Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : तिजको दिन

Posted on August 9, 2014August 9, 2014 by mysansar

-लक्ष्मी ज्ञवाली-
 
saturday-fiction बिहान झिसमिसे उज्यालो हुँदै थियो। राधिका उठिसकेकी थिइन्। आज अति नै महत्वपूर्ण तिजको दिन थियो उनको लागि। त्यसैले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्ने तयारीमा जुटिन्। नुहाइसकेपछि सिउँदोभरी सिन्दुर लगाई रातो पहिरहनले आफूलाई सजाइन्, जुन हिन्दू विवाहित नारीहरुका लागि सौभाग्यको प्रतीक मानिन्छ। आफू आठ वर्षको उमेरदेखि यो व्रत बस्दै आएको र यसको फल सोचेभन्दा पनि राम्रो मिलेकोमा तिजप्रति अझ धेरै विश्वास र भक्ति छ उनको। यस व्रतका लागि उनी आफ्नो तागतले भ्याएसम्म हरेक विधि पूरा गर्छिन् किनकि आफ्ना श्रीमानलाई उनले भगवान् भन्दा कम स्थानमा राखेकी पनि छैनन् र राख्न पनि चाहँदिनन्।

तीजको दिनले किन किन राधिकालाई सधै आफ्नै अतित मा पुर्याउछ। सौभाग्यको प्रतीकको प्रतिक्षामा बस्दै डूबाइन आफुलाई आफ्नै अतित संग। सात वर्षको उमेरमा नै आमाको न्यानो मायाबाट राधिका टाढा भएकी थिइन्। सानै उमेरमा आमाको मायादेखि टाढा हुनुका साथसाथै आफ्ना सानासाना २ वर्षीय भाइ र ४ वर्षीय बहिनीको हेरविचार गर्ने जिम्मेवारी पनि उनको भागमा आयो। किनकि उनी नै सन्तानहरुमा सबैभन्दा जेठी थिइन्। बल्लबल्ल केही अक्षरहरु पढ्न मात्र जानेकी थिइन् उनले। भाइ र बहिनीको जिम्मेवारी नै उनका लागि आफ्नो पढाइभन्दा ठुलो थियो। त्यसैले २ कक्षामा पढ्दै गरेकी राधिकाले आफ्नो पढाइलाई निरन्तरता दिन सकिनन्। दुःखसुख गर्दै दिनहरु बित्न थाले। भाइ र बहिनी हुर्किँदै गए, स्कुल जान थाले भने राधिका दिनभर घरको काममा बाबुलाई सघाउन थालिन्।
 
राधिका आफ्नो जीवनको १४ औ वसन्तमा प्रवेश गर्दै थिइन्। हलक्क बढेको थियो उनको शरीर। निकै राम्री, मिजासिलो स्वभाव थियो उनको, छरछिमेक र आफन्तमा सबैका मनमा बस्न सफल भएकीले होला सबैले उनको खुलेर नै प्रशंसा गर्थे। राधिकाका बाबु (शिवलाल) छोरीको सानै उमेरमा (रजस्वला हुनुअघि) नै कन्यादान गरी पुण्य कमाउने सोचमा थिए। आफ्नै सोचअनुरुप राधिकाको विवाहका लागि आफन्तहरुमा कुरा चलाए। आफ्नो जिल्लाभन्दा बाहिरको एक शिक्षित युवक (माधव) सँग कुरा चल्यो। माधव खरिदार पदमा जागिरे थिए। निकै भलादमी र सबै कुराहरुमा असल थिए। राधिकाको जस्तै माधवको व्यक्तित्वको पनि आफन्तहरुमा तारिफ कम थिएन। यी दुवै बीचमा पढाइबाहेक अरु निकै नै कुराले जोडी मिल्ने देखिन्थ्यो। कमशिक्षित भए पनि राधिकालाई हेरेपछि माधवले मन पराए, परम्परगत रुपमा विवाह सम्पन भयो।
 
विवाह पश्चात् आफ्ना बाबुआमाका साथमा राधिकालाई लिएर माधव सँगै बस्न थाले। माधव राधिकालाई अति नै माया गर्थे। उनको हरेक कुराको ख्याल राख्थे भने उनी पनि निकै मायालु र सम्मानित व्यवहारका साथ श्रीमान समक्ष पेस हुन्थिन्। राधिकाको व्यवहारप्रति निकै प्रभावित थिए माधव,,,। ठिक त्यति नै बेला गाउँमा महिला प्रौढ शिक्षाको कक्षा सञ्चालन हुँदै थियो। छरछिमेकका युवती लगायत बुढापाका महिलाहरु प्रौढ शिक्षा पढ्ने तयारीमा जुटेका थिए। कताकता माधवको मनमा राधिकालाई पनि प्रौढ शिक्षा पढ्न पठाउने विचार जाग्यो। घरपरिवारको सल्लाह जुटाई उनलाई पनि पढ्न जाने वातावरण सृजना गरिदिए। प्रत्येक दिन साँझमा २ घन्टा पढ्न जान थालिन् भने माधव पनि घरमा हल्काफुल्का सहयोग गर्थे। एक वर्ष बित्यो। अब यो शिक्षाको पनि परीक्षा हुने भयो। आफूले दिने परीक्षामा जुट्न थालिन् उनी। निकै मिहिनेत गरिरहिन्। परीक्षा दिइन् र निकै राम्रो भयो। परीक्षाको नतिजा आयो, विश्वास गर्न नसकिने अङ्क आएछ। उनी त सबैभन्दा प्रथम पो भइछ्न्। यस खबरले राधिका जति खुसी भइन् त्योभन्दा धेरै खुसी माधव भए। राधिकाको पढाइप्रतिको अभिरुची देखेर माधवले गाउँको स्कुलमा राधिकालाई पढ्न पठाउने निधो गरे। उनलाई एकैपटक ५ कक्षामा भर्ना गर्नका लागि अनुरोध गरे। भर्ना भई गाउँका सानासाना केटाकेटी सँगै दैनिक स्कुल जान थालिन्।
 
यता माधव पनि खरिदार पदबाट बढुवा हुन पुगे, बढुवासँगै सरुवा पनि भयो। पढ्दै गरेकी आफ्नी प्यारी जीवन संगिनीलाई बाबुआमाको साथमा छोडी नयाँ ठाउँमा जागिरका लागि हिँडे। बेलाबेलामा फोनसम्पर्क र आउनेजाने क्रम माधव र राधिकाबीच चलिरह्यो। टाढा भए पनि दुवै जनाको मायामा कत्ति पनि हलचल आएको थिएन। भेट हुँदा निकै खुसी देखिन्थे। यी जोडीको खुलेरै तारिफ हुन्थ्यो, गाउँटोलमा। राधिकालाई परिवारबाट सधैँ सहयोग मिल्यो। सासु र ससुराको साथमा बसेर नै आफ्नो पढाइलाई निरन्तरता दिइरहिन्। हेर्दाहेर्दै राधिकाले S.L.C दिने भइन। परीक्षा नजिकिँदै थियो, उनलाई थप हौसला दिन आफ्नो बिदा मिलाएर माधव पनि घर आएका थिए। परीक्षा सुरु भयो, आफुले सोचेअनुरुप नै राम्रो भएकोले राधिका मनमनै दङ्ग थिइन्। खुसी पनि किन नहुनु र ? सानै उमेरमा स्कुल जानबाट वञ्चित हुनु तर विवाहपश्चात् श्रीमानको सहयोगमा पढ्न पाउनु जुनसुकै महिलाको लागि पनि गर्वको कुरा हो, त्यसमा पनि सफलता नै हात परिरह्यो ….। मनमनै निकै सहयोगी र भावना बुझिदिने श्रीमान् पाएकोमा आफुलाई निकै भाग्यशाली ठान्थिन् उनी। मनभरी खुसी हुँदै नतिजा पनि राम्रै हुने आशा राख्दै गइन्। यसको सम्पुर्ण श्रेय आफ्नै श्रीमानलाई दिइन्। S.L.C.को नतिजा प्रकाशित भयो। राधिका प्रथम श्रेणीमा पास भइन्। यो खबर सुनेर माधव आफुलाई सम्हाल्न नसकी बिदा लिएर बधाइ दिन घरमा आए। परिवारमा राधिका डाक्टर, इन्जिनियर बने जस्तै खुसी छायो। माधव आफ्नो र राधिकाको अध्ययन अझै अघि बढाउन चाहन्थे। गाउँमा उच्च शिक्षा पढ्ने कलेज नभएकाले आफुसँगै बसी राधिकाले पनि उनको अध्ययन जारी राखोस् भन्ने चाहना थियो उनको। अर्कोतिर माधव एकमात्र सन्तान थिए, दुवै जनाले घर छोड्दा बाबुआमा एक्लै हुने भएकाले यो चाहना पूरा हुन सकेन। अहिलेका लागि राधिकाले आफ्नो पढाइलाई यहीँ नै रोक्नुपर्‍यो…।
 
उनी गाउँमै भए पनि आफ्ना पढाइको सदुपयोग होस् भन्ने चाहन्थिन्। भाग्यवश केही समयपछि शिक्षक सेवा आयोग खुल्यो। गाउँमा धेरै जनाले यस आयोगको परीक्षा दिए। उनले पनि परिवारबाट अनुमति लिई शिक्षक सेवा आयोगको परीक्षा झिनो आशा राख्दै दिइन्। समयले दिएको साथ र मिहिनेतको फल राम्रै मिल्यो, गाउँमै शिक्षिका बनिन्। घरदेखि नजिकैको स्कुलमा नियुक्ति मिल्यो। आफुले चाहेको जस्तै भयो। गाउँघरमा उनको इज्जत हुन थाल्यो। नपढेकी केटी विवाह गरी मास्टरनी बनायो भनी माधवको प्रशंसाको बहार नै चल्यो, टोलछिमेक र आफन्तमा। दुवै जना आआफ्ना ठाउँमा व्यस्त बनिरहे। वर्षहरु बित्दै गए। माधव आफ्नो पढाइ र जागिर सँगसँगै गरिरहेका थिए भने राधिकाले जागिर मात्र गरिरहिन्।
 
तिजको दिन साँझ पर्न लागिसकेको थियो। घरनजिकैको शिवमन्दिरमा व्रतालु महिलाहरु आरती गर्न लागे, आरतीसँगै बजेको घन्टीको आवजले राधिका झस्याङ्ग बिउझिन्छिन्। आफ्नो अतीतमा डुब्दाडुब्दै आज तिजको दिन बित्नै आँटेछ थाहै पाइनन्। सधैँ तिजको अघिल्लो दिन नै टुप्लुक्क आइपुग्ने श्रीमान साँझसम्म पनि नआउँदा कताकता मनमा अनेक कुराहरु खेल्न थाल्छ्न् निकै हलचल मच्चिन्छ उनको मनमा। हे प्रभु कतै केही त भएन। नभए यति बेलासम्म त आइपुग्नुपर्ने हो। शरीर पूरै पसिनाले भिज्न पुग्छ्, थरथर कामिरहेकी छिन्। ओहो ! कस्तो होला यो मन पनि नकारात्मक मात्र सोच्न पुग्छ, वर्षायामको समय बाटोघाटो अवरुद्ध भएको पनि त हुन सक्छ। आफैँले आफैँलाई सम्झाउँछिन्। अँध्यारो हुन आँट्यो, बिहान बालेको सानो दियो उनको कोठामा बलिरहेको थियो। मन अझै पनि शान्त भएन….. होइन एकपटक फोन गर्छु, आखिर के बिग्रिन्छ र ? मनमनले सोचिन्। हातमा सानो फोनडायरी लिई गाउँमा एकमात्र रहेको सार्वजनिक टेलिफोनतिर लागिन्। फोन गर्ने ठाउँमा निकै भिडभाड थियो, सबैले आआफ्ना आफन्तहरुलाई फोनमार्फत सम्पर्क गरिरहेका थिए। निकै बेरपछि राधिकाको पालो आयो। उनले हत्तपत्त माधवको डेरामा फोन लगाइन्। निकैपटक कोसिस गरिन् तर फोन उठेन। रातको समयमा अफिसमा झन् फोन उठ्ने कुरै भएन। दुइ वर्षअगाडि उनी बिरामी हुँदा माधव भएको ठाउँमा जाने मौका मिलेको थियो, त्यही समयमा उनले माधवको डेरानजिकै बस्ने उनकै साथीको फोन नम्बर राखेकी थिइन्। निकैबेर खोजेपछि त्यो नम्बर भेट्टाइन्। फोन पनि लाग्यो, कसैले फोन उठायो। २, ४ शब्द के बोलेकी थिइन्, राधिका बेहोस हुन पुगिन्। गाउँका मानिसहरु उनलाई बिउँझाउने कोसिसमा लागे। निकै बेरपछि होस आयो। कसैसँग केही नबोली उनी घरतिर लागिन्।
 
घरमा पुगेर सिधै आफ्नो कोठामा गइन्। आफुले बालेर छोडेको सानो दियो अझै बलिरहेको थियो। बिस्तरा नजिकै रहेको कुर्सीमा बस्दै टेबलभरि आफूले जाँच गर्नुपर्ने कापीहरुको खातलाई अलिकति पन्छाइन्। यौटा खालि पन्नामा केही लेखेपछि आफ्नो सानो डायरी लिई केही लेख्न बसिन्।
प्रिय राजा, दीर्घायु एवं सुस्वास्थ्यको कामना। मेरो यो छोटो जीवनकहानी कुनै चलचित्रको कथाभन्दा कम भएन। यसले आफ्नो गति लिई नै रहोस्। तपाईँले मेरो अँध्यारो जीवनलाई उज्यालोमा परिणत गर्न जुन सहयोग गर्नुभयो त्यसको प्रशंसा गर्ने मसँग कुनै शब्द नै छैन। यसरी डायरीको पानामा केही प्रशंसारुपी शब्दहरु लेख्दा आज तपाईंलाई अपमान गरेको भान भइरहेको छ। समय सधैँ प्रतिकूल रहँदैन, अनुकूल हुनासाथ तपाईँले मप्रति गर्नुभएको माया र सहयोगको प्रशंसाले भरिएको किताब लेखी मैले गरेको अपमानको ऋण पूरै चुक्ता गर्नेछु। त्यति बेला मलाई निकै सन्तोष हुनेछ। तपाईँले सुरु गर्नुभयको नयाँ दाम्पत्य जीवनको खबरले मलाई केही समय झड्का दियो र बेहोस हुन पुगेँ। अहिले म पुरै होसमा छु, समयमा नै थाहा पाएँ, संसार बुझ्ने मौका पनि मिल्यो। त्यसैले निकै खुसी छु। आँखा देख्न नसक्नेलाई आँखा दिनुभयो भने आफ्नो खुट्टाले उभिन नसक्नेलाई खुट्टा टेक्न सिकाउनुभयो। अब संसार देख्न र पाइला चाल्न सक्नु मेरो कर्तव्य हो। त्यसैले बेतलबी बिदाको निवेदन लेखिसकेकी छु, म आफ्नो अध्ययनलाई निरन्तरता दिनेछु। अन्त्यमा तपाईँको नवजात शिशु र आमाको सुस्वास्थ्यको कामना गर्दै सुखमय जिन्दगी बितोस् भन्दै, आजलाई यति नै। तिजको दिनको निसानी बलिरहेको दियोमा तेल थप्दै बिस्तरातिर बढ्दछिन्।

2 thoughts on “कथा : तिजको दिन”

  1. B. Adhikari says:
    August 10, 2014 at 12:18 am

    राम्रो कथा

    मुख्य नारी पात्रलाई पहिले कमजोर देखाउनु भयो, पछि उक्त पात्रलाई झनै बलियो पारेर प्रस्तुत गर्नु भयो जुन अति नै राम्रो लाग्यो। नारी पात्रहरुलाई यसरी नै बलियो पारेर प्रस्तुत गर्नु होस, नेपाली समाजको लागि यो अति आवश्यक छ। कथा राम्रो लाग्यो, लक्ष्मी जी।

    शुभ कामना सहित।

    बी अधिकारी

    Reply
  2. nirajan subu luitel says:
    August 9, 2014 at 1:47 pm

    साधारण तरिकाले लेखिएको कथाले भुकम्प ल्यायो मनमा।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme