अर्जेन्टिनाका मेस्सीले आइतबार मध्यरातमा हुने फाइनल जितेर तीन पटक विश्वकप जित्ने देशको रेकर्ड राख्लान्/नराख्लान् तर हाम्रै ‘मुगुकी मेस्सी’ सुनकलीले भने माइसंसारमा नयाँ रेकर्ड राखेकी छिन्। उनको नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छ, विश्वकप जितेसरह सम्मान दिन्छ? शीर्षकको ब्लग माइसंसारमा अहिलेसम्मकै सबैभन्दा बढी पढिएको ब्लग भएको छ। शुक्रबार राति यसले एक लाख पटकको संख्या पार गरेको छ। खासमा त्यो कुनै विशेष र अनौठो खालको विषय समेटिएको ब्लग थिएन। मानव विकास सूचकांकमा सबैभन्दा पछि परेको एउटा जिल्लाकी सामान्य किशोरीहरुले एउटा राष्ट्रिय खेल खेलेर उपाधि जितेको विषयलाई पाठकहरुले धेरै नै मन पराएर फेसबुक र ट्विटरमा सेयर गरेपछि एक लाखको संख्या छुन सफल भएको हो। मुगुको विषयलाई पाठकहरुले माया गरेको देखेर त्यहाँको फुटबल क्रेजका थप केही फोटो यो ब्लगमा राखेका छौँ।
सुनकली (बीचमा) सन् २०१२ मा हुम्ला र मुगुबीच मैत्रिपूर्ण खेल अघि सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै।
मुगुको गमगढी बजारमा चामल लिन लागेको लाइन। मुगुमा कूल भू-भागको ५ प्रतिशत मात्र खेतीयोग्य जमिन छ। स्थानीय उत्पादनले केवल ३ महिना मात्र थेग्न सक्छ। बाँकी ९ महिनाका लागि मुगुबासी सरकार र गैरसरकारी संस्थाले दिएको ढुवानी अनुदानमा निर्भर छन्।
यो ब्राजिलको रियोमा अवस्थित माराकाना रंगशालाको फोटो हो। आज जर्मनी र अर्जेन्टिनाको फाइनल यही मैदानमा खेलिँदैछ। यो रंगशाला अहिले हैन सन् १९५० मै बनेको हो र ७८ हजार भन्दा बढी दर्शक यहाँ अट्छ।
र, यो चाहिँ हाम्रै मुगुको बाम मैदानको दृश्य।
खेल यहाँ पनि उत्तिकै उत्साहका खेलिन्छ। खेल उत्तिकै रोमाञ्चक हुन्छ। यही मैदानमा हुम्ला र मुगुबीच भएको मैत्रिपूर्ण खेल।
हुम्ला-मुगुको गोललाइन टेक्नोलोजी
अहिलेको विश्वकपमा रेफ्रीले सेतो स्प्रे फ्रिकिकको बेला छर्केको देखिन्छ। त्यस्तै गोल भएको हो कि होइन हेर्न गोललाइन टेक्नोलोजी प्रयोग गरेको देखिन्छ। तर कर्णालीमा हुने फुटबल खेलमा कस्तो अवस्था आइपर्छ त, भिडियो हेर्नुस्-
यो हुम्लाको रिमीमा मुगु र हुुम्लाबीच भएको खेलको दृश्य हो। मुगुले पहिलो गोल गरी १-० को अग्रता लिएको थियो। यत्तिकैमा यो विवाद आउँछ। हुम्लाको गोलमा विवाद हुन्छ। भिडियोमा रेफ्री पहेँलो लुगा लगाएका व्यक्ति हुन्। रेफ्रीले गोल भएन, गोलकिपरले समातिसकेको छ भन्छ। तर हुम्लाका दर्शकहरुले अघि पनि पेनाल्टी दिइनस्, यो गोल पनि दिइनस् भनेर थर्काउँछन्। पेनाल्टी त थिएन, मैले आफैले देखेको भन्दा पनि रेफ्रीले सुख पाउँदैनन्। पुलिस आउनु पर्ने स्थिति बन्छ। अनि खेलका आयोजकहरु रेफ्रीले जे भन्यो त्यही हुने कुरा बताउँछ। रेफ्रीले सहायक रेफ्रीलाई सोध्छ के भएको हो भनेर। सहायक रेफ्रीले ‘देखिनँ मैले त’ भनिदिन्छन्। सुरुमा गोल भएको होइन भन्ने रेफ्रीले पछि हुम्ली दर्शकको दबाबमा परेर गोल भएको निर्णय दिन्छ। त्यसपछि पनि मुगु र हुम्लाले एक-एक गोल हान्छ। एक्स्ट्रा टाइममा कसैको गोल हुँदैन र पेनाल्टी सुटआउटमा जान्छ। पेनाल्टीमा सुनकलीको टिम मुगु हार्छ। हारेको बेलाको दृश्य यो ब्लगमा हेर्न सक्नुहुन्छ।
मुगको बामस्थित यो मैदान सुरुमा निकै भिरालो थियो। स्थानीय बासिन्दाले यसलाई आफ्नै पहलमा सम्याएर खेल्न लायक बनाएका हुन्।
बामको मैदान निर्माण हुने क्रममा।
बामको मैदान निर्माण हुने क्रममा।
मुगु हुम्लामा खेल आयोजना गराउन त्यति सजिलो छैन। खेल खेल्न आउँदा गाँसबासको व्यवस्था पनि आफै गर्नुपर्छ। यहाँका घरहरुमा पाहुना बस्ने ठाउँ नहुने हुनाले कि स्कूलको कक्षाकोठामा सुत्नुपर्छ कि मैदानमै पाल लगाएर सुत्नुपर्छ।
बामको यो भिरालो मैदानलाई गाउँलेहरु निकै मेहनत गरी सम्याए।
नेपालकै सबैभन्दा कम जनसंख्या भएको कर्णाली अञ्चलमा पनि खेल हुँदा दर्शकको उल्लेखनीय उपस्थिति देखिन्छ।
मुगुमा खेल्न आउनुअघि हुम्लाका खेलाडीहरु जौबारीमा अभ्यास गर्दै।
मुगुमा महिलाको औसत उमेर ३९ वर्षमात्रै रहेको छ। तस्बिरमा देखिएका महिलाको उमेर १५ वर्षका मात्रै हुन्।
मुगुको सदरमुकाम गमगढी बजारमा भलिबल खेल्दै। भौगोलिक हिसाबले यहाँ भलिबल निकै प्रख्यात छ। तर पछिल्लो समयमा फुटबलको क्रेज बढ्दै गएको छ।
भलिबल मैदान नजिकै भने यस्तो भिरालो जमिन छ।
हुम्लाको रिमी मैदानमा मुगु र हुम्लाबीच मैत्रिपूर्ण फुटबल खेल हुँदै।
बामको मैदानमा हुम्लाकी गोलकिपर।
मुगुका खेलाडी स्पेन, चेल्सी आदि विश्वविख्यात क्लबका जर्सी लगाउँछन्।
बाममा हुम्ला र मुगुबीच भएको खेल।
खेलपछि हुम्ली खेलाडीहरु देउडा नाच्दै। यहाँ कुनै पनि कार्यक्रम सकिएपछि देउडा नाच्ने चलन छ।
यस्तो परिवेशमा पनि राष्ट्रिय खेल जितेर आएपछि मुगुवासीले सुनकलीको टिमलाई भव्य स्वागत गरे।
अप्ठेरो भौगोलिक परिस्थितिको नमूना। फोटोमा हेर्नुस् माथिबाट ढुंगा खस्ने जोखिम।
मुगुको थार्प स्कूलमा फुटबल खेल्दै।
फोर्ब्सका केली फिलिप्सका अनुसार विश्वकपको आयोजक संस्था फिफा स्विस कानुन अनुसार दर्ता भएको गैरनाफामूलक संस्था हो। त्यसैले फिफाले विश्वकपबाट भएको आम्दानीवापत् स्विट्जरल्यान्डमा कुनै कर तिर्दैन। त्यतिमात्र हैन, फिफाले ब्राजिलमा पनि विश्वकपकै लागि धेरै कुरालाई कर छुट गराएको छ। ब्राजिलको कानुनै संशोधन गराएर फिफाले यसो गराउन लगाएको हो जसको घरेलु पार्टीहरुले विरोध गरेका थिए।
ब्राजिलमा मात्र हैन, फिफाले विश्वकप आयोजना गर्ने हरेक देशलाई कर छुट गर्न लगाउँछ। विश्वकप आयोजना गर्न बिड गर्ने प्रक्रियामा समेत कर छुट गराउनु पर्ने शर्त राखिएको हुन्छ। यो कर छुटमा कर्पोरेट कर, आय कर, भ्याट, अन्तशुल्क, स्थानीय कर र कर कानुनले समेट्न सक्ने अरु सबै कर छुटहरु सामेल हुनुपर्ने शर्त फिफाको हुन्छ। यी छुटहरु कति डलर बराबर हुन्छ भनेर ठ्याक्कै हिसाब निकाल्न गाह्रो हुन्छ। तर ब्राजिलको आन्तरिक राजस्व कार्यालयले यी छुटहरुबाट देशले २४ करोड ८७ लाख डलर बराबर घाटा हुने अनुमान गरेको छ (अरु केहीले भने यो संख्या त्यसभन्दा दोब्बर हुने अनुमान गरेका छन्) विश्वकप नहुने वर्ष अर्थात् २०१३ मा मात्रै फिफाले कूल आय एक अर्ब ३८ करोड डलर थियो। सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा टेलिभिजन अधिकार मात्रै बेचेर फिफाले २ अर्ब ४० करोड डलर पाएको थियो। मार्केटिङ राइट्स बेचेर थप एक अर्ब ७ करोड डलर कमाएको थियो। त्यसो भए यति धेरै रकम जान्छ कहाँ त ? अधिकांश अवस्थामा यो रकम संगठनका भागहरुमै जान्छ। प्रशासनिक खर्च रकम कटाएपछि खेलको प्रवर्ध्दनका लागि (कागजातमा त्यस्तै लेखेको देखिन्छ) जान्छ। त्यो भनेको एन्फा जस्ता फिफामा आवद्ध संस्थामा रकम जानु पर्ने हो। स्वभावतः फुटबल क्रेजी मुगु र हुम्लाको पनि यसमा हक हुन्छ। तर…वास्तविकता….!
सुनकली डकुमेन्ट्रीका निर्देशक भोजराज भाटका अनुसार यसको च्यारिटीबाट उठेको पैसाले मुगुको फलाँचा चौरमा फुटबल मैदान बनाउन सकिने प्रस्ताव गरिएको छ। ‘रकम राम्रै उठ्यो भने हुम्ला र मुगुमा गरी दुई ठाउँमा फुटबल मैदान बनाउन सक्छौँ’, उनी भन्छन्।
मुगुको फलाँचा चौर। यहाँ फुटबल मैदान बनाउन सकिने प्रस्ताव गरिएको छ।
*****************
यी तस्बिर भोजराज भाटद्वारा निर्देशित डकुमेन्ट्री ‘सुनकली’को हो। विकट कर्णालीमा फुटबल क्रेज र फुटबलबाट समाजमा भएको परिवर्तन समेटिएको यो डकुमेन्ट्री विश्वका विभिन्न देशमा माग अनुसार च्यारिटी शो हुने भएको छ।
हेर्नुस् डकुमेन्ट्रीको प्रोमो
[Disclaimer: भोजराज भाट मेरा साथी हुन्। भाटसँग स्पेसटाइम र नागरिक दैनिकमा मैले सँगै काम गरेको थिएँ। आफूले निर्देशन गरेको पहिलो डकुमेन्ट्रीको ‘ब्लग पार्टनर’ बन्न उनले गरेको प्रस्तावअनुसार माइसंसार यसको ब्लग पार्टनर हो। यसवापत् एक पटक मुगु घुम्न पाइने र त्यहाँका ब्लग आफैले लेख्न पाउने आशा छ।]
सुन्न मा आए अनुसार यो पल्ट को वर्ल्डकप मा करोडौको जर्सी खरिद गरि आफ्नो मन पर्ने टिम लाई सपोर्ट गरे रे नेपाली खेल प्रेमी ले … के तेत्रो रकम को केहि प्रतिशत पनि कर्णाली पुराउन सकेका भए आफ्नै चेली बेटी मा थप हौसला बढथ्यो कि
प्रिय पाठक/भिडियो दर्शकहरु
सुनकलीप्रति देखाउनु भएको अपार मायाले हामीलाई थप उत्साह मिलेको छ। तपाईहरूप्रति हामी आभारी छौं। भविष्यमा गुड नेवर्स नेपाल(जो हाम्रो डकुमेण्ट्रीको निर्माता हो) र डकुमेण्ट्री टीम मिलेर यसलाई संसारभरका नेपाली सामु प्रदर्शन गर्ने सोच बनाएका छौं। र, यसबाट आउने रकम सिधै मुगु र हुम्लामा बजेट अनुसारको स्टेडियम बनाउने योजना छ। आउनुस्, तपाईहरुको निस्वार्थ समर्थन र हाम्रो पवित्र काममा हातेमालौं गरौं।
यो डकुमेन्ट्रीको च्यारिटी शो गर्न चाहनु हुन्छ भने तपाईँले निर्देशकका रुपमा मलाई ([email protected]) वा निर्माताका तर्फबाट विमलसिंह विष्ट ([email protected])लाई सम्पर्क गर्न सक्नुहुनेछ।
हामी नेपाली हरु अरु देश हरु को खेलाडी हरु लाइ सपोर्ट गर्छौ आफ्नै देश का खेलाडी लाइ चै वास्ता गर्दैन . म त आफ्नै देश का किसोरी खेलाडी सम्मान गर्छु . यी भिदेओ हेर्दा त आफ्नै देश को गरीब जिल्ला का किसोरी खेलाडी नै राम्रो लाग्यो.
रमाइलो लग्यो तस्बिर हेरेर आफ्नु गाउ ठाउँ को याद आयो
खेल मानव बिकासको पर्याय हो खेलको विकास हुनु भनेको त्यहाको मानवीय जीवनस्तरको विकास भएको मान्नुपर्छ त्यो हामी नमुनाको रुपमा युरोपलाई लिन सक्छौ खेलले स्वस्थ , अनुशासित र शिर्जन्शील बनाउन मद्दत गर्दछ ढिलो भएनी मूगुबासीले खेलको छुट्टै मज्जा मात्र नभई केहि गरेर देखाउने माध्यम पनि पाएको छ आशा गर्छु कि हाम्रा अतिवादी सरकारको तेर्सो आँखाले खेल र शिछयाको सानो अंश पनि हेरीदिए हुन्थ्यो कि …..ताकी हाम्रो देशको कुनै पनि ठाउँ पिछडिएको भनि सुन्न नपरोस …
धेरै राम्रो छ ! यस्तै सुन्दर विचारहरू सबैमा हुन जरूरी
छ ! यस्तै सुन्दर विचार र कामहरूले समाज अनि देश
सुन्दर बनाउछ !
अति सुन्दर तस्बिरहरु अनि धेरै धेरै धन्न्यबाद ति किसोरी खेलाडी हरुलाई जसले आफ्नो ठाउँ को शान मान राख्न सकेको छ .