Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वामदेवको डोरी : राजुप्रसादको फन्दा

Posted on June 2, 2014June 2, 2014 by mysansar

-उमेश चौहान-

photo (6) सरकारी अधिकारी राजुप्रसाद साहले देशका गृहमन्त्रीप्रति आक्रोश पोख्न जुन शब्द चयन गरे, त्यो सतत आपत्तिजनक छ । उनीमाथि कानुनअनुसार कारबाही हुनुपर्छ भन्नेमा विवेकशील समाजले असहमति राख्नै सक्दैन । तर, सडकको डोरी नाघ्न खुट्टा उठाउने उनै वामदेवले राजुप्रसादमाथि कुन नैतिकताका आधारमा कानुनको डन्डा उठाउन सके ? आफैँ लाखौँ जनताको प्रश्नको कठघराभित्र मौन बसेर एउटा कर्मचारीलाई पाता कसेर वीरगन्जबाट रातारात काठमाडौं ल्याउने बल उनलाई कहाँबाट मिल्यो ? आफूले डोरी नाघेकोमा किञ्चित पनि प्रायश्चित नगरी त्यही डोरीले आफ्ना कर्मचारीको घाँटीमा फन्दा लगाउन उनले कसरी सके ? वामदेवसँग पनि नैतिकताको प्रश्न गर्ने भनेर उनी खुलेआम सोध्छन् भने फरक कुरा हो । होइन भने आफ्नो विषयमा मौन बसेर कर्मचारी र सर्वसाधारणमाथि कानुनको तरबार उठाउने हिम्मत उनले नगर्नुपर्ने हो । तर, दुर्भाग्य, वामदेव आफूमाथि उठेका लाखौँ प्रश्नलाई सम्बोधन गर्न चाहँदैनन्, बरु निमोठ्न चाहन्छन् । किनभने वामदेव यतिखेर सिंहदरबारमा छन्, सिंहदरबारको अहंकारले वामदेवको तस्बिर उतार्ने, छाप्ने, सेयर गर्ने र प्रतिक्रिया पोख्ने सबै सबैलाई अराष्ट्रिय देख्छ, तिनीहरूलाई कानुनको दायरामा ल्याउनु नै राज्यको सबैभन्दा ठूलो चुनौती मान्छ ।

वामदेवको डोरी : राजुप्रसादको फन्दा

उमेश चौहान
२० वर्षे जापानी युवती मिनामी मिनेगिसी जीवनको सबैभन्दा ठूलो सपना साकार हुने दिनको पर्खाइमा थिइन् । जापानको सबैभन्दा प्रतिष्ठित सांगीतिक समूह एकेबी ४८ ले अघिल्लो वर्ष अमेरिकाको न्युयोर्कमा स्टेज शोको तयारी गरिरहेको थियो । जापान मात्र होइन चीन, कोरिया र ताइवानमा अतुलनीय लोकप्रियता कमाएको यो समूहको प्रस्तुति अमेरिकी टेलिभिजनबाट संसारभर प्रत्यक्ष प्रसारण हँुदै छ भन्ने जानकारीले मिनेगिसी र उनका साथीहरू उत्साही र रोमाञ्चित थिए । अमेरिका उड्ने दिन आउँदै थियो । तर, त्यसअघि आयो मिनेगिसीको तस्बिर जापानका पत्रिका बुनसुनमा । टाउकोमा टेनिस क्याप र अनुहारमा सर्जिकल मास्क लगाएकी उनको तस्बिरको क्याप्सनमा लेखिएको थियो, ‘एकेबी ४८ की सदस्य ब्वायफ्रेन्डको अपार्टमेन्टबाट निस्कँदै ।’

एकेबी ४८ ले जापान र छिमेकमा म्युजिकल सेन्सेसन मात्र मच्चाएको होइन, संस्कार र अनुशासनमा पनि असाधारण नाम कमाएको थियो । समूहले भन्दै आएको थियो, ‘हाम्रो समूहका कुनै पनि युवती डेटिङमा जाने छैनन्, युवालाई संस्कार र सभ्यता सिकाउनु हाम्रो मूलमन्त्र हो ।’ त्यसैले अभिभावक पनि आफ्ना छोराछोरीलाई भन्थे, ‘एकेबी ४८ का गीत सुन, उनीहरूको स्टेज शो हेर्न जाऊ ।’ त्यसैले एकेबी ४८ जापानी समाजमा सांगीतिक मात्र होइन, सांस्कृतिक आदर्श बनेको थियो, तर त्यही आदर्श समूहकी एक सदस्य ब्वायफ्रेन्डका घरमा रात बिताएर बिहानै अनुहार छोपेर निस्कँदै गरेको तस्बिरले जापानी समाज मर्माहत भयो । पत्रिकामा छापिएको घन्टाभरमै मिनेगिसीको तस्बिर इन्टरनेटमा भाइरल बन्यो । हजार होइन, लाखौँ जापानीले मिनेगिसीलाई दुत्कारे, तिम्रो जीवन धिक्कार छ भनेर थुके ।

लाखौँ प्रशंसकले बहिष्कार गर्ने चेतावनी दिएपछि एकेबीले ४८ ले असभ्यतासँग सम्झौता नगर्ने भन्दै मिनेगिसीलाई समूहबाट निष्कासन गरेको घोषणा गर्‍यो । समूहबाट निष्कासित, प्रशंसकबाट बहिष्कृत र सिंगो समाजबाट तिरस्कृत युवतीले केही दिनमा आफ्नो भिडियो सार्वजनिक गरिन् । प्रायश्चितमा कपाल मुडाएकी मिनेगिसी आँखाभरि आँसु पारेर, अवरुद्ध गलामा भन्दै थिइन्, ‘मैले तपाईंहरूको यति ठूलो सद्भाव र विश्वासलाई एउटा केटासाथीको बेडरुमको बन्दी बनाएँ, मैले तपाईंहरूको शिर झुकाएँ, लाखौँको शिर झुकाउने मेरो शिरमा कपाल सुहाउँदैन, त्यसैले मैले आफैँ मुडाएँ । म योभन्दा ठूलो सजायको भागिदार थिएँ होला, तर मैले यति मात्र गर्न सकेँ, सक्नुभयो भने माफ गर्नुहोला ।’ उनको फोटो जसरी फैलिएको थियो, त्योभन्दा तीव्र गतिमा उनको भिडियो इन्टरनेटमा फैलियो । जापानी टेलिभिजन एनएचके, कोरियाली टेलिभिजन एरिर्‍याङ र चाइनिज टेलिभिजन सिसिटिभी ९ ले मात्र होइन, अमेरिकी टेलिभिजन सिएएनले समेत उनको भिडियो प्रसारण गरे ।

एउटी २० वर्षे युवती जो आफ्ना लामो कपाल लहराउँदै गीत गाएर संसारभरका टेलिभिजनमा आउन चाहन्थिन् । उनी टेलिभिजनमा त आइन् तर कपाल मुडिएको, मन कुडिएको र आँसु बगिरहेको अवस्थामा । संसार आश्चर्यचकित भयो, जापानी समाज ऐठनमा पर्‍यो । ती जापानी जसले समाजकी भँडुवा भनेर मिनेगिसीलाई दुत्कारेका थिए, उनीहरू भुल स्विकार्ने र आफैँलाई दण्डित गर्ने युवतीको महानता देखेर स्तब्ध भए । लगत्तै लाखौँ ट्विटको बाढी आयो जसमा भनिएको थियो, ‘मिनेगिसी तिमी महान् छौ, हामी आफूले गरेका हजारौँ भूललाई बिर्सिएर एउटा भूलका लागि तिमीलाई प्रताडीत गर्‍यौँ, तिमीले त्यो पनि स्विकार्‍यौ । तिमी महान् छौँ मिनेगिसी, तिमी अब हाम्रो जीवनको सबैभन्दा ठूलो आदर्श हौ ।’

इन्टरनेट र सोसल मिडियाले व्यापक बनाएका यो घटना संसारका लागि एउटा असाधारण उदाहरण हो । एउटी २० वर्षे युवतीले आफ्नो गल्ती स्विकारेर समाजप्रति सम्मान दर्शाउने कोसिस गरिन् । यता ६६ वर्षीय गृहमन्त्री आफ्नो गल्तीमाथि औँला उठाउनेलाई तर्साएर तह लगाउने कोसिसमा छन् । २० वर्षकी युवती केटा साथीको अपार्टमेन्टमा गएर संसारमा कसैले नगरेको अपराध गरेकी होइनन् । तर, समाजले मबाट अनुशासन र सभ्यता अपेक्षा गर्छ भन्ने उनले बुझिन्, सर्मिन्दा भएर क्षमा मागिन् । गृहमन्त्री वामदेव गौतमले जनताले आफूबाट कस्तो संस्कार र सभ्यता अपेक्षा गर्छन् भन्ने बुझ्न कोसिस गरेका छैनन् । त्यसैले उनी लाठो लगाएर तर्साउने, धपाउने र चुप लगाउने बाटो रोजेका छन् । यो सत्ताको अहंकारभन्दा अरू केही होइन ।

डोरी नाघेर बाटो काट्ने वामदेव गौतम नेपालका एक मात्र अजुवा प्राणी होइनन् । तर, उनी यो देशका सर्वसाधारण नागरिक पनि होइनन्, उपप्रधानमन्त्री तथा गृहमन्त्री हुन् । उनी समाजका अगुवा र कानुनका रक्षकका रूपमा अपेक्षित छन् । त्यसैले जब उनी दौरा–सुरुवाल लगाएर, सुरक्षाकर्मी पछि लगाएर सडकमा डोरी नाघ्छन्, जनता स्तब्ध हुन्छन् । आफ्नो अगुवाले नियम, कानुनको खिल्ली उडाइरहेको देखेर जनता आहत हुन्छन्, त्यो दु:ख, वेदना र आक्रोश आफूले भेटेको फोरममा पोख्छन् । किनकि सर्वसाधारणलाई लाग्छ– वामदेवले सडकका व्यापारी धपाएको पनि सडक व्यवस्थित गर्नकै लागि हो, आफैँ देउडा नाच्न होइन ।

आक्रोश पोख्ने अश्लील र हिंस्रक शैलीलाई कुनै पनि सभ्य समाजले ताली बजाएर स्वागत गर्न सक्दैन । अझ त्यसमा पनि सरकारी अधिकारी राजुप्रसाद साहले देशका गृहमन्त्रीप्रति आक्रोश पोख्न जुन शब्द चयन गरे, त्यो सतत आपत्तिजनक छ । उनीमाथि कानुनअनुसार कारबाही हुनुपर्छ भन्नेमा विवेकशील समाजले असहमति राख्नै सक्दैन । तर, सडकको डोरी नाघ्न खुट्टा उठाउने उनै वामदेवले राजुप्रसादमाथि कुन नैतिकताका आधारमा कानुनको डन्डा उठाउन सके ? आफैँ लाखौँ जनताको प्रश्नको कठघराभित्र मौन बसेर एउटा कर्मचारीलाई पाता कसेर वीरगन्जबाट रातारात काठमाडौं ल्याउने बल उनलाई कहाँबाट मिल्यो ? आफूले डोरी नाघेकोमा किञ्चित पनि प्रायश्चित नगरी त्यही डोरीले आफ्ना कर्मचारीको घाँटीमा फन्दा लगाउन उनले कसरी सके ? वामदेवसँग पनि नैतिकताको प्रश्न गर्ने भनेर उनी खुलेआम सोध्छन् भने फरक कुरा हो । होइन भने आफ्नो विषयमा मौन बसेर कर्मचारी र सर्वसाधारणमाथि कानुनको तरबार उठाउने हिम्मत उनले नगर्नुपर्ने हो । तर, दुर्भाग्य, वामदेव आफूमाथि उठेका लाखौँ प्रश्नलाई सम्बोधन गर्न चाहँदैनन्, बरु निमोठ्न चाहन्छन् । किनभने वामदेव यतिखेर सिंहदरबारमा छन्, सिंहदरबारको अहंकारले वामदेवको तस्बिर उतार्ने, छाप्ने, सेयर गर्ने र प्रतिक्रिया पोख्ने सबै सबैलाई अराष्ट्रिय देख्छ, तिनीहरूलाई कानुनको दायरामा ल्याउनु नै राज्यको सबैभन्दा ठूलो चुनौती मान्छ ।

सिंहदरबारको दृष्टिदोषले भ्रम भएको हुन सक्छ । तर, जनताले के देखेका छन् भने, ‘वामदेव यो देशको एक नम्बर भ्रष्टाचारी हो’ भनेर टुँडिखेलबाट सार्वजनिक घोषणा गर्ने प्रदीप नेपाल गृहमन्त्री वामदेवको राजनीतिक सल्लाहकारका रूपमा सम्मानित भएका छन् । प्रदीप नेपाल एमाले मात्रै होइनन्, नेता पनि हुन् । त्यसैले उनलाई वामदेवले सिंहदरबारको आफ्नै कार्यकक्षमा रातो कार्पेट ओछ्याएका छन् । त्यस्तै राजुप्रसाद साहका बाबु गेनलालप्रसाद साह पनि एमाले नै हुन्, तर नेता होइनन् । त्यसैले सूर्य चिह्नमा छाप लगाएका हात जोडेर थरथर काम्दै माफी देऊ भनेर याचना गर्दा पनि उनी आफ्नै पार्टी मुख्यालयमा तिरस्कृत हुन्छन् । नैतिक संकटले घेरिएको यो संवेदनशील वेलामा वामदेव आफैँले सोच्नुपर्ने हो, आलोचना गर्नेलाई बहिष्कार गर्ने र याचना गर्नेलाई तिरस्कार गर्ने हो भने सिंहदरबारको उन्माद प्रत्युत्पादक हुनेछ । यसै पनि दुनियाँलाई शंका छ– बालुवाटारमा घस्रिने प्रधानमन्त्री र रत्नपार्कमा उफ्रिने उपप्रधानमन्त्रीको सरकार गतिमा जाला कि दुर्गतिमा ?

(नयाँ पत्रिका दैनिकमा सोमबार छापिएको यो लेख चौहानको फेसबुकबाट उनको अनुमतिमा साभार गरिएको हो)

पृष्ठभूमि बुझ्न तलको ब्लग पढ्नुस्
फेसबुके कमेन्टले पार्‍यो फन्दामा, डिलिट गर्दा पनि सुख पाएनन्

यसैबीच यस्तो विज्ञप्ति पनि आएको छ-

Post by Mysansar.

21 thoughts on “वामदेवको डोरी : राजुप्रसादको फन्दा”

  1. Mk says:
    June 2, 2014 at 9:40 pm

    ‘नेपाल बिग्रेको तलका बाट होइन कि माथि बाट हो ‘ को ज्वोलंत प्रमाण हो, यो /अब , नया नेपाल वनाउने हो भने , माथिका लाई कारवाई गर्न थाल्नु पर्यो / येस्मा, वामदेव जी लाई सुवर्ण मौका यो छ कि राजिनामा दिएर उदाहरण वन्न ; हेरौं उनको घैटोमा घाम लागि पो हाल्छ कि ?

    Reply
    1. रैथाने says:
      June 2, 2014 at 10:01 pm

      हाहाहा! बामदेबले राजिनामा दिएर उदाहरण बन्ने रे! कल्पना पनि कसरि गर्न सक्या होला यो मान्छेले गाठे!

      Reply
      1. bibek dhakal says:
        June 3, 2014 at 12:56 pm

        बामदेव को घैंटोमा घाम लाग्ने रे? बरु राति को १२ बजे घाम लाग्न सक्ला , बामदेव जस्तो पतित व्यक्तिको बुद्धिमा घाम लाग्ने भन्या चार्ल्स शोव्राज सन्त भएर धर्म कर्ममा लाग्नु जस्तै असम्भव हो!

        Reply
    2. bijay says:
      June 2, 2014 at 11:22 pm

      बामदेव पनि श्री ३ बामदेव ज.ब.रा. होइबक्सिने जस्तो छ / कसैसंग रिशउठ्यो कि टपक्क टिपेर “माथिको आदेश” मा कारवाही गराईहाल्यो/ कतै नभएको प्रजातन्त्र नेपालमै छ /

      Reply
  2. शरद- क्षितिज पारीबाट says:
    June 2, 2014 at 9:16 pm

    यस बिषयमा गृहमन्त्रीले हातमा पावर आउँदैमा आफुलाई सर्वेसर्वा मान्ने र केहि चाटुकार हरुले चाकरी बाट प्रसन्न गराएर ‘बर’ पाउने आशमा राजुलाई आवश्यकता भन्दा बढी कारवाही गर्न खोजेको देखिन्छ ! राजुलाई कारवाही नहोस भन्ने मेरो मनसाय होइन तर के गृहमन्त्रिको हैसियत कानून भन्दा माथि हो त ? राजुले प्रयोग गरेका शब्द सतप्रतिशत नै असभ्य छन् त्यसमा दुइमत छैन तर सडकको डोरी नाघ्ने गृहमन्त्री लाइ किन कारवाही भएन त ? राजुलाई राता-रात पक्रेर मालिकको जुनाफमा पेश गर्नेले कानूनको खिल्ली उडाउने गृहमन्त्रीलाई पनि त्यहि कित्तामा बसेर कारवाही गरेर देखाउन सक्नु पर्छ ! होइन भने लोकतन्त्र भन्नु पनि निरङ्कुश भनिने राजतन्त्रको रिमेक होइन भनेर कसरी मान्ने हामि जनताले ??? आफुलाई यति विधिको शासनको अनुयायी मान्छन भने गृह मन्त्रीले अदालतले दोषी मानेका बालकृष्ण ढुंगेललाई कठघरामा ल्याएर देखाउन !

    Reply
  3. HARI PRASAD LAMICHHANE-SAUDI says:
    June 2, 2014 at 5:45 pm

    केहि लेखौ भने जेल हाल्ने हो कि भन्ने डर !! भो म त लेखिन 🙂 कठै हाम्रा नेताहरु फेसबुके र टुईटरेको पछि लागेका छन्, देशको बारेमा कहिले सोच्ने ?

    Reply
  4. achut says:
    June 2, 2014 at 3:35 pm

    ”धम्कि को बेथा छ बाबु भरेङ्ग उक्लिन सक्दिन तेसै ले तल बाट बाटो काटेको” भन्दा एक बृद्ध लाई घाम मा सुकाउने ‘लठैत डन्ड़े’ ले नि तेस्को बाउ ले बाटो काटेको चै देखेनछ?आज सम्म कति जना ले सामाजिक संजाल मा भएको ‘गाली बेइज्जति’ को उजुरी गरेका छन र तिनी हरु को उजुरी को कारबाही कहाँ सम्म पुगेको छ?कुन पिडित ले न्याय पाएको छ??यो काइते बाहुन लाई चै फास्ट ट्राक????कहाँ को कानुन हो???

    Reply
  5. ekraj says:
    June 2, 2014 at 3:24 pm

    बामदेव को नैतिक आचरण धेरै बिबाधित भयो | उनले हाल सम्म भएका घटना मा जसमा उनि कारक हुँदाहुदै पनि कुनै पनि कुरामा जनता लाई जबाफ दिन आबस्यक सम्झेका छैनन्| यसको मतलब जुन जनताको भोट ले उनि सिंघदरबारमा विराजमान छन्, उनिसंग्लाना घटना प्रति कहीं पनि आफ्नो नैतिक जिम्मेबारी देखौन चाहदैनन् भने उनि कसका मन्त्रि हुन् ? र कसरि मन्त्रि पद दादागिरि नै गरेर योगटने नियेत देखाउने?
    यो त जंगल राज नै भयेनारा ?
    एदी उनकै सल्लाहकारले उनलाई कुनै समएमा सबै भन्दा ठुलो भ्रस्टचारी हो भनेका थिए भने रमेश खरेर्ल पनि कुनै स्रोत नभई त भनेका छैनन् भन्ने तेसै पनि प्रस्था छ|
    न बामदेव कानुन भन्दा माथिका मान्छे हुन् नत भगवान नै हुन्| यदी उनीले गरेको हर्कतको सहि जबाब छैन भने उनि पनि पतित भ्रस्टचारी र सिंघ दरबारको सक्तिले मात लागेको अहंकारी गुन्डाका नाइके भन्नुमा आपत्ति छैन|

    Reply
  6. ज्योति says:
    June 2, 2014 at 3:06 pm

    नेपाल सरकारको अधिकृत कर्मचारीलाई आचार संहिता भन्ने चिज पनि सिकाउनु पर्ने पो हो कि !

    Reply
    1. Dambar says:
      June 2, 2014 at 4:56 pm

      आचारसंहिता भन्या ढुंगा देखाएर आलु हो भन भन्दा आलु हो भन्ने हो?? तपाइको कुरा ले त मैले येस्तै बुझें … नत्र भने गृह मन्त्रि ले बाटो काट्दा गल्ति गरेकै हुन्, उसले सजायको भागीदार हुनै पर्छ…

      Reply
    2. Sisir says:
      June 2, 2014 at 6:13 pm

      नेपाल सरकारको गृह मन्त्रिलाई पहिले नैतिकता भन्ने चिज पनि सिकाउनु पर्ने पो हो कि ! उनले एस्तो गल्ति नगरेको भए यो बखेडा हुने नै थिएन कि ??

      Reply
    3. Ram Gurung says:
      June 2, 2014 at 10:17 pm

      If you really want to talk about aachar sanhita, then may be you should arrest the cop who let bamdev cross the road. He is the col-pit. What you say buddy?

      Reply
  7. ganesh nepali says:
    June 2, 2014 at 2:51 pm

    बामदेवको नैतिकता र कानूनी राज्यमा राजुप्रसाद बारेको चौहानको लेख राम्रो छ तर अलिकती पूर्वागह्री छ जस्तो मलाई लाग्छ । हालैका दिनहरुकोमात्र कुरा गर्ने हो भने बामदेवका वारेमा भएगरेका कार्यलाई बिना पूर्वाग्रह हेर्दा मैले यस्तो देखेको छु । १. न्यायधिस प्रकरणमा एमाले सरकारी टोलीले खासै भूमिका नखेलेको र बामदेवको मौन समर्थनमा खेमनारायण बिचौलिया मार्फत असक्षमभनेका लाई पनि सक्षम बनाइ हुलेको । २.डोरी नाध्ने काण्डको फोटोमा फसेको । ३. खरेल प्रकरणमा मुख्य भुमिका खेलेको र यस अगाडी खरेललाई भेट्न नआएको भन्ने टिप्पणीलाई पुष्टी दिएको । यिनै मुख्य तिन अभियोग मिडियामा अहिले बामदेव प्रति खनिएका छन । यि आजकलको आरोप आउनु पूर्वका आधार पनि केही छन ति हुन १. बामदेव मनमा भएको कुरा प्याच्च भन्ने स्वभावका भएकाले एमाले भित्र नै गुट उपगुटका कारण केहीका अप्रिय । २. पूर्व गृहमन्त्र रहिसकेकाले त्यसबेलाका कार्यले बिपक्षीहरुको बामदेव प्रति सत्रुता सोच । ३. यसै मन्त्रीमण्डल बन्नेताका पनि बामदेव गृहमन्त्री हुदैन भन्ने काग्रेसको डरुवा रडाको । ४. एमालेको महाधिवेशनमा ओली पक्ष भएकाले दोश्रो पक्षको आलोचना आदी आदी कुरा पनि सहायक हुन जुन कुराले बामदेव अति आचोलित र बदनामी नेता बन्न पुगेका छन ।
    यी हालैका दिनका घटनाले बामदेव कति दोषी छन त भन्ने कुरामा भन्दा उनी पक्कै दोषी छन । पहिलो त न्यायधिस प्रकरण काग्रेसी मिलोमतोमा भयो तर बामदेवका प्रिय भन्ने बिचौलिया ढुड.गाना सरिक भए यसमा शासनमा रहेको एमाले भूमिका मौन समर्थन भयो । मकै खाने भालु चोर पाउने कालु भने जस्तै यसमा बामदेवको अस्तित्व लछारियो । दोश्रो खरेल काण्डमा पहिले नै बिबादस्पद भाषण गरेका कारण खरेलले पदिय पर्यादा भन्दा बाहिर गएर वास्तविक यर्थातता बोलिदिदा उनकै उपल्ला हाकिम रिसाए । उनीहरुले बामदेवलाई उकासे यसबाट बामदेवकै बेइजत भयो खरेलको हाइहाइ भयो । सामजमा राम्रो स्याबासी पाएका खरेललाई पुरस्कारको सट्टा दण्ड दिएकोमा बामदेवको इज्जत पछारियो । तेस्रो डोरी काण्डमा बामदेवले सामान्य भनौ वा सवारी कानूनको उल्लंघन गरेकै हुन । यसमा उनीले राम्रो काम गर्न खोजेकै भए पनि फोटोले नै उनी गलत देखाउछ । यि तिनै काममा यदी बामदेवको बुद्धि भएको भए मज्जाले क्रेडिट लिन सक्थे त्यो के भने वास्तवविक कुरा जनता समक्ष भनेर र गल्ती कुरा जनता समक्ष माफी मागेर । किनकी उनी २ ठाउबाट निर्वाचित जनप्रतिनिधी हुन र राज्यको मुख्य निकाय गृहमन्त्रालय सम्हालेका छन । उनले चाहेको भए सरकारी तवरबाट कुनै समाज र आमनागरिकमो मनमा नराम्रो ठानिने कार्य हुनबाट रोक्न र रोक्न नसके वास्तविकता के हो र हुदैछ भन्न सक्थे त्यो कहि कतै गरेनन् । बामदेवले चाहेको भए न्यायधिस प्रकरणमा एमाले सत्ताधारीले जोडबलले बिरोध गर्न सक्थ्यो त्यो भएन । खरेलले गल्ती बोलेकै भए पनि जनताको मन जित्न जनताको मन जितिसकेका खरेलको कुराको समर्थन गर्न सक्नु पथ्र्यो तर उल्टो गरे । डोरी काण्ड उनीको सार्वजनिक सामान्य गल्ती हो उनले तत्कालै आम जनता सग माफी माग्नु पथ्र्यो र मेरो गल्ती हो यस्तो कसैले नगर्नुहोला म पनि अव गर्ने छैन भन्दै फोटो खिच्ने पत्रकारलाई सचेत गराइ दिनु भएकोमा भन्दै धन्यबाद दिन सक्नु पथ्र्यो । सामाजिक सञ्जाल र नेपाली जनसमाजमा बिरोध भएका कुनै पनि कार्यलाई स्विकारेको भए जननेताको परिभाषामा पर्ने थिए । जापानी युवती मिनामी झै भएको भए कती उचाई बढ्ने थियो । अव डोरी काण्ड सगै राजु साह काण्ड थपिएको छ । राजु साह एक सर्वसाधारण नेपाली हैनन उनी सरकारी सेवामा कार्यरत अधिकृत हुन । उनले फेसबुकमा यस्तो लेख्नु अघी त्यो सोच्नु पथ्र्यो । अझ त्यसभन्दा ठुलो अपराध त उनले फेरी गरेका छन जुन कुरा पत्रकारले जानाकारी गराउदा तैले के गर्न सक्छन रौ पनि हल्लाउदैनस भन्नु सरकारी अधिकृतको महाअपराध हो । उनले सामान्य भए पनि आफैले गरेको गल्ती सच्चाउनु पथ्र्यो र सरी भन्न सक्नु पथ्र्यो कुरा सामान्य हुन्थ्यो । मेरो बिचारमा उनको दोश्रो कार्य नै महाअपराध हो । आज यसो भन्नेले सरकारी कार्यलयमा सर्वसाधारणको मर्का बुझ्ने कार्य कसरी गरे होलान र गछर्न त्यो सहजै अनुमान लगाउन सकिन्छ । राजुमा यो बल कस्ले दियो यो यस्तै प्रबृती बोकेका तर दलको खोल ओढेका कर्मचारी संगठनहरुले दिएका हो जस्ले कर्मचारीले जस्तो सुकै अपराध गरेपनि बचाउने छौ भनेर संस्था खोलेका छन ।
    अव कुरा आयो चौहानको, चौहानको कुरामा राजुको दोश्रो तथा महागल्ती आएको छैन , फेसबुकमा रिसको झोकमा लेख्नु त समान्य नै मान्न सकिएला तर गलत कर्मचारीले सक्छौ भने लछार भन्नु भनेको आमजनतालाई सार्वजनिक सेवाका सेवकले चडकन हानेको अपराध हो । माओबादीको युद्धकालमा गाउमा कुलो साधमा सताउने चोरलाई गर्धन काटे जस्तै हो अर्थात गल्ती गर्नेलाई सजायको नाममा अर्को ठुलो गल्ती गर्नु राम्रो हैन । यो कुरा बुज्रुकहरुले नै नबुझ्नु पनि कि बामदेब वा दलिय बायस भएर हो वा सामाजिक घृणाको लहरमा बहकिएर नै हो । गलत कुरालाई गलत नै भनेमा पनि गाली पाइने जमना छ भन्ने त खरेल काण्डले देखाइहालेको छ ।

    Reply
    1. Prakash says:
      June 4, 2014 at 12:28 pm

      राजू साह सरकारी अधिकृत भनेपछि उहाले यो पद सुमीना घिमिरेले जनसेवाश्री पदवी पाएजस्तै कसैले अलंकार गरिदिएको भने होइन । यो अर्थमा उहा तपाई भन्दा धेरै बिबेकिनै मानिन्छ । नियम कानून आदि इत्यादि कुरामा उहा ज्ञातनै हुनुहुन्छ| राजू शाहको बिषयमा लेख्नु भन्दा राजू शाहको आक्रोश बुझने कोसिस गर्नुस । जनता देखि सरकारी कर्मचारी सम्म किन नेता देखि क्रुद्ध छन ? यो बिचार गर्नुस ।

      Reply
  8. Surendra Rai says:
    June 2, 2014 at 2:31 pm

    जसले जस्तो काम गर्छ जनताले उसलाई तेस्तई भान्छा . बामदेव ले काम तेस्तई गर्यो होला तेसै ले जनता हरुले लेख्यो येस्मा कुनै आपति हुनु नपर्ने हो .राजु सह ले मात्र लेखेको हो र लाखौ नेपालि जनताले लेखेको छ बाम देव को बारेमा .तेसैले राम्रो कम गर्नु पर्छ अनि सम्पूर्ण नेपालि जातले राम्रो कमेन्ट गर्छ .नत्र जनता ले सधै गालि गरेर कमेन्ट दिन्छा .

    Reply
  9. Surendra Rai says:
    June 2, 2014 at 2:19 pm

    जसले जस्तो काम गर्छ जनताले उसलाई तेस्तई भान्छा . बामदेव ले काम तेस्तई गर्यो होला तेसै ले जनता हरुले लेख्यो येस्मा कुनै आपति हुनु नपर्ने हो .राजु सह ले मात्र लेखेको हो र लाखौ नेपालि जनताले लेखेको छ बाम देव को बारेमा .तेसैले राम्रो कम गर्नु पर्छ अनि सम्पूर्ण याली जातले राम्रो कमेन्ट गर्छ .नतेअ एपली अनाताले सधै गालि गरेर कमेन्ट दिन्छा .

    Reply
  10. ram says:
    June 2, 2014 at 2:06 pm

    अब बामेले चौहान लै पनि छोद्दैना

    Reply
  11. Jimmi Rai says:
    June 2, 2014 at 1:21 pm

    यो सबै रमेश खरेलसँगको मनमुटाको तुश हो । रमेश खरेल देखि शाहसम्म शाह त एउटा पात्र मात्र हुन् यीनले यसो भनेको पनि बामदेव र रमेश खेरलविचको तुषले नै हो । यीनलाई दवाएर हजारौ जनताले माया गर्ने रमेश खरेललाई अलग गर्न सक्दैनन । हो उनले गल्ती गरेका छन् । छाडा शब्दको प्रयोग गरेका छन् । ढाडमा गोली हान्छु भन्दा हुन्थ्यो द्विअर्थी लाग्ने छाडा शब्दको प्रयोग गर्नेलाई जुन गाली बेइज्जती मुद्दा लाग्छ त्यसमा सिमित हुनुपर्छ न की साइवर कानून ।

    Reply
  12. SARJAN says:
    June 2, 2014 at 1:15 pm

    आफ्नो गल्ति नदेख्ने, कुर्सिको शक्तिले आफुलाई हान्ने साँढे सम्झने र देशमा लोकतन्त्र छ भन्ने तर व्यवहारमा निरङ्कुशतन्त्र देखाउने यस्ता नेताको तुलना कहाँ जापानी संग गर्नु खोज्नु भएको उमेश जी, यो त स्तरै नमिल्ले कुरा हो । यस्तो तुलनाले बिचरा जापानिजको बेइज्जत हुन्छ । तर यहि जापान मा बसेर आफुलाई सफल पत्रकारिता गरेको सम्झने nepalsandesh.comजस्ता अनलाइन पत्रिकाले सम्पादन गरेको समाचारले पनि राजु साहको फेसबुकको कम्मेन्टलाई तिललाइ पहाड बनाएको हो । सयैा कमेन्ट रहेकोमा यी पत्रकारलाई प्रशासन कार्यालयको अधिकृतको कमेन्टमा मात्रै आखा गएछ अनि त्यसको स्क्रीन सट समेत लिएछ र घमण्डका साथ लेख्छ उत्तेजक कमेन्ट डिलिट गरेको छ तर हामी संग सुरिक्षत भनेर । सारा नेपाली बामदेवको नियम मिचेर बाटो काटेको कुरामा कारवाहीको कुरागर्दै थियो तर nepalsandesh.comभने कुन सरकारी कर्मचारीले बामदेव बिरुद्ध कमेन्ट गर्ला र समाचार सनसनी बनाउला भनेर कुरेर बसेको जस्तो देखिन्छ, यसमा सोच्छ पत्रकारिता भन्दा पनि पूर्वाग्रही भएर लेखेको देखिन्छ किनभने समाचार लेख्ने चाही राजु साह कार्यरत लहान को शम्भु यादव देखिन्छ । समचार को लागि तलको लिंक हेर्नुस –
    http://www.nepalsandesh.com/2014/05/28/89822

    Reply
  13. Karna says:
    June 2, 2014 at 1:10 pm

    सरकारी अधिकृत, अझ त्यहि पनि गृह मन्त्रालय अन्तर्गत कै, भएर “गोली ठोक्ने” भन्ने कमेन्ट मिलेन, अंह सुहाएन पटक्कै| भोलि यस्ता अधिकृत सीडीओ भए भने के गर्ला? कतिले त् अड्डाका काम नगरेर फेस बुकमै रम्दो हो सरकारी तलब भत्ता खाएर| साह्जी पनि त्यसैमा पर्नुभो वा पर्नुहुन्न भन्न सक्दिन| तर जे बोलिन्छ अनि मनमा जे आयो त्यही सामाजिक संजालमा लेखेर उम्कन पाइन्छ भन्दा हुन्| कि छोड्न पर्यो सरकारी जागिर पहिला| आफ्नै मंत्री हुन् वा जो सुकै, आफ्नो बिरोध जनाउने अधिकार सबैलाई
    हुनपर्छ | तर सामान्य डिसिप्लिन र मान मर्दनको सीमाभित्र रहेर पनि घोर बिरोध जनाउन सकिन्छ| नटेरनेलाई कानुन बमोजिम नै तह लाउनु पर्छ| साहजीलाई गतिलै कारवाही हुनपर्छ|
    त्यसको मतलब मन्त्रि बामदेवलाई हल्कै छाडी दिनपर्छ भन्ने होइन| उदाहरण बन्न नसके पनि नियम उल्लङ्घन गर्न नसक्नेलाई पनि कारवाही हुनपर्छ| मन्त्रिज्युले सार्बजनिक रुपमा क्षमा माग्न पर्यो|

    Reply
  14. मनु क्षेत्री says:
    June 2, 2014 at 12:22 pm

    नैतिकता भन्ने के हो यस लाइ के थाहा होइन भने आफ्नो विषयमा मौन बसेर कर्मचारी र सर्वसाधारणमाथि कानुनको तरबार उठाउने हिम्मत नगर्नुपर्ने हो ।
    डिआइजी नारायण बास्ताकोटी, गणेश राई, यादब अधिकारी, परशुराम खत्री र सुशीलवरसिंह थापाले बढुवामा आर्थिक चलखेल भएको छ । हामीमाथि अन्याय गरिएको छ पैसाको लेनदेन गरेर । त्यसैले त्यो नियमसम्मत भएन । छानबिन गरि पाऊँ, न्याय पाऊँ भन्दै लोकसेवा आयोगमा उजुरी हालेपछि दैत्य ले भ्रस्टाचार गरेको सिद्द भएन र ? एमालेले भन्न सक्छ उजुरीकर्ता पाँचै जना डि आइ जीहरु एमाले बिरोधी, गृहमन्त्री बिरोधी हुन् भनेर ? तर सत्य कति दिन दब्ला र

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme