Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसरी भयो पृथ्वीको उत्पत्ति ?

Posted on May 25, 2014 by mysansar

पृथ्वीको उत्पत्ति कसरी भयो भन्ने बुझ्नलाई ब्रह्माण्ड (universe) संग सम्बन्धित अन्य केही कुराहरु पनि बुझ्न जरुरी पर्दछ | अस्तित्वका संपूर्ण चीजहरु जस्तै:- हाम्रो पृथ्वी, अन्य बिभिन्न ग्रहहरु, हाम्रो सूर्यमण्डल (solar System), सूर्यमण्डल रहेको आकाश गंगा (Milky Way Galaxy), अन्य असंख्य तारामण्डल (Galaxy) हरु, आकाश, अन्तरिक्ष (Space) आदि सर्बत्र कुराहरु रहेको वा अटेको ठाउँ नै ब्रमाण्ड हो | संस्कृत भाषाले पनि “अनन्त लोक” भनी यसको राम्रो अर्थ लाग्ने परिभाष दिएको छ|

करिब १४ अरब बर्ष पहिलेसम्म यो ब्रमाण्ड कुनै एक बिन्दुमै एकदम खाँदिएर रहेको सानो भएको, र अहिले द्रुत गतिमा फैलिइरहेको बैज्ञानिकहरुको बिश्वास छ | केही समय अगाडिसम्म यो ब्रमाण्ड निराकार रहेको बिश्वास गरिएकोमा खगोलविद्हरुको एकदमै ताजा अनुसन्धानले यो निराकार नभई कालो शक्ति (Black Energy) नामक तत्वले बनेको, र नदेखिने तर foamy भएको, साथै यसभित्र हाम्रो आकाश गंगा ग्यालक्सी जस्ता अन्य अरबौं ग्यालक्सी रहेको र त्यस्ता ग्यालक्सीहरुको बिचमा समेत सम्बन्ध भएको प्रमाणित गरेको छ | त्यतिमात्र होइन, हामीले पिउने अल्कोहलका संपूर्ण अणुहरु भएका अल्कोहलका बादलका ग्यालक्सी समेत पत्ता लागेका छन् !

सूर्य लगायतका १ खरब जति ताराहरुको बिशाल समूह भएको हाम्रो आकास गंगा (Milky Way) पनि त्यस्तै ग्यालक्सीहरु मध्येको एउटा हो | नयाँ ग्यालक्सीहरु, ती भित्र नयाँ ताराहरु, नयाँ ताराहरुका नयाँ ग्रहहरु बन्नेक्रम पनि जारी छ, अनि कतिपय ग्यालक्सी, तारा , र ग्रहहरु अर्कोमा बिलय हुने तथा मर्ने अथवा सिद्धिनेक्रम पनि जारी नै छ |

हाम्रो आकास गंगा कै नजिकमा पनि एण्ड्रोमेडा (Andromeda) सहित ३० वोटा ग्यालक्सीहरु छन् र सौर्य परिवार बाहिर पनि १,७०० वोटा ग्रहहरु पाइएका छन् | ग्यालक्सी, तारा र ग्रहहरु एकापसको गुरुत्वाकर्षण शक्तिको बिचमा तानिएर घुम्दा करिब गोला आकारका हुने बिश्वास गरिएकोमा फुटाइएका ढुंगा जस्ता अडमिल्दा कैंयौं पिण्डहरु पनि भेटिएका छन् | ग्यालक्सी बन्ने क्रममा घुमिरहँदा बिचमा खाली कालो प्वाल (Black Hole) हुने बिश्वास गरिएकोमा प्वालको बिचमा पदार्थ झन् बढी खाँदिएर रहेको हुने पनि पत्ता लागेको छ |

यस प्रकार बिज्ञानको एकदमै बिशाल क्षेत्र ओगट्ने, हरेक सृष्टिको आधार, सबभन्दा बढी लगानी भएको, सबभन्दा बढी रहस्यात्मक र सबभन्दा बढी तथ्यहरु पत्ता लागेको भनिएको खगोल बिज्ञान, बिशेषज्ञहरुलाई समेत “बुझ्न कठिन, बुझ्यो झन् कठिन, झन् झन् बुझ्यो झन् कठिन” भै रहेको छ | बैज्ञानिक समुदायहरुमा नै हालसम्म अपनाइएका सिधान्त नै असत्य हुन्छन की भन्ने चिन्ता बढिरहेको छ | यस्तो गाह्रो बिषय हामी सर्वसाधारणलाई बुझ्न ग्राहो हुनु स्वाभाविकै हो | तर यो एकदम रमाइलो छ | त्यसैले बुझ्ने कोशिस गरौँ !

पृथ्वीको उत्पत्ति र अस्तित्व बुझ्नलाई गुरुत्वाकर्षण, आकाश, अन्तरिक्ष, सौर्य परिवार, तारा, ग्रह भन्ने कुराहरु पनि बुझ्न जरुरी हुनआउँछ |

हरेक आकाशी पिण्डहरुमा अन्य बस्तुलाई आफूतर्फ तान्न सक्ने शक्ति हुन्छ, त्यसैलाई ग्रुत्वाकर्षण शक्ति भनिन्छ | कुन पिण्डको कति ग्रुत्वाकर्षण शक्ति हुन्छ भन्ने कुरा त्यसको आकार, घनत्व, दुरी, त्यसको घुम्ने कोण, र गतिमा पनि भर पर्छ | यदि पिण्डहरुमा गुरुत्वाकर्षण नहुँदो हो त अन्तरिक्षमा झुन्डिने नै थिएनन, एकापसमा ठोकिन्थे वा ब्रमाण्डमा कतै उडेकोउडै गर्थे होलान |
त्यस्तै पृथ्वीमाथि हावा हुने ठाउँसम्मको खालि भाग आकाश, र त्यो भन्दा माथिको आकाशीय पिण्ड तथा ग्यालक्सीहरु बिचको सम्पूर्ण खाली भाग अन्तरिक्ष हो | अन्तरिक्षमा ठाउँ र दुरी हेरी ग्रुत्वाकर्षण कम, बेसी र जिरो हुन्छ | हाम्रो अन्तरिक्ष केन्द्रमा गुरुत्वाकर्षण एकदम कम भएकोले मेशिनहरु अडेर रहन सकेका छन् |

आकाश गंगा नामक ग्यालक्सीमा भएको सबभन्दा चम्किलो तारा सूर्य र यसैलाई फन्को लाउने अन्य निश्चित आकारका हाम्रो पृथ्वी लागायतका आकाशीय पिण्डहरु ग्रह हुन् |

अब ग्यालक्सीहरु, ताराहरु र ग्रहहरु कसरी बन्छन भन्नेतर्फ लागौं | ब्रमाण्डमा जति टाढा गयो त्यति बढी कल्पना पनि गर्न नसकिने, सूर्यभन्दा अरबौंगुना ठूला ग्यास र धुलकण मिसिएका अजंगका आँधीबेहरीयुक्त बादलका असंख्य समूहहरु थिए र अझ असंख्य छन् | हाम्रो चन्द्रमाको परिधि १०,९१७ किमी छ, पृथ्वीको ४०,०७५ किमी र सूर्यको परिधि ४,३६६,८१३ किमी छ | यति ठुलो सूर्यभन्दा पनि अरबौं ठुला भनेपछि आफै कल्पना गरौँ कति ठूला होलान भन्ने ! अझ यतिबिघ्न ठुला अरबौं ग्यालक्सी अट्ने ब्रमाण्ड कत्रो होला ! सुन्दै होइन जस्तो लाग्छ | तर साँच्चै हो | यो हजारौं बर्षको अन्तरालमा हजारौं बैज्ञानिकहरुले आफ्नो जीवन समर्पण गरी पत्ता लगाएको कटु सत्य र तथ्य हो |

त्यस्तै बादलहरु मध्येको कुनै एउटा नेबुला नामक बादल अगाडि बढ्दै गर्दा आफैले आफ्नो तौल धान्न नसकी बिचमा भित्रतर्फ भासियो, र एउटा बाटुलो घेरामा पानीको भुमरी जस्तै गरी घुम्न थाल्यो | यसरी घुम्दै गर्दा बल्नेग्यास लगायतका तत्वहरु एक ठाउँमा जम्मा भै उक्त भुमरीको बिचमा एउटा बलेको आगोको गोलो डल्लो ताराको रुपमा देखा पर्यो | त्यसपछि पनि उक्त भुमरी र डल्लोमाथि त्यही नेबुला नामक बादलका बाँकी रहेका धुलकण, ग्यास आदि खसिरहे | यसरी खसेका बल्ने ग्यास लगायतका पदार्थहरु थपिंदैथपिंदै सूर्य भयङ्कर ठुलो र तातो भयो भने अन्य अलि ठोस प्रकारका पदार्थबाट ग्रहहरु, चन्द्र, बिभिन्न आकारका स-साना छुद्रग्रह (asteroid), पुच्छ्रे तारा (comet), उल्का (meteor) आदि बने |

जब सूर्य अत्यधिक प्रज्वोलित भयो, त्यसमा आगोका लप्काका बिशाल आँधीबेहरी चली टाढाटाढासम्म पुग्न थाले | तिनै आंधीहरुका कारणले एकातर्फ सूर्य नजिकका गृहहरुमा रहेका बल्ने-नबल्ने ग्यासहरु टाढा उडी ग्रहहरु नै चम्कन छाडेभने अर्कोतर्फ सौर्य परिवारको बाहिरी घेरामा हुने ग्रहहरुमा ग्यास जम्मा हुँदाहुँदा ठुलाठुला हुँदै गए | सूर्य एकदम ठुलो र अन्य ग्रहहरु साना भएकोले यिनीहरु सूर्यको वोरिपरी घुम्न थाले | हाम्रो पृथ्वी लगायतका प्लुटो सहित ९ वोटा यस्ता ग्रहहरु ४ वोटा सूर्यको नजिक छन भने ५ वोटा टाढा छन | आकारमा पनि कोही साना छन् भने कोही ठूला छन् | यिनीहरुको तौल र ग्रुत्वाकर्षण पनि फरकफरक छ | यी ग्रहहरु र अन्य केही साना पिण्डहरु सूर्यमा आधारित र सूर्यलाई नै घरमुली जस्तै मानी परिक्रमा गर्ने भएकोले यिनीहरुलाई सूर्यका परिवार भनिएको हो |

अब सूर्य लगायत यी ९ ग्रहहरुका केही तथ्यहरु हेरौं |

सूर्य पृथ्वीबाट करिब १४ करोड ८८ लाख किमी टाढा छ | सूर्यबाट प्रकाश पृथ्वीमा आइपुग्न ८.३ मिनेट लाग्छ | संपूर्ण सौर्य परिवारको ९८% मास भएको सूर्य पृथ्वीभन्दा ३ लाख ३३ हजार गुना गरुङ्गो छ भने यसमा १० लाखवोटा पृथ्वीको मास अट्न सक्छ | यसमा ९२% हाइड्रोजन, ७% हिलियम र १% जति अन्य ग्यास छ | यसको सतहको ताप करिब १० हजार डिग्री फरनहाइट छ भने सबभन्दा भित्री भागमा २ करोड ७० लाख डिग्रीसम्म भएको अनुमान छ | सूर्यले प्रतेक सेकेन्डमा ४० लाख टन हाइड्रोजनलाई ताप शक्तिमा बदल्छ |

सूर्यबाट क्रमशः नजिकदेखि टाढाको हिसाबले भन्नु पर्दा बुध (Mercury), शुक्र (Venus), पृथ्वी (Earth), मंगल (Mars) बृहस्पति (Jupiter), शनि (Saturn), अरुण (Uranus), र बरुण (Neptune) र यम (Pluto) पर्दछन् | नाम याद गर्न चाहानुहुन्छ ? सजिलो तरिका !!!

“Memorize Very Energetic Man Janak Sharma Uday’s Name, Please”.

सुरुमा यम (Pluto) लाई पनि ग्रहमा गनी ९ वोटा ग्रह भनिन्थ्यो | २००६ देखि यसलाई ग्रहमा गनिन्न र ग्रहहरु ८ वोटामात्र भएको भनिन्छ आजकाल |

बुधग्रह सानो छ, अत्यधिक तातो छ र यसमा हावा पानी छैन | यो सूर्यबाट ५७,९१०,००० किमी टाढा छ | यसले ८८ दिनमा सूर्यलाई फन्को लगाउँछ | शुक्रग्रह एकदम तातो र चम्किलो बादलले ढाकेको बिषालु ग्यास भएको छ | अनौठो कुरा के छ भने अरु सबै ग्रहहरु घडीको दिशामा घुम्छन भने यो त्यसको ठिक उल्टो घुम्छ | पृथ्वीको बारेमा पछि चर्चा हुने छ | मंगलग्रह चिसो छ र रातो धुलोले ढाकिएको छ | यसमा सबभन्दा ठूला ज्वालामुखीहरु छन, डाँडाकाँडा र उपत्यकाहरु पनि छन् | यसको गुरुत्वाकर्षण एकदम कम छ | बृहस्पति ग्रहहरुमध्ये सबभन्दा ठुलो हो र यसमा प्राय हाइड्रोजन र हिलियम ग्यास पाइन्छ | यसको गुरुत्वाकर्षण एकदम बढी छ र वोरिपरी पातलो घेरा छ | शनिग्रह पनि ग्यासले भरिएको छ र यसको पृथ्वीबाटै देख्न सकिने बरफको घेरा छ | अरुणग्रह सूर्यबाट ४,५०३,०००,००० किमी टाढा छ | यो अलि बढी नै ढल्केको छ त्यसैले यसमा ऋतु परिवर्तन हुन २० बर्ष लाग्छ | यम सूर्यबाट सबभन्दा टाढा र चिसो छ | सूर्यको १ फन्को लाउन यसलाई १६५ बर्ष लाग्छ |

अर्को रमाइलो कुरा:- यदि तपाईंको तौल पृथ्वीमा ५० किलोग्राम छ भने उक्त तौल सूर्यमा १,३५३.६ किलो, चन्द्रमामा ८.३ किलो, बुधग्रहमा १८.९ किलो, शुक्रग्रहमा ४५.३ किलो, मंगलग्रहमा १८.८ किलो, बृहस्पतिग्रहमा ११८.२ किलो, शनिग्रहमा ५३.२ किलो, अरुणमा ४४.४ किलो, बरुणमा ५६.२ किलो, र यममा ३.३ किलो हुन्छ |
अब पृथ्वीको उत्पत्तितर्फ लागौं |

पृथ्वीको उत्पत्ति सूर्यसंगै भए पनि अरबौं बर्षको अन्तरालमा एकपछि अर्को गर्दै असंख्य उथलपुथलबाट गुज्रंदै बिभिन्न संयोजन तथा बिखन्डनका सृंखलाहरु पार गर्दै यो अवस्थमा आइपुगेको हो हाम्रो पृथ्वी | सुरुमा त यो अत्यन्त तातो थियो | अरबौं बर्षको अन्तरालमा चिसिंदै गएर बिभिन्न माध्यमले जमिन, पानी, बाताबरण बनेर, करोडौं बर्ष पहिले देखि बाटमात्र बिस्तारैबिस्तारै जीवनको सुरुआत भएको हो | सूर्यबाट न त धेरै नजिक, न त धेरै टाढा भएकोले नै अरु ग्रहहरु जस्तै धेरै तातो तथा धेरै चिसो, अनि धेरै सानो अथवा धेरै ठुलो नभई ठिक्कको भएकोले नै पृथ्वीमा बिस्तारै जीवन धान्ने बातावरण बन्दै गएकोले आज हाम्रो पनि अस्तित्व छ | पृथ्वीको अवस्था अलिकतिमात्र पनि तलमाथि भएको भए यसमा अहिलेसम्म पनि जीव बन्ने थिएन | जसरी अरु आकाशीय पिण्डहरुमा छैन |

अझै पनि हाम्रो पृथ्वीको भित्री केन्द्र भागमा सूर्यको सतह जत्तिकै तातो फलाम लगायतको एशिया महादेश जत्रै ठुलो चापले गर्दा ठोस बनेको बिशाल पदार्थ छ | त्यसमाथि mantle भनिने अर्को तह छ जसमा radioactive uranium पनि छ | त्यही तहले त्यो भन्दा माथिको सतहको पदार्थलाई पगालेर तरल बनाएको छ | त्यही पग्लेको तरल पदार्थमाथि केही बिशाल चाक्ला (plates) हरु तैरिरहेका छन्, र तिनीहरु माथिको करिब ६० किमिको बिशाल चट्टानी सतहमा हामी बस्छौं | यदि पृथ्वीलाई एउटा स्याउ मान्ने हो भने यो बाहिरी सतह स्याउको बोक्रा हो |

(नोट: एकदमै बिशाल बिषय भएकोले एउटा सानो लेखमा धेरै कुरा अटाउन सक्दैनन् )

20 thoughts on “कसरी भयो पृथ्वीको उत्पत्ति ?”

  1. Harka Bahadur Pradhan says:
    May 29, 2014 at 12:26 pm

    गौतमजीको लेख सरल, रोचक र ज्ञानबद्र्धक छन् । विज्ञानका जटील कुरालाई सजिलो भाषामा बुझाउने उहाँको प्रयास प्रशंसनीय छ ।
    तर कतिपय कुराहरु लेख्दा उहाँले होस पुर्याउनु जरुरी देख्छु । जस्तो, माथिकै लेखमा उहाँले आकाश गंगा नामक ग्यालक्सीमा भएको सबैभन्दा चम्किलो तारा सूर्य लेख्नुभयो । यो अर्धसत्य कुरा अलि पच्न सकेन । हो, पृथ्वीबाट हेर्दा सबैभन्दा चम्किलो तारा सूर्य नै हो । तर यो आफैंमा आकाशगंगाकै सबैभन्दा चम्किलो तारा चाहिँ होइन । हाम्रै आकाश गंगाको एटा कारिना(eta Carinae) नामक ताराले करिब सूर्यले भन्दा ३.२ मिलियन गुना बढी उर्जा/प्रकाश उत्पन्न गर्ने गरेको र थाहा पाउन बाँकी कुरा अझै रहेको तर हालसम्म चाहिँ यही नै सबैभन्दा चम्किलाृे तारा रहेको कुरा नासाको वेभसाइटतिर पढ्न पाइन्छ । यसबारे गौतमजीबाट थप लेखनको अपेक्षा गर्दछु ।

    Reply
  2. Eng.Rajesh says:
    May 29, 2014 at 11:57 am

    nice piece of writing. Quite informative. Good job. Would like to read more of such kinds. Many thanks to Mysansaar as well.

    Reply
  3. subash says:
    May 27, 2014 at 11:51 am

    gravity को बिषयमा सहि ब्याख्या गर्नु भएन जस्तो लाग्यो.
    empty space मा ठुलो mass भएको बस्तुले गर्दा उत्पन्न हुने खाल्डो ( warp and curl) लाइ हामीले जसरि महसुश गर्छौ त्यै gravity हो. पृथ्बी ले हामी लै तानेको हैन.
    emptyspace को बिषय मा बुझ्न एकदम जरुरि छ. emptyspace is not actually absolutely empty, its a vibrant medium. its a type of field higgs bozon.
    matters are made up of tiny vibrating strings. यो theory अहिलेको सबै भन्दा बलियो theory हो.

    Reply
  4. premji says:
    May 26, 2014 at 6:38 pm

    “अर्को रमाइलो कुरा:- यदि तपाईंको तौल पृथ्वीमा ५० किलोग्राम छ भने उक्त तौल सूर्यमा १,३५३.६ किलो, चन्द्रमामा ८.३ किलो, बुधग्रहमा १८.९ किलो, शुक्रग्रहमा ४५.३ किलो, मंगलग्रहमा १८.८ किलो, बृहस्पतिग्रहमा ११८.२ किलो, शनिग्रहमा ५३.२ किलो, अरुणमा ४४.४ किलो, बरुणमा ५६.२ किलो, र यममा ३.३ किलो हुन्छ |”

    यहाँ बोलीचालीको भाषामा सजिलोको लागि तौललाइ किलोग्राम राख्नु भएको रहेछ गौतम जीले | खासमा यो “न्युटन” मा हुन्छ | किलोग्राम मात्र राख्दा बस्तुको mass संग तुलना गर्नुपर्ने हुन्छ | पृथ्वीमा ५० किलोग्रामको mass ब्रमाण्डको कुनै पनि ठाउँ चाहे सुर्य या अरु ग्रह होस् या अर्कै ग्यालेक्सी होस्, जहाँ लगे पनि ५० किलोग्राम नै हुन्छ | माथिको उदाहरणमा बस्तुको mass खासमा लगभग ५ किलोग्राम हो, यसलाई g ले गुणन गरेपछि तौल बन्छ | प्रिथ्वीमा g =10 भएकोले तौल ५० N हुन्छ | सुर्यमा g बढी छ, चन्द्रमा कम, त्यहि भएर तौल घटी-बढी हुने हो | माथि सबैलाइ किलोग्रामको सट्टा N भनेर बुझ्दा सबै ठिक छ |

    Reply
    1. Shova says:
      February 28, 2023 at 7:39 am

      Your Earth 🌎🌍🌎🌍 history is so beautiful and 🤔🧐

      Reply
  5. pawan says:
    May 26, 2014 at 5:52 pm

    One of the best nat geo documentary about earth formation.

    m.youtube.com/watch?v=Xsn3wpVAcjk

    Reply
  6. Anil Nepal says:
    May 26, 2014 at 4:56 pm

    लेखकलाई धेरै धन्यवाद 🙂 कति राम्रो लेख 🙂

    म पनि बिज्ञानको बिद्यार्थी भयकोले मेरो लागि यो औधि रोचक बिसय हो | स्कुलदेखि आजसम्म १५-२० वर्ष बिज्ञानका कुरा अध्यन गर्दा र तेस्मा पनि यो खगोल बिज्ञानको अध्यन गर्दा मैले एउटा जानकारी कतै पाउन सकिन ! यहि ब्रह्माण्डको जन्म बारे के ! 🙂 यहाँ लेखकले नि बताउनु भा छ नि, पहिले यो ब्रह्माण्ड एउटा सियो को टुप्पो जत्रो ठाउमा अटाएको थियो अनि आचानक एउटा धमाका भयो (बैज्ञनिकहरु यो धमाकालाई ‘big-bang’ भन्छन के रे)| तर रोचक कुरा नै यहि छ के 🙂 त्यो धमाका अर्थात ‘BANG’ त एउटा कार्य (effect)मात्र थियो, एसको कारक (cause)को कुरा किन कोहि गर्दैनन् ? cause बिनाको effect हुन्छ र कही ? एकजना अमेरिकाका जापानी बैज्ञानिक छन् नि “काकु” भन्ने, उनीसंग पनि एसको जवाफ रहेनछ 🙂 big-bang आगाडी time (समय)भन्नेनै थियन पो भने बा 🙂 बरु त्यो भन्दा राम्रो जवाफ त हाम्रा ऋषि-मुनी हरुसंग छ 🙂
    हाम्रो धर्मले भन्छ नि, सुरुवात र अन्त्य को परिधिभित्र सिमित भयको मानिसले हरेक कुराको सुरुवात र अन्त्य खोज्छ जवकी ब्रम्हाण्ड त अनन्त काल देखि छ, एसको सुरुवात र अन्त्य बारे सोच्नु मानिसको क्षमता भन्दा बाहिरको कुरा हो |
    तपाई के भन्नु हुन्छ ?

    Reply
  7. Mr. Poudel says:
    May 26, 2014 at 10:51 am

    करिब १४ अरब बर्ष पहिलेसम्म यो ब्रमाण्ड कुनै एक बिन्दुमै एकदम खाँदिएर रहेको सानो भएको, र अहिले द्रुत गतिमा फैलिइरहेको बैज्ञानिकहरुको बिश्वास छ…

    आखिर बिश्वासको जगमा त बनेको रहेछ बिज्ञानको घर पनि|

    Reply
  8. डिल्ली says:
    May 26, 2014 at 9:52 am

    लेख राम्रो छ । बुझ्न सहज र सरल तरिकाले विषय वस्तु राखिएकाले राम्रो छ । तर हालसम्मको बैज्ञानिक अनुसन्धानका उपलब्धि, बाइबलमा भनिएको १ दिनको सृष्टी, हिन्दू शास्त्रका केही मिथकहरूमा मधुकैटबकोलाई विष्णु भगवानले मार्दा त्यसैबाट बनेको भन्नुमा आखिर सारमा उस्तै स्थित छ र सबै यो उ त्यो लगायतका अद्ययनले पुष्टी भनेका अन्दाजामात्र हुन् । ब्रह्माण्डले सामान्य गुरुत्वाकर्षणको नियम पनि पालन गरेको छैन भन्ने त एकबाट अनेक हुँदै फैलिरहेको भन्ने माथीको तथ्यले नै देखाउँछ ।

    सृष्टी बुझ्न कति सम्भव भन्नलाई यौटा बास्तबिकता बताउन मन लाग्यो । पृथ्वीको सृष्टीलाई ४.५ अर्व वर्ष मान्दा सौर्य प्रणालीले आकास गङ्गालाई २२.५ पटक परिक्रमा गरेछ । अथवा आकाश गङ्गा वर्षमा भन्ने हो भने २२.५ वर्षको लक्का जवान रहेछ पृथ्वी । त्यो लक्का जवानको संसारमा मान्छेको सरदर आयु ३ सेकेण्डमात्र हुने रहेछ । जीवनको पहिलो १ सेकेण्ड बामेर सर्दा, ताते ताते भन्दा र पढाईको सतह छाम्दै बित्ने रहेछ । दोस्रो सेकेण्ड खोजी, अद्ययन र अनुसन्धान गरेर वित्ने रहेछ । त्यसपछिको अन्तिम सेकेण्ड पूर्वीय केहीकालागि राम नाम जप्तै र समग्रकालागि लौरो टेक्तै वित्ने र इहलिला सकिने रहेछ भने मान्छेले सृष्टीको र ब्रह्माण्डको व्याख्या कति सहीरुपमा गर्ला त !

    हालसम्म कति कति वर्षमा उही किसिमको जलवायु दोहोरिन्छ भन्ने थाहा हुन सकेको छैन । पृथ्वीमा पानी कहाँबाट आयो भन्ने तथ्य थाहा हुन सकेको छैन । अनुमानमा पुच्छ्रे ताराले ल्याएको भन्ने छ । १२ वर्षमा खोला फर्किन्छको स्थितिमै सिमित छ ।

    जोक गरेरै सोध्नु पर्दा त्यति साह्रै ब्रह्माण्ड नै बताउन सक्ने मान्छेले भर्खरै हराएको मलेसियन एयरलाइन्सको जेट कता गयो भनेर सोधे के जवाफ फर्काउने भन्नेमा बैज्ञानिक अन्यौलमा छन् ।

    खोज्दै जाँदा स्वयम् मानव शरीर ब्रह्माण्ड भन्दा कम रहस्यमय छैन । हालको रसायन विज्ञान मान्छे जीउँदो हो कि मरेको हो भन्दा रसायनिक प्रकृयालाई हेर्दा मरेकै भन्नु पर्ने अवस्थामा छ ।

    यदि “१४ अरब बर्ष पहिलेसम्म यो ब्रमाण्ड कुनै एक बिन्दुमै एकदम खाँदिएर रहेको सानो भएको, र अहिले द्रुत गतिमा फैलिइरहेको बैज्ञानिकहरुको बिश्वास छ ” भन्नेलाई मान्ने हो भने भागवत गीतामा ” म सृष्टीको शुरूमा सबै आत्माहरूलाई सृजना गरिदिन्छु र सृष्टीको अन्त्यमा सबैलाई म मै लीन गर्दँछु” भनेकोलाई मान्न गाह्रो मान्नु भएन नि हैन र ? त्यति त पूर्वीया ऋषिमुनीहरूले उहिले नै भनेका छन् त ! एक स्थानबाट पिण्ड टुक्रिएर ब्रह्माण्ड बनेको हो भने त गीताले भनेको जस्तो कुरा त सिनेमाको मध्यान्तर अघिको आधा कथा बैज्ञानिकले बताउँदैछन् मध्यान्त पछिको कथा कहिले बताउलान त त्यो हुबहु गीतामै लेखे जस्तो ?

    Reply
    1. बशन्त राज says:
      May 26, 2014 at 4:12 pm

      एक तर्क मा प्रस्तुत गर्न चाहान्छु / त्यो मधु कैटब को हड्डी ले पत्थर बन्यो भन्नेकुरा एक आदि सत्य हो भन्ने मलाई लाग्छ / हो त्यो मधु कैटब भन्ने दैत्य नहोला तर पत्थरमा जिबास्म हुन्छ / यो कुरा बिज्ञानले पनि मान्छ / हालै मात्र अर्जेनटीनामा हाल सम्मकै सबभन्दा ठुलो डाईनासोर को हड्डी भेटियो / सायदै हाम्रा पुर्बिय धर्म ग्रन्थमा पनि त्यसै हड्डी को आधार त्यो ठुलो मानबको परीकल्पना गरी कोही कथा बनाईएको हुनसक्छ / हामी संग प्रबिथी छैन / सलीग्राम पनि एक प्रकार को जिबास्मनै हो / जसलाई हिन्दु धर्ममा पुजा गर्ने गरीन्छ / त्यो पनि अध्यान अनुसन्धान गर्नु पर्छ / तर तेस्को लागि फेरी प्रबिधीकै कुरा आउछ / जुन नेपालमा छैन / अर्को कुरा मानब को विकास बादर बाट भाको हो / यो चार्ल्स डार्बिनको बैज्ञानिक खोज को नतीजा हो / तर यो भन्दा पहिल्ये रामायणमा बोल्ने बादरको कल्पनामा राबनले अपहरण गरेको सीतालाई बोल्ने बादरहरु हनुमान सुग्रिबहरुको शहयोगमा पत्ता लगाएको कुरा आउछ / यसबाट पनि हिन्दु धर्म अलि बैज्ञानिक भयको सिद्द हुदैनर / होला पूर्ण बैज्ञानिक नहोला तर युगोउ पहिले सुनेर लेखेको कुरा समय परिस्थिति अनुसार परिबर्तन भय होलान / अथवा हामीले बुज्न पनि नजानेको हुनसक्छ /
      एक पटक खाडीमा हाम्रो तालिम चलेको थियो / २० जना यु आकारमा बसेका थियौ / हाम्रा गुरुले एक खेल खेलोउ भने / गुरुले यु आकारमा रहेको पहिलो साथीलाई कानमा केहि कुरा भने त्यो कुरा अर्को साथीलाई खुसुक्क कान अर्कोले नसुन्ने गरी भन्ने पर्ने थियो / गुरुले यु आकारमा रहेको पहिलो साथीलाई भनेको कुरा अर्को कुनामा रहेको २० साथी सम्म पुग्दा पुरै परिबर्तन भयको थियो / सायद हामी मानब विकास क्रमम त्यो जस्तै हामीले पुर्खाको या भनु धर्म ग्रन्थ उल्टो बुजेको पनि हुनसक्छ / धर्म ग्रन्थमा भगवान एक ठाउबाट अलप भयर तुरुन्तै अर्को ठाउमा पुगेको कुरा आउछ / सायद त्यो समयमा एस्तो यन्त्रको परिकल्पना गरियो कि तेस्को गति प्रकास भन्दा छिटो थियो / हामीलाई सुनेका के भने बैज्ञानिकले अवाज भन्दा छिटो उड्ने बिमान बनाको छ / आबाज भन्दा छिटो उड्ने बिमान हुन्छ भने / प्रकासभन्दा छिटो उड्ने यन्त्र निर्माण गर्न सकिन्छ कि सकिन्न त्यो विचारनिय कुरा हो /
      गीतामा हरेक बस्तु नास हुने छ भनीएको छ तर मलाई एस्तो लाग्दैन / बरु परिबर्तन सिल छ / हरेक चिज एक बाट अर्कोमा परिबर्तन हुने क्रममा सक्ति निस्कन्छ अथवा वरीपरी भयका अन्य बस्तु अथवा चिजलाई पनि आफु मै समेट्छ / उदाहरण दाउरा बल्दा ताप निस्कन छ तर दाउरा गोल खरानी अनि कार्बनदाईअक्साईड ग्यासमा परीबर्तन हुन्छ / जब जुन बस्तु परीबर्तन हुन्छ तेस्को गुण आकार सबैमा पुरा परीवर्तन आउछ / पुनर जन्म पनि यो जस्तै एक तर्क हो / म पुनर जन्म हुनेकुरा मान्छु तर त्यो धार्मिक ग्रन्थमा भने जस्तो होईन / पुनरजन्मको मेरो आफ्नै तर्क छ / हामी मासु खाने गर्छु / कुखुराको मासु मान्छेले खाए पछि त्यो कुखुराको मासु मानबको जीउमा पुनर जन्म भो / अब त्यो मान्छेको जीउमा कुखुरा गुण खोजेर पाउन सकिन्न / हामी मरे पछि धर्म अनुसार कोहीलाई जलाउछन, कोही खाल्डो खनेर गाडने गर्छन, अझ नेपालको एक सम्प्रदायमा मरेको मान्छेलाई गिद्दलाई खुवाउने सम्म चलन छ / यदी मान्छेलाई जलाएको छ भने धुवा ग्यास बनेर अकासमा उडेर जान्छ / कसैलाई त्यो गनोउने हुनसक्छ / तर खरानी खोलामा बगाईच्छ / त्यो खरानी माछाले खाने खान हुन्छ / अथवा त्यो खरानी माटो बनेर बिरुवालागि राम्रो माटो बन्न सक्छ / यदि गाडेको छ भने निच्चित समय पछि त्यो मरेको सरीरबाट अनेक जिबनु निस्कीयर त्यो लासलाई गलाउदै माटोमा मिलाउछ्न / गल्न गारो हड्डी लामो समय सम्म त्यो गाडेको रही रहन्छ / त्यो मरेको सरीरमा निस्कने जिबानुहरु. जलेको खरानी खाने माछा आदि नै पुनर जन्म हो भन्ने मलाई लाग्छ /

      Reply
  9. januka shrestha says:
    May 26, 2014 at 1:00 am

    Dear Mr. UTTAM PAUDEL,
    these are only a common mistake man. when you keep writing you cannot go for so much complex. even you, look at you. have you write every thing correctly.he is not trying to make somebody a scientist a something like that. to become a scientist you have to go to school. he is only trying to give a basic knowledge to people that how interesting this is and how funny this is. look at your own comment, there are so many mistakes on your words and stuff too.nobody is perfect and don’t even try to think yourself as perfect.

    Reply
  10. Gaurav says:
    May 25, 2014 at 10:17 pm

    बिज्ञानले सधैं साचो कुरा मात्र बताउछ, तर धर्मले सधैं झुट मात्रा बताउछ यदी समाजलाई झुटले गुम्राह गर्न सकियो भने उनीहरु माथि शासन गर्न पाईन्छ त्यसकारण ४ सय बर्ष अगाडि ग्यालिलियोले पृथ्वी गोलो छ अनी पृथ्वीले सुर्यलाई पारीक्रमा गर्दछ भन्ने कुर पत्त लगाउदा चर्चले जेल हालेका थिए नत्र आज हामी जे जान्दछौ त्यो कुर २ सय बर्ष अगाडि जान्थियौ

    Reply
  11. Hem Bhandari says:
    May 25, 2014 at 9:33 pm

    गौतम जी, सारै घत पर्ने बिसाए को छनौट गरी बिर्सी सकेका पुराना पुस्ता र थाहा नपाएका नया पुस्ता लाई समेत काम लाग्ने गरी लेख्नु भएकोमा धन्यबाद

    Reply
  12. Bishnu Nepali says:
    May 25, 2014 at 7:06 pm

    करिब १४ अरब बर्ष पहिलेसम्म यो ब्रमाण्ड कुनै एक बिन्दुमै एकदम खाँदिएर रहेको सानो भएको, र अहिले द्रुत गतिमा फैलिइरहेको बैज्ञानिकहरुको बिश्वास छ |

    I think this is what is called “the vibration of OM” in Vedas.

    Reply
  13. uttam paudel says:
    May 25, 2014 at 7:01 pm

    I understand that Gautam ji is attempting to educate general Nepali public on science, and so far he has been doing a fantastic job. However, as a physicist, I found some of the information in the beginning of the article to be misleading. Following I have listed some of the issues.

    Black Energy: I assume you meant Dark Energy? Dark Energy is not a substance, it is more complex that that. Space is not foamy, on a larger scale, it is homogeneous, almost flat, and boring. Nonetheless, it is commonly speculated that if you were to zoom the space to a very small distance (i.e. ~10^-35) it might be foamy. But then the whole idea of “looks”, “shape” become meaningless at that distance scale.

    “ग्यालक्सी बन्ने क्रममा घुमिरहँदा बिचमा खाली कालो प्वाल (Black Hole) हुने बिश्वास गरिएकोमा प्वालको बिचमा पदार्थ झन् बढी खाँदिएर रहेको हुने पनि पत्ता लागेको छ |”: The reality is more complex than what you have explained. We have indirect evidence that there exist black holes at the center of every galaxies, but by no means it is empty or a hole. It is a region of space filled with dense matter.

    “बिशेषज्ञहरुलाई समेत “बुझ्न कठिन, बुझ्यो झन् कठिन, झन् झन् बुझ्यो झन् कठिन” भै रहेको छ | बैज्ञानिक समुदायहरुमा नै हालसम्म अपनाइएका सिधान्त नै असत्य हुन्छन की भन्ने चिन्ता बढिरहेको छ |” : This is misleading. We know A LOT about the universe than people did 100 years ago. We have experimentally well supported theoretical ideas on how things work and they do their job very well. The complexity arises on the subtleties, which might be proven wrong in future. However, as a whole, the current understanding of cosmos is “correct” as an effective theory and will never be completely wrong.

    “हाम्रो अन्तरिक्ष केन्द्रमा गुरुत्वाकर्षण एकदम कम भएकोले मेशिनहरु अडेर रहन सकेका छन् |”: I am not sure what you mean by अन्तरिक्ष केन्द्रमा, but the gravitational force at the international space agency is about 90% of what we have at the surface, so by no means it is very low. The machines are stable because of some other reasons (they are “falling” on the stable orbitals), and the g-force is low because their accelerations cancel out the earth’s gravitation force, resulting in zero gravity.

    “आकाश गंगा नामक ग्यालक्सीमा भएको सबभन्दा चम्किलो तारा सूर्य र यसैलाई फन्को लाउने अन्य निश्चित आकारका हाम्रो पृथ्वी लागायतका आकाशीय पिण्डहरु ग्रह हुन् |”: Sun is by no means the brightest star. It is a medium size star with an average glow. There are many starts that are several million times brighter than our sun.

    Beside some issues, the article is informative.
    Keep up the good work.

    Reply
  14. zon stha says:
    May 25, 2014 at 5:29 pm

    दाइ को लेख धेरै राम्रो छ मलाई धेरै नै मन परो,अनि मन लगाएर पनि पढे@कसरी भयो पृथ्वीको उत्पत्ति ?बारे मा अरु पनि लेख्नु होला है दाइ!!!!!
    दाइ लाई मनै देखि धन्यवाद!!!!!!!!!

    Reply
  15. Ramesh Luitel says:
    May 25, 2014 at 5:01 pm

    Wow if you had more info would be awesome. …great job

    Reply
  16. Omendra GURUNG says:
    May 25, 2014 at 3:15 pm

    सारै राम्रो लाग्यो गौतम जी को यो लेख / हुनत मैले school मा यस्तै अलि अलि त पदेकै हो तर कति साथी भाई हरु ले विभिन्न धर्म मा आधारित फलाना ले बनाएको हो रे के रे भन्दा नापतौ भन्दा रिसाउने तेसैले ये… हो र ? भन्दै केहि थाहा नभा जस्तो गरेर हिड्दा हिड्दा हैरान भै रहेको बेलामा भएर हो कि किनःहो कुन्नि सारै गजब लाग्यो.

    Reply
  17. tekendra bista says:
    May 25, 2014 at 2:53 pm

    धन्यवाद गौतेम उदय ज्यु !पृथिबी का बारेमा धेरै जाने मौका मिल्यो

    Reply
  18. manohari bhattarai says:
    May 25, 2014 at 2:05 pm

    गौतम जी लेख सराहनीय छ ..पृथ्बी को बारेमा अझ रोचक जानकारी राख्नु होला..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme