Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकपमा एउटै समयमा दुई खेल किन हुन्छ थाहा छ? नभए कारण जान्न यो पढ्नुस्

Posted on June 26, 2014June 27, 2014 by Salokya

जर्मनीले यसरी गरेको थियो घात खेल भावनामा

ब्राजिलमा अहिले भइरहेको विश्वकप फुटबल प्रतियोगितामा समूह चरणका अन्तिम खेलहरु भइरहेका छन्। समूह चरणका अन्तिम खेलहरु एकै समयमा हुने गरेकोले दर्शकहरु कायल छन्। एउटा खेल केटिभी र एनटिभीमा आउँछ। अर्को खेल कहाँ हेर्ने ? केबल टिभी वा डिस होम जोडेकाहरुलाई त सजिलो छ- एउटा खेल सोनी सिक्समा अर्को सोनी पिक्समा आउँछ। रिमोट चलाउँदै एकै समयमा दुई  खेल हेर्छन् खेल पारखीहरु। तर एकातिर हेर्दाहेर्दै अर्कोतिर गोल भइसकेको हुन्छ। हिजो अर्जेन्टिना र नाइजेरियाबीच खेल भइरहँदा त्यही समय अर्को मैदानमा इरान र बोस्नियाबीच खेल भइरहेको थियो। अस्ति सोमबार पनि एकातिर स्पेन र अस्ट्रेलियाबीच खेल भइरहँदा अर्कोतिर नेदरल्यान्डस् र चिली बीच खेल भइरहेको थियो। त्यस्तै ब्राजिल र क्यामेरुनबीच खेल भइरहँदाकै समयमा मेक्सिको र क्रोएसियाबीच पनि खेल भइरहेको थियो। आज पनि अमेरिका र जर्मनीबीच खेल हुने समयमै अर्कोतिर पोर्चुगल र घानाबीच खेल हुनेछ।

आखिर किन यसरी एउटै समयमा दुई वटा खेल खेलाएको आयोजकले? छुट्टाछुट्टै समयमा किन नखेलाएको ? फिफाले समूह चरणको अन्तिम खेल एउटै समयमा खेलाएर त्यही समूहको अर्को खेलको परिणाम खेल्नेहरुलाई थाहा नदिन यस्तो नियम बनाएको हो। यसको कारण खोतल्ने हो भने फेरि जर्मनीसम्मै पुग्नु पर्ने हुन्छ।

कुरा सन् १९८२ को विश्वकपको हो। मिति थियो जुन २५। स्पेनको गिजोनमा तत्कालीन पश्चिम जर्मनी भिड्दै थियो अस्ट्रियासित पहिलो चरणको खेलमा। समूह चरणका अरु सबै खेल सकिसकेको थियो। ब्राजिलसँगै जर्मनी उपाधिको होडमा थियो। अर्को चरणमा जान जर्मनीले अस्ट्रियालाई हराउन पर्थ्यो।

तर समूह चरणको अङ्क तालिका समीकरण अनुसार तीन गोलभन्दा कम अन्तरले जर्मनीले अस्ट्रियालाई पराजित गर्‍यो भने दुवै टिम अर्को चरणमा पुग्थ्यो। त्यसो हुँदा अल्जेरियाचाहिँ समूह चरणबाट बाहिरिन्थ्यो।

एल मोलिनोन रंगशालामा धेरै दर्शक भेला भएका थिए- गज्जबको खेल हुने आशामा। १९७८ को विश्वकपमा यही अस्ट्रियाले पश्चिम जर्मनीलाई ३-२ गोलले हराएर नकआउट गरिदिएको थियो। त्यसैको मज्जाले बदला लिनेछ पश्चिम जर्मनीले भन्ने आशा थियो होला दर्शकलाई।

खेलको पहिलो १० मिनेटमा साँच्चिकै प्रतिस्पर्धात्मक देखिएको थियो खेल। जर्मन खेलाडीहरुले अस्ट्रियन पोस्टमा लगातार आक्रमण गरे। १० मिनेटको खेलपछि होर्स्ट रुबेस्चले पियरे लिटबार्स्कीको क्रसबाट पाएको बललाई जाली चुमाएपछि जर्मन टिमले एक गोलको अग्रता लियो।

त्यसपछि अचानक खेलको तीव्रता हरायो। आक्रामक र डोमिनेटिङ देखिएको जर्मन टिम सुस्त बन्न पुग्यो। बल पासिङ त देखिन्थ्यो तर कुनै प्रेसर र मुभमेन्ट देखिन्न थियो। त्यो पहिलो गोलपछि पूरै खेल अवधिमा जर्मनीले एउटा मात्र अन टार्गेट गोल प्रयास गरेको थियो। ८० मिनेटसम्म खेल प्रतिस्पर्धीबीच हैन, साझेदारबीच खेलिएको झैँ देखिन्थ्यो।

आठ छनौट खेलमा (जसमा दुई अस्ट्रियविरुद्धको विजय पनि सामेल थियो)मा ३३ गोल गरेको पश्चिम जर्मनी १-० स्कोरमै अचानक चित्त बुझाएको देखियो। खेलको स्तर यति झुरपट्यास थियो कि स्पेनी दर्शकहरुले क्यु से बिसेन, क्यु से बिसेन भनेर चिच्याएका थिए। स्पेनी भाषामा त्यसको अर्थ ‘तिमीहरु किस खाऊ, तिमीहरु किस खाऊ’ झैँ हुन्छ। मैदानमा आक्रामक रुपमा खेल्नुपर्नेहरु साथी साथी जस्तो देखिएपछि यत्राको गेम हेरिरहनु त!

तर दुवै टिमले खेलअघि नै कुनै सम्झौता भएको अस्वीकार गरे। जे भए पनि प्रतिस्पर्धात्मक रुपमा नखेलिएको त्यो खेलले दुवै टिमलाई फाइदा गर्‍यो। तर फ्यान, पत्रकार, सबैतिरका पूर्व खेलाडीले भने झाँको झारे। अस्ट्रियन कमेन्टेटरहरुले दर्शकलाई टिभी बन्द गर्न सुझाए, जर्मन प्रसारकले लज्जास्पदसमेत भने। स्पेनी प्रेसले घटनालाई El Anschluss को रुपमा प्रस्तुत गरे। त्यो भनेको सन् १९३८ मा नाजी जर्मनीले अस्ट्रिया कब्जा गर्दाको घटना थियो।

यो मिलेमतोको परिणामबाट अल्जेरियन टिम मारमा पर्‍यो। अल्जेरिया फ्रान्सको उपनिवेश शासनबाट स्वतन्त्र भएको २० औँ वार्षिकोत्सव मनाउँदै थियो। यसका थुप्रै खेलाडीहरु रक्तपातपूर्ण अल्जेरियाली युद्ध लडेकाहरुका छोरा र नातेदार थिए। उनीहरुले पश्चिम जर्मनीलाई २-१ ले हराइसकेका थिए। अल्जेरियाको साहसी खेलबाट विश्वकपमा दर्शकहरु दङ परेका थिए। तर पश्चिम जर्मनी र अस्ट्रियाले स्पोर्टसम्यानसिपमाथि घात गरेको लाचार भएर हेर्न बाध्य भए।

त्यसको पाठ उनीहरुले राम्रै पाए। दुवै टिमले कप जित्न सकेनन्। अस्ट्रिया दोस्रो चरणमै नकआउट भयो भने जर्मनीलाई फाइनलमा इटालीले ३-१ ले हरायो।

जर्मनी र अस्ट्रियाले गरेको त्यो घिनलाग्दो साँठगाँठले अल्जेरियालाई विश्वकपको पहिलो चरण पार गर्ने पहिलो अफ्रिकी टिम बन्नबाट रोक्यो। अन्तर्राष्ट्रिय रुपमा जर्मनी र अस्ट्रियाबीचको खेल पुनः खेलाउनु पर्ने माग भयो। तर त्यसलाई फिफाले मानेन। बरु यसको जवाफमा समूह चरणको अन्तिम खेल एकै समयमा खेलाउनु पर्ने नियम लागू गरायो।

हो, त्यतिबेलादेखि आजसम्म पनि समूह चरणका अन्तिम खेलहरु एकै समयमा खेलाइने गरेको छ।

आज पनि त्यस्तै हुँदैछ। एक खेल जितिसकेको र एक खेल बराबरी भए पनि गोल अन्तर ४ भएकोले जर्मनी अर्को चरणमा जाने लगभग निश्चित भइसकेको छ। तर समूहबाट अर्को कुन टिम दोस्रो चरणमा जाने निश्चित भइसकेको छैन। अमेरिकाले जिते वा बराबरी गरे अमेरिका दोस्रो चरणमा जानेछ। अमेरिका हार्‍यो भने चाहिँ अर्को खेलमा घाना र पोर्चुगलबीचको नतिजाले धेरै कुरा निर्धारण गर्नेछ। घाना र पोर्चुगल बराबरी भयो भने अमेरिका हारे पनि अर्को चरणमा जानेछ। तर घाना वा पोर्चुगलले जित्यो भने अङ्कमा अमेरिकासँग समान हुनेछ र गोल भिन्नताका आधारमा निर्णय हुनेछ।

त्यसैले फेरि त्यो पुरानो जर्मन साँठगाँठको प्रतिध्वनि अहिले पनि गुन्जन थालेको छ। सन् १९९० मा विश्वकप जित्दा पश्चिम जर्मनीको टिमका सदस्य रहेका जर्गेन क्लिन्सम्यान अहिले अमेरिकी टिमका प्रशिक्षक छन्। उनले सार्वजनिक रुपमा अमेरिका र आफ्ना जर्मन टिमका प्रशिक्षक साथी जोआचिम लोबीच कुनै जेन्टलम्यान्स एग्रिमेन्ट नहुने बताएका छन्।

सन् १९८२ को त्यही खेलका हाइलाइट्स हेर्नुस्-

यदि आजको खेलमा जर्मनीले जितेर समूह टप भयो भने यस पटक दोस्रो चरणमा कोसित जर्मनीको सामना हुने जस्तो देखिन्छ, थाहा छ ?

हजुर, तपाईँले सही अनुमान लगाउनु भयो- उही अल्जेरिया !

सम्बन्धित लिङ्कहरु-
१९८२ को खेलको चर्चा किन भइरहेछ ? (बोस्टिन्नो)
१९८२ मा अल्जेरियाका लागि विश्व रोएको दिन (गार्डियन)
The Shame Of Gijon, 1982
अमेरिकाले बराबरी खेल्दैन : कोच

2 thoughts on “विश्वकपमा एउटै समयमा दुई खेल किन हुन्छ थाहा छ? नभए कारण जान्न यो पढ्नुस्”

  1. prakash says:
    June 27, 2014 at 11:38 am

    जर्मनी को केहि गल्ति छैन यसमा फिफा ले गल्ति गरेको हो सुरु बाटै येउटै समय मा खेल्ने सिस्टम गर्नु पर्थ्यो ! को को मिलेर खाए !! अझै खादै छन् वोर्ल्ड कप कतार लाइ दिएर !!

    Reply
  2. kedar says:
    June 26, 2014 at 10:01 pm

    जर्मनी त फुटबलमा कहिलेइ मलाई मन नपर्ने टिम | मैले हेरेको पहिलो विश्वकप १९९० को फाइनल खेलमा जर्मनीले फल्स खेली खेली म्याराडोनालाइ थिलथिलो बनाएकै भरमा जिते देखि मेरो आँखा र दिमागले कहिलेइ राम्रो टिम हो भनेर सोच्न सकेन जर्मनीलाई |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme