Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चट्याङ बुझौँ, चट्याङबाट बचौं

Posted on May 18, 2014 by mysansar

lightning एकथरी मान्छेमा चट्याङ पर्दा हलोको फाली जस्तो फलामको वस्तु खस्छ भन्ने धारणा छ, त्यो सत्य होइन। अर्काथरी मान्छेमा ठूलो आवाज जहाँ खस्छ, त्यहीँ नै चटयाङ पर्छ भन्ने धारणा छ। यो कुरा केही मात्रामा ठिक हो तर भन्ने तरिका गलत हो। तथ्य के हो भने जब बादलबाट माइनस चार्जको विशाल लहरो पृथ्वीमा आउँछ, यो एउटा कुलो जस्तो बाटो बनाएर आउँछ। पृथ्वीमा झरेपछि सिद्धिन्छ।

आखिर आकासबाट आउने यस्तो विद्युत कुनै जलविद्युत केन्द्र वा आणविक भट्टीबाट जस्तै लगातार आइराख्ने त होइन। चार्ज भयो, आयो, सिद्धियो। तर जब यस्तो विद्युत जमिनमा जान्छ, त्यो विद्युत आएको कुलो रित्तो हुन्छ। अनि त्यो रित्तो कुलोको भाग ओगट्न दायाँबायाँका चार्ज बोकेका बादल त्यहाँ हाम्फाल्छन, एकापसमा ठूलो जोडले ठोक्किन्छन् र त्यस्तो ठुलो आवाज आउँछ। आवाज करेन्ट होइन। आवाजले प्राणी मर्दैन तर बहिरो हुन सक्छ, झ्यालढोकाका सिसा भने फुट्न सक्छन्।

चट्याङ बुझौँ, चट्याङबाट बचौं

-गौतम ‘उदय’-

यो ब्रह्माण्डमा भएका सम्पूर्ण वस्तु – ठोस, तरल, ग्यास- सबै एकदम सानासाना परमाणुका तत्वहरु (atoms) मिलेर बनेका हुन्छन्। हालसम्म ११७ प्रकारका तत्वहरु प्रमाणित भैसकेका छन्। चार वटा नयाँ पनि पत्ता लागेका छन् तर प्रमाणित हुन बाँकी छ।

संसारका सम्पूर्ण वस्तुहरु यिनै ११७ प्रकारका तत्वहरुको विभिन्न संयोजनबाट बनेका हुन्छन्। सबैभन्दा सानो अणु (molecule) मा पनि कम्तिमा २ वटा परमाणु हुन्छन् जस्तै हाइड्रोजन (H2) मात्र २ वटा उस्तै परमाणु मिलेर बनेको छ।

कार्बन डाइअक्साइड (CO2 ) नामक अणुमा एउटा कार्बनको परमाणु र दुई वटा अक्सिजनका परमाणु गरी ३ वटा परमाणु तत्वको मिलन छ।

यी सबै प्रकारका परमाणुहरुमा प्रोटन (protons), इलेक्ट्रन (electrons) र न्युटन (neutrons) नामका ३ प्रकारका विद्युतीय गुणहरु हुन्छन्। इलेक्ट्रन, प्रोटन र न्युटनको संख्या पनि धेरै हुन्छ अनि यिनीहरु धेरै प्रकारबाट एक-आपसमा फरक हुन्छन्।

उदाहरणको लागि प्रोटन धनात्मक हुन्छ, इलेक्ट्रन ऋणात्मक हुन्छन् भने न्युटनमा जिरो चार्ज हुन्छ। प्रोटन र न्युटन परमाणुको केन्द्रमा जोडिएर रहेका हुन्छन्, जसलाई परमाणुको केन्द्र भाग (nucleus) भनिन्छ। इलेक्ट्रनहरु यही केन्द्रभागको वरिपरी नक्षत्र (orbit) मा घुमिरहन्छन्।

वस्तु हलचल नगर्दा उक्त वस्तुमा हुने इलेक्ट्रन र प्रोटनको संख्या बराबर हुन्छ। तर जब वस्तु हलचल गर्दछ अथवा अर्को वस्तुसँग रगडिन्छ वा घोटिन्छ, त्यो वस्तुमा हुने विविध अणुका इलेक्ट्रन अर्को अणुमा सर्छन्।

यसरी थप इलेक्ट्रनहरु प्राप्त गर्ने अणुमा ऋणात्मक अथवा माइनस चार्ज बढी हुने भएकोले उक्त अणु ऋणात्मक हुन्छ भने जुन अणुबाट इलेक्ट्रनहरु अर्कोमा सर्छन, त्यस अणुमा प्रोटनको संख्या बढी हुने भएकोले उक्त अणुमा प्लस चार्ज बढी हुन्छ अथवा धनात्मक हुन्छ।

यसरी एउटा अणुबाट अर्को अणुमा इलेक्ट्रन सरेर यिनीहरुको गतिविधि बढ्ने र चार्ज हुने प्रक्रियालाइ स्ट्याटिक चार्ज भनिन्छ।

कपालमा काइँयो वा बेलुन घोटी केही साना चिजको नजिक लैजाँदा त्यस्ता चिज काइँयो वा बेलुनतर्फ चुम्बकमा फलाम टाँसिए जस्तै गरी आकर्षित हुनु, बेलुन भित्तामा टाँसिनुको कारण कपालका इलेक्ट्रोन यिनीहरुमा सर्नु हो।

जाडोमा स्वीटर खोल्दा वा दुई वटा फलाम तथा ढुंगा ठोकाउँदा झिल्का देखिनु, जाडोमा कारबाट ओर्लिन ढोका खोल्दा झट्का लाग्नुको कारण पनि त्यस्तै हो।

यो साना चिजहरुमा हुने थोरै इलेक्ट्रोनको थोरै समयको गतिविधि भएकोले स्ट्याटिक चार्जको सानो प्रभाव भयो, तर धेरै चिजको, लामो समयसम्मको र ठूलो शक्तिको यस्तो घोटिने ठोकिने प्रक्रिया भैरह्यो भने विशाल स्ट्याटिक चार्ज र विद्युत उत्पन्न हुन्छ।

अब यही कुरालाई चट्याङसँग जोडौं।

आँखाले नदेखिए पनि, गन्ध थाहा हुन नसके पनि हावामा विभिन्न ग्यासहरू, धुलो र पानीका असंख्य कणहरु हुन्छन्। हावाको पनि दायाँबायाँ, तलमाथि गरिरहने लहर अथवा छाल हुन्छ। गर्मीमा जमिन तातेपछि, जमिन नजिकको हावा पनि बिस्तारै तात्दै जान्छ।

हावाको विशेषता नै यस्तो हुन्छ कि तातेको हावा माथि-माथि आकासिंदै जान्छ अनि त्यसको ठाउँ चिसो हावाले लिन्छ। यसरी तातो हावा माथि जाँदै गर्दा हावामा हुने पानीका कणहरु चिसिएर बादलमा बदलिन्छन्। अनि बादल पनि जम्मा हुँदै बाक्लो हुँदै अझै आकासिंदै जान्छ।

चिसिनुको कारण के हो भने समुद्र सतहबाट जति-जति माथि गयो वातावरण पनि त्यति-त्यति चिसो हुँदै जान्छ र हावा पनि पातलो हुँदै जान्छ। हिमालमा हिउँ रहिरहनु, हिमाल चढ्दा सास फेर्न गाह्रो हुनु पनि यस्तै कारणहरु हुन। जेट प्लेन उड्ने उचाइमा त माइनस ६५ डिग्री सेल्सियससम्म चिसो हुन्छ।

सबैखाले बादलले पानी पर्दैन। कतिपय बादल आकासमै बिलाएर पनि जान्छ तर ठूलो पानी पार्ने, बिजुली चम्कने र चटयाङ पार्नेखाले बादल हजारौं किलोमिटरसम्म पनि फैलिन सक्छ, अनि कैयौं किलोमिटर बाक्लो हुन्छ। जब बाक्लो बादलको आकास पट्टीको भाग जिरो डिग्रीभन्दा चिसो हुने उचाइमा पुग्दछ, उक्त बादलमा भएका पानीका कणहरु जम्छन्। जमेपछि पनि त्यो हिउँ तथा बरफका कण भरिएको बादललाई हावाले उडाएकै हुन्छ, हुत्त्याएकै हुन्छ, कतिपय कण तल तल झारिरहेका हुन्छन, कतिपय माथि गैरहेका हुन्छन, ठोकिन्छन फुट्छन, फेरि जम्छन आदिआदि।

यस प्रक्रियालाई विज्ञानमा updraft र downdraft भनिन्छ।

आखिर यी हिउँ, बरफ, धुलो आदिका अणुहरु पनि परमाणुहरु मिलेर नै बनेका हुन्छन, यिनीहरुमा पनि इलेक्ट्रन, प्रोटन र न्युटन हुन्छन् नै।

जब यस्ता जमेका असंख्य कणहरु तथा यस्ता कणहरु बोकेका बादलहरु एकापसमा ठोकिन्छन, अथाह स्टाटिक चार्ज हुन्छ र विद्युत उत्पन्न हुन्छ।

यो ठोकिने क्रम कपालमा काइंयो घोटे जस्तै एक पटकमात्र हुने त होइन, हजारौं लाखौ पटकसम्म हुन्छ। जति धेरै पटक ठोकिन्छ, जति जोडले ठोकिन्छ विद्युत चार्ज बढ्दै-बढ्दै सम्पूर्ण बादलमा फैलिन्छ।

यसरी फैलिने क्रममा इलेक्ट्रनहरु पृथ्वीतर्फको बादलको भागमा जम्मा हुँदै जान्छन् भने प्रोटनहरु आकासतर्फको बादलको भागमा जम्मा हुँदै जान्छन्। विशाल मात्रामा इलेक्ट्रन र प्रोटन निश्चित बादलमा जम्मा भएपछि, तिनीहरुको बीचमा ठूलो विद्युत शक्ति उत्पन्न हुन्छ, जसलाई polarization भनिन्छ।

किन polarization हुन्छ भन्ने तथ्य अझै प्रमाणित भएको छैन। यस प्रकार पटक-पटक विद्युत चार्ज र उत्पन्न हुने प्रक्रियालाई नै हाम्रो भाषामा बिजुली चम्कने भनिएको हो।

वास्तवमा त्यो बिजुली चम्केको नभई बिजुली चार्ज र जम्मा भई लहराको रुपमा बहेको हो। यस्तो बेलामा आकासमा बादलको बिचमा हजारौं पटक हजारौं विद्युतका लहरा बन्दछन्।

चटयाङ धेरै प्रकारका हुन्छन र प्रायः बादलहरुको बीचमा हुन्छन, तर कहिलेकाहीँ जमिन र आकाशको बीचमा पनि हुन्छन्, जुन हाम्रो लागि खतरा हुन्छ।

विद्युत चार्जको विशेषता विपरीत चार्जमा आकर्षण हुने र उस्तै चार्जमा विकर्षण हुने हुन्छ। सरल अर्थमा भन्नु पर्दा माइनस-माइनस अथवा प्लस-प्लस विद्युतकका चार्जहरु एकापसबाट टाढा भाग्छन् भने माइनस र प्लस भएमा एकापसमा आकर्षित भई चार्ज हुन्छन्। तर यहाँ एउटा प्लस र एउटा माइनस अथवा केही जोडिएर विद्युत चार्ज हुने कुरा बुझ्नु हुँदैन। चार्ज हुनलाई त असंख्य प्लस र असंख्य माइनस कुनै एउटा माध्यममा जम्मा भै त्यसैको बाटो हुँदै हिंड्ने हो।

बिजुलीको तार पनि बिजुली हिंड्नलाई बनाइएको बाटो न हो। काठ, कागज, प्लास्टिक, सुख्खा हावामा विद्युत खासै बहन नसक्ने भएकोले यस्ता वस्तुलाई विद्युत कुचालक (insulator) भनिन्छ भने धातु, तरल पदार्थ, जीव, वनस्पति आदिमा विद्युत सजिलै बहन सक्ने भएकोले यिनीहरुलाई विद्युत सुचालाक (conductor) भनिन्छ। सुचालकको अर्थ यस्ता चिजहरु विद्युत सजिलै बहन सक्ने राजमार्ग भन्ने हो।

जमिमा पनि त विशाल प्लस, माइनस चार्जहरु हुन्छन। जब माथि भनिए जस्तो बादलको जमिनतर्फको भागमा अथाह माइनस कण जम्मा हुन्छन्, तिनको समूह जमिनका प्लस चार्जहरुतर्फको समूहसँग जोडिन जमिनतर्फ आकर्षित भैरहेका हुन्छन्।

जमिनका प्लस चार्जहरु पनि आकासका माइनसतर्फ आकर्षित भै बहन सजिलो हुने मानिस, रुख, भवन, पहाड आदिको वोरिपरी जम्मा भै यस्ता वस्तु हुँदै बादलका माइनससँग जोडिन जमिनभन्दा केही मिटर माथिसम्म पुगी तम्तयार भएर बसेका हुन्छन्।

अनि बादलबाट आउने माइनस चार्जको लहरो पहिले रुखमा जोडिए रुख भाँचिन्छ, प्राणीमा परे प्राणी खुस्किन्छ। त्यही हो चटयाङले हिर्काउने भनेको।

ठूल्ठूला चटयाङ पर्दा त सूर्यको सतहको भन्दा करिब ६ गुना बढी ताप अर्थात् ३०,००० डिग्री सेल्सियससम्मको ताप जम्मा भै बहन्छ।

एकथरी मान्छेमा चट्याङ पर्दा हलोको फाली जस्तो फलामको वस्तु खस्छ भन्ने धारणा छ, त्यो सत्य होइन। अर्काथरी मान्छेमा ठूलो आवाज जहाँ खस्छ, त्यहीँ नै चटयाङ पर्छ भन्ने धारणा छ।

यो कुरा केही मात्रामा ठिक हो तर भन्ने तरिका गलत हो। तथ्य के हो भने जब बादलबाट माइनस चार्जको विशाल लहरो पृथ्वीमा आउँछ, यो एउटा कुलो जस्तो बाटो बनाएर आउँछ। पृथ्वीमा झरेपछि सिद्धिन्छ।

आखिर आकासबाट आउने यस्तो विद्युत कुनै जलविद्युत केन्द्र वा आणविक भट्टीबाट जस्तै लगातार आइराख्ने त होइन। चार्ज भयो, आयो, सिद्धियो। तर जब यस्तो विद्युत जमिनमा जान्छ, त्यो विद्युत आएको कुलो रित्तो हुन्छ। अनि त्यो रित्तो कुलोको भाग ओगट्न दायाँबायाँका चार्ज बोकेका बादल त्यहाँ हाम्फाल्छन, एकापसमा ठूलो जोडले ठोक्किन्छन् र त्यस्तो ठुलो आवाज आउँछ।

आवाज करेन्ट होइन। आवाजले प्राणी मर्दैन तर बहिरो हुन सक्छ, झ्यालढोकाका सिसा भने फुट्न सक्छन।

बिजुली चम्केर झिल्लिक गरेको धेरै बेरपछि आवाज आउनुको कारण प्रकाश छिटो हिँड्ने र आवाज ढिलो हिँड्ने भएकोले हो। प्रकाश १ सेकेन्डमा ९,६०,००० किलोमिटर टाढा पुग्छ भने आवाज मात्र ३३० किलोमिटर।

कसरी सुरक्षित हुने ?

चटयाङबाट पूर्ण सुरक्षित त हुन सकिन्न, तर अलिकतिमात्र सावधानी अपनाए धेरै हदसम्म बच्न सकिन्छ। आफ्नै टाउकोमाथि काला-काला चुकजस्ता बादलले आकास ढाकी गड्यांगगुडुंग गर्दै बिजुली चम्केको बेला हातधुने, भाँडा माझ्ने, कपडा धुने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, फोन कम्प्युटर चलाउने, झ्यालढोकाको नजिक तथा छतमा बस्ने गर्नु हुँदैन।

घर बाहिर भएमा पनि तुरुन्त बलियो भवन, गाडी आदिभित्र गई झ्याल ढोका बन्द गर्नु सुरक्षित हुन्छ। खालि खुट्टाले जमिन, धातु आदिमा टेक्नु हुँदैन। फलामका कब्जा, चेन भएका ब्याग बोक्नु हुँदैन।

तारबार, पोखरी नजिक जानु हुँदैन। ठूलो रुख र अर्को मान्छेभन्दा कम्तिमा १५ फिट टाढा रहनु पर्छ।

अझ आङ जिरिङ भै रौँ ठडिने शरीरमा केही चिजले घोचे जस्तो महसुस भयो भने त अब छिट्टै चटयाङले हान्दैछ भन्ने बुझी तुरुन्तै टाउकोमाथि हात राखी कुइना र घुंडाले टेकी घोप्टो पर्नु पर्छ। लेट्नु भने हुँदैन, त्यसो गर्दा झन् सिधै आफैमाथि पर्न सक्छ।

(नोट: अंग्रेजी शब्दलाई नेपालीमा भन्न खोज्दा केही शब्दको फरक अनुवाद भएको हुन सक्छ। )

[गौतमले हरेक साता माइसंसारमा विज्ञान ब्लग लेख्दै आएका छन्। यो त्यही शृङ्खलाको ब्लग हो। उनका अन्य विज्ञान ब्लग पढ्न यहाँ क्लिक गर्नुस्]

22 thoughts on “चट्याङ बुझौँ, चट्याङबाट बचौं”

  1. Krishna says:
    May 24, 2014 at 2:19 pm

    Reference required.

    Would not it be necessary to include the references for this kinds of articles.

    Thanks

    Reply
  2. Arpan says:
    May 22, 2014 at 11:19 am

    घर माथि रड राख्दा त झन् घरमै चात्यांगपर्ने डर हुँदैन र? के भनेको हो फेरि ? बुझिएन

    Reply
  3. sujeet malakar says:
    May 21, 2014 at 6:12 pm

    There is a way to calculate the approximate distance from lightning and most of the people are unaware of this method. Hope it helps:

    When you see the flash of a lightning bolt in the sky. Count the seconds, if you have watch or count in your head until you hear the ‘lightning sound’.
    (since light travel faster than sound, you’ll see the lightning first and it’s sound later)

    For e.g: if you don’t have watch, count 1,2,3 in your head until you hear the sound. Let’s say you saw lightning and start counted the seconds, it took 12 seconds to hear the ‘lightning sound’ then divide the number by 3 to get approx distance in k.m.
    So it will be 12 divided by 3 = 4 K.M
    if it’s 18 seconds then it will be 18 divided by 3 = 6 K.M and so on…

    and if you want to get distance in feet, multiply the seconds by 1130.
    e.g; it took 3 seconds to hear the sound, multiply 3 by 1130. so: 3 x 1130 = 3,390 feet.

    So, as soon as you see the lightning, start to count the seconds in your head, if it took less than 30 seconds, its better to get safe shelter.

    Reply
  4. Sanita Malla says:
    May 21, 2014 at 11:29 am

    एकदमै राम्रो एकदमै सरल, राम्रोसंग बुझाएकोमा लेखक लाइ धन्यबाद

    Reply
  5. devendra says:
    May 20, 2014 at 5:06 pm

    चट्यांग बाट बच्न रेडार को प्रयोग गर्न सकिन्छ रे नि हो?? रेडार ले काँह काँह र कस्तो खाले चट्यांग पर्ने ??? बारे अग्रिम सूचना दिन्छ रे नि हो ???

    Reply
  6. Sandesh says:
    May 19, 2014 at 9:55 pm

    आफु त चट्यांग नै चट्यांग हुने ठाउमा छु. आकाश मा कालो बादल देखे पछि साटो जान्छ. नेगटिब चार्ज भएका चिजहरु के के हुन्, ती ओडेर बस्यो भने strike हुन्न होला, त्यो पनि बताई दिनु होला हजुर! घरमा अर्थिंग गरेर चट्यांगबाट कसरी बच्न सकिन्छ त, त्यो पनि खुलाई दिनु भए हुन्थियो ! धन्यबाद !

    Reply
    1. गगने says:
      May 20, 2014 at 2:26 am

      तपाइको घरमा चट्याङ्ग पर्ने डर छ भने एसो गर्दा उचित होला मलाइ लागेसम्मको कुरा है!

      घरको घुरिमा कुनै धातु (भय र सकेसम्म तामा उचित हुन्छ नभय पित्तल वा अन्य धातु) को गजुर जस्तो चुच्चो बनायर ठड्याउने र तेस्मा तामाको तार (अलिक मोटो ) जोडेर तेस्लाई घर छेउ जमिनसम्म लागेर गाडिदिने त्यो गाड्ने ठाउ कम्तिमा एक फित गहिरो होस् र तेस्को फेदमा पनि कुनै धातु सम्पर्क भयको होस् अनि सुख्खा माटो र ढुङ्गाले पुर्नुस!
      तेसरी चट्याङ्ग बाट घर र आफु सहित आफ्नो बच्न सकिन्छ भन्ने मलाइ बिश्वाश छ!
      जस्तोकि हाम्रो पुरानो पुरानो मन्दिरहरुमा गजुर राख्ने र तामा वा पित्तलको लामो लामो पाता झुन्ड्याउने आदि कुराको प्रमुख कारण यिनै त होलान!

      यति सबै गरिसके पछि जव चट्याङ्ग पर्छ जस्तो बायुमनडल वा हावापानि देखिन्छ वा बुझिन्छ तब झ्याल ढोका थुनेर कोठामा राम राम हे राम भनि बस्नुस चत्यान्गले केहि लछार्दैन – हाहा (जोकिंग है)

      Reply
      1. Sandesh says:
        May 20, 2014 at 10:41 am

        गगने जी, धन्यबाद! मैले त्यसै गर्नु पर्ने भयो.
        आकाश गर्जिने बित्तिकै कोठामा बसेर राम राम गरेको त धेरै भयो.

        Reply
  7. sunil says:
    May 19, 2014 at 8:17 am

    येदि ऋणात्मक चार्ज प्रिथिविमा बिलाए बाकि रहेको घनात्मक चार्ज के हुन्छ होला ?

    Reply
  8. keshar rana says:
    May 18, 2014 at 8:11 pm

    गौतम सर जानकारी को लागी धन्यवाद ! र मेरो जिग्याँसा के भने मेरो घर नजीकै काप्रो भनिने डाले घाँस छ तेसैमा,आज भन्दा ५ वर्ष अगाडी चत्यांग थियो l त्यो रुखको हाँगामा यती ठुलो चोट थियो जुन ठुलो ढुंगाले प्रहार गरे जस्तो,बोक्रा पिल्सिएका थिए l तेसैको कारणले हागा टुक्रिएर खसेको थियो यो चोट कसरी भयो होला जानकारी पाए आभारी हुने थिए l

    Reply
  9. keshar rana says:
    May 18, 2014 at 8:09 pm

    गौतम सर जानकारी को लागी धन्यवाद ! र मेरो जिग्याँसा के भने मेरो घर नजीकै काप्रो भनिने डाले घाँस छ तेसैमा,आज भन्दा ५ वर्ष अगाडी चत्यांग परेको थियो l त्यो रुखको हाँगामा यती ठुलो चोट थियो जुन ठुलो ढुंगाले प्रहार गरे जस्तो,बोक्रा पिल्सिएका थिए l तेसैको कारणले हागा टुक्रिएर खसेको थियो यो चोट कसरी भयो होला जानकारी पाए आभारी हुने थिए l

    Reply
  10. Deepak says:
    May 18, 2014 at 8:05 pm

    Mistake:
    प्रकाश १ सेकेन्डमा ९,६०,००० किलोमिटर टाढा पुग्छ भने आवाज मात्र ३३० किलोमिटर।
    प्रकाश 300000000m/s
    आवाज 320 to 330m/s (its metre, NOT KM)

    Reply
  11. jivan says:
    May 18, 2014 at 3:34 pm

    २०५४ साल तिरको कुरोहो म ८ मा पद्थे । गड्यङ् गूड्उङ गरेर भेल बाडि गयो, खोलाछेउ को खेत खोलाले सबैलग्यो पाखो बारी पोइरोले बगायो । दौबिक प्रकोपमा परेकोले राहात पौने भइयो बा ४ घण्टा लगाएर राहात्लिन जानु भो ५ kg चामल २ kg चिउरा लिएर आउनु भो । पाएको तेही हो ।

    Reply
  12. गौतम "उदय" says:
    May 18, 2014 at 3:33 pm

    Vijay जी Sheetal जी धन्यवाद |
    आदरणीय पाठकज्यू,
    प्रकाशको गति ३ लाख किलोमिटर प्रति सेकेन्ड र आवाजको गति ३४० मिटर प्रति सेकेन्ड बनाई पढ्नु होला |

    Reply
  13. Ritesh says:
    May 18, 2014 at 2:00 pm

    खुब सुन्दर ढंग ले चट्याङको बारेमा बिस्तृत जानकारी देएर पुण्य काम गर्नु भाको मा धन्यवाद .

    Reply
  14. महेश लामिछाने says:
    May 18, 2014 at 1:23 pm

    सबै पढ्न अल्छिले यति पढे र उपयोग गरे धेरै राम्रो हुन्छ ।

    अझ आङ जिरिङ भै रौँ ठडिने शरीरमा केही चिजले घोचे जस्तो महसुस भयो भने त अब छिट्टै चटयाङले हान्दैछ भन्ने बुझी तुरुन्तै टाउकोमाथि हात राखी कुइना र घुंडाले टेकी घोप्टो पर्नु पर्छ। लेट्नु भने हुँदैन, त्यसो गर्दा झन् सिधै आफैमाथि पर्न सक्छ।

    Reply
  15. Vijay says:
    May 18, 2014 at 1:20 pm

    प्रकाश को र आवाज को प्रतिसेकेन्ड गति को डाटा गलत छ है !

    Reply
    1. मनीष says:
      May 18, 2014 at 3:01 pm

      हो प्रकाशको गति ३ लाख कि मि प्रति सेकेन्ड हो भने ध्वनिको २४३ मीटर प्रति सेकेन्ड

      Reply
  16. Shankar says:
    May 18, 2014 at 12:47 pm

    जादा जादैको अन्तिम बाक्य”अझ आङ जिरिङ भै रौँ ठडिने शरीरमा केही चिजले घोचे जस्तो महसुस भयो भने त अब छिट्टै चटयाङले हान्दैछ भन्ने बुझी तुरुन्तै टाउकोमाथि हात राखी कुइना र घुंडाले टेकी घोप्टो पर्नु पर्छ। लेट्नु भने हुँदैन, त्यसो गर्दा झन् सिधै आफैमाथि पर्न सक्छ। ”
    आफुलाई जानकारी न भएको ले घत लाग्यो | जानकारीमुलक अति सुन्दर |

    Reply
  17. sheetal says:
    May 18, 2014 at 12:44 pm

    Worth reading. But not good like previous article. Many mistake of scientific fact. Speed of light is said to be 9,60,000 KM/S. It is 3,00,000 KM/S. (serious mistake). Some where in the article it is said that at least two atoms needed to become molucule. This is also not true. Helium, Neon etc molecules have only one atom.

    Reply
  18. shree basanta says:
    May 18, 2014 at 12:31 pm

    आकाशमा कालो बादल जम्मा भएर आफ्नो नजिक आउँदा र पानि पर्दा ठुलो रुखको ओत लाग्नु पनि हुँदैन | त्यहि पर्ने सम्भावना बढी हुन्छ | चट्यांगले मात्र नेपालमा दुइ सय भन्दा बढी मान्छे मर्छन भन्ने पढेको छु | कारण र बच्ने उपाय पनि बताई दिनु भएकोमा गौतमजीलाई धन्यबाद |

    Reply
  19. प्रवेश लामा says:
    May 18, 2014 at 9:38 am

    २०५१ सालमा मेरो घरमाचटयाङ हानेको थियो बुबाको कान बहिरो भयो घरको खामो २ फाकलेटा भयो घरमा भाको सबै सम्पति जलेर नस्ट भयो सरकारले दैबीक प्रकोपमा परेको भनेर प्लास्टिक छानो हाल्न दियको थियो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme