Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन फेसबुक, ट्विटर र पत्रिकामा समेत नकारात्मक कुरामात्रै ? किन यस्तो हामी – मनोविज्ञ यसो भन्छन्

Posted on June 6, 2014June 6, 2014 by mysansar

Negative-feedback-by-your-fans • आजकल खास गरी अनलाइन समाचारका माध्यममा छाएका समाचार र त्यसमा आउने कमेन्ट हेर्ने हो भने यस्तो लाग्छ ,हाम्रो समाजमा सकारात्मक कुरा भनेको केही पनि बाँकी छैन। प्रत्येक कुरामा हामी यति उत्तेजक ,नकारात्मक, निराशावादी र हतास मनस्थितिमा हुन्छौं , जसको कारण कुनै कुराको भद्र र तार्किक छलफल नै हुन सक्दैन। हामी सामाजिक रुपमा नै निराशावादी र नकारात्मक सोचका धनी भै सकेका छौं।
• गत हप्ता संसदीय सुनुवाईमा आमन्त्रित न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठले नेपाली समाज र बिशेष गरी पत्रकार वर्गलाई स्याडिस्टको रुपमा चित्रण गरे। स्याडिस्टहरु पीडामा रमाउने हुन्छन। यो नकारात्मक सोचको चरम बिन्दु हो। मनोविज्ञानको भाषामा भन्ने हो भने यो एउटा गम्भीर मानसिक समस्या हो।
• हाम्रो वरिपरि भैरहेका राम्रा कुरा भन्दा नराम्रा कुरामा हाम्रो चासो छ। हामी सबैमा आक्रोश ,डर ,बेचैनी ब्याप्त छ जुन कुनै न कुनै रुपले प्रकट भैरहेको छ l
• भ्रष्टाचार, प्रसाशनिक ढिलासुस्ती ,दण्डहीनता , बेरोजगारी आदि यसका अन्य कारण हुन्। हामीसँग खाली समय धेरै छ ,जसको कारण रुचि पनि धेरै विषयमा छ। एउटा डाक्टर यति फुर्सदिलो छ, उसले राजनीतिक लेख लेखन ,कुनै धर्नामा सहभागिता जनाउन, फेसबुकमा नेतालाई गाली गर्न, भएभरको पत्रिका पढन सबै भ्याउँछ।
• हामीहरु यति धेरै आत्मरतिमा रमाएका छौँ कि आफ्नो फाइदाको लागि सेतोलाई कालो ,कालोलाई सेतो भनेर प्रमाणित गर्न ज्यान फालेर लाग्छौँ। त्यही संस्कार हामीले हाम्रा आउने युवा पिंढीलाई दिंदै छौं ।
• धेरै मनिसहरु नैराश्यतालाई गरिबी संग जोड्छन् तर त्यो सत्य होइन । यदि सम्पन्नताले खुसि आउँदो हो त जापानमा किन प्रत्येक दिन आत्महत्या हुन्छ ? अथवा ह्याप्पिनेस स्केलमा भुटान किन अमेरिका भन्दा माथि छ?

पढ्नुस् क्लिनिकल मनोविज्ञ डा. विजय ज्ञवालीको ब्लग

स्याडिस्ट समाज कि डिप्रेसिव समाज

डा. विजय ज्ञवाली
क्लिनिकल मनोविज्ञ

भद्र सहमति र विमतिका लागि पुन: अपिल……….यो सोसल मिडियामा अत्यन्त बढी सक्रिय पत्रकार रवीन्द्र मिश्रले बेला बेलामा सोसियल मिडियाका आफ़्ना मित्रहरुलाई गर्ने अपिल हो। हुन पनि उनका पोष्टमा आउने कतिपय प्रतिक्रिया आम नेपालीले आफ़्नो परिवार र छोराछोरी संग बसेर हेर्न मिल्ने खालको हुँदैनन्। यो कुरा उनमा मात्र होइन सबै लेखकमा लागू हुने कुरा हो ।

आजकल खास गरी अनलाइन समाचारका माध्यममा छाएका समाचार र त्यसमा आउने कमेन्ट हेर्ने हो भने यस्तो लाग्छ ,हाम्रो समाजमा सकारात्मक कुरा भनेको केही पनि बाँकि छैन। कुन सही र कुन गलत भन्ने कुरामा हामी राजनीतिक दल जस्तै विभाजित छौं। प्रत्येक कुरामा हामी यति उत्तेजक ,नकारात्मक, निराशावादी र हतास मनस्थितिमा हुन्छौं , जसको कारण कुनै कुराको भद्र र तार्किक छलफल नै हुन सक्दैन। अधिकांश परिस्थिति यस्तो देखिन्छ कि कुराको गहिराइमा नपुगी हामीबाट प्रतिक्रिया आउँछ। यी सबै कुराले यस्तो लाग्छ हामी सामाजिक रुपमा नै निराशावादी र नकारात्मक सोचका धनी भै सकेका छौं।

के हामी स्याडिस्ट हौ ?

गत हप्ता संसदीय सुनुवाईमा आमन्त्रित न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठले सभासदहरुलाई जवाफ दिने क्रममा एउटा गम्भीर विषयलाई प्रवेश गराएका थिए। उनले नेपाली समाज र बिशेष गरी पत्रकार वर्गलाई स्याडिस्टको रुपमा चित्रण गरेका छन्।

तत्कालिन विषय फरक प्रसङ्गमा भएको र उनले सायद त्यतिबेला आफू पत्रकारबाट बढी पिडित भएको महसुस गरेको कारणले पत्रकारलाई बढी स्याडिस्ट भनेको हुनसक्छ। उक्त्त अवस्थामा उनले पत्रकार संगको रिसको रुपमा त्यो धारणा राखेको देखिए पनि उनले गरेको संकेतले सम्पूर्ण समाज स्याडिस्ट भएको अर्थ राख्छ।

स्याडिस्टहरु पीडामा रमाउने हुन्छन। यो नकारात्मक सोचको चरम बिन्दु हो। मनोविज्ञानको भाषामा भन्ने हो भने यो एउटा गम्भीर मानसिक समस्या हो। सकारात्मक (पोजिटिव) मनोविज्ञानमा एउटा प्रसङ्ग धेरै उल्लेख हुन्छ; “आधा पानी राखिएको गिलासलाई आधा भरिएको छ भन्ने कि आधा खाली छ” भन्ने दुवै उत्तर सहि भएता पनि मनोविज्ञानका ज्ञाताहरु आधा खाली छ भन्नुलाई नैराश्यपनको सूचकको रुपमा लिने गर्छन्।

हाम्रो समाज स्याडिस्ट छ भन्नुको अर्थ अहिले हामी गिलास लाई आधा खाली देखिरहेका छौं । हाम्रो वरिपरि भैरहेका राम्रा कुरा भन्दा नराम्रा कुरामा हाम्रो चासो छ। हामी सबैमा आक्रोश ,डर ,बेचैनी ब्याप्त छ जुन कुनै न कुनै रुपले प्रकट भैरहेको छ l समाचारको रुपमा आउने सनसनीपूर्ण समाचार हाम्रो प्रमुख रोजाई हुन पुग्छ। त्यस्ता समाचारले हामीलाई मनोरंजन प्रदान गर्नुको साथै देशमा भै रहेको गतिविधिको बारेमा जानकारी दिन्छ। पाठकले त्यस्तो समाचार बढी हेर्ने हुँदा स्वाभाविक रुपमा पत्रकारले पनि त्यस्तै समाचारको खोजिमा बढी समय बिताउँछन्।

संचार क्षेत्रभित्रको प्रतिस्पर्धाले अझ यस्ता क्रियाकलापलाई थप मलजल गरेको हुन्छ । साधारणतया समाचार सूचना र ज्ञान को लागि हेरिन्छ तर हामी आजकल मनोरंजन को लागि हेर्छौं।

किन हुन्छ यस्तो ?
यसको बृहत कारण खोज्ने हो भने देशमा भैरहेको लामो राजनीतिक अस्थिरता प्रमुख कारण हो। देशका सरोकारवाला र राजनीतिक व्यक्तित्त्व प्रतिको वितृष्णा आम जनमानसमा बढ्दै गैरहेको छ। विशेषत, राजनीतिमा देखिएको असफलताले जनताको मनमा कुठाराघात गरेको छ।

परिणाम स्वरुप अहिलेको विद्यमान अवस्था जस्तै नकारात्मक सोच र नैराश्यपनको हाली मुहाली भएको हो। यस बाहेक भ्रष्टाचार, प्रसाशनिक ढिलासुस्ती ,दण्डहीनता , बेरोजगारी आदि यसका अन्य कारण हुन्।

हामीसँग खाली समय धेरै छ ,जसको कारण रुचि पनि धेरै विषयमा छ। एउटा डाक्टर यति फुर्सदिलो छ, उसले राजनीतिक लेख लेखन ,कुनै धर्नामा सहभागिता जनाउन, फेसबुकमा नेतालाई गाली गर्न, भएभरको पत्रिका पढन सबै भ्याउँछ।

यहाँ डाक्टर उदाहरण मात्र हो यस्तो क्रियाकलाप प्राय सबै पेशा अंगाल्ने पेशाकर्मीको दिनचर्यामा छ। आफनो क्षेत्रको ज्ञान भन्दा हामीमा अरु क्षेत्रको ज्ञान बढी छ।

युवावर्गको निम्ति रोजगारी नहुँदा निराशा ब्याप्त छ। उसको निराशा यति गहिरो छ कि आफू पढने क्याम्पस वा विश्वविद्यालयको गाडी जलाउँदा पनि उसलाई म गलत गर्दै छु भन्ने कुराको बोध हुँदैन। किनकि साथीभाइको अगाडि त्यो उसको बहादुरी हुन जान्छ।

हामीहरु यति धेरै आत्मरतिमा रमाएका छौँ कि आफ्नो फाइदाको लागि सेतोलाई कालो ,कालोलाई सेतो भनेर प्रमाणित गर्न ज्यान फालेर लाग्छौँ। त्यही संस्कार हामीले हाम्रा आउने युवा पिंढीलाई दिंदै छौं ।

समाजबाट प्राप्त हुने नैतिक शिक्षाको क्षेत्रमा पनि हामी फितलो सावित भएका छौं। हामी त्यो समाजका अंग हौँ जहाँ कर्मचारी भन्सारमा सरुवा हुँदा खसी काटेर खाने गरिन्छ अनि हुलाकमा सरुवा हुँदा दु:ख मनाउ गरिन्छ। आफ्नो छोराछोरीले अरु केटाकेटीलाई पिट्दा हाँसेर ढाड सुम्सुम्याइन्छ अनि अरु केटाकेटीबाट पिटाई खाँदा तथानाम गाली गरिन्छ।

अनि कसरि सिक्छन् ती हुर्कँदै गरेका बाल मस्तिष्कले ? हामीले दिएको गलत सामाजिक शिक्षा को परिणाम हामी भोग्दैछौँ।

यसको अन्तिम स्वरूप कस्तो हुन्छ ?

निराशा सँधै स्थिर हुँदैन, यसको गतिशिलता सँगै अन्तत: यो कुनै स्वरूपमा प्रकट हुन्छ जुन सकारात्मक अथवा नकारात्मक दुवै हुन सक्छ।
माओवादीले गरेको १० वर्षे युद्धको कारण जसले जे भने पनि यसको मूलभूत कारण सामाजिक निराशा नै थियो। त्यसपछिको मधेश आन्दोलन पनि एउटा वर्ग विशेषको निराशाको प्रतीकको रुपमा विस्फोट भएको थियो । ती दुवै आन्दोलनले शान्तिपूर्ण रुपमा विश्राम त पाए तर जनताको निराशालाई कम गर्न दुवै आन्दॊलन असफल भए। यसको फलस्वरूप समाजको निराशा जस्ताको त्यस्तै गरि फेरि मौलाउँदै गयो।

नेपाली जनता प्रयोगबादी छन् भन्ने कुरा त पछिल्लो विभिन्न कालखण्डले पुष्टि गरेको छ l अब यो पछिल्लो निराशालाई नेपाली समाजले कसरी प्रयोग गर्ने हो त्यो भने भावी दिनहरुले बताउने छन् ।

निदान के होला ?
धेरै मनिसहरु नैराश्यतालाई गरिबी संग जोड्छन् तर त्यो सत्य होइन । यदि सम्पन्नताले खुसि आउँदो हो त जापानमा किन प्रत्येक दिन आत्महत्या हुन्छ ? अथवा ह्याप्पिनेस स्केलमा भुटान किन अमेरिका भन्दा माथि छ?

सामाजिक नैराश्यताको एउटा मात्र प्रेस्क्रिप्सन सकारात्मक सोच हो । चेतना र साक्षरताको सुरुवात परिवार र समाजबाट हुनुपर्छ ,विश्वविद्यालय र स्कूलमा त यसको विकास हुने मात्र हो । जुन समाज प्रति हामी गर्व गर्छौं त्यही समाजमा विद्यमान सकरात्मक सोचले मात्र हामीलाई स्याडिस्ट हुनबाट बचाउने छ।

त्यो सोच सामाजिक एकीकरण बाट मात्र सम्भव छ । विचारहरुको एकीकरण गर्न समाजका अगुवाहरुले विशेष भूमिका खेल्नु पर्ने देखिन्छ । समाजको विकास भनेको कूल गार्हस्थ उत्पादन (जी.डी.पी.) आएको प्रगति ले मापन गरिँदैन ,जबसम्म समाजको आध्यामित्क, भौतिक,सामाजिक , वातावरण र मानसिक स्वरूपले विकास गर्दैन तबसम्म यो क्रम चलिरहनेछ ।

20 thoughts on “किन फेसबुक, ट्विटर र पत्रिकामा समेत नकारात्मक कुरामात्रै ? किन यस्तो हामी – मनोविज्ञ यसो भन्छन्”

  1. Neeti ARyal Khanal says:
    June 18, 2014 at 6:57 am

    Thanks for sharing Bijay Gyawaliji, I agree with all the reasons you have presented. But I think what is seriously wrong is the state of impunity, lack of order and justice in our society. Every body thinks ” maile je gare ni huncha, je bole ni huncha”. There is increasing lack of accountability towards one’s action and words. Hope to read more of these psycho social analysis from you.

    Reply
  2. Umesh Ghimire says:
    June 9, 2014 at 11:26 am

    आफै तिर फर्केर हेर्नु नै सकारात्मक सोच हो, कि कसो

    Reply
  3. G P Khatiwada says:
    June 8, 2014 at 6:40 pm

    समाज नै यसको दोषी छ…जब व्यक्तिले आफु सामाजिकीकरण हुदै गरेको समाजमा आफुलाई घुलमिल गराउछ उसले त्यहि सिक्छ/ त्यसैले समाज र सामाजिक क्रियाकलाप सकारात्मक भए मात्र व्यक्तिमा सकारात्मकता उजागर हुन्छ/ नेपालको वर्तमान अवस्थाको सामाजिक/ राजनैतिक र आर्थिक परिस्थिति विश्लेषण गर्दा हरेक पक्ष नकारात्मक अवस्था बाट गुज्रेको देखिन्छ/ न राजनैतिक स्थिरता, न आर्थिक उन्नति न सामाजिक सुरक्षा नै..र मिडियाले त्यसको प्रस्तुति पनि नकारात्मक रुपमै गरिराखिको अवस्था/ असुरक्षा, बेरोजगारी, भ्रष्ठाचार, घुसखोरी, दलाली आदि अहिलेको नेपाली समाजको पर्याय जस्तै देखिन्छ/ हामीले हेरौं न एउटा सानो तर समाजको आबश्यकता अनुशारको काम जस्तै : गोकर्ण बिष्टले रेडियो नेपालको कार्यालय को बिजुलीको लाइन काट्दा कति प्रसंसा भो उनको/ त्यो त खाली नियमितता को मात्र कुरो हो नि/ भ्रष्टाचारी लाइ जेल बाट निस्कदा मालाले स्वागत गर्ने राजनीति र त्यसको प्रसंशा गर्ने मिडिया भएको देश हो नेपाल/ भ्रस्टाचारी र तिनका सन्तान संग नाता गास्न मरिहत्ते गर्ने माहोल छ अहिले नेपाल मा/ उर्जाशील युवाहरुमा नकारात्मक सोचको बिकास राजनीतिक दलका भ्रष्ट नेता, तिनका अनाबस्यक कार्यक्रम, घुस्याहा कर्मचारीतन्त्र र प्रशासन अनि गुन्डागर्दीमा लिप्त तस्करहरुले गरेका छन/ त्यहि कुरालाइ मिडियाले बढावा दिएका छन/ अनि बाल मस्तिष्कमा त्यहि छाप परेको छ/ त्यो सबैको जड भनेको सुशासनको अभाव हो/ पक्कै पनि आर्थिक पक्ष मात्र नकारात्मकताको श्रोत हैन तर महत्वपुर्ण कारण हो भन्दा गल्ति नहोला/ त्यसैले समाज स्याडिस्ट हैन डिप्रेसिव हो/ र यसको मुख्य कारण राजनीतिक दलका भ्रष्ट नेता, तिनका अनाबस्यक कार्यक्रम, घुस्याहा कर्मचारीतन्त्र र प्रशासन अनि गुन्डागर्दीमा लिप्त तस्करहरु नै हुन्/ यदि समाजमा बैज्ञानिक शिक्षा, असल व्यक्ति र कार्यको सम्मान, योग्यता अनुशारको क्षमता र सो अनुशारको रोजगारी को अवसर, कानुनी राज्यको प्रत्याभूति, आर्थिक उन्नति हुने हो भने नकारात्मकताको सम्भावना पक्कै कमि हुन्छ नै/ त्यसका लागि पहिलो सुरुवाती भनेको राजनीतिमा सुधार हो जबसम्म राजनीति अहिलेको जस्तो फोहोरी हुन्छ…अन्य पक्षको उन्नति असम्भव नै छ किन कि राजनीतिले नै समाज लाइ डोर्याएको हुन्छ/

    Reply
  4. Sam Sharma says:
    June 8, 2014 at 3:29 am

    लेख राम्रो छ तर अलि अधुरो लाग्यो / स्वस्थ मानसिकता तथा परिवारिक् एबम सामाजिक गुणात्मक बिकासको लागि तलका कुराहरु मनन गरौँ /

    १. अरुलाई परिवर्तन गर्न-गराउन खोज्नु र अरुलाई दोष मात्रै लगाउनु भन्दा (आफ्ना कमजोरीहरु केलाएर) आफैं परिवर्तन हुने प्रयास गरौँ / यसले आफ्नो (सु) व्यक्तित्वको बिकास गर्ने छ आफ्नो परिवार-समाजमा सु-संस्कारको बिकास गर्नेछ /
    २. लेखकले भनेझै सकारात्मक सोच बढाउँ र अरुको राम्रो कुरा र सफलताको प्रसंसा गर्न सिकौ / आफुमात्रै बोल्नु भन्दा पनि अरुको कुरा सुन्ने प्रवृतिको बिकास गरौँ / साना-तिना कुराहरुबाट पनि सिक्ने प्रयास गरौ /
    ३. संसारमा प्रत्येक मानिस ‘युनिक’ वा ‘बिशिष्ठ’ छ किनभने प्रत्येक मान्छेमा आ-आफ्नै प्रकारको प्रतिभा हुन्छ / त्यसैले आफुलाई अरुसंग दाज्नु र भीडको पछाडी दौडनु भन्दा ‘म कहा छु?’ र ‘कता जाँदै छु?’ भन्ने कुरा विश्लेषण गरौ र बिस्वासका साथ आफ्नो लक्ष तर्फ लागौं / सबैले राजनीतिनै गर्नुपर्छ वा पार्टीको पछि लाग्नु पर्छ भन्ने छैन / उच्च मनोबल, नैतिकता र इच्छा-शक्ति लिएर अगाडी बढेमा र आफ्नो गन्तब्य हासिल गरेमा त्यो भन्दा बढी खुसि केहि हुने छैन /
    ३. हाल सम्म मानिसले आफ्नो ‘ब्रेन’ को ५% भन्दा बढी प्रयोग गरेको छैन / यसकारण प्रत्येक समस्यामा आफ्नो दिमाग प्रयोग गरी काम गरौ / दिमाग प्रयोग गर्नुको मतलब अरुलाई होच्याएर आफु अग्लो बन्ने वा ‘ब्याक बाइटीङ्ग’ गर्ने होइन / उत्पादकमुलक कार्यमा दिमाग प्रयोग गरौँ / अरुको अधिकारको सम्मान गर्दै आफ्नो कर्तब्य पुरा गर्नमा दिमाग प्रयोग गरौँ / सकभर नराम्रो नसा वा बानि त्यागौं र राम्रो संस्कारको बिकास गरौ /
    ४. हाम्रो देश गरिब हुनुको केही कारणहरु मध्ये समयको सदुपयोग गर्न नजान्नु, इमान्दारिता र नैतिकता बेच्नु, व्यक्तिगत स्वार्थ, ‘इगो’ वा अभिमान (‘अभिमान’ ले जहिले पनि अरुको अस्तित्व बेवास्ता गरी आफु सबैभन्दा माथि बसिराख्ने मनोरोग बढाउँछ भने ‘स्वमान’ ले अरुको अस्तित्वलाई पनि सम्मान गर्दै आफु आदरणीय भएर उच्च स्थानमा रहन सिकाउँछ) पाल्नु, समाज र राष्ट्रलाई सही निर्देशन दिन नसक्नु (भ्रस्टाचार, नाताबाद, जातिबाद, नैतिक ह्रास आदी कारणले), नीति नियम बेवास्ता गर्दै पदको दुरुपयोग गर्नु र यस्तालाई कारवाई गर्न नसक्नु आदी रहेका छन् / यी सबैको प्रमुख र एक मात्र औषधी नियम र आर्थिक अनुशासन पालन नगर्नेलाई कानुनी कारवाही गर्नु र त्यो नसके कम से कम मिडिया मार्फत नराम्रो कार्यको भर्त्सना गरेर सजाय दिलाउनु हो / युवाहरु नेताको अन्ध भक्त भएनन् र मिडिया पैसामा बिक्रि भएनन् भने यो कार्य सहज हुनेछ / नत्र ‘पावर कोरप्ट’ हुने अवस्था रहिरहेको खण्डमा ‘चोर लाइ चौतारो’ को स्थिति हुने छ / यसकारण सबैले शुद्द बिचार अपनाई आफ्नो मुटुमा हात राखेर ‘सत्य’ लाइ ‘सत्य’ र ‘सेतो’ लाइ ‘सेतो’ भन्न सक्ने हिम्मत देखाउने बेला आएको छ /
    ५. अब सोसल मिडिया प्रयोग गरी आफ्नो मानोरोग उजगार गर्नु भन्दा पनि गल्ति गर्ने नेता, कार्यकर्ता वा सम्बन्धित (शक्तिशाली) व्यक्तिलाई कानुन (वा पुलिस) को दायरामा पुर्याउनु पर्ने बेला आएको छ / राजाको शासन अन्त्य भएपछी कोही पनि कानुन भन्दा माथि छैन र शक्तिसाली नेता र साधारण जनताले बराबर कानुनी हक-अधिकार पाएका छन् / यदी कोही नेता वा कार्यकर्ताले कानुन लत्याएर कु-कर्म गर्छ भने हामीले ‘शक्तिको दुरुपयोग’ बिरुद्द अदालतमा रिट हालेमा सम्बन्धित कानुन ब्यबसायीले आफ्नो धर्म नछोडी (केही अपबादलाइ छोडेर) मदत गर्नेछन भन्नेमा म बिस्वस्त छु / घुस-खोरी गर्ने नेता, अफिसर वा व्यक्तिको हकमा आजका दिनसम्म अख्तियारले गरिरहेको छानविन र सजायको कार्यलाई संतोसजनकनै मान्नु पर्छ /

    Reply
    1. विजय ज्ञवाली says:
      June 8, 2014 at 2:09 pm

      शर्मा जी धन्यवाद ,तपाई को सुझाब मननिय लाग्यो |

      Reply
  5. Dhital says:
    June 7, 2014 at 2:33 pm

    मेरो अनुमानमा हामी अलि धेरै आशाबादी, बढी महत्वाकाछि अनि अति निराशाबादीको उपज हो सबैमा नकारात्मक सोच अनि नकारात्मक धारणा आउनु !
    1. सबैलाई बसी बसी वा भनौ कामै नगरी छिट्टै धनि हुनु छ जुन असम्भव छ, यो दुनिया मा कोहि पनि कामै नगरी वा केहि नगरी धनि हुदैनन्.
    2. अरुको प्रगति देखेर रिस अनि ईर्ष्या हुनु तर आफुले कोसिस नगर्नु वा कुरा काट्नु.
    3. म को अहम अनि घमण्ड हुनु, अनि अरु लाइ मान्छेनै नगन्नु.
    4. पैत्रिक सम्पति वा ससुरालीको सम्पतिमा रवाफ देखाउनु तर आफुले कहिलेइ केहि राम्रो र सक्ने काम पनि नगर्नु.
    5. जे कुरामा नि प्याच्च बोल्नु अनि सहन गर्ने छमता नहुनु.
    6, बाटो परि सधै हरियो घास देख्नु तर आफ्नै वरिपरी भएको हरियाली नचिन्नु.
    7. अवसरबादी हुनु अनि सधै मौका को पर्खाइमा बस्नु.
    धेरै कुरा जन्मदै तय भएर आएको होला तर आफुले आफुलाई सम्हाल्ने र सकारात्मत सोच बनाउने अनि सुधार को प्रयास आफैबाट थाल्ने र थोरै आशाबादी हुने हो भने सम्भब छ जस्तो लाग्छ.
    उदाहरण:
    1. असारको महिना छ हामी खेतमा आली लौन जादा वा रोपाईमा जादा यदि पानि बाटै बाटो बगेको रेछ भने त्यो कोदालीले पानिलाइ खोल्सातीर लगाइदिउ, तपाइको सानो सहयोगले बाटो बिग्रन बाट रोकिन्छ.
    2. आफ्नो घर आगन चोक अनि गल्लि सफा राखौ, बच्चालाई सानै देखि संस्कार सिकाऔ.
    3. पैसाले मात्रै खुसि दिदैन, केहि समय घर, परिवार अनि समाजलाइ दिउ. समाजमा हुने गतिबिधि लाइ नजिक बाट हेरौ, राम्रो काम र नराम्रो काम को पहिचान गरौ र सकरत्मत सोच मा समाजको भलो हुने काम गरौ. कुन पार्टीले गरेको भन्दा पनि कस्तो काम र त्यसको गुणस्तर हेरौ. कुनै पनि पार्टीको अन्धभक्त नबौनौ र राम्रो लाइ राम्रो नराम्रोलाइ नराम्रो भन्न हिम्मत गरौ.
    4. कतै जादा बस मा यात्रा गर्दा वा घुम्दा फोहोर जम्मा पारौ मात्रै फ्याक्ने बानि बसालौ र अरुलाई त्यहि सिकाऔ.
    5. बुढा बुढी, असक्त र बच्चा लाइ माया गरौ र माया गर्न सिकाउ.
    6. फलानोले यसो गर्यो मैले गर्न किन नहुने भन्ने होइन बरु आफुभन्दा माथिकालाइ होइन आफूभन्दा तलकालाई हेर अनि आफुले केहि सहयोग गर्न सक्छौ भने गर. अरुले के खाए के लाए भन्दा नि आफु र आफ्नो परिवार ले के खाने अनि समाज मा कोहि भोकै त छैन त्यो हेर.
    7. सक्छौ राम्रो काम गर, सक्दैनौ अरु ले गरेको राम्रो काम को बिरोध नगर, बरु केहि नभन बस र हेर.
    8. आफु संग जे छ जति छ त्यसमा रमाउने अनि त्यसमा खुसि हुन सिक, आफ्नो एउटा अलग्गै पहिचान बनाउ, अरु भन्दा भिन्न भएर बाँच अनि हेर यो दुनियामा आफुलाई कति भाग्यमानि पाउनेछौ.
    9. आफुले पुज्ने गुरु, आमा, बुवा र धर्मको सधै ख्याल र मनन गरौ.
    10. अनि अन्तिममा यो शरीरमा सास हुन्जेल हाम्रो नाम हो सास उठे पछि त हामीलाई लास बोलाउछन त्यसैले धेरै निरासाबादी होइन आशाबादी भएर बाचौ.

    Reply
    1. Bayan says:
      June 8, 2014 at 5:41 am

      कुनै मान्छेको हत्या भएको देखेर “ओहो कति खुसीको खबर, यसले त मुक्ति पायो, यंहा प्रिथिबिमा बाँची रहेको भएत यसले कति दुख: भोग्न पर्त्यो होला” भनेर सकारात्मक हुनु पर्छ भनेर भन्ने हो भने मेरो भन्नु केहि छैन/

      Reply
    2. विजय ज्ञवाली says:
      June 8, 2014 at 2:11 pm

      उधाहरण सहित प्रस्ट पारिदिनु भो खुसि लाग्यो | धन्यवाद |

      Reply
  6. Tirtha says:
    June 7, 2014 at 2:19 pm

    स्याडिस्ट समाज कि डिप्रेसिव समाज तपाई आफै छुट्यौनुस
    मैले कति बुझे बुझिन मलाई थाहा छैन तर मैले बुझेको | डा. विजय ज्ञवाली जी तपैले पनि लेख्नु मात्रै भयो लेख्नु र गर्नु २ वटा फरक कुरा हुन् | तपाई अनि म पनि अलिक हुन्खाने थियौ अलि अलि पढियो, अग्रजहरुको बाटो र अर्ति उपदेशलाई अनुशरण गर्दै जादा आज राम्रै संग जिबन चलिरहेको छ, अलिकति पढी लेखेका छौ , देश विदेश घुमेका छौ अनि राम्रो लेक्छौ तर लेख्नु मात्रै समस्याको निदान होइन | तपाइलाई भोक लागेर पेटमा आगो दन्दनी बलि रहको बेलामा कसैले Nutrition युक्त खाने कुरको बारेमा गफ दियो भने कस्तो हुन्छ ? यक्चोती कल्पना गर्नुस त ! हो यो तेस्तै भयको हो, भोको पेटले पेट भारुन्जेली नत्र १,२ गास भयपनी खाने कुरा खोज्दछ, Nutrition युक्त खाने कुरा होइन | नेपालमा २००७ , २०१७ , २०३६ , २०४६ , २०५२ अनि जान आन्दोलन जे जति भय यी सबै राजनीतिक क्रान्ति भय या त राजाले पंचायत लड्न होस या गणतन्त्र ल्याउन होस , जसले सिन्को सम्म भचियन र अब जबसम्म नेपालमा सामाजिक, आर्थिक, धार्मिक क्रान्ति हुदैन केहि पनि लछारपाटो लाग्नेवाला छैन |

    यदि विश्वास लाग्दैन भने अहिलेको पेशालाइ छोडेर रुकुममा गयर यौटा महाजनकोमा सामान्य व्यक्तिले गर्ने असाधारण शारीरिक परिश्रम गर्नुपर्ने काम हप्ता दिन सम्म भोक – भोकै गर्नुस अनि समाजको बारेमा बिस्लेन गर्नु राम्रो हुन्छ |

    Reply
  7. Tika gurung says:
    June 7, 2014 at 8:29 am

    अरुको दुख आफ्नो सुख नेपाली को बानी भै सक्यो

    Reply
  8. Bayan says:
    June 7, 2014 at 5:23 am

    “हाम्रो वरिपरि भैरहेका राम्रा कुरा भन्दा नराम्रा कुरामा हाम्रो चासो छ। हामी सबैमा आक्रोश ,डर ,बेचैनी ब्याप्त छ जुन कुनै न कुनै रुपले प्रकट भैरहेको छल”
    तपाईं बिसौ बर्स safe driving गर्नुस त्यो कुरा कहिले पनि न्युज बन्दैन/ कुनै पनि मिडियाले फलानु मान्छेले त driving गरेको बिष बर्स भैसक्दा पनि एउतै दुर्घटना गरेको छैन भनेर फुक्दैनन/ तर एक दिन एउटा मान्छे किचेर मार्नुस सयौ मिडियाहरुले केहि दिन सम्म फ़ुकिरहनछन त्यो कुरालाई/
    मेरो बिचारमा जो कम्प्लेन गर्छ त्यो साचैको सकारात्मक व्यक्ति हो/ किनकि जे कुरा उपलब्ध छ त्यसमा उ सन्तुस्ट छैन, त्यसमा सुधार गर्ने ठाउं देखेर नै उसले कम्प्लेन गरेको हो/ यदि जे छ त्यसमा सन्तुष्ट भएर बसेको भए आज हामीले देखेको र भोगेका (बिज्ञान र प्रविधिले गरेका उपलब्धि) कुराहरु कहिले पनि बन्ने थिएनन्/ उदहरनको लागि, विमानको अविस्कार गरेर त्यो ३०० कि.मि.प्र.घ. उड्ने भए पछि त्यसैमा खुशी भएर बसेको भए आज आवाजको गति भन्दा पनि छिटो उड्ने जहाज कुनै हालतमा पनि बन्ने थिएन/ अर्को कुरा अब कुनै मान्छेको हत्या भएको देखेर “ओहो कति खुसीको खबर, यसले त मुक्ति पायो, यंहा प्रिथिबिमा बाँची रहेको भएत यसले कति दुख: भोग्न पर्त्यो होला” भनेर सकारात्मक हुनु पर्छ भनेर भन्ने हो भने मेरो भन्नु केहि छैन/ नत्र हामी नेपाली सकारात्मक नबनेका होइनौं, तर त्यसो गर्दा धोखा पाए पछि फेरी सकारात्मक बन्न सकिँदो रहेनछ/ हामीले मावोबादिलाई जंगलमा बसेर, ज्यान जोखिममा राखेर आमुल परिबर्तन गर्न खोजेको पार्टी भनेर एक चोटी देश चलाउन मौका दिएको ठुलो पार्टी बनाएर, त्यसको नतिजा के भयो हामी सबैलाई थाहा छ/

    Reply
  9. Rekha Ghale says:
    June 7, 2014 at 2:38 am

    सरकार ले रोजगारीमुलक कार्यक्रम ल्याउनु पर्यो

    Reply
  10. bijay says:
    June 6, 2014 at 10:44 pm

    जब देशको बारेमा राम्रो भन्नलायक कुरा नै केहि बाकी हुन्न भने, बाहिर आउने कुरा त नकारात्मक नै हुन्छ नि/ कहिलेसम्म हामी “नेपाल बुद्ध जन्मेको देश र सगरमाथाको देश ” भनेर मात्रै चीत्त बुझाउदै बस्ने?

    नेपालमा काम गर्न सक्ने उर्जा भएका युवा सबै बिदेशिन बाध्य छन्/ सोझा सिधाले राम्रोसंग परिश्रम गरेर बाच्न नसकिने अवस्था छ र तैपनि नेताहरु चाही आफ्नो कार्यकाल सफल भयो भन्दै कालोलाइ सेतो पर्न बेशरम भएर खुलेआम हिडिरहेका छन् / पुलिशलाइ कानुन भन्दा “माथि” को आदेश र मन्त्रि खुसिपार्ने बढी चिन्ता हुन्छ/ ज्यानमारालाई खुलेआम छोडिन्छ र सोझालाइ थुनिन्छ/ गुण्डाहरुलाई समाजसेबी र सभासाद बनाइञ्छ/ गाउँका मान्छे बिरामी भयो भने सिटामोल खान पाउंदैन अनि नेताको पेट दुख्यो भने जनताको ढाड सेक्कीने गरि एर अम्बुलांसमा विदेश पुर्याइञ्छ/ भएका दुइ चार अस्पतालमा पनि साधारण मध्यमबर्गीय परिवारलाई उपचार गराउदा घरबार नै बेचे पनि पैसा नपुग्ने गरि महगो छ र आम्दानीको स्रोत भने अति नै सिमित छ /

    अनि नकारात्मक कुरा मात्र नआएर के आउनु त?

    Reply
  11. बशन्त राज says:
    June 6, 2014 at 9:35 pm

    आधा गिलास पानिको कुरा पढे पछि एक कथा याद आयो / कुरालाई कसरी भन्ने ??? एस बारेमा अकबर र बिरबल एक कथा छ / जुन यस प्रकार छ /
    राजा अकबरले एकरात सपनामा आफ्नो सबै दात झरेर एक मात्र दात बाकि रहेको सपना देखेछन / अनि बीउझीए पछि नियमित स्नान नास्ता सकेर दरबारीया बैठकमा गएछन/ त्यहा बैठकमा उनले आफ्नो सपनाको कुरा निकालेर दरबारीया संग सपनाको अर्थ निकाल्न भनेछन / दरबारीयाहरुले ज्योतिषलाई बोलाएर “राजाको सबै आफन्त मरेपछि आखिरमा राजा अकबर मर्ने छन” अर्थ निकालेछन / यो कुरा दरबारीयाहरुले जस्ताको तस्तै राजा अकबरको अगाडी प्रस्तुत गरेछन / यो कुरा सुनेर राजाले तुरुन्तै त्यो ज्योतिषहरुलाई फासीको सजाय दिनु भन्दै रीसाएछन / अब राजा अकबरको रिषको अगाडी कोहि टिक्न सक्दैनधे / तर बिरबल बने एस्तो बेलामा के गर्नु पर्छ राम्ररी बुझेका मंत्री तथा राजाको मित्र थिय / यो कुरा मंत्री बिरबल सम्म पुग्यो / उनी दरबारमा तुरुन्तै गएर राजा अकबरलाई सोधे / राजा अकबरले जे भाको थियो सबै बिरबललाई बताय / बिरबलले ज्योतिषको कुरा पनि सुने / अनि त्यो बैठकमा राजाको सपनाको सहि अर्थ फेरी लगाउने भय / मंत्री बिरबल भने राजा अकबरको सपनाको अर्थ “राजा अकबरको आयु उनको आफन्तहरुको भन्दा पनि लामो रहेछ” भन्ने लगाए / यो सुनेर राजा अकबरले बिरबल तैले एकदम ठिक अर्थ लगाईस भन्दै त्यो ज्योतिषहरु फासीको सजाय माफ गरे /

    Reply
    1. bijay says:
      June 6, 2014 at 11:01 pm

      ठिकै छ ” नेपाल को गिलास आधा खाली छ भन्नु भन्दा आधा भरेको छ ” भानुला / मतलब कि नेता, गुण्ड, तस्कर, कालाबजारिया र खुखार लुटेरा ब्यापारीको भागमा परेको आधा (वा त्यो भन्दा बढी नै) गिलास भरेको छ /

      Reply
    2. विजय ज्ञवाली says:
      June 8, 2014 at 2:14 pm

      थप उधाहरण सहित प्रस्ट पारिदिनु भएको मा बसन्त जी लाई धन्यवाद | विजय जी लाई पनि धन्यवाद |

      Reply
  12. Fugyaljen says:
    June 6, 2014 at 7:26 pm

    कुनै पनि मान्छे मात्र नभएर पशु पंक्षी समेत नकारात्मक हुदैन जब सम्म बाहिरी समाज सन्तुलित हुन्छ। नकारात्मक सोच त्यसबेला हुन्छ जब देश,समाजमा ख़राब कामहरु बढी मात्रामा हुन्छ,जब बिश्वास,लाज,धमॅलाई पचाएर हिडनेहरुको जमात बढी हुन्छ।लोभ लालचीहरुको
    हाउबाउ हुन्छ,सत्यको पक्षलाई स्वीकार गनॅ नसक्नेहरु हुन्छन।

    Reply
  13. kedar says:
    June 6, 2014 at 5:20 pm

    देश भित्र भएका राम्रा उपलब्धीहरुको प्रचार प्रसार पनी बेला बेलामा सम्बन्धित सबैले गरिराख्ने हो भने, ए केहि त हुँदै रहेछ है भनेर हामीमा थोरै नै भए पनी सकारात्मक सोच बनाउन सहयोग मिल्थ्यो कि ?

    Reply
  14. kusan sharma says:
    June 6, 2014 at 5:06 pm

    कमेन्ट गर्दा सालीन हुनु जरुरी छ,

    त्येतिकै जरुरी छ उच्च स्थानमा विराजमानहरुले

    आफ्नो दायित्त्व बोध गर्नु पनि l

    बास्तबमा भन्नु पर्दा नेपालको यो दुर्दशा –

    नेपाली जनताका कारणले नभई – ती अयोग्यहरुले गर्दा भएको हो,
    जो सधै सत्तामा पुग्न
    मात्र लालायित रहन्छन l

    Reply
  15. Nigam, USA says:
    June 6, 2014 at 3:07 pm

    ऋणात्मक सोच लाई कम गर्ने उपाय नै धर्म – कर्म मा लाग्नुहो! हिन्दी सिरियल शत्रु हो भने, आस्था च्यानेल का प्रोग्राम हरु मित्रु हुन्! सिस्टर-शिवानी को प्रवचनलाई मनन गरे यो मनो-अवस्था बाट मुक्ति पाइएला जस्तो लाग्छ

    http://www.brahmakumaris.org/us/illinois/typec.2009-07-23.3491786959/typec.2009-07-26.9462274136

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme