-डा. लेखनाथ काफ्ले-
शिन्चु, ताइवान
अहिले काठमाण्डौलाई बिषको लहरले पोलेको छ। प्रमुख पत्रपत्रिका, टिभी र एफएम समाचारहरूमा कृषि मन्त्रालयको द्रुत बिषादी अवशेष विश्लेषण इकाइको रिपोर्ट महत्वकासाथ प्रकाशन/प्रशारण भैरहेका छन्। उक्त इकाईका अनुसार गोलभेडा, आलु, बोडी, भन्टा, भेडेखुर्सानी, पीरो खुर्सानी, हात्तीसुढे खुर्सानी, पालुंगो, काउली, गाँजर, गोलभेडा, प्याज, साग जस्ता तरकारी र केरा र लिची जस्ता फलहरूमा समेत घातक बिषहरू मानव उपभोगको लागि स्वीकार गर्न निर्धारित गरिएको मात्रा (Inhibition ratio वा रुकावट प्रतिशत) (३५%) भन्दा धेरै भेटिएका छन्। यो मात्रा ३५-४५% भयो भने त्यस्ता फलफूल-तरकारीहरुलाई तीन दिनसम्म फ्रिजमा (३-४°C) राखेर मात्र खानु पर्दछ र ४५% भन्दा धेरै भएमा त त्यस्ता उत्पादनहरु पूर्ण रूपमा नष्ट नै गर्नु पर्ने नेपाल सरकारको मापदण्ड छ। लोडसेडिङ भएकोले तीन दिनसम्म लगातार फ्रिजमा राख्नु पनि कठिनाइ नै हुन्छ। नेपालमा बिषादीको अन्धाधुन्ध प्रयोग हुन्छ भन्ने त थाहा थियो तर यस्तो भयानक अबस्था छ भन्ने थाहा थिएन। हामी त छाकैपिच्छे खाना होइन थालमा बिष पस्किरहेका रहेछौं।
तरकारी फलफूल आदिमा बिष कसरी आउछ ?
नेपालमा हालसम्म १ सय ८ वटा बिषादीहरू बिक्रि बितरण र प्रयोगको गर्नको लागि दर्ता गरिएका छन्। तर खुल्ला सिमानाका कारण भारतबाट दर्ता नभएका अनेकथरी बिषादीहरू पनि नेपाल भित्रिन्छन। नेपाल सरकारले १५ थरी घातक बिषादीहरूको बिक्रि बितरण र प्रयोगमा प्रतिबन्ध लगाए पनि ति अहिले पनि एग्रोभेटहरूले किसानलाई बेचिरहेका छन्। जनस्वास्थ्यमा गम्भीर असर पार्ने क्लोरडेन, डाइलड्रिन, अलड्रिन, मिरेक्स, फोसफामिडन जस्ता प्रतिबन्धित बिषादीहरू केहि किसानहरूले अधिक मात्रामा प्रयोग गरिरहेछन् भन्ने सरकारी रिपोर्ट छ। चाँडो रोग किरा नियन्त्रण गर्न, फलफूललाई आकर्षक बनाउन, छिट्टै र धेरै फलाउन किसानहरूले घातक र प्रतिबन्धित बिषादीहरूको प्रयोग गर्दछन। सिफारिस गरिएको भन्दा धेरै बिष किसानहरुले माटो वा बोट बिरुवामा धुलो, दाना वा झोलका रुपमा हालेमा वा बिषादी प्रयोग गरिसकेपछि तोकिएको अबधी नपर्खी बजार पुर्याउदा फलफूल, तरकारीमा रहेको बिषादीको अवशेष हाम्रो थालमा आइपुग्छ। त्यसबाहेक किसानहरूले सबै राम्रोसंग प्रयोग गरे पनि बिचौलियाहरूले भण्डारण वा ढुवानी गर्दा वा बिक्रेताले पनि लामो समय भण्डारण गर्न वा आकर्षक र ताजा देखाउन पनि बिषादीको प्रयोग गर्दछन। त्यो पनि उपभोक्ताहरू कै भान्सामा आइपुग्ने हो। धेरै जसो उत्पादक किसानहरू आफ्नो नाफाको लागि लाखौको जीवनलाई नोक्सान पुर्याउने बिषहरूको प्रयोग गर्दछन।
प्राबिधिकहरु कसरी बिषादीका अवशेषहरू पत्ता लगाउदैछन् ?
बिषादीका अवशेषहरू पत्ता लगाउने धेरै बिधिहरू छन् जस्तै Gas Chromatography (GC), High Performance Liquid Chromatography (HPLC), GC-MS, LC-MS आदि। तथापी ति सबैमा अति सम्बेदनशील औजार, मशिनरी र प्रशिक्षित जनशक्तिको आवश्यकता हुने, नतिजा पाप्त हुन लामो समय लाग्ने र महंगो पनि हुने हुनाले ति बिधिहरू रासायनिक अनुसन्धानहरूमा मात्रै प्रयोग गरिन्छन। दैनिक प्रयोग हुने तरकारी, फलफूलमा भएका बिषादीका अवशेषहरू छोटो समयमा, थोरै लागतमा र सजिलै पत्ता लगाउन प्रयोग गरिने हालसम्मकै सबैभन्दा भरपर्दो बिधि नै द्रुत बिषादी अवशेष विश्लेषण (Rapid Bioassay of Pesticide Residue – RBPR) हो, जुन कृषि मन्त्रालयले हालै बिषादी परिक्षणको लागि प्रयोगमा ल्याएको छ।
द्रुत बिषादी अवशेष विश्लेषण के हो ?
यो विधिमा प्रयोग हुने एक किसिमको इन्जाइम (Acetylcholinesterase, AChE) झिंगाको (Musca domestica) मष्तिस्कबाट संकलन गरिन्छ। ताइवानको सरकारी सस्था ताइवान कृषि अनुशन्धान प्रतिष्ठानले उक्त इन्जाइम (AChE) लाई सन् १९८२ सफलतापुर्वक प्रशोधन गरी त्यसको धुलो प्राप्त गर्न सक्यो। त्यसपछि अर्गानो फोस्फेट र कार्बामेट समुहका बिषादीहरूको अवशेष पत्ता लगाउन उक्त प्रतिष्ठानले आफ्नो प्रयोगशालामा थप २ बर्ष अनुशन्धान र प्रबिधि परिमार्जन गरिसकेपछि १९८५ मा पहिलो पटक शिलो तरकारी होलसेल बजारमा द्रुत बिषादी अवशेष विश्लेषण केन्द्र स्थापना गर्यो। उक्त केन्द्रमा बिषादी अवशेष विश्लेषण गर्ने क्रममा आएका समस्याहरूलाई समाधान गर्दै जादा थप प्रविधिहरू पनि थपिदै गए। तर पनि त्यसबेलासम्म बालिबिरुवामा लाग्ने रोगको नियन्त्रण गर्ने प्रयोग गरिने ढुशिनासक र एन्टिबायोटिकहरु RBPR ले छुट्टाउन सक्ने भैसकेको थिएन। सात बर्षको लगातार प्रयास पश्चात Bacillus thuringiensis (Bt) ब्याक्टेरियामा पाइने एक किसिमको रसायन प्रयोग गरि गरिएको परिक्षणले तरकारी, फलफूलमा रहेका ढुशिनासकहरू र एन्टीबायोटिक्सहरूको अवशेषलाई पनि सजिलै पत्ता लगाउन सक्यो। त्यसपश्चात सन् १८८९ मा RBPR लाई किटनाशक मात्रै नभई ढुशिनासक र एन्टीबायोटिक्सहरूको अवशेष पनि पत्ता लगाउन सक्नेगरी ताइवान कृषि अनुशन्धान प्रतिष्ठानले परिमार्जन गर्यो। RBPR प्रबिधि ताइवानले आफै खोज र बिकाश गरेको प्रबिधि हो। कम्प्युटर प्रबिधिहरूमा जस्तै बायोटेक्नोलोजीमा पनि ताइवानले प्रबिधि विकास र प्रसारमा ठुलो सफलता प्राप्त गरिरहेको छ।
कहाँकहाँ प्रयोग गरिन्छ यो प्रबिधि ?
नेपाल भन्दा चार गुणा सानो क्षेत्रफ़ल र १.३ गुणा थोरै जनसंख्या भएको ताइवान टापुभरि अहिले ३०० वटा RBPR केन्द्रहरु स्थापना गरिएका छन्। ति केन्द्रहरु तरकारी, फलफूल उत्पादक किसानका समुह, सहकारी, सुपरमार्केट, होलसेल बजार, सुरक्षा निकाय, बिदद्यालय र अन्य निजि कम्पनीहरूमा स्थापना गरिएका छन्। तिनीहरू तिनै निकायले आफ्नै खर्चमा चलाएका छन्। सुपर मार्केटहरूमा RBPR परिक्षण पास भएका तरकारी, फलफूल मात्रै बेच्ने ताइवान पहिलो देश हो। एक बर्षमा ताइवानमा कम्तिमा पनि ५ लाख नमुनाहरू परिक्षण गर्ने गरिएको छ।
यो प्रविधिलाई सन् १९९४ देखि कोरिया, भियतनाम, थाइल्याण्ड, लाओस, फिलिपिन्सका कृषि प्राबिधिकहरूलाई तालिम दिएर अन्तरराष्ट्रिय स्तरमा लैजान थालिएको हो। कोरियाले सन् १९९६ मा औपचारिकरुपमा यो प्रविधिलाई भित्र्यायो भने सन् १९९८ बाट कोरियाका हुन्डाई, शिन्सगे, सामसुङ आदि कम्पनीहरू आफ्ना सुपरमार्केट चेनहरूमा यो प्रबिधि प्रयोगगरी ताइवानपछि सबैभन्दा धेरै RBPR परिक्षण पास भएका तरकारी, फलफूल मात्रै बेच्ने दोश्रो देश बन्यो। भियतनामले सन् १९९७ मा यो प्रबिधि भित्र्याए पनि ताइवान र कोरियामा जस्तो व्यापक प्रयोग भने गरेको छैन। सन् २००४ मा दक्षिण अमेरिकी राष्ट्र पानामाले पनि यो प्रबिधि भित्र्याएको छ। त्यसबाहेक भारतले पनि आफ्ना कृषि प्राबिधिकहरूलाई तालिमको लागि ताइवान पठाइसकेको छ तर यो प्रविधि प्रयोग गरेका समाचारहरू भने आइसकेका छैनन्। उनीहरू पनि प्रक्रियामा छन् भन्ने सुनिएको छ।
त्यस्तै सन् १९९८ मा चीनले ताइवानका RBPR प्रबिधि बैज्ञानिकलाई लगेर यो प्रविधिको बारेमा आफ्ना बैज्ञानिकहरूलाई प्रशिक्षण दिन लगायो। अनि चीनले त्यस्तै किसिमको आफ्नै संस्करणको विकास गरी सन् २००३ बाट बिभिन्न स्थानहरूमा परिक्षण केन्द्र स्थापना गरी बिषादी अवशेषहरूको परिक्षण गर्ने कार्य गरिरहेको छ।
यो प्रबिधि कत्तिको भरपर्दो र कुशल छ ?
यो प्रबिधिले ५-६ घन्टामा ५० वटा नमुना परिक्षण गर्न सक्छ त्यो पनि मात्रै दुईजना प्राबिधिकहरूको संलग्नतामा। सबैभन्दा छिटो १० मिनेटमै यस प्रबिधिद्वारा बिषादीको अवशेष परिक्षण गर्न सकिन्छ। तर पनि यस प्रविधिका केहि सिमितताहरु पनि छन्। जस्तो कि अर्गानो फोस्फेट वा कार्बामेट समुहभित्र धेरै प्रकारका बिषादीहरू हुन्छन तर यसले अवशेष पत्ता लगाउँदा अर्गानो फोस्फेट वा कार्बामेट समुहभित्रको कुन बिषादीको मात्रा कति छ भनेर भन्न सक्दैन। तर ति दुवै समुहभित्र पर्ने जुनसुकै बिषादीहरूको पनि अवशेषको मात्रा भने ठ्याक्कै पत्ता लगाउछ। उदाहरणको लागि मालाथिओन र फोरेट दुवै अर्गानो फोस्फेट समुहका किटनाशक बिषादी हुन्। दुवै मानिस र अन्य जीवहरूको लागि निकै घातक हुन्छन र नेपालमा प्रयोग भइरहेका छन। तरकारी, फलफूलमा तिनीहरूको अवशेष परिक्षण गर्दा मालाथिओन वा फोरेटको अवशेष यति भनेर आउदैन तर ति दुवै एउटै समूहभित्र पर्ने भएकोले दुबैको संयुक्तरुपमा अर्गानो फोस्फेट समुहका बिषादीहरूको अवशेष यति भनेर आउछ। अर्को समुह वा रोगनाशक बिषादीको पनि कुरा त्यहि नै हो। अनुशन्धानकर्ताहरूलाई बिषादी र मात्रा चाहिए पनि उपभोक्ताहरूको स्वास्थ्यको हिसाबले कुन उत्पादन स्वस्थ छ र कुन बिषालु छ भन्ने थाहा पाए पुग्ने र प्रविधिलाई सजिलो र छरितो बनाई १० मिनेटमै खान हुने र नहुने पत्ता लगाई जनताको स्वास्थ्यको हेरविचार गर्ने मूल उदेश्यकासाथ प्रविधिको बिकाश गरिएकोले यो पक्ष पनि सिमितता भन्दा सबल पक्ष नै मान्नु पर्दछ। यो प्रबिधि आजसम्म उपलब्ध यस्तै प्रबिधिहरू मध्ये सबैभन्दा सस्तो, छिटो, सजिलो र प्रभावकारी प्रबिधि हो।
आर्थिक पक्ष र ब्यबस्थापन
यो प्रविधिको सबल पक्ष भनेकै सस्तो, छरितो र भरपर्दो हुनु हो। एउटा कृषि प्राविधिकले २-७ दिनको तालिमले RBPR प्रबिधि सिक्न सक्दछ। त्यो त्यस्तो कठिन प्रबिधि होइन। एउटा नमुनाको लागि मात्र १० मिनेट समय र १ अमेरिकन डलर खर्च पर्न आउछ। यों प्रबिधि, GC, HPLC, GC-MS, LC-MS आदि प्रबिधि भन्दा धेरै गुणा सस्तो पर्दछ। यो प्रबिधि प्रयोग गर्दा ताइवानलाई कुनैपनि रोयल्टी वा शुल्क तिर्नु पर्दैन तर यदि इन्जाइम आफैले उत्पादन गर्न नसकेमा भने इन्जाइम उनीहरुबाट नै किन्नु पर्ने हुनसक्छ किनभने अरु कुनै पनि देश वा कम्पनीले उनीहरुको जत्तिको गुणस्तरीय इन्जाइम उत्पादन गर्न सकेका छैनन। ताइवानमा यो प्रविधिको खर्च किसानहरूले नै तिर्नुपर्ने भएकोले सरकारलाई थप भार पनि पर्दैन। किसानहरूले आफ्नो उत्पादन टिप्नुभन्दा पहिले नै परिक्षण गरेर कति दिनपछी टिप्दा बिषादीहरूको अवशेष ठिक ठाउँमा आउछ त्यसको योजना बनाउछन। टिपी सकेपछि पनि कुनै उत्पादनमा बिषादीको मात्रा तोकिएको भन्दा धेरै पाईएमा त्यसलाई नष्ट गर्दछन। त्यसो गर्दा सरकारले उनीहरूलाई गर्ने ठूलो दण्ड-जरिवानाबाट बच्न सक्छन। नेपालमा पनि कृषकहरूले सहकारी वा समूह बनाएर परिक्षण केन्द्र स्थापना गरेमा आफ्नो ब्यबशायलाई नै फाइदा हुन सक्दछ। व्यवशायिक खेती गर्ने किसानहरूलाई सरकारले तालिम, सामाग्रीमा कर छुट, अनुदान, सहुलियत आदि दिनु पर्दछ।
तत्कालै नेपालमा किसान र सरकारले के के गर्ने ?
किसानले सकेसम्म विषादीको प्रयोग नै नगर्ने र यदि प्रयोग नै गर्नु नै पर्ने भएमा घातक र प्रतिबन्धित बिषादीहरूको प्रयोग नगर्ने। प्रयोग गर्दा पनि किसानले चाहिने मात्रा भन्दा बढी कुनै पनि बिषादीको प्रयोग गर्दै नगर्ने र बिषादीलाई औषधि हैन की बिष भनेर बुझ्नुपर्छ। हरेक बिषादी प्रयोग गरेपछि टिप्नु भन्दा पहिले कतिदिन पर्खनु पर्ने हो, त्यसको एकदमै विचार गर्नु पर्दछ। हाम्रा कतिपय किसानहरूले भोलि बजार लैजाने तरकारिहरूमा आजसम्म पनि बिषादी हालिरहेका हुन्छन्। त्यो त पैसाको नाश र उपभोक्ताको स्वास्थ्यको क्षति मात्रै हो। अहिले अर्गानो फोस्फेट वा कार्बामेट समुहका भन्दा सुरक्षित र कम घातक बिषादीहरू बजारमा पाइन्छन। कतिपय बिषादीहरू त यति सुरक्षित हुन्छन कि मान्छेलाई पर्ने नकारात्मक असर ज्यादै नै न्यून हुन्छन, तिनीहरुको प्रयोग गर्ने। गाउँघरमा पाइने खुर्सानी, टिमुर, लसुन अदुवा, निम, तितेपाती, खरानी, गाईबस्तुको मुत्र, मेवाको चोप जस्ता घरेलु र प्रांगारिक बस्तुहरूको प्रयोग गर्ने हो भने रोग किरा पनि नियन्त्रण हुने, पैसा जोगिने, उपभोक्ताको स्वास्थ्य बच्ने र बातावरण पनि जोगिने हुन्छ। विषादीको अधिक प्रयोगले मानव स्वास्थ्य मात्रै होइन बाताबरणलाई पनि निकै नकारात्मक असर गरेको हुन्छ।
सरकारले पनि अर्गानिक खेतीलाई उचित सहयोग गर्नु पर्दछ। सरकारले पनि प्रतिबन्ध भै सकेका बिषादी र घातक बिषादीहरूको प्रयोगलाई कानुनी बाटोबाट नियन्त्रण गर्नु पर्दछ। बिषादी बिक्रेताहरूको नियमित अनुगमन गरी प्रतिबन्धित र घातक बिषादीहरूको बिक्रिबितरण बन्द गर्नु पर्दछ। त्यसो गर्न नमान्नेलाई कडाइकासाथ कानुनी कारवाही गर्नु पर्दछ।
स्वस्थ खानेकुराले जनताको आयुमा वृद्धि हुने, नागरिक स्वस्थ्य र सबल हुने हुदा सरकारले देशभरी नै थप यस्ता RBPR परिक्षण केन्द्रहरूको स्थापना गर्नु पर्दछ। अहिले एउटा मात्रै भए पनि त्यसले ठूलो जनचेतना फैलाएको छ। यो सरकारले शुरु गरेको काम एकदमै सह्रानीय छ। कुनै पनि किसिमको दबाबले यो बन्द हुनु हुदैन।
अन्तमा, उपभोक्ताहरूले पनि बिषालु तरकारी, फलफूलको उपयोग बन्द गर्नु पर्दछ। हिन्दी सिरियल र फिलिमको भरमा साउनमा हरियो सारी, कुर्ता, चुरा र पोते लगाउनेहरूले पनि बुझ्नु पर्ने कुरा हरियो सारी, कुर्ता, चुरा र पोतेले होइन बिषादी नभएको हरियो तरकारी र फलफूलले श्रीमानको मात्रै होइन परिवारकै आयु लम्बिन्छ।
(लेखक ताइवानमा बिषादी सम्बन्धी कार्य गरिरहेका RBPR को तालिमप्राप्त, किट तथा बिषादी बिज्ञ हुन्)
कति राम्रो लेख, बधाई र धन्यबाद ! सबैले पढ्ने पर्ने लेख हो पढौं !!
यो pesticide नाप गर्ने मसिन नेपालका सबै क्रिसी बजारहरुमा राख्न सरकारलाई दबाव दिउँ .
म लाई त यो सबै प्रायोजित हल्ला लाग्छ . हाम्रो प्रशासन कहिले देखि यति चुस्त भयो ?
शायद कुनै ठुलै ब्यापारिक घराना ओर्गनिक फलफुल साग तरकारी बेच्न लाग्य हुन् कि ? भारत को रेलीअंस फ्रेश , साहारा Q शप जस्तो. यदि यसो होइन भने राम्रो कुरा नत्र गरिब नेपाली किसान मार्ने अभियान मात्र हो भन्ने ठहरिने छ . हामी नेपाली को आन्द्रा ले के के त पचौछ जाबो त्यो लेफ्ट ओवर बिषादी त के कुरो भयो र !
लेखक ज्यु ले साह्रै ज्ञानबर्द्धक लेख लेख्नु भयो साह्रै रार्मो लग्यो तर अन्तिम हरफ मा महिला लाई तोकेरै हानेको कांड ले चै मुटु को भित्र चुवास्स घोच्यो अनि अरु नै तरिका ले नि त भन्न सकिन्थ्यो नि किन हो महिला लाई नै तीर हान्ने ???
महिला लाइ तीर एस अर्थ मा होला कि घर मा खान पिन अनि परिवार को स्वास्थ को जिम्मा उनीहरु को हात मा हुन्छ . अनि महिला हरु ले पनि हिन्दि सेरिअल मा भन्दा सरसफाई स्वास्थ मा धेरै ध्यान दिनु पर्छ भनेर होला
राम्रो र उपयोगी लेख छ नेपालमा यसको प्रयोग गर्नु पर्छ, प्रतिबन्धित औषधिहरु बजारबाट हाटाउनु र राम्रो अनुगमन गरिरहनु पर्छ / जनस्वास्थ्यमा नराम्रो प्रभाब पर्ने कुनै कुरा पनि प्रयोग नगरौ / अहिले पश्चिमा देशहरुमा अर्ज्ञानिक खानेकुराको यत्रो प्रचार भैरा’को बेलामा हामि परम्परागत रुपमै पहिल्यै अर्ग्यानिक खादै आएका नेपालीहरुलाइ अर्ग्यानिक खानेकुरो फलाउन, र खान उतिसारो मुस्किल नपर्नु पर्ने हो / सबैलाई चेतना हुनु जरुरि छ / मौसम अनुसारका फलफुल तरकारी मात्र किनौ, शंका लाग्दा खानेकुराहरु नखाऔ /