-गोपी के. बराल-
कुरा धेरै सय वर्ष पहिलेको हो। एकजना ध्रुव नाम गरेका केटा थिए। त्यतिबेलाको समाज नीतिनियम र शास्त्रले अहिलेको भन्दा पनि धेरै बाँधिएको थियो। मान्छेहरु स्वतन्त्र थिएनन्।
सन् २०१६ मा फेसबुकले हिस्ट्री रिभिजिटेड प्रयोग थालेको घोषणा गर्यो। यसका लागि मार्क जुकरबर्गको क्लोन बनाई उसलाई धेरै सय वर्षअघिको समयमा टाइम मेसिनबाट पठाइयो। जुके ध्रुवको जमानामा पुगेर फेसबुक प्रचलनमा ल्याइदियो, जहाँ मान्छेहरु स्वतन्त्र रुपले आफ्ना विचारहरु राख्ने, साथमा रंगरमाइलो पनि गर्ने गर्थे। दुःखसुखको एउटा रमाइलो मन्च बन्यो त्यो फेसबुक।
चारैतिरबाट बन्धनमा बाँधिएका ध्रुवलाई पनि गजब लाग्यो यो वेबसाइट। गाउँ-समाज, धर्म, नीति, शास्त्रलाई परै राखेर स्वतन्त्र रुपमा रमाइलो गर्न पाइने अखडा भनेको यही मात्रै हो जस्तो लाग्थ्यो उनलाई। उनी बेस्सरी कमेन्टहरुमा रमाइलो गर्ने, रमाइला – रमाइला स्टाटसहरु राख्ने गर्दथे।
अचानक एकदिन उनको मनमा एउटा विचार आयो, “किन यति रामाइलो संसारमा आफ्नी प्राणप्यारीलाई पनि नल्याउने?
यही सोचेर उनले आफ्नी श्रीमतीको लागि पनि एउटा अकाउन्ट बनाइदिए र चलाउने विधि पनि सिकाइदिए। समय बित्दै गयो। पछि-पछि श्रीमतीलाई बनाइदिएको त्यही अकाउन्ट उनको लागि अभिसाप बन्दै जान थाल्यो।
“फलानो ठाउँमा त खुब कमेन्ट गरिन्छ नि ?”
“चिलानोको पोस्ट र फोटो त खुब लाइक गरिन्छ नि ?”
“ढिस्कानोको पोस्ट त खुब शेयर गरिन्छ नि ?”
यस्ता किसिमका प्रतिक्रियाहरु श्रीमतीबाट आउन थालेपछि बिचरा ध्रुव निरास हुन्थे र मनमनै आफ्नै घुँडामा आफैले बन्चरो हानेकोमा खुब पछुताउँथे। यी विषयमा धेरै वैमनस्यता उत्पन्न हुन थाले। भनिन्छ “बाहिर संसार जिते पनि छोरो मान्छेले घरभित्र कहिल्यै जित्न सक्दैन।”
यहाँ पनि ठ्याकै त्यही भयो। बिचरा ध्रुव आफूले चाहेको र पाएको फेसबुकको स्वतन्त्रतालाई इमेल आइडी र पासवर्डका साथ समर्पण नगरी सुखै पाएनन्। आफूबाट सबै स्वतन्त्रता र अधिकारहरु खोसिएपछि उनलाई यो धर्तिमा रहनुको औचित्य नै बेकार लाग्यो। चारैतिर बन्धनै बन्धनले जकडिएको यो संसारमा उनलाई एक सेकेन्ड पनि अडिन मन लागेन। फलस्वरूप उनी आफ्नो ब्रह्मास्त्रको प्रयोग गरी धर्ति छाडेर आकाशतिर बसाइ सरे र स्वतन्त्र रुपले एक्लै बस्न थाले।
… . . नपत्याए आकाशमा राति उत्तर पट्टी हेर्नु तिनै ध्रुव अहिले “ध्रुवतारा” को नामले चिरपरिचित भएर फेसबुक नचलाए पनि लाइक र कमेन्ट हेर्दै बसेका छन् 🙂
शनिबार साहित्य अन्तर्गत प्रकाशित पुराना कथाहरु पढ्न यहाँ क्लिक गर्नुस्। तपाईँ पनि आफ्ना कथा, लघुकथा, विज्ञान कथा पठाउन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुस्
सिरिमति संगको रिस यता कथा भएर पोखिए जस्तो छ / तेत्ति दमदार चै होइन / अनि जुकरबर्ग को फेसबुक जत्तिकै तगडो यो माइसंसार पनि छ नि आफ्ना बिचारहरु शालीन रुपमा पोख्न लाइ /
छेउ न टुप्पा भाको, सुर नभाको, काचो न काचो – कत्ति रस नपसेको, झुर कथा.
Good one !!