नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा प्रकरण अहिले निकै चर्चामा रहेको छ। यही बढुवाका क्रममा भ्रष्टहरु ब्रिफकेस बोकेर शक्ति केन्द्र धाउने गरेको सार्वजनिक रुपमा बोलेका कारण रमेश खरेल कारबाहीमा पर्ने भएका छन्। खासमा के रहेछ यो कुरा भन्ने बारे बुझ्न आज एक प्रहरी अधिकारीलाई भेटेको थिएँ। उनको भनाई सुनेर तीनछक्क परेँ। एआइजी बढुवाका लागि ब्रिफकेस बोकेर यताउता जाने क्रम अझै रोकिएको रहेनछ। मैले भनेँ, धत् बढुवा समितिले सात जनाको नाम सिफारिश गरिसकेपछि पनि कसरी ब्रिफकेसको कुरा आयो? उनले बुझाए- ‘लौ, तिमीलाई थाहै रहेनछ। सिफारिश भइसकेपछि पनि चित्त नबुझे पुनरावलोकन गर्न पाउने प्रावधान छ नि। अहिले अमुक नामका लागि जुन मिडिया क्याम्पेन भइरहेको छ नि, त्यो के भन्ठानेका छौ?’
‘मिडियामा ब्रिफकेस पुग्यो भन्न खोज्नुभएको?’, मैले सोधेँ, लौ यस्तो रमेश खरेलको जस्तो ‘हुन चैँ हो प्रमाण चाहिँ छैन’ जस्ता कुरा नगर्नुस्। फ्याक्ट बताउनुस् के के हो, यो बारेमा म जस्तै माइसंसारका धेरै पाठक अन्यौलमा छन्।’
त्यसपछि उनी र प्रहरी संगठनभित्रकै अरु सदस्यबाट पाएको जानकारी यहाँ भित्र छ। एआइजी बढुवा प्रकरणको धेरै कुरा मलाई यो क्रममा स्पष्ट भयो।
बढुवा समितिले जेठ १३ गते निकालेको सूचना अनुसार यी सात जनाले निम्न प्राप्ताङ्कसहित सिफारिस गरेको छ-
यसमा कार्यसम्पादन मूल्यांकनको ४०, जेष्ठताको २०, भौगोलिक अनुभवको ८,
शैक्षिक योग्यताको १०, तालिमको ७.५, चुनौतिपूर्ण वा विशेष जिम्मेवारीबापत ५,
विभूषणको २ र बढुवा समितिले दिने ७.५ अङ्क हुने गर्छ।
सिफारिश सात जनाको सूचीमा वरियता क्रम मिचिएको रहेछ।
सिफारिश सूचीमा परेकाहरु कस्ता ?
सिफारिश सूचीमा परेकाहरुको पृष्ठभूमि बुझ्दा यस्तो भेटियो- नम्बर १ मा रहेका राजेन्द्र सिंह भण्डारी अपराध अनुसन्धानमा दख्खल भएका प्रहरी अधिकारी हुन्। जटिल किसिमको अपराध अनुसन्धानका लागि कहलिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) उनैको सोच हो। आर्थिक विवादमा उनी मुछिएका छैनन्।
दोस्रो नम्बरमा रहेका सुरेन्द्रबहादुर शाह पनि अनुसन्धानमा दक्ष अधिकृतका रुपमा प्रहरी संगठनमा लिइन्छ। नक्कली नोट, काउन्टर टेरोरिजम जस्ता क्षेत्रमा दख्खलसहित उल्लेखनीय काम गरेका छन् उनले। उनी पनि विवादमा खासै आएका छैनन्।
तेस्रो नम्बरमा विज्ञानराज शर्मा परेका छन्। प्रहरी संगठनभित्र यिनलाई औसत किसिमको अधिकारीका रुपमा लिइन्छ। विवादमा पर्ने सबैभन्दा ठूलो काम यिनको पाँच वर्षअघि भयो। त्यतिबेला काठमाडौँको हाँडीगाउँस्थित भत्केको पुलमा हत्याको अभियोगमा फरार अपराधी डन राजु गोर्खालीलाई प्रहरीले पक्रँदा जुन गाडीमा गोर्खाली थिए, त्यसको पछिल्लो सिटमा यिनी थिए। तल्लो तहका प्रहरीले यिनलाई नचिन्दा उनको हातमा हत्कडीसमेत लगाइएको थियो। म एसएसपी हुँ भन्दासमेत नचिनेर बढी बोल्छस् भन्दै प्रहरीले यिनलाई झापडसमेत हानेका थिए। त्यतिबेला काठमाडौँ प्रहरी प्रमुख नवराज सिलवाल थिए। माथिल्लो तहमा कुरा मिलाएर उनी त्यहाँबाट फुत्कन सफल भए र गोर्खालीमात्रै पक्राउ परे।
चौथो नम्बरमा रहेका प्रतापसिंह थापालाई प्रहरी संगठनमा ‘एभरेज’ कार्यक्षमताका प्रहरीका रुपमा हेरिन्छ। यिनी थुप्रै विवादमा र पटक पटक आर्थिक अपचलनको केसमा परेका छन्। प्रहरीभित्रको भन्सार मानिने प्रबन्ध हेर्ने ठाउँमा उनी धेरै बसेका छन्। अकुत सम्पतिको केसमा अख्तियारले उनलाई छानबिनको दायरामा समेत ल्याएको थियो। वरियता क्रममा उनी ११ औँ नम्बरमा भए पनि सिफारिश हुँदा उनी चौथो नम्बरमा पर्न सफल भएका हुन्। लागू औषध नियन्त्रण इकाईमा यिनले काम गरेका छन्। यिनको प्लस प्वाइन्ट भने माओवादी विरुद्धको अपरेसनका क्रममा यिनले विभिन्न प्रमुख स्थानका जिम्मेवारी सम्हालेका थिए। चुनौतिपूर्ण वा विशेष जिम्मेवारीबापत बढीमा ५ अङ्क बढुवा समितिले दिन पाउँछ।
पाँचौँ नम्बरमा परेका वीरेन्द्रबाबु श्रेष्ठलाई तीनै शक्ति केन्द्र रिझाउन सक्ने क्षमता भएका प्रहरी अधिकारीका रुपमा लिइन्छ। विमानस्थल र लागू औषध नियन्त्रण इकाईमा यिनले काम गरिसकेका छन् भने हाल अख्तियारको प्रहरी युनिटका प्रमुख छन्। यिनी माओवादी नेता नारायणकाजी श्रेष्ठका भतिज हुन्।
छैटौँ नम्बरमा रहेका रमेशशेखर बज्राचार्यको पनि शक्तिकेन्द्रमा राम्रो सम्बन्ध भएको मानिन्छ। यिनी खासै विवादमा परेका छैनन्। पोखरामा प्रहरी प्रमुख हुँदा यिनले उत्कृष्ट काम गरेवापत् पुरस्कार पाएका थिए। तर संगठनभित्र उम्दा प्रहरीको पहिचान भने छैन।
सातौँ नम्बरमा रहेका केदार साउदको प्रहरी संगठनभित्र औसत प्रदर्शन गर्ने प्रहरीको पहिचान छ। ट्राफिक र लागू औषध नियन्त्रणमा उनले काम गरेका छन्। हाल कांग्रेसको तर्फबाट मन्त्री रहेका एनपी साउदका यिनी दाइ हुन्।
को-को छुटे ?
संगठनभित्रको वरियता क्रममा उपेन्द्रकान्त अर्याल पहिलो नम्बरमा, राजेन्द्र सिंह भण्डारी दोस्रो नम्बरमा र तेस्रो नम्बरमा नारायण बस्ताकोटी थिए। अर्याल महानिरीक्षक बनिसकेपछि पहिलो नम्बरमा राजेन्द्र सिंह भण्डारी थिए, बढुवा सिफारिश सूचीमा पनि उनी पहिलो नम्बरमा नै छन्। तर वरियतामा दोस्रो नम्बरमा रहेका बस्ताकोटी भने सूचीमा अटाएका छैनन्।
वरियता क्रममा ११ औँ नम्बरमा रहेका प्रतापसिंह थापा सिफारिश सूचीमा चौथो नम्बरमा आएका छन्। त्यस्तै वरियता क्रममा आठ नम्बरमा रहेका वीरेन्द्रबाबु श्रेष्ठ सिफारिश सूचीमा पाँचौँ नम्बरमा आएका छन्
वरियता क्रम अनुसार दोस्रो नम्बरमा रहेका नारायण बस्ताकोटीको छवि अलि सनकी पाराको छ प्रहरी संगठनभित्र। तर यिनले त्रिभुवन विमानस्थलको सुरक्षा प्रमुख हुँदा निकै राम्रा कामहरु पनि गरेका थिए। चेलिबेटी विदेश लैजाने गिरोहमा नियन्त्रण, तस्करी नियन्त्रणमा उनले प्रशंसनीय काम गरेका थिए। तर एसएसपी रविराज श्रेष्ठको डलर कान्डमा भने यिनलाई पनि कमान्डसिप सम्हाल्न नसकेको ठहर छानबिन समितिले गर्यो। छानबिन समितिमा हालका महानिरीक्षक उपेन्द्रकान्त अर्याल नै थिए। एसएसपी श्रेष्ठ भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त भए। बस्ताकोटीलाई कारबाही भने भएको थिएन, मुख्यालयमा तानिएका थिए।
वरियताको सातौँ नम्बरमा गणेश राई थिए, जो सिफारिश सूचीमा छुटेका छन्। आर्थिक मामिलामा उनी बदनाम छन्। अख्तियारले समेत उनलाई दोषी भन्दै कारबाहीको सिफारिश गरेको थियो (थप तल मिडिया क्याम्पेनसम्बन्धी प्रसंगमा)
अर्का छुटेका डिआइजी यादव अधिकारी हुन्। व्यक्तिगत आचरण (मादक पदार्थ सेवन आदि) मा उनको ट्र्याक रेकर्ड खराब भए पनि कामको मामिलामा भने यिनको प्रदर्शन तारिफयोग्य रहेको छवि प्रहरी संगठनमा छ। पछिल्लो संविधान सभाको निर्वाचनमा यिनले नै प्रहरीको तर्फबाट सुरक्षाको सबै जिम्मेवारी सम्हालेका थिए। विमानस्थल र लागू औषध नियन्त्रणमा समेत अधिकारीले काम गरेका थिए।
मिडिया क्याम्पेन यसरी हुँदैछ
तपाईँले माथि छुटेका प्रशस्त नाम पढ्नु भयो। तर मिडिया क्याम्पेन विशेष गरी एक व्यक्ति गणेश राईको लागि भइरहेको तपाईँले महसूस गर्नुभयो होला। खासमा यो किन भइरहेको छ त ? यसको रहस्य यस्तो रहेछ।
बढुवा सिफारिश समितिले गरेको सिफारिश चित्त बुझेन भने सात दिनभित्र पुनरावलोकन समितिमा उजुरी गर्न पाइने रहेछ। सूचीमा नपरेका छ जना डिआइजीहरुले उजुरी पनि गरेका छन्।
यो पुनरावलोकन समितिमा भने लोक सेवा आयोग अध्यक्ष, मुख्य सचिव र कानून सचिव सदस्य रहन्छन्। लोकसेवा आयोग अध्यक्षमा अहिले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीकी दिदी कयोदेवी यमी छिन्। अब हुने र हुनसक्ने सबै चलखेल यही पुनरावलोकन समितिको निर्णयमा अडिएको छ।
कसको हुँदैछ क्याम्पेन ?
मिडियाले पस्केका सबै खुराक खुरुखुरु स्वीकार मात्र नगरी सूक्ष्म रुपमा अध्ययन र विश्लेषणसमेत गर्नेले पक्कै पनि याद गरेको हुनुपर्छ। अहिले क्याम्पेन गणेश राईको पक्षमा हुँदैछ। उनका कमजोर पक्षलाई ध्यान नदिई अरु पक्षलाई बढी हाइलाइट गरेर ‘देवत्वकरण’ गर्ने प्रयास भएको छ। वरियता क्रम अनुसार सातौँ नम्बरमा रहेका उनीभन्दा माथि रहेका र अरुको पक्षमा खासै क्याम्पेन गरिएको छैन। उनको बारेमा भने विशेष सम्पादकीयसम्म लेख्ने काम भएको छ।
प्रहरी संगठनभित्र राईको छवि खासै राम्रो भने रहेनछ। तर हो, मापसे चेकिङ अभियान भने उनैले सुरु गरेका हुन्। यो प्रशंसनीय कामको चर्चा विदेशमा समेत भएको छ। ड्रिङ्क एन्ड ड्राइभविरुद्ध अभियानमा नेपालबाट सिक्नु पर्ने भन्दै अस्ति भर्खर एउटा भारतीय मिडियामा समाचार आएको थियो।
तर मापसे बाहेक भने उनको ट्र्याक त्यति राम्रो छैन। आर्थिक विवादमा उनी पटक पटक तानिएका छन्। क्षेत्रीय प्रहरी प्रमुख हुँदा उनले पैसा असुल्ने गरेको, सेटबाट गाली गर्ने गरेको जस्ता उजुरी परेका छन्।
माओवादी शक्तिमा हुँदा त्यो निकट भएर कनेक्सन मिलाएरमात्र उनी डिआइजी भएको नत्र उनको ट्रयाक हेर्दा त्यहाँसम्म पनि आउन नसक्ने प्रहरी संगठनभित्रकाहरु भन्छन्।
पछिल्लो पटक उनी ट्राफिक प्रहरीमा प्रमुख रहँदै विवादमा परे। ट्राफिक नियम उल्लंघन गरेकालाई जरिवानाबापत दिने रसिद प्रधान कार्यालयको अनुमतिमा ट्राफिक महाशाखाले नै छाप्दै आएको छ। क्रमसंख्या मिलाएर रसिद छाप्ने र हरेक रसिदको छुट्टाछुट्टै विवरण राखेर रकम दाखिला गर्नुपर्ने नियम भए पनि उच्च तहका अधिकृतको मिलेमतोमा क्रमसंख्या दोहोर्याएर रसिद छाप्ने गरेको फेला परेको थियो। केही प्रभागले समेत स्वीकृति नै नलिई रसिद छापेको फेला परेको थियो। ट्राफिक महाशाखाले सार्वजनिक गर्ने राजस्व संकलनको विवरण र दाखिला भएको राजस्वको विवरणसमेत फरक भेटिएको थियो। दरवारमार्ग, नागढुंगा, बौद्ध, सातदोवाटो, बसपार्क, सोह्खुट्टे, कोटेश्वर र लाइसेन्स फाँटले मासिक रुपमा ३० हजारदेखी ५० हजारसम्म रकम ट्राफिक महाशाखाका नेतृत्वलाई बुझाउने गरेको केन्द्रमा पुगेको थियो। वायुप्रदूषणरहित स्टिकर पनि ५ सय रुपैयाँ लिएर बिनापरीक्षण उपलब्ध गराउने गरेको देखिएको थियो। विस्तृत यहाँ हेर्नुस्
नगदी रसिद, टाइम कार्ड, प्रदूषण स्टिकर जथाभावी छापेर वितरण गरी दुरुपयोग गरेको भनी परेको उजुरीमा अख्तियारले आफ्ना अधिकृत मोहन अधिकारीलाई अनुसन्धान गर्न लगाएको थियो। त्यसमा राईलाई दोषी ठहर गरी जरिवाना विभागीय कारबाहीको सिफारिश गरिएको थियो।
२०७० साउन २२ गते अख्तियारले गणेश राई लगायत ६ जनालाई कारबाही गर्न प्रहरी मुख्यालयलाई पत्र पठाएको थियो। त्यसमा उनलाई निम्न कुरामा दोषी ठहर्याइएको थियो-
• आ. व. २०६८/६९ मा नगदी रसिद (यो भनेको मापसे चेकिङ गर्दा वा अन्य ट्राफिक नियम उल्लङ्घन गर्दा दिइने रसिद, टाइम कार्ड (यो भनेको दुर्घटना नियन्त्रण गर्न निश्चित ठाउँमा जस्तै नागढुंगा आदिमा गाडीले आफू पुगेको समय दर्ता गर्ने), प्रदूषण स्टिकर लगायत छपाई सम्बन्धी कार्य सार्वजनिक खरिद ऐन नियम अनुसारको नभई राईको आदेशले पटक पटक गरी एउटै सामान बिना कोटेसन खरिद गरेको देखिन आएको
• प्रदूषण स्टिकर जथाभावी वितरण गरी दुरुपयोग। आ.व. २०६८/६९ को साउनदेखि वैशाखसम्म ९७६ थान स्टिकर हराएको । यसमा महाशाखा प्रमुख राईको पनि उत्तिकै जिम्मेवारी देखिने हुँदा प्रति स्टिकर रु ३५ पर्ने भएकोले ३४ हजार १६० भरीभराउ गरी विभागीय कारबाही समेत गर्न प्रहरी प्रधान कार्यालयलाई लेखी पठाउने।
यो कुरामा आँखा चिम्ली उनलाई दिनुपर्ने मापसे चेकिङको मात्र क्रेडिट नदिई काठमाडौँमा सडक विस्तारको समेत क्रेडिट जबर्जस्ती बोकाउन खोजिएको छ। जबकि सडक विस्तारमा ट्राफिकको काम मात्र घर भत्काउँदा सडकमा ट्राफिक नियन्त्रण गरिदिने हो।
सबभन्दा खतरनाक कुरा, क्याम्पेन गर्दा उनलाई जातभातको कुरा उठाइएको छ। यस्ता वाक्यसमेत क्याम्पेन गर्नेहरुले लेखेका छन्- एउटा जनजातीलाई पन्छाएर सरकारी जागिरमा लाभमै रहेका बाहुन, क्षेत्री र नेवार पोस्ने तयारी भएको छ। राईको जायज हक खोसेर, अब आइन्दा उनीहरुले ‘समावेशी’को कुरो गर्न सुहाउला?
प्रहरी अधिकारीहरु भन्छन्- संगठनभित्र प्रवेशका क्रममा जातिजनजातिका लागि आरक्षणको व्यवस्था गरिएको छ। तर कार्यसम्पादन मूल्याङ्कन जस्ता कुरामा जातिको कुरा आउँदैन, आउन दिनु हुँदैन। संगठनका लागि जसले उपयुक्त काम गर्न सक्छ, उसको बढुवा हुनुपर्छ।
यस पटक बढुवा सूचीमा केही नामहरु पक्कै पनि ब्रिफकेस बुझाएकाहरु नै परे जस्ता देखिन्छछन्। माथि तपाईँले सबैको ब्याकग्राउन्ड पढिहाल्नुभयो। तर नराम्रो पक्षलाई लुकाएर अरु पक्षलाई मात्र हाइलाइट गरी नभएको पगरी पनि लगाइदिने गरी एक जनाको पक्षमा मात्र क्याम्पेन किन भयो त? किन अरुको विषयमा चुप भयो? सचेत पाठकले विचार गर्नुपर्ने कुरा त्यहाँ हो। वरियता कै कुरा गर्ने हो भने दोस्रो नम्बरका बस्ताकोटीको विषयमा आवाज नउठेर सातौँ वरियताका राईलाई बोक्नु पर्ने कारण के हो ? जबकि उनलाई विभागीय कारबाही गर्ने सिफारिश अख्तियारले गरेको छ।
मिडिया क्याम्पेनको भित्री कुरो
बढुवामा पहिले भए गृहमन्त्री र प्रहरी महानिरीक्षकको मात्र निर्णय हुने थियो। महानिरीक्षकको सिफारिशमा गृहले गर्ने। सरकारले जसलाई चाह्यो त्यसलाई गर्न सक्ने। वामदेव गृहमन्त्री भएपछि उहिले गृहमन्त्री हुँदा जस्तो प्रहरीमा भूकम्प ल्याउला भनेर पहिलो पटक नियमावली संशोधन गरी पावर सेयरिङ मिलाइएको हो। अहिले प्रहरी नियमावली संशोधन गरेर सिफारिश समिति बनाइएको छ। त्यसमा गृह मन्त्रालयको तर्फबाट गृह सचिव सूर्य सिलवाल, प्रधानमन्त्रीको तर्फबाट मन्त्रिपरिषद् सचिव दुर्गानिधि शर्मा र प्रहरी संगठनको तर्फबाट महानिरीक्षक उपेन्द्रकान्त अर्याल सदस्य हुन्छन्।
यो सिफारिश चित्त नबुझे पुनरावलोकन समितिमा उजुरी गर्न पाइन्छ।
माओवादी पावरमा हुँदा डिआइजी भएका राईको एक मात्र आशा अहिले माओवादी नेतृ हिसिला यमिकी दिदी कयोदेवी यमि अध्यक्ष भएको लोकसेवा आयोगमा छ। बढुवा सिफारिश समितिको सूचीमा पुनरावलोकन गर्ने समितिमा यमिसहित मुख्य सचिव लीलामणि पौडेल र कानुन सचिव गरी तीन जना हुन्छन्।
यमिले ‘म एक्लैले केही गर्न सक्दिनँ, मिडियामा तपाईँका बारेमा पोजिटिभ कुरा आएर क्याम्पेन भएमा तपाईँको बारेमा पुनरावलोकन समितिको बैठकमा म आवाज उठाउन सक्छु’ भनेकी थिइन्।
ब्लगको सुरुमा उल्लेख भएको प्रहरी अधिकारीले ब्रिफकेसको कुरा त्यो सन्दर्भमा भनेका रहेछन्। तर यो रमेश खरेलले उठाएको ब्रिफकेसको कुरा जस्तै हुन्छ बिना प्रमाणको। शंका गर्ने ठाउँ भने प्रशस्तै रहने।
अहिले एआइजीमा बढुवा नभएमा अबको चार महिनामा यी डिआइजीहरु उमेरको हदका कारण अवकाशमा जाने रहेछन्। त्यही भएर पनि जे गरेर भए पनि एआइजीमा बढुवा हुन यो चलखेल हुने रहेछ।
डिआइजी जम्मा १३ जना हुन्। सात जना मात्र बढुवा हुने। रमेश खरेलले भने जस्तै सिफारिश गर्ने ठाउँमा पुग्यो ब्रिफकेश। अनि बढुवा सिफारिश भयो सात जनाको। बाँकी रहे ६ जना। नारायण बस्ताकोटी, गणेश राई, यादव अधिकारी, परशुराम खत्री, सुशीलवरसिंह थापा र विश्वराजसिंह शाही। उनीहरु गएका छन् पुनरावलोकन समितिमा। दुई साता भित्र पुनरावलोकन समितिले पनि यसको टुङ्गो लगाइसक्नु पर्छ। अब फेरि ब्रिफकेश कता कता पुग्यो।
हेर्दै गर्नुस्, अबका केही दिनमा पनि पुनरावलोकन समितिलाई प्रभावित पार्न कस्ता कस्ता समाचार, विचार वा अरु सामाग्रीमा मिडिया क्याम्पेनका रुपमा आउँछन्। ६ जना मध्ये कसलाई बढी कसले बोक्छ, कस्ता शब्दहरु प्रयोग गरेर बोक्छ, त्यो पनि ध्यान दिएर हेर्नुहोला सचेत पाठकले।
नेपालमा इमान्दारी काम गर्नेको लागि ठाउँ छैन तेसैले गर्दा नेपाल सधै गरिब रहिरहनछ अनि
पत्रकार नै बिक्रि भये पछि truth कसरि थाहा हुन्छ ?with power there comes responsibility.journalism is powerful field….now if they misuse their power and work irresponsibly then on whom we believe???
mysansar ले change ल्याउन सक्ला त.i believe in salokya….dont ever leave
your ethics.
नेपाल मा असक्ष्यम लिडर हरु भय , देश चुस्ने लुटेरा हरु ले नेत्रित्वो सम्हाले, नेपाली जनता हरु ले यी उडुस हरु लाइ बिश्वास गरे , यो फोहोरी राजनीतिक दुर्गन्ध अहिले फैलियाको छ | यो फोहोर को प्रभाब ले धेरै लाइ सतायको छ
ब्रिफकेस संस्कार बात नै पार्टी चलायर बसेका छन् / ब्रिफकेश श्रोत बाटै कुनै पनि पेसा ब्यबसाय नगरिकनै कुनै पुर्ख्यौली सम्पतिको श्रोत नभयकाहरु आलिशान जीवन बिताउन सक्ने नेता बनेका छन्/ इनिहरुको पार्टीको सिफारिसमा नोकरी पाउनेले मात्रै होइन सांसद सभापति बन्नेले समेत इनिहरुलाई लेभी कोच्चेको ब्रिफकेश बुझाउनै पर्छ/
भन्नमा उनीहरु आफु र आफ्नो पार्टीलाई के के बादी भन्छन/ तर बास्तविकता त् इनिहरु ब्रिफकेश बादिहरुनै हुन् भन्ने प्रमाण इनिहरु मध्यकै कयौं भ्रस्टाचार पनि भनिने ब्रिफकेश काण्डमा कोहि जेल जानु परेको थियो भने कोहि जेल जाने तरखरमा र कोहि जिल जान नपरोस भनेर नाना खेल खेल्दै गरेको छ/ ई भ्रिफ्केश्बादिहरुकै पार्तिकाले इनिहरुलाई ब्रिफकेश काण्ड गरेको आरोपहरु लगायकै छ; उदाहरणको लागि शिविर काण्डनै लिय हुन्छ/ इनिहरु जसरि काम साम केहि नगरी आलिशान जीवन बिताउन्दै आयको छ; आफ्नो पार्टी चलाउँदै आयको छ तेस्को लाजी मुठ्ठी भरि बा खल्ती भरि नोटले पुग्दैन ब्रिफकेश भरिने चाहिने हुन्छ/ तर कसले इनिहरुलाइ ब्रिफकेश दियो भन्ने कुरा इनिहरुको ट्रेड सिक्रेट बनेको छ र इनिहरुको राजमा कसैले बोले बरु देस तुक्राउञ्छु भन्नु अपराध हुँदैन इनिहरुको ब्रिफकेश ट्रेड सिक्रेटको बारेमा बोल्नु त् के संकेत गर्नु पनि ठुलै अपराध हुन्छ त् इनिहरुको “ब्रिफकेस” बारेमा बोल्ने संकेत गर्ने चाहे जनताको निमित जतिसुकै प्रिय होस् बा देस र जनताको निमित कत्तिसुकै योगदान दिने नै किन नहोस तेस्तो व्यक्ति इनिहरुको निमित अस्वीकार्य हुने मात्रै होइन ठुलै अपराधी बनाइन्छ; उदाहरण र प्रमाण रमेश खनालकै लिय पुग्छ/
कुनै बेला महाकाली सन्धि गरिंदा यस्तै ब्रिफकेस बुझेको आरोप लगाउने बामदेवले अहिले उ ग्रिह मन्त्रि बनेको बेला आफैले महाकाली सन्धि गर्न ब्रिफकेश बुझेको आरोप लगाउनेलाई कार्यवाही गर्नु पर्नेमा उल्टै तेस्तै ब्रिफकेश कसै बात अब नबुझुन भनेर सल्लाह दिने रमेश खनाललाइ कार्यवाही गरे बात बामदेवलाई के भन्ने?
ब्रिफकेश बोक्ने र ब्रिफकेश बोक्नेहरुले गर्दानै नेपालमा कहिँ पनि सहि व्यक्ति सहि थाहूँमा टिक्न सकेको छैन र सहि कम हुन् सकिरहेको छैन/ कहिले बुझ्ने हो बामदेवहरुले नेपालमा शान्ति र प्रगतिको निमित अरु होइन ब्रिफकेश नै बाधक बनेकोछ/ बामदेवले सम्हालेको मन्त्रालय ब्रिफकेशलाइ पिस्ने बोल्दोजर बन्नु पर्ने थियो तर के बने भन्ने कुरा बामदेवले पनि बुझेको छ नागरिकले पनि बुझेको छ/ यसको नतिजा अर्को चुनावमा देख्ने छ जसरि कुनै पार्तिकाले दोश्रो संबिधान सभाको चुनावमा देखेको छ/
दुस्ट फटाहा चोरहरु बीच को अघि बढ्ने भन्ने खेल हो | कुनै पनि प्रहरी चोखा छैनन् | यिनका घर हेर्ने हो भने तस्करका जस्ता छन | तडक भडक दरबारिया जस्तो छ | अनि जसरि हुन्छ बामदेव जस्ता करप्ट नेतालाई ब्रिफकेस मात्र होइन सुटकेस पनि बुझाउन पछि पर्दैनन् |
रमेश खरेल जस्तालाई पाखा लाउछ्न | मिलिभगत खाने ख्वाउने मात्र अघि बढ्छन | कहिले उभो लाग्ने ? तेसकारण नेता हाकिम कसै प्रति पनि जनताको आदर छैन | यिनलाई चोरको बिल्ला लाउने दिन नआउला भन्न सकिन्न |
सालोक्य जी,
हजुर ले थाहा न-पाएर हो कि किन हो
सुरेन्द्र बहादुर शाहलाई विवाद रहित भन्नु भएको रहेछ
तर सब भन्दा बिबादित त उनी हुन् जस्तो लाग्छ
उनि SSP भएको बेलामा , उनकै हतियार प्रयोग गरि
उनका छोराले मान्छे मारेका थिए,
कानुनी राज भएको देश भए
अहिले बाउ-छोरा दुवै जना झाल-खानमा हुन्थेअ
तर दरबार निकट मानिने शाह , राजाको प्रतेशय सासनमा
दरबारकै VITO बाट बचे
कतै यो पनि मेडिया campaign त होइन (hope not)
बढुवामा: सडेका आलुहरुको ब्रिफकेसको खेल |
भक्कु पैसा कमाउने ठाउँमा सरुवामा: सडेका आलुहरुको ब्रिफकेसको खेल |
त्यसैले म भन्छु: कर्मचारीले भ्रस्टाचार गर्नुको दोषी पनि यिनै सडेका आलु |
को हुन् त सडेका आलुहरु ?
राजाको कालमा: भूमिगत गिरोह (ज्ञाने), सुर्जे, कमले, बोहोरा, हेमे,
हाल: शक्ति दुरुपयोग गर्ने ऐयाशीहरु जस्तै परचंडे र उस्को नाजायज सन्तान, गुण्डा नाइके जस्तै: काजु कान्छा (ओली) र उसका आउरे बाउरे, चाकडीबाज र अवसरबादीहरु जस्तै: छेरे, बामे, गच्छेदार, दिन दहाडे भक्कु पैसा कुम्ल्याउनेहरु जस्तै: खुमे, गोविंदे, हिसिले र हिसिलेका खानदान
कालान्तर देखी हाल सम्म सदाबहार सडेको आलु चैं मगज खुस्केका अपराधीहरु “पारस बहादुर शाह” र तेस्को बाउ ज्ञाने | हिन्दि मा एउटा उखान छ: एक तरफ कुआं, दुसरी तरफ खाइ, हाम्रो पनि एक तरफ ज्ञाने, दुसरी तरफ नेता, कसलाई छान्ने ?
यो लेख पढेर मैले जानेको कुरा बिचरा बस्ताकोटि पो अन्यायमा परेका रैछन।
ब्रिफकेश प्रकरण एक किशिम्ले पुलिश , मेडिया र जनासदारण सबैले थाहा पाएको कुरो रहेछ| झन् त्यो दिने लिने र बीच मा मिलाई दिनेलाइ त थाहा नहुने कुरै भएन|
एस्तो अवस्था मा रमेश खरेललाइ बलिको बोको बनाउने कहाँको उज्जण्ड नकचरो तरिका हो|
उल्टै हुनुन खानुको चेन अफ कमाण्ड को कुरा| चेन अफ कमाण्ड त बेइमान, भ्रस्ट, नैतिकहीन अहंकारी पशुहरुले पहिलेइ तोडी सकेका रहेछन र साँचो कुरामा सचेत गराउदा रमेश खरेललाई कारबाई|
वाह नेपाली कानुन र पदोन्नति को नाटक र दुनिया बेबकुफ बनाउने मदारी नाच|
पकेट मार ले चलाएको देश मा चेन अफ कमाण्ड को कुरा गर्ने दानबहरु||
ब्रिफकेशको अनुसन्धान गर्दैनन् कि के हो???? खरेल ले यस्तो भन्यो भनेर अनुसन्धान गर्यो कारबाही पनि गर्यो तर ब्रिफकेश को कुरा कता हरायो त्यसको पनि अनुसन्धान गर्नु पर्यो ..हे श्री ३ महाराजाहरु किन आफ्नो गल्ति लुकाएर अरुको गल्तीमा औला ठड्याउदैछौ …
ब्रीफकेश को चहलपहल बढो भै रच, म त बरु सरकारी कार्यालय को गेट म ब्रीफकेश बेच्न बस्नु पर्ला जस्तो छ, यो जस्तो चल्ने पेशा अरु क होला र नेपाल मा.
अरु देश मा भए बढुवामा स्वीकृत हुने मध्ये धेरै कारबाहीमा पर्ने रहेछन , या ने कि प्रोमोसन हैन जेल |
हाम्रो देश मा भएर जिसकी लाठि उसकी भैस |
मिडिया मा चर्चा मा आएपछि अब केहि समय बढुवा स्थगित गरेर पछि सुटुक्क धादली गर्ने हुन् यिनले फेरी
नेता उस्तै ,प्रहरी प्रसासन उस्तै , चेली हरु मध्यपूर्व ,र अफ्रिका सम्म बेचिन पुग्ने र अलपत्र ,
,युवा हरु बिदेसिने क्रम तिन गुणा बढ्यो त् खै नेपाल लाइ स्विजर्ल्यंद , सिंगापुर बनाउने हरु ? रमेश खरेल ले भने झैँ ब्रिफकेश को पैसा गन्दै हो कि ?
यो लेखले धेरै हदसम्म प्रहरीमा भएको भित्रि खेललाई खोल्ने काम गर्यो
जहाँ एउटाको मात्र जय जयकार हुन्छ बूजे हुन्छ त्या केहि न केहि खराबी छ
एउटा इमान्दार प्रहरी अधिकारीले येत्तिकै बहाबमा आएर बोलेका त हैनन् पक्कै छ
अर्को कुरा सेतोपाटीले प्रयोग गरेको प्रोपोगान्डा युक्त्त सब्दहरु आममान्छेले नबुजे पनि बुजाउने मान्छेको आभाव चै छैन है
राम्रो लेख कृपया निरन्तरता दिनुहोला यो इस्सुलाई
यो त हिन्दि सिनेमाको स्क्रिप्ट पढे जस्तो लग्यो| “अरे ओ सम्बा, कितने आदमी थे?”
‘सरकार १३|’
“और ब्रिफकेस?”
आगे अरु पाठकले भर्नुस है, रमाइलो त हो|
ब्रीफकेश बुझाउनु भन्दा मिडिया campaign चाही डर लाग्दो हुन्च । आखिर सबै बिक्ने नै हुन यो देशमा । पत्रकार पनि के कम्,