Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकप दर्शन नियमावली, २०७१

Posted on July 2, 2014 by mysansar

wcjersy अहिले जताततै विश्वकपको ज्वरो चढेको छ। ३२ वटा टिमले सुरु गरेको विश्वकप फाइनलको यात्रा गएराति र आज बिहान भएका खेलमा अर्जेन्टिना र बेल्जियमको विजयसँगै आठ वटामा झरेको छ। अब आज र भोलि दुई दिन विदा छ। शुक्रबारदेखि अन्तिम ८ मा पुगेकाहरु अन्तिम ४ अर्थात् सेमिफाइनलमा स्थान पाउन क्वार्टरफाइनलमा भिड्ने छन्। विश्वकपको ज्वरो चढेकै बेला माइसंसारका एक पाठकले विश्वकप दर्शन नियमावली, २०७१ पठाएका छन्-

विश्वकप दर्शन नियमावली, २०७१
प्रस्तावना
लात्तेभकुन्डो (फुटबल) खेलको सम्पूर्ण खेल प्रकृया र नियमबारे थोरैलाई थाहा भए पनि विश्वस्तरका खेल समीक्षक हुँ झैँ गरी विद्वता छाँट्नेहरुका कारण समय समयमा विवाद आइराख्ने भएको कारण विश्वकप खेल दर्शनलाई व्यवस्थित र मर्यादित पार्नु वाञ्छनीय भएकोले नियमावलीको अभावमा सँधै किचलो हुन नदिन स‍ं‍विधान सभाभित्र रहेका र नरहेका सबै दलको सहमतिमा नियमको तर्जुमा गरिएको छ ।

परिच्छेद-१
१. संक्षिप्त नाम र प्रारम्भः
(क) यो नियमावलीको नाम “विश्वकप दर्शन नियमावली, २०७१” रहेको छ ।
(ख) यो नियमावली विश्वकप फुटबलप्रति रुचि राख्ने दर्शक र उनीहरुको परिवारको हकमा मात्र लागू हुनेछ ।
(ग) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा:
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा:
(क) “विश्वकप” भन्नाले हरेक चार-चार वर्षमा स्विट्जरल्यान्डमा मुख्यालय भएको फिफा नामको खेलसम्बन्धी आइएनजिओले आयोजना गर्ने लात्तेभकुन्डो (यसपछि फुटबल भनिएको) प्रतियोगिता सम्झनु पर्दछ ।

(ख) “फुटबल” भन्नाले आयातकार चौडा मैदानमा एउटा बल फालेर ११ जनाको दुई टिमले त्यसैलाई छिनाझपटी गर्दै खेल्ने खेल सम्झिनु पर्दछ।

(ग) “रेफ्री” भन्नाले खण्ड (ख) अनुसारको खेललाई नियमभित्र रही मर्यादित बनाउन व्यवस्था गरिएको मैदानभित्र खेलाडीसँगै दायाँबायाँ दौड्ने तर बल छुन नपाउने मनुवा बुझ्नु पर्छ। मनुवा सिद्धान्ततः तटस्थ हुनुपर्ने भए पनि पौराणिक ग्रन्थमा देउतासमेत तटस्थ नहुने देखिएकोले कहिलेकाहीँ कसैको पक्ष लिएको जस्तो देखिए पनि त्यसलाई अन्यथा नलिई उसले गरेको निर्णयलाई नै सर्वोपरी ठान्नुपर्दछ।

(घ) “सहायक रेफ्री” भन्नाले खण्ड (ग) अनुसारको व्यक्तिको सहयोगका लागि व्यवस्था गरिएको मैदानभित्र नभई बाहिरतिरबाट झण्डा लिएर दायाँबायाँ दौडिरहने मनुवा सम्झनु पर्दछ।

(ङ) “गोल” भन्नाले मैदानमा रहेको गोलो भागमा बल राख्नु नभई मैदानको छेउमा लामखुट्टे पस्न नदिन राखिएको झुल जस्तो पदार्थले बेरेको तर अगाडिपट्टी ह्वाङ्गै खुला राखी त्यसको अघिल्तिर एक जना खेलाडी बसेको ठाउँबाट बल छिर्दाको अवस्थालाई बुझ्नु पर्छ। जित्ने नै मनसाय राखी खेलाडीले एक अर्काको पोस्टतिर बललाई गोल गर्न खोज्छन्।

(च) “रेडकार्ड” भन्नाले खण्ड (ग) अनुसारको रेफ्रीले कर्तव्यपालनको सिलसिलामा खेलाडीलाई देखाउने रङ्गिन कागजको टुक्रा बुझ्नु पर्छ। यो देखाएपछि खेलाडी मैदान छाडेर लुरुक्क लागेर फर्कनुपर्छ। आवश्यकता अनुसार कहिलेकाहीँ रेफ्रीले यस्तो कार्ड टिमका मैदानबाहिर रहेका सदस्यलाई पनि देखाउन सक्छ।

(छ) “यल्लो कार्ड” भन्नाले खण्ड (च) कै शैलिमा खण्ड (ग) अनुसारको रेफ्रीले देखाउने सचेत गराएको अवस्थालाई सम्झनु पर्दछ।

(ज) “दर्शक” भन्नाले खेल मैदानमा होस् वा टेलिभिजनमा लाइभ वा रेकर्डेड अथवा हाइलाइट्स हेरेर बिनसित्तिमा उत्तेजित भई कराउने वा नकराउने व्यक्ति सम्झनु पर्दछ। यो शब्दले इन्टरनेट, सामाजिक सञ्जालमा स्टायटस वा कमेन्ट हेर्ने वा गर्ने व्यक्तिलाई समेत समेट्छ। अर्काको देशको झण्डा र जर्सी लाएर बाटोमा हिँड्ने र मोटरसाइकल जुलुस गर्ने व्यक्तिहरु पनि यसैमा समेटिन्छन्।

(झ) “बाजी” भन्नाले गोरु बेचेको साइनोसमेत नभएका अर्को देशको टिमलाई समेत आफ्नै साख्खे बाउभन्दा बढी प्यारो गरेर समर्थन गरी उसको जितप्रति अन्धविश्वासी हुँदै अर्को व्यक्तिसित जुनसुकै शर्तमा राखिने रुपियाँ, पैसा समेटिने नगद वा जिन्सी सामानको बाजी सम्झनु पर्दछ।

(ञ) “लाग्यो” भन्नाले साथमा भएको नगदी वा जिन्सी सम्पूर्ण सरसामानहरु हारी टाट पल्टी मुर्गा हुने व्यक्तिले तिर्न नसकी ङिच्च दाँत देखाउँदै दिएको जवाफ सम्झनु पर्दछ । सो शब्दले खल्तीमा (भित्री पकेटमा) पैसा भई भई बद्नियतपूर्वक हारेको पैसा नतिर्ने नियतले कुनै पनि ढंगबाट दिएको जवाफ समेत सम्झनु पर्दछ।

(ट) ‘विश्वकपको ज्वरो’ भन्नाले रातभरी जाग्राम बसेर तेश्रो पहरमा सुत्नु र सखारैमा छोराछोरीको हल्लाले वा काम गर्न जानपर्ने बाध्यताले मन नलागी नलागी उठेर दैनिकीमा सामेल हुँदा रातभरीको निद्रा साथै आफुले सपोर्ट गरेको टोलीले हारेको झोंकको कारण शरीरको तापक्रम साबिक भन्दा अलि बढी भएको अवस्था सम्झनु पर्दछ।

परिच्छेद-२
३. यस नियमावलीमा निम्न बमोजिम नियमको व्यवस्था गरिएको छ:-

(१) दर्शन विधि : विश्वकप हेर्नका लागि एकल, सामूहिक जुनसुकै विधि अपनाउन सकिनेछ। कानुनले दिएको अधिकार प्रयोग गरी टोलटोलमा सामूहिक रुपमा धेरै जना भेला भएर वा साथीभाइ जम्मा भई कुनै निश्चित स्थानमा जम्मा भई मदिरामासुसहित पनि खेल हेर्न सकिनेछ। त्यसैगरी कसैलाई एक्लै बसी मोबाइलमा फेसबुक र ट्टविटरमा हल्ला गर्दै खेल हेर्न पनि बाधा पुग्ने छैन।

(२) खुसी मनाउने विधि:- यो खेलका क्रममा आफ्नो समर्थन रहेको टिमले गोल गरेमा एक पटक ठूलो स्वरले ‘गो…ल’ भनी चिच्याउन अनुमति छ। त्यसरी कराउँदा कसैको निद्रा भंग भएमा वा अर्को टिमको समर्थनमा रहेको व्यक्तिलाई रिस उठेमा पनि सहनु पर्नेछ। यस्तो खुसियाली एक्लै बसेर खेल हेर्नेले पनि इच्छा अनुसार व्यक्त गर्न वा विद्युतीय रुपमा सामाजिक सञ्जालमा स्टायटस वा ट्विट गरेर गर्न सकिनेछ।

(३) विशेष व्यवस्था :- विश्वकप अवधिभर टेलिभिजनको रिमोट कन्ट्रोलमा खेलप्रेमी परिवारका सदस्यको नियन्त्रण हुने विशेष व्यवस्था गरिएको छ। विशेष व्यवस्था अनुरुप नभएमा यसै नियमावलीविपरीत कार्य भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा उजुर गर्न सकिनेछ। उजुरीमा छानबिन गरी दोषी ठहरिएमा यसै नियमावलीको परिच्छेद ३ मा गरिएको व्यवस्था अनुसार दण्डसजाय हुनेछ।

(४) विश्वकप अवधिमा निषिद्ध कार्यहरु:-
(क) विपक्षी टिमका समर्थकहरुलाई उत्तेजित पार्ने गरी बोली, स‍ंकेत वा विद्युतीय रुपमा अभिव्यक्ति राख्न नहुने।

(ख) दर्शकको कर्तव्य पालना गर्दै खेल भइरहेको बेला मुख छाड्न तथा हात हाल्न नहुने ।

(ग) सामूहिक रुपमा खेल हेर्न कसैको घरमा पाहुना लागेको बेला त्यहाँ रहेका स्वास्नी, छोरी, चेलीहरु माथि गिद्धे दृष्टि लगाउन नहुने ।

(घ) धारिलो हतियार लिएर खेल हेर्न आउन निषेध ।

(ङ) धूमपान, मद्यपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जान्दाजान्दै कसैलाई आफ्नो ज्यान फाल्न मन छ भने त्यो स्वीकृति पाइनेछ तर यसले अरुलाई बाधा पुर्‍याउन पाइने छैन। विश्वकप भन्दैमा मापसे जाँचबाट छुट पाइने छैन।

(च) विपक्षी टिमको विरुद्धमा असल नियतले आफ्नो स्टायटस वा ट्विटरमा अभिव्यक्ति दिन पाइनेछ तर जानाजानी अरुको टिमलाई होच्याउने नियतले अरुले लेखेको स्टायटसमुनि कमेन्ट गर्न वा ट्विटरमा मेन्सन अथवा रिप्लाइ गरे विद्युतीय कारोबार ऐन अनुसार कारबाही गरिनेछ।

(छ) रेफ्रीको निर्णय वा खेल विश्लेषण गर्दा तर्कसंगत आधार दिनु पर्नेछ। प्रमाण नदिई बोलेका कुराले अर्को टिमका समर्थकको मानहानी भएमा कारबाहीका लागि उजुरी दिन सक्नेछ।

परिच्छेद-३
४. यस खेलमा निम्न बमोजिमको दण्ड सजायको व्यवस्था गरिएको छ:-

(१) कुनै पनि दर्शकले खेल भइरहेको अवस्थामा उत्तेजित भई टेलिभिजनको रिमोट चलाउने, सामूहिक प्रदर्शन स्थलमा अरु दर्शकलाई छेकिने गरी उभिने, पर्दा च्यात्नेसम्मको अपराध गरेमा त्यस्तो दर्शकलाई विश्वकप अवधिभर खेल हेर्न नमिल्ने गरी हिरासतमा राखिनेछ। यो दफा बमोजिमको कारबाहीमा बन्दीप्रत्यक्षीकरणको रिटसमेत नलाग्ने विशेष व्यवस्था गरिएको छ।

(२) खेल हेर्न अवस्थामा मुख छाड्ने तथा गालीगलौज, बेइज्जती गर्न नहुने:- यस नियमावलीमा कुनै पनि दर्शकले एक अर्का बिचमा व्यक्तिगत मनमुटाव गर्ने तथा खेलको प्रसङ्गमा अनावश्यक वादविवाद, किचलो सृजना गरी अवरोध ल्याउने/गराउने तथा नाकमा मुखमा मुक्का बजाउनेसम्मको जघन्य अपराध गरेमा त्यस्तो दर्शकलाई तुरुन्तै खेल दर्शनस्थलबाट निष्काशन गरिनेछ। विद्युतीय स्वरुपमा सामाजिक सञ्जालमा पनि यस्तो गर्न पाइने छैन। यस्तो गर्नेलाई सार्वजनिक अपराध ऐन र विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइनेछ।

(३) धारिलो हतियार लिएर आउन निषेध:- कुनै पनि दर्शकले खेल भएको समयमा धारिलो हातहतियार लिएर आई, देखाई वा आतङ्कति पारी लिई आएको धारिलो हतियार प्रहार गरी खालमा रहेका कुनै पनि व्यक्तिलाई घाइते बनाएमा ३५ दिन भित्र निको नहुने चोट लागेको अवस्थामा कानून बमोजिम कारवाहीको लागि नजिकको प्रहरी कार्यालयमा बुझाईदिनु पर्नेछ तर ३५ दिन भित्र निको हुने प्रकृतिको चोट भएमा प्रहारकर्ताले घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्नु पर्नेछ ।

(४) जिस्क्याउन वा गिज्याउन नहुने:- यदि कुनै दर्शकले सामूहिक खेल हेर्ने ठाउँको घरको स्वास्नी वा छोरी, चेली माथि कुदृष्टि राखी जिस्क्याउन वा गिज्याउने, आँखा झिम्क्याउने, हात समाउने, गालामा म्वाई खाईदिने वा अन्य यहाँ लेख्न नमिल्ने जस्तो जघन्य अपराध गरेमा त्यस्ता बिल्टुवालाई अरु दर्शकले उत्निखेरै त्यहाँबाट बाहिर निकाली नाङ्गेझार पारी सिस्नु पानी लगाउन सक्नेछ । आफ्‌नो टिमको समर्थक भन्दै कोही चुप बसेमा सोसमेत कारबाहीको भागी हुनुपर्नेछ। सो कार्य गर्ने बिल्टुवा अन्य कानूनी कार्वाहीबाट समेत मुक्त हुने छैन ।

(५) बाजी हार्ने व्यक्ति भाग्न नहुने:- बाजी हार्ने व्यक्ति दूषित मनसायले भाग्न वा बाहिरिन खोजेमा त्यस्तो दर्शकलाई कठालो समाई जितेको सबै पैसा थुती बाहिर पठाइनेछ । यस्तो कार्यमा उपस्थित अन्य दर्शकले समेत मद्दत गर्नुपर्नेछ ।

(६) अवरोध गर्न नहुने : विश्वकपको खेल अवधिभर टेलिभिजनमा वा सार्वजनिक रुपमा खेल हेर्न रिमोट कन्ट्रोल नदिएर वा अन्य केही कुकृत्य गरी अवरोध गरेमा कारबाही प्रक्रिया अघि बढाइनेछ।

(७) होच्याउन नपाइने : एक समर्थकले अर्को टिमको समर्थकलाई होच्याउने गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिन पाइने छैन। आफ्नो फेसबुक स्टायटस वा ट्विटरमा सालिन ढंगले दुर्नियत नराखी अभिव्यक्ति दिन पाइनेछ तर अर्काले लेखेको स्टायटसमा होच्याउने कमेन्ट वा रिप्लाई वा मेन्सन गरे विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कारबाही अघि बढाइनेछ। त्यस्तो कमेन्टलाई लाइक गर्नेलाई समेत माइस‍ंसारमा उल्लेख भएको सप्तरी प्रकरणमा जस्तै गरी कारबाही प्रक्रिया अघि बढाइनेछ।

परिच्छेद-४
५. अन्य नियम, विनियममा असर नपर्ने:- यस नियमावलीमा उल्लेख भएको नियमहरुले क्षेत्रगत रुपमा बनेका, चलनचल्तीमा रहेका नियम, विनियमलाई कुनैपनि प्रकारले असर गर्ने छैन।

६. लागू हुने:- यो नियमावली केवल विश्वकप दर्शकहरु वा यो संग सम्बन्ध राख्ने जो कोही व्यक्तिलाई मात्र लागू हुनेछ।

७. संयोग हुने:- यो नियमावलीमा व्यवस्था भएका कुराहरु अन्यनियम, विनियमसंग मेल खान आएमा केवल संयोग मात्र हुने छ।

८. अमान्य हुने:- यस नियमावलीमा बाझिएका कुनैपनि कुराहरु बाझिएको हदसम्म अमान्य हुने छन् ।

९. बाधा अड्काउ फुकाउने:- यस नियमावलीमा व्यवस्था भएका कुराहरु बाहेक अन्य परिस्थिति सृजना भई खेलमा अवरोध आएमा दर्शकहरुको आपसी समझदारीबाट बाधा अड्काउ फुकाउन कुनै बाधा पर्ने छैन ।

१०. संशोधन:- यस नियमावलीमा संशोधन एवं सुझाव दिन चाहनेले माइसंसार ब्लगमा यो नियमावली छापिएपछि मुन्तिर कमेन्ट लेखेर लिखित राय सुझाव दिन सक्ने छन्।

14 thoughts on “विश्वकप दर्शन नियमावली, २०७१”

  1. rajan says:
    July 8, 2014 at 6:54 pm

    लेख्ने मान्छे सचेत, जानकार, र फुर्सद भाको रहेछ. यसले फुटबलको बिकाशमा योगदान भयो?
    हो, ठ्याक्कै यस्तै हुन् नेपाली जनता र नेपाल.

    Reply
  2. Jeevan Karn says:
    July 8, 2014 at 12:03 am

    बाजी राख्न पाउने जस्तो गैर सामाजिक क्रियाकलाप लाई प्रोत्साहन गर्ने खाल को नियमावली ले यस “विश्व कप दर्शन निमवाली” माथि प्रश्न चिन्ह खडा गरे को छ, यस निमवाली मा उचित संसोधन नगरी जनमानस मा नकारात्मक संदेश जाने गरि प्रकाशन गरिए को मा प्रकाशक/सम्पादक हरु को कडा आलोचना गर्द छु .

    Reply
  3. Shishir Bastakoti says:
    July 4, 2014 at 12:50 am

    १)समुहमा बसेर खेल हेर्दा मुख बाट गन्हाउने डकार वा तल बाट दुसित हावा छोड्न नपाउने /

    Reply
  4. PG says:
    July 2, 2014 at 4:14 pm

    रमाइलो नियमावली बनाउनु भएछ, लेखकलाइ धन्यवाद

    Reply
  5. Dhruba Raj says:
    July 2, 2014 at 3:57 pm

    सभासदले यो पढे संबिधान बनाउने सम्झना आउथ्योकि तर के आउथ्यो र १२ वर्ष ………….. ढुनग्रामा राखे पनि उस्ताको उस्तै

    Reply
  6. Surya says:
    July 2, 2014 at 2:52 pm

    यसैलाई संबिधान बनाई दिउँ न त.
    नेपालमा पनि राजनीति गर्नको लागि qualifying game खेलाउनु पर्ला जस्तो छ.

    Reply
  7. sagun dhakal says:
    July 2, 2014 at 2:44 pm

    लेख्ने साथी हारेको सभासद हुनुहुन्छ जस्त्यो छ संबिधान लेख्ने मन थियो लेख्न पाउनु भयन माइ संसार मा फूटबल को नियम लेखेर भने पनि चित्त बुझाउनु भयो बधाई छ तपाई लाई

    Reply
  8. Alikhit says:
    July 2, 2014 at 12:13 pm

    यही नियमावलीलाई टेम्प्लेट मानेर संबिधान लेख्न सुरु गरे एक हप्तामा संबिधान बन्ने निश्चित छ | यसको फोटोकपी गरेर बानेश्वर चोकको भवन अगाडी छर्न पर्यो |

    Reply
  9. Sailendra Thapa says:
    July 2, 2014 at 11:57 am

    म्यारिज नियमावली कै रुपान्तर हो त?

    Reply
  10. राम शाही says:
    July 2, 2014 at 11:39 am

    कति फुर्सद भाको मान्छे हो ? तर दामी छ

    Reply
  11. bimal says:
    July 2, 2014 at 11:22 am

    लेखक साथि लाई सभासद बनाऊनुपर्ला जस्तोछ .कतै संबिधानपो बनिहल्छाकी ?

    Reply
  12. Pradeep Meher Shrestha says:
    July 2, 2014 at 11:05 am

    मज्जैले हाँसे, Refresh भईयो!!!

    Reply
  13. Jay says:
    July 2, 2014 at 11:01 am

    यो नियमावली आउन अलि ढिला भयो जस्तो लग्यो मलाई त !!!

    Reply
  14. hari har sharma says:
    July 2, 2014 at 10:17 am

    interesting

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme