Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : हिमित हृदय

Posted on July 12, 2014 by mysansar

– डा. लेखनाथ काफ्ले/ शिन्चु, ताइवान –

saturday-fiction कहिलेकाहीँ मलाई कसैले बेसरी लखेद्छ। अनुहार, आकृती, प्रकृती केहि आभास हुदैन तर लखेद्छन। म तिनीहरूको लाखेटाईबाट बच्न मरुन्जेल दगुर्छु। दगुर्दा-दगुर्दै एक भयानक चट्टाने भीरको टुप्पोमा लड़ुलाँ झैँ गरी उभिदा तिनीहरू झम्टिन आइपुग्छन। म हाम फाल्छु टुप्पोबाट।

जीउ सिरिंग हुन्छ। माथिबाट एकदमै हुत्तिएर तलतल झर्दाझर्दै ज्यान नै चीसो भएर आउछ। सास पुरै रोकिन्छ। अब बाँच्ने कुनै उपाय रहदैन। जीउ पसिनाले लछप्पै भिज्छ। हातखुट्टा अरट्ठ हुन्छन। म जोडले हात खुट्टा फाल्न खोज्छु। भुईंमा बजारिन नपाउदै कतै रोकिन चाहन्छु ताकी कुनै उपायले जीवन रक्षा होस्। तल झर्ने गति झन बढ्दै जान्छ। अब भुईंमा बजारिन केहि निमेषको मात्र समय हुन्छ। अब बजारिएर जीवनलीला सकियो भनेर आँखा जोडले चिम्म गर्दछु।

यी दृष्यहरू मेरो आँखाका पर्दामा लगातार र शृंखलाबद्ध भै आइरहेकाछन। अनि म आफूले आफ्नै अवसान हेरिरहेको छु। मलाई थाहा छ म नै हुँ त्यो जो भयानक चट्टानी पहरोको टुप्पोबाट भुईंमा खस्दै गइरहेको छु। शरीरमा चेतको अंश निकै दुर्बल र क्षीण भैसकेको छ। तल भुईंमा यमराज दुई हात पसारेर मलाई पर्खेर बसेका छन्। अब जीवनको अन्तिम क्षण, अन्तिम केहि सेकेण्डहरू मात्रै बाँकी छन्। म तिनै केहि निमेषहरूलाई जीवन पुनः प्राप्त गर्ने उपायमा लगाउन प्रयासरत छु। अब त ड्याम्मै भुईंमा बजारिने प्रहर आइसकेको थियो। म चेतानाशुन्य र प्रकाशबिहिन भैसकेको थिए। आँखामा निष्पट्ट कालो पर्दाले छाइरहेको थियो। म मर्न चाहन्नथे। तर म देखिरहेको थिए, म मर्नु र बाँच्नुको बिचमा अब केवल ३ सेकेण्डमात्रै बाँकी थियो। मुटु चीसो भएर आयो, छातीलाई अजंगको पहाड थिचिरहे जस्तो भयो। जीवनका मेरा अन्तिम केहि श्वासप्रश्वास मात्रै घटित हुन् बाँकी थिए। आँखाका पर्दामा म अब प्राणबिहिन मुढ भै सकेको थिए।

अचानक मेरा हातखुट्टा जोडले हुत्तिए। आँखा बडो जोडबल गरेर खुले। वरपर हेरे। म भुईंमा थेचारिनुभन्दा मात्रै एक निमेषले बाँचेको थिए। म जीवित थिए। मेरो आँखा अगाडीको पर्दा च्यातिएको थियो। ति पर्दाका दृष्यहरू फिका भैसकेका थिए। शरीर कामिरहेको थियो। जीउ पसिनाले पुरै भिजेर लुछुप्प भएको थियो। बल्लतल्ल प्राण बचेको थियो। तर मृत्युको त्रास र केहिबेर अगाडी मात्रैको घटनाले शरीरका प्रत्येक तन्तुहरूमा डरको चीसो टम्म भरिएको थियो। स्यायू प्रणाली र पाँचै इन्द्रीयहरू निष्क्रिय थिए। मेरो छैठौं इन्द्रियले आफू बाँचेको संदेश प्रबाह गरिरहेको थियो। तर चिसा पैताला र तालु अनि स्तब्ध मनले अझै अबस्थालाई सहज ग्रहण गरिसकेको थिएन।

म साँच्चै नै बाँचेको थिए? म आफैले आफैलाई छामे, हात चलाए, खुट्टा उचाले। आफ्नो नाम आफैले स्वर निकाली कहे, आफैले सुने। छातीमा अतिगुरु बोझले च्यापेकोले श्वासप्रश्वास शनैः शनै चल्दै थियो। हृदय हिमित थियो। ज्यादै तुषार। मैले कतै पढेको थिए, निश्चित तापक्रमभन्दा बाताबरण जति चीसो भयो, शरीरका आन्तरिक क्रियाप्रक्रियाहरू त्यति नै शिथिल हुन जान्छन र सारै चीसो भयो भने तिनीहरू निदाउछन। पुरै निष्क्रिय हुन्छन्। तर मेरो चेत फर्केको थियो। त्यसैले मलाई आफू शिथिल हुदै गएको थाहा थियो। म अब आफूले आफूलाई सक्रिय बनाइन भने आफू पुनः मृत्युमा शरणागति पर्नु बाहेक अर्को पर्याय थिएन। म आफूलाई मृत्युको अगाडी उसकै मैदानमा आत्मसमर्पण गर्न चाहन्नथे। मैले निष्क्रिय देहको आन्तरिक शेष शक्तिलाई सम्पूर्णरुपमा जगाउने प्रयासमा आफ्नो ध्यान केन्द्रित गरे। मलाई कसैले भनेको थियो, एकाग्रताले शरीरको शक्ति जता केन्द्रित गर्यो त्यो भाग सक्रिय हुन जान्छ। मैले मुटुलाई केन्द्रित गरि त्यसमा शक्ति भरे। ढुकढुकीको चालमा वृद्धि भयो। त्यसपछि मस्तिष्कमा शक्ति एकाग्र गरे। मेरो शरीरमा तापको मान चढ्यो। हातखुट्टा चले।

म जुरुक्क उठे। बाहिर त्यस्तो अध्याँरो पनि थिएन। कुनै अजीवको आवाज पनि आइरहेको थिएन। सबै नियमित र यथास्थित थिए, आफ्नै लय र शृंखलामा चलायमान। मै पो अनियमित र अस्थिर रहेछु। म भयंकर अनित्य थिए। मलाई थाहा थिएन के भैरहेको थियो म भित्र, अझै के के बाँकी छ म भित्र।

अलिअलि जान्ने भएदेखि नै आकासदेखि पातालसम्म, सगरमाथादेखि केचनासम्म, नरकदेखी स्वर्गसम्मका कुराहरू कल्पिन्थे। आजकल तिनै कुराहरू सपनामा आउछन। आजकल किन हो कुन्नि अनेकथरी सपनाहरू देख्दछु। कसैले भनेका थिए सपना त बिपनामा पुरा हुन नसकेका अतृप्त इच्छा, आकांक्षा र मनोकामनाहरू कै छायाँ हुन्। ति अतृप्त मनोकांक्षाहरू बिबिध रुपमा जीवनमा आइरहन्छन्। कहिले सपनाको रुपमा र कहिले मनका भावनाका लहरका रुपमा। तर तृप्त नहुन्जेल आउन कहिल्लै छाड्दैनन्। मलाई यस कुराले सारै अत्यायो। किनकि म भर्खरै मृत्युबाट तन्ग्रिएको थिए। के मेरो मृत्यु नै बिपनामा पुरा हुन नसकेको अतृप्त इच्छा, आकांक्षा र मनोकामना कै छायाँ हो त? मेरो हृदय फेरी हिमित भयो, नितान्त चीसो भयो।

1 thought on “कथा : हिमित हृदय”

  1. premji says:
    July 14, 2014 at 10:54 pm

    राम्रो छ, लेखनाथ जी ! मान्छेको पुरै जिन्दगीलाइ त्यहि भुइमा बजारिन बाकि रहेको निमेषसंग तुलना गर्न सकिँदो रहेछ | हेर्दा हेर्दै संसार छोड्ने बेला आइपुग्छ | मृत्युवरण गर्दा बित्तिकै त्यसरी नै ब्युझिएर “ए सपना रहेछ” भनिने हो कि ? के थाह !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme