Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रमेश खरेललाई कारबाही गर्नै पर्छ

Posted on June 3, 2014 by mysansar

-शिव प्रकाश-

kharel “अज्ञानीहरुका लागि मात्र,
सबै शीर्ष नेताहरुको उपस्थितिमा भ्रष्टाचारी घोषणा गर्ने पनि मैं हुँ । …. उहाँले पाएको उपाध्यक्षको मतमा एउटा मेरो पनि छ । पछिल्लो समयमा केपी र वामदेवको समीकरण बनाउने काममा पनि म सक्रियतापूर्वक लागेकै हुँ ……।” (यहाँ भष्टाचारी भनेर घोषणा गरिएका अमूर्तपात्र हुन् गृहमन्त्री वामदेव गौतम)।

नेकपा एमालेका ज्ञानी नेता प्रदीप नेपालको मे २७, २०१४ को फेसबुक स्ट्याटस्को अंश हो यो । ज्ञानी नेताको यो स्ट्याटसले आफ्नै पार्टीका अज्ञानी नेता तथा वर्तमान गृहमन्त्री बामदेवलाई भ्रष्टाचारी करार गरेको छ । यो साहसका लागि ज्ञानी नेतालाई धन्यवाद भन्नै पर्छ।

‘अघिल्लो दुईपटक गृह मन्त्रालय सम्हाल्दा लागेको अनुचित आरोपबाट मुक्ति पाउने गरि म यसपाला काम गर्छु ।’ गृहमन्त्री वामदेवले फागुन १३ गते पदीय मर्यादा र निष्ठाको सपथ खाँदा उनको त्यही मुखबाट ओकलिएका शब्द हुन् यी ।

उनको लचिलो मुखबाट ओकलिएका शब्दबाट स्पष्ट हुन सकिन्छ आफ्नै पार्टीले गरेको भ्रष्टाचारी करारलाई वामदेवले यहाँ स्विकारेका छन् । अनुचित कार्यबाटै अनुचित आरोपको जन्म भएको कुरा उनको मुखले नबोले पनि आत्माले पक्कै बोलेकोले हुनु पर्छ ।
अहिले उनै भ्रष्टाचारी वामदेवको सल्लाकार नियुक्त भएपछि निष्ठालाई दालभात सम्झेर ती ज्ञानी नेताको त्यही सदाचारी मुखले बडो स्वादसँग खान थालेको छ । उनै वामदेव पुनः गृह तथा उपप्रधानमन्त्री भए पछि सगरमाथा जस्तो कञ्चन र उँचो देख्ने तत्वज्ञान र दिव्यचक्षुलाई पनि मान्नै पर्छ ।

‘मेरो यो कार्यकालमा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता हुनेछ । नेताहरुकाहाँ नधाउनु र मेरो चाकरीमा नआउनू । त्यस्तो गरेको थाहा भयो भो मूल्याङ्कनमा पछि पर्नुहुन्छ। कुनै पनि हाकिमले अब आइन्दा साना प्रहरीलाई ‘तँ’ नभन्नु कम्तीमा ‘तिमी’ भन्नु ।’ तीनताक तिनै वामदेवको मुखबाट नेपाल प्रहरी लागि महावाणीका यी मघुरमन्त्रणा पनि भए ।
वामवाणी सुनेर जगतै चकित भो । धेरैले ठाने व्याधाबाट वाल्मिकी भएछन् वामदेव । ज्ञानीहरुको सत्संगतले ज्ञान प्राप्ति भएछ ।
त्यसको ठीक चालीस दिन पछि–
‘स्वाभिमान गिर्ने भएर होला मेरो कार्यालय र अफिस कही पनि नआएको । सिंहदरबारको मन्त्रालय र ललितपुरको मन्त्री क्वार्टर त्यति टाढा छैन, तर काठमाडौंका एसएसपी आजसम्म मलाई भेट्न आएको छैन । उसले मलाई भेट्दा स्वाभिमान गिर्छ भन्ने ठान्या होला । कुनै कार्यक्रममा समूहमा आएर सलाम गरेको भए थाहा भएन ।’

‘तँ’ नभन्नु भन्ने वामवाणी धुलिखेलमा ‘तँ’बाटै सुरू भयो । कति छिट्टै नियत र अभीष्ठाको आगोमा जलेर अँगार जस्तो भयो त्यो निष्ठा । आफ्नै विभागीय कर्मचारी एसएसपी रमेश खरलेमाथि खन्याए वामदेवले अँगार जस्ता ती कालाकुण्ठा । चलीस दिन अघि मधुरवाणीको महक छर्ने वामदेवको त्यही महान् मुख इँटाभट्टाको चिम्नी जस्तो भयो । अभीष्ठा र अभीप्सा कालो धुवा ओकल्यो त्यो मुखले ।

भोलिपल्ट चैत २३ गते–
‘फोर्समा चेन अफ कमाण्ड हुन्छ, त्यसको मेन्टेन भएन भने प्रहरी बिग्रन्छ भन्ने मैले बुझेको छु । फूलको गुच्छा बोकेर हाकिम, मन्त्री र नेताको घरघर धाउने प्रवृत्तिले नै प्रहरी बिग्रिएको हो । म वामदेव गौतमज्यू मात्र हैन कुनै गृहमन्त्री भेट्न गएको छैन, जाँदा पनि जान्न । कानुनले दिएको अधिकार र बैधानिक आदेश अनुसार काम गर्ने बानी भएकाले मन्त्रीकहाँ गइरहनु पर्ने जरुरत छैन । आफ्नो ऊर्जा र समय ठूलाबडलाई अनुहार देखाउनमै खर्चिनाले व्यवसायिकतामा आघात पुगेको हो, म त्यसो गर्न सक्दिन ।’ प्रहरी अधिकृत एसएसपी रमेश खरेलले पत्रकारसामू यसरी स्पष्ट पारे आफ्नो कार्यशैलीलाई ।

वामबोलीको चरितचर्चामा रूमलियो नयाँ नेपाल। चरितार्थ गरो वामबोलीले । जनताको नजरमा उनी फेरी कालो सूचिमा परे तर उनको कालो सूचिमा भने एक प्रहरी अधिकृत परे । ६७ हजार दुईसय ८७ (नेपाल प्रहरीको वेभसाइट) संख्या रहेको नेपाल प्रहरी संगठनभित्रको एक अधिकृत रमेश खरेल विरुद्ध खनिन थाले वामदेव ।

वामदेवले काठमाण्डौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक रमेश खरेल चेन आफ कमाण्ड भन्दा बाहिर गएको भनि टिप्पणी गरिरहे ।

चैत २९ गते–
‘मलाई त निश्चित रुपमा चेन आफ कमाण्डमै चलेको जस्तो लाग्छ।’ प्रहरी संगठन प्रमुख उपेन्द्रकान्त अर्यालले कैलालीमा आयोजित प्रहरी संगठनको एक कार्यक्रममा वामदेवको भनाइ यसरी खण्डन गरे । अर्यालको यो भनाई वामदेवको वामनपीडामाथि झन् अग्निहोत्री भइदियो ।

एमालेको भातृसंगठन युवासंघको आडमा गुण्डार्दी गर्नेलाई पक्रे खरेलले । एउटा प्रहरी अधिकृतमाथि खनियो एमाले । झन् आगो भए वामदेव तर झन् चम्किए रमेश । मिडियामा चम्किए । जनताका आँखामा चम्किए । रमेशको चमकमा वामदेवका आँखा तिरमिराउन थाले । वामदेवका आँखाको तारो भए ।

गुण्डागर्दीमा विश्वास गर्ने काँग्रेसभित्रको एउटा खेमाको आडमा कानून हातमा लिनेलाई पनि बाँकी राखेनन् खरेलले । पक्रेर हाले खोरमा । भ्रष्ट काँग्रेसहरुको पनि निशाना भए उनी ।

‘म भन्छु। नेपाल प्रहरीको अब प्रमोसनको बेला आएको छ। सात महिनापछि बल्ल गाँठो फुक्यो नेपाल प्रहरीको। माननीय मन्त्री ज्यु, भ्रष्टाचारीलाई प्रमोसन नदिनुस्। मलाई आशा छ, यति गरेपछि उहाँहरुलाई पुग्छ होला, यति भनेपछि उहाँहरुलाई पुग्छ।
अहिले सुटकेसहरु बोकेर पावर सेन्टर जाने, चाकडी गर्ने, मलाई प्रमोसन गरिदे अथवा फलानोलाई प्रमोसन गरिदे भनेर ‘हजुरकहाँ पनि खुब आए होला। जो हजुर कहाँ भिजिट गर्छ, ती अपर्चुनिस्टहरु हुन्। पावरसेन्टरमा जाने कर्मचारी अपर्चुनिस्ट हुन्। यसले तपाईँलाई मात्र हैन, हाम्रो नेपाल आमालाई पनि असर गर्छ। कृपया यसमा ध्यान दिनु होला। नेपाल प्रहरीको प्रमोसनमा भ्रष्टाचारीलाई प्रमोसन नदिने र इमान्दारलाई प्रमोसन दिएर एउटा एक्साम्पल सेट गरिदिनका लागि म अनुरोध गर्दछु।’

जेठ १० गते शनिवार महेन्द्र पुलिस क्लवमा भएको ‘भ्रष्टाचार विरुद्ध अभिव्यक्ति अभियान’ भन्ने कार्यक्रममा भ्रष्टाचार विरुद्ध बोले खरेल ।

तर यहाँ रमेश खरेल बोलेको हैन, एउटा सत्यले आफैं मुख फोरेको हो । एउटा कर्तव्यनिष्ठ आत्मा बोलेको हो । एउटा स्वच्छ छवि बोलेको हो ।

खरेलले बोल्दा कार्यक्रममा बेस्सेरी ताली बज्यो । तर उता वामदेव कार्यकक्षबाट झ्याली पिटियो– रमेश खरेललाई तुरुन्त कारबाही गर्नु भनेर । माननीय वामदेवको एकल इजलासको निर्णय गृहसचिव सूर्य (?) सिल्वाल हुदै प्रहरी प्रधान कार्यालय पुग्यो । बिभिन्न सामाचार माध्यमले यो समाचार प्रकाशित गरे।

रमेश खरेलले चेन अफ कमाण्ड तोडो । अमर्यादित अभिव्यक्ति दियो । दोषी करार गरेर कारबाहीको कोर्रा खल्तीमा बोकेर हिडे वामदेव । नगरमा वामदेवका पुत्ला जल्न थाले । तर वामदेवलाई झुम्राको पुत्लो तातो न भुत्लो !

कारण– गृहभित्र हुने अपारदर्शी सरुवा, बढुवा र लेनदेनमा खरेल केहीहदसम्म चोरका शत्रु चन्द्रमा जस्ता भएका छन् । अर्को कारण– प्रहरी संगठनमा खरेल पूर्णीमाको जून भएर झुल्किएका छन् । औसीको रात कुर्ने नेता, गुण्डा, डन र प्रहरी प्रशासन भित्रका भ्रष्टहरू भित्रभित्रै छटपटिएका छन् ।

ठीक छ माननीय वामदेवज्यू, रमेश खरेललाई कारबाही हुनु पर्छ– चेन अफ कमाण्ड तोडेर पदीय मर्यादा विरुद्ध अमार्यादित अभिव्यक्ति दिएकोमा । तर भ्रष्टाचार विरुद्धको कार्यक्रममा भ्रष्टाचार विरुद्ध अभिव्यक्ति दिनेलाई कारबाही गर्ने वामदेवले भ्रष्टाचारको सर्मथनमा डंका पिट्नेलाई फूल–माला, अविर र दोसल्ला ओढाएर रथारोहण गराउनु पर्छ । सहरमा घुमाउनु पर्छ । जयजयकार गर्नु पर्छ । तब मात्र रमेश खरेललाई कारबाही गरे माननीय वामदेवको एकल इजलासको निर्णयले सम्मान पाउला !

गृहमन्त्रीको आदेश अनुसार कारबाही गर्नेले पनि बुझ्न जरुरी छ कि– लोकतान्त्रिक पद्धति अपनाएको देशका जनतालाई रमेश खरेलका अभिव्यक्ति मर्यादाहिन भएकोले कारबाही गरिएको कुरा भन्न सक्नु पर्छ । र, वामदेवका अभिव्यक्ति चैं मर्यादापूर्ण र शिरोधार्य भएको स्विकार्न सक्नु पर्छ ।

हुन त लाज–घिन र डर भनिन्छ नि ! वास्तवमा लाज–घिन नभएपछि समाजसँग डर पनि हुदैन । डर नभएको मान्छेले जहाँ जहिले पनि आफ्नो अनुहार देखाइरहेको हुन्छ । इमान्दारीको पाठ अरूलाई पढाइरहेको हुन्छ । समाज र सँस्थामा यस्तै निडरहरूको बिगबिगी छ । समाजमा सधैं सयौं कौरवहरू छन् । सत्यवादी पाण्डवहरू सधैं न्युन छन् ।

डर भनेको वास्तवमा लज्जा हो । त्यो नभए पछि डर हुदैन । लज्जाले हो- मान्छेलाई नैतिक र इमान्दार बनाउने । निष्ठा र कर्तव्यपरायणको बाटोमा हिडाउँने । राज्य सधैं लज्जाको परीक्षामा अनुत्तीर्ण भएको छ । यो प्रसंगमा पनि भयो भने अचम्म नमाने पनि हुन्छ ।

नेपाल प्रहरीको शिरमर्दन कसरी गरिन्छ यहाँ एउटा प्रसंग उदृत गर्न चाहन्छु । “नेपाल प्रहरीका र सशस्त्र प्रहरी बलका हुनेवाला प्रमुखले भने तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र कांग्रेसी नेताहरुलाई ब्रिफकेशका जादु देखाउन सफल भए।” सशस्त्र प्रहरीका पूर्व एआइजी रविराज थापाको यो भनाइ (सेतोपाटी)ले नेपाली राजनीति र प्रहरी संगठनभित्र लज्जाको चीरहरणा कसरी भै रहेको रहेछ ? स्पष्ट हुन्छ ।

भनिन्छ– ज्ञानमा सबैभन्दा ठूलो ज्ञान सामान्यज्ञान अर्थात “कमनसेन्स” हो । मान्छेमा “कमनसेन्स” भएन भने लज्जा पनि हुदैन । “कमनसेन्स” नभएकोलाई “ननसेन्स” पनि भनिन्छ । यस्तै लज्जाहिन “ननसेन्स” विडम्बनापात्र हुन् वामदेव । यो उनी आफैंले बनाएको परिचय हो । जसले जति चोख्याउन खोजे पनि वामदेवको “कमनसेन्स” कति हरेछ भन्ने कुरा नयाँ पत्रिकाले छापेको “गृहमन्त्रीको जेब्राक्रस” शीर्षकको तस्वीरले देखाउँछ ।

गृहमन्त्री वामदेवसँग अझै कही कतै एकपित्को “कमनसेन्स” छ भने त्यो अपराध वापतको जरिवाना तिर्ने वा भोग्ने सुझाव दिन्छु । त्यसपछि रमेश खरेललाई कारबाही गर वामदेव । नछोड त्यो मर्यादाहिन मानिसलाई । जसले तिमीलाई भेट्न आएन । ठोक रमेश खरेलालाई त्यो अक्षम्य अपराधका लागि । अब पालना गर्नु पर्दैन तिमीले फागुन १३ गते सपथ(?)सँगै खाएका शब्दको । खानु थियो खायौ, सकियो । तिमी आफैलाई थाह छ तिमीले कति (अ)नुचित कार्य ग¥यौ ? उतार त्यो अटेरी रमेशको वर्दी ।

बोल, एमालेका ज्ञानीहरु ! कसरी पखालियो वामदेवको दाग ? केले घोएर बनायौ उनलाई गाई ? हे ! ज्ञानी एमालेहरु, जवाफ देउ पहिले । त्यसपछि च्यातिदेउ आफ्ना नेताको इच्छा पुरा नगर्ने त्यो प्रहरी अधिकृत थोत्रो वर्दी ।

हो, आफ्नो संगठन र आफ्ना सिनियरहरुका बारेमा मुख नखोल्ने कठोर अनुशासनमा बाँधिएका सुरक्षा अंगभित्र खरेलका यस्ता अभिव्यक्ति अराजक मानिन्छन् । तर मुख बाँधेर मिलिभगतमा धन्दा चलाउने स्वराजक मानिन्छन् भने खरेल जस्ता अराजकलाई कडाभन्दा कडा कारबाही गर्नै पर्छ । सत्यलाई भष्मिभूत बनाउन कौरवले लाक्षागृह सल्काए जस्तो शिरमा सत्यमेव जयतेको टोपी लाएको सत्य र कर्तव्यपरायणताको त्यो वर्दीमा आगो सल्काउनै पर्छ । भष्मीभूत पार्नै पर्छ त्यसलाई । स्वाभिमानलाई अभिमान देख्ने आँखाले ढाल्नै पर्छ त्यो रमेश खरेलको अभिमानलाई ।

चर्चित गृहमन्त्री (अनेक चर्चिकलाले) वामदेवलाई नटेर्ने को हो रमेश खरेल ? त्यस्तालाई कारबाही गर्नै पर्छ । सुधारको पक्षमा आवाज उठाउनेलाई कुल्चनै पर्छ र दवाउनै पर्छ । किन चाहियो सुधार ? किन चाहियो प्रहरी संगठनलाई जनविश्वास ? किन बन्नु परो प्रहरी संगठन जनरक्षक ? यो त सरकारको रक्षा र गृहमन्त्रीको पार्टीलाई चुवान जिताउने संसाधन मात्र हो । जसको पुष्टी यहाँ उद्रित यी वाक्यशंले गर्छन् ।

“गौतमको निर्देशन अनुसार गृह सचिव सूर्य सिलवालले आयोगलाई पत्राचार गर्दै ‘खरेलको सरुवा नभए आगामी असार ८ गते काठमाडौं २ मा हुने उपनिर्वाचनमा असर पर्ने जिकिर सहित’ सरुवा स्विकृती मागे ।” विभिन्न पत्रपत्रिकाले उदृत गरेका अंश हुन् यी।

लोकतन्त्रमा जनताको सूसुचित हुने अधिकारको राज्यले न्यूनतम सम्मान गर्छ भने रमेश खरेललाई सरुवा नगरे उपनिर्वाचनमा के असर पर्छ ? खुलस्त पार्नु पर्छ । एक प्रहरी अधिकृतसँग चुवानी लगनगाँठो कहाँ र कसरी बाधिएको हुन्छ ? स्पष्ट हुन जरूरी छ । भलै निर्वाचन आयोगले स्विकृति दिएन तर के गृहमन्त्री र गृहसचिवसँग जवाफ दिने हिम्मत छ ? हैन भने सुरक्षासंयन्त्रभित्र यस्तो गम्भीर प्रश्न किन उठाइयो ? को हुन्छ यसको जिम्मेवार ?

आज राज्यको सर्वोच्च न्यायिक निकाय स्वयंले न्याय खोजिरहेको बेला न्यायको परिकल्पना गर्नु आकासको तारा टिप्नु जस्तो भएको छ । यो अवस्थामा समस्त प्रहरीप्रतिको जनविश्वास झन् गुम्दैछ । गुमाएको जनविश्वासलाई रमेश खरेल जस्ता केही प्रहरी अधिकृतले संजीवनी दिएर धेरथोर भए पनि बौराएका छन् । गर कारबाही रमेश खरेललाई र बनाउ नपुंशक सिंगो प्रहरी संगठनलाई । सायद यही चाहिएको छ वामदेव प्रशासनलाई !

अन्त्यमा एउटा अर्को प्रश्न फेरि उठ्छ- के गरे रमेश खरेलले सधैं प्रशंसा र चर्चा पाउने त्यत्रो काम ? अनि के गरे उनले दण्डित हुने त्यस्तो अपराध ?

त्यस्तो केही गरेका छैनन् रमेश खरेलले । तै पनि किन यति चर्चित र प्रंशसित छन् ? किन ?

केही गर्नु पर्दैन असल हुनलाई, खराब मात्र नगरे पुग्छ । वस्, त्यति नै गरेका छन् रमेश खरेलले । मात्र कर्तव्य निभाएका छन् । राज्यमा कर्तव्य अपराध हुन्छ भने उनलाई कारबाही गर्नै पर्छ ।

फेसबुकमा वामदेव विरूद्ध लेख्नेलाई कारबाही गर्ने वामप्रशासनले सडकमा उत्रिएका जनतालाई पनि छोड्नु हुन्न । कारबाही गर्नै पर्छ ।

34 thoughts on “रमेश खरेललाई कारबाही गर्नै पर्छ”

  1. vijay mahato says:
    July 15, 2014 at 10:42 pm

    हो,कारबाही हुनुपर्छ एउटा इमान्दारिता पुर्वक जोस जागर का साथ काम गर्ने सच्चा देशभक्त जसले आफनो ज्यान को बाजी लगाएर डूय़ूटी पुरा गरेको छ किनभने हाम्रो देशलाई इमान्दारिता पुर्वक काम गर्ने सिपाही होइन,सलाम ठोक्ने सिपाही चाहिएको छ |

    Reply
  2. Hitman says:
    June 6, 2014 at 10:17 pm

    शिव सर राम्रो लेख लेख्नु तपाई को कर्म हो . खुशी लाग्यो आशा छ निरन्तर पद्दना पाइञ्छ होला !
    तर बामदेव ले फेरी तपाई लाई पनि ठाडो आदेश मा …. है ! हामी सधै रमेश खरेल को ईमानदरिता को पछे मा धन्न्नेबाद

    Reply
  3. Bishnu says:
    June 6, 2014 at 3:13 am

    ०४८ साल देखिनै यसरीनै कुकर्म, गलत प्रबृत्ति, भ्रष्टाचार जस्ता गलत प्रवृत्तिलाई ढाकछोप गर्दै गएकोले नै नेपाल प्रहरी अहिले कुहिएको फारसी जस्तो पदद्दु स्थितिमा आइपुगेको हो/ गलत प्रवृत्तिको बिरोधमा बोल्ने आटगर्ने अधिकृतलाई पुरस्कृत गर्नुको सट्टा कारवाही???????

    Reply
  4. ram says:
    June 4, 2014 at 8:33 pm

    कस्तो प्रजातन्त्र हो यो? भ्रस्टाचार बिरुध्धको कार्यक्रम मा भास्ताचार गर्ने लै प्रोमोशन नगर्नु मन्त्रि ज्यु भन्दा कारबाही मा पर्नु पर्ने! बामदेव तथा उनका भ्रस्ट सहयोगी हरुले रमेश खरेल जस्ता इमान्दार पुलिस लै पाखा लगाए यो देश को भबिष्य अन्धकार हुने निश्चित छ; सडक र सदन आन्दोलन गरेरै भए पनि यी नलाएक मन्त्रि लै हटाउनु पर्छ.

    Reply
  5. शिव प्रकाश says:
    June 4, 2014 at 4:45 pm

    आदरणीय पाठकवर्ग,
    यहाँ अभिव्यक्त मेरा विचारप्रति आफ्ना विचार राख्नु हुने सबै पाठकप्रति सादर धन्यवाद व्यक्त गर्न चाहन्छु । सभ्य भाषामा सहमति वा असहमतिका आफ्ना विचार खुलस्त राख्न सकिने यस माइसंसारप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

    Reply
    1. शिव प्रकाश says:
      June 7, 2014 at 8:21 am

      अादरणीय पाठकवर्ग तथा सम्पादकज्यू
      यहाँहरूको सद्भाव र स्नेहका लागि अन्तरहृदयदेखि धन्यवाद । यहाँ व्यक्त अभिमतबाट अनुमान गर्न सकिन्छ मत्स्यन्यायको तराजुमा परेका प्रहरी अधिकृत रमेश खरेलका वारेमा नेपाली मनहरू कति अाहत छन् भन्ने कुरा ।
      असल काम गर्न र गल्ती सच्चाउन जहिले पनि सकिन्छ । अहिले पनि समय छ नेपालीको अभिमत सम्मान गर्न चाहे ।
      यो लेखका बारेमा भन्नै पर्ने अर्को कुरा के पनि छ भने, यो लेख करिव एक हप्ता अघि नै सेतोपाटीमा प्रकाशनार्थ प्रेषित गरेको थिएँ । म अाफूले सोचेको समयमा प्रकाशित नभएपछि (सायद केही कारणवश) माइसंसारमा पठाएको थिए। दुई दिन अघि यहाँ प्रकाशित भएको यो लेख अाज सेतोपाटीमा पनि प्रकाशित भएकाे छ ।
      सामन्यतया लेखनधर्मिता अनुरूप एक लेख एकै प्रकाशनमा मात्र प्रकाशित गरिन्छ, साभार नगरे सम्म तर प्राविधिक कारणले दुबैतिर प्रकाशित हुन गएकोमा म अाफू पनि लज्जावाेध गर्दै यहाँहरू समक्ष क्षमायाचना गर्छु ।

      Reply
  6. bibek dhakal says:
    June 4, 2014 at 3:51 pm

    के गर्नु, मेन्स्ट्रिम पत्रिकाहरुले छाप्दैनन माथिको जस्तो लेख….तर जे होस्, सूचना प्रबिधि को ब्यापक प्रयोग र ब्लग संस्कृति को बिकास ले गर्दा सोसल मिडिया र ब्लगका समाचार र लेखहरुले प्राथमिकता पाउन थालेका छन् र तिनको प्रभाव पनि देखिन थालेको छ|

    Reply
  7. lalita says:
    June 4, 2014 at 2:18 pm

    लेख राम्रो लग्यो…..रमेश खरेल जस्ता (म जबरे भन्छु उनलाई ) कम्ति मा पनि ७५ जिल्ला मा हुन पर्यो तब स्वाद पर्नेथियो….

    Reply
  8. Ashok Pradhan says:
    June 4, 2014 at 8:54 am

    हो, यो नेपाल राज्यमा ” कर्तव्य निर्बाह गर्नु ” अपराध हुन्छ भने रमेश खरेल लाई कारबाही गर्नै पर्छ !

    Reply
  9. Ramchandra Thapa says:
    June 4, 2014 at 6:48 am

    किन प्रशासन दोहोरी खेल्नमा व्यस्त छ ? किन मानिसहरू कुबाटोतिर मस्त छ . किन देश अपवित्र मानिसहरूको च*गुलमा फ*सेको छ ? राजनीतिलाई अविश्वासको बोरा ओढाईदिए भो . नत्र के भन्ने त ?

    Reply
  10. ashok says:
    June 4, 2014 at 4:23 am

    माथि बामेको वोक्तब्बय ओकलेको हेरे बाम्पुद्केले आफै फुथ्लाजस्तई लेखेर मोरेछ…होइन कस्तो अक्कल नभाको जाबो त्यो यस यस पी जत्तिको बोल्न नजान्ने लेख्न पनि उस्तै बिधयार्थिकालमा डोन भएर सर्तिबिकेट बनारहेछाकी क्या हो …हाम्रो गृहयामंत्रिले…… यसको बोल्ने चाल चल्ने हाल देखेर त घृणा मन्त्रि बनाएर दम्पिङ्गसाइद तिर घृणा मन्त्रालय बनाएर सारिदिनु परला हो …यस्ता जावा…

    Reply
  11. Bhawana says:
    June 4, 2014 at 2:10 am

    निर्भिकता, निष्पक्षता र स्तरियता यो लेख र माइसंसारको विशेषता
    धन्यवाद माइसंसार, धन्यवाद लेखक शिवपर्काश ।

    Reply
  12. Basant says:
    June 4, 2014 at 12:41 am

    यो लेख र सबै कमेंट पढेर छाती फुलेर आयो, गर्ब लाग्छ कोही राष्ट्र सेवक देश को लगी सोच्न थाल्छ…रमेश खरेल ले बोलेको तरीका गलत भन्दा पनि करोड़ौ नेपालीले बक्न नसकेको तीतो सत्य हो जो पवार र कुर्सी घमंड ले पचाउन नसकेको मात्र हो

    Reply
  13. Krishna Rai says:
    June 4, 2014 at 12:00 am

    हो गर्नै पर्छ कार्बाही एउटा सच्चा देशभत्त सीपहीलाई कीनकी यो सतीले सरापेको माटो नेपालमा बामे प्रशासनलाई जे गरेनी छुट छ। अर्को कुरा आई जी पी उपेन्द्र कान्त अर्याल आफै कसैको नीगाहमा हलीमुहाली गरीराको कीन चाहीयो ऊनलाई अरू राम्रो मान्छे अस्ताउन लागेको घाम् न हो।

    Reply
  14. suzee says:
    June 3, 2014 at 10:36 pm

    यो लेख चाही एकदम चित बुझ्दो गरि लेखिएको छ !!
    बालक काल मा तरबार भन्दा कलम बलियो हुन्छ , सत्य को सधै जीत हुन्छ भन्ने घोकेको थियौ !!!!
    लेखक ज्यु को कलम चलाई एकदम सटिक लाग्यो ,
    लेख्दै जाम केहि गर्न सकिन्थ्यो कि खरेल सर को लागि !!!
    जय होसः

    Reply
  15. Mk says:
    June 3, 2014 at 10:08 pm

    पिउन हुन त निश्चित योग्येता र मापदण्ड पुरा गर्नु पर्छ र पो उनले राम्रो काम गर्छ ;तर विडम्वना ! हालसम्म मन्त्रि हुन तेस्तो केहि पनि चाहिदैन -जस्तो रोपे उस्तै फल्ने त हो नि / अब , सवै संवैधानिक/असम्बौधानिक पदहरु को लागि निश्चित योग्येता र मापदण्ड को वेवास्था गरिनु पर्छ, येदि नया नेपाल र सु शासन खोज्ने हो भने /

    Reply
  16. basant bhatta says:
    June 3, 2014 at 8:51 pm

    यो लेख पढिसकेपछि तपाइलाई के लाग्यो ? बामदेव ठिक कि कामदेव ? कामदेव अर्थात् रमेश खरेल यदि ठीक लाग्छन भने यो लेखलाई सक्दो शेयर गरिदिनुस | सरकारले जनतालाई सुसुचित हुने अधिकारबाट बन्चित गराए पनि हामि त्यसो नगरौं |

    Reply
  17. chhetra says:
    June 3, 2014 at 7:14 pm

    धेरै राम्रो लेख धन्यबाद रमेश sir नेपाल आमाको सच्चा सपुत.हुन् नेपाल को धर्तीमा यस्ता सच्चा इमान्दार सच्चा पुलिश अफ्फिसर छन् भने यतिबेला आवाज उठाऊ यहि हो मौका होइन भने सबै बामदेव जी का तटू घोडा हौ सबैलाई नेपाली ले धिक्कार्ने छ नेपाल आमाले सराप्ने छिन् र कसैले विश्वास पनि गर्ने छैन नेपाल प्रहरी लाइ. धिक्कार छ ३ ०० करोड नेपाली को प्यारो खरेल लाइ आफ्नै डिपार्टमेन्ट का ले साथ् दियका छैनन् . नेपाल नेताहरुको मात्र

    देश रहेछ साथि हो …….

    Reply
  18. krishna says:
    June 3, 2014 at 6:57 pm

    वामदेव कहिल्यै नसुध्रिने व्यक्ति हुन् । यिनलाइ समाजमा अमनचयन नराखेकाे र समाजमा भाँडभैलाे मच्चाएकाे अाराेपमा पुलिसले प्रक्रेर थुन्नुपर्छ । स्यावास शिवप्रकाश ।

    Reply
  19. नबराज says:
    June 3, 2014 at 4:59 pm

    बामदेव जस्ता बिबादित गृह मन्त्रि ले Kharel जस्तो आस लाग्दा अधिकारीलाई कार्यबाही गर्नु साँच्चै बिडम्बना हो.

    Reply
  20. gokul says:
    June 3, 2014 at 4:18 pm

    हो, रमेश खरेललाई कारबाही गर्ने पर्छ एउटा देशभक्त भएकोमा किनकि हाम्रो देशमा देशभक्त भन्दा देशद्रोही धेरै छन्।

    Reply
  21. Dhruba Raj says:
    June 3, 2014 at 3:03 pm

    ज्योती जी कानुन मान्नु पर्दैन कसैले भनेको छैन तर कानुन रमेश खरेल ले पनि मान्नु पर्छ अनि बामदेवले पनि भनेको मात्र हो लेख राम्रो संग पढेर कमेन्ट लेख्ने गर्नु होला

    Reply
  22. ज्योति says:
    June 3, 2014 at 1:23 pm

    हामी किन कानून नमान्न प्रोत्साहित गरिरहेका छौं / के संगठन भित्रको नियम आचारसंहिता कसैले मान्नु पर्दैन भन्ने हो / के यसरि संगठन चल्छ / organization culture भन्ने कसैले नबुझेको हो कि / नत्र भने रमेश खरेलको बिषयमा यत्तिका बिधि चर्चा गर्नु पर्ने जरुरी नै छैन / कारवाही पुरस्कार दण्ड भन्ने चिज संगठनको अभिन्न अंग हो /

    Reply
    1. निराजन says:
      June 3, 2014 at 4:02 pm

      ज्योती जि तपाईं १५-१६ शताब्दीमा हुनुहुन्छ कि कसो ? संगठन भन्ने साथ जे पनि गर्ने थलो हो?बीना गल्ती सजाय दिन पाइने नियम कुन संगठनमा छ मलाइ एउटा मात्र उदाहरण दिनुस।आखिर के गरेर रमेश खरेलले संगठनको नियम मिचे? उपेन्द्रकान्त अर्यालले पनि रमेश निर्दोष भएको जनाउ दिएका छन भने अब कुन संगठनको कुरो गर्नु हुन्छ हजुर?बामदेब संगठन कि प्रहरी सँगठन ?

      ल ठीक छ गल्तीनै गरेछन,कारबाही गर्नु पर्छ रमेश महामानब त होइन नि गल्तीनै नगर्ने,तर यो शैली उपयुक्त छैन मन नपरेको मान्छेको बाटोनै गनाउने। छानबिन हुनुपर्छ अनि पो गर्नु पर्छ कारबाही।

      केटाकेटी आए गुनेली चलाए मट्याङ्गाको नास भने जस्तो भएन यो कारबाही, बदर भए पछि।

      Reply
    2. डिल्ली says:
      June 3, 2014 at 6:10 pm

      ज्योति ज्युको आँखाको ज्योति र कानको लोति कम्जोर भएछ जस्तो छ । कार्यवाही नगर भनेर कसैले भनेन । तर पहिले निष्पक्ष प्रणालीको विकास गर । बढ्का हाकिमले सुटकेस बोकेको हो हैन पत्ता लगाउ । खरेल सेलिब्रेटी बन्न नेताको जस्तो भाषण मात्र गरेका हुन् वा वामदेवले बढुवा क्रममा निम्छरोलाई द्रव्य मोहमा छानेका हुन् त्यो कस्ले पत्ता लगाउने हजुर ? के तल्लो दर्जाकोलाई सही बोले पनि कार्यवाही गर्ने उपल्लोलाई कानुन नलाग्ने भन्ने न्यायको सिद्धान्त हो र ? त्यस्तो अभिन्न अङ्गवालाहरूले पहिले सत्य तथ्य खोजेको खै ? अभिन्न अङ्गवालाहरूको गुप्ताङ्गै ह्वाङ्ग भै सक्यो त तथ्य छोडेर कार्यवाहीमा उत्रेको देख्दा ।

      Reply
    3. suman p says:
      June 4, 2014 at 8:33 am

      ज्योति जी! भ्रस्टाचार बिरुद्ध अविबेक्ति कार्य क्रममा भ्रस्टाचार बिरुद्ध नबोली के बोल्ने त ? डनदेव र धन देव को जय होश भनि हिड्ने ?

      Reply
  23. Pramod says:
    June 3, 2014 at 12:17 pm

    heading हेर्दा त लेखक संग अलि अलि ऋष उठेको थियो तर त्यो heading त ब्यङ्ग गरेको पो रहेछ. लेख राम्रो लाग्यो

    Reply
  24. निराजन says:
    June 3, 2014 at 11:39 am

    (बि)चरा!! बामदेव,कत्रो धोको थियो यो सासनकालमा कमाउला,जोगाउँला भन्ने,एक नाथु(बाम बोलिमा) ले गर्नु गर्यो।ए !! मेरा भरौटे हो कहाँ छौ ,यसो मेरो नाममा पनि दुई शब्द लेखिदेउन।

    गर्नु गर्यौ रमेश एस एस पि भएर।

    Reply
  25. Binay says:
    June 3, 2014 at 10:57 am

    आहा सार्है राम्रो सार्कास्टिक पाराले लेख्नुभएको लेख I रमेश खरेल नेपाल आमाको सच्चा सुपुत्र हुन्

    Reply
  26. sabin says:
    June 3, 2014 at 10:40 am

    सार्है चित्त बुज्दो लेख लाग्यो ,
    सतिले सरापेको देश भन्छन, राम्रो गर्नेको भलो हुन्न रे

    Reply
  27. suraj says:
    June 3, 2014 at 10:19 am

    सारै सहि लग्यो यो लेख.
    एस्तो चाकडी बाजहरु ले गर्दा हाम्रो देश सहिबाटोमा नगएको.
    येस्ता भ्रस्टचारी गृहमन्त्रीलै त गोलि होइन..हातखुट्टा भाचेर त्रिशुलीमा फाल्नु पर्ने हो…गोलि किन खर्च गर्ने..गोलिको नि केहि पैसा लाग्छ ..एस्त चोरहरुलाई किन गोलि खर्च गर्ने??

    तपाई आगि बढ्नु हामी तपाई को साथ् छौ!!

    Reply
  28. Dhital says:
    June 3, 2014 at 9:43 am

    आहा बिहानै कति राम्रो लेख पढ्न पाइयो, हो रमेश खरेल लै कारवाही गरेर अलि अलि बचेको न्याय र प्रसासन लाइ नपुंसक बनाउने पर्छ ! काही पनि आशाको त्यान्द्रो त छोड्ने हुन्न. लौ कारवाही गरि हालौ !

    Reply
  29. डिल्ली says:
    June 3, 2014 at 9:42 am

    हो पक्कै रमेश खरेललाई कार्यवाही गर्नु पर्छ तर मेरो मान्यतामा चाहीँ कार्यवाही बढुवा गरेर गर्नु पर्छ।

    पर्खाल तिर खुट्टा फर्काएर जल डाँगो कुकुरको जल त्याग शैलीमा रत्नपार्के डोरी नघाइले चेन अफ कमाण्ड र कानुनी शासनको पालनले वामदेवको नाम मात्र हैन पूर्वाग्रही कद पनि कति बामपुड्के उचाइ लियो पत्तै भएन । एमाले साहु, भक्त महाजनहरू हो तिम्रा आरध्यदेव वामदेवलाई लावा लस्कर बोकेर सम्मान गर । धान्न सक्ने हुति छ भने बामपुड्के वामदेवलाई १०० त के १००० किलोको फूलमाला अर्पण गर । किनभने हजार जिव्रा भएका शेषनागले त तिम्रो महिमा व्याख्या गर्न सम्भव छैन भने हामी निरिह जनताले कसरी गर्न सकौला ! तिम्रा महेश बस्नेत, पर्शुराम बस्नेत, चरी र बाहुन डनहरूको कसम खाएर भन्छु रमेश खरेललाई कार्यवाही गर । अहिले त सम्विधान बनाइ रहेका छौ । सकेसम्म तिमीहरू जस्ता नेतालाई, चोर र डाकाहरूलाई कार्यवाही नहुने विधान तयार गर । खरेल कार्यवाहीको असारे हिलोमा तिम्रा पाल्तु कुकुरहरूका माझ कुकुर तिहार मनाए कसो होला काम्रेड आतसबाजी, सतरञ्ज र जुवा तास पो फुक्का गर्ने हो कि !

    Reply
  30. kiran gurung says:
    June 3, 2014 at 9:18 am

    हाे सत्य लेख्नु भएकाे छ महाेदय रमेश खरेल लाई कार्यवाही र वाम देव लाई फुलकाे माला किन भने नेपाल यस्तै घुसखाेरि हरुकाे देश न हाे।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme