Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘डनचरी’लाई शहीद घोषणा गर्नै पर्छ

Posted on August 20, 2014 by mysansar

– शिव प्रकाश –

मोदी आए राजनीतिमा ऋषिमन चाहिन्छ भनेर उपदेश दिएर गए । मोदीलाई के थाह ? किसुनजीको बोधीमनले काम नगरेको देश हो नेपाल भनेर !
‘फोर ह्विल ड्राइभ सिष्टम’मा चलेको हाम्रो देशको ‘पावरफुल’ राजनीतिको ‘टु ह्विल’ धनवादले चलाएको छ ‘टु ह्विल’ डनवादले चलाएको छ ।
यस्तो ‘पावरफुल’ राजनीति भएको देशमा न मोदीको ऋषिमनको काम छ ? न किसुनजीको बोधीमनको काम थियो ? ऋषिमन र बोधीमन हैन मूल राजनीतिमा चरीमनको चलखेल देखियो । चरीको चमत्कार बाँचुन्जेल त थियो–थियो मरेपछि झन् बढी भयो ।

जुन चरीलाई राज्यले ‘अपराधी’ घोषित ग¥यो । त्यही चरीलाई एमालेले ‘धर्मवादी’ ठान्यो । त्यही ‘ धर्मवादी’ मारिदा सडक अबरुद्ध् भयो । आन्दोलन भयो । संदसमा हंगामा भयो । चरीले रुखको हाँगोसम्म त लहल्लाउथ्यो तर यो चरीले त एमालेका मूल जरै हल्लायो । वनचरी र धनचरी बीचको फरक पनि यही होला !

चरी म¥यो पुलिसको गोलीले । पुलिस प¥यो फन्दामा ओलीको बोलीले ।

राजनीतिक वृत्तमा सबैभन्दा पहिला एमालेका अध्यक्ष केपी ओली कुर्लिए । छापामा झापाको बोली आउने बित्तिकै अरु एमालेले पनि औंला ठड्याए । ‘जिम्मेवार भनिएका नेता’ले चरी आन्दोलन चलाए । चरीको ‘हत्या’ गरिएको अर्थ लगाए । विरोध गरे । छानबिनको माग गरे । शहीद घोषणा गर्नु पर्छ भने ।

अनेक शंका उपशंकाका कुरा गरे । ठूलै राजनीतिक खैलाबैला मच्चियो । बुझेर गरे ? नबुझेर गरे ? बुझे पनि नबुझे जस्तो गरेर गरे ? नबुझे पनि बुझे जस्तो गरेर गरे ? नूनको सोझो गरे कि गुनको सोझो गरे ? तर गर्न चैं गरे, गरी नै रहे र गरी नै रहेका छन् !

चरीको मृत्युले देशमा एकाएक नयाँ हुरी बतास ल्यायो । एमाले मात्र हैन देशै हल्लायो । डनको शोकमय राजनीति सुरु भयो । एउटा अपराधीको मृत्युले पनि यतिसारो राजनीतिक मान्यता पाउला भन्ने कसैले सोचेको थिएन । डनका पछाडि नेतामन यतिसारो भावविह्वल भएर छाती पिट्ला भन्ने पनि सायद कसैले अनुमान गरेको थिएन । तर पनि नयाँ केही भएन, हाम्रो देशमा सोचेको जस्तो कहिल्यै हुदैन । हुने भए नेताले अपराधीलाई आत्मामा राखेर किन हिड्थे ? डनका लागि किन भिड्थे ? छाती पिटीपिटी किन मरिहत्ते गर्थे ?

देशभरी बाढी पहिरोले गरीबगुरुवाको बिचल्ली बनाएको छ । रुवाबासी चलाएको छ । यस्तामा ओली जस्ता नेताको बोली फुट्दैन । अभिव्यक्ति मनोविज्ञानले भन्छ– मस्तिष्कमा जे बसेको छ बोलीमा त्यही अभिव्यक्त हुन्छ ।

अनुमान गरौ, कस्तो रहेछ हाम्रो देशको राजनीति ? कस्तो हरेछ नेताहरुको मनस्थिति ?

हुन त हिजो चितवन तिरको तरुणदलको एउटा ‘झिँगेगुण्डो’ मारिदा पनि शहीद घोषणा गरिनु पर्छ भने केही कुर्लेका थिए । ठगी, डकैती, चोरी–चकारी, हत्या, बलत्कार गर्ने झिनामसिना गुण्डा–फटाहा त शहीद घोषित भए भने यी चरी त ठूलै डन हुन् । कत्राकत्रा ठूला काम गरेका छन् । अरुलका लागि नगरे पनि नेताको भाँडो भरेका छन् । नेताका लागि गर्नु भनेकै देशका लागि गर्नु हो । नेता भनेकै देशका लागि हो । र त नेता बचाउन देशले अरबौं झ्वाम पारिरहेछ । सबैलाई वैतरणी तारिहरेछ ।

चरी जस्ता ठूला मान्छेलाई शहीद घोषणा नगरेर के जोगीलाई गर्ने त ? नगरे राज्यले चरीको योगदानको मात्र हैन नेताको अपमान पनि गरेको ठहर्छ । नेताको अपमान भयो भने देशको शान मर्छ ।

चरीको मृत्यसँगै एउटी ‘प्रेमचरी’को नाम पनि जोडिएर आयो । हिन्दी सिनेमाका कहानी जस्ता कथा–कथुङ्ग्रीले छापामा प्रसस्त ठाम पायो । ‘चरी र प्रेमचरी’को कहानी नेपाली छापालाई पापा पाए जस्तो भयो ।

तर ती ‘प्रेमचरीले’ डनचरीको पक्षमा मात्रै वकालत गर्नु भन्दा अस्कफोर्ड युनिभर्सिटिको वौदिकतालाई देशका तमाम् युवाको पक्षमा उपयोग गर्दा कति बेस हुन्थ्यो होला ?

चरीको गैर न्यायिक हत्या भयो । कुरा अहिले सर्वोच्च अदालतसम्म पुग्यो । राम्रो भयो, कसैको पनि गैर न्यायिक हत्या हुनु हुदैन । देश, कानुन हिन र न्याय बिहिन बन्नु हदैन । चरी अपराधी होलान् तर अपराधीलाई पनि कानुनले अख्तिायर गरेको बाटोबाट कारबाही हुनु पर्छ । सिधैं सफाई गर्नु हुदैन ।
‘वृटिस मोरलिष्ट’ भनेर चिनिने राजनीतिक तथा नैतिक विचारवादी चिन्तक डी डी राफेल भन्छन्– ‘न्यायले एकसाथ दुई अनुहार देखाउँछ तर दुबै अनुहार वैधिक र नैतिक हुन्छ ।’ न्यायको त्यो वैधिक र नैतिक अनुहार सधैं उज्यालो हुनु पर्छ ।

चरीको ‘हत्या’ वा ‘पुलिस इन्काउन्टर’को प्रसंगसँगै केही प्रश्न उब्जिएका छन् । निष्ठा र नैतिकता कुब्जिएका ठाउँमा यी प्रश्नको अर्थ त छैन, तर पनि यी प्रश्नसँगै ओली लगायतका नेता सामु नैतिक चुनैतिको चुली पनि चुलिएको छ ।

१) राज्यले अपराधी मानेको दिनेश अधिकारी उर्फ चरी उर्फ डनचरीलाई एमाले लगायत राजनीतिकवृत्तले अपराधी मान्ने कि नमान्ने ?
२) मान्ने भए अपराधीलाई राजनीतिक संरक्षण किन दिने र किन दिइयो ?
३) नमान्ने भए चरी अपाराधी होइनन् भनेर भन्न किन नसक्ने ?
४) चरी अपराधी हैनन् भने निरपराध मान्छेलाई अपराधी घोषित गर्ने राज्य प्रशासनलाई सबैभन्दा पहिला कारबाही किन नगर्ने ?
५) के नेपालमा चरीको मात्र गैर न्यायिक हत्यो भयो ? चरीका बारेमा एमालेको उपल्लो तहमै यत्रो ‘दिलचस्पी’ किन भयो ?
६) एउटा कुख्यात डन मारिदा आन्दोलन गर्ने, जनता मारिदा ती नेताहरुको बोली नफुट्ने कारण के हो ?
७) ‘एमाले भट्टी’ (तपाइँको शब्दमा) गुण्डालाई खारेर झन् ठूलो गुण्डा बनाउने हो कि मारेर गोहीका आँशु चुहाउने हो ?
८) “चरी पुलिस इन्काउन्टरमा मारिएको हो” भनेर तपाइँकै पार्टीका तपाइँकै लविका, तपाइँकै छविका उपाध्यक्ष तथा गृहमन्त्री श्री वामदेव गौतमले स्पष्ट शब्दमा भन्नुभएको छ । पुलिसमाथि खनिनुभन्दा पहिला यिनलाई कारबाही गर्नु तपाइँको नैतिक दायित्व हो कि हैन ?
९) तपाइँले प्रश्न पुलिसलाई सोध्ने कि तपाइँकै पाटीका गृहमन्त्रलाई ?
सर्व श्री ओलीज्यू, चरी आन्दोलनसँगै यी प्रश्ने जवाफ खोजेका छन् । जवाफ दिनुस् । त्यसपछि बढाउनुस् चरी आन्दोलन र गराउनुस् न्यायिक छानबिन।
नेपालमा एउटा डनचरी मात्र हैन, जनप्रिय नेता मनद भण्डारी पनि मारिए । डन चरीको घटना तरोताज भयो विस्मिृतिमा जाने कुरै भएन । मदन भण्डारीको मृत्यु विस्मृतिमा गै सकेको छ भने स्मरण गराउन चाहन्छु– २०५० साल जेठ ३ गते उनी ‘मारिएका’ (तपाइँकै शब्द) थिए ।

त्यसको दश वर्ष पछि २०६० साल साउन १ गते मदन भण्डारीको कथित जीप दूर्धटनाका जिउँदा साक्षी अमर लामा पनि मारिए ।

नेपालका राजतन्त्रको इतिहासमा सर्वाधिक प्रिय बनेका राजा वीरेन्द्र पनि २०५८ साल जेठ १९ गते मारिए ।
राजा, नेता र डन मारिएको देशमा अरु सर्वसाधरण कति मारिए त्यसको तथ्यांक बनाउने हो भने ठूलै ठेली बन्न सक्छ ।

यी प्रसंगसँगै थप प्रश्न पनि उब्जिएका छन् । यी थप प्रश्नसँगै तपाइँहरुसामु नैतिक चुनैतिको त्यही चुली फेरी चुलिएर आउँछ ।

१) नेता मदन भण्डारीको अवसानलाई मुलतः तपाइँले के भन्नु भएको थियो, याद छ ?
२) “हामीले हत्यारा चिनेका छौं । हामी सरकारमा गएको भोलिपल्टै हत्यारालाई हथकडी लाउँछौ” भनेको हो कि हैन ? (तिनताक तपाइँ लगायतका नेताको बोली नेपाल टेलिभिजनका थोत्रा टेपमा अझै होलान्, खोजेर सुन्नुस् ।)
३) पहिलो मध्यावधी निर्वाचनसँगै २०५१ साल मंसिर १४ गते प्रिय नेता मनमोहन अधिकारी नेतृत्वको गठित सरकारमा तपाइँ चौथो वरियताम रहेको शक्तिशाली गृहमन्त्री भएको हो कि हैन ?
४) भन्नुस, त्यतिबेला तपाइँ र एमालेलाई केले रोक्यो जननेता मदन भण्डारीको हत्याको छानबिन गर्न ? सत्तामा गएपछि किन चुइँक्क बोल्नु भएन त्यो हत्याका बारेमा ? र अहिलेसम्म किन मौन हुनुहुन्छ तपाइँ र किन मौन छ एमाले ?
५) डन मारिदा बोल्ने मुख अमर लामाको हत्यामा किन बोलेन ? देशको गद्दिनसिन राजा मारिदा तपाइँको त्यही मुख किन खोलिएन ?
६) यी सबै घटनाको न्यायिक जाँचबुझ हुनु पर्छ भनेर तपाइँहरुको ज्ञानचक्षुले किन ठम्याउन सकेन ?
७) नेताहरु सत्ताहिन हुँदा जे पनि बोल्ने सत्तासिन हुँदा त्यही कुरा ‘बोकाका मुखमा कुभिण्डो’ हुने कारण के हो ?
८) एउटा कुख्यात अपराधी डनको पक्षमा एउटा जिम्मेवार पार्टीको अध्यक्षले खुलेरै बोल्दा नैतिक धरातलको किंचित ख्याल नहुनु दुःखदायी हो कि हैन ?
९) यसले राजनीतिमा डनवाद र धनवादको समिश्रण कति गाढा रहेछ भनेर स्पष्ट पार्छ कि पार्दैन ?
यी प्रश्नको जवाफ तपाइँहरुसँग छैन र राजानीतिमा नैतिकताको कुनै स्थान हुदैन भने डनचरीलाई शहीद घोषणा गर्नै पर्छ । सरकार नर्कटको बार भएर तगारो बन्छ भने ढालेर भए पनि, फालेर भए पनि, गालेर भए पनि गर्नै पर्छ । अविलम्ब होस् । विलम्ब नहोस् ।

32 thoughts on “‘डनचरी’लाई शहीद घोषणा गर्नै पर्छ”

  1. shantdil says:
    August 23, 2014 at 7:51 pm

    चरी लाशले एमालेको झन्डा ओद्यो. अब नेकपा एमाले लाई नेकपा (चरी) भन्दा केहि फरक पर्दैन.

    Reply
  2. manoj says:
    August 22, 2014 at 2:36 pm

    सबै राम्ररी पढे , डन लाई नेपाल प्रहरी ले नमरे कसलाई साधुलाई मार्ने त एमाले साथीहरु, समर्थन बढी नगर अर्को चुनाब मा रित्तो हात लाग्ला साबधान |||||||

    Reply
  3. Shankar says:
    August 22, 2014 at 12:27 pm

    शिब प्रकाश जी
    देश मा डन बाद , धन बाद भन्दा पनि खतरनाक बाद चलिरहेछ | त्यो हो भारत बाद , देश को पी यम समेत रास्ट्रपति , उप्रास्त्रपति को बारेमा बिबाद गर्न पाइन्न
    भनेर कसको बोलि बोल्दैछन ?

    अब क्रमसः बिचार गर्दै आउनुस , मदन भण्डारी , बिरेन्द्र परिबार सहित किन मारिए ?
    नेपाल मा नेपाल को हित चाहने ,रास्ट्र बादी नेता लाइ किन भारत परास्त हुन् दबाब दि इ न्छ ? मन्दन भण्डारी , बिरेन्द्र को उदाहरण कसका लागि स्थापित गरिएको छ ?

    किन बाबुराम हरु एयरपोर्ट को सुरक्ष्या ? बिप्पा को लागि दबाब मा पर्छन ?

    डाडु पनेउ को , राजनीति , तेरो बारीमा मेरो कुकुर पस्यो ,मेरोमा तेरो कुरा गरेर कुरा कहा टुंगिन्छ ?
    सिंह दर्बार ले जब नाम अनुसार को काम गर्न थाल्छन तब चरी त् के अरु डन पनि भोलि दुलो पस्छन , यहा त् सिंह दर्बार को सिंह लाइ डलर को औसधि न खाइ नहुने रोग लाग्छ ,
    नेताहरुलाई सिंगापुरे , जापान मा निको हुने रोग ले सताउछ अनि देश सधै ओछ्यान मा सुत्छ | जो बुडो उही बाटो हगुवा भएपछी ?

    Reply
  4. Ramesh Basnet says:
    August 22, 2014 at 8:42 am

    यो घिन लाग्दो कुरा भयो जुन चरी लाई सहिद घोसना गर्दा हाम्रा बिर सहिद धर्म भक्त ,गंगालाल हरुको ज्यादै अपमान हुनेछ !

    Reply
  5. Bhagwana says:
    August 22, 2014 at 6:20 am

    जनताको नायक हैन नेता भनेको अपराधीका स्वामी पो रहेछन् ! धिक्कार अोली जस्ता नेता र एमाले जस्ता ‘पाटी’लाई !

    Reply
  6. Shree Krishna Bhatta says:
    August 22, 2014 at 6:04 am

    चरी मर्यो पुलिसको गोलीले,
    लुंगी खुस्क्या थाहा पाएन ओलीले
    उडायो रेलै ले,
    एमाले को पर्दालाई बगायो भेलैले

    Reply
  7. sandip bhattarai says:
    August 21, 2014 at 6:06 pm

    ‘फोर ह्विल ड्राइभ सिष्टम’मा चलेको हाम्रो देशको ‘पावरफुल’ राजनीतिको ‘टु ह्विल’ धनवादले चलाएको छ ‘टु ह्विल’ डनवादले चलाएको छ ।
    यस्तो ‘पावरफुल’ राजनीति भएको देशमा न मोदीको ऋषिमनको काम छ ? न किसुनजीको बोधीमनको काम थियो ?

    एकदम राम्रो लेख | तपाईं का कडा प्रश्न हरु धेरै मन पर्यो |

    Reply
  8. Sunil Shrestha says:
    August 21, 2014 at 4:24 am

    यो लेख धेरै सठिक लेख्नु भएको छ, यो लेख साएद एमाले को कार्य कर्ता ले पनी पद्न्नु भयो होला, यो लेख को सारै राम्रो लेख र question हरु एमाले नेता हरुले मात्र होइन एसको जबाफ कार्य कर्ता ले पनी दिनै पर्छ

    Reply
  9. सिर्जने says:
    August 21, 2014 at 2:54 am

    ओली अङ्कललाइ “सहिद” सब्दको अर्थ थाहा रहेनछ, मरेपछि सबै ‘सहिद”?
    माथिको लेखमा भएका प्रश्नहरु ओली बुढाको फेसबुक (छ कि छैन कुन्नि?) पेजमा पोस्ट गरम न कसैले, जवाफ आइहाल्छ कि, नत्र बुढा चुपो लाग्नुपर्यो /

    Reply
  10. Kedar says:
    August 20, 2014 at 11:53 pm

    भनाइ छ कर्म गर फलको आसा नगर तर चरी का पछि लग्ने नेता भ्नौदा हरु अहिले कर्म गर र चुनाब को आस गर

    Reply
  11. Mk says:
    August 20, 2014 at 11:04 pm

    सारै राम्रो लेख वापत, लेखक ज्यु लाई मुरी मुरी धन्यवाद र येसतै लेख हरु आगामी दिनहरुमा पनि आउदै गरोश/ नेपालको राजनीति डन नीति मा परिणत भएको मा सारै दुख : लग्यो- ज्यान लाई पर्नु पिर पर्यो /

    Reply
  12. sanjal nepal says:
    August 20, 2014 at 10:08 pm

    सारै राम्रो प्रस्न सोध्नु भयो , लेखक जी लाइ धन्यबाद , यिनिहरु संग यी प्रस्न को जबाफ होइन कुल्चिने खुट्टा छन् , तपाइका प्रस्नाहरुलाई कुल्चिंछन् बिलम्ब नगरी , यिनीहरुको दिमागमा कुनै नैतिकता छैन , यो देश यिनीहरुको मुखमा बोकालाई कुभिन्डो जस्तो भयो , यिनीहरुलाई इतिहासले सरापी रहने छ ……………

    Reply
  13. sanu nepali says:
    August 20, 2014 at 8:36 pm

    छ्या छ्या छ्या . संसार ले के भन्ला . अपराधी लाइ शहीद घोषणा गर्न माग ? . नेपाल मा अपराधि लाइ पनि शहीद घोषणा गर्छ भनेर सोच्दैन ? शहीद शब्द को बेइज्जत भयो हे राम राम . अब कहाँ जाउ यो अपराधि लाइपनि शहीद घोषणा गर्ने देश .??????? सच्चा शहीद लाइ अपराधी नबनाऊ भगवान .

    Reply
  14. dhan says:
    August 20, 2014 at 8:07 pm

    न आतिनु साथि हरु के पी ओली धेरै छैन बिचरा होस्पितल धाइ राखे को मान्छे उसको पछि नालागम जसलाई सहिद के हो थाहा छैन

    Reply
  15. शशङ् लामा, न्युयोर्क says:
    August 20, 2014 at 7:40 pm

    चरी चर्चाले चमेरे एमालेको चिरबिरे छविलाई चिरा चिरा पार्ने भयो !

    Reply
  16. Bhawana says:
    August 20, 2014 at 7:40 pm

    अब सहिदको पनि categoyछुट्याउनु पर्ने भो बा ! एमालेका मरेका नेता ( गुन्डाका भरौटेहरु ) र जनातालाइ दुख दिएर लुटी खाने, शान्ति खलबलाउने समाजका धमिरा गुण्डाहरुलाइ गुण्डा सहिद र देशको लागि जनताको लागि राम्रो काम गरेर मरिपरनेलाई सच्चा सहिद ! नत्र त सच्चा सहिदको ठुलो अपमान हुन्छ !

    Reply
  17. Ritesh says:
    August 20, 2014 at 7:21 pm

    यो त औता सुरुवात हो |, येस्सरी नै अरु डनहरु लाइ सक्कौनु पर्छ अनि पो प्रजातान्त्रिक सासन भाको अनुभव हुन्छ |

    ” डनहरु को संग्रक्षक लाइनै encounter गरेर मार्दा कस्सो होला साथी हो ? ”

    अनि डन साथीहरु, लास्ट मा गएर तिमिहरुकै नेताले आफ्नो use गरेर throw गर्छन ति बेमान नेताहरुले तेस्सैले बेल्लैमा सजक बन्नु |

    Reply
  18. Nischhal says:
    August 20, 2014 at 6:06 pm

    “फोर ह्विल ड्राइभ सिष्टम’मा चलेको हाम्रो देशको ‘पावरफुल’ राजनीतिको ‘टु ह्विल’ धनवादले चलाएको छ ‘टु ह्विल’ डनवादले चलाएको छ”
    राम्रो उदाहरण . एकदम सही .

    Reply
  19. Bimal says:
    August 20, 2014 at 4:40 pm

    सारै राम्रो लेख र question हरु एमाले नेता हरुले एसको जबाफ दिनैपर्छ

    Reply
  20. Shree Basanta says:
    August 20, 2014 at 4:35 pm

    नेताका नाममा कलंक हुन् हाम्रा देशका राजनीतिमा उदाएका मान्छेहरु | ओली माथिको प्रश्न सार्है सान्दर्भिक छन् | सुनकोशीको पहिरोमा १५६ को ज्यान जाँदा बोलि फुट्दैन डन मारिंदा आफनै सहोदर छोरा मरेको पीडा छ यिनलाई | येस्ता नेतालाई बिस्वास गर्दा जनताले धेरै धोका पाइसके अझ कति पाउने हुन् !!!

    Reply
  21. sushi says:
    August 20, 2014 at 3:10 pm

    नेपाल का नेताहरु ८ कक्षा पास गरेका छन् कि छैनन् यिनका सैक्षिक योग्यता हेर्नु पर्यो. यिनका भासन हरु सुन्दा त ४ कक्षा पढेका जस्ता छन् अनि कसरि फरक देखनु त गुन्डा र सज्जन त्यसैले सम्पूर्ण पार्टी का नेता हरु नै गुन्डा का नेता हुन् .यी जनता का नेता वा सेवक होइन .

    Reply
  22. prakash says:
    August 20, 2014 at 2:28 pm

    म त जावो साधारण नेपाली नागरिक हु | म मा एस्तो लेख लेख्ने अनि कुनै राजनीतिक नेता बन्ने औकात छैन |
    तर, लेखकको लेख अनुसार के पी शर्मा ओलीले राज्यले अपराधी घोसित गरेको एउटा अपराधीको मृत्युको पछाडी दौडिएर राज्यको शान्ति खलबलाउने काम गरेको हो भने के पी शर्मा ओली सचिक्कै आतंकबादी हो देशद्रोही हो | साथै राज्यले अपराधी घोसित गरेको एउटा अपराधीलाई शहिदको अलंकार दिन माग गर्छ भने सोझै पागल भन्न म पछि हट्दिन |
    एस्ता पागललाई बेलैमा उपचार गर्नु पर्छ | त्यसैले राज्यको कानुन अनि एमालेका बुद्धिजिबी बेलैमा ब्युझनु आवश्यक भएको देखे |

    Reply
  23. राम चन्द्र says:
    August 20, 2014 at 2:25 pm

    ये मा ले ले गुण्डा सहिद मा नाम दर्ज गर्ने पहिलो पार्टी बनोस .

    Reply
  24. शिव-दिप says:
    August 20, 2014 at 1:40 pm

    यो देशमा सबै भन्दा प्रोफेसनल समुह भनेको नै गुण्डाहरु तथा डनहरु मात्र देखिएका छन । आफ्नो जात अनुसारको काम गरिरहेका छन । बरु प्रगती गरेर माथी जान्छन र नेता,व्यापारी बन्छन । अरुको हालत हेर्नुहोस त के भएको?
    १. नेता- भ्रष्टचार,ज्यान मुद्दा तथा अपहरणमा मुछिएको तथा जेल परेका प्रसस्त उदाहरण भएकाहरु।
    २.शिक्षक शिक्षिका – नक्कली प्रमाणपत्र तथा यौनकाण्डमा परेका हजारौं उदाहरण
    ३.चिकित्सक – कमिशनको लागि विरामीलाई रिफर गर्ने, पैसाको लाग भ्रुण हत्या गर्ने प्रसस्त उदाहरण भएकाहरु
    ४.पत्रकार – नेताको ढोकामा कुकुर जस्तै ढुकेर बस्ने,पैसा लिएर खबर छापि दिने,अरुको विचार सुन्न नचाहने र धम्काएर चन्दा असुली जस्ता काम गर्ने धेरै उदाहरण भएकारु।
    ५.प्रहरी – १० रुपैया देखि करोडौं सम्म घुस खाएको,पाकेटमार देखि डाका सम्म लाई संरक्षण गर्ने,सडकको फुटपाथ देखि एयरपोर्ट सम्म घुस खाने। अर्काको छोरी चेली,बुहारी देखि आफ्नै सहकर्मी सम्मलाई बलत्कार गरेको ईतिहास भएकाहरु
    यस्तै गरेर अन्य पेशामा भएकाहरु पनि धेरै गलत कार्यमा लागेको उदाहरणहरु छन ।मैले सबैलाई भन्न खोजेको नभई समाजमा प्रत्यक्ष प्रभाव पार्ने पेशामा संग्लग्न हुने हरु भित्र पनि यस्ता गलत काम गर्ने हरु प्रसस्त भएको हुनाले डन तथा गुण्डाहरु वाट राम्रो कामको अपेक्षा गर्नु महामुर्खता हो । यस्ताको बारेमा संधै चर्चा गर्नु भनेको ” काम छैन बुहारी पाडाको कन्ढो कना” भनेको जस्तै हो ।

    Reply
  25. टेक राज तिमल्सिना says:
    August 20, 2014 at 1:01 pm

    एकदम राम्रो लेख | तपाईं का कडा प्रश्न हरु धेरै मन पर्यो | तर के गर्नु, हाम्रा लाज नभएका नकचरो नेताहरु लाइ थोपा लाज लाग्ने भए पो, अलि कति पनि इमान नाम को चिज भए पो | यी प्रश्न हरु ती ध्ह्रुत नेता हरु ले नबुझेका हुन् र ! बुझेर पनि बुज्पचाएक हुन् | सुतेका लाइ उठाउन सकिन्छ, सुतेको नाटक गर्ने लै उठाउन सकिन्दैन |

    Reply
  26. डिल्ली says:
    August 20, 2014 at 1:00 pm

    कुरोले चुरोमा ठोकेको छ । अपराधीको जरो खोतल्दै जाँदा सिधैँ राजनीतिकदलमा ठोकिन पु्ग्छ । राजनीतिक सुप्रिमोहरूको खोलमा रहेका डनहरूको यो क्रन्दनयुक्त रोदन देखेपछि यी ज्यानमारा, राष्ट्रिय ढुकुटीमारा, साधूबिरालाहरू क्रमशः जनता खप्परका माला जपेका चोर बिराला सिद्ध हुँदै छन् । अहिले प्रमाणिकरण एमालेबाट शुरू भए पनि काँग्रेस, एमाओबादी र मधेशी दल सबैमा झाङ्गिको छ डनबाद । चरी, मनाङे, चक्रे, महेश, पर्शुराम, गणेश, बाहुन, मीनकृष्ण, घैटे, बाघे, शेर्पा आदि इत्यादिका जरा आखिर राजनीतिक दलमै एकाकार हुन्छन् । वाइस्याल हुन् कि युथ फोर्स, तरुण दल होस् कि तरुणी दल, फोरम हुन् कि सोहोरम हुन् सबै जनताको टाउका फोर्नेहरूकै अखाडा रहेछन् । हाँडी र राँडीसम्म दिने चरीदादाको महिमा गाउन उनलाई शहीद घोषणा गर्नै पर्छ । काम्रेडहरू हो अघि बढ जनता डढाएर खरानीको चन्दन घस्नु पर्छ। म त हिडेँ जुलुस लगाउन । नारा घन्काउन साथ दिने हैन ? वीर चरी – शहीद हुन् । पार्टी कस्को – नेता को । गुण्डा कस्को – नेता को । एमाले कस्को – गुण्डा को । यो देश कस्को – गुण्डा को ।

    Reply
  27. Yam Prasad says:
    August 20, 2014 at 12:00 pm

    Need to eradicate entire gundagardi ; salute to them who dared to take an action on such people

    Reply
  28. Aaryan's Mdn says:
    August 20, 2014 at 11:42 am

    Great job Mr. Shiwa Prakash, much appreciated for the wonderful and powerful article. Just keep following up with those questions.

    Reply
  29. Lochan (Qatar) says:
    August 20, 2014 at 11:42 am

    चरी मरो अब चरी बस्ने रुख र तेस्को गुड मास्न बाकी छ त्यो पनी प्रहरी ले गरोस भन्ने मेरो चाहना

    Reply
  30. laxman shrestha says:
    August 20, 2014 at 11:17 am

    जनताले हतियार त्यसै बोक्दैनन यिनै राष्ट्रघाती र अवसरवादी नेताका कारण बोक्नुपर्छ अब पनि यिनका घैटामा घाम लागेन भने शोषित पीडित जनताको निशाना बाट बच्ने सम्भावना अति कम हुनेछ यो नै यिनिहरुको लागि अन्तिम अवसर हो हामी जनताका शेवक हौं भनेर प्रमाणिात गर्नको लागि नकि डनहरुका लागि ।

    Reply
  31. Manoj says:
    August 20, 2014 at 11:05 am

    Let the god father of don be killed in encounter and declare him “Sahid”.

    Reply
  32. RB Baniya says:
    August 20, 2014 at 11:01 am

    डनचरी’लाई शहीद घोषणा गर्नै पर्छ IMPOSSIBLE

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme