आँखा छन् र पो संसार छ, नहुँदा त सबै अन्धकार न छ! यति भनेपछि आँखाको महत्व बताइराख्न परेन। तथापि मानव आँखाका विभिन्न भाग र तिनीहरुको काम गर्ने तरिकाचाहिं चर्चा गरौँ।
प्राणीहरुका आँखा १० भागमा वर्गीकृत छन्। ती मध्ये हाम्रा आँखा “क्यामरा जस्ता आँखा’ हुने प्राणी समूह अन्तर्गत पर्दछन्। मतलब हाम्रा आँखाको काम गर्ने तरिका धेरै हदसम्म क्यामराको जस्तैजस्तै हुन्छ। साधारण किसिमले भन्नु पर्दा क्यामराको अगाडि हुने लेन्समा वस्तुबाट आएको प्रकाशको किरण पर्छ, अनि शटर दाबेपछि उक्त वस्तुको आकार रिल प्रयोग गर्ने क्यामरा भए रिलमा, र डिजिटल क्यामरा भए चिप्समा रेकर्ड हुन्छ।
त्यसरी नै हाम्रो आँखाको नानीमा वस्तुको प्रकाश पर्छ, र केही थप प्रक्रिया पुरा भई नानीको पछाडि हुने रेटिना (retina) भन्ने भागले त्यो वस्तुको आकार मस्तिष्कमा पठाउँछ, अनि मस्तिष्कले उक्त वस्तु चिनेर आँखामार्फत हामीलाई त्यो वस्तु यस्तो छ भनी भन्छ।
यहाँनेर रमाइलो कुरा के छ भने वस्तुको आकार रेटिनामा पुग्दा उल्टोगरि पुग्छ किनकि आँखाको कोर्निया (cornea) मा परेको प्रकाश त्यो भन्दा तल्लो सतहमा हुने लेन्ज (lens) मा पर्दा पराबर्तन (reflect) भै उल्टो बनेर रेटिनामा देखिन्छ। रेटिनाले त्यही रुपमै उक्त प्रतिमा दृष्टि प्रणाली (optic nerve) मार्फत मस्तिष्कमा पठाउँछ। अनि दृश्य सम्बन्धि काम गर्ने भिजुअल कोर्टेक्स (visual cortex) भन्ने मस्तिष्कको भागले त्यो वस्तुको आकारको डेटा पढेर, बुझेर, सुल्ट्याएर यो फलानो वस्तु हो भनी हामीलाई देखाउंछ र हामीले त्यो वस्तु देख्छौं। यो प्रक्रिया एकदम छिटो हुने भएकोले हामीले उल्टोसुल्टोको चाल पाउँदैनौं।
आँखाको काम गर्ने तरिका राम्ररी बुझ्नको लागी आँखाका बिभिन्न भागहरुको नाम, र काम पनि संगसंगै जान्न जरुरी हुन आउँछ। मानब आँखाका मुख्यतया निम्न भागहरु, र तिनीहरुका निम्न काम हुन्छन्।
१) कोर्निया (Cornea):- हाम्रो आँखाको नानीमाथि सबभन्दा बाहिरी सतहमा पातलो र एकदम सफा पारदर्शी झिल्ली हुन्छ, त्यसलाई कोर्निया भनिन्छ। यसले कुनै पनि वस्तुको चमकबाट आँखामा पर्ने सिधा तथा पराबर्तन भएर आएको प्रकाशलाई नानीको पनि अझै बिचमा हुने प्युपल (pupil) भनिने प्वालमार्फत भित्र पठाउँछ।
२) आइरिस (Iris):- टाढाबाट हेर्दा त आँखाका दुई भागमात्र देखिन्छन, तर अलि नजिकबाट हेर्यो भने आँखाका प्रस्ट ३ भाग हुन्छन्। दायाँबायाँको सेतो भाग, बिचको चक्र (ring) आकारको व्यक्ति अनुसारको रंगिन भाग, र त्यो रंगिनभागको पनि अझै बिचको प्वाल जस्तो प्युपल (pupil) भनिने सानो भाग। त्यो चक्र आकारको रंगिन भागलाई आइरिस भनिन्छ। यसले आँखामा परेको प्रकाशलाई नियन्त्रण गर्दछ। आँखामा परेको प्रकाशको मात्राको आधारमा आइरिसले प्युपललाई खुम्च्याउने र फुकाउने गर्दछ। कडा र रंगिन प्रकाश भएमा खुम्च्याएर सानो बनाउँछ भने फिका प्रकाश भएमा फुकाएर ठुलो बनाउँछ।
३) एक्वीस ह्युमर (Aqueous humor):- यो पारदर्शी तरल पदार्थ हो, र कोर्निया र आइरिसको ठिक बिचमा रहेको हुन्छ। यसले चिप्लो र चिल्लो पार्ने लगायतका काम गर्दछ।
४) लेन्ज (Lens):- हाम्रो आँखामा प्युपलको ठिक पछाडि पारदर्शी लेन्ज (transparent lens) रहेको हुन्छ। यसलाई सिलरी (Ciliary muscles) नामक तन्तुले घेरेर अड्याएको हुन्छ। यो लेन्जले हामीले हेर्ने दृष्यमा पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। टाढाका वस्तु हेर्दा सिलरी तन्तुहरुले लेन्जलाई तानेर चेप्ट्याउंछन भने नजिकका वस्तुहरु प्रस्टरुपमा हेर्नु पर्दा लेन्जलाई खुम्च्याएर बाक्लो बनाउँछन्। त्यसको साथै लेन्जले सम्भाव्य सबै उपाय अपनाएर देखिएको वस्तुको प्रतिमा सबैभन्दा राम्रो फोकस मिलाएर रेटिनामा पठाउँछ।
५) स्लेरा (Sclera):- सम्पूर्ण आँखाको डल्लोलाई बेरेको बाहिरपट्टिको अलिक कडा सेतो छालाजस्तो भागलाई स्लेरा भनिन्छ। स्लेरा र कोर्निया भन्ने आँखाको भागमात्र मान्छे बितेको ४-६ घण्टाभित्र निकाले अर्को व्यक्तिमा प्रत्यारोपण (transplant) गर्न पनि मिल्छ।
६) भीट्रियस ह्युमर (Vitreous humor) :- यो आँखाको डल्लोभित्र हुने एक प्रकारको जेलीजस्तो चिप्लो पदार्थ हो। लेन्जबाट छिरेको प्रकाश यही भीट्रियस ह्युमर हुँदै रेटिनामा पुग्दछ। यसले भित्र छिरेका किरणलाई अझै प्रस्ट देखाउने, आँखालाई पौष्टिक तत्व प्रदान गर्ने, र आँखाको गेडोलाई गोलो हुन आधार प्रदान गर्ने आदि काम गर्दछ।
७) रेटिना (Retina):- यो आँखाको पछाडि सबभन्दा भित्री सतहमा हुने सबैभन्दा सम्बेदनशील अंग हो। रेटिना एक प्रकारले चलचित्रको पर्दा जस्तै हो भने पनि हुन्छ किनकि लेन्जमार्फत पठाइएका प्रतिमाको आकार यसैले देखाउंछ। रेटिनामा रड्ज (rods) र कोन्ज (cons) नामक प्रकाश सम्बेदनशील दुई प्रकारका लाखौँ कोषहरू हुन्छन्। यिनीहरु हेर्दै रड र कोन जस्ता हुने भएकोले त्यस्तो नाम राखिएको हो। कोन्जहरु रेटिनाको ठिक बिचमा हुने मकुला (Macula) भन्ने भागमा केन्द्रित हुन्छन्। यिनीहरुले रंगिन किरणको रंग, चहकिलोपन, प्रष्टता आदिको संकेत थाहा पाउँछन्।
रड्जहरु माकुलाको बाहिरपट्टि हुन्छन। यिनीहरुले वोरिपरी र कुनाकानीका काला, सेता तथा मधुरा वस्तुहरुका प्रकाशको किरणको संकेत थाहा पाउँछन्। रड्ज तथा कोन्ज दुबैले रेटिनामा देखिएका प्रतिमालाई बिद्दुतीय संकेतको समाचारमा बदल्छन, अनि ती संकेतहरु मस्तिष्क र आँखाको दृश्यसँग संचार गर्नको निमित्त जोडिएको दृश्य प्रणाली (optic nerve) मार्फत मस्तिष्कमा पठाउँछन्। यसरी प्राप्त भएका संकेत समाचारलाई मस्तिष्कले पुनः प्रोसेस गरी, तस्बीरमा बदली हामीलाई आँखामार्फत देखाउँछ। यो प्रक्रिया एकदमै छिटो हुने भएकोले हामीले यी कुनै पनि चरण (step) थाहा पाउन सक्दैनौं।
प्रकाशलाई फोटन (photon) नामक एकाइमा नापिन्छ। संसारका प्राय सबै वस्तुमा प्रकाशको किरणको चहकिलोपन, कोण, र दुरी अनुसार कम र बढी चमक निस्कन्छ। वस्तुको सतह अनुसार वस्तुहरुले १-१००% को हिसाबले बिभिन्न दिशामा प्रकाशलाई पराबर्तन गरिरहेका, छरिरहेका हुन्छ। त्यसरी छारिंदा हाम्रो आँखाको कोर्निया तथा लेन्समा पनि प्रकाशका किरणहरु पर्दछन जुन बिभिन्न प्रक्रिया पुरा भएपछि हामीले देख्छौं।
यदि वस्तु चहकिलो छ भने १ बर्ग मिलिमिटर जति क्षेत्रफलमा प्रति सेकेन्ड करिब १०० ट्रीलीयन फोटोन प्रकाश चम्कन्छ। दिनको समयमा प्रकाश धेरै प्रकारको र चहकिलो हुने भएकोले रड्जहरुको सक्रियतामा हामीले बिभिन्न रंग देख्दछौं, र रातिको सयमा वस्तुको प्रकाश मधुरो हुने भएकोले कोन्जहरुको सक्रियतामा कम रंगिन वा काला देख्छौं।
लेन्जले पठाएका प्रतिमाको फोकस सामान्यतया रेटिनामै पर्दछ, तर कतिपय अवस्थामा रेटिनाको केही अगाडि तथा केही पछाडि पनि पर्न सक्छ। यदि फोकस रेटिनाभन्दा अगाडि नै पर्यो भने त्यस्तो व्यक्तिले नजिकको वस्तु प्रस्टसंग देख्छ, तर टाढाको राम्रोसंग देख्दैन। यस्तो व्यक्तिलाई nearsighted भनिन्छ। फोकस रेटिनाको पछाडि पर्यो भने उक्त व्यक्तिले टाढाको वस्तु प्रष्टसंग देख्छ तर नजिकको देख्दैन। नजिक राम्रोसंग नदेख्नेलाई farsighted भनिन्छ। बच्चा बढ्दै जाँदा आँखाको आकार पनि बढ्ने हुनाले कतिपय बच्चामा आँखाको लेन्ज छोटो हुन गई farsighted हुने सम्भावना हुन्छ भने व्यक्तिको उमेर ढल्किंदै जाँदा लेन्ज तथा अन्य तन्तुहरु धेरै प्रयोग भैसकेर दुवै हुने धेरै सम्भाबना हुन्छ।
स्लेरा र रेटिनाको बिचमा पनि कोरोइड भन्ने तह हुन्छ। त्यसमा रक्तनलीहरु हुन्छन, तिनीहरुले नै आँखालाई चिहिने प्राय पौष्टिक तत्वहरु र अक्सिजन प्रदान गर्दछन्।
८) ब्लाइन्ड स्पट (blind spot):- यो अफ्टिक नर्भ र रेटिना जोडिने ठाउँ हो। यो भागमा रड्ज र कोन्ज नामक कोषहरू नहुने भएकोले यो भाग त्यति प्रकाश सम्बेदनशील हुँदैन।
९ ) आँसु ग्रन्थी (tear glands) – यिनीहरु माथिल्लो ढकनीको भित्रपट्टी अवस्थित हुन्छन्। राम्रोसंग हेर्यो भने हाम्रै आँखाले प्रस्ट देख्न सकिन्छ। यिनीहरुबाट बग्ने आँसुले एकातर्फ आँखालाई सुख्खा हुनुबाट सदैब जोगाउँछ भने अर्कोतर्फ धुलो, घुरान आदि हानिकारक वस्तुहरु परेमा तिनीहरुलाई आँखाबाट बगाइदिएर आँखालाई सुरक्षा दिन्छन्। त्यस्तै आँखा झिम्किरहनुको उदेश्य आँखालाई सुक्खा हुन नदिई आँखाको सतहलाई सदैब आँसुले भिजाइरहनु हो । आँखा सुक्खा हुनु हुँदैन।
१०) ढकनी (eye-lids), परेला (eye-lashes) र आँखीभौं (eyebrows) :- हाम्रा आँखा र आँखाका बिभिन्न भाग लाखौँ बर्षको अन्तरालमा आबश्यकता अनुसार बिकसित (Evolve) भएका हुन, त्यसैले ती सबै उद्देस्यका र कामका छन्। टेडामेडा परेला, झुण्डिएका ढकनी, तथा झाडी जस्ता आँखीभौं सुन्दरता (beauty) को लागी बाधक हुन सक्छन, तर आँखाको सुरक्षा (safety) को लागी भने एकदम महत्वपूर्ण छन्।
आँखाका ढकनीहरुले सुत्ने बेलामा आँखामा पर्ने लाइट बन्द गरी सुत्न सहयोग गर्नुको साथै केही चीजले आँखालाई घोच्ने सम्भावना भयो भने या किरा आदि पर्न लाग्यो भने तुरुन्तै ढकनी लागी आँखालाई जोगाउंछन्। हाम्रा परेला पनि एकदम सम्बेदनशील हुन्छन, र आँखालाई बचाउँन भरमग्दुर प्रयास गर्छन्। जब धुलो, घूर आदि नजिक पर्छ यदि त्यो वस्तु सानो भए आफैमा टाँस्छन्, ठुलो भए हानेर खसाउँछन्, र टाढा भए खतरा नटरुनजेल जोडतोडले झिम्किरहेर सम्भाव्य खतराको बारेमा सजक रहन्छन्।
हाम्रो शरीरको बाहिर देखिने अंगहरु मध्ये आँखा धेरै दृष्टिकोणले कमजोर र अत्यधिक संबेदनशील हुन्छन्। यहाँसम्म की आँखालाई आफैले छुनसम्म मिल्दैन। दबाब, छुवाइ, साधारणभन्दा साधारण वस्तु पराइ, प्रकाश पराइ सबै कुराले हाम्रा आँखालाई ठुलो नोक्सान गर्न सक्दछन्। हाम्रो शरीरबाट निस्कने पसिनामा प्रसस्त मात्रामा नुनतत्व सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियमको साथै जिंक, तामा, फलाम, पारो तथा क्रोमिअम तत्व समेत पाइन्छ जुन आँखाको लागी एकदमै हानिकारक हुन्छ।
आँखीभौंले आँखामा पसिना पर्नबाट बचाउँछ, मसिनो धुलो आफूतर्फ आकर्षण गरी आँखामा पर्नबाट जोगाउँछ, अनि अचानक आँखाले सहन नसक्ने र हानिकारक प्रकाशका किरण आँखामा परी सहन नसकी आँखा चिम्सो बनेको बेलामा आँखालाई छाता ओडाएर उक्त प्रकाश छेकी आँखाको सुरक्षा गर्दछ। आँखीभौंको चर्चा गर्दा शरीरका अन्य भागमा रौं हुनुको के उद्देश्य होला भन्ने कौतुहलता जाग्न सक्छ ! प्रसंग पर्यो भने त्यसको बारेमा अन्यत्र कतै चर्चा गरौंला।
[माथिको आँखाको फोटो आर्मेनियाका फोटोग्राफर Suren Manvelyan को हो। थप फोटो यहाँ क्लिक गरी हेर्न सकिन्छ।]
[गौतमको यो साप्ताहिक विज्ञान ब्लग हो। उनका अरु विज्ञान ब्लग पढ्न यहाँ क्लिक गर्नुस्]
हो मलाइ पनि ऐठन बारे जान्ने जिज्ञासा थियो.
सुमन शर्माज्यू- जिज्ञासाको लागी धन्यबाद |
ऐठन बारेको लेख तुरुन्तै नहुन सक्छ, तर केही समयपछि प्रयास गर्ने छु | म पाठकहरुलाई जिज्ञासा भएका बिषयमा अनुसन्धान र लेख्न मन पराउंछु | सिधा सम्पर्क गर्न चाहानु हुन्छ भने पनि “मेरो संसार” संग मेरो इमेल ठेगाना मागी मेल गर्नु होला |
गौतम सर
ऐठन के हो ,किन हुन्छ र कसरि बच्ने बारे लेखिदिनुहोला.धेरै आभारी हुनेछु.
आलेजी- धन्यबाद |
हो तपाइंले २ नम्बरमा भन्नु भएझैं rods र kons को कुरा ठिक उल्टा परेको रहेछ |
आदरणीय पाठकज्यू rods र kons को कुरा सच्च्याएर पढ्नु होला |
आइमाइहरु (ये महिलाहरु = नेपालमा विकास भएको के आइमाईलाइ महिला भनेर) ले आँखिभौ उखेलेर राम्री भएको ठान्छन , त्यसले के कस्तो असर पार्छ येसो जान्न पाए |
गौतम जी लाइ धन्यवाद यो जानकारी मुलक लेख को लागि | मैले भेट्टाएका केहि गल्तिहरु सुधार्न अनुरोध गर्दछु |
१) Cornea र Lens ले पराबर्तन (Reflection ) द्वारा होइन आवर्तन (Refraction) द्वारा प्रकाश क किरण हरु रेटिना मा पठाउछ |
२) दिन को समयमा (बढी प्रकाश भएको बेलामा) rods ले होइन Cones ले काम गर्छ | Color Vision को लागि Cones को आवस्यकता पर्छ | रात को समयेम rods active हुने हुदा color छुट्ट्याउन सकिदैन वा गारो हुन्छा | जानकारी को लागि, रतन्धो वा night blindness भन्ने रोग rods मा हुने rhodopsin तत्व को कमीले हुन्छ |
३) Blind Spot को description अलि नमिले जस्तो लाग्यो | मानिसको Visual Field मा एउटा सानो area हुन्छा जहाँ केहि पनि देखिदैन, तेसैलाई Blind Spot भानिन्छा | Blind Spot भनिने छेत्र Optic Nerve को head संग correspond गर्छ जहाँ rods वा cones दुवै हुदैनन् |
३) Far sightedness हुने ले टाढा को बस्तु प्रस्ट देख्छ भन्नु गलत हो | बास्तवमा, far sightedness हुनेले नजिक र टाढा दुवै अस्पस्ठ देख्छ तेसैले यसलाई “misnomer ” भन्ने गरिन्छा | तर, केहि मात्रामा मात्रै रेटिना भन्दा पछाडी focus भएको हो भने सानो उमेरका केटा केटि हरुले सफा नै देख्छ | किनकि सानो उमेरमा हाम्रो लेन्स ले सजिलै आकार बदलि आँखा को power तल माथि गर्न सक्छ | उमेर बड्दै जादा यो शक्ति पनि घाट्दै जान्छ |
कृपया, आँखा को अदुर्द्रिस्टि कसरि हतौना सकिन्छा प्रकाश पर्दिनुन्थ्यो कि ?
नारायण जी,
यसको लागि तलका बिधि हरु अपनाइञ्छन:
चस्मा, contact लेन्स , Laser refractive surgery (e .g . LASIK ), वा आँखा भित्र लेन्स प्रत्यारोपण गर्ने | थाहा पाई राख्नोस, आँखा को कसरत, पोषिलो खाना आदिले दृष्ठी दोष ठिक हुदैन |