Ranabhat says:
    August 23, 2014 at 7:03 pm

    जिउदो हुदा कोइ ले सहयोग गरे न अब मोरएपछि २००० हजार ले के काम के गर्ने हाम्रो समाज जिउदो हुदा २ पैसा मिल्दिना मोरए पछि मिल्छ \

    Reply
  16. Nabin Dhungana says:
    August 23, 2014 at 5:20 pm

    साँढे तीन वर्ष टेलिभिजन कर्ममा लागेर बाध्यातावश विदेशिन पुगेका स्वा. सञ्चारकर्मी निरेशराज जोशिका लागी पत्रकार महासंघले एउटा विज्ञाप्तिको लायक पनि ठानेन । चौतारी, यूनियन र क्रान्तिकारीका नेता भनौदाहरु नैतिकताको राजनिति गर्थे भने अन्तेष्टीमा आर्यघाट किन पुगेनन् ? एक पेज कागज खर्चेर समबेदना जानाउन नसक्नेहरुसंग आर्यघाट पुग्न सायद खर्च थिएन । श्रमजिवि पत्रकारका नाममा लाखौँ रुपैया विदेशी अनुदान लिएर खोलिएका संघ संस्था के गर्दैछन ? पत्रकारको न्युनतम पारीश्रमिक निर्धारण समिति नामले सञ्चालित राज्यका निकायले निरेश बिदेशिनु पर्ने कारण किन खोजेन ? सोधेन ? अखबार र टिभी चलाउने मालिक भनौदाहरु कतिलेसम्म तिमिहरुको मन ढुंगा जस्तै रहिरहन्छ ? आफै पग्लििन्छ की धन कै आवश्यकता हो ? भावपुर्ण श्रद्धान्जली निरेशदाई तपाँइको आत्मालाई शान्ति मिलोस्

    Reply
  17. damber adhikari says:
    August 23, 2014 at 3:21 pm

    निरेश जोशीको परिवारलाई सहयोगका लागि संकलन अभियान सुरु गरौं । मेरो तर्फबाट २ हजार सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।डम्बर अधिकारी सम्पादक सेतीमादी दैनिक दमौली ।

    Reply
  18. NABIN says:
    August 23, 2014 at 1:59 pm

    वहाको आत्माले चीर शान्ति प्राप्त गरोस, निरेश RIP!!!!

    Reply
  19. Vijay says:
    August 23, 2014 at 12:22 pm

    वहाको आत्माले चीर शान्ति प्राप्त गरोस, भगवानसंग यहि छ प्राथना

    Reply
  20. Max Thapa, Sydney says:
    August 23, 2014 at 11:49 am

    हाम्रो नेपालमा कुनैपनि संघ संस्था युनियन आदि इत्यादी सबै आफ्नो आफ्नो राजनीति गर्न, दुनो सोझाउन, आफ्नो मतलबको लागि मात्र हुन्, यिनले कसैलाई पनि वास्ता गर्दैनन, यो नै स्वस्वोत सत्य हो | गतिलो नियम कानुननै छैन त्यसमाथि नियम कानुन संचालन गर्ने गतिलो मान्छेनै छैन | जबसम्म गतिलो नियम अनि नियमको लागु हुन्न तबसम्म ब्वासाहरुको हालीमुहाली हुने भो | मरेको मान्छेलाई जुम्राले पनि छोड्छ भने झैँ भो | निरेशको आत्मालाई चिरशान्तिको कामना |

    Reply
    1. Max Thapa, Sydney says:
      August 23, 2014 at 7:53 pm

      हाम्रो नेपालमा धेरैजसो संघ संस्था युनियन आदि इत्यादी सबै आफ्नो आफ्नो राजनीति गर्न, दुनो सोझाउन, आफ्नो मतलबको लागि मात्र हुन्, यिनले कसैलाई पनि वास्ता गर्दैनन, यो नै स्वस्वोत सत्य हो | धेरै कुरामा गतिलो नियम कानुननै छैन त्यसमाथि नियम कानुन संचालन गर्ने धेरै ठाउमा गतिलो मान्छेनै छैन | जबसम्म गतिलो नियम अनि नियमको लागु हुन्न तबसम्म केहि ब्वासाहरुको हालीमुहाली हुने भो | मरेको मान्छेलाई जुम्राले पनि छोड्छ भने झैँ भो | निरेशको आत्मालाई चिरशान्तिको कामना |

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme