Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘दिलशोभाको आमाघरमा क्रिस्चियन पुस्तक मात्र पढ्न दिइन्छ, क्रिस्चियन प्रार्थना मात्र गराइन्छ’

Posted on May 22, 2014May 22, 2014 by Salokya

अरु धर्मका बालबालिकालाई क्रिश्चियन धर्ममा परिवर्तन गराउने मनसाय राखेको देखियो : मानवअधिकार आयोग

dilshova समाजसेवी दिलशोभा श्रेष्ठले ‘आमाघर’मा आश्रयका लागि ल्याइएका बालबालिकालाई कानुन विपरीत धर्म परिवर्तन गराउने मनसाय राखेको देखिएको राष्ट्रिय मानवअधिकार आयोगले बताएको छ।

पत्रिकामा छापिनुअघि नै आयोगले यस विषयमा उजुरी परेपछि अनुगमन थालेको थियो। अनुगमनको हालसम्मको स्थितिबारे प्रतिवेदन आयोगले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

प्रतिवेदनमा आमाघरमा फरक-फरक धर्म–संस्कृतिबाट आएका बालबालिकाहरू भए पनि उनीहरुलाई क्रिस्चियन धर्मको मात्र पुस्तक पढ्न दिइने र क्रिस्चियन धर्मकै प्रार्थनामा मात्र सहभागी गराउने गरिएको उल्लेख छ।

‘बालबालिकालाई बाल अधिकारसम्बन्धी महासन्धिको भावना एवम् प्रचलित कानुन विपरीत गई धर्म परिवर्तन गराउने मनसाय राखेको देखिन्छ’, प्रतिवेदनमा लेखिएको छ।

धर्म परिवर्तनबाहेक अरु पनि गम्भीर विषय प्रतिवेदनमा छ।

समाचार आउनुअघि नै पटक पटक अनुगमन

धेरैलाई ‘नागरिक’मा यो समाचार आइसकेपछि मात्रै अनुगमन भएको भन्ने लागेको रहेछ। आज पत्रकार सम्मेलनमा त कान्तिपुर टेलिभिजनका पत्रकारले ‘मिडियामा आएपछि मात्रै किन तपाईँहरु अनुगमन गर्नुहुन्छ’ भनेर प्रश्नै सोधे।

तर खासमा यो विषयमा नागरिकमा समाचार आउनुअघि नै पटक पटक अनुगमन गरिएको रहेछ। २०७० साल फागुन १३ गते काठमाडौँका सिडिओको कार्यकक्षमा राष्ट्रिय मानवअधिकार आयोग, केन्द्रीय बाल कल्याण समिति, जिल्ला बाल कल्याण समिति काठमाडौँ र महानगरीय प्रहरी वृत्त काठमाडौँ समेतको उपस्थितिमा समन्वय बैठकमा ती अनुगमनहरुले बालबालिकाहरुलाई तत्काल त्यहाँबाट उद्धार गर्नुपर्ने देखिएको भन्दै उद्धार गर्नुपर्ने निर्णय गरेको थियो।

सुरक्षाको हिसाबले पनि जोखिमपूर्ण, वृद्धा हराउँदा पनि थाहा नहुने रहेछ

आमाघरमा बालबालिका र ज्येष्ठ नागरिकहरु बस्नका लागि स्वास्थ्य, पोषण, स्याहार र सुरक्षाको दृष्टिकोणले समेत उपयुक्त नभएको अनुगमनबाट देखिएको आयोगले बताएको छ।

अनुगमन गरिरहँदा आमाघरबाट एक जना वृद्धा हराएको तीन दिनपछि कालिमाटीमा भेटिएको भनी प्रहरीले त्यहाँ ल्याउँदै गरेको भेटिएको रहेछ। यो बारेमा आमाघरलाई भने केही थाहा रहेनछ।

सडक बालबालिका हैन, अभिभावक भएका कर्णालीका बालबालिका

दिलशोभाले सडकबाट उठाएर आफ्नो संस्थामा बालबालिकालाई माया दिन ल्याएको भनेर भनेपछि उनकै कुरामा हो मा हो गरी रवीन्द्र मिश्र र विजयकुमारले सडकमा भन्दा त दिलशोभा कैमा ठीक छ भन्ने तर्क गरेका थिए। तर आयोगको प्रतिवेदनमा अधिकांश बालबालिका कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट ल्याइएका र अधिकांशको अभिभावक भएको पाइएको उल्लेख छ। कालिकोट जिल्लाबाट मात्रै १५ जना बालबालिका ल्याइएको रहेछ।

पत्रकार सम्मेलनमा ‘हिमाल’का पत्रकारले यो अधिकांश भन्या कति हो, यस्तो हचुवा पनि लेख्ने भनेर आलोचना गरे। जवाफमा आयोगको अनुगमनका संलग्न अधिकारीले धेरै बालबालिका दुर्गम ठाउँको भएकोले उनीहरुको पारिवारिक स्थितिबारे थाहा पाउन गाह्रो भएको बताए। अहिलेसम्म तीन जनालाई परिवारमा पुनर्स्थापना गरिएको जानकारी दिँदै अरुको बारेमा बुझ्ने प्रयास भइरहेको उनले बताए।

कतिपय बालबालिका बेपत्तै, खोजी जारी

संस्थामा कति बालबालिका थिए र कति बेपत्ता छन् भन्ने यकिन तथ्याङ्क प्रतिवेदनमा छैन। पत्रिकामा समाचार छापिनुअघि फागुन ७ गते नै सहायक सिडिओ वेदबहादुर कार्कीको नेतृत्वमा आमाघरको अनुगमन भएको रहेछ। त्यतिबेला बालबालिकाको विवरण पेश गर्न निर्देशन दिँदा दिलशोभाले अटेर गरेर नबुझाएको प्रतिवेदनमा लेखिएको छ।

फागुन १४ गते बालबालिकालाई उद्धार गरी लगेपछि सोधपूछ गर्दा दिलशोभाले केहीलाई अभिभावकले फेरि ल्याउने गरी लगेको, केहीलाई नातेदारकोमा राख्न पठाएको तथा केहीलाई धनी व्यक्तिकोमा राख्न पठाएको भनेछन्। बाँकी बालबालिकाको खोजी गरी जिम्मा दिन सहायक सिडिओले भनेपछि दिलशोभाले तीन जना बालबालिकालाई खोजेर बाल कल्याण समितिलाई बुझाएको र बाँकीको खोजी बाँकी नै रहेको प्रतिवेदनमा छ।

मध्यरातसम्म काम गर्नुपर्ने गरी अर्काको घरमा पठाएको

आमा घरमा रहेका बालबालिकालाई अन्यत्रै धनी व्यक्तिको घरमा पठाएको भनी राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रशासन कार्यालय र केन्द्रीय बालकल्याण समितिको समक्ष सञ्चालिका दिलशोभा श्रेष्ठले जानकारी गराएको थियो।

एक बालकले आफूलाई घरेलु कामदारको रुपमा पठाएको र राति १२ बजेसम्म काम गर्नुपर्ने हुँदा नसकेर ‘आमा घर’ मा नै फर्किएको बताएका थिए। यो तथ्य समेतको आधारमा बालबालिकालाई उनीहरुका परिवारलाई समेत जानकारी नगराई घरेलु कामदारको रुपमा पठाएको स्पष्ट हुने भन्दै आयोगले प्रतिवेदनमा लेखेको छ-

यस कार्यले बाल श्रम (निषेध र नियमित गर्ने ऐन, २०५६ को दफा ३ मा उल्लेखित बालकलाई काममा लगाउन नहुने (१) कसैले पनि चौध वर्ष उमेर पूरा नगरेका बालकलाई श्रमिकको रूपमा काममा लगाउनु हुँदैन भन्ने व्यवस्थाका अलावा दफा ४ मा उल्लेखित बालकलाई इच्छाविरुद्ध काममा लगाउन नहुने, कसैले पनि बालकलाई ललाईफकाई वा झुक्याएर वा कुनै प्रलोभनमा वा डर, त्रास वा दवाबमा पारी वा अन्य कुनै तरिकाले निजको इच्छाविरुद्ध श्रमिकको रूपमा काममा लगाउनुहुँदैन भन्ने व्यस्थाको उल्लङ्घन गरेको देखिन्छ। उक्त ऐनको दफा १९ (१) मा कसैले दफा ३ को उपदफा (१) विपरीत काम गरेमा निजलाई तीन महिनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ भन्ने व्यवस्था गरेबाट ‘आमा घर’ की सञ्चालिकाबाट कानूनद्वारा दण्डनीय कार्य भएको समेत स्पष्ट देखिन आएको छ।

वर्षमा करोड सहयोग तर स्वास्थ्यमा हेलचक्र्याइँ

आमाघरमा वर्षमा करोडको सहयोग आउने गर्छ। तर त्यहाँ आश्रित बालबालिका र वृद्धाहरुको स्वास्थ्यमा भने कुनै ध्यान नदिइएको आयोगको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा लेखिएको छ- ‘आश्रित ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्योपचारमा कुनै ध्यान नदिएको र लामो समयसम्म घाउचोट निको नभए पनि स्वास्थ्य उपचारको उचित प्रवन्ध भएको नपाइएको’

उद्धार गरी लगेका ३७ बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा २२ जनाको शरीरमा चोटपटक, लुतो, घाँटी, आँखा र मांसपेशीमा समस्या जस्ता विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु देखिएको प्रतिवेदनमा उल्लेख छ।

वृद्धाहरुको अवस्था पनि जोखिमपूर्ण, सरकार जिम्मेवार बन्नुपर्छ

त्यहाँ राखिएका ज्येष्ठ नागरिकहरुको अवस्थासमेत जोखिमपूर्ण भएको भन्दै प्रतिवेदनमा उचित भोजन, सरसफाई, स्वास्थ्य उपचार तथा सुरक्षाको समुचित प्रवन्ध केही पनि त्यहाँ नभएकोले आश्रित ज्येष्ठ नागरिकहरुको आधारभूत मानव अधिकार संरक्षण गर्ने दायित्व नेपाल सरकारको भएको स्मरण गराइएको छ। त्यसैले उक्त आश्रमलाई न्यूनतम् मापदण्ड पूरा गर्न जिम्मेवार बनाउन वा वैकल्पिक व्यवस्था गरी ज्येष्ठ नागरिकहरुको अधिकार संरक्षण गर्न नेपाल सरकारलाई जिम्मेवार बनाउनु आवश्यक देखिएको प्रतिवेदनले भनेको छ।

त्यहाँ आश्रिम वृद्धाहरुलाई स्याहार गर्न केयर गिभर्सको व्यवस्था गर्न, उनीहरुलाई स्वस्थ, पोषणयुक्त, रोग अनुसारको अनुकूल खानेकुरा उपलब्ध गराउन, म्याद नाघेका, सडेगलेका अस्वस्थकर खानेकुरा उपलब्ध नगराउन, नियमित स्वास्थ्य परीक्षण गराउन, आफै बाहिर निस्किएर हराउने समस्या देखिएकोले सुरक्षाको व्यवस्था गर्न, आश्रय लिइरहेका वृृद्धवृद्धाहरुको पारिवारिक विवरणलगायतका अभिलेख दुरुस्त राख्न समयसीमा दिएर अनुगमन गर्न आयोगले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र काठमाडौँको जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

यी आधारभूत कार्य नगरेमा त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरुलाई अन्य वैकल्पिक स्थानमा स्थानान्तरण गरी पुनः स्थापनाको पहल गर्न समेत आयोगले निर्देशन दिएको छ।

आर्थिक अनियमितताको छुट्टै छानबिन गर

उजुरीमा आमा घरमा आर्थिक अनियमितता भएको कुरालाई महत्वका साथ उल्लेख गरिएकोले यस विषयमा छुट्टै छानबिन गर्न पनि आयोगले भनेको छ।

कर्णालीबाट अभिभावकसहितका बालबालिका राजनीतिक दलका स्थानीय नेताहरुले समेत ल्याएको भेटिएको पत्रकार सम्मेलनमा बताइयो।

यसरी दलकै संरक्षण हुने अनि ठूला पत्रकारहरु नै बचाउन भनेर लागेपछि यो केस पनि फासफुस हुने बाहेक केही हुने देखिँदैन।

दिलशोभाको ‘आमाघर’ बारे के छ राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा?

समाजसेवी दिलशोभा श्रेष्ठले सञ्चालन गरेको ‘आमा घर’ को विषयमा परेको उजुरीका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुगमनबारे आज प्रतिवेदन सार्वजनिक गरेको छ। आयोग मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन गर्न संविधानले स्थापना गरेको निकाय हो।

प्रतिवेदनमा विभिन्न गम्भीर कुराहरु देखिएका छन्। हेर्नुस् प्रतिवेदन जस्ताको तस्तै

२०७१।०२।०८
राष्ट्रिय मानव अधिकार आयोग
केन्द्रीय कार्यालय
हरिहरभवन ललितपुर

‘आमा घर’ मा आश्रित बालबालिका तथा ज्येष्ठ नागरिकहरुको मानव अधिकार अवस्था अनुगमन सम्बन्धी संक्षिप्त प्रतिवेदन

१. पृष्ठभूमि
काठमाडौँको कलङ्कीस्थित ‘श्री बृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी’ (‘आमा घर’) मा बालबालिका तथा ज्येष्ठ नागरिकहरूको मानव अधिकारको स्थिति जोखिमपूर्ण अवस्थामा रहेको, उक्त संस्थाले अनुमति नलिई बालगृह सञ्चालन गरिरहेको, त्यहाँ राखएिका ज्येष्ठ नागरिक तथा बालबालिकाको रेकर्ड अद्यावधिक नभएको, खाना, कपडा तथा औषधोउपचारको उचित प्रबन्ध नभएको, बालबालिकालाई घरेलु कामदारको रुपमा लगायत अन्यत्र पठाइएको, प्राप्त स्रोतहरूको दुरुपयोग गरेकोलगायतका विषयमा जिल्ला प्रशासन कार्यालय (काठमाडौ) मा दिइएको उजुरीको बोधार्थ पत्रसाथ आयोगबाट आवश्क कारवाही गरिदिनको लागि निवेदन प्राप्त भएको थियो।

उक्त उजुरीको सम्बन्धमा मिति २०७० साल फागुन १३ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय बालकल्याण समिति, जिल्ला बालकल्याण समिति काठमाडौँ, महानगरीय प्रहरी वृत्त काठमाण्डौ समेतको उपस्थितिमा समन्वय बैठक गरिएको थियो। बैठकले आमाघरमा आश्रित बालबालिकाहरूलाई गैरकानुनी रूपमा बृद्धाश्रममा राखिएको र बालबालिकाहरू जोखिमयुक्त अवस्थामा रहेको भन्ने पटक पटकको अनुगमनबाट देखिएको हँुदा बालबालिकाहरुलाई तत्काल उक्त स्थानबाट स्थानान्तरण गरिनुपर्ने कुराको ठहर गरी केन्द्रीय बाल कल्याणसमितिको पहलमा ललितपुरस्थित ‘सानो पाइला’ नामक संस्थामा बालबालिकालाई स्थानान्तरण गरी उनीहरूको अधिकार संरक्षण गर्ने भन्ने निर्णय भएको थियो। यसअनुरूप २०७० साल फागुन १४ गते आयोग समेतको संयुक्त पहलमा आमाघरबाट बालबालिकाको उद्धार गरी ललितपुरको गोदावरी स्थित सानो पाइला नामक बालगृहमा लगिएको थियो।

२. अनुगमनबाट प्राप्त तथ्यहरू
१) ‘श्री बृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी’ को नाममा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्था ‘आमा घर’ को विधानमा बालबालिकालाई राख्ने व्यवस्था नभएको र जिल्ला बालकल्याण समितिबाट बालगृह सञ्चालन गर्ने कुनै पनि प्रकारको स्वीकृति नलिएको पाइयो। यस सम्बन्धमा उक्त संस्थाकी सञ्चालिका दिलशोभा श्रेष्ठले आफूले बालगृह सञ्चालन गर्ने अनुमति हालसम्म नलिएको बताउनुभएको थियो।

२) जिल्ला प्रशासन कार्यालय (काठमाडांै) मा दिइएको उजुरीेसाथ प्राप्त भिडियो तथा अडियो टेप एवम् फोटो अध्ययन गर्दा ‘आमा घर’ मा रहेका बालबालिका तथा ज्येष्ठ नागरिकहरूको सरसफाइ, एवम् पोषणयुक्त खानपान, स्वास्थ्य, हेरचाह, बसोबास, खानेपानी, सुरक्षालगायतका दृष्टिकोणबाट जोखिमपूर्ण रहेको पाइयो। उक्त संस्थामा बालबालिका तथा ज्येष्ठ नागरिकहरू बस्नका लागि स्वास्थ्य, पोषण, स्याहार एवम् सुरक्षाको दृष्टिले उपयुक्त नभएको स्थलगत अनुगमनबाट समेत खुलेको।

३) जिल्ला प्रशासन कार्यालय (काठमाडौं) मा उजुरी परेपछि सहायक प्रमुख जिल्ला अधिकारी वेदबहादुर कार्कीको नेतृत्वमा २०७० फाल्गुण ७ गते ‘आमा घर’ को अनुगमन भएको र अनुगमन टोलीले बालबालिकाको विवरण पेश गर्न निर्देशन दिएको पाइयो। उजुरी पर्नुअघि नै केन्द्रीय बालकल्याण समितिले उक्त संस्थामा रहेका बालबालिकाको विवरण पेश गर्न निर्देशन दिएको तर संस्थाले विवरण नबुझाएको जानकारी प्राप्त भएको।

४) आमा घरमा रहेका बालबालिकाको नाम, ठेगाना, उमेर अभिभावकको नामजस्ता आधारभूत जानकारीको उचित अभिलेखीकरण नभएको पाइएको। विद्यालयमा भर्ना भई विद्यालय छाडेका बालबालिकाको समेत अभिलेख नपाइएको।समग्रमा आमाघरले बालबालिका तथा ज्येष्ठ नागरिकहरुको कुनै पनि प्रकारको अभिलेख नराखेको बुझियो।

५) आश्रित ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्योपचारमा कुनै ध्यान नदिएको र लामो समयसम्म घाउचोट निको नभए पनि स्थास्थ्य उपचारको उचित प्रवन्ध भएको नपाइएको।

६) अनुगमन टोलीले अनुगमन गरिरहँदा संस्थाबाट एकजना बृद्धा हराएको तीन दिनपछि कालीमाटीमा भेटिएको भनी प्रहरीले संस्थामा ल्याउँदै गरेको पाइयो। सो सम्बन्धमा ‘आमा घर’ बेखबर रहेको पाइयो।

७) अनुगमन कार्य सम्पन्न भएपछि त्यहाँ रहेका ३४ जना बालबालिका र सुस्त मनस्थिति भएकी एकजना महिलालाई ललितपुरको गोदावरीस्थित ‘सानो पाइला’ नामक संस्थामा स्थान्तरण गरिएको थियो। उक्त संस्थामा प्रत्येक बालबालिकाको विवरण तयार गरी सबैको स्वास्थ्य परीक्षण गरी प्राथमिक उपचार गरेको पाइएको छ। यसै सम्बन्धमा केन्द्रीय बालकल्याण समितिद्वारा जारी प्रेस विज्ञप्तिमा उद्धार गरिएका ३७ जनामध्ये २२ जनामा शरीरमा चोटपटक, लुतो, घाँटी, आँखा र मांशपेशीमा समस्याजस्ता विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू देखिएको भन्ने उल्लेख भएको।

८) ‘आमा घर’ मा कति बालबालिका रहेका छन् भन्ने सम्बन्धमा फरकफरक तथ्याङ्क आएपछि सो विषयमा आमा घरकी सञ्चालिका दिलशोभा श्रेष्ठसँग २०७० साल फाल्गुण १४ गते जिल्ला प्रशासन कार्यालय (काठमाडांै) का सहायक प्रमुख जिल्ला अधिकारी, केन्द्रीय बालकल्याण समिति र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सोधपुछ गर्दा केही बालबालिकालाई अभिभावकले फेरि ल्याउने गरी लगेको र केहीलाई आफ्ना नातेदारकोमा राख्न पठाएको तथा केहीलाई अन्य धनी व्यक्तिकोमा राख्न पठाएको भन्ने जानकारी निजबाट प्राप्त भएको।

९) काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीबाट बाँकी बालबालिकाको खोजी गरी जिम्मा दिन गरिएको आग्रहलाई सञ्चालिका दिलशोभा श्रेष्ठले स्वीकार गर्नुभएको र अन्य तीनजना बालबालिकालाई केन्द्रीय बालकल्याण समितिलाई बोलाएर बुझाएको जानकारी प्राप्त भएको छ। बाँकी बालबालिकाको खोजी हुन बाँकी नै रहेको छ।

१०) जिल्ला बालकल्याण समितिले अभिलेखीकरणसम्बन्धी सम्पूर्ण कार्य गरी राष्ट्रिय मानव अधिकार आयोगको रोहवरमा ‘सानो पाइला’ नामक संस्थामा स्थानान्तरण गरिएको थियो।

११) आमा घरबाट २०७० साल फागुन १४ गते बालकालिकाको स्थानान्तरण गर्ने भनी निर्णय भएको अवस्थामा सोही दिन विहान नागरिक दैनिक समाचारपत्रले ‘आमा घर’ मा यौन दुराचार भएको आशयको समाचार प्रकाशित गरेको पाइयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा परेको उजुरी र त्यसमा संलग्न गरिएको अडियो टेपको आधारमा उक्त समाचार प्रकाशन भएको पाइयो। यस सम्बन्धमा उक्त संस्थाकी सञ्चालिका दिलशोभा श्रेष्ठले टेपकोे आवाज आफ्नै भएको र काठमाण्डौको कलङ्की बस्ने शारीरिक रूपमा अस्वस्थ एक वृद्धाको हेरचाहको निमित्त आमा घरबाट एक जना महिलालाई पठाउने गरेको जानकारी गराउनुभयो। उक्त टेपबारे अनुसन्धान गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयले नेपाल प्रहरीलाई दिएपछि प्रहरीबाट अनसन्धान भइ यौन दुराचारको घटना नभएको पुष्टी भएको बुझिएको छ। यस सम्बन्धमा आयोगबाट जाँचबुझको क्रममा निज दिलशोभा श्रेष्ठको मोवाइल नम्बरको नेेपाल टेलिकमबाट विवरण (कल डिटेल) लिइ अध्ययन गर्दा टेप रेकर्ड गरिएको २०७० साल माघ २ गते (तद्नुसार १६ जनवरी, २०१४) को बेलुका करीब ७ बजेको समयमा एक वृद्धाले प्रयोग गरिरहेको टेलीफोन नम्बरमा फोनवार्ता गरिएको पाइयो। आयोगबाट हालसम्म भएको अनुसन्धानबाट उक्त समाचारपत्रमा उल्लेख गरिएको जस्तो यौन दुराचारको घटना भएको पुष्टि हुने कुनै आधार प्राप्त नभएको।

१२) आमा घरमा रहेका बालबालिकाहरूलाई सडकबाट ल्याएर राखिएको भन्ने दावी गरिए पनि त्यहाँ रहेका अधिकांश बालबालिका कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट ल्याइएका र अधिकांशको अभिभावक भएको पाइएको छ। कालिकोट जिल्लाबाट मात्र १५ जना बालबालिका ल्याइएको पाइएको।

१३) ‘आमा घर’ मा रहेका एक बालकले आफूलाई एकजना व्यक्तिको घरमा काम गर्न पठाएकोमा राती १२ बजेसम्म घरको काम गर्नु परेको र आफू उक्त घरमा बस्न नसकेर पुनः ‘आमा घर’ मा फर्केको बताएको।

१४) स्थानान्तरण गरिएका बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पालनपोषण र पुर्नस्थापना एवं मनोसामाजिक विमर्श लगायतका कार्यहरु सन्तोषजनक रुपमा भइरहेको पाइएको छ। हालसम्म ३ जना बालबालिकाहरु परिवारमा पुर्नस्थापना भइसकेको बुझिएको छ।

३. विश्लेषण तथा निष्कर्ष
राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय बाल कल्याण समिति, जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र जिल्ला वाल कल्याण समिति काठमाण्डौबाट वृद्धवृद्धा व्यवस्थापन तथा सामाजिक कल्याण गुठी (आमाघर) मा रहेका बालबालिका तथा ज्येष्ठ नागरिकहरुको अवस्थाको बारेमा भएको अनुगमन तथा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा परेको उजुरीमा उल्लेखित विषयहरुको गम्भीरताको आधारमा उल्लेखित निकायहरुले आमाघरको नामले परिचित उक्त गुठीको विधानमा बालगृह सञ्चालन गर्ने कुनै प्रावधान नभएको, बाल कल्याण समितिबाट आवाशीय बालगृह सञ्चालन गर्ने कानूनी अनुमति नलिएको तथा केन्द्रीय बाल कल्याण समितिले तोकेको आवाशीय बालगृहको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०६९ को समेत पालना नभएकोले प्रथमा दृष्टिमा नै उक्त गुठीमा बालबालिका राख्नु गैरकानूनी कार्य भएको तथा उक्त गुठीमा राखिएका बालबालिकाको सुरक्षा, बासस्थान, खानपान, स्वास्थ्य, शिक्षाको अवस्था अत्यन्त कमजोर रहेको कारण उक्त संस्थामा बालबालिकालाई राख्दा उनीहरुको अधिकार थप हनन् हुने ठहर गरी त्यहाँ रहेका बालबालिकालाई अन्यत्र सार्ने निर्णय गरी २०७० साल फाल्गुण १४ गते केन्द्रिय बाल कल्याण समितिको पहलमा ललितपुरको गोदावरीस्थित सानोपाइला नामक संस्थाले सञ्चालन गरेको आवधिक गृहमा लगिएको थियो।

बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ तथा आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्डको १ ले आवासीय बालगृहलाई बालबालिकाको हेरचाहको अन्तिम विकल्पको रूपमा लिनुपर्ने उल्लेख गरेको छ। उक्त मापदण्डले बालबालिकालाई बालगृहमा राख्न स्थानीय निकायको सिफारिसलाई अनिवार्य गरेको छ। तर आमा घरमा बालबालिका राख्दा उक्त कुरालाई कुनै ध्यान दिइएको पाइएन। मापदण्ड २ ले बालगृहमा भर्ना गरिएका बालबालिकाको विस्तृत विवरण तयार गर्नुपर्ने उल्लेख गरेको छ। त्यसैगरी मापदण्ड ५ ले बालगृहले बालबालिकाको भर्ना, सेवा र सुविधा, दायित्व, गोपनीयता, अनुशासन, बिदाइ/पुनर्मिलन योजनाजस्ता विषय उल्लेख भएको व्यक्तिगत विवरण फाराम र बालगृहको आन्तरिक निर्देशिका बनाई कार्यान्वयन गर्नुपर्ने कुरा उल्लेख गरेको छ तर उक्त गुठीले उक्त कुनै मापदण्ड पूरा नगरेको मात्र होइन पूरा गर्ने मनसाय समेत राखेको पाइएन। मापदण्ड ८, ९, १०, ११, १२, १३, १४ र १५ मा उल्लेखित भौतिक सुविधामा उल्लेखित न्यूनतम् मापदण्डसमेत उक्त संस्थाले पूरा गर्न नसकेको देखिन्छ।

मापदण्ड १७, १८, १९, २०, २१ र २२ ले तोकेको बालबालिकाको खाद्यन्नसम्बन्धी मापदण्डको समेत न्यूनतम् आवश्यकता पूरा नभई बालबालिकालाई अत्यन्तै अस्वस्थकर स्थानमा राखिनुका साथै पोषण र स्वास्थ्यको कुनै परवाह नगरी अत्यन्तै अस्वस्थकर खाद्यान्न र खानेपानी उपलब्ध गराएको देखिन्छ। ‘आमा घर’ मा स्वास्थ्य र शिक्षासम्बन्धी अन्य मापदण्डहरूले निर्धारण गरेको न्यूनतम् आवश्यकता समेत पूरा नगरिएको देखिन्छ।

आमा घरमा रहेका बालबालिकालाई अन्यत्रै धनी व्यक्तिको घरमा पठाएको भनी राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रशासन कार्यालय र केन्द्रीय बालकल्याण समितिको समक्ष सञ्चालिका दिलशोभा श्रेष्ठले जानकारी गराएको तथा एक बालकले आफूलाई घरेलु कामदारको रुपमा पठाएको र राति १२ बजेसम्म काम गर्नुपर्ने हुँदा नसकेर ‘आमा घर’ मा नै फर्किएको बताएको समेत तथ्यको आधारमा बालबालिकालाई उनीहरुका परिवारलाई समेत जानकारी नगराई घरेलु कामदारको रुपमा पठाएको स्पष्ट हुन आउँदछ। यस कार्यले बाल श्रम (निषेध र नियमित गर्ने ऐन, २०५६ को दफा ३ मा उल्लेखित बालकलाई काममा लगाउन नहुने (१) कसैले पनि चौध वर्ष उमेर पूरा नगरेका बालकलाई श्रमिकको रूपमा काममा लगाउनु हुँदैन भन्ने व्यवस्थाका अलावा दफा ४ मा उल्लेखित बालकलाई इच्छाविरुद्ध काममा लगाउन नहुने, कसैले पनि बालकलाई ललाईफकाई वा झुक्याएर वा कुनै प्रलोभनमा वा डर, त्रास वा दवाबमा पारी वा अन्य कुनै तरिकाले निजको इच्छाविरुद्ध श्रमिकको रूपमा काममा लगाउनुहुँदैन भन्ने व्यस्थाको उल्लङ्घन गरेको देखिन्छ। उक्त ऐनको दफा १९ (१) मा कसैले दफा ३ को उपदफा (१) विपरीत काम गरेमा निजलाई तीन महिनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ भन्ने व्यवस्था गरेबाट ‘आमा घर’ की सञ्चालिकाबाट कानूनद्वारा दण्डनीय कार्य भएको समेत स्पष्ट देखिन आएको छ।

बाल अधिकार सम्बन्धी महासन्धिको धारा ३ (१) ले सरकारी वा गैरसरकारी तहबाट बालबालिकाको निमित्त कार्य गर्ने सबैले बालबालिकाको अधिकतम् हितलाई ध्यान दिनुपर्ने कुरा उल्लेख गरेको छ। यसैगरी धारा ३ (३) ले बालबालिकाको संरक्षण गर्ने संस्थाहरुले अधिकारप्राप्त निकायद्वारा निर्धारण गरिएको सुरक्षा, स्वास्थ्य, पर्याप्त कर्मचारी र सुपरीवेक्षणको व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ। आमाघरमा बालबालिकाको अवस्थाबारे विश्लेषण गर्दा महासन्धिको उक्त धाराको कुनै पालना भएको पाइएन। महासन्धिको धारा १४ ले बालबालिकाको धार्मिक स्वतन्त्रताको व्यवस्था गरेको भए पनि फरक फरक धर्म–संस्कृतिबाट आएका बालबालिकाहरूलाई क्रिस्चियन धर्मको मात्र पुस्तक र प्रार्थनामा सहभागी गराउने गरिएकोबाट बालबालिकालाई महासन्धिको भावना एवम् प्रचलित कानुन विपरीत गई धर्म परिवर्तन गराउने मनसाय राखेको देखिन्छ।

यसैगरी उक्त संस्थामा राखिएका ज्येष्ठ नागरिकहरुको अवस्था समेत जोखिमपूर्ण देखिन्छ। सामाजिक भावनाले सञ्चालन गरेका आश्रय प्रदान गर्ने कुनै पनि संस्थाहरुले त्यहाँ आश्रित व्यक्तिहरुका गास, बास, कपास, लगायतका न्यूनतम् आवश्यकता पूरा गर्नु पर्ने हुन्छ। अझ ज्येष्ठ नागरिहरुको शारीरिक तथा मानसिक अवस्थालाई मध्यनजर गरी उचित भोजन, सरसफाई, स्वास्थ्य उपचार तथा सुरक्षाको समुचित प्रवन्ध हुनु अपरिहार्य हुन्छ। अतः आयोगबाट भएको अनुगमनबाट समेत आमा घरले उल्लेखित कुनै पनि मापदण्डहरु पूरा गर्न नसकेको देखिदा आश्रित ज्येष्ठ नागरिकहरुको आधारभूत मानव अधिकार संरक्षण गर्ने दायित्व नेपाल सरकारमा आउने हुँदा उक्त आश्रमलाई न्यूनतम् मापदण्ड पूरा गर्न जिम्मेवार बनाउन वा वैकल्पिक व्यवस्था गरी ज्येष्ठ नागरिकहरुको अधिकार संरक्षण गर्न नेपाल सरकारलाई जिम्मेवार बनाउनु आवश्यक देखिएको छ।

४. सुझाव तथा सिफारिसहरु
अनुगमनबाट प्राप्त तथ्यहरुको विश्लेषणको आधारमा आयोग नेपाल सरकारलाई देहाय बमोजिमको सुझाव तथा सिफारिसहरु गर्दछ :
१) ‘श्री बृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी’ (‘आमा घर’) ले आवाशीय बालगृह सञ्चालन गर्न कानून बमोजिम स्वीकृति नलिई तथा तोकिएको मापदण्ड पूरा नगरी बालबालिकाहरू राखेको हुँदा कानुनी प्रक्रिया पूरा नगरी बालबालिका नराख्न निर्देशन दिने।

२) आमाघरमा आश्रित बालबालिकालाई घरेलु काम लगाउन अन्यत्र लगिएको पाइएकोले यस्ता बालिकालिकाको खोजी गरी पुनःस्थापना गर्नको लागि केन्द्रीय बाल कल्याण समिति तथा जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट पहल गर्नुपर्ने। यस कार्यमा आमाघरलाई समेत जिम्मेवार बनाउनुपर्ने।

३) बालबालिकालाई श्रममा लगाउने कार्यलाई बालश्रम (नियमित र निषेध गर्ने) ऐन, २०५६ ले दण्डनीय कार्य भनी परिभाषित गरेको हुँदा आमाघरबाट बालश्रममा पठाएको भनी जिल्ला प्रशासन कार्यालय (काठमाडौं) मा उजुरी परेको तथा आयोगको अनुगमनबाट समेत आमाघरमा आएका बालबालिकालाई घरेलु कामदारको रुपमा पठाएको भन्ने देखिएको हुँदा उक्त उजुरीको सम्बन्धमा छानवीन गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिनुपर्ने।

४) ‘आमा घर’ बाट उद्धार गरिएका बालबालिकाको पुनर्स्थापनाको लागि पहल हुनुपर्ने।

५) आमाघरमा रहेका ज्येष्ठ नागरिकहरूको अवस्था चुनौतीपूर्ण रहेको पाइएकोले निम्न कुराहरूको व्यवस्था गर्न निर्देशन दिई त्यसको पालना गर्ने समयसीमा समेत दिई सोको अनुगमन गर्न महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र जिल्ला प्रशासन कार्यालय (काठमाडौँ) लाई निम्नानुसारको काम गर्न निर्देशन दिनुपर्ने :

क) आमा घरको सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको पाइएकोले शौचालय, भान्साघर र ज्येष्ठ नागरिक बस्ने कोठाहरूको सरसफाइको उचित प्रबन्ध गर्न,

ख) आमाघरमा रहेका ज्येष्ठ नागरिकहरूलाई स्याहार गर्ने जनशक्तिको अभाव रहेको देखिएको हुँदा पर्याप्त संख्यामा स्याहार गर्ने व्यक्तिहरू (केयर गिभर) को व्यवस्था गर्न,

ग) ज्येष्ठ नागरिकहरूलाई स्वस्थ्य, पोषणयुक्त एवं उनीहरुले भोगिरहेका रोगहरु अनुकुलका खानेकुरा उपलब्ध गराउन एवम् म्याद नाघेका र सडेगलेका अस्वस्थकर खानेकुरा उपलब्ध नगराउन,

घ) ज्येष्ठ नागरिकहरूलाई नियमित रूपमा स्वास्थ्य परीक्षण गराउन र चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गर्ने व्यवस्था मिलाउन एवम घाउ चोटपटकहरूको उचित उपचार गराउन,

ङ) ज्येष्ठ नागरिकहरू आफैं बाहिर निस्किएर हराउनेलगायतका समस्या देखिएकोले निजहरू सुरक्षाको उचित प्रबन्ध गर्न,

च) आश्रय लिइरहेका ज्येष्ठ नागरिकहरूको पारिवारिक विवरणलगायतका अभिलेखहरू दुरुस्त राख्न,

छ) आश्रय लिइरहेका तथा लिन आउने ज्येष्ठ नागरिकहरूलाई परिवारमा पुनःस्थापनाको निमित्त पहल गर्न

ज) आमाघरले माथि उल्लेखित आधारभूत कार्यहरू पूरा नगरेमा त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरुलाई अन्य वैकल्पिक स्थानमा स्थानान्तरण गरी पुनःस्थापनाको लागि पहल गर्न,

६) जिल्ला प्रशासन कार्यालय काठमाडौंमा परेको उजुरीमा ‘आमा घर’ मा आर्थिक अनियमितता भएको कुरालाई महत्वकासाथ उल्लेख गरिएकोले सो सम्बन्धमा छुट्टै छानबिन गर्न,

७) बालगृह सञ्चालनसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न लगाउने र त्यसको नियमित अनुगमन गर्न,

८) ज्येष्ठ नागरिकहरूलाई राखिने आश्रमसम्बन्धी न्यूनतम् मापदण्ड बनाई लागू गर्न एवम् हाल सञ्चालनमा रहेका आश्रमहरूको सुरक्षा, स्वास्थ्य, पोषण, हेरचाह र भौतिक पूर्वाधार सम्बन्धी न्यूनतम् आवश्यकता पूरा गरे नगरेको भन्ने विषयमा प्रभावकारी अनुगमन गरी व्यवस्थित गर्न,

९) यौन दुराचार जस्तो व्यक्तिको इज्जत, प्रतिष्ठा र सम्मानसँग जोडिएको विषयमा पर्याप्त आधार र प्रमाणविना समाचार सम्प्रेषण नगर्न र व्यक्तिको गोपनीयताको हकलाई समेत मध्यनजर गर्न आम सञ्चारमाध्यम तथा सम्बन्धित सबैलाई आयोग आग्रह गर्दछ।

27 thoughts on “‘दिलशोभाको आमाघरमा क्रिस्चियन पुस्तक मात्र पढ्न दिइन्छ, क्रिस्चियन प्रार्थना मात्र गराइन्छ’”

  1. Sagar Sarma says:
    May 24, 2014 at 1:39 am

    Mysansar ले खोइरो खन्न कहिले छोड्ने भएन दिलशोभा को ……

    Reply
    1. जीवन says:
      May 24, 2014 at 11:39 am

      के हो खोइरो खन्ने भनेको ? तपाईँले विदेशबाट दुई चार पैसा सहयोग गर्‍यो भन्दैमा त्यो मान्छे सही नै हुनुपर्छ, त्यसको बारेमा सही मात्रै लेख्नुपर्छ भन्ने के छ ? तपाईँको सहयोग ठीक ठाउँमा उपयोग भएको छैन कि भनेर झन् तपाईँलाई सचेत गराएको छ माइसंसारले । फेरि माथिका कुरा माइसंसारले लेखेको हैन , राज्यको अन्तरिम संविधानले गठन गरेको निकायले अनुगमन र छानबिनबाट निकालेको तथ्य हो । माइसंसारलाई खोइरो खन्यो भन्ने ? आयोगले खोइरो खनेको भन भन्ने भए ।

      Reply
    2. Nirmala Karki says:
      May 24, 2014 at 1:21 pm

      मेरो मुन्ड दिमागले घोत्लिएर सोच्छु, आमाघरकी दिलशोभा दिदीले समाज नजरमा समाजसेवा गरेको देखिए पनि भीत्री आशाय भनेको कलिलो बाल मश्तिष्कमा क्रिस्चियन धर्मप्रतिको बीजारोपण गर्न खोजेको बुझिन्छ। बाल मश्तिष्क यस्तो शुसुप्तअवस्थाको हो, जहाँ जे सिकाइन्छ त्यसको छाप जीवनभर अमीट हुन्छ। उनको यो सेवा, छोटो समयकोलागी लक्षितहैनकी ति बालबालिहरुको पुस्तालाई टार्गेट राखि गरिेको अभियान हो।

      Reply
  2. milan says:
    May 24, 2014 at 1:39 am

    दिलशोभा को बारेमा किन अपुस्त र आधारहीन तथ्य बाट प्रहर हुँदै छ / यौन दुराचार पुस्टि गर्न नसकेर ‘माफी’ माग्यो नागरिक पत्रिकाले, भलै उन्स्लाई केहि कारबाही छैन उसको गर्तिको बारेमा/ अहिले फेरि धर्म परिबर्तन गराउने मनसाय रे / कयौ नेपालीलाई
    क्रिस्चियन बनिसक्यो, कसैलाई कारबाही गरेको थय छैन, यो मनसाय लाइ कारबाही गर्ने भनेर किन उफ्री राखेका छन् कुन्नि?

    Reply
    1. महेन्द्र says:
      May 24, 2014 at 11:43 am

      कसले भन्यो अपुष्ट र आधारहीन ? घरको ल्यापटप वा अफिसको डेस्कटपबाट दुई चार अक्षर टाइप गरेर अपुष्ट र आधारहीन भन्ने ? राज्यको जिम्मेवार निकायले अनुगमन र छानबिन गरेर निकालेको तथ्यलाई अपुष्ट र आधारहीन भन्ने तपाईँ को ? अपुष्ट र आधारहीन हो भने मुद्दा हाल्न लगाउनुस् तपाईँकी देवी दिलशोभालाई आयोगविरुद्ध । नागरिकले झुटो लेखेको भए २ वर्ष जेल हाल्ने गरी पत्रकारलाई सजाय दिलाउन सकिन्छ, मुद्दा हाल्न लगाउनुस् । मुद्दा हाल्न पैसा पठाएर सहयोग गर्नुस् । साँचो कुरालाई साँचो देख्न नसक्ने अन्धभक्तहरुको कुरा यस्तै हो, आँखा खोल, अन्धविश्वासी नबन !

      Reply
      1. Milan says:
        May 25, 2014 at 7:03 pm

        पुस्टि भएन भनेर आयोग ले नै भनेको हो, त्यसै कारण माफी मागेको पनि ‘ नागरिक’ ले नै हो/ अन्ध भक्त को रहेछ आफै थाहा पाउनुस/

        Reply
        1. महेन्द्र says:
          May 25, 2014 at 9:08 pm

          आयोगले के पुष्टि भएन भन्यो अनि के के पुष्टि भयो भन्यो ? पढ्नु भएको छ ? अन्धभक्त भएर नपढ्नुभएको हो। पहिला राम्रोसँग पढ्नुस् के के खराबी छ भनेर आयोगले भनेको छ। करोडौँ सहयोग पाउने संस्थामा के के खराबी छन् भनेर आयोगले भनेको छ, माथि एकचोटी सबै पढ्नुस् अनि बल्ल आएर कुरा गर्नुस् । आँखामा पट्टी बाँधेर कमेन्ट लेखेर सत्य कुरा थाहा पाइँदैन।

          Reply
        2. bikash sherstha says:
          May 28, 2014 at 12:10 pm

          मेडिया ले यौन दुराचार को बिसे लेखेको मा माफी मागेको होइन? तर अनाथ बल बालिका लाइ क्रिस्टियन धर्म मा लगाएको बारेमा लेखेकोमा माफी मागेको होइन . जस्तो लाग्छ .

          Reply
  3. Devendra Basnet says:
    May 23, 2014 at 3:06 pm

    नेपाली हरु येति सम्म गिरिसकेकी पैसाको लागि के मात्र गर्दैनन् हो. ?
    इंडिया को बेश्यालय मा छोरी चेली दिदि बहिनि बेच्ने पनि येही छन्, इन्डियन लै आफ्नो नागरिकता बेचेर पैसा कमाउने पनि येही छन्, बंगालीलाई पस्स्पोर्ट बेचेर खल्ती भर्ने पनि येही छन्, निकुञ्जको अमुल्य दुर्लव जनावर हरु मारेर, महल ठड्याउने तस्कर हरु येही छन्,हजारौ वर्षा पुरानो बाबु बजेको धर्म बेचेर डलर कुम्ल्याउने हरु येही छन् , समाज सेवाको नाममा खुलेका बालश्रम, ब्रिद्दाश्रम हरुले बच्चा र ब्रिददाहरुको गरिबी र आँशु बेचेर आफ्नो भुडी भर्नेहरु पनि येही छन्, देशका खोला नाला बेचेर आफ्नो सात पुस्तासम्मलै पुग्ने धन्सम्पतिको जोहो गर्ने नेता हरु येही छन्.
    गाँजा चरेस बेच्ने, मन्दिर र मुर्ति बेच्ने हरुको त कुरै नगरौ कति छन् कति.

    अनि सबै कालो धन्दा गर्नेहरु भएपछी देश बनेन भनेर कसलाई भन्नु. ?
    आमाघरको दिल्शोवा पनि तिनै मध्येको एउटी न हुन्.

    Reply
  4. Shobha gurung says:
    May 23, 2014 at 1:22 pm

    मैले पनि दिलशोभा दिदीको घरमा गएर मेरो आमाको नाममा वृद्धाहरुलाई एक छाक खाना २०१२ मा खुवाएको थिएँ । मलाई पनि फोहरमैला देख्दा साह्रै दिल दुखेको थियो। बूढाबूढी आमा बाहरु कति लाचार थियो। मैले चाहेर पनि केही गर्न सकिनँ । म त्यो आमा र बालबालिकाहरुसँग हात जोडेर माफी माग्न चाहन्छु ,God bless all of them.

    Reply
  5. डिल्ली says:
    May 23, 2014 at 11:06 am

    दिलशोभाका बारेमा
    १) दुर्गमबाट गरिविको दुहाइ दिएर दलाल मार्फत राम्रो शिक्षा दिने नाममा ल्याइने बाल बालिकाहरू समाज सेवा कि दुहुनु गाई ?
    २) समाज सेवा भए घर-घरमा चाकर बन्न पठाउनु समाज सेवा मै पर्छ ?
    ३) नयाँ जोगीले बढी खरानी धस्छ भने जस्तै क्रिश्चियनमा पनि दिलशोभा नयाँ जोगी नै होलिन् र प्रचारको नाममा खरानी धसिरहेकी छन् कलिला बालबालिकालाई बाइबल बोकाएर ।
    ४) केटाकेटी वा बृद्ध बृद्धा बसेको ठाउँ छोडेर भाग्ने वा हिड्ने भनेको सामान्य नै मान्नु पर्ला नत्र बालक हराएको बृद्ध हराएको सूचना त्यति नआउनु पर्ने हो सञ्चार माध्यममा । दिलशोभाले राख्नु अगाडी पनि समाजमा यस्तो घटना हुन्थ्यो र अहिले पनि हुन्छ । उनैलाई मात्र गलत ठहर्याउनु पनि गलत नै हुन सक्ला ।
    ५) समाज कल्याणको नाममा ल्याएको सम्पत्तिबाट उनले भात खाइन भन्नेर कसैले पनि बिरोध गरेजस्तो लाग्दैन । तर उक्त सम्पत्ति भाइ नातागोताको पसलमा बेच्नु बिदेशमा दान दिएको रकमले थोकमा मोबाइल किन्नु, सुनका गरगहना किन्नु वा अन्य तरिकाले खाइ मस्योट गर्नुलाई अपचलन नै गरेको मान्नु पर्छ ।
    ६) बाबु आमाको सहमति बेगर बालबालिका बिदेश पठाउनु वा बेपत्ता पारिनु कानुन नजानेर गरेको भुल भनेर सामान्य मान्न सकिन्न ।
    ७) धेरै नेपालीले खाद्य पदार्थको उपभोग मिति हुन्छ भन्ने जानेको हुँदैन । औषधिमा त यस्तो भै रहेको छ भने थोरै सस्तो दिएर व्यापारीले झुक्याउन पनि सक्छन् । उनले यस्तो विषयमा याद नगरेको पनि हुन सक्छ भनेर सहानुभूति दर्शाउन पनि सकिएला तर किरा परेकै त खुवाउनु भएन नि त्यो त प्रत्यक्ष देखिन्छ त ।
    ८) राज्यले नगरेको काम दिलशोभाले गरेको भनिन्छ एक अर्थमा हो पनि तर राज्यले नगरेको भन्दैमा कानुन मिचेर जे पनि गर्न नागरिकलाई छुट हुँदैन । कानुन पालन गर्नु सबैको दायीत्व हो ।
    ९) के वाइबल बोकाउँदैमा र रटाउदैमा ठूलो हुन्छ र मान्छे ? मदर टेरेसाले पनि समाज सेवा गरेकै थिइन । तर बिरामीलाई बाइबल त बोकाएर हिडेको थाहा छैन उनले । मदर टेरेसाको देनलाई कसैले सानो त भनेको छैन । ईतिहासले महान नै मानेको छ उनलाई ।
    १०) शूरूमा बजार लिन गुणस्तर कायम राखेर बजार लिइसकेपछि कमसल सामान उत्पादक ब्यापारीले बेचे जस्तो दिलशोभाले पनि उचाइ लिइसकेर बद्मासी गरेको कसैले छुपाएर छुप्दैन ।
    ११) धर्मको खोल अोडाएर दिलशोभालाई दूधले नुहाइ दिने दुष्कर्म नगरेकै बेश । गलत गलतै हो भन्ने आँट सबैले गरे राम्रो । पुच्छर काटेको स्यालले पुच्छर नै स्यालको स्वर्ग पुग्ने बाटो रोक्दो रहेछ भनेर स्वर्गको लोभमा अरुले पनि पुच्छर काटे जस्तो बाइबलको ठेली बोकेर पानी छर्किदैमा स्वर्ग कोही पुग्ने हैन । नमरी स्वर्ग हो कि नर्क हो देखिदैन ।
    १२) एनजिओ र आइएनजिओहरू पारदर्शीताको नाममा डलर खेति गर्छन् । कति आयो गयो हिसाब कसैलाई देखाउँदैनन् । मन्दिर, चर्च, गुम्बा वा मस्जिदमा हिसाबकिताब अपारदर्शी नै हुन्छ । आ-आफ्ना आस्था भएकाले नतमस्तक भएर आफ्नोमा राम्रो अर्काकोमा खराब भनेर आरोप लगाउने हुन् । आफ्नालाई ढाकछोप गर्दै दूधले चोख्याउन खोज्ने हुन् । तर सबै तिर उसतै हुन्छ ।

    Reply
  6. bikash sherstha says:
    May 23, 2014 at 9:27 am

    बेसहारा लाई सहर दिनु पुन्न्ये काम हो त्यसलाई म सलाम गर्छु . तर नेपाल को पुरै सस्कृती धक्का पुग्ने गरि धर्म परिवर्तन गराउनु धेरै नराम्रो कुरा हो . क्रिस्टियन धर्म मा हिन्दु देव देवी लाई सैतान भनेको सुनेको छु . मन रुन्छ . के गर्ने सरकार यसको लागि केहि सोचेन . देश को आर्थिक श्रोत भनेको टुरिजम ब्यबसाय पनि हो . बिदेशी हरु हिन्दु मठ मन्दिर हेर्न को लागि Nepal आउछ . मठ मन्दिर हिन्दु देव देवी को हो . मठ मन्दिर हेर्न को आउछ चर्च हेर्न को लागि होइन . त्यसकारण मलाई धर्म परिवर्तन गरेको पटक्कै मन पर्दैन .

    Reply
  7. tirtha gurung (uk) says:
    May 23, 2014 at 6:01 am

    तथ्यको कुराको मात्र बास्तबिकता बाहिर ल्याऊनै पर्छ पत्रकार मित्रहरुले …किनकि लाखौ पैसा भित्रिएको छ आमा घर संस्थामा त्यो पैसा हामी जस्तै नेपालीहरुले दिल खोलेर सहयोग गरेको हो ,,यसको सदुपयोग भयो अथवा दुरपयोग हामीले थाहा पाउनै पर्छ,,, नागरिकले जे गर्यो यौन दुराचारको समाचार बास्तबमा गम्भीर त्रुटी भएकै हो छम्य हुन सक्दैन र यो भन्दै गर्दा ,,,दिलशोभा दिदिले पनि समाज सेवाको नाम धर्म परिबर्तन र अरु विभिन्न कर्तुतहरु छन् भने त्यो बास्तबिकता बाहिर आउनै पर्छ,,,यदि त्येस्त गम्भीर प्रकृतिको त्रुटीहरु समाज सेवाको नाममा भए गरेको छ भने ,सम्बन्धित निकायले बेलैमा कारबाही गरोस ,,,,नकि समाज सेवाको नाममा एस्त हर्कतहरु नदोहिरिउन,,,जो स्वार्थरहित समाज सेवा होस् जस प्रति हामी सबैले गर्भ गर्न सकु,,

    Reply
  8. Pingback: मिडियाले यसरी मूर्ख बनाउन खोज्छ पाठकलाई « Mysansar
  9. बशन्त राज says:
    May 23, 2014 at 12:05 am

    यो आलेख पडेपछी मसंग धर्मको खेती गरेर डलर कमाउने एक योजना आयो / मेरो नाम बशन्त राज धर्म परीबर्तन गरेर क्रीस्तीयन नाम ब्रायन रोनाल्ड राख्न्नु पर्यो / अनि गाउमा गयर गाउको दिल बहादुर तामांगलाई डेविड ब्राउन बनायर बाईबल बोकाउछु / सुन्तली बिस्वकर्मालाई स्यरोंन ब्राउन बनाउदै उसलाईपनि बाईबल बोकाउछु / अनि धर्म प्रचार अनि परिबर्तन गर्न बाईबल छाप्नु पर्यो भन्दै युरोपीएन रास्ट्रहरु संग सहयोग माग्छु / अझ भ्याटीकनसंग प्रार्थनाको लागी चर्च बानाउन पर्यो भन्दै ठुलो धनराशी सहयोग माग्छु / अनि गाउका अशाहाय बुडाबुडीहरुको लागि पनि सहयोग गर्न भन्छु / यसको सुरुवात गाउकै बुडाबुडीहरुलाई घरमा जम्मा गर्छु/ अनि बिदेसी आउदा तिनीहरुलाई नेपाल सरकारले हेरेंन, तिनका छोराछोरीले हेरेनन् भन्दै सहयोग गर्न आग्रह गर्छु / राजनीतिकदल अनि तिनका कार्यकर्तालाई कमिसनको लोभ देखायर सिफारीश लिन्छु / उनीहरुले पनि मेरो आबाजमा हो मा हो मिलाउछन / बेलाबेलामा काठमाडौँको ५ तारे होटेलमा अनेक कार्यक्रम राक्छु त्यो कार्यक्रम देशका मंत्रीहरुलाई उद्धघाटनको लागि निम्तो दिन्छु / ठुला ठुला मिडीयाहाउसलाई बोलाएर समाचार बनाउछु / बेकारमा यो खाडीमा किन दुख गर्न पर्यो / नेपालमा बसी बसी धर्म परीबर्तन नाममा डलरको खेति गर्छु/ हेरौ मेरो योजनाले कत्तिको काम गर्छ /

    Reply
    1. Siyan says:
      May 23, 2014 at 12:21 pm

      नेपालको थुप्रै ठाउमा गाउका गाउ धर्म परिवर्तन गरि क्रिस्चियन भएका छन् रे भन्ने सुनेको हो र केहि व्यक्ति त भेटेको पनि हो एकदम काँचा उमेरका केटाहरु..
      धर्म परिवर्तन गर्नु भनेको आफ्नो अस्तित्वनै परिवर्तन गर्नु हो जुन असम्भव हुन्छ, यी सब कुनै स्वार्थबस गरिने बाह्य क्रिया हुन्, मन भित्र बसेको धर्म परिवर्तन हुन सक्दैन जे सुकै गरे पनि.

      Reply
    2. suzee says:
      May 23, 2014 at 7:35 pm

      लौ गरि खानु !!!
      मेरो सुझाव
      १, क्रिस्तिएन डेमोक्रेटिक पार्टी खोल्नु , पार्टी का लागि चन्दा , विदेश भ्रमण , येस्तै येस्तै
      २. धर्म को कारण ले देश मा टिकी खान दिएँन भनेर ##विदेश तिर शरणार्थी ##हुन् सिफारिस बेच बिखन पनि गर्नु
      ३. धर्म अनि पार्टी इत्यादी कुरो को बारेमा समाचार लेख्न पत्रिका छाप्नु अथवा फिलिम तेली फिलिम बनौन पनि यता उता देश बाट व्यापक सहयोग लिनु
      ४. आफ्नो सात पुस्ता लै पुग्ने सम्पति जोड्नु
      ५. नाताबाद को सिद्दान्त लागु गर्दै भए भारको सख सन्तति लै विदेश मा डलर टिप्न धकेल्नु
      ६. आफुले खोलेको सबै कार्यालय तिर आफ्नो साइनो लाग्ने लै मात्र दरबन्दि दिनु
      ७. मौका छोपेर हुण्डी पनि गर्नु ,
      ८. पैसा खुवाएर डाका गुण्डा का नाईके लै पनि पालना नबिर्सनु नि
      लौ कति छ कति सुझाव हरु त

      Reply
  10. Rakesh Nirdoshi says:
    May 22, 2014 at 8:28 pm

    अब चै दिल्सोभा को अन्धभक्त भएर चोख्यौना खोज्ने र पुरै निर्दोष भन्ने हरुको मुख मा बुझो लाग्छ कि !!! अब यो मुद्धा दिल्शोवा र नागरिक पत्रिका मा मात्र सिमित हुनु हुदैन !! यी दुवै तै चुप , मै चुप गरेर यो मुद्धा दबाउन पाउदैनन !!!यो हाम्रो समाज कै मुद्धा भैसक्यो !! पत्रिका ले बिनाप्रमाण तल्लो स्तर को आरोप लगाएर उसको बेज्जत , मानहानी र मानसिक यातना दिसकेपछि माफी माग्दैमा माफी पाउनु हुदैन !! उसले पनि त्यो दण्ड को सजाए पाउने पर्छ, छेत्रिपुर्ती दिने पर्छ !!! तर यौटा आरोप पुस्टि नहुने बित्तिकै त्यो भन्दा नि जघन्य अपराध गरेको पुस्टि भएमा कसैको अनुहार र बोलीमा देखिने निर्दोश्पन हेरेर तेस्त अपराधीलाई बिस्वाश गरेर तेतिकै चाही छोड्न हुदै हुदैन !!! कठोर भन्दा कठोर सजाय हुने पर्छ !!
    यो मुद्धा हाम्रो समाज मा रहेका बिकृति हरुलाई सुधार्ने सुवर्ण मौका पनि हो !! कम्तिमा पनि संचार जगत र कथित समाजसेवा छेत्रमा !! जुन छेत्र मा रहेका बिकृति र विसंगति हट्यो भने हाम्रो समाज मा गुणात्मक सकारात्मक परिवर्तन आउनेछ, कुनै दुबिदा छैन !!!पत्रिका र पत्रकार भै भन्दैमा जे मनलाग्छ तेही लेख्ने छुट कसैलाई छैन, जवाफदेही हुने पर्छ !! तेस्तै INGO/ NGO खोलेर समाजसेवाको नाम मा बिदेसी/स्वदेसी पैसा लिएर समाज र रास्ट्र लै नै गद्दारी गर्ने छुट कसैलाई छैन !! संस्था खोल्दै बिदेसी पैसा र उनीहरुको यिसारामा चल्ने, उनीहरुको लागि जासुसी गर्ने , जातिय र साम्प्रदायिक फुट ल्यायिदिने, गरिबीको फाइदा उठाउदै धर्म परिवर्तन गराउने जस्ता रास्त्रघती संस्था हरु बाहेक समाजसेवाको नाम मा आफु र आफ्नो दुनो सोझ्यौना भ्रस्टाचार गर्ने, बृद्ध, चेलीबेटी र बालबालिका बेचबिखन / यौन सोसन / श्रम सोसन गर्ने जस्ता जघन्य अपराध गर्ने हरुलाई कानुनि कठघरामा लेउनै पर्छ !! उचित नियम कानुनछैन भने तुरुन्त बनाउने, फितलो छ भने पनि सुधारेर कडा भन्दा कडा बनाउनु पर्छ र कार्यनोयन गर्ने पर्छ !!
    खबरदार!!! अपराधी लै तेतिकै छोड्न हुदै हुदैन !! यो मुद्धा एउटा सुवर्ण मौका पनि हो समाज मा रहेका बिकृति हरुलाई धेरै मात्र मा हटाउने र त्यो भन्दा पनि ठुलो system बसाउने !!

    Reply
  11. Shankar says:
    May 22, 2014 at 6:11 pm

    आरोप को प्रकृति हेरम अनि दीलसोभा को समर्थन गरम | यो बन्दीपुर हिडेकी कान्छी रुम्जाटार झुक्केर पुगी भन्ने खालको को आरोप हो ?
    बालबचा गायब हुनु , धर्म परिबर्तन गराइनु , आर्थिक हिनामिना , ब्रिद्द बृद्दको को ब्यापार आदि प्रकृतिको आरोप लागिरहादा
    झेली समाज ले जन्माएकी चेली भन्दै आखा चिम्लने ?
    अरु सगै बसेर भात खाइरहदा यिनको थाल मा त् मासु देखियो त् , त्यो पनि खान न हुने ?

    Reply
  12. kedar says:
    May 22, 2014 at 5:41 pm

    छोरा छोरीको उज्जवल भबिस्यको आसामा गरिब निमुखा बाबु आमाले टुहुरा बनाएका बच्चालाई बाल श्रमिक र म्याद सकिएका खाना ठेगान लगाउने डम्पीङ्ग साइट बनाएर राख्ने आमाकै गुण गान गाउने केहि सब्द छन् भने मलाइ सापटी दिउँ है साथी हो

    Reply
  13. Alikhit says:
    May 22, 2014 at 5:37 pm

    “मैले न्यानो तातो मात्रै दिन जान्या छु, कानुन सानुन मैले जान्दिन” भन्ने दिदिले यो सबै गर्या होला र ?

    Reply
    1. suzee says:
      May 23, 2014 at 7:38 pm

      हैन के गर्थिन र बिचारी ले !!!
      बाईबल मा गीता अथवा रामायण को जील्लां/गाता हालेको थियो होला नि त !!!

      कुरो तेही स्याल ले बाघ को खोल ओढ्नु हो !!

      Reply
  14. Dr. Suneel says:
    May 22, 2014 at 4:53 pm

    “दिलशोभा श्रेष्ठ” मिडियाले खोजी पत्रकारिता नगरेर गोजी पत्रकारिता गरेको ज्वलन्त उदाहरण हो। यो त नमुना मात्र हो, स्टोर रूममा त कती छन कती, कस्ले खोजी गर्ने, गोजी न भरी कन !!

    Reply
  15. कृष्ण भारद्वाज, अस्ट्रेलिया says:
    May 22, 2014 at 2:22 pm

    धर्म परिबर्तनमा आर्काको अस्तित्वो स्विकारी आफ्नो बहुलाउनु पर्छ, त्यंहा आत्मा सम्मानको कुनै ठाउँ हुदैन. त्यसैले कसैले पनि केहि डलरको लोभमा यस्तो कुकार्य गर्नु सारै निन्दनीय छ !! त्यसैले ——————-दिलशोभा इज्जतको लायक छैन

    Reply
  16. santosh khanal says:
    May 22, 2014 at 2:05 pm

    भोलि को बाटोका चोर गुण्डा भन्दा त दिल शोवा संग बसेर पढेर अशल नागरिक भएर च्रिस्तियन भएको ठिक छ नि !!! मलाई त केइ नराम्रो गरे जस्तो लाग्दैन !! कि सरकार ले आफ्नो agenda देखाउना पर्यो र भोलि देखि बाटो मा औता पनि केटा केटि हरु गम तान्दै प्लास्टिक जम्मा गर्दै हिडेको हुन भएन !! आफु पनि नगर्ने अरु ले जसो तसो गरेको पनि भएन भन्ने!! नेपाली को बानि !!

    Reply
    1. तेज प्रसाद अधिकारी says:
      May 22, 2014 at 9:25 pm

      मित्र, नपढी प्रतिक्रिया जनाउन न आत्तिनुहोस न, त्यहाँ भएका बालबालिका सडक बाट संरक्षण दियिएको नभई गाउँ गाउँ बाट अभिभावक भएकै बच्चा जम्मा गरिएको प्रमाणित भै सके पछि कुन कारण ले उनीहरु गुन्डा बन्ने अनुमान लगाउनु भयो ? अनि जबर्जस्ति धर्म परिवर्तन गराउन पाइन्छ कहिँ ? देशलाई धर्म निरपेक्ष बनाउनु, तिनै दलहरु दिलशोभा हरुको केयर टेकर हुनु, अनि धर्म परिवर्तन गराइनु तपाइलाइ सामान्य लाग्छ होला तर यसले के अंकित गर्दैछ तपाई अहिले बुझ्नु हुन्न । धर्म हाम्रो पहिचान हो । हल्का रुपले नलिनु, मेरो एउटा प्रश्नको जवाब दिनु, के तपाई दिलशोभा हरु लाइ आफ्नो सन्तान डलर कमाउने साधन को रुपमा प्रयोग गर्न दिनुहुन्छ ? त्यो पनि पक्का तपाइको सन्तान लाइ धर्मनांतर गरिनेछ भन्ने थाहा हुदा हुदै…???

      Reply
    2. kedar says:
      May 22, 2014 at 11:01 pm

      हौ मित्र हामीले सुनेको बाल कल्याण केन्द्र भनेको त बाउ आमा नभएका र सडक बाल बालिका वा तेस्तै खालका बेसहाराहरुलाइ साहारा दिने पो हुन् क्यारे, कर्णाली तिरबाट ठुल ठुला आशा र प्रलोभन देखाएर घर घरबाट बाउ आमाको काख बाट खोसेर ल्याएर आफुले थुपारेको Date Expire खाद्यबस्तु ठेगान लगाउने Dumping Site त होइन नि हौ | तेत्रो कल्याणकारी काम नै गर्ने भए काठमाण्डौमै तपैले भने जस्ता गम तान्दै प्लास्टिक ओसार्ने सडक बालबालिका उनले देखिनन कि सौताका छोरा छोरी थिए नी |

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme