Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुकमा कमेन्ट लेख्नेलाई १८ दिन थुन्नु राज्य तानाशाहीतर्फ लाग्ने संकेत

Posted on June 20, 2014 by Salokya

‘राज्य आफैले कानुन उल्लङ्घन गरेको नमूना हो यो’
‘गैर न्यायिक थुनामा राख्न पाइन्न’
‘अदालतको आदेश बिना १८ दिन थुनामा राख्ने अनुमति छैन’

police फेसबुकमा एउटा सामान्य कमेन्ट लेख्ने सप्तरीका व्यापारी युवक अब्दुल रहमानलाई १८ दिनसम्म थुन्नुले राज्य तानाशाही व्यवस्थातर्फ उन्मुख भएको संकेत प्रष्ट भएको कानुन व्यवसायीले बताएका छन्। आइटी सम्बन्धी मुद्दाहरुमा विशेष दख्खल राख्ने कानुन व्यवसायी बाबुराम अर्यालका अनुसार यो राज्य आफैले कानुनको उल्लङ्घन गरेको चरम नमूना हो। आज प्रकाशित अन्नपूर्ण पोस्टमा सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख दिनेश अमात्यको एउटा भनाई छापिएको छ। आरोप प्रमाणित गर्न थप अनुसन्धानका लागि रहमानलाई पक्राउ गरेको बताउने अमात्य भन्छन्- ‘अभिव्यक्ति स्वतन्त्रताको हक हुन्छ भन्दैमा प्रमाणबिनाका आरोप लगाएर सामाजिक सञ्जालमा जथाभावी लेख्न पाइँदैन।’ उनकै शैलिमा हामी पनि भन्न सक्छौँ, हातमा शक्ति छ भन्दैमा जथाभावी नागरिकलाई समातेर गैरन्यायिक हिरासतमा राख्न पाइँदैन। कुन कानुनले उनलाई फेसबुकमा कमेन्ट लेख्नेलाई १८/१८ दिनसम्म थुन्ने अनुमति दियो? अर्याल पनि उनलाई गैरन्यायिक हिरासत मै राखिएको बताउँछन्। माओवादी सत्ताबाहिर भएको बेला डेमोक्रेटहरुले शासन सम्हालेको बेला भएको यो घटनाले राज्य उत्तर कोरिया र चीन जस्तो तानाशाहीतर्फ उन्मुख भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका छन्।

यसरी गर्‍यो प्रहरीले कानुन उल्लङ्घन

नेपालमा साइबर कानुन अहिलेसम्म बनेको छैन। जम्माजम्मी बनेको इकमर्सलाई व्यवस्थित गर्ने विद्युतीय कारोबार ऐन हो। यसैको एउटा दफालाई टेकेर मनचिन्ते व्याख्या गरी तानाशाही लाद्‍ने काम भइरहेको छ। यसबारे थप विवरण यहाँ क्लिक गरी हेर्नुस्।

यही ऐन अनुसार नै कारबाही गर्ने भए पनि त्यसरी १८ दिनसम्म बिना अनुमति गैरन्यायिक थुनामा राख्न पाइन्न। यो ऐन अनुसार कसैलाई पक्राउ गरेपछि बाटोको म्याद बाहेक २४ घण्टाभित्र सम्बन्धित अदालतसामु उपस्थित गराई प्रहरीले हिरासतमा नै राखी थप अनुसन्धान अघि बढाउन अनुमति लिनुपर्छ। हिरासतमा नराखे यो यो हुन्छ भनी प्रहरीले अदालतलाई ‘कन्भिन्स’ गराउन सक्नुपर्छ। प्रहरीको तर्कमा न्यायाधीश कन्भिन्स भए भने यति दिनका लागि हिरासतमा राखेर अनुसन्धान अघि बढाउनू भनी अनुमति दिइन्छ। त्यसपछि पनि आरोपी थुनामै रहन्छ तर त्यसलाई ‘न्यायिक हिरासत’ भनिन्छ।

सप्तरी प्रहरीले यसलाई पालना गरेको छैन। ‘नयाँ पत्रिका’ मा छापिएको समाचार अनुसार रहमानलाई जेठ १८ गते दिउँसो राजविराजस्थित उनको पसलबाट केही प्रहरीले तपाईँलाई एसपी साहेबले बोलाउनु भएको छ भनी जिल्ला प्रहरी कार्यालय लगेका थिए। रहमानको कमेन्टले प्रहरीको मनोबल घटेको र मानहानी भएको भन्दै विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्न पक्राउ गरिएको समाचारमा भनिएको छ। समाचार अनुसार जेठ १९ मा जिल्ला अदालतबाट म्याद थप पनि गराइएको थियो।

कानुन व्यवसायी अर्यालका अनुसार यहीँनिर भयो कानुनको उल्लङ्घन। विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौँ जिल्ला अदालतलाई मात्र छ। सप्तरीको जिल्ला अदालतमा लगेर यो मुद्दामा म्याद थप गर्न पाइँदैन। जुन अदालतको जस्तो क्षेत्राधिकार छ, त्यसले मात्र न्यायिक हिरासतमा राख्ने/नराख्ने अनुमति दिन पाउँछ।

नभन्दै प्रहरीले सोमबार सप्तरी जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गतको अपराध मुद्दा दर्ता गर्न खोज्दा अदालतले अस्वीकार गर्दै यसबारे मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौँ जिल्ला अदालतलाई मात्र भएको भनिदियो। त्यसपछि उनलाई काठमाडौँ पठाइयो।

त्यसो गर्न पाइन्छ त ?

‘पाइँदैन,’ अर्याल भन्छन्, ‘कानुनको अज्ञानता क्षम्य हुँदैन। सामान्य नागरिकलाई त मलाई कानुन थाहा भएन त्यसैले गल्ती भयो भन्न पाउँदैन भने प्रहरी भनेको त राज्य हो। राज्यले दश वर्षअघि अध्यादेशका रुपमा आएर २०६३ सालमा तत्कालीन प्रतिनिधि सभाले पास गरेर लागू भएको ऐनको प्रक्रिया थाहा छैन भन्न पाइँदैन।’

‘१८/१८ दिनसम्म क्षेत्राधिकार भएको अदालतमा उपस्थितसमेत नगराई थुनामा राख्न मिल्दै मिल्दैन। यो गैरन्यायिक थुना हो।’

अर्यालका अनुसार कसैलाई फौजदारी अभियोग लगाएर हिरासतमा राख्नु भनेको निकै संवेदनशील विषय हो। स्मरण रहोस्, यो ऐनको जुन दफाको मनचिन्ते व्याख्या गरेर फेसबुक,ट्विटरमा लेख्ने कुरालाई समेत समेटिएको छ, त्यो भनेको फौजदारी अभियोग नै हो। यसमा ५ वर्षसम्म जेलमा राख्न सक्ने कडा सजाय राखिएको छ।

‘कुनै पनि नागरिकलाई फौजदारी अभियोग लगाउन हिरासतमा राख्नु भनेको निकै संवेदनशील विषय हो। अन्तरिम संविधानले समेत कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारणसहितको सूचना नदिई थुनामा नराखिने ग्यारेन्टी गरेको छ। त्यसैगरी नेपाल राज्यको सार्वभौमसत्ता र अखण्डता वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्ने पर्याप्त आधार नभई कसैलाई पनि निवारक नजरबन्दमा नराखिने गरी निवारक नजरबन्द विरुद्धको हक पनि संविधानमा छ। त्यही भएर यस्तो विषयमा सुनुवाई गर्न दशैँ तिहारको विदामा समेत यसरी गैरन्यायिक थुना वा नजरबन्दमा राखे न्याय दिलाउन अदालत खुला राख्ने गरिन्छ’

सप्तरी प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउने नै भए पनि रहमानलाई पक्रेको २४ घण्टाभित्र काठमाडौँ जिल्ला अदालतमा पेश गरी त्यहाँबाट थप हिरासतमा राख्न अनुमति लिएर सरकारी वकिलमार्फत् मुद्दा दायर गर्नुपर्थ्यो। सप्तरी प्रहरीले त्यसो नगरेकोले गैर न्यायिक थुनामा राखेको प्रष्ट हुन्छ। प्रहरी स्रोतका अनुसार गैर न्यायिक थुनामा राखेको प्रमाणित भए सप्तरी प्रहरीका जिम्मेवार अधिकृतलाई कारबाही गर्न सकिने प्रावधान छ।

किन काठमाडौँ जिल्ला अदालतमात्रै ?
माथि नै भनिसकियो, खासमा यो ऐन इकमर्सलाई व्यवस्थित गर्न ल्याइएको हो। त्यसैले यसमा निकै प्राविधिक कुराहरु छन्। उदाहरणका लागि यो ऐनमा भएको एउटा यो वाक्य हेर्नुस्-

यस दफाको प्रयोजनको लागि “ह्यास फङ्कशन” भन्नाले उही अभिलेखलाई आगतको
रुपमा प्रयोग गरी प्रत्येक पटक अलगोरिदमलाई कार्यान्वयन गर्दा कुनै अभिलेखबाट उही रुपमा
ह्यास परिणाम निस्कने, अलगोरिदमबाट उत्पन्न ह्यास परिणामबाट कुनै अभिलेख प्राप्त गर्न वा
पुनः संरचना गर्न सकिने भन्ने कुरा गणनाको दृष्टिबाट सम्भव नहुने र अलगोरिदम प्रयोग गरी उही
ह्यास परिणाम उत्पन्न गर्ने दुई अभिलेखहरु प्राप्त गर्न गणनाको दृष्टिबाट सम्भव नहुने गरी
अलगोरिदमको नक्साङ्कन गर्ने वा बिटहरुको एउटा श्रृङ्खलाबद्ध क्रमलाई सामान्यतया सानो अर्को
समूहमा रुपान्तर गर्ने कार्य सम्झनु पर्छ ।

न्याय दिनलाई पहिला बुझ्नु त पर्‍यो नि कुरा के हो भनेर। त्यसैले यस्ता किसिमको मुद्दा हेर्ने (सुरु कारबाही र किनारा) क्षेत्राधिकार आइटी ट्रिब्युनल अर्थात् सूचना प्रविधि न्यायाधिकरणलाई दिएको छ ऐनले।

अब हेर्नुस् न, यत्रो वर्ष भइसक्यो, न्यायाधिकरण बनाउने वर्नेतर्फ कसैको चासो छैन, फेसबुकमा नागरिकले अलिकति बोल्न थाल्दा प्रलय नै होला जस्तो भइसकेको छ कसैकसैलाई। त्यसैले राजपत्रमा न्यायाधिकरण नबनेसम्मको संक्रमण कालका लागि काठमाडौँ जिल्ला अदालतलाई क्षेत्राधिकार दिइएकोले त्यसैले काम चलाइँदैछ। अनि यही हतियार तेर्स्याएर नागरिकलाई चुप बनाइँदैछ। मानिसहरु यतिसम्म आतंकित बनेका छन् कि जुन कमेन्टका कारण रहमानलाई समातेर गैरकानुनी थुनामा राखियो, त्यो कमेन्टलाई लाइक गरौँ भन्ने प्रस्ताव हिजो सामाजिक सञ्जालबाट गर्दा अहिलेसम्म मात्र ८६ लाइक भएका छन्।
comment
आतंकित हुनुहुन्न भने यहाँ क्लिक गरी लाइक गर्न सक्नुहुन्छ। यो नागरिकलाई गैर न्यायिक हिरासतमा राखिएको विरोधमा सांकेतिक ऐक्यवद्धता हुनसक्छ।

यो पनि हेर्नुस्-
घुस खानेलाई भन्दा फेसबुकमा लेख्नेलाई बढी सजाय

27 thoughts on “फेसबुकमा कमेन्ट लेख्नेलाई १८ दिन थुन्नु राज्य तानाशाहीतर्फ लाग्ने संकेत”

  1. Pingback: समाचार बनाउनु पर्ने मान्छे आफै समाचार बन्दा… – MySansar
  2. Pingback: फेसबुक कमेन्ट मुद्दामा प्रहरीलाई अदालतको आदेश – जथाभावी मुद्दा नलगाउनू « Mysansar
  3. Pingback: फेसबुक कमेन्ट ‘लाइक’ गर्नेलाई पनि बयान लिइयो « Mysansar
  4. Pingback: रहमान प्रकरण : सक्छौ भने सबै नेपालीलाई जेल हाल « Mysansar
  5. Pingback: ‘एकचोटीलाई छाडिदिनुस्, कमेन्टमै स्पष्टिकरण दिन्छु भन्दा पनि एसपी सा’ब मान्नुभएन, थुनिदे भन्
  6. sunil says:
    June 21, 2014 at 9:53 pm

    are you in democratic country or in communist country

    Reply
  7. lakshya says:
    June 21, 2014 at 5:14 pm

    “अभिव्यक्ति स्वतन्त्रताको हक हुन्छ भन्दैमा प्रमाणबिनाका आरोप लगाएर सामाजिक सञ्जालमा जथाभावी लेख्न पाइँदैन”

    So that means I need to ask for receipt for every bribe I am forced to pay. AYFS!!

    Reply
    1. pmg says:
      June 23, 2014 at 7:37 am

      ए अब घुस खुवाएको receipt माग्ने?? कति जान्ने विद्वान पर्नु भएछ Mr. Lakshya..

      Reply
  8. Pingback: फेसबुकमा कमेन्ट लेख्दा १८ दिन थुनामा राखिएका रहमानलाई धरौटीमा छाड्न अदालतको आदेश « Mysansar
  9. Suren says:
    June 21, 2014 at 5:34 am

    खै के खै के…नेपाल को कानुन बुझ्न निकै गारो हुन थाल्यो…कसैले ल सक्छौ भने मलाई समात (प्रचण्ड, बाबुराम आदि) भनेर खुल्ला चुनौती दिदा पनि केहि गर्न नसक्ने ..कसैलाई फेसबुक मा सामान्य कमेन्ट लेख्दा १८ दिन सम्म गैर न्यायिक हिरासत मा राख्ने…५०००० खायो भन्दा १८ दिन थुन्ने ले करोडौ को चलखेल छ भन्दा रमेश खरेल लाइ किन सरुवा मात्रै गरेको त…१-२ वर्ष जेल हाल्नु पर्ने नि….अधिकार को यो भन्दा चरम दुरुपयोग अरु केहि हुन सक्दैन….बोलेको हरेक कुरा को प्रमाण व्यक्ति ले नै पुराउनु पर्ने हो भने राज्य को अनुसन्धान गर्ने निकाय हरु बन्द गर..पत्रिका मा पनि येति खायो उति खायो भनेर प्रमाण बिना को कयन् समाचार आउछन, ति सबै लाइ पनि गिरफ्तार गर….होइन भने राज्य शक्ति को नाङ्गो दुरुपयोग बन्द गर….मानबधिकार आयोग र मानबधिकारबादी हरु कहाँ गए?

    Reply
  10. Shahil says:
    June 21, 2014 at 4:15 am

    प्रहरीको छबि त सुडान काण्डमा देखियो नि…. करिब करिब सबै तप्काका प्रहरीहरु…घुसखोर हुन् भन्ने नजिर तेही काण्ड बाट थाहा हुन्छ…

    जय होस्..

    Reply
  11. सिर्जने says:
    June 21, 2014 at 2:05 am

    कुराकानीको टेप (सिसि गमला प्रकरण) प्रमाण नमान्ने अदालतले फेसबुकको कमेन्ट चै प्रमाण मान्ला? तेसो हो भने अब भटाभट साइबरमा जाने नक्कली फेसबुक आइडी बनाउने अनि प्रहरीको कर्तुतको सक्कली प्रमाण पोस्ट गर्ने, कस्तो छ त आइडिया?

    Reply
  12. Nishant says:
    June 20, 2014 at 11:24 pm

    भो बा यो गणतन्त्र भन्दा त पंचायत काल नै बेस. तेत्रो नेपाली जनता मारेर ल्याएको गणतन्त्र त सैनिक सासन भन्दापनि खतरा रैछ.

    Reply
  13. madan bajracharya says:
    June 20, 2014 at 10:41 pm

    नेता प्रहरीको यो मनपरी तन्त्रलाइ लोकतन्त्र कसरि भन्ने? प्रहरीहरु पनि अनेकौं कुकर्म गर्दै गरेको कुरा कसैले मात्रै होइन प्रहरीले नै नकार्न सक्दैन/ यदि प्रहरीले पनि अपराध गर्न सक्छ पनि नागरिकहरुले भन्न पाइन्दैन भने आज भोलि नेपालमा लोकतन्त्रको नाम बद्नाम अरुले होइन नेता र प्रहरीहरुले नै गर्दै आयको छ भनेमा केहि फरक पर्दैन/ यसैले अब पत्रकारहरुनै जुर्मुराउनु पर्छ र गैरन्यायिक तरिकाले १८ दिन थुन्ने त्यो प्रहरीहरु माथि कार्यवाही गराउन दवाव दिनु पर्छ र प्रहरीले गरेको अपराधहरु अब खोजि खोजि प्रकासित गरेर तेस्मा संलग्न सबै प्रहरीहरुलाई कार्यवाही हराउन दवाव दिनु पर्छ/ हिजो अस्ति प्रहरीहरुले के कस्ता अपराध गरेका थिय र तेस्तो अपराध गर्ने प्रहरीहरुको को थिय र तिनीहरुलाई किन कार्यवाही गरेनन भनेर देस भारको पत्रिकाहरुले छाप्न थालेमा मनपरी र हुकुमे प्रवितिका अहंकारी र नागरिक तर्साउने प्रहरी चेत्छ/

    Reply
  14. parajuli says:
    June 20, 2014 at 9:57 pm

    नेपालमा कानुनको पालना गर्ने कर्तव्य भनेकै निमुखा निर्धा जनताको मात्र त हो नि l कानुनको परिधि भित्रै बाट पनि निमुखा जनताले केहि बोले गरे र हातमा अधिकार र शक्ति हुने लाई त्यो मन परेन भने उसको अनुकुल हुनेगरी कानुनको ब्याख्या गरेर निर्धा जनतालाई दुख दिनु त पदमा बस्ने र हातमा शक्ति हुनेको कर्तव्य नै हुन आउछ l मन्त्रि नेता ले पो कानुन नियम मिचेर जे जे बोले गरे पनि ठिकै मानिनु पर्छ त l ठुला ठाला ले त्यै सिकाएको छ भने हाम्रा सप्तरी का प्रहरी प्रमुख ले रहमान लाई संबिधान र कानुन नाघेर १८ दिन थुन्नु कुन ठुलो अपराध हो र ? फेरि रहमान ले त्येस्तो जनतालाई मन पर्ने तर प्रहरी लाई मन नपर्ने कुरा बोलेछन अनि के चाहियो र?

    Reply
  15. डिल्ली says:
    June 20, 2014 at 7:28 pm

    राज्य के लाई भन्ने यो नै अहम प्रश्न बनेर तेर्सिन थालेको छ । अपराधीहरूको झुण्डलाई राज्य मानिरहनु परेको छ हामी नेपालीले । आफैँ कानुन मिच्ने सरकारमा बसेका अपराधी कामरेड दामदेब, चरी नायक, महेश र पर्शुराम महानायक एमाले शिरोमणी अपराधी कामरेड खड्गदेव, अदालतमा कार्यवाहीको सिफारिष भएकालाई दूधले चोख्याउने काङ्ग्रेसका अपराधी महादेवहरू । सबै देव-देवि यी नाङ्गा बुख्याँचा बाबाहरू हामी नेपालीलाई तर्साउन खोजिरहेकाछन् । रहमानजीको फेसबुक कमेन्टलाई अपराध ठानेर गैह्र कानुनी हिरासतमा राख्ने पुलिसका अपराधीहरूलाई कहिले र कुन कानुनले समाउने ? लोकतन्त्र र सुशासन भनेको यस्तै हो त ? के यी सरकार, अदालत र सुरक्षा नामका बर्धीधारीहरू नियम कानुन र संविधान भन्दा माथीका हुन् ?

    Reply
  16. Manoj says:
    June 20, 2014 at 7:26 pm

    कम से कम उपचुनावमा पार्टी भन्दा माथि उठेर ४ jana राम्रो मान्छेलाई जितौं साथी

    Reply
  17. keshab Gorkhali says:
    June 20, 2014 at 7:10 pm

    साथीहरुको यो नया खबर हेर्न पाएर खुसि लग्यो.

    मा संग पनि येस्तै खालको प्रहरीले गरेको दादागिरी को रिपोर्ट छ तर कार्य बेस्ताताले गर्दा लेख्न भ्याएको छैन. मा चाडै असी mysansar मार्फत यो समाचार पक्कै राखुला

    Reply
  18. derwent says:
    June 20, 2014 at 6:15 pm

    को हुने यी महान प्रहरी? उमेश जी, यी प्रजातन्त्र प्रेमी प्रहरी प्रमुख दिनेश अमात्यको बारेमा केहि थाहा पाउने एक लेख जावस, जय पशुपतिनाथ

    Reply
  19. Toran says:
    June 20, 2014 at 6:06 pm

    बामदेव राजमा कानून को राज खोज्नु, गधा लाइ दूधले नुहाएर गाइ बनाउन खोज्नु जस्तै हो.

    Reply
  20. Satya P. Joshi says:
    June 20, 2014 at 5:37 pm

    काम कुरो एका तिर कुम्लो बोकि ठिमि तिर ।
    .
    नेपालको राजनैतीक अस्थीरता र नेपाली राजनेेताहरुको मनोमानीको कारण हो ।

    Reply
  21. Bindu says:
    June 20, 2014 at 5:14 pm

    यदि रहमानले सही कुरा बोलेका हुन् भने ( उनको हराएको बाईक फिर्ता लिन पाँच हजार
    तिर्नु पर्ने कुरा —- सही हो भने ) ति रहमानलाई १८ दिन थुन्ने प्रहरीहरुलाई ३६ दिन
    थुन्न पहल गर्नु पर्यो मानब अधिकारबादी सहित सम्बन्धित सबै न्यायिक पक्ष्यले .
    खास गरि मिडियाले बिशेस भूमिका निभाउनु पर्यो !!! बेलैमा ————

    Reply
  22. prakash shrestha says:
    June 20, 2014 at 4:45 pm

    कानुनबारे थप प्रशिक्षण दिन एसएसपी दिनेश अमात्य लाई केहि महिना राजधानी वा प्रहरी प्रधान कार्यालय फर्काउनु जरुरी देख्छु म त

    Reply
  23. Sisir says:
    June 20, 2014 at 4:03 pm

    एस्तो गैर न्यायिक थुनामा १८ दिन सम्म राख्नुले नै भन्छ प्रहरी कति सुध्रेको छ भनेर . प्रहरीको यो क्रियाकलापले प्रहरीको ब्यबहार छताछुल्ल भएको छ .

    Reply
  24. Pushpa says:
    June 20, 2014 at 2:58 pm

    नेपाल को कानुन पशुपति नाथले जानुन भन्थे अब चै ‘नेपालको कानुन पशुपतिनाथले पनि नाजानुन’ भन्नु पर्ला …..भो अब यो भन्दा बडी नालेखुम होला फेरी थुना मा परिएला!

    Reply
  25. sushil says:
    June 20, 2014 at 2:40 pm

    प्रहरी प्रमुख दिनेश अमात्य को बारे मा पनि केहि थाहा पाउन पाए अझै राम्रो हुन्थ्यो

    Reply
  26. bishal says:
    June 20, 2014 at 1:39 pm

    धन्यबाध सालोक्य जी कानुनको दफा कुना कुना खोजेर हामीलाई पस्किनु भएकोमा, तपाई जस्तै पत्रकार हरु रहुन्जेल तानाशाही हरु ले केहि नप्दैना,हामी प्रतिरोध गर्न तयार छौ अन्याय को विरुद्ध,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme