Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिडियाले यसरी मूर्ख बनाउन खोज्छ पाठकलाई

Posted on May 23, 2014 by Salokya

हेर्नुस् ‘कान्तिपुर’ र ‘नागरिक’ले के गरे?

404 सोसल मिडियासमेत समेटिने न्यु मिडियाले पाठक सक्रिय हुने र सञ्चार अन्तर्क्रियात्मक मोडलमा गएको भन्छ। अध्ययनहरुले त्यही देखाउँछ। तर हाम्रा ठूला मिडियाका हर्ताकर्ताहरु भने अझै ८० वर्षपछाडिको म्याजिक बुलेट थ्यौरीमा नै अड्‌किएका छन्, जसले पाठकलाई निस्क्रिय ठान्छ। आफ्ना समाचार सामाग्रीलाई जादुमय गोली ठान्छ, ड्याङ्ग गोली हान्दियो, ठ्याक्कै पाठकको टाउकोमा लाग्यो। यो बीचमा कति थ्यौरी आइसके, हाम्रा मिडिया भने त्यही ह्याङओभरमा छन्। हेर्नुस् पाठकलाई मूर्ख बनाउन खोजेको केही उदाहरण।

सबभन्दा पहिला देशको नम्बर एक मिडिया कान्तिपुरको कुरा। विषय उही दिलशोभाको। कान्तिपुरको अनलाइन संस्करण इकान्तिपुरमा प्रकाशित मिति २०७१ जेठ ८ ०६:५७ भन्दै ‘आमाघर’लाई कारवाहीको सिफारिस, ‘बालबालिकालाई धर्म परिवर्तन गराउने मनसाय’ शीर्षकमा समाचार छापियो। त्यसको केही घण्टामा नै सोही लिङ्क र सोही मितिमा त्यो समाचारलाई पूरै परिवर्तन गरी नयाँ शीर्षक जुराइयो- ‘दिलशोभामाथिको यौन दुराचार आरोप पुष्टि भएन’, सञ्चार माध्यमले झुटा समाचार नदिऊन् : आयोग शीर्षक परिवर्तन हुनु ठूलो कुरा भएन। तर यहाँ त एउटा एङ्गलको समाचार पूरै अर्को एङ्गलमा बदलियो। धर्म परिवर्तनको विषय पूरै गायब बनाइयो। आखिर कसले दबाब दियो समाचार परिवर्तन गर्न ‘कान्तिपुर’लाई? हामीलाई थाहा हुने कुरा भएन। यसो सोसल मिडियातिर तपाईँहरु नै सोध्नुस् शायद् जवाफ पाउनु हुन्छ कि! तर त्यसअघि दुवै समाचार पढ्नुस्

कान्तिपुरका दुई समाचार यस्ता छन्

यो लिङ्कमा हो दुई थरि समाचार आएका
http://www.ekantipur.com/np/2071/2/8/full-story/389638.html

अहिले यो लिङ्कमा क्लिक गर्दा आउने समाचार यही लिङ्कमा क्लिक गरी हेर्न सकिन्छ। समाचारमा भनिएको छ-

‘दिलशोभामाथिको यौन दुराचार आरोप पुष्टि भएन’
सञ्चार माध्यमले झुटा समाचार नदिऊन् : आयोग

काठमाडौं, जेष्ठ ८ – राष्ट्रिय मानवअधिकार आयोगले बालगृह सञ्चालक दिलशोभा श्रेष्ठमाथि लागेको यौन दुराचार आरोप अपुष्ट भन्दै त्यससम्बन्धी झुटा सामाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई सुझाएको छ।
आयोगले दिलशोभा प्रकरणमा तीन महिना अनुसन्धानपछि बिहीबार प्रतिवेदन सार्वजनिक गरेको हो। ‘यस आरोपलाई लिएर प्रहरीसँग कल डिटेल मगाई छलफल गर्दा टेलिफोन कुराकानी कालिमाटी बस्ने एक वृद्धासँग भएको पाइयो,’ आयोगका कायममुकायम वेदप्रसाद भट्टराईले प्रतिवेदनमाथि प्रकाश पार्दै भने।
सञ्चार माध्यमहरूले यस प्रकरणमा यौन दुराचारको आरोपसहित झुटो समाचार सम्प्रेषण गरेको पनि आयोग प्रतिवेदनमा उल्लेख छ।

कान्तिपुरले समाचार लेखेको जस्तो आयोगले ‘सञ्चार माध्यमले झुटा समाचार नदिउन्’ भनेको छैन। न ‘सञ्चार माध्यमहरूले यस प्रकरणमा यौन दुराचारको आरोपसहित झुटो समाचार सम्प्रेषण गरेको’ आयोग प्रतिवेदनमा उल्लेख छ। आयोग प्रतिवेदनमा यस्तो लेखिएको छ-

यौन दुराचार जस्तो व्यक्तिको इज्जत, प्रतिष्ठा र सम्मानसँग जोडिएको विषयमा पर्याप्त आधार र प्रमाणविना समाचार सम्प्रेषण नगर्न र व्यक्तिको गोपनीयताको हकलाई समेत मध्यनजर गर्न आम सञ्चारमाध्यम तथा सम्बन्धित सबैलाई आयोग आग्रह गर्दछ। पूरा प्रतिवेदन हेर्न क्लिक गर्नुस्

सार्वजनिक रुपमा त हैन तर आयोगका अधिकारीहरुले व्यक्तिगत कुराकानीमा ‘नागरिक’ले हतारमा माफी माग्यो, यौन दुराचार पनि पुष्टि हुन सक्ने संभावना थियो, गम्भीर कुराहरु भेटिएका छन्, अनुसन्धान गरिरहेका छौँ भन्थे।

खैर यो कुरा छाडिदिउँ। बरु कान्तिपुरको हटाइएको समाचारमा चाहिँ के थियो, पढौँ।

अनलाइनमा एक पटक राखिसकेको सामाग्री मेट्दैमा र कालोपाटीमा सेतो चकले लेखेर डस्टरले मेटेर अर्को लेखे जस्तो हैन। यहाँ एक पटक राखेको चिज खोज्न जानियो भने जसरी पनि भेटिन्छ। कान्तिपुरले हटाएको समाचार गुगलको क्यासमा भेटिएको छ। हेर्नलाई यहाँ क्लिक गर्नुस् गुगलका अनुसार यो कहिलेको पेज हो-

This is Google’s cache of http://www.ekantipur.com/np/2071/2/8/full-story/389638.html. It is a snapshot of the page as it appeared on 22 May 2014 13:35:43 GMT. The current page could have changed in the meantime

हटाइएको र नयाँ राखिएको समाचारको तुलना गरौँ-

हटाइएको समाचार

‘आमाघर’लाई कारवाहीको सिफारिस

  • ‘बालबालिकालाई धर्म परिवर्तन गराउने मनसाय’

कान्तिपुर संवाददाता

काठमाडौ, जेष्ठ ८ – राष्ट्रिय मानवअधिकार आयोगले आमाघरबाट बालबालिकालाई अरुको घरमा श्रम गर्न पठाइएको भन्दै छानबिन गरी कारवाहीको सिफारिस गरेको छ । आमाघरको बिषयमा परेको उजुरीबारे छानबिन पछि आयोगले विहीबार प्रतिवेदन सार्वजनिक गर्दै आयोगले यस्तो निश्कर्ष निकालेको हो ।

आमाघरले अनुमति नलिई बालगृह सञ्चालन गरेको, त्यहाँ राखिएको ज्येष्ठ नागरिक र बालबालिकाको तथ्यांक नराखिएको, सरसफाईको राम्रो प्रबन्ध नभएको, घरेलु कामदारको रुपमा बालबालिकालाई अन्यत्र पठाइएको लगायत उजुरीबारे आयोगले छानबिन गरेको थियो ।

आयोगले आफ्नो अध्ययन अनुसार बालबालिकालाई श्रम गर्नको लागि आमाघरबाट अन्यत्र पठाइने गरिएको, आमागृहमा आश्रति बालबालिका तथा ज्येष्ठ नागरिकको तथ्यांक नराखिएको, आमाबाबु भएका बालबालिकालाई पनि आश्रयस्थलमा राखिएको लगायत तथ्य सार्वजनिक गरेको छ ।

‘अनुगमन टोलीले अनुगमन गरिरहँदा संस्थाबाट एक जना बृद्धा हराएको तीन दिनपछि कालीमाटीमा भेटिएको भनी प्रहरीले संस्थामा ल्याउँदै गरेको पाइयो’, आयोगको प्रतिवेदनमा भनिएको छ,’ती बृद्ध हराएको बारे आमाघर बेखबर रहेको पाइयो ।’

आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठसँग आयोग टोलीले सोधपुछ गर्दा केही बालबालिकालाई अभिभावकले ल्याउने गरी लगेको, केहीलाई नातेदारकोमा पठाएको र केहीलाई धनी व्यक्तिको घरमा राख्न पठाएको भनी वयान दिएको प्रतिवेदनमा उल्लेख छ ।

‘बालबालिकाहरुलाई क्रिश्चियन धर्मको मात्र पुस्तक र प्रार्थनामा सहभागी गराउने गरिएकोबाट प्रचलित कानुन विपरीत धर्म परिवर्तन गराउने मनसाय राखेको देखिन्छ’, आयोगको प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति: २०७१ जेष्ठ ८ ०६:५७

 

नयाँ राखिएको समाचार

‘दिलशोभामाथिको यौन दुराचार आरोप पुष्टि भएन’

  • सञ्चार माध्यमले झुटा समाचार नदिऊन् : आयोग

कल्पना घिमिरे

काठमाडौं, जेष्ठ ८ – राष्ट्रिय मानवअधिकार आयोगले बालगृह सञ्चालक दिलशोभा श्रेष्ठमाथि लागेको यौन दुराचार आरोप अपुष्ट भन्दै त्यससम्बन्धी झुटा सामाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई सुझाएको छ ।

आयोगले दिलशोभा प्रकरणमा तीन महिना अनुसन्धानपछि बिहीबार प्रतिवेदन सार्वजनिक गरेको हो । ‘यस आरोपलाई लिएर प्रहरीसँग कल डिटेल मगाई छलफल गर्दा टेलिफोन कुराकानी कालिमाटी बस्ने एक वृद्धासँग भएको पाइयो,’  आयोगका कायममुकायम वेदप्रसाद भट्टराईले प्रतिवेदनमाथि प्रकाश पार्दै भने।

सञ्चार माध्यमहरूले यस प्रकरणमा यौन दुराचारको आरोपसहित झुटो समाचार सम्प्रेषण गरेको पनि आयोग प्रतिवेदनमा उल्लेख छ।

अवैध बालश्रम गराएकोमा कारबाही !

आयोगले रविभवनस्थित ‘आमाघर’मा आश्रति बालबालिकालाई गैरकानुनी श्रम गराएको भन्दै सञ्चालक श्रेष्ठमाथि कारबाही गर्न सरकारलाई निर्देश गरेको छ ।  ‘अनुसन्धानका क्रममा घरेलु श्रममा पठाएका एक बालकलाई मालिकले रातको १२ बजेसम्म काममा खटाएको, त्यसरी काम गर्न नसकेपछि भागेर आमाघर फर्केको पाइयो,’  भट्टराईले भने, ‘गैरकानुनी ढंगले अविभावकलाई समेत जानकारी नदिई घरेलु काममा पठाएको पाइएकाले कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएका हौं ।’

बाल श्रम निषेध र नियमित गर्ने ऐन २०५६ को दफा ३ ले १४ वर्ष मुनिका बालबालिकालाई श्रममा लगाउन बन्देज गरेको छ । यसको उल्लंघन गर्नेलाई तीन महिनासम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।  भट्टराईका अनुसार श्रेष्ठले कसैसँग स्वीकृति नलिई मापदण्डविपरीत आमाघरमा बालबालिका राखेको पाइयो । आमाघरको विधानमा बालबालिका राख्ने प्रावधान पनि छैन ।  ‘जिल्ला प्रशासन कार्यालयमा उजुरीका साथ दिइएको भिडियो, अडियो टेप र तस्बिर अध्ययन गर्दा त्यहाँ रहेका बालबालिका र ज्येष्ठ नागरिकहरू सरसफाइ, पोषणयुक्त खानपान, स्वास्थ्य, हेरचाह, बसोबास, खानेपानी, सुरक्षालगायतका दृष्टिकोणबाट जोखिमपूर्ण रहेको पाइएको हो,’ प्रतिवेदनमा भनिएको छ ।

श्रेष्ठविरुद्ध उजुरी सम्बन्धमा ०७० साल फागुन १३ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आयोग, केन्द्रीय बालकल्याण समिति, जिल्ला बालकल्याण समिति र महानगरीय प्रहरी परिसरबीच समन्वय बैठक बसेको थियो । बैठककै निर्णयअनुसार फागुन १४ मा आमाघरबाट ३७ बालबालिकाको उद्धार गरिएको थियो ।

प्रकाशित मिति: २०७१ जेष्ठ ८ ०६:५७

 

 

दुवै समाचार हेर्दा तपाईँले फरक देखिहाल्नुभो होला। नयाँ समाचारको लिड लाइन (पहिलो वाक्य)मै प्रमुख प्रतिस्पर्धी मिडिया ‘नागरिक’ ले गल्ती गरेको देखाउने भित्री उद्देश्यबाट अभिप्रेरित छ। त्यसबाहेक नयाँ समाचारमा प्रतिवेदनमा रहेको बालबालिकाकै कुरा मात्र उठाइएको छ।

पुरानो समाचारमा भएको आमाघरबाट एक वृद्धा हराएको र तीन दिनपछि प्रहरीले भेटेर फर्काएको प्रसंग नयाँ समाचारमा अटाएको छैन। आमाबाबु भएका बालबालिकालाई पनि आश्रयस्थलमा राखिएको भन्ने तथ्य पुरानो समाचारमा छ, नयाँमा बिरालोले गु लुकाए झैँ लुकाइएको छ।

सबभन्दा गम्भीर, धर्म परिवर्तनको विषयलाई नयाँ समाचारले पटक्कै छोएको समेत छैन। किन होला ? के ‘कान्तिपुर’ले यो कुरा लुकाउँदैमा लुक्छ होला त ? अहिलेको जमानामा सूचनाका धेरै स्रोतहरु हुन्छन्, के पाठकले थाहा पाउँदैनन् र ?

नागरिक पनि कम छैन है

कान्तिपुरले आफूलाई नम्बर वन दावी गरे जस्तै नागरिकले नम्बर टु गर्छ। नागरिकले गरेको फट्याँइ पनि आजका सक्रिय पाठकले थाहा पाइसकेका छन्।

ट्विटरतिर सक्रिय हुनुहुन्छ भने तपाईँले एउटा नाम थाहा पाउनुभएको होला- मान्ठा। यी तिनै व्यक्ति हुन्, जसको ट्विट कमल थापाले संसद्‌मा समेत पढेर सुनाएका थिए। तिनै मान्ठाले हिजो गरेका केही ट्विट हेरौँ-

राजनसिंह भण्डारीको पुरुषार्थको बारे एकजना साथीलाई लिंक देको खुल्दै खुलेन http://t.co/RLq1Xc2oWK यो लिंक हटाकै हो @phalano ? @sushbhattarai

— मान्ठा (@iMaanthaa) May 22, 2014

स्वतन्त्र पत्रकारिताको ध्वाँस नछाडे हुन्छ @Nagarik_news एबं @phalano ! राजनसिंह भंडारीको न्युज थ्रेडमा यस्तो किन ?? pic.twitter.com/nnBRE74Lrt

— मान्ठा (@iMaanthaa) May 22, 2014

@Nagarik_news ले राजनसिंह भंडारीको बारेको न्युज हटाएछ । दिलशोभा काण्डबाट चेतेर हो कि अदृश्य शक्तिको दवावमा हो ? pic.twitter.com/HthSUNpJRZ

— मान्ठा (@iMaanthaa) May 22, 2014

अब नागरिकले हटाएको त्यो न्युजमा के रहेछ भनेर हेर्न मन लागेको हो भने फेरि गुगलको शरणमा पुगे हुन्छ।

न्युज यो लिङ्कमा थियो
http://nagariknews.com/economy/story/18362

गुगलको Cache मा हेर्न यहाँ क्लिक गर्नुस्

पाँच वर्ष पुरानो एउटा न्युज अकस्मात् अहिले बिना प्रसंग ड्याङ्ग ठूलो समाचार बनेर किन आएछ त्यो पनि बुझिएन। अनि आइसकेको समाचार अनलाइनमा किन हटाइयो, त्यो पनि बुझिएन। एउटै कुरा बुझे जस्तो लाग्यो- चलखेल गर्नेहरुले साहु विनोद ज्ञवाली र संस्थालाई डुबाउन खोज्या चाहिँ छन्।

भित्री कुरा जे भए पनि अनलाइनमा एक पटक राखिसकेको चिज डिलिट गर्न नपाइने अन्तर्राष्ट्रिय मान्यता हो। गल्ती भए भूल सुधार गर्ने हो, गलतै कुरा भएर हटाउनै पर्ने भए त्यही लिङ्कमा यो भएर हटाइएको भनेर सूचना दिनुपर्ने हो। समाचारै डिलिट गर्ने नागरिकन्युज र समाचार आफ्नो स्वार्थ अनुकूल भएन भनेर त्यो समाचारलाई पूरै फेरेर एङ्गलै चेन्ज गर्ने र पहिलेको समाचारमा रहेका कतिपय कुरालाई लुकाउने, त्यो पनि बिना जानकारी गरेर कान्तिपुरले पनि पाठकलाई मूर्ख बनाउन खोजेकै हो।

13 thoughts on “मिडियाले यसरी मूर्ख बनाउन खोज्छ पाठकलाई”

  1. बशन्त राज says:
    May 25, 2014 at 10:25 am

    यो मिडियाको आलेख पठेपछि एक कथा याद आयो / कथा यस प्रकार छ /
    खसी की कुकुर
    कान्ते, नरे, सेते र राते नामाका ४ जना ठगहरु एक गाउमा बस्दा रहेछन / उनीहरु कामै अरुलाई ठगेर खानु थियो / एकदिन उनीहरुले ठग्न कोही पाईरहेका थिएयनन / गाऊको चौतारामा बसेर कसलाई ठग्ने (आधुनिक भाषामा मुर्गा बनाउने) भन्दै मान्छे हेर्दै थिय / यसै क्रममा पाल्लो गाउबाट एक ब्यापारी जनता प्रसाद खसी डोराउदै आको ती ठगहरुले देखे / त्यो देखेर ति ४ जनाले त्यो ब्यापारी ठग्ने यो योजना बनाए /
    त्यो योजनानुसर पहिले सेते त्यो ब्यापारीको नजिक गएर सोध्यो / “हैन हो जने दाजु यो के डोराको हो/” भन्दै सोधेछ /
    त्यो ब्यापारीले सिधा कुरा गर्दै भनेछ / ” ए सेते त पो! यो पाल्लो गाउमा एक किसानको घरबाट एक खसी कीनेर ल्याको भनेछ /”
    सेतेले नाटक गर्दै भनेछ “के रे यो खसी रे! हैन जने दाजु दिउसै तीनपाने (दारु) खायौ कि क्या हो / कुकुरलाई खसी पो भन्दैछउ/” भन्दै हास्दै हिडेछ /
    यो सुनेर त्यो ब्यापारी जनता प्रसाद के भन्नु न भन्नु भयछ / अर्काको कुरा सुन्न हुदैन भन्दै ब्यापारी अगाडी बढेछ /
    अली अगाडी गए पछी बाटामा रातेलाई भेट भयछ / त्यो रातेले पनि सेतेले जस्तै के लीयर आको जन दाजु भनेछ? त्यो ब्यापारी जनता प्रसादले सिधा कुरा बतायो / तर त्यो राते पनि सेतेले जस्तै कुकुरलाई खसी भन्ने पागल भयोउ कि क्या हो भन्दै हिडेछ /
    त्यो सुनेर त्यो ब्यापारी जनता प्रसादको मनमा अलिकति शंकालगेछ / त्यो शंका गर्दै ब्यापारी अगाडी बढेछ / अली अगाडी गको के थियो नरेलाई आउदै गरेको देख्यो / नरे त्यो ब्यपारीलाई देखेर पनि नदेखे जस्तै गरी हिडदै थियो /
    ब्यापारी जनता प्रसादले बोलाउदै सोध्यो ” हैन हो नरे काहा हिडेको होस?” नरेले संन्किदै जबाफ दियो “म जहाँ जाउ तिमिलाई के मतलब?” ब्यापारी पुन नम्र हुदै भनेछ “नरीशा न हो नरे! हेर न छीमेकी गाउबाट खसी किनेर ल्याको / कती धार्नीको होला भन हो ?” भन्दै सोधेछ /
    “दिमाग फुस्कियो कि क्या हो? कुकुरलाई खसी भन्दो रछ/” भन्दै नरे पनि हास्दै आफ्नो बाटो लागेछ / त्यो सुनेर ब्यापारी जिल पर्दै त्यो खसीलाई हेर्दै अली अगाडी गएछ / एक छिन रोकीएर त्यो खसीको जीउ कान खुट्टा छामछुम गर्दै थियो / यतिकैमा परबाट कान्तेलाई आउदै गरेको देखेछ / त्यो व्यापारीले कान्तेलाई बोलायरै सोधेछ / ” ए कान्ते मलाई भन त मैले हातमा डोराएको के हो ?”
    कान्तेले भन्यो “के हुन्त्यो कुकुर डोराएका छउ / किन कुकुर पाल्न लागेको हो कि क्या हो/”
    “हैन यो त खसी पो हो त?” ब्यापारी भनेछ /
    कान्तेले भनेछ “दीउसै गाजा खाएउ कि क्या हो? कुकुरलाई खसीभन्दो रछ /” भन्दै कान्ते पनि बाटो लगेछ /
    कान्तेले यती भने पछि त्यो ब्यापारीलाई आफुले कुकुरै डोराएको पाक्का भएछ / अनि त्यो खसीलाई कुकुर भन्दै त्यही छाडेर/ त्यो किसनलाई खसी भन्दै कुकुर बेच्ने भन्दै गाली गर्दै घरको बाटो लागेछ /
    ति सेते, राते, नरे र कान्तेले लुकी लुकी त्यो ब्यापारीलाई पछ्याउदै थिए / जसै त्यो ब्यापारी जनता प्रसादले त्यो खसीलाई कुकुर भन्दै तेसै छोड्यो / ति ठगले त्यो खसी समातेर मासु खाने तारतम्य मिलाउन लागे /
    यो कथा मैले कतै पढेको थिय / यसै कुरा माथिको आलेख पढे मेरो मनमा लाग्यो / यस कथा को पात्रहरुको नाम काल्पनिक हो / यो कथा बाट मिडीयाले कसरी सेतोलाई कालो अनि कालोलाई सेतो बनाउछन भन्ने बुज्न सकिन्छ भन्ने हामीलाईलागीराछ /

    Reply
  2. सिर्जने says:
    May 23, 2014 at 9:17 pm

    धर्म परिबर्तन गराउनेहरुको दबाब परेको हुनसक्छ, देशको नम्बर वन पत्रिका कान्तिपुरलाइ दालरोटीको सवाल भए जस्तो छ गाठे! आखिर सबैजसो प्रकाशन डलरबाट चलेका जस्तो देखियो /
    परिवर्तन सम्बन्धि मा आफैले फोगेको अनुभब बाड्न चाहन्छु यहाँ- म हिन्दु परिवारमा जन्मेको हु, धर्म खासै मान्दिन, भगवानको अस्तित्वमा बिस्वास लाग्दैन तर संस्कृति जोगौनुपर्छ भन्ने लाग्छ मलाइ / मा हाल विदेशमा बस्छु / मेरो छोरा ८ बर्षको हुदाताका उसको एउटा मिल्ने साथी थियो, उसको परिवार क्रिस्चियन धर्म मान्थे / उनीहरु चर्चमा काम गर्थे तेसैले पुरै परिवार आइतबार दिनभरी चर्चमै हुन्थे / त्यो चर्च हामि बस्ने ठाउबाट २-३ मिनेटको पैदल दुरीमा भा’कोले साथीलाई भेट्न अनि उसंग खेल्न हरेकजसो आइतवार चर्च मै जान्थ्यो मेरो छोरो / केटाकेटी छुट्टै हलमा खेल्थे चर्चको कार्यक्रममा सामेल हुदैनथे / छोरोलाई पुर्याउन र लिन म जान्थे, यसै क्रममा चर्चको पादरिसंग भेट भैरहन्थ्यो / उनीहरुलाई हामी हिन्दु हो भनेर रामरी थाहा थियो, कतिचोटी संगै बसेर लन्च खाइयो, कुराकानी धेरै गरियो / सधै भेट्दा खुब हार्दिक भएर कुरा गर्थे, देखेपछि ग्वाम्लाङ्ग अगालो हाल्न आउथे, मलाइचै अलि अफ्ठ्यारो लाग्थ्यो / एक चोटी पादरीले भन्यो – “यी दुइ केटाहरु संगै खेल्छन, संगै स्कुल जान्छन, तिनको अब बैबल पढ्ने बेला भयो, म यिनीहरुलाई आइतबार आइतबार बाइबल पढ़ाउनुपर्यो भनेर विचार गर्दैछु, तिम्रो के बिचार छ?” मैले भने “तिमीलाई थाहै छ हामी हिन्दु हौ, तेसो भन्दैमा क्रिस्चियन को बिरोध गर्ने भन्ने होइन, तर म धर्ममा उस्तो चाख राख्ने मान्छे होइन, मेरो छोरा अहिले सानै छ, धर्म भनेको बुझ्ने बेला भा’को छैन, उ ठुलो भएर बुझ्ने भएपछी उसलाई के धर्म मान्न मन लाग्छ त्यहि गरोस भन्ने मेरो चाहना छ” उसले तिमीलाई तेस्तो लाग्छ भने ठिकै छ भन्यो, तर अर्को हप्ता देखि मसंग चर्च का कोइ मान्छे पनि नजिक आउन छोडे, बोल्नै नखोज्ने, वास्तै नगर्ने गर्न थाले / मेरो छोराको साथि संगको मित्रता अहिले पनि कायमै छ, उनीहरु सरेर अलि टाढा गएकोले अहिले त्यो चर्चमा जादैनन्, हाम्रो पारिवारिक भेट हुन्छ, धर्मको कुरा चै हुदैन / छोरोलाई घिउभात मनपर्छ, बाउचैनेले चनाको तरकारी भनेपछि सासै रोक्छ, अनि आमाचैले एक सिसि मुलाको पिरो अचार एकै छाकमा सिध्याउला जस्तो गर्छे /

    Reply
  3. Rakesh Nirdoshi says:
    May 23, 2014 at 9:02 pm

    येति सम्म गिरिसके है.. ठुला भनिने मिडिया हरु !! एथार्थ समाचार present गर्ने भन्दा पनि make गरेर मालिक को आदेश सिरोपर गर्छन र आफ्नो स्वार्थ पूर्ति गर्छन !! तर अब यिनीहरुलाई यिनीहरुले चाहे अनुसार जनताको दिमाग भुट्न तेती सजिलो छैन !! mysansar र अरु social मेडिया हरुले येथार्ट समाचार दिएर यिनीहरुलाई चुनौती दिसके !!!! यो आमाघर र दिल्शोवा को मुद्धा मा mysansar ले लिएको take लै म सम्मान गर्छु !! येसरी नै अगाडी बढेको खण्डमा यी कथित ठुला भनिने मिडिया हरु झुक्न बाद्य हुनेछन !!!

    Reply
  4. सन्तोष says:
    May 23, 2014 at 8:14 pm

    महत्त्वपूर्ण विषय उठाउनुभएकोमा सालोक्यज्यूलाई धन्यवाद ।
    कहिलेकाहीँ समाचारका साथै त्यसमा पाठकले गरेका प्रतिक्रियाहरु पढ्न रमाइलो हुन्छ ।
    26 Feb 2014 | 07:17am बुधबार १४ फागुन, २०७० मा नागरिकन्युजमा प्रकाशित “दिलशोभालाई ‘यौन दुराचार’को आरोप” शिर्षकको यो समाचार http://nagariknews.com/feature-article/story/14204/14204 मा आएका प्रतिकृयाहरु मध्ये सान्दर्भिक/असान्दर्भभिक जे भएपनि चर्चित पत्रकार तथा हेल्पनेपाल संस्थाका प्रमुख रविन्द्र मिश्र सम्बन्धी दुईवटा प्रतिकृया नागरिकन्युजले हटाएको(डिलिट गरेको) छ । ति हटाईएका प्रतिकृयाहरु https://mobile.twitter.com/alwaysunsatisfy/status/439074943880294400/photo/1 मा हेर्न सकिन्छ । किन ति प्रतिकृया हटाईयो? भनेर मैले ट्विटरमा नागरिकका पत्रकार केपी ढुङ्गाना र नागरिकन्युज समेतलाई मेन्सन गरेको थिएँ तर उहाँहरुले कुनै चासो देखाउनुभएन https://mobile.twitter.com/alwaysunsatisfy/status/439074943880294400 ।
    मेरो प्रश्न चाहिँ पाठकले गरेका प्रतिकृया गलत नै किन नहोस् त्यसरी डिलिट गर्नु ठिक हो त ? बरु पत्रकारले ति पाठक प्रतिकृयाहरुका बिषयमा आफैँले खोज/अनुसन्धान गर्नुपर्ने ठाउँमा यसरी मुख बन्द गराउन खोजेर हुन्छ ? संचारमाध्यमका तिनै पाठकको आवाजलाई यसरी दबाउन खोजिन्छ भने भोली त्यो संचारमाध्यमका गर्ाहक चाहिँ को बाँकी रहन्छ कुन्नि !

    अनि यो ब्लगमा सालोक्यज्यूले पनि अलि कुरा चपाउनुभयो । जनताले सत्यतथ्य खोजिरहेको बिषय मा “सार्वजनिक रुपमा त हैन तर आयोगका अधिकारीहरुले व्यक्तिगत कुराकानीमा ‘नागरिक’ले हतारमा माफी माग्यो, यौन दुराचार पनि पुष्टि हुन सक्ने संभावना थियो, गम्भीर कुराहरु भेटिएका छन्, अनुसन्धान गरिरहेका छौँ भन्थे।

    खैर यो कुरा छाडिदिउँ। बरु कान्तिपुरको हटाइएको समाचारमा चाहिँ के थियो, पढौँ।” भनेर कुरा लुकाईरहनुभएको त छैन ?

    Reply
    1. abhi says:
      May 24, 2014 at 10:11 am

      Twitter मा छानबिन चाहियो भनेर कुर्लेर केहि हुन्न, सम्बन्धित निकाय मा जानु पर्छ | रबिन्द्र को सालो ले गडबडी गरेको छ भने सम्बन्धित ठाउँ मा गए भैहाल्यो नि, हावा आरोप लगाएर कसैको बदनामी मा उत्रेर के हुन्छ? मेडिया को काम कमेन्ट छाप्ने मात्र होइन, त्यो कमेन्ट ले कसैको व्यक्तिगत चरित्र हत्या नहोस भनेर साबधानी अपनाउने accountability र responsibility को पनि ख्याल राख्नु पर्छ | कसैको अनुहार मन परेन भन्दैमा जे पायो तेही लेखिएका कमेन्ट पाठक को विचार भनेर छापिन्न र छापिनु हुन्न |

      Reply
      1. सन्तोष says:
        May 24, 2014 at 3:24 pm

        हो । “मिडिया को काम कमेन्ट छाप्ने मात्र होइन, त्यो कमेन्ट ले कसैको व्यक्तिगत चरित्र हत्या नहोस भनेर साबधानी अपनाउने accountability र responsibility को पनि ख्याल राख्नु पर्छ |” मैले मानेँ कि पाठकले गलत कुरा गरे होला । मिडियाको accountability र responsibility अन्तर्गत जनताको भावनाको सही तरिकाले सम्बोधन गर्नु पर्छ कि पर्दैन ? मिडियाको काम चाहिँ आफैँ निर्णय गरेर समाचार बनाउने हो त ? त्यसो भयो भने त समाचार हैन बिचार लादेको भएन र ! पाठकले भनेको कुरा गलत हो भने यो यो कारणले गलत हो भनेर पत्रकार/मिडियाले आफूले जानेको कुरा भन्न सक्नु पो सही सम्बोधन गरेको हुन्थ्यो त ।रबिन्द्र मिश्रभन्दा प्रतिष्ठित ब्यक्तिहरुका बिषयमा गरिएका लाखौँ नकारात्मक प्रतिकृयाहरुको पनि सहि सम्बोधन गरेका उदाहरण छन् । केही समयअघि कनकमणि दिक्षितले गर्नुभएको आमन्त्रण पनि यहाँलाई जानकारी होला ।।
        नागरिकले डिलिट गरेका ति दुई पाठक प्रतिकृयालाई पनि ३० र १८ जना अरु पाठकले चासो देखाएछन् भनेपछि मिडियाले दबाउन खोजेर मात्र हुन्छ ? बरु त्यसको सहि सम्बोधन गर्नु पो महानता हुन्थ्यो ।
        पाठकले सम्बन्धित ठाउँमा पुर्याउन सम्भव थियो थिएन एउटा पाटो भयो के उहाँहरुले त्यो पोस्टमा कमेन्ट लेख्नु नै गलत थियो त ?
        बिनाकारण कसैको बदनामी हुनु हुँदैन त्यो कुरामा पाठक + मिडिया दुवै सचेत हुनुपर्छ ।
        दिलसोभा श्रेष्ठकै कुरा गरौँ न ; नागरिकले ‘यौन दुराचार’ शिर्षकमा मुख्य समाचार बनाएर छाप्दा चाहिँ प्रमाणित नै नभएको बिषयमा उनको ‘चरित्र हत्या’ गर्ने प्रयास भएको मान्ने कि नमान्ने !
        मैले प्रष्ट देखेको मुख्य समस्या चाहिँ पत्रकार आफैँ निर्णायक भएकोले यस्तो भएको हो ।

        Reply
  5. Bindu says:
    May 23, 2014 at 1:10 pm

    पैसामा बिकेका छेरपाटे मिडियाहरु !
    हुति नभा’को लुते मिडियाहरु !
    सही कुरामा अडिग रहेर संघर्ष गर्न नसक्ने लाछी मिडियाहरु !
    बेईमान !!!

    Reply
  6. achut says:
    May 23, 2014 at 11:43 am

    सहि भन्नु भो ‘८० बर्ष पहिलेको म्याजिक बुलेट’, हामी लाई त बोका नै सोच्छन/हामी लाई नि एक प्रकार को ‘फोबिया’ भाको छ “मलाई त कान्तिपुर नपढी चिया नै खल्लो लाग्छ”…”नागरिक को कुरा नै बेग्लै”….k .पोस्ट ले फ्रेश गराउछ……जब सम्म अखबार लाई ‘समाचार’ संग ‘निस्पक्षता’ संग ‘सन्तुलित विचार’ संग हैन ‘लगानी’, ‘जागिर’ अनि पहुच संग तुलना गरेर हामी बस्छौ तब सम्म हामी लाई बोका बनाउन हामी नै उनीहरु लाई सहयोग गरिरहेका हुन्छौ/

    “ताम झाम सहित हिडेका मिडिया, गन्तब्य हो कहाँ??
    सत्य तथ्य समाचार को अस्मिता को व्यापार हुन्छ जहाँ!!!”

    Reply
  7. Bikas says:
    May 23, 2014 at 9:23 am

    नेपालका पत्रकारहरुको के कुरा गर्नु र ? साहुहरुको स्वार्थ को लागि अस्वस्थ प्रतिस्पर्धा गर्दा नै ठिक छ, पाठकहरुलाई उल्लुनै सम्झनछन | कुनै समस्याको जरो देखि समाधानसम्मको खोजमुलक समाचार निस्प्रक्ष्य तरिकाले लिएर आएको कहिले देख्ने | TV का प्रोग्राममा त २ minutes को news लाई चर्की चर्की घाटी सुक्ने गरि कराएर १० चोटी सम्म एउतै कुरा भनेर २०-२५ minutes को प्रोग्राम सकाउछन | सुन्न पनि नसकिने annoying हुञ्छ!

    हाम्रो देशको समस्याको मुख्य कारण हामी नै हौ | नेपाली नागरिक भन्दा पनि पहिले पार्टी कार्यकर्ता अनि नाताबाद, कृपाबाद आफ्नो पार्टी, पत्रिका………

    पत्रकार, नेता, कर्मचारी सबै सबै हाम्रो समाजका नै उत्पादन हुन् अनि उनिहरुले जानेको नै तेही हो, अनि तेसै गरेर समाजको लेवेल अहिलेको जस्तै राख्न खोज्छन उनीहरु, नेपाली नागरिक र समाजको लेवेल माथि पुग्यो भने नत पत्रकार को अहिलेको तरिकाको कलम र पत्रिका, नेताको फटाहा पार्टी र व्यवहार, कर्मचारीको शान र घुस नै रहन्छ |

    सालोक्यजी कुरो उठईदिनु भयो धन्यवाद, उनिहरुलाई थाहा थिएन होला पोस्ट भैसकेको समाचारको लिंक same राखेर समाचार फेर्न हुदैन अथवा समाचार हटाउन हुदैन भनेर | उनिहरु मध्ये धेरै साहुहरुको नाताबाद र कृपाबाद बाट publications मा आएर सोषित हुने हरु नै त होलान नि, नियम र कानुन कहाँ बाट पढून , जानुन र पालन गरुन त

    Reply
  8. Bipendra says:
    May 23, 2014 at 9:09 am

    प्राविधिक कुरा त थाहा भएन तर नागरिक यो इस्यूबाट व्याक भयो जस्तो मलाइ लाग्दैन । नागरिकमा छापिएको समाचार भोलिपल्ट रिपब्लिकामा छापिएकाले पनि यो कुरा पुष्टि गर्दैैन र !?

    Reply
  9. abhi says:
    May 23, 2014 at 8:26 am

    कसले दबाब दियो, प्रस्टै छ. रिपोर्टर ले लेख्यो, online एडिटर ले publish गर्यो, कान्तिपुर एडिटर ले angle change गर्न भन्यो, समाचार पुन लेखियो. अब एडिटर लाइ कसले दबाब दियो वा आफ्नै मति ले गर्यो, यी दुइतै दैनिक मा काम गरेको तपाइलाइ नै बढी थाहा होला.

    नागरिक ले हटाएको बारेमा: गल्तीले भरिएका समाचार हटाउन पाइञ्छ, भुल सुधार गर्न मिले सम्म गर्ने, तर भुल येति धेरै भए कि सुधार गर्ने ठाउँ नै रहेन भने पुरै हटाउन पाइञ्छ र हटाइनु पर्छ ताकी त्यो सामग्री ले further damage नगरोस. accidentally publish भएका सामग्री पनि समयमै हटाउदा नराम्रो भन्दा राम्रै गर्छ. चलन पनि तेस्तै छ, खाली यो कारण ले हटाएको भन्दिनु पर्छ. केहि दिन अघि cnn ले एउटा एडिटर लाइ हटायो, plagiarism को लागि. उसका समाचार हरु correct गर्न मिले सम्म गर्यो र किन change गरियो भन्ने कारण खुलायो. केहि समाचार हरु पुरै हटाइयो तर पाठक लाइ बताइयो किन हटाको भनेर. http://www.washingtonpost.com/blogs/erik-wemple/wp/2014/05/16/cnn-fires-news-editor-marie-louise-gumuchian-for-plagiarism/

    Reply
  10. Rajesh rai says:
    May 23, 2014 at 7:22 am

    आखिर यो नौटंकी किन?जे सत्य हो त्यसैलाई लेख्नु नि /नेपाली मिडियालाई कसरि विश्वास गर्नु ?आजको भोलि नै समाचार फेर्चन /किन दिल सोभा माथि एस्तो अन्याय ? न्याय दिलाउने कुनै निकाय छैन ?आज हो भोलि होइन/ कुनै निस्पछय निकाय छैन ? साबिक छानबिन गरेर सत्य तथ्य,दोसी भय कारबाही गर्नु ,निर्दोस भय ति भुस्याहा उजुरी दिनेहरुलाई कारबाही गर्नु / दस थरिको नाटक किन ?
    सानो कुरामा त् येत्रो जात्रा अनि देसको कुरामा कसरि हुन्छ सहि निर्णय /
    धन्य छ बा नेपाली न्यायालय अनि प्रेस /

    Reply
  11. Kaml says:
    May 23, 2014 at 6:46 am

    येसरी मित्थ्या वा झुठा समाचार प्रसारणमा ल्याउने मिडिया लाइ के बहिस्कार गर्न मिल्दैन र? ससक्त बनिसकेको सामाजिक मिडिया को सदुपयोग गरौ न त, म आज देखि कान्तिपुर समाचार हेर्दिन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme