Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मुटुमै फोक्सुण्डो! (पुस्तक अंश : जिन्दगी मुनलाइट)

Posted on May 31, 2014May 31, 2014 by mysansar

-प्रेम बानियाँ-

unnamed ‘यस्तो पनि हुन्छ? कम्तीमा आफूलाई त चिन्न सक्नुपर्छ नि यार! गरिबले चोरेर ल्याएको गहना भकारोमा लुकाएझै लुकाएर राखेछ! के हो यो? यस्तो सौन्दर्यलाई पनि राजनीतिको पेटिकोटले छोपेर आखिर यतिञ्जेलसम्म लुकाइ राखिस् हैन? अझ कतिञ्जेल छोप्छ्स् यार देखाउनुपर्ने अंगहरु? अनि कतिञ्जेल देखाइरहन्छस् मिलाएर लुकाउन सक्नुपर्ने त्यो दागग्रस्त राजनीतिको छात्ति???’

देशलाई यसरी सराप्दै गर्दा मुटु भन्दा प्रिय फोक्सुण्डोको किनार र आकाशमा एक साथ दुई थान सूर्यहरु जलिरहेथे। तर, चुपचाप–निशब्द गोहीजसरी शे–फोक्सुण्डो मलाइ नै आखा तरेर मन–मनै सरापिरहेथ्यो शायद! म आकाशको सूर्यलाई त सक्दिनथें, हातको सूर्यलाई हुत्याएर फोक्सुण्डोतिर फाल्नै लाग्दा हिउँमा चिप्लिएर उत्तानिएँ।

‘लौ–लौ सर त लडिया?’ लछिराम सार्कीले भन्यो।

जुरुक्क उठेर भनें– ‘लडिया नाई, नाँचिया …!

से फोक्सुन्डो : विकिमिडिया
से फोक्सुन्डो : विकिमिडिया

फोक्सुण्डोजस्तै निर्दोष र ठूलो हाँस्यो लछिराम। फोक्सुण्डो जत्तिकै गहिरो पनि हाँस्यो ऊ। अनि त्यही हाँसोले लग्यो मेरो ठोक्कानलाई।

‘शायद, फोक्सुण्डो लाग्छ पनि क्यारे! नत्र, बेकार त नलड्नु पर्ने! उठेर हिउँ टक्टक्याउदै हाँस्न थालें म। लछिराम फेरि हाँस्न थाल्यो ‘फोक्सुण्डोले फिट्टान! हा..हा..हा।’

त्यसपछि म मेरो छात्ति छाम्दै त्यो हिउँको ढिस्कोबाट तल ओर्लिएँ फोक्सुण्डो छुन। सवभन्दा पहिले जल अचाएँ शीरमा। अनि पिएँ अलिकति फोक्सुण्डो। मुटुमै पु्ग्यो पानीको सौन्दर्य, सुवास र अनुभूति। मुख धोएँ फोक्सुण्डोले। र, जिन्दगी फोक्सुण्डो बाँच्न थाल्यो। विस्तारै रंग फेर्दै छ जिन्दगी अर्थात् फोक्सुण्डो। अलि पर एउटा गुम्वा मलाई जिन्दगी र शान्ति सिकाउँदै छ। मेरा आँखाको वल्लो किनारदेखि पल्लाछेऊ सम्म हिउँका घरहरु र फूलहरु फूलिरहेछन्। आँखाले हिमपहाडहरु देखिरहेछ। चारैतिर कपाल खौरिएर निहुरिएका जस्ता पहाडहरु घोप्टो परेका छन् र तिनैको शीरबीचमा तल चुपचाप–चुपचाप छ फोक्सुण्डो। एक हुल बादल आकाशबाट फोक्सुण्डोलाई छायाँ पार्दै अपत्यारिलो दृश्य दिएर गए। थाहा छैन त्यो लौकिक–सत्य थियो या अलौकिक आनन्द! साँच्चै मलाइ, फोक्सुण्डो लागिरहेथ्यो, अर्थात् जिन्दगी फिट्टान थियो फोक्सुण्डोको मातले! र, मलाइ देश लागिरहेथ्यो। त्यही किनारमा म दुवै हात तेर्स्याएर फोक्सुण्डोसामु चिच्याएर भने आमा………..आ….मा……।

मेरो आवाज गएर पारिपटिको पहाडमा ठोक्कियो, त्यहाँबाट फर्केर बिपरित अर्को चट्टानमा ठोक्कियो! म देखिरहेछु मेरो आवाज ठोक्किएका पहाडहरु! र, त्यो फर्किएर फेरि मेरो आमा मलाइ नै वुझाउन आयो। किन हो किन? थाहा छैन म जिन्दगीका चरमस्थितीहरुमा आमालाई भन्दा अरु कसैलाई पनि र कत्ति पनि सम्भि्कन्नँ। र, म जहाँजहाँ छु आमाको प्रेमभन्दा अरु केही छुइनजस्तो लाग्छ। र, लाग्छ –म आमा बाँचेको छु।

‘कविहरु यस्तै भावुक हुन्छन् क्या, किन चिच्याएको? भोक लागेन? फापरको रोटी खाने हो?’ पत्रकार साथी विष्णु देवकोटाले छेऊमा आएर मलाइ ‘डिस्टर्ब’ गर्यो र भन्यो ‘लु हामी दुवै जना एउटा फोटो खिचौं। मैले फेरि अलिकति फोक्सुण्डो पिएँ र उस्को अंगालोमा बाधिएँ, हरिशरणले खिच्यो।

पलमबाट बोकेर ल्याएको फापरको रोटी हो यो भन्दै विष्णुले झोलाबाट रोटी झिक्दै थियो, मेरो आँखामा एकदमै घिनलाग्दो दृश्य हाम्फाल्दै आयो। थ्री इडिएट फिल्मको। फिल्ममा त छात्तिभरि पाकेका रौं भएका बूढो पात्र छात्ति कन्याउंदै त्यही बेल्नाले रोटी पेलेको न देखेथें! यो रोटीमा त जताततै रौं भन्दा केही छैन! बाबा! कसरी बनाएका होलान् यो रोटी! त्यो पनि सानो हो र? मोटरसाइकलका पांग्राजत्रा! बाक्लो पनि, ठूलो पनि! फेरि रौंहरु गुचुमुच्चै छन बा! म त अत्तालिएँ! रौं पनि कहाँका हुन्? कस्का हुन्? लौ म त खान्न यार! बरु भोकले मरिएछ भने यत्रैसिती! लछिराम, विष्णु र हरिशरण त गम्कागम् दिन थाले। दृश्य राम्रै दिएका हुन ठिटाहरुले। लछिरामले प्लास्टिकको झोलामा फोक्सुण्डो भरेर ल्यायो र त्यो चाहीं पिएँ मैले। रोटी सकियो र हामी लाग्यौं फिल्मकै एक अर्को दृश्य–कथातिर।

‘ओ माइ गड्! हामी हिंड्दै थियौद्द, म कराइहालें। कारण थियो– फोक्सुण्डोकोे रंग। एकैछिनमा फोक्सुण्डो पत्याउनै नसक्नेगरि फेरिइसकेछ!

‘मेरो आँखा बौलायो कि क्या हो हरिशरण! अघि खिचेका दृष्य र अहिलेको दृष्य हेरुँ त’ भनेर क्यामेरा खोलेर अघिको दृश्य हेरें।
‘हैन यार, मेरो आँखा बौलाएको छैन र हैन। बरु यो फोक्सुण्डो नै त्यस्तो! बीस मिनेटको अन्तरमा कति ठूलो परिवर्तन भइसकेछ भने अघिको रंग र अहिलेको रंगबीच त ‘गोरु बेचेको साइनो पनि बाँकी छैन भन्छौं नि हामी! त्यस्तै फरक!’ अघि पूरै आकासे रंगको फोक्सुण्डो, अहिले त बा! नीर जस्तो! नीलो न नीलो!

असाध्यै रंग फेर्दोरहेछ फोक्सुण्डोले! हामी त्यस्को किनार–किनार पर्तिर जादा–जादै ऊ बदलिएर धेरै पटक इन्द्रेणी भइसकेको थियो।
हामी त्यहीं पुग्यौं जहा फ्रान्सका थिन्लेले बनाएका फिल्म क्याराभानमा एउटा याकलाई धरापपूर्ण बाटोबाट फोक्सुण्डोमा खसालिएको थियो। विष्णुको शब्दमा –भारी बोकेको त्योे याकलाई फोक्सुण्डोमा खसाल्दा जस्तो थियो, यो बाटो उस्तै छ अहिले पनि र यही बाटो हँुदै थेचर गाउँतर्फ जान अहिले पनि उस्तै समस्या छ, जस्तो फिल्ममा थियो। फिल्म बन्यो तर बाटो बनेन्। मैले टीभीका लागि केही पीटीसी लिएँ र भनें –सुन्दरताको रंग हुदैन होला दर्शकहरु! नत्र, आफै हेर्नुस् यो फोक्सुण्डोको सुन्दरतालाइँ कुन रंग दिएर बयान गरुँ म?

साँच्चै, पागल–पागलसरी म जताततै पीटीसी दिन थालें। हिउँ छोयो –हिउँसँग, फोक्सुण्डो छोयो –फोक्सुण्डोसँग, माटो छोयो –माटोसँग, मन छोयो–मनसँग!

‘ढिला भो है अब त फेरि पलम पुग्न पनि गारो होला –फेरि डिस्टर्व गर्यो विष्णुले। लछिराम पनि होमा हो मिलाउन थाल्यो।
अब विष्णुकै बाइट लिन्छु अनि जाने भनेर मैले क्यामेराको माइक तेर्स्याएँ विष्णु अगाडि। उस्लाइँ पनि फोक्सुण्डो लागेछ क्यारे! साथी त धाराप्रवाह बोल्न थाल्यो ‘यो नेपालको सवभन्दा गहिरो र सुन्दर ताल, यस्को गहिराइँ यकिनका साथ पत्ता लगाउन सकिएको छैन भनिन्छ तर पत्ता लागेको पछिल्लो तथ्यांक अनुसार यो ६ सय ५० मिटर गहिरो छ। ४ दशमलब ८ किलोमिटर क्षेत्रफल छ यस्को। मान्छेको फोक्सो आकारको भएकाले यसलाई फोक्सुण्डो भनिएको मानिन्छ। यो नजिकै ऊ त्यहाँ रहेकोे वौद्ध गुम्वा पाँच सय वर्ष पहिले बनेको अभिलेख छ।

विष्णु डोल्पाकै स्थानीय भएकोले पनि हुनसक्छ। उस्ले फोक्सुण्डोप्रति साँच्चै प्रेम देखायो –म जस्तै वा त्यसभन्दा बढी नै र भन्यो ‘यो सुन्दरतालाई बेवास्ता गरिरहेको छ देश। पर्यटनका अनेक नाराहरु छन् काठमान्डूमा तर डोल्पा महोत्सव गरेर पनि दुनै बजारभन्दा माथि आउन सकेन् देश।

मैले सोधें–’के सुविधा छ र फोक्सुण्डोसम्म आउन? खान खाने कुरा छैन, सुत्न वास छैन? कसरी आउन् त मान्छेहरु? अनि कसरी सम्भावना साकार हुन्छ त?

उसले भन्यो– ‘कुरा त्यही हो। सुविधा छैन र त गर्नु परयो नि! पर्यटकीय रुटको विकास गरेर यहाँका जनतालाई आधार तयार गरिदिनु पर्यो, अहिले पनि जनता त्यसैका निम्ती कसरत गरिरहेका छन्, तिनलाई सघाउनु पर्यो। पर्यटन वर्ष मनाउने देशले फोक्सुण्डोका निम्ती खास केही किन सोचको छैन? हेर्नुस् त यो सौन्दर्यलाई कस्ले वुझेको छ? फोटो हेरेर हुन्छ? देशलाई फोटोले चिनाउने हो? अब उनका प्रश्न सुरु भए? तपाईंले के वुझ्नु भयो फोक्सुण्डो सम्भावनाको कुन उचाइ हो? यस्ले देशलाई कति दिनसक्छ वा देशले यसबाट कति लिनसक्छ भन्ने कुरा आजसम्म कस्ले बुझ्यो? अस्ति नै तपाइले नै भन्नु भएको होइन टीभीमा–आखिर कस्ले चिन्यो र यो देशलाई? त्यस्तै हो कसैले चिनेन् यो डोल्पालाई पनि, देशलाइ पनि। अब चाही मैले रोकें विष्णुलाई। र, भनें– धन्यवाद।

त्यसपछि फो्कसुण्डोको निकास नजिक उभिएर मैले टीभी कार्यक्रम टुंग्याउने सुर गरें अनि बोलें ‘साँच्चै भिल्लको देशमा एउटा यो मणि पनि मिल्किरहेको छ र यसलाई चिन्न सकेनन् देशका शाशकहरुले र यो मृत–तालसरी अलपत्र छ देशको पल्लाछेउमा!
त्यतिञ्जेसम्म फोक्सुण्डो पनि रिसाएर हो कि कालो–कालो रंगमा बदलिइसकेको थियो। तर मैले एक अञ्जुली फोक्सुण्डो उठाएर माया गरें उसलाइ र भनें ‘फेरि भेटौंला है?

त्यसपछि हाम्रो यात्राको सवभन्दा वूढो तर सवभन्दा सक्रिय र रसिक मान्ठा–लछिराम सार्कीलाई अघि लाएर जिन्दगी कोट्याउंदै हिंड्यौं हामी, हिजोको चौंरी गोठको वासतिर।

ती दृश्य सम्भि्कएर अहिले यो लेख्दै छु। तर, साँच्चै, फोक्सुण्डो नशाजस्तै लाग्दोरहेछ! लाग्ने तरल रहेछ त्यो! अहिले पनि छोडेको छैन त्यस्ले।

अक्षर र तस्वीरसत्यमा अनभूतिका काँडाहरु उमार्न कति सम्म सकिन्छ र? म त्यस्को चरमोत्कर्षमा पुर्याउन सक्दिन शायद। तर, नेपालगञ्जबाट तारा एयरहुदै ३५ मिनेटमा डोल्पाको जुफाल एयरपोर्ट र त्यहाँबाट सुलिगाड कागनीको बास। साङ्टा र छेप्का हुद्््ै पलमबास। जहाको चौंरी गोठमा रातभरको जुम्रा आतंक। र तेस्रो दिन शे–फोक्सुण्डो पुग्दा बीचमा बितेका रातहरु र अप्ठ्याराभित्रका आनन्दहरु साँच्चै, देशलाई धेरै माया र धेरै गाली गर्ने खालका रहे।

मलाइ त भयंकरै डर लागिरहेथ्यो! कसरी लेख्नु यार यो सव? यी लेख्नका निम्ती त भाषा र तिनका शब्दमा ‘भाइब्रेसन’ चाहिन्छ! कम्पन चाहिन्छ! यस्तो कि–जिरिङ–जिरिङ पारोस् मुटु! तरंग देओस् शब्दहरुले! मेरो मुटुमा चाही फोक्सुण्डोको सौन्दर्यले त्यस्तै जिरिङ–जिरिङ पारिरहेको छ तर शब्दमा–मैले सक्दै सकिन! पहिलो पटक!

जानकारी
शेफोक्सुण्डो, नेपालको सवैभन्दा भन्दा ठूलो जिल्ला डोल्पामा पर्छ। यो नेपालको सवैभन्दा गहिरो ताल हो, ६ सय ५० मिटर गहिराई छ। शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने यो ताल : डोल्पाको प्रमुख आकर्षण हो।

पहिलो दिन :
सामान्यतया काठमान्डूदेखि एकदिनमा सुर्खेत वा नेपालगञ्ज पुगिन्छ। र, त्यहीं बास वस्नुपर्छ। किनकी जहाज विहान मात्रै जान्छ।
दोस्रो दिन
नेपालगञ्ज वा सुर्खेतबाट ३५ मिनेटको हवाइयात्रामा जुफाल। जुफाल डोल्पाको एक मात्र एयरपोर्ट हो र यो कच्ची छ, खेल मैदानजस्तो। हामी विकटमा सेवा पुर्याइरहेको तारा एयरबाट जुफाल पुगेका हौं। त्यहाँ ओर्लिनासाथ हिउँ नै हिउँका पहाडहरु देखिएका थिए सेरोफेरो पूरै।
जुफाल एयरपोर्टबाट लछिराम सार्कीलाई साथै लैजाने निधो गर्दा हामीले उनलाइ प्रतिदिन सरदर एक हजार रुपियाँ तिरेका थियौं। डोल्पाको एयरपोर्टमा लछिरामहरु धेरै भेटिन्छन्।
जुफालबाट नजिकै छ, लोकदोहोरी गायक बिमल डांगीको जन्मगाउं– डाँगीबाडा। त्यस्को प्राकृतिक सौन्दर्य साँच्चै स्वर्णिम पनि छ। हामीले डाँगीबाडामा पुगेर बिमललाई सम्भि्कयौं र त्यहाँका मानिसहरुले पनि सम्झाए। त्यसपछि कालागौंडा, रुपगाडहुदै सुलिगाड पुगेपछि हामीले नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मागंद् कटवाललाई सम्भि्कयौं। त्यहाँको विकल्पहीन एउटा पुलमा उनको नाम लेखिएको थियो उद्घाटनको। त्यही पुल तरेर हामीले दुनैतर्फ जाने बाटोलाइ छोड्यौं र पुग्यौं केवलजंग गुल्मको गेटमा। त्यही बाटो हुदै फोक्सुण्डो निकुञ्जको दिशातिर लाग्यौं। सुरु भयो रह गाविस। लगत्तै खलरुपी र फोक्सुण्डो जानेको पहिलो दिनको वास कागनीमा। तर, वासको गतिलो व्यवस्था छैन त्यहाँ। स्लिपिङब्याग बोकेको भए दुःख पाइन्थेन् तर हामी रित्तै जस्तो थियौं करिवकरिव। प्रत्येकले ड्राइफूड बोक्नै पर्छ फोक्सुण्डो जाँदा। हामीचाहीं तोरीलाउरे जसरी गयौं र दुःख पायौं।
तेस्रो दिन
कागनीबाट ज्यालस, साङ्टाहुदै छेप्कामा खाना। मीठो। हामीले सिस्नो र रोटी पायौं फापरको। तोङ्बा पनि पाइन्छ रे, हामीले पिएनौं यो यात्रामा। त्यसपछि यो यात्रामा हामीलाई सवभन्दा बढी त हिमपहिरोले दुःख दियो। जताततै हिउँ नै हिउँ मैले जीवनमा सबभन्दा बढी हिउँसँग खेलेका दिन थिए ती। जताततै हिउँ नै हिउँ। खोलालाई पनि हिमपहिरोले बाटो छेकेको देखियो। यस पटक असाध्यै हिउँ परेछ डोल्पामा। हामी निरन्तर हिममार्गमा छौं। रातको झण्डै आठ वजेतिर पलम पुग्दा चौंरी गोठमा मान्छेहरु कराएका सुनियो र छिर्यौं हामी। र, यो पलम नै फोक्सुण्डोदेखि सवभन्दा नजिकको वस्ती रहेछ। वास बस्न त्रिपालहरु पनि लैजानै पर्ने रहेछ भन्ने जान्यौं हामीले। हामी त उही तोरीलाउरे पारामा हिडेकाले दुःख भो। जे छ त्यसैमा सुतौंला भनेर सुतियो
चौथो दिन
रातभरि त थाहै भएन बिहान उठेपछि लछिरामले आङबाट जुम्रा टिप्दै नङका चेपमा पड्काउन थाल्यो। बल्ल लाग्यो –हावापारामा फोक्सुण्डो यात्रा सम्भव छैन। कम्तीमा एउटा त्रिपाल, स्लिपिङ ब्याग त बोक्नुपर्ने नि। तैपनि ढाड कन्याउँदै लाग्यौं हामी फोक्सुण्डोतिर करिव तीन घण्टा लाग्छ पलमबाट। नजिकै भ्यूप्वाइण्ट छ असाध्यै सुन्दर। हामीले फोटो खिच्यौं। र, लाग्यौं तालतिर। हिउँभन्दा बाहिर एक पाइला पनि टेक्ने ठाउँ थिएन, जानै त पर्यो। हामी हिड्यौं। तल फोक्सुण्डो चुहिएर झरेको झरना र हिउँ, उस्तै देखियो। ताल नजिकै सुन्दर वस्ती छ। तर, हामीले मानिसहरु भेटेनौं। त्यहीं पुगेपछि थाहा भयो –मंसिर महिनादेखि बैसाखसम्मको समयमा यो यात्रा गर्नु गलत रहेछ। किनकी हिउँले दिने यातना कठिन हुनेरहेछ। यतिञ्जेलसम्म शरीरका छालादेखि अरु धेरै फुटाइसकेको थियो हिउँले र बेमौसममा पुगियो देशको सबभन्दा गहिरो ताल शे–फोक्सुण्डो। जब फोक्शुण्डो पुगियो, त्यसपछि त केके भो केके!

[प्रेम बानियाँको गत साता प्रकाशित पुस्तक ‘जिन्दगी मुनलाइट’बाट। यो उनको नियात्रा संग्रह हो। यसमा विभिन्न भुगोल, समाज र चरित्र समेटिएको यात्रा निबन्धहरूको स‍ंग्रह छ। बानियाँको यो चौथो पुस्तक हो। यसअघि उनले ‘समयको आत्महत्या’ कविता संग्रह, ‘भन्ज्याङमा प्रेमका गीत’ गीत संग्रह र ‘जय स्वाभिमान’ निबन्ध संग्रह प्रकाशित गरिसकेका छन्। ‘समयको आत्महत्या’सात वर्षअघि माइसंसारबाट पनि संसारभर सार्वजनिक गरिएको थियो। हेर्न यहाँ क्लिक गर्नुस्। ]

2 thoughts on “मुटुमै फोक्सुण्डो! (पुस्तक अंश : जिन्दगी मुनलाइट)”

  1. Shankar says:
    May 31, 2014 at 12:19 pm

    बानिया जी
    सरल लेख्ने , र सरल बोल्ने गर्नुस | लेखाइ मा धेर साहित्य , बोलाइ मा धेरै गन्थन, भूमिका हुन्छन तपाइको |

    Reply
  2. निराजन प्रभात लुइँटेल says:
    May 31, 2014 at 12:09 pm

    सुन्दर आख्यान,पाठकलाइ बाध्न सक्ने लेखक सफल लेखक हो.

    एक पाठक आफुनै सेफुक्सुण्डोमा भएको अनुभुती भो.धन्यवाद लेखक,धन्यवाद my sansar .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme