केही दिनअघि काठमाडौँका केही ठाउँमा सेकुवा पोल्न आर्यघाटको काठ प्रयोग भएको माइसंसारमा पढियो। सरसर्ती कमेन्टहरु हेर्दा धेरैले आगोको उच्च तापक्रमले गर्दा किटाणुहरु मरिसक्ने हुँदा फरक नपर्ने विचार पनि ब्यक्त गरेको पाइयो। के किटाणुहरु मर्दैमा संक्रामक बिमारबाट जोगिइन्छ त? होला, यसले अहिलेलाई खासै फरक नपर्ला, तर यो चलन स्वास्थ्यको हिसाबले किन राम्रो हैन भन्ने वैज्ञानिक हिसाबले चर्चा गरौँ ।
संक्रामक रोग के हो ?
संक्रामक रोगको साधारण परिभाषामा ब्याक्टेरिया, भाइरस, फंगाइ या परजीवी जस्ता जीवित वस्तुका कारणले हुने बिमारहरु पर्दछन्। यिनीहरु जीवित वस्तुहरु भएकोले यिनीहरुको आफ्नै जीवन चक्र हुन्छ। विभिन्न प्रक्रियाबाट एक व्यक्तिबाट अर्कोमा सर्ने मौका मिल्न गएमा महामारी फैलिन्छ।
उदाहरणको लागि – रुघा लागेको मान्छेले समातेको ढोका या रिमोटको बटन छुनु भयो भने पनि रुघा सर्छ। त्यस्तै टाइफ़ाइडको कारक साल्मोनेला टाइफ़िमुरिअम भन्ने ब्याक्टेरिया दिसाबाट सर्छ। टाइफ़ाइड लागेको व्यक्तिको दिसा कसैगरी अरुको खानासम्म पुग्यो भने अरुलाई पनि टाइफ़ाइड लाग्न सक्छ। टाइफ़ाइड लाग्यो भने के खाएछु भन्ने थाहा पाइराख्नु होला। हैजा पनि त्यस्तै हो। यी त भए जीवित किटाणुले हुने बिमार। के जीवित नभएको वस्तुले पनि संक्रमण गर्न सक्छ?
सक्दो रहेछ।
त्यो वस्तु हो निश्चित प्रकारको प्रोटिन । यो कुरा थाहा भएको धेरै भएको छैन, त्यसैले अलि पहिले स्कुलमा पढेको, बुझेको कुराले त नपुग्ने भयो नै तर अहिले आएर यो सिद्धान्तले ठुला ठुला स्थापित मान्यताहरुलाइ पनि हल्लाइदिएको छ।
यो सब शुरु भएको हो सन् १९९० को दशकमा ।
सन् १९८६ बाट बेलायतमा केही गाईहरु बहुलाउन शुरु भएकोमा ६-७ वर्षभित्रै १ लाख भन्दा बढी गाईहरु बहुलाए। यो “बहुला गाईको महामारी” गराउने कुनै किटाणु भेटिएन तर अनुसन्धान गर्दै जाँदा गाईलाई खुवाएको दानाको कारणले यस्तो भएको निष्कर्ष निस्क्यो।
भएछ के भने, दाना बनाउँदा त्यसमा बहुला गाईका हड्डी र मासु मिसाइँदो रहेछ र दिमागमा हुने एक प्रकारको प्रोटिन पनि मिसिँदो रहेछ। त्यो प्रोटिन स्वस्थ गाईमा एउटा सद्धे आकारको हुँदो रहेछ भने बहुला गाईमा अर्कै बिग्रेको आकारको।
समस्या कहाँ भयो भने बिग्रेको प्रोटिन शरीरभित्र पसेपछि सद्धे प्रोटिनलाइ पनि आफूजस्तै बनाइदिने रहेछ। यस्ता प्रोटिनहरुलाई प्रिअन प्रोटिन भनिन्छ।
हाम्रो जीवन चलाउने नै प्रोटिनहरुले हो, यसको बारेमा अघिल्लो लेखमा चर्चा गरियो, तर प्रिअन प्रोटिन चाहीँ शरीरमा के कामको लागि बन्छन ठ्याक्कै थाहा लागिसकेको छैन।
बिग्रेका प्रोटिनको संख्या धेरै भएपछि दिमागमा जालो जस्तो परेर बस्दिने रहेछ, अनि गाईको दिमागी हालत बिग्रिने रहेछ। बिग्रेको प्रोटिन ख्वाएको वर्षौपछि मात्र लक्षण देखा पर्ने रहेछ।
यो तथ्य थाहा भएपछि बेलायतमा हजारौको संख्यामा बहुलाएका गाइहरुलाई मारेर मात्र नभई, जलाएर, गाडियो, ताकि ती प्रोटिनहरु फेरि स्वस्थ गाइको खानामा नपुगुन्। गाईको दानामा गाईकै मासु नहालेको भए यो महामारी नहुने रहेछ। त्यसैले त्यसरी दाना बनाउन नपाउने नियम पनि बन्यो, र महामारी स्वात्त घट्यो।
यो त गाईमा लाग्ने Mad Cow Disease को महामारी भयो, त्यस्तै भेडामा स्क्रेपी भन्ने रोग छ प्रिअन प्रोटिनले हुने। मान्छेमा यो रोग लाग्छ कि लाग्दैन?
कुनै पनि रोग एउटा प्रजातिबाट अर्को प्रजातिमा सर्न कठिन हुन्छ जसलाई प्रजाति-अवरोध भन्छन्। प्रिअन रोग लागेको गाई या भेडाको मासु खाएर मान्छेलाइ यो रोग लागेको पुष्टि भएको छैन।
९० ताका बेलायतले मासु हानिकारक नभएको जिकिर गरे पनि अमेरिका लगायत धेरै देशले बेलायतबाट मासु आयात गर्न रोके। खराब प्रोटिन शरीरभित्र पसेको वर्षौंसम्म लक्षण नदेखाए पनि रोग लाग्न सक्ने भनेपछि सतर्क त हुनै पर्यो। त्यति मात्र हैन, रक्तदान गर्न खोजे पनि बेलायतमा केही समय बसेर आएको मान्छेको रगत चल्दैन अमेरिकामा।
भने पछि निकै सतर्कता अपनाइएको रहेछ।
एउटा प्रजातिबाट अर्को प्रजातिमा बिमार सर्न कठिन होला, तर मान्छेबाट मान्छेमा सर्दो रहेछ। यो पनि प्रमाणित भयो नब्बेकै दशकमा।
पपुवा न्युगिनीको एउटा आदिवासी गाउँमा कुरू भन्ने अचम्मको दिमागी बिमार फैलियो – खासगरी केटाकेटी र महिलामा। थरर काँप्ने, खुट्टा लुला हुने तर हाँसिरहने। बिमारले छोएको केही समयमै मर्ने।
गाईलाई त बिरामी गाइकै मासु ख्वाएर महामारी फैलियो, तर मान्छेमा महामारी कसरी त?
त्यो पनि ठ्याक्कै त्यस्तै रहेछ।
त्यहाँको मृत्यु संस्कार कस्तो रहेछ भने, कुनै आफन्तको मृत्यु भएपछि मासु खाएमा आफन्तकै शरीरमा रहने विश्वास रहेछ। गाउँका गाउँ बिरामी परे पनि बिमारको पत्तो नलागेपछि अमेरिकाका डाक्टर स्टान्ली प्रुशिनरले मरेका बिरामीको गिदी हेर्दा उही गाईको जस्तै पाए।
त्यहाँदेखि सरकारले त्यो संस्कारमा बन्देज लगायो र कुरूको महामारी बन्द भयो।
यसरी गाईमा हुने BSE र मान्छेमा हुने CJD जस्ता प्रोटिनबाट प्रोटिनमा सर्ने बिमार प्रमाणित गरे बापत १९९७ को नोबेल स्वास्थ्य पुरस्कार उनै डाक्टर प्रुशिनरलाइ प्रदान गरियो।
काठमाडौँको आर्यघाटका दाउरालाई त्यसै फाल्नभन्दा रिसाइकल गर्नु एकदम राम्रो हो, तर जहाँसम्म उच्च तापमा सबै किटाणु मर्छन् त्यसैले सेकुवा पकाउन पनि प्रयोग गर्दा फरक पर्दैन भन्ने विचार छ, त्यो किटाणुमा मात्रै लागु हुन्छ। यो बिग्रेको प्रिअन प्रोटिन ९०० डिग्रीको तापमा पनि जस्ताको तस्तै रहन सक्छ।
त्यसैले बिरामी गाईलाई जलाएर खरानी पारेपछि पनि गाड्ने गरिएको थियो बेलायतमा। त्यसैगरी कुनै किसिमले खराब प्रोटिनको जालो लागि मरेको मान्छेको अलिकति पनि खरानी बाँकी रहेको छ भने त्यहाँ रिस्क हुन्छ नै।
काठमाडौँको कोइला या गोल बनाउँदा कस्तो प्रोसेसिङ्ग गरिन्छ थाहा भएन। त्यस्तै यस्तो गोलले पोलेको सेकुवा खाए बिरामी परिहालिन्छ भन्न खोजेको पनि हैन यहाँ, किनकि महामारी नभएको अवस्थामा त्यस्ता रोग लागेका मान्छे नै हुने सम्भावना कम हुन्छ।
तर यहाँ प्रष्ट पार्न खोजिएको के भने किटाणु बाहेक पनि रोग सर्ने सम्भावना रहन्छ र प्रिअन रोगाणुयुक्त खरानी ठुलो संख्यामा जनजिब्रोमा पुगेको खण्डमा ठुलै महामारी फैलिने सम्भावना पनि रहन्छ भनी सचेत हुनु पनि आवश्यक छ।
त्यसैले, निष्कर्षमा भन्दा दाउराको पुन: प्रयोग राम्रो हो, अनुगमन गरी इँटाभट्टा जस्ता अन्य आवश्यक ठाउँमा प्रयोग गर्दा राम्रो, तर यस्तोमा मान्छेले खाने कुरा पोल्ने काम मानव सभ्यता र स्वास्थ्य – दुवै हिसाबले नराम्रो हो।
सम्बन्धित ब्लग
सेकुवा स्वादिलो लाग्छ? यो हेर्न नछुटाउनुस्
[विज्ञान बा हाल विदेशको प्रतिष्ठित युनिभर्सिटीमा अनुसन्धान तथा प्राध्यापन गरिरहेका व्यक्ति हुन्। माइसंसारमा उनले विज्ञान बा उपनामले बेलामौकामा विज्ञान सम्बन्धी ब्लग लेख्छन्। उनका अन्य ब्लगहरु यहाँ क्लिक गरी हेर्न सकिन्छ]
BB has raised a good question. I think the contamination of river water is more problematic than the burned woods and sekuwa. They should stop cremating bodies on the river banks and find an alternative way of disposal , which is the only solution to this problem.
हुन त दिबंगत पार्थिब मानब शारीर जलाएको दाउरामा पोलेको सेकुवामा थोरै भए पनि त्यो पार्थिब सरीरको अवशेष बाकी होला / तर सेकुवा भनेको पनि कुनै मरेको जनावरको अंग हैन र? त्यो पनि जबर्जस्ति सहिद बनाइएको जन्तुको ?
यहाँ यो mad cow disease को प्रसङ्ग अलि तरकारीमा नुन चर्को भएको जस्तो लाग्यो/ मानबजाति प्रकृतिले मांसाहारी त हैन, अनि त्यो सेकुवाको protein मान्छेको gene संग चाही infusion हुन्न र, चाहे त्यो बिजुली heater मा नै पोलेको किन नहोस?
गफै त् हो, ल ल मजाले सेकुवा खानुस र अलि अलि रक्सि पनि चधाउनुस , रक्सीले ब्याक्टेरिया सबै मर्नेछ /
लेखको तथ्यगत लेखले आँखा खोलिदिन खोजेको छ तर मान्नु नमान्नु आँखा चिम्लेर खानु नखानु व्यक्ति स्वयंमा भर पर्ने कुरा भयो । वागमतिमा शव दहन पछि सम्भावित रसायन वा यौगिक, प्रोटिन पानीमा पनि जान सक्ला । खेतिपाति र तरकारीमा पनि प्रयोग होला । त्यसबाट पनि मानबमा सङ्क्रमण हुन सक्ला । यी सबै ब्यक्तिले नियन्त्रण गर्न सक्तैनन् न त उपभोक्ताको क्षमता भित्र पर्ने नै कुरा हुन् । यसलाई राज्यले नीतिगत र व्यवहारिक उत्सर्जन उचित विसर्जन विधि लागू नगरेसम्म साथै उत्सर्जन र उपयोग गर्ने व्यक्तिहरू आफैँ सचेत नभए सम्भव हुदैन पनि । यस्तो अवस्थामा खान मन लाग्नेले र रुची हुनेलाई लेखले रोक्ने कुरा पनि भएन । रिसाइकल कति र कहाँसम्म ठीक भन्ने विषयमा इँटा भट्टामा इँटा पोल्नसम्म ठीक हो तर सेकुवा पोल्न चाहीँ जुनसुकै ग्रन्थ, सिद्धान्त छाँटे पनि जायज मान्न सकिन्न ।
एस्तो सोच्ने हो भने त केहि नखाए भो / होइन त्यो किसान ले मान्छे को मलमुत्र मिलाएको तरकारी चै खान हुनी भन्या? फेरी कोइला खाने होइन क्यारे सेकुवा खाने हो/ हेरौला को को ले सेकुवा चपौन छोड्ने हुन् यो सुनेपछि / अहिले पुतली सडक बाट मगमग बस्नाउने सेकुवा ल्याएर दियो भने हरालुस पर्छ होला/
सुजन जी ,
त्यो कोइलाले पाकेको सेकुवा आफैले खाउ ! भन्नु भयो ! के थाहा ? कुन दिन ?मान्छे पोल्न घात मा ल्याको देखन बितिकै लासै सेकुवा नै पोल्न पसलमा लाने हो कि ?
सेकुवा पारखी ! होसियार !!!!
तर खाने मान्छेले यस्तो हेरेर देखे पनि वास्ता गर्दैन |खानेले खाएकै हुन्छ |
मानिस मानिसको बनाउने दाता कहाँ छ ???
त्यो जना स्वस्थ मा हानी पुराउने कुरो त भै हाल्यो अनि मेरो बिचारमा त सबै भन्दा त्यहाँ तेसरी लाश पोलेर फलेको नि ठिक लागेन ,तेसरी लाश पोलेर फालेसी कसरि बागमती सफाई हुन्छर? लाश जलाउने औता छुट्टै घर हुनुपर्यो …यो आवाज सबैले उथाइदिनु होला
धन्यबाद !
मान्छे पोलेको कोइला मा खान घिन लाग्छ त हो // अब ब्याक्टेरिया नै नलाग्ने भए पनि त्यस्तो कोइला मा सकेको सेकुवा थाहा पाई पाई कसले खावोस/ अरुलाई खुवानु भन्दा सेकुवा बेच्ने हरु आफै खाओ मान्छे पोलेको कोइला को सेकुवा//
लेखको लागि धेरै धन्यवाद
recycle उपद्रो गरेर बचाउने बहाना मात्रै हुनु हुन्न . साँची recycle गर्ने भए काठमाडौँ ,नेपालमा मनग्गे फोहोरो छन्. यस्ता जना स्वास्थ्यमा असर हुने कुराको बिरोध गर्नु पर्छ.
मरेकोमान्छे पोलेको वा जनावर आदि पोलेको कोइलामा बनेको सेकुआ खाए सर्छ सर्दैन, पानि धुलो हावाबाट सर्छ सर्दैन भन्ने “किरण” जी को जयेज प्रस्न हो. तर साफा नभए संक्रमण जता पनि हुन्छ, सिर्फ उचित बातावरण र अवस्तामा संक्रमणले महामारी लिन्छ. बग्मातीमा नुहाउने सबै बिरामी नै त हुन्नन् नि तर पनि बागमतीको पानीमा कति रोग होलान् अनुमानै पनि गर्न गार्हो नहोला. फोहोर दुसित र बिकार युक्त बगरबाट ढुवानी हुने कोइलामा के के मात्र किटाणु खाना सम्म पुग्ला ! सुन्दै घिन र डर दुवै लाग्छ .
कसलाई के भन्ने ? तेसै पनी लाश पोलेको दाउराले सेकेको सेकुवा र पोलेको मकै !!!! सम्झंदै जिउ स्रिङ्ग भएर आउने | तेसमाथी लेखकले येत्रो आँखा खोल्दिये पछि कतिको निन्द्रा चट् हुने हो | अब ति दाउराका खेती वालाले कती सराप्ने हुन् लेखकलाइ |
अत्यन्त उपयोगी लेखको लागि धेरै धेरै धन्यबाद लेखक ज्यु र निरन्तर येस्तै लेखहरुको अपेक्षा गर्छौं |
चिलले चल्ला टिपेर लागेको मौका छोपेर स्यालको कथा हालेको जस्तो पो भो यो गाठे!
धेरै कुरा आफैमा द्विविधा युक्त छ!
माथि बिज्ञान बाजी ले कुरो महामारी फैलिएको उठायको छ!
जहासम्म मलाइ लाग्दछ,
कुनै महामारी रोगको संक्रमणले मृत्यु भयको लाश पशुपति आर्यघाटमा अन्त्यस्टि गरि जलाउन दिदैनन!
अनि अर्को कुरो,
ब्लगरले आफै भनेको छ उक्त महामारी हरु आफ्नै प्रजातिको प्रोटिन (माशु वा हड्डी) खानाले भयको भनेर!
यी दुइ कुरा पशुपति मा लाश जलाइयको कुरा र काथमाण्डुको सेकुवा संग जवार्दस्ती करनी बाहेक अर्को कुनै सम्बन्ध छ जस्तो लाग्दैन!
तेस्तो हो भने त्, यो कोइला र सेकुवा भन्दा त बागमतीको पानि पो ज्यादा दुषित भयो त् जसले तरकारी उमार्दछ अनि तेही तरकारी पखाल्दछ, नुहाई धुवाई गरिन्छ तेस्मापो परहेज गर्नु पर्यो त्! बागमतीको पानीमा त् झन् लाशको खरानी घोलिंछ!
अब त्यो लाश जलायर नसकिएको मुढा दाउराहरु पानीमा फेकिन्छ अलिअलि तेही पखालियो, अनि लगेर इट्टा भत्तामा कोइला हुने गरि पोलिन्छ बाकी संका तेही सकियो अनि त्यो कोइला लगेर फेरी सेकुवा भट्टीमा आगो बनाइन्छ र त्यो आगोको रापमा सेकुवा पोलिन्छ!
पहिलो कुरा त् यो समाचारको सिर्षक र खोजि पत्रकारिताले उजागार गरेको कन्टेन्ट नै बाझिएको छ!
यहानेर हामीले बुझ्नुपर्ने के देखिन्छ भने,
त्यो कोइला पशुपति बाट ल्यायको नभयर दाउरा वा मुढा मात्र पशुपतिबाट ल्याइयको हो! कोइला त इट्टा भत्ताबाट ल्याइयको हो!
बिज्ञान बाजीले बरु आगोको राप र कोइलाको ताप बाट सर्ने महामारी को खोजि अनुसन्धान गर्नु भय उचित हुन्छहोला!
पानी पनि दुषित हुन्छ र त्यसबाट पनि महामारी फैलिन सक्छ भन्ने तपाइको कुरा ठिक हो तर सबै काठ इट्टा भट्टामै जान्छ, र इट्टा भट्टामा जादैमा शुद्द भएर निस्किन्छ भन्ने पनि कसैले निगरानी गरेको छैन | अर्को कुरा मासु टसिएको काठको मुढालाइ पानीमा फाल्दैमा पखालिन्न |
त्यसरी फ्याकिएको काठमा या अझ बगाइएको पानीमा मान्छेको अंश छ कि छैन भन्ने खालका आवश्यक र सजिलै गर्न सकिने अनुसन्धान छोडेर राप र ताप बाट फैलिने काल्पनिक रोगमा अनुसन्धान किन गर्नु? हाम्रो यो चलनको स्वास्थ्यमा असर बारे एउटा राम्रो अनुसन्धानको बिषय के हुन सक्छ भने प्रिअन रोग लागेको मुसालाई साना छेस्काहरुमा जलाउने | एउटा स्वस्थ मुसालाई त्यो खरानी घुलाएर खुवाउने र अर्को स्वस्थ मुसालाई त्यसको कोइलामा छोएर पोलेको (राँगाको) सेकुवा खुवाउने | केहि पटक यस्ता प्रयोग गरेर दिमाग हेरेपछि मात्र ढुक्क हुन सकिन्छ |
I totally agree with Kiran; While making choila they are (re-)burning the coal which may minimise the amount of presented germs etc, whereas incase of such in the water/sand I wonder how affective it will be. So lets now only highlight the choila coal issue but also think about the bagmati water where ashes are thrown.
एक त मुर्दा पोलेर बाकि भा को दाउरा को कोइला छ्या सुन्दै कस्तो लाग्ने अनि तेस्तो कोइला मा सेकाको सेकुवा खान हुने कि नहुने भन्ने यो बहस . हैन हामी कता लम्कदै छौ ह ? यसै पनि सुनकै दाउरा मा सेकाको सेकुवा bhaye पनि tesle mari gaye पनि faaida गर्ने होइन क्यारे तेस्माथी मुर्दा पोलेको दाउराको कोइला मा सेकाको सेकुवा खान कत्ति को उचित र अनुचित भन्ने बारे कुरा त मलाइ त बेकार लग्छ sathi ho
कुरा अनुसन्धानमूलक र ज्ञानबर्धक लाग्यो । लेखकलाइ बधाइ । तर केहि प्रश्न अनुत्तरित रहे । त्यो संक्रामक प्रोटिन जसको बारेमा यहाँ उल्लेख गरियो त्यो के कोइलामा मात्र टाँसिएकाे हुन्छ ? अन्तेष्टि सकिएपछि खोलामा फालिने खरानी अादिमा हुँदैन ? यदि हुन्छ भने पानी, बालुवा अादिको प्रयोग, मन्दिरको जल, केटाकेटीको पौडि लगायतका खेलकुद, अहिले चलेको सफाइ अभियान, अादिलाइ नकारात्मक असर पर्दैन ? काेइला लाइ नछोइकनै खाना तयार पारियो भने पनि संक्रमण हुन्छ ? उल्लेख गरिएका दुबै उदाहरणमा मासुनै सेवन गरेको पाइयो न कि खरानी वा धुँवा वा तापक्रम मात्र । के सबै को एउटै प्रभाव पर्छ भन्न सकिने हो ?
बिज्ञान बा को लेख सान्दर्भिक र उपयोगी छ, माथि किरण जी ले उठाउनुभएका प्रश्नहरुको उत्तर पनि पोस्ट गरिदिनुभए सबैको जिज्ञाशा शान्त हुने थियो अनि सोहि अनुसार के खान हुदैन के गर्न हुदैन भन्ने कुराको आ-आफ्ना तजबिजले निधो गर्न सबैलाई सजिलो हुन्थ्यो /