देशको प्रमुख अखबार अपडेट २ : ‘कान्तिपुर’ले आज क्षमा याचना गरेको छ। कान्तिपुरमा आइतबार छापिएको समाचारका केही अंश ‘नागरिक’मा शुक्रबारै छापिसकेको समाचारका केही अंश हुबहु रहेकोबारे हिजो माइसंसारमा ब्लग लेखिएको थियो। कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले हिजै ट्विटबाट ‘गम्भीर गल्ती’प्रति क्षमा मागिसकेका थिए। आज पत्रिकामा पनि क्षमायाचना छापिएको छ। विश्वका ठूल्ठूला अखबारहरुले पनि गल्ती गरिरहेका हुन्छन्, उनीहरु त्यसलाई सच्याउँदै क्षमा पनि माग्छन्। नेपाली पत्रकारितामा भने गल्ती सच्याउनभन्दा पनि लुकाउन पत्रकार/सम्पादक लाग्ने अनुभव हामीले भोग्दै आएका हौँ। पछिल्लो उदाहरणै हेरौँ- डा. भक्तमान श्रेष्ठको अपहरण माओवादीले गरेको किटेर समाचार लेख्ने बेला सम्पादकीय नेतृत्वमा बस्ने पत्रकारहरु अहिले इथिक्स सिकाउँदै हिँड्छन्, जबकि प्रहरी अनुसन्धानले त्यो गलत देखाइसकेपछि माफीका दुई शब्द लेखेको भए उनीहरु सानो हुने थिएनन्। त्यति नगरेर उनीहरुले पत्रिकाको इमेज कसरी डुबाए? त्यो पत्रकारितामा चाख राख्ने सबैले याद गरेकै छन्। सुधीर शर्मा बरु फरक किसिमका सम्पादक ठहरिएका छन्। उनी सोसल मिडियामा पनि जिम्मेवार हुन्छन्। उनले हिजै सोसल मिडियामा माफी मागिसकेका थिए। आज पत्रिकामा पनि स्पष्ट शब्दमा ‘नागरिक दैनिकबाट सारिएको पाउँदा हामीलाई लज्जाबोध भएको’ लेख्दै गम्भीर गल्तीप्रति सबै पक्षसँग क्षमा मागिएको छ। काम गर्दा गल्ती पक्कै हुन्छ। त्यसलाई लुकाउने हैन समयमा नै स्वीकार गरी सच्याउनु नै सही र जिम्मेवार कदम हो। जसले जे भनुन्, समकालीन सम्पादकहरुमा सुधीर शर्मा यो विषयमा बढी जिम्मेवार देखिएका छन्। अरुले पनि उनीबाट सिकून् !
‘नागरिक’ को समाचार ‘कान्तिपुर’मा हुबहु
अपडेटः कान्तिपुर सम्पादक सुधीर शर्माले ट्विट गर्दै गल्तीप्रति क्षमा मागेका छन्। उनको ट्विटभित्र एम्बेड गरिएको छ।
————————–
Published on: Jun 1, 2014 @ 13:17
शुक्रबार ‘नागरिक’मा छापिएकै समाचार आइतबार ‘कान्तिपुर’मा अर्कैको नाममा छापियो
पत्रकारिताको विकासका लागि स्थापित अर्ध न्यायिक निकाय नेपाल प्रेस काउन्सिलले भर्खरै एउटा तथ्याङ्क सार्वजनिक गरेको थियो। त्यसमा वर्गीकरणमा परेका २४७ मध्ये कुल १०८ वटा पत्रिका अर्काको सामाग्री चोरेर छापेबावत हुबहुको सूचीमा थियो। तथ्यांक अनुसार झण्डै ४४ प्रतिशत पत्रपत्रिका अरुको सामाग्री सारेर हुबहु पत्रकारिता गरिरहेका छन्।
देशकै एउटा प्रमुख तथा नम्बर वन पत्रिका कान्तिपुरले पनि हुबहु पत्रकारिता गर्छ भन्दा कसले पत्याउने ? तर मिडियाका समाचार अनुगमन गरिरहने ‘मिडिया कुराकानी’ले एउटा यस्तै अपत्यारिलो तथ्य सार्वजनिक गरेको छ। कलंकी–कोटेश्वर सडक निर्माण ठप्प रहेकोबारे यो समाचार नागरिकमा प्रवीण ढकालको नाममा शुक्रबार छापिएको थियो। यही समाचार केही लाइन मात्रै यताउता पारी आज आइतबार अशोक दर्नालका नाममा कान्तिपुरमा छापिएको छ। थोरै लाइन यताउता भए पनि प्रष्ट भन्न सकिन्छ, यो समाचार ‘नागरिक’बाटै हुबहु पत्रकारिता गरिएको हो।
हेर्नुस् नागरिकको समाचार
हेर्नुस् कान्तिपुरको समाचार
दुई समाचार सँगसँगै हेर्नुस्-
नागरिकको समाचार
कलंकी–कोटेश्वर सडक निर्माण एक महिनादेखि ठप्प
ड्राइभरले सेवासुविधा बढाउनुपर्ने लगायतका माग राखेर काम रोकेपछि कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको १० दशमलव ३९ किलोमिटर सडक खण्ड पूरै अस्तव्यस्त बनेको छ। विस्तारका लागि खनिएका क्षेत्रमा पानी पर्दा हिलाम्मे हुनुका साथै सडकको दायाँबायाँ निर्माणका लागि तयार पारिएको सहायक सडक खण्डमा पानी जमेर हिँड्न नमिल्ने अवस्था छ। खाल्डाखुल्डीमा सवारी दुर्घटनाको दर बढेको छ।
काठमाडौं चक्रपथ सुधार परियोजनाका इन्जिनियर प्रदीप श्रेष्ठका अनुसार ड्राइभरहरुको १६ दिनको हडताल र केही दिन निर्माणका लागि आवश्यक सामग्री आउन नसक्दा काम रोकिन पुगेको हो। ‘निर्माण कम्पनीसँग कुरा नमिलेर ड्राइभरले हडताल गर्दा काम पूर्ण रुपमा रोकिन पुगेको हो,’ उनले भने, ‘निर्माणको काम रोकिँदा उक्त खण्डमा गुड्ने सवारीदेखि पैदलयात्रीलाई धेरै समस्या पर्न गयो।’ काम रोकिएपछि परियोजनाले निर्माण व्यवसायीलाई छिटो काम सुरु गर्न पटकपटक आग्रह गरेको उनले बताए।
सडक निर्माणको जिम्मेवारी चीनको संघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले पाएको छ। कम्पनीले सम्झौताअनुसार गत मार्च १५ बाट निर्माणको काम सुरु गरेको हो। तर, तीव्र रफ्तारमा भइरहेको काम वैशाख तेस्रो सातादेखि भने ठप्प हुन पुगेको छ। परियोजना र स्थानीयले काम रोकेको विषयमा विरोध जनाएपछि कम्पनीले ड्राइभरको मागका विषयमा छलफल गरी विवाद सल्टाएको इन्जिनियर श्रेष्ठले जानकारी दिए। ‘उहाँहरुको विवाद मिलेको छ,’ उनले भने, ‘अब काम सुरु हुन्छ।’
निर्माणक्रममा भएको विवादकै कारण चैतभित्र निर्माण गरिने भनिएको ५ सय ५० मिटरको नमुना सडकको कामसमेत रोकिन पुगेको छ। विवादअगाडि विस्तारको काम तीव्र रुपमा बढेको उक्त सडकमध्ये पहिलो चरणमा गत चैतभित्र ललितपुर भनिमण्डलदेखि एकान्तकुनासम्मको पाँच सय ५० मिटर लामो सडकलाई नमुनाका रुपमा निर्माण गरिने योजना थियो। तर, निर्माणक्रममा ड्राइभर तथा अन्य कर्मचारीले विवाद निकालेपछि काम रोकिन पुगेको हो।
आठ लेनको उक्त सडकमा चार लेनको तीव्र रफ्तारको मुख्य सडक हुनेछ। यस्तै बाँकी रहेको चार लेनमा भने सडकका दुवैतर्फ सातसात मिटरको दुईदुई लेनका सहायक सडक हुनेछन्। सडकबाहेक उक्त सडकमा साइकल लेन र दुई दशमलव पाँच मिटरको फुटपाथ हुने परियोजनाले जनाएको छ। एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा बाटो काट्नका लागि आकाशे पुल रहनेछन्।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ४० महिनाभित्र निर्माण सम्पन्न हुने गरी कम्पनीसँग २०१२ डिसेम्बर १८ मा सम्झौता भएको थियो। सम्झौताअनुसार सबै सडक निर्माणको काम २०१६ मे १५ मा सकिनेछ। १० दशमलव ३९ किलोमिटर लामो कलंकी–सातदोबाटो–कोटेश्वर सडक तीन सय १२ मिलियन युवान अर्थात पाँच अर्ब ९ करोड नेपाली रुपैयाँमा निर्माण हुन लागेको हो।
निर्माणमा चिनियाँ प्राविधिक र उनीहरुकै डिजाइनका आधारमा सम्पूर्ण संरचना निर्माणको काम अगाडि बढिरहेको इन्जिनियर श्रेष्ठले जनाए। कलंकी क्षेत्रमा गाडीको अत्यधिक चाप हुने भएकाले त्यसलाई व्यवस्थित गर्न भूमिगत मार्ग पनि बनाइने डिभिजन कार्यालयले जनायो। बल्खुबाट कलंकी हुँदै स्वयम्भुतर्फ जाने गाडीलाई भूमिगत मार्ग तथा नैकाप कलंकी हुँदै कालिमाटी जाने सवारीसाधन भने यथास्थानबाट जाने व्यवस्था मिलाइने कार्यालयले जनाएको छ।
कान्तिपुरको समाचार
कोटेश्वर-कलंकी सडकको निर्माण रोकियो
ललितपुर, जेष्ठ १७ –
मूल सडकका दायाँ-बायाँ विस्तारका क्रममा भत्काएर छाडिएका अव्यवस्थित सहायक सडक । कोटेश्वर-सातदोबाटोसम्म कहीं ठूला त कहीं साना गरी १३ वटा खाल्डाखुल्डी छन् । कतै ढल जमेर डुङडुङ्ती गन्हाउँछ त कतै निर्माण सामग्रीको थुप्रो भेटिन्छ । भत्काइएका सडक संरचना आसपास क्षेत्रमा डोजर, स्काभेटर तथा निर्माणका अन्य उपकरण यत्रतत्र छरिएकै अवस्थामा छन् ।
महिनादेखि कलंकी-कोटेश्वर चक्रपथ सडक खण्डमा यस्तै बेथिति देखिएको छ । चीन सरकारको सहयोगमा मार्च १५ देखि सुरु सडक निर्माण एक महिनादेखि हुन सकेको छैन ।
मुख्य सडक ४ लेनको हुनेछ । सेपेरेटरसहित दुवैतर्फ ७/७ मिटर चौडाइको २ लेन, साइकल लेन र फुटपाथ बनाउन भत्काइएका संरचनाको काम अपूरो नै छाड्दा निर्माणाधीन सडक यतिबेला बेहाल बन्न पुगेको छ ।
सडक निर्माणमा संलग्न ड्राइभरले सेवासुविधाको माग राखी हडतालमा उत्रेपछि निर्माण अवरुद्ध भएको हो । विस्तारका लागि खनिएका क्षेत्रमा पानी पर्दा हिलाम्मे हुनुका साथै दायाँ-बायाँ निर्माणका लागि तयार पारिएका सहायक सडक खण्डमा पानी जमेर हिंड्न नमिल्ने अवस्था छ । खाल्डाखुल्डीमा सवारी दुर्घटनाको दर बढेको छ ।
महानगरीय ट्राफिक प्रहरी वृत्त ललितपुरका अनुसार कोटेश्वर- कलंकीसम्मको सडक खण्डमा पछिल्ला चार महिनामा ८७ दुर्घटना भएका छन् । दुर्घटना हुनुको प्रमुख कारण्ा निर्माण्ााधीन सडकमा बिजुलीको पोल, खानेपानी पाइप र ढल जडानका लागि खनिएका खाल्टा नै हुन् । वृत्तका अनुसार माघमा बालकुमारीदेखि सातदोबाटोसम्म २१ मोटरसाइकल र २ वटा टि्रपर भ्यान दुर्घटनामा परे । फागुनमा भने १४, चैतमा २३ र वैशाख २५ सम्म २१ वटा सवारी साधन दुर्घटनामा परे । ट्राफिक प्रहरी वृत्त ललितपुरका प्रमुख शेरबहादुर चन्दले भने, ‘सडक निर्माण्ाका नाममा बीच भागमा खाल्टो पारिएको, धूलोले छोपिएको खाल्टोकै कारण्ा पहिलाभन्दा अहिले दुर्घटना बढेको हो ।’
सडक निर्माण कम्पनीले अव्यवस्थित र लापरबाही तरिकाले काम थालेको काठमाडौं चक्रपथ सुधार योजनाले जनायो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार सवारी साधन गुड्दै गरेको सडक निर्माण गर्दा रातो रिबन वा बाँसले सडक दायाँ-बायाँ बाँध्नुपर्छ । त्यसले गर्दा सवारी साधन दुर्घटना हुनबाट जोगिन्छन् । त्यस्तै सडक निर्माण भइरहेको सडकमा धूलो उडाउन पाइँदैन । निर्माण अवधिमा धूलो उडेमा पानी हाल्नुपर्छ । तर यो कोटेश्वर-कलंकी सडक खण्डमा न त रिबन वा बाँस बाँधिएको छ । न त धूलो रोक्न पानी हालिएको छ । दुवै कार्य नगरी अव्यवस्थित रूपमा सडक निर्माण काम गरिरहेको भन्दै सुधार योजनाले त्ात्काल धूलो रोक्न र सडक दायाँ-बायाँ बाँसले बाँध्न अनुरोध गर्दै ५ वटा पत्रसमेत पठाएको थियो । तर आफूहरूले पठाएको पत्रको बेवास्ता गरी निर्माण थालिएको योजना प्रमुख अशोक तिवारीले बताए ।
योजनाका इन्जिनियर प्रदीप श्रेष्ठका अनुसार ड्राइभरहरूको १६ दिनको हडताल र केही दिन निर्माणका लागि आवश्यक सामग्री आउन नसक्दा काम रोकिएकोे हो ।
योजनाका अनुसार काम रोकिएपछि परियोजनाले निर्माण व्यवसायीलाई छिटो काम सुरु गर्न पटक-पटक आग्रह गरेको छ । योजनाले बिजुलीको पोल ढल, पाइप र खानेपानीको पाइप निर्माण सुरु हुनुभन्दा अघि नै व्यवस्थापन गर्न खानेपानी लिमिटेड र विद्युत् प्राधिकरणलाई गत वर्षमा नै ३/३ करोड दिइसकेको छ । तर पैसा निकास भएर पनि समयमै काम नगर्दा निर्माण झनै अव्यस्थित बनेको योजनाको दाबी छ ।
सडक निर्माणको जिम्मेवारी चीनको सांघाई कन्स्ट्रक्सन गु्रप कम्पनी लिमिटेडले लिएको छ । कम्पनीले सम्झौताअनुसार गत मार्च १५ बाट काम सुरु गरेको हो । तर, वैशाख तेस्रो सातादेखि भने ठप्प छ । परियोजना र स्थानीयवासीले काम रोकेको विषयमा विरोध जनाएपछि कम्पनीले ड्राइभरको मागका विषयमा छलफल गरी विवाद सल्टाएको इन्जिनियर श्रेष्ठले जनाए । ‘उहाँहरूले राख्नुभएको मागमा सहमति भएको छ,’ उनले भने,’अब चाँडै काम सुरु हुन्छ ।’
निर्माणक्रममा भएको विवादकै कारण चैतभित्र निर्माण गरिने भनिएको ५ सय ५० मिटरको नमुना सडकको कामसमेत रोकिएको छ । विवादअगाडि विस्तारको काम तीव्र रूपमा बढेको उक्त सडकमध्ये पहिलो चरणमा गत चैतभित्र ललितपुर भनिमण्डलदेखि एकान्तकुनासम्मको ५ सय ५० मिटर लामो सडकलाई नमुनाका रूपमा निर्माण गरिने योजना थियो ।
सडकमा चार लेनको तीव्र रफ्तारको मुख्य सडक हुनेछ । यस्तै बाँकी रहेको सडकको दुवैतर्फ सात-सात मिटरको दुई-दुई लेनका सहायक सडक हुनेछन् । सडकमा साइकल लेन र दुई दशमलव पाँच मिटरको फुटपाथ हुने परियोजनाले जनायो । यस्तै एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा बाटो काट्नका लागि आकाशेपुलसमेत राखिनेछ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ४० महिनाभित्र निर्माण सम्पन्न हुने गरी कम्पनीसँग २०१२ डिसेम्बर १८ मा सम्झौता भएको थियो । सम्झौताअनुसार सबै सडक निर्माणको काम २०१६ मे १५ मा सकिनेछ । १० दशमलव ३९ किलोमिटर लामो कलंकी-सातदोबाटो-कोटेश्वर सडक ३ सय १२ मिलियन युआन अर्थात् ५ अर्ब ९ करोड नेपाली रुपैयाँमा निर्माण हुन लागेको हो ।
प्रकाशित मिति: २०७१ जेष्ठ १८ ०९:४६
दुवै समाचारलाई हेर्दा कान्तिपुरको समाचारमा थोरै परिमार्जन देखिए पनि लाइनका लाइन हुबहु सारेको प्रष्टै देखिन्छ।
यसअघि पनि कान्तिपुरमा हुबहु प्रकरणमा ‘आलु’ कान्ड भइसकेको छ। कान्तिपुरको शुक्रबारे अंक “हेल्लो शुक्रबार” को विकी टेक स्तम्भमा न्युयोर्क टाइम्स, टेलीग्राफ लगायत अन्य पत्रिकामा प्रकाशित “टेक्नो न्युज” हुबहु नेपाली भाषामा अनुवाद गरेको बिषयमा सामाजिक संजाल फेसबुक र टुइटरमा ब्यापक आलोचना भएको थियो। त्यसबेला भोजराज दाहालले लेखेको ब्लग पढ्नुस् (सर्भर सार्ने क्रममा कतिपय स्क्रिनसटहरु भने हराएका छन्)
यस पटक भने अंग्रेजीबाट नभई प्रतिस्पर्धी मिडियाको नेपाली भाषाबाट नेपाली भाषामै हुबहु देखिएको छ। अरुका लागि मार्गदर्शक बन्नुपर्ने देशको अग्रणी पत्रिका आफैमा यसो हुनुमा समाचार लेखक मात्र हैन, डेस्क र सम्पादकीय नेतृत्व पनि उत्तिकै जिम्मेवार हुनुपर्छ।
अपडेटः कान्तिपुर सम्पादक सुधीर शर्माले ट्विट गर्दै गल्तीप्रति क्षमा मागेका छन्। उनको ट्विट-
@Dahal_Shankar यो गम्भीर गल्तीप्रति माफी माग्दै सम्वन्धित संवाददातामाथि छानवीन भईरहेको जानकारी गराउँदछु । @dharmaadhikari @mediakurakani
— SUDHEER SHARMA (@sudheerktm) June 1, 2014
यो गल्ती आफ्नै ठाउँमा छ । त्योबाहेक ‘कान्तिपुर’ वास्तवमा आजकल धेरै व्यवसायिक हुँदै गइरहेको छ । छाप्नुपर्ने समाचारभन्दा पनि आर्थिक रुपले आपूmलाई जे छाप्दा फाइदा हुन्छ त्यही मात्रै छापिरहेको हुन्छ । एनसेल, रियल जुस, चौधरी ग्रुपको ठगी लगायतका विरुद्धमा कान्तिपुरले खासै लेखेन । विज्ञापनको जो कमाल छ । कान्तिपुर टुक्रिएर नागरिक जन्मियो । तर नागरिक पनि झन्डै कान्तिपुरकै बाटोमा हिँड्न लागेको छ । विज्ञापनको जो कमाल छ । आजकल त बरु फेसबुकमै सत्य समाचार पढ्न पाइन्छ ।
मत यत्ति भन्छु सम्पादकका आँखा १०० वटा हुँदैनन चारै तिर हेर्न भ्याउँदैनन उनले जेगरे पत्रकारको विश्वासमा गरे पत्रकार बैमानी निस्किन्छ भने सम्पादकको के दोष अहिले विनासित्ती माफी माग्नु प¥यो यो उनको बड्प्पन हो । Hats off
देशमा समाचार योग्य कुरा भए पो पत्रकारलाई खुराक मिल्छ । समाचार योग्य विषय १-२ हुन्छन् विज्ञापन १२-१५ पेजको बनाउनै पर्यो । समाचार पनि दिए जस्तो गर्यो । यौटा पल्टायो उही अर्को तिर पल्टायो उही । भारत तिर घुम्न जाँदा गाडी रोक्ने ठाउँका डावा पसलेले खानेकुराको भेराइटी बारे विज्ञापन गरेको सुनिन्थ्यो । आलु जिरा, जिरा आलु, प्याज आलु, आलु प्याज, चिकन करी, मटन करी, …………. भन्दै । आखिर खाना अर्डर गर्नेले आलु जिरा मगाओसकि आलु प्याज पाउने उही हो । यो समाचारमा पनि “आलु जिरा, जिरा आलु” नै होला सके सम्वाददाताको नाम पनि नक्कली नै होला । सम्पादक मण्डलीले कपी पेस्ट ठोकि दिए कि ! त्यति भए टन्टै साफ, खल्ति पनि भरिने सम्वाददात पनि नचाहिने । कन्सल्ट्यान्सीको रिपोर्ट र पत्रकारको रिपोर्ट उस्तै जस्तो छ हाम्रो देशमा । कभर पेज र शिर्षक फेर्यो । बिचराहरू कहिले कहीँ झुक्किएर पूर्वको हुनु पर्नेमा पश्चिमको भन्ने चाहीँ सच्याउनै भुल्छन र पो । सम्बाददाता समाचार सङ्कलन गर्ने बेलामा डेटिङ गए कि ! जागिर जोगाउन लेख्नै पर्यो समय त सोच्ने भन्दा सार्ने मात्रै बच्यो होला के गरुन विचरा !
कान्तिपुरको, नागरिकको समचार सेटोपाटी देखि अनलाइन खबर हुँदै अन्य अनलाइनमा पनि जान्छ ! त्यो पनि त मिलि भगत नै होलानी हैन र ? अर्काको समचार हाले पछी साभार भनेर लेख्नु पनि पर्लानी ! सब चोरका खन्तीहरु ! के पत्रकारिता गर्छन !
१६ पेज मा 12 पेज त बिज्ञापन ले नै भरिएको हुन्छ कान्तिपुर, तेस्मा पनि एस्तो लापरवाही
अझै नेपाली भाषा पनि कति अशुद्ध देखेको छु लेख हरु मा
चोरिपुर दैनिक !!!!!!!!!!
दिलो ज्यान दिएर 10 to 5 बजाउने पत्रकारले पांच सात महिना तलब पाएनन् भन्ने खबरले त छक्क परेको थिएन | यो कुनै छक्क पार्ने कुरा होइन | भात मारेर Ten to Five बजाउने जताततै व्याप्त छन् नेपालमा | तेसै लालबाबु डुक्रेका छैनन् | अझ येस्तैले साथिभाइको हुलमा फुर्ति लाउछन “साला मैले आज second बनाइ दिएँ तेस्लाई” भनेर |
गल्ति प्रति क्षेमा माग्दै tweet मात्रै गरिरहने कि, आरोपित पत्रकार लाइ निलम्बन गरि छानबिन गरि “बाबु तिमि यो पेशा गर्न लायक छैनौ, बरु जाउ बाख्रा चराउ” भन्न सक्ने सम्पादकीय नेतृत्व र निर्णय गर्न सक्ने क्षेमता को प्रदर्शन गर्ने हो सुधीर जी?
हँसायो कान्तिपुरले पनि….!!!!! हुन त चोर डाँका हरुकै दिन छ यो मुलुक मा…….!!!! चोरबाद जिन्दाबाद…….!!!! भैरब अर्याल का पंक्ती याद आयो…..”चोरी चकारी नगरी चतुर्याई हुन्न दंगा फसाद नगरे इज्ज़तई रहन्न………….!!!!”
राम्रो गरेछन!
अंशबन्डा नहुने मात्र हो आखिर चोर चोर दाजुभाइ त हो!
हो यसरी एक अर्कामा मिलेर पालोपैचो गरि अघि बढेमा पत्रकार र पत्रकारिता पनि निक्कै उभो लागि छिट्टै मुक्ति प्राप्त गर्नेथियोहोला! अब एमाओबादीले (एकता आह्वान गरे) जस्तै यी दुई पनि छुट्टिएका हूंन अब यसैगरी एकता आह्वान गरि एकै बनाय हामि पाठक हरूले दुई दुई तीर समय र पैसा खर्चिनु नपरी देशको धन् र समय आदि जोगिन गै अन्य उर्जाशिल र निर्माण आदि कुरामा उपयोगी हुनेथियो!
यो केसमा यहाँ समाउनु पर्ने चाही चोरी गर्ने पत्रकार लाई हो जस्तो लाग्छ ? कि दुवै पत्रिकामा अलग अलग नामले छपाएर दाम बनाउने मेलो हो ? कान्तिपुरले यी पत्रुकारलई कस्तो कारबाही गर्ला ? कि “आलु ” को प्रकरण जस्तै प्राबिधिक त्रुटी भनेर पन्छिने मात्र हो ? हेर्न बाकि छ ..