“हजारौं किलोमिटर टाढाबाट चुनामी आउँदै गरेको जटिल कुरा समेत कुनै यन्त्रबिना थाहा पाउन सक्ने, सुंडको दबाबले आफ्नो शरीर धान्न सक्ने वा नसक्ने जमिन चाल पाउने, विशाल शरीर, चारवोटा खुट्टा, त्यसमाथि थपुवा सुंडसमेत भएको, तर अहिलेसम्म आलुधरि पोलेर खान नजान्ने हात्ती जस्ता जनावरलाई, अनि कोइली जस्ता कागको फुल समेत चोर्न सक्ने चराहरुलाई, जसरी मानिसको पूर्खा अस्ट्रालोपिदकस् अफरेनसिस् (Australopithecus afarensis) को दिमागमा ढुंगालाई हातले समातेर, बजारेर, फालेर बिबिध प्रयोग गर्दा मासु छुट्याउन, हड्डी फुटाउन र टाढैबाट हानेर ठुलोठुलो सिकारसमेत मार्न सकिँदो रहेछ भन्ने अन्तरदृष्टिको बत्ति बलेर, त्यही दिमाग बिकसित हुँदैहुँदै, ब्रमाण्डको कुनाकुना बिग्बिगी मच्चाउँदै शासन र रजाइं गर्न सक्ने आजको २१ औं शताब्दीको मानब दिमाग बन्न आइपुग्यो, त्यसरी नै तिनीहरुको दिमागमा पनि एकाएक अनुरुपता (analogy) को बत्ती बलेर मानिसलाई जस्तै झ्वाट्ट ज्ञान (enlightened) भयो भने तिनीहरुले के ताण्डव गर्छन् होला यो संसारमा ?” भन्दै कहिले काहीं म लामै घोत्लिन्छु र अनेकन् तर्कना गर्छु।
त्यस्तो हुन सक्दैन पनि कहाँ भन्न मिल्छ र ! आखिर मानवलगायत यो संसारमा अस्तित्वमा रहेका हरेक जीवहरु क्रमिक बिकास
र परिवर्तनको माध्यमबाटै अहिलेको अवस्थामा आइपुगेका न हुन्। हरेकको उत्पत्तिको आधार पनि एउटै हो। अस्तित्व रक्षाको क्रममा, कुनै पनि जीव कुनै पनि रुपमा परिवर्तन हुन सक्छ नै ! हाम्रो हिमाली भेकमा पाइने यार्सागुम्बा पनि कुनै एक जीवबाट अर्को जीवमा परिवर्तन हुने चक्र (Evolution Phase) मा छ जस्तै लागिरहेको छ मलाई त ! भ्यागुता, कछुवा, गोही, पेङ्गुइन आदि हेरेर जलचरबाट थलचर तथा उभयचर भएको कुरा त हामी सबैलाई करिब होला जस्तो लाग्छ, तर जमिनमै बस्ने सानो प्राणीबाट संसारको सबभन्दा ठुलो जनावर व्हेल बनेको, र अजंगको डाइनसोरबाट चरा बनेको कुराभने आफ्नै आँखाले प्रतक्ष देखे पनि होइन जस्तै लाग्छ जसलाई पनि। तर यी एकदमै प्रमाणित तथ्य हुन्।
त्यही ढुंगेयुगको हाम्रो पूर्खालाई जस्तै झ्वाट्ट ज्ञान (enlightened) भयो भने त सर्बप्रथम त हात्तीले मान्छेलाई खेद्थ्यो होला है! अनि कोइलीले पनि पत्तै लागाउन नसकिने प्रकृतिका अपराध गर्थ्यो होला है !
हुन पनि केके जाति जानेका हुन् चराहरुले पनि ! कसरी सिक्छन यिनीहरुले यस्तो विद्या !!
हमिंगबर्ड (Hummingbird) संसारको सबभन्दा साना चरा मध्येको एक हो। यसको सरदर तौल ६ ग्राम भन्दा पनि कम, र आयु ५ बर्ष जति हुन्छ। तर यसको शारीरिक तथा मानसिक शक्ति भने हामीले कल्पना पनि गर्न नसक्ने खालको हुन्छ। केही मात्रामा साना किराहरु खाए पनि यसको मुख्य आहार मधुरस (nectar) भनिने फूलको रस नै हो।
सामान्य अबस्थामा पनि हमिंगबर्डको मुटुको धड्कन ६०० पटक प्रति मिनेट हुन्छ भने छिटो उड्दा त १,२६० सम्म पुग्छ। यिनीहरु तल, माथि, दायाँ, बायाँ, उल्टो, सुल्टो, जता जसरी पनि उड्न सक्छन्, र फाइटर प्लेन वा हेलिकप्टरझैं आकाशमै एकै ठाउँमा टक्क अड्न पनि सक्छन्। उड्दा उदेश्य अनुरुप १ सेकेन्डमा ५०-२०० टककसम्म पखेटा फटफटाउंछन्। बास्तबमा हमिंगबर्डस् हावामा पौडी नै खेल्छन् भने पनि हुन्छ। यिनीहरुको मुटुको धड्कन र पखेटाको चाल एकदम बढी हुने भएकोले एकातर्फ शरीरको शक्ति अत्यधिक बढी प्रयोग हुन्छ भने अर्कोतर्फ एकदमै साना चरा भएकोले यिनीहरुको धेरै शक्ति संचय गर्ने सक्ने जत्रो शरीर नै हुँदैन। तसर्थ यिनीहरुलाई एक घण्टाभित्रै पनि धेरै पटक खानु पर्छ। त्यो पनि एकदम छिटो शरीरमा लागी तुरुन्तै शक्ति दिन सक्ने मधुरस जस्तै खाने कुरा।
यिनीहरुलाई प्रत्येक दिन आफ्नो शरीरभन्दा दुईगुणा बढी तौल बराबरको खाना खानु पर्छ। अन्यथा रातमा भोकले मर्नै पर्ने हुन्छ। त्यसैले यिनीहरुले १ दिनमा १,००० वोटासम्म फूलको रस खान्छन्। रस खाइसकेको फूल पनि अलक्कै चिन्छन्। खाने गति पनि यस्तो हुन्छ की १ सेकेन्डमा १३ भन्दा बढी पटक फूलबाट रस तान्न सक्छन्। फूलको रसमा २५% सम्म चिनी (glucose) को मात्रा हुन्छ। ग्लुकोस यस्तो पदार्थ हो जुन खानेबित्तिकै शरीमा लागी शक्ति दिइहाल्छ। कतिपय अवस्थामा बिमारीलाई गुल्कोजसहितको सेलाइन (saline) दिनुको अर्थ पनि त बिमारीले रोग अथवा कमजोरीसंग लड्न तत्काल शक्ति प्राप्त गरोस भनेर हो। मधुरस बाहेकको कुनै पनि खानेकुराले यिनीहरुको शरीरलाई शक्ति पुग्दैन। यस्तो खाना खाँदा पनि लामा रातमा भोकले मर्नसक्ने सम्भाना अझै बाँकी रहन्छ।
तथापि यनीहरुले लामो समय त होइन, केही समय भोकले मर्नबाट जोगिन २ प्रकारका तरिका अपनाउँछन्। यिनीहरुमा एकातर्फ आफ्ना भुत्लालाई शरीको ताप बाहिर जान नसक्नेगरी शरीरमै बिशेष प्रकारले लेपन गर्ने सीप हुन्छ भने अर्कोतर्फ आफ्नो शरीरको मेटाबोलीजम (Metabolism) को साथै मुटुको धड्कनसमेत प्रतिमिनेट ५० सम्म घटाउन सक्ने क्षमता पनि हुन्छ। यो झन्डै हाइबरनेशन (hibernation) को अवस्थामा पुगे जस्तै हो।
अनुसन्धानकर्ता इन्जिनियरहरुले यिनीहरुको उड्ने तरिका र क्षमता युद्ध बिमान तथा हेलिकप्टरको जस्तो बायुगती बिज्ञान (aerodynamics) संग सम्बन्धित भएको पाएका छन्।
हमिंगबर्ड करिब ३५० प्रकारका हुन्छन्। प्राय सबै ठाउँमा पाइए पनि यिनीहरुको संख्या अमेरिकामा बढी छ। यिनीहरु खानाको खोजीमा दक्षिणी अमेरिकाबाट उत्तरी अमेरिकासम्म, र अलास्कादेखि हवाईसम्मको हजारौं किलोमिटरसम्मको अस्थाई बसाईं सराइंको यात्रा गर्दछन्। उत्तरी अमेरिकामा जाडोयाम सुरु भएपछि मेक्सिको र दक्षिणी अमेरिकातर्फ बसाईं सर्छन भने गर्मी सुरु भएपछि पुनः उत्तर मै फर्किन्छन्। बसाइं सर्दा प्राय उही बाटो भएर यात्रा तय गर्दछन्। यात्रा थाल्नुभन्दा केही समय अगाडिदेखि एकदम धेरै खाएर, कठोर हाइबरनेशनको माद्यम अपनाएर आफ्नो तौल डबलसम्म बनाउछन्। यिनीहरु करिब ८० किमी प्रतिघन्टा सम्मको गतिमा लगातार १२ घन्टासम्म उड्न सक्छन्।
हमिंगबर्डले गुंड बनाउंदा पनि सबभन्दा बढी चरा मार्ने सिकारीचरा बाजको गुंडको ठिक तल बनाउँछन्। त्यसो गर्नुको कारण अनुसन्धानकर्ताहरुले के पत्ता लगाए भने एकातर्फ हमिंगबर्डका शत्रु चरा नै बाजका मन पर्दा मुख्य आहार रहेछन भने अर्कोतर्फ हमिंगबर्ड खाएर “गहतको झोलमा जात फाल्नु” जस्तै हुने भएर हमिंगबर्डलाई बाजले नमार्दो रहेछ।
यिनीहरु लोप हुनलागेका चरामा गनिन्छन्, तर नयाँ परिस्थितिसंग जुझ्न एकातर्फ आफ्ना ठोंडलाई पनि फूलहरुको आकारअनुसार ढाल्दै गएका छन् भने अर्कोतर्फ पुराना रुट पनि परिवर्तन गर्दै आफूलाई बढी अनुकुल पर्ने स्थानतर्फ आफ्नो बसाइं सराइंलाई लम्काउँदै लागेका छन्।
पोथी हमिंगबर्डको भाले छान्ने तरिका पनि गजबको, चाखलाग्दो र रमाइलो हुन्छ, तर त्यसकोबारेमा यो लेखमा चर्चा गरिएको छैन।
क्यानडा गीस् (Canada Geese) नामक जंगली हाँसहरु करिब १३ प्रकारका हुन्छन, र यिनीहरु २४ बर्षसम्म पनि बाँच्न सक्छन्। यिनीहरु एक प्रकारले कर्यांगकुरुंग जस्तै हुन। यिनीहरु पनि प्रत्येक बर्ष जाडोको मौसममा बढी जाडो हुने उत्तरी भेकबाट हजारौं किलोमिटर टाढा अमेरिका तथा क्यानडाको दक्षिण-पश्चिमतर्फ अस्थायी बसाईं सर्दछन्। बसाइं सर्ने तयारीको बेला र उडान भर्दाको यिनीहरुको संचार गर्ने तरिका आर्मी पुलिसको जस्तै हुन्छ। बसाइं सर्नुं केही दिन अघि मुख्य लिडर लगायतका केही भालेहरुले भाँचिएका प्वाँख झार्छन्, सद्धेजति मिलाउंछन्, अनि पुच्छर उम्रिने डन्ठोको टुप्पोबाट चिल्लो पदार्थ निकाली आफूले पनि पखेटाका हरेक प्वाँखलाई मालिस गर्छन भने अरुलाई पनि त्यसै गर्ने आदेश दिन्छन्। त्यसपछि सम्पूर्णले उभिएकै अवस्थामा केही दिन पालैपालो ठुलो बेगमा उडेजस्तो प्रकारको अभ्यास गर्छन्। सबै तयारी पुरा भएपछि उड्ने दिनमा नेताले ठुलो स्वरले तयारीको बारेमा सोध्छ। जब संपूर्णबाट तयारीको जवाफ आउँछ सबैले अन्तिम पटक पानी खान्छन्। अन्तमा नेताले अन्तिम ठुलो अवाज दिंदै ल लागौं भन्दै सुरुमा प्रस्तान (take-off) गर्दछ। सबभन्दा अगाडिको पङतीको बिचमा नेता, नेताको दायाँबायाँ उप-नेताहरु, र तिनीहरुको पछाडिपछाडि अन्य सदस्य लाम लागेर भी(V)-आकारमा उड्छन्।
बसाइं सराइंको यात्रा गर्दा यिनीहरु एकै पटक सयौंको संख्यामा प्रस्तान गर्दछन्। हजारौं किलोमिटरको लामो दुरी तय गर्दा यिनीहरु करिब ८,००० मिटरको उचाइमा र प्रति घण्टा झन्डै १०० किमीको बेगमा २४ घण्टासम्म लगातार उड्न सक्छन्। उड्दै गर्दा हावाको चाप र बहावले बाधा पारेमा उप-नेता र नेताको बिचमा एक बिशेष प्रकारको आवाजको मध्यमबाट संचार स्थापित हुन्छ, र लिडरहरुले सल्लाह गरिसकेपछि दायाँ, बायाँ, तल वा माथि कतातर्फको कोणमा कति ढल्किनु पर्ने हो त्यही अनुरुप सबैलाई निर्देशन दिन्छन्।
यो V-आकारको लाम (formation) को अर्थको अनुसन्धान गर्दा एरोनटिकल इन्जिनियरहरुले के पत्ता लागाएभने बलिया लिडरहरु बिचमा ठुलो बलले उड्दा संपूर्ण हुलको उडान क्षमतामा २३% ले बृधि हुने, र संपूर्ण समूहको सालाखाला ३०-५०% शक्ति बचत हुँदोरहेछ।
पेङगुइन (Penguin) १७-२० प्रकारका हुन्छन। पानीमा ओलम्पिकको सबभन्दा छिटो पौडिने च्याम्पियन खालाड़ी जत्तिकै अथवा प्रति घण्टा करिब ८ किलोमिटरसम्म पौडिन सक्छन्। यिनीहरुको सन्तान उत्पादन गर्ने चक्र करिब १६-२४ महिनाको अनौठो हुन्छ। यिनीहरुले एकपटकमा एउटामात्र अन्डा पर्छन्। चल्ला बयस्क हुन पनि बर्षौं लाग्छ। प्रेमी-प्रेमिका बन्नुभन्दा पहिले भाले र पोथीको बिचमा संयुक्त रुपमा बच्चा हुर्काउने सम्झौता हुन्छ र पछिसम्म पनि प्राय सुरुकै प्रेमीसंग जीवन बिताउँछन्। यिनीहरुको शरीरको तापक्रम करिब १०४ डिग्री हुन्छ, र शरीरमा एकदमै बाक्लो बोसो हुन्छ, त्यसैले जाडोबाट बँच्न, अनि अग्लो ठाउँबाट पछारिंदा समेत बच्न सहयोग गर्दछ। यिनीहरुले अन्डा पार्ने परम्परागत ठाउँ (Traditional breeding ground) समुद्रबाट झन्डै ८० किमी टाढा हुन्छ। पेङगुइनको ६ लाखसम्मको एउटै समूह हुन्छभने एउटै छिमलमा ६० हजारसम्म चल्ला जन्मिन्छन्। पोथीहरुले अन्डा पार्ने समय आएपछि करिब ५ दिन अघि नै भाले गएर ठाउँ ठिक पर्छन्। फुल पार्ने बित्तिकै पोथीहरु भालेलाई अन्डा छाडेर तुरुन्तै करिब ३ महिनाको लागी खाना र शक्ति संचय गर्न समुद्रमा नै फर्कन्छन्। केही नखाइकन नै माइनस ५०-७० डिग्री तापक्रम र प्रति घण्टा ८० किमिको दरले उत्तरी स्याँठ चल्ने ठाउँमा महिनौसम्म भाले ओथारो बस्छ। ओथारो बस्दा पनि चिसोले अन्डा बिग्रेला भनी खुट्टामाथि राखेरमात्र शरीरले सेक्छ। ठ्याक चल्ला निस्कने दिनमा पोथी फर्केर आउँछ र जन्मिनेबित्तिकैको बच्चालाई आवशक संपूर्ण पौष्टिक खाना खुवाउँछ। यो अबधिमा भालेको तौल करिब आधा घटेको हुन्छ।
बच्चा हुर्काउने ठाउँ, खानाको मुहान समुद्रदेखि एकदमै टाढा हुने भएकोले केही लिडरहरु र अघिल्ला छिमलका जोडी बनाइ नसकेका केही जवानहरुले पालैपालो संपूर्ण बच्चाहरुको रेखदेख गरी बाकीं सबैलाई खानाको खोजीमा जान सहयोग गर्दछन्। कहिले काहीं त ३ हप्तासम्म चल्लाहरु भोकभोकै बस्नु पर्छ। हप्तौंपछि खाना लिएर फर्केपछि पोथीहरुले एक बिशेष प्रकारको आवाजले आफ्नो चल्लालाई बोलाउँछन्। एउटै उमेरका हजारौं चल्लाको बिचमा पनि आमाहरुले आफ्नो बच्चा चिन्दछन भने बच्चाले पनि हजारौंको बिचमा आफ्नी आमा चिन्छन्। हप्तौंको भोको चल्लाले आमा भेट्ने बित्तिकै खाना माग्छ, तर आमाले तुरुन्तै दिंदैन। अनि आमा अघिअघि बच्चा पछिपछि भाले भएको ठाउँसम्म पुग्छन्। भालेले बच्चा आफ्नै भएको संकेत दिएपछिमात्र बल्ल पोथीले चल्लालाई खानेकुरा दिन्छ।
कोइली (Cuckoo) भन्ने बित्तिकै कालो चरा भन्ने धारणा छ हाम्रो। केही कोइली काला पनि हुन्छन तर अन्य धेरै रंगका पनि हुन्छन्। कुहु…कुहु, कोहो…कोहो, बिउ कुयो…बिउ कुयो, काफल पाक्यो…काफल पाक्यो जस्ताजस्ता आवाज निकाल्ने सबै चरा कोइली हुन्। कोइली संसारका प्राय देशमा पाइन्छ। कोइलीका करिब ६० प्रजाति छन् र यिनीहरुको जनसंख्या पनि आजसम्म प्रसस्त छ। यिनीहरु एकलकाटे हुन्छन्। यहाँसम्म की भालेपोथी पनि सहबासको बेला र बास बस्ने बेला बाहेक संगै हुँदैनन, तर धेरैजसो प्रजातिहरुले एउटैसँगमात्र संसर्ग गर्ने भएकोले यिनीहरुलाई (monogamous) चरा भनिन्छ।
कोइली पनि अन्य चराझैं अस्थायी रुपमा टाढाटाढा, यहाँसम्म की अफ्रिकाबाट युरोप, इन्डियासम्म पनि बसाईं सर्छन्। बसाईं सार्नुका मूल कारणहरु खाना प्राप्तिको साथै सन्तान उत्पादन पनि हुन्। सन्तान हुर्किसकेपछि नयाँ सन्तानसहित पुरानै बासस्थानमा फर्किन्छन्। बसाईं सरिसकेपछि सर्बप्रथम त अग्ला रुखमा बसी वोरिपरी अथवा नजिकमा अन्य धेरै आफूभन्दा साना चराहरुका गुंडहरु बढी सम्भावना भएका ढड्डीघारी, बुट्यान, पोथ्रापोथ्री भएका ठाउँहरु पत्ता लगाउँछन्। त्यसपछि केही दिन अन्य चराका गुंडहरु खोज्दै, तिनीहरुमा भएका अन्डाको रङ्ग अध्ययन गर्दछन्। अनि आफ्नो छिर्केमिर्के अन्डाको रङ्गसंग रंग मिल्ने गुंडमा सुटुक्क गई एउटा गुंडमा मात्र एउटाको दरले आफ्ना अण्डा पर्दछन्।
यिनीहरुको अन्डा पार्ने तरिका पनि अचम्मकै हुन्छ। अरु चराहरुले प्रत्येक दिन बिहान अण्डा पर्छन र दिउसो खानाको खोजीमा निस्कन्छन, कोइलीहरु दिउसो त्यही मौका छोपेर त्यस्ता गुंडमा गई उक्त चराको एउटा अन्डा मुखमा अट्नेखाले भए खाइदिन्छन्, यदि मुखमा नअट्ने भए गुंडबाहिर लडाइदिएर त्यहाँ हतारहतारमा आफ्नो एउटा अन्डा पारिदिन्छन्।
कोइलीको अन्डाबाट बच्चा पनि छिटो कोरलिन्छ। भर्खरै कोरलिएको आँखै नखुलेको कोइलीको बचेरोमा यस्तो अचम्मको दिव्यदृष्टि हुन्छ की अण्डाबाट निस्केको केही समयमै गुंडमा बिभिन्न तरिकाले मडारिएर उक्त गुंडमा भएका संपूर्ण अन्डाहरु, र कथं अन्य बचेरा नै भए पनि ती सम्पूर्ण गुंडबाट बाहिर नलड़ाइदिउन्जेल बिसाई समेत मार्दैन।
चराका बचेराहरुले “भोकले मर्ने लागेँ, अझै खान्छु, र अघाएँ” भन्दा बेग्लै प्रकारको आवाज निकाल्छन्। त्यही आवाजको आधारमा कुन रफ्तारमा खुवाउने, र कुन बच्चालाई पहिले खुवाउने भन्ने कुरा निर्धारण गरी माउहरुले खाना ओसार्छन्। कोइलीको बचेरोले जतिखेर पनि “भोकले मर्न लागेँ” भन्नेमात्र आवाज निकाल्छ। अनि त बिचरा साना चराहरुलाई आफूभन्दा २-३ गुणा ठुलो त्यो कोइलीको बच्चालाई दिनभरि सास नफेरी खाना खुवाउँदा खुवाउँदा हैरान ! यो बेलामा बिचराहरु आफूले भरपेट खाना नपाई २५% सम्म घट्छन रे !
त्यतिमात्र हो र ! त्यो बचेरो हुर्केर गुंडबाट बाहिर गई रनबन चाहारी उड्ने लगायतका बिभिन्न अभ्यास गर्दा पनि आफूले खोजेर केही खाँदैन, धाई माउसंग नै मागेर खान्छ।
फर्केर आएकै ठाउँमा जाने बेला भएपछि उक्त बच्चाको कोइली बाआमाले नजिकनजिक गई एक प्रकारको तुरुन्त आकर्षण गर्ने गन्ध छाड्छन्। अनि त त्यो बैगुनी बचेरो धाई बा-आमालाई छाडी आफ्ना वास्तविक बाबुआमाकोपछि लाग्छ।
चराको बारेमा अध्ययन गर्ने बैज्ञानिक (Ornithologist) हरुले कोइलीमा आफ्नो अन्डाको रङ्ग बदल्न सक्ने, हतारमा उभिईउभिई अण्डा पार्दा फुट्न सक्ने भएकोले अन्डाको बोक्रो केही बाक्लो बनाउन सक्ने, अनि अण्डा पार्नकोलागि गुंड भेटिएपछिमात्र भोलिको लागि अण्डा परिपक्व बनाउन सक्ने क्षमता बिकास भएको बताएका छन्।
हाम्रो आहानमा भनिए पनि बास्तबमा कोइलीले कागको फूल चोर्दैन, तर अन्य स-साना चराहरुको फूलचाहिं चोर्छ।
आधुनिक जहाज उडाउने हाम्रा बिमान चालकहरुले दृश्य उडान सिद्धान्त (Visual Flying Rules) मात्र अपनाएर सबै उडान भर्न सक्दैनन, त्यसैले navigation का बिभिन्न कृत्रिम यन्त्रहरू प्रयोग गरेर यान्त्रिक उडान सिद्दान्त (Instrumental Flying Rules) पनि अपनाउन बाध्य हुन्छन, तर चराहरुले कुनै पनि कृत्रिम यन्त्रबिना नै सूर्य, चन्द्र, प्रकाशका किरण, दिशाको कोण, उडान मार्गको चुम्बकीय शक्ति, डाँडाकाँडा, नदी, समुद्र आदि (visual land marks) लाई आधार बनाई जास्तोसुकै उडान पनि पुरा गर्न सक्छन्। आखिर कसरी सिक्छन यिनीहरुले यस्ता बिज्ञान र इन्जिनियरिंगका कुराहरु !
नोट:-
(१) चितवन राष्ट्रिय निकुन्जमा सम्पर्क गर्दा पनि यहाँ प्रयोग गरिएका ३ प्रकारका चराहरुको नेपाली नाम पाउन नसकी जस्ताको तस्तै प्रयोग गरेको छु।
(२) यी चराहरुका हरेक प्रजातिमा एउटै कुरा लागु हुँदैन।
[गौतमको यो साप्ताहिक विज्ञान ब्लग हो। उनका अरु विज्ञान ब्लग पढ्न यहाँ क्लिक गर्नुस्]
Surprisingly interesting information about birds. We don’t really bother thinking about others. Would love to read more. Wondering how they have known such skolls and knowledge !!!!!!!!!!!!!!!!!!!!!!!!!
Interesting article but I had never seen such a long introduction
सम्पादन गल्ति हरु
१-” मुख्य आहार मधुरस (nectar) भनिने फूलको रस नै हो।” – मधुरस (nectar) भन्ने फुलको नाम हो छ र?
२-“फाइटर प्लेन वा हेलिकप्टरझैं आकाशमै एकै ठाउँमा टक्क अड्न पनि सक्छन्” – हेलिकप्टर त हो तर कुन चै फाइटर प्लेन रैछ आकाश मा टक्क अडिने :पी
येत्ति पढ्न पाए , पछि थप्छु अरु .
Nectar is sugar rich fluid produced by flower. That is what the author tries to tell us here, and not any kind of flower named ‘nectar.
Harrier, is a fighter jet capable to stall in air and vertical landing and takeoff.
Please do more research before trying to find errors.
Dear Madam, thank you for the definition of the nector (there is more missing i dont want to write that down about it) apart from this article can you tell me what you understand if you read this “मुख्य आहार मधुरस (nectar) भनिने फूलको रस नै हो” and Harrier Jump Jet can LAND AND TAKEOFF of vertically….is that means “आकाशमै एकै ठाउँमा टक्क अड्न पनि सक्छन्” ? well i am then that means it.
my point is don’t mix the literature in science sounds good but sends bad message to the reader.
अलि लामो लेख भए पनि पढ्दा रमाइलो लग्यो अनि धेरै कुरा पनि सिकियो चराको बारेमा / धन्यबाद छ लेखक लाइ /