Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रसायन हालेर पकाएको आँप यसरी चिनौँ

Posted on June 15, 2014 by mysansar

234910-carbide रसायन हालेर पकाएको फलफूलका कारण टाउको दुख्ने, रिंगाटा लाग्ने, निद्रा लाग्ने, मुड फेरिने, मानसिक दुबिधा हुने, Cerebrum भन्ने दिमागको भागमा पानी जम्ने र पक्षघात समेत हुने सम्भावना हुन्छ। त्यसैले अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन (WHO) ले खाद्यान्न सम्बन्धि कुरामा यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। कानुनी प्रतिबन्ध त नेपाल भारतमा पनि छ होला, तर कार्यान्वयन कसले गर्ने ? आँप बेच्दा गोटाको हिसाबलेभन्दा तौलेर बेचिने भएकोले करिब ७५ % जतिमात्र तौल हुँदा यसरी बिषादीले गलाएर नराम्रो गरी बेच्नुभन्दा त १००% बिकसित भै पाकेपछि ताजाताजै बेच्यो भने किसानलाई पैसा पनि बढी आउंथ्यो, अनि खाने व्यक्तिको स्वास्थ्यमा पनि असर पर्दैनथ्यो ! तर के गर्ने ? हाम्रा प्यारा किसानलाई “तातै खाउँ जल्दै मरौं” गर्नु पर्ने अनि हामी आँप खानेहरुचाहिं “हेरेर मर्नभन्दा छेरेर मर्न मन पराउने” !

बुटामा पाकेको र कोठामा पकाएको आँप चिनौँ !

भालेतत्व तथा पोथीतत्वको मिलन नभइकन त कुनै पनि प्राणी तथा बनस्पतिको सन्तान उत्पादन हुनै सक्दैन। तथापि सबैको सिधा संसर्गबाटमात्र गर्भाधान हुँदैन। जस्तै-भ्यागुताको गर्भाधान भाले भ्यागुताले फुलमाथि शुक्रकिट छरेर हुन्छ भने, बोटबिरुवामा पराग (pollen) भन्ने मसिनो पाउडरजस्तो भालेतत्व चराचुरुंगी, किटपतंग, हावा आदिको माध्यमबाट पोथी तत्वसंग भेट हुन्छ र गर्भाधान हुन्छ। जस्तै-मकैको घोगाले जुँगा निकाल्छ, अनि त्यही मकैको बुटाको अथवा अन्य मकैको बुटाको चौंरबाट पराग खसेर जुंगे घोगामा पर्छ र गर्भाधान हुन्छ, अनि बल्ल गेडा लाग्छ। तसर्थ फल फल्नु वा फल लाग्नु भनेको नै बनस्पतिको सन्तान उत्पादन हुनु हो।

फल बतिलो अवस्थामा हुँदा बिरुवाले साइटोकिनिन (cytokinin) भन्ने रसायन (hormone) उत्पादन गरी उक्त फललाई आवश्यक पौष्टिक तत्व पनि प्रदान गर्छ, र वृद्धिका आधारभूत कोषहरू बिभाजन पनि गराउँछ। त्यसपछि त्यही फलभित्र बिकसित हुँदैगएको बिउतत्वले अर्को गिबर्लिक एसिड (gibberellic acid) नामक एसिड उत्पादन गरी हरेक कोषलाई बिकसित गर्छ र फलले पूर्णता पाउँछ। अर्कोतर्फ बिरुवाले एब्सिसिक एसिड (abscisic acid) उत्पन्न गरी उक्त फलको बिउलाई फलभित्रै रहेको अवस्थामा उम्रिन नसक्ने बनाइदिन्छ।

गिबर्लिक एसिडको प्रयोग गरेर कृत्रिम रुपले कतिपय फलफुललाई ठुलो बनाउन तथा बियाँबिनाको बनाउन पनि सकिन्छ।

प्राकृतिक तरिकाले बिरुवा हुर्कने, फल लाग्ने, फल परिपक्क हुने र पाक्ने एउटा बिशेष प्रक्रिया हुन्छ। बिउबाट टुसा निस्किंदा, फूल चाउरी पर्दा, पात झर्दा र फल पाक्दा, बोटबाट प्रशस्त मात्रामा एथिलिन (Ethylene) नामक ग्यास उत्पन्न हुन्छ र बाहिरी वातावरणमा बहन्छ। यो ग्यास निस्केपछि छिप्पिएको फलमा अन्य बिभिन्न रसायन (hormone) हरू पनि जोडदाररुपमा सक्रिय भएर निस्कन्छन, र तिनीहरुले पनि आ-आफ्नो भागमा पर्ने थुप्रै रासायनिक प्रतिक्रियाहरु गर्छन। यस प्रकार परिपक्क भएको फलमा हुने बिबिध प्रकारका रासायनिक गतिबिधिको माध्यमले फलको बोक्राको रंग बदलिनु, कमलो, रसिलो, र बास्नादार हुनु भनेको नै फल पाक्नु हो। Ethylene gas लाई पनि एक प्रकारको फल पकाउने रसायन भनी बुझ्दा हुन्छ।
केके रासायनिक प्रतिक्रिया हुन्छन त फल प्राकृतिक रुपले पाक्दा ?

हाइड्रोलाइसिस (Hydrolyses) प्रक्रियाबाट फलभित्र बिभिन्न रसायनहरु निस्कन्छन्। आमिलेज (amylase) भन्ने रसायनले फलभित्रको सेतो तत्व (starch) लाई चिनी (sugar) मा बदल्ने प्रक्रियामा द्रुतगति प्रदान गर्दछ, पेक्टिनस् (pectinase) प्रक्रिया मार्फत फलको सेतो भाग नरम हुँदै, रसमा परिणत हुँदै, रस भरिंदै बास्ना चल्दै जान्छ, क्लोरोफिल (chlorophyll) भन्ने हरियो तत्व नयाँ रंग (pigments) मा परिवर्तन भै फल अनुसार बोक्रा निलो, रातो तथा पहेंलो हुन्छ आदिआदि।

दुखको कुरा सबैखाले फलफफुल सबै ठाउँमा पाइँदैनन्। आजको मानब इच्छा सबै ठाउँका सबै कुराहरु अनुभब गर्न चाहने प्रकृतिको छ। विश्व बजारको परिकल्पना हुनुमा यो पनि एउटा कारण हो।

त्यसैले आजकाल केरा, आँप, सुन्तला, खर्भुजा, आदि फलफुलहरु करिब ७५% भन्दा माथि छिप्पिएपछि नपाक्दै अथवा हरियैमा टिपेर टाढाटाढाका देशहरुमा पुर्याएर, त्यहाँ पुगेपछिमात्र सिमित मात्रामा ethylene ग्यासको प्रोयोग गरी तिनीहरुलाई पकाएर स्थानीय बजारमा पठाउने प्रचलन छ। त्यतिमात्र होइन ढुवानीको लागी प्रयोग गरिने पानी जहाज, ट्रक र जम्मा गरिने गोदामहरुमा समेत फलफूललाई बजार पुर्याउनु पर्ने समय हेरिकन ethylene ग्यास सोस्ने तथा छाड्ने यन्त्रहरू जडान गरिएका हुन्छन्।

यही ethylene ग्यासको निगाहाले नै आज फलफुलको आयात निर्यात जति टाढासम्म पनि गर्न सकिएको छ, पाकेर खेर जानबाट जोगिएको छ, अनि हामी सबैले जहाँसुकैको फलफुल पनि खाने अवसर पाएका छौं।

Ethylene एक साधारण hydrocarbon ग्यास हो। बोटबिरुवा तथा फलफुलहरुले नै उत्पादन गर्ने र प्राकृतिक रुपमा पनि प्रसस्त पाइने भएकोले यो मानब स्वास्थ्यको लागी हानिकारक भएको अहिलेसम्म थाहा छैन।

तर आजभोलि आँपलगायतका फलफुलहरु परिपक्क नहुँदै टिपेर कृत्रिम तरिकाले पकाउनको निमित्त क्याल्सियम कारबाइड (calcium carbide) भन्ने रसायन (chemical compound) को पनि ब्यापक प्रयोग गर्न थालिएको छ। यो यस्तो तत्व हो जसमा पानी मिसाउने बित्तिकै ठुलो रासायनिक प्रतिक्रिया भई असेटलिन (acetylene) भन्ने एकदमै बढी तापमा बल्ने ग्यास निस्कन्छ। यो ग्यास बल्दा हजारौं डिग्री तातो ताप निस्किने भएकोले नै फलामलगायतका धातुहरु टुक्र्याउन, गलाउन तथा वेल्डिंग गरी जोड्ने कामको लागी यसको प्रयोग गरिन्छ। यसको आगो पानीले निभ्दैन। सुक्का रासायनिक पाउडर र carbon dioxide ले मात्र निभाउनु पर्छ।

calcium carbide अथवा acetylene gas ले पनि फलफुल छिटो पकाउने मामलामा Ethylene ले जस्तै काम गर्न त सक्छ, तर मानब स्वास्थ्यको निमित्त यो धेरै प्रकारले घातक छ। यहाँसम्म की यसमा स्वास्थ्यलाई एकदम असर पार्ने प्रकारका phosphorus तत्वहरु र arsenic भन्ने क्यान्सरजन्य तत्वसमेत हुन्छन्।

phosphorus, arsenic र acetylene ले शरीरका बिभिन्न अंगमा बिभिन्न किसिमले असर गर्दछन्। जसको कारणले टाउको दुख्ने, रिंगाटा लाग्ने, निद्रा लाग्ने, मुड फेरिने, मानसिक दुबिधा हुने, Cerebrum भन्ने दिमागको भागमा पानी जम्ने र पक्षघात समेत हुने सम्भावना हुन्छ। त्यसैले अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन (WHO) ले खाद्यान्न सम्बन्धि कुरामा यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

कानुनी प्रतिबन्ध त नेपाल भारतमा पनि छ होला, तर कार्यान्वयन कसले गर्ने ? आँप बेच्दा गोटाको हिसाबलेभन्दा तौलेर बेचिने भएकोले करिब ७५ % जतिमात्र तौल हुँदा यसरी बिषादीले गलाएर नराम्रो गरी बेच्नुभन्दा त १००% बिकसित भै पाकेपछि ताजाताजै बेच्यो भने किसानलाई पैसा पनि बढी आउंथ्यो, अनि खाने व्यक्तिको स्वास्थ्यमा पनि असर पर्दैनथ्यो ! तर के गर्ने ? हाम्रा प्यारा किसानलाई “तातै खाउँ जल्दै मरौं” गर्नु पर्ने अनि हामी आँप खानेहरुचाहिं “हेरेर मर्नभन्दा छेरेर मर्न मन पराउने” !

यस्तो हुन्छ कोठामा बलजफ्ती ग्यासले पकाएको आँप:
१) सबै आँपको एकै सामानको अथवा एकदम फरकफरक रंग हुन्छ।
२) आउनु पर्ने जस्तो आँपकै जस्तो खासै बास्ना आउँदैन।
३) पुष्ट हुँदैन तर सानैमा चाउरी परेको हुन्छ।
४) छाम्दा रस भरिएजस्तो हुँदैन, कतै गिलिक्क हुन्छ र कतै साह्रा गिर्खा हुन्छन्।
५) आँप प्राय ठुलो रुखमा फल्ने भएकोले अन्य केही फललाई जस्तै बेमौसममा ठुलो व्यापारिक स्तरमा फलाउन सकिन्न। तसर्थ जेष्ठ महिना अगावै आँप बजारमा आयो भने त्यो कोठामा ग्यासले पकाइएको भन्ने बुझ्नु पर्छ।

जे भए पनि नखाई नछाड्नेले बग्ने पानीमा राम्रोसंग १ मिनेट जति कपडा वा ब्रशले धोएर खानु पर्छ। अनि जति गलेको भए पनि बोक्रैसंग काटेर खानु हुँदैन, ताछेरमात्र खानु पर्छ।

3 thoughts on “रसायन हालेर पकाएको आँप यसरी चिनौँ”

  1. Dhiran says:
    June 17, 2014 at 12:47 pm

    मुख्य कुरा इमान्दारिताको हो / सबैले अलिकति मात्र आफ्नो जिम्मेवारी बहन गरे जताततै सुधार्न सकिन्छ / जीवनसँग खेलबाड नगरौं /

    Reply
  2. डिल्ली says:
    June 16, 2014 at 9:53 am

    फल्ने, पाक्ने आदिको व्याख्या त राम्रो छ स्पष्ट छ तर रसायन हालेर पकाएको चिन्ने तरिका भने ताल न तुलको लाग्यो । अलिक हावादारी नै छ यो । गौतमजीको भनाइ

    १) सबै आँपको एकै सामानको अथवा एकदम फरकफरक रंग हुन्छ। के भन्न खोजिएको हो अस्पटष्ट छ । बोटमा फलेको र पाकेको आँप नै घाम लागेको र घाम नदेखिने ठाउँमा फलेको फरक रङ्को हुन्छ । यसरी छुट्याउन सकिन्न ।
    २) आउनु पर्ने जस्तो आँपकै जस्तो खासै बास्ना आउँदैन। यो केही हदसम्म सही हो । तर फरक जातको आँपको फरक बासना हुन्छ त्यसैले ग्राहकले थाहा नपाउन सक्छ ।
    ३) पुष्ट हुँदैन तर सानैमा चाउरी परेको हुन्छ। यसकालागि ७५% विकसित हैन चिचिलो मै पकाउन राख्नु पर्छ ।
    ४) छाम्दा रस भरिएजस्तो हुँदैन, कतै गिलिक्क हुन्छ र कतै साह्रा गिर्खा हुन्छन्। यो पनि राम्रो गरि छिप्पिएको आँप नै टिपेर घरमा आफैँले खान राख्दा पनि गुम्स्याउने क्रममा कतै गुम्सियो कतै गुम्सिएन भने गिलो र साह्रो गिर्खे खाल्को हुन जान्छ । राम्ररी नगुम्सिए मालभोग केरा पकाउँदा अझ गिर्खे हुन्छ ।
    ५) आँप प्राय ठुलो रुखमा फल्ने भएकोले अन्य केही फललाई जस्तै बेमौसममा ठुलो व्यापारिक स्तरमा फलाउन सकिन्न। तसर्थ जेष्ठ महिना अगावै आँप बजारमा आयो भने त्यो कोठामा ग्यासले पकाइएको भन्ने बुझ्नु पर्छ। – नेपालमा मात्र नफल्ने हो तर धेरै देशमा ३-६ महिना वा सदावहार आँप फल्न सक्छ । हाल हामी कहाँ धेरै देशबाट आँप भित्रिन्छ । हामीले बुझ्नु पर्ने भने कुन जातको आँप किनिरहेका छौ ? चिन्न सक्ने हुनै पर्छ । कुन कुन जातका आँप कहिले कहिले पाक्छन् (तर यो जातीयताको सङ्गिन समयमा आँप पनि बाहुन क्षेत्री, आदिवासी आप्रवासी ठान्ने पनि निस्केलान मेरो आसय चाहीँ आँपकै प्रकार हो )? त्यो नजानी सबैलाई एउटै चस्माले हेर्दा गलत हुन्छ ।

    मेरो अनुभबमा रसायन राखेर पकाएको आँपको भेट्नु कालो, अरु स्थानमा पनि केही काला कुहिन लागेका जस्ता छिर्का देखिन्छन् । साथै कतै कतै खरानी जस्तो सेतो केही लागेको देखियो भने पनि रसायन हालेको थाहा पाउन सकिन्छ ।

    Reply
  3. Poban says:
    June 16, 2014 at 6:51 am

    धेरै राम्रो लेख, तर प्राय जसो लै येही काफी हुन्छ क्या रे |

    २) आउनु पर्ने जस्तो आँपकै जस्तो खासै बास्ना आउँदैन।
    ३) पुष्ट हुँदैन तर सानैमा चाउरी परेको हुन्छ।
    ४) छाम्दा रस भरिएजस्तो हुँदैन, कतै गिलिक्क हुन्छ र कतै साह्रा गिर्खा हुन्छन्।
    ५) आँप प्राय ठुलो रुखमा फल्ने भएकोले अन्य केही फललाई जस्तै बेमौसममा ठुलो व्यापारिक स्तरमा फलाउन सकिन्न। तसर्थ जेष्ठ महिना अगावै आँप बजारमा आयो भने त्यो कोठामा ग्यासले पकाइएको भन्ने बुझ्नु पर्छ।

    “सबै आँपको एकै सामानको अथवा एकदम फरकफरक रंग हुन्छ।”
    यो त बुटोमा पाकेको आँपको पनि तेस्तै चरित्र हुन सक्छ होइन र, कृपया स्पस्ट पारिदिने कस्ट गरिदिनु भए आभारी हुने थिए |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme