Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : प्रकारान्तर

Posted on May 17, 2014May 17, 2014 by mysansar

– अनन्त लम्साल –

saturday-fiction “प्रभू ऽऽऽ ! बजार जान्छस् ?”
बा टुक्रुक्क पिँढीमा बसे , म फलैँचाबाट बुरुक्क उफ्रिएँ र बा’का काँध चढेँ।
“ह्याऽऽऽ टोपीमा नसमात् न !”
एकछिन समात्ने ठाउँ नपाएर अल्मलिएँ , र तुरुन्तै तर सुस्तरी उनका दुबै कान पक्डेँ।
“बिस्तारै समात् दु:ख्छ बा’लाई !”
साग टिप्दै आमाले बा’प्रति प्यार र मलाई सावधानी गरिन्।
हामी चिया पसल हुँदै अघि बढ्यौँ , चिया दुकान बाहिर मान्छेहरु उसैगरि भरि-भराउ थिए। हामीले दुकानको आँगन काटेर अघि बढ्दै गर्दासबैले हामीलाई कहिल्यै देखा नपरेको कुनै नयाँजन्तुलाई झैँ आँखी भौँ खुम्च्याएर हेरे।
बजार बेग्लै देखिएको थियो , सानो बजारमा यत्रो मान्छेको चहलपहल यसअघि मैँले कहिल्यै देखेको थिइँन। बा’का दुबै हातले मेरा घुँडा च्याप्प समातेका थिए।

– अनन्त लम्साल –

“प्रभू ऽऽऽ ! बजार जान्छस् ?”
बा टुक्रुक्क पिँढीमा बसे , म फलैँचाबाट बुरुक्क उफ्रिएँ र बा’का काँध चढेँ।
“ह्याऽऽऽ टोपीमा नसमात् न !”
एकछिन समात्ने ठाउँ नपाएर अल्मलिएँ , र तुरुन्तै तर सुस्तरी उनका दुबै कान पक्डेँ।
“बिस्तारै समात् दु:ख्छ बा’लाई !”
साग टिप्दै आमाले बा’प्रति प्यार र मलाई सावधानी गरिन्।
हामी चिया पसल हुँदै अघि बढ्यौँ , चिया दुकान बाहिर मान्छेहरु उसैगरि भरि-भराउ थिए। हामीले दुकानको आँगन काटेर अघि बढ्दै गर्दासबैले हामीलाई कहिल्यै देखा नपरेको कुनै नयाँजन्तुलाई झैँ आँखी भौँ खुम्च्याएर हेरे।
बजार बेग्लै देखिएको थियो , सानो बजारमा यत्रो मान्छेको चहलपहल यसअघि मैँले कहिल्यै देखेको थिइँन। बा’का दुबै हातले मेरा घुँडा च्याप्प समातेका थिए।

बा’ले देशीको दुकानमा आधा किलो जेरी मागे र इस्टकोटको भित्री खल्तीबाट पैसा झिके र दिए। देशीले हातमा पानी लगायो र पैसा गन्यो , पँहेला दाँत देखाएर उसले हात उठाएपछि हामी फेरि अघि बढ्यौँ।

“बाऽऽऽ !“

“केऽऽऽ !”

“जेरी खाउँ न ऽऽऽ !”

“ल हेर यसलाई न’दि एक्लै खाउँला भन्या त…….”

म खित्त हाँसेँ।

बा’ले पोकाबाट यौटा रातो जेरी निकाले र हात माथि गरे, समातेकै मात्र के थिएँ जेरी पक्लक्कै आधा भाँचियो। जेरीको मायाले म अगाडि हुत्तिँदा असन्तुलित भएँ। बा’को काँधबाट खस्नै लाग्दाआतुसले चिच्याएँ,

“बाऽऽऽऽऽऽ !!! ”

**************
एकाएक झसङ्ग भएर ब्युँझिएँ, सपना पो रहेछ। मलाई कुर्न बसेकाहरु पनि झस्किए। कोही भित्तामा अडेस लागेर अझै मुख आँऽऽ गर्दै निदाइरहेकै छन्। उँग्नेहरु सबैले आँखा सानोबनाएर म तर्फ हेरे। सोच्दा होलान् “खुस्केछ कि क्या हो !”

घडी हेरेँ , बिहानको ३ बजेछ , भानु उठेर आँगन पट्टि गयो। बाहिर हिजै देखिको झरी लगातार परिरहेकै छ।

बाआमालाई यसैगरी देखिरहेछु सपनामा , सम्झनामा अझ उज्यालोमा , जब यो घर हेर्छु , जताततै बा आमा मात्र देख्छु। पिँढीको कुनामा , सागबारीमा , भान्सामा र फलैँचामा।
झ्यालको ठिक बिपरित भित्तामा बा-आमाको एक्लो श्याम-श्वेत फोटो-फ्रेम झुन्डिएको छ। तस्विरमा बा-आमा हाँसे हाँसे झैँ लाग्छ। हेरिरहेँ , हेर्दाहेर्दै बा-आमा मधुरा हुँदै गए र स्मृतिकाझिल्का-झाल्की चहकिला हुँदै गए।

आमालाई दमको ब्यथा थियो , दमले च्यापे पछि म चप्पल हातमा उनेर शङ्करेको मेडिकल तिर बतासिन्थेँ। हातमा औषधीको पोको बोकेर घर आईपुग्दा मेरो हालत आमाको भन्दा ज्यादाडरलाग्दो हुन्थ्यो। आमा ह्याक्क-ह्याक्क गरेर मेरो बाटो हेरिरहेकी हुन्थिन्। मैँले घरको आँगन टेक्दा उनको पीडा आधा हुन्थ्यो।

मेरो लामो चुल्ठो सुम्सुम्याएर उनी मलाई छातीमा टाँस्थिन र भन्थिन् “प्रभू ! तँ पनि नभए त मेरो सास कति बेला खुस्कन्छ खुस्कन्छ बाबै !”

म आमालाई दुबै हातको फेरो लगाएर बेस्सरी कस्थेँ , कतै भागिहाल्लिन् कि झैँ।
मलाई स्कूल भन्दा आमासँग गोठालो जान मन पर्थ्यो। आमा सधैँ फकाउँथिन् , सुर्कने झोलामा बा’ले ल्याइदिएका ३ वटा किताब सँगै घ्यू-खट्टे हालिदिन्थिन र खल्तीमा पिप्लामेठ खाने मोहोर। म प्राय: पिप्लामेठ चुसेर केटाहरु गुच्चा खेलेको हेर्थेँ या त भरियाहरु खोपी खेलेको। स्कूल जान मन नपर्नुमा मुख्य कारण थियो “काईँलो”।

मेरो चुल्ठो देखाएर तिनीहरु खिसी गर्थे। कक्षामादुईवटा लामा-लामा बेन्च थिए , तिनीहरु मलाई “ केटी बस्ने बेन्च यो हैन उऽऽऽऽऽ त्यो” भन्दै केटीको बेन्च देखाउँथे , र किताब ठटाएर हाँस्थे। म शुरुमा रिस्सिन्थेँ र पछि रुन थाल्थेँ।

यही कारण मेरो स्कूलप्रतिको मोहभङ्ग भएको थियो र हरेक दिन घरमा आएर आमालाई कपाल काटिदिन करकर गर्थेँ , आमा ब्रतबन्ध अघि काट्नु हुँदैन भन्दै थप्थपाउँथिन्।

एकदिन चौतारामा भरियाहरु खोपी खेलेको हेर्दै भानु र म बसिरहेका थियौँ , त्यही बेला पछाडि पट्टीबाट कसैले मेरो कान च्याप्प समायो। भानु किताब छोडेर बेपत्ताले दौडियो। फर्केर हेर्दा बा रहेछन्।

पसिनाले भिजेर लछप्पै भएका बा को अनुहार रातो भएको थियो। काँधमा उही पुरानो कालो झोला बोकेका बा’लाई देखेर खुशी र डरको मिश्रणले म पनि रातै भएको थिएँ।

स्कुलबाट भागेको सँजाय स्वरूप मैँले चड्कन भेट्ने निश्चित हुन्थ्यो। बा स्कूलको मामलामा अलि कडा लाग्दथे मलाई। केरकार गर्न थालेपछि म सधैँ उँधोमुन्टो लगाएर बस्थेँ।

त्यसदिन बा’ले कालो झोलाबाट सिसाकलम कापी र मिठाई निकाले र फकाई-फकाई स्कूलबाट किन भागिस् भनेर सोध्न थाले। मैँले मौकामा चौका हाने , काईँलो र त्यसको समूहको कुरा लगाएर। त्यसपछि बा मलाई डोर्याएर सरासर स्कुलतिर हान्निए।

म फेरि कक्षाकोठाभित्र रुझेको मुसो झैँ भएर छिरेँ।

बा त्यसैगरि बेला-बेलामा घर आउँथे , १५\२० दिनमा। कहिले महिना पनि पुग्थ्यो। उनको जहिले घर आउँदा पनि मलाई एउटै हुकूम हुंथ्यो “सधैँ स्कूल गएर राम्ररी पढ्नु , भोली-पर्सी मभन्दा पनि ठूलो मास्टर हुनुपर्छ।” म सधैँ टाउको हल्लाउँथेँ , तर मलाई मास्टर हुन मन पर्दैनथ्यो।

बा’ले मलाई चौतारामा फेला पारेको भोलिपल्ट स्कूल जान नपरोस् भनेर मैले पेट दु:खेको बहाना गरेँ। उनले त पत्याए तर आमाले पत्याइनन्। म रुन थालेँ , मेरो सीप चलेन।

अन्त्यमा आमाले कान समाउँदै लगेर श्रीधर मास्टरको जिम्मा लगाएर घर फर्किन्।

त्यसदिन जब काईँलो , सुदेश र जनके पहिलो पिरियड भरि ‘मुर्गा’ बनेर बसे तब म स्कूल आएको सार्थक भयो। त्यो दिन भानु र म खूब हाँस्यौँ। त्यसदिन देखि तिनीहरुले मेरो खिसी गर्न छाडेका थिए।

एकदिन स्कूलबाट फर्केपछि आमाले गजबको कुरा सुनाइन् , मेरो ब्रतबन्धको। म खुसीले दुई हात उफ्रिएँ। आमाले अनुहार सुम्सुम्याउँदै मेरो चुल्ठोतिर हात लगेर भनिन् ” मेरो छोरा पनि तँ , छोरी पनि तँ , तेरो ब्रतबन्ध गरेपछि अब मैले कस्लाई छोरी भन्नु भन् त ? अब तेरो यत्ति राम्रो कपाल काटेर फाल्छन् अनि तेरो मुडुले टाउको प्वाँख नउम्रेको चराको बच्चा जस्तै हुन्छ।”

यति भनेर आमा हाँस्न थालिन्। मेरो आँखा भरि आँसु भरिइसकेको थियो। मलाई पहिलो पटक मेरो लामो चुल्ठोको त्यति धेरै माया लाग्यो। स्कूल छुट्टीको दिन मेरो लागि दशैँ हुन्थ्यो ,म आमा सँग गोठालो जान्थेँ। गाईवस्तु खोला किनारामा चर्थे। म खोलामा माछा मारेझैँ गर्थेँ र खेतका आलीमा बसेका बकुल्लालाई ढुङ्गा हान्थेँ। चिप्लेटीको कालो ढुङ्गामा बसेर आमा-छोराखट्टे खान्थ्यौँ , बा घर आउने दिन गन्थ्यौँ र मेरो ब्रतबन्धको कुरा गर्थ्यौँ। मेरो लागि ब्रतबन्धको कुरा परीका कथा भन्दा निकै मिठो र रमाईलो थियो।

मलाई लाग्छ , आमालाई धेरै कथा आउँदैन थ्यो। प्राय: कथाहरु दोहोरिरहने हुँदा म आमा सँग रिस्सिन्थेँ र नयाँ कथा सुनाउन जोड गर्दथेँ। आमा हाँस्नु हुन्थ्यो र मलाई छातीमा टाँसेर मुसार्नु हुन्थ्यो। अहिले , त्यो बेलाको हाम्रो प्यारो घर ,घर अगाडि आँगनको डिलमा फुलेका फूल , आमाको साथ र बा’को अलिअली पसिनाको गन्ध मिश्रित अँगालोले मलाई खूब कोपर्छ। म ज्यादा जसो आमालाई सम्झेर रुने गर्छु , किन किनयत्रा बर्ष पछि पनि आमाको याद कत्ति पनि धुमिल भएको छैन। यस्तैमा हाम्रो रमाईलो जिन्दगी चल्दै थियो , हाम्रो भनौँ या मेरो।

एकदिन स्कूलबाट घर फर्कँदै गर्दा , केहि मान्छेहरुलेआमालाई स्ट्रेचरमा राखेर ल्याउँदै गरेको मैँले देखेँ। आमाको आँखा बन्द थियो र उनको शिर ओईलाएको पोथ्रो जस्तो एकापट्टि लत्रक्क परेको थियो। आमालाई बिसाईयो , म नीलो भएकोथिएँ , उनको मुहार पहेँलिएको थियो। आधाआधी आँखा खोलेर आमाले मेरो अनुहार भरि सुम्सुम्याएकी थिईन , त्यसो गर्दा उनका आँखाबाट बर्ररर आँसु खसेका थिए। मेरो मुटु गाँठो पर्यो ,आवाजै निस्किएन , म आँसु चुहाउँदै आमासँग उसैगरी लपेटिएको थिएँ।

मान्छेहरुले आमालाई लिएर गए , म एक्लो थिएँ र मेरो छातीमाथि कुनै गह्रुङ्गो चिजले थिचेझैँ अचल पनि। आमा फर्केर आईनन् , म टुहुरो भएँ। मलाई बिश्वासै भएन कि त्यसरी आमामलाई एक्लै छाडेर जान सक्छिन्। म हरेक साँझ चौतारामा बसेर तलको धुले बाटोमा नजर लगाउँथेँ र अबेर राती आँखा भरि शुन्यता लिएर घर फर्कंथेँ। बा गलेका थिए , पातला भए पनि फुर्तिला र बलिया मेरा बा एकाएक बुढा र रोगी मान्छे जस्तो जिङ्ग्रिङ्ग थिए।

म कहिलेकाहीँ बा’लाई एक्लै रोईरहेको फेला पार्थेँ , उनी मलाई भ्रममा पार्न खोज्थे र अनेक बाहाना गर्थे।बा’को बिदा सकियो , जाने दिन नजिक आयो। केही महिनाको लागि मेरो पालपोष ठूलाघरे काकाकोमा हुने भयो। म त्यत्रो मान्छेको भीड़मा पनि एक्लो हुन थालेँ। हरेक रात सपनामा आमाआउँथिन् , म उसैगरि दुबैहातको फेरो लगाएर च्याप्प समाएर रुन्थेँ , आमा उसैगरी मेरो आँसु पुछ्थिन् र मुसार्थिन् तर कहिल्यै बोल्दिनथिन्।

हरेक बिहान मलाई सकस हुन्थ्यो , निन्द्राखुलेपछि। सपना सम्झेर म रुन्थेँ र आमालाई खोज्न , भेट्न यताउता चाहार्थेँ। जसै जसै दिन ढल्दै जान्थ्यो मेरो आशा पनि ओईलाउँदै जान्थ्यो। पढाईमा बिल्कुलै मन हुन छाड्यो। मान्छेकक्षामा भए पनि मन त कता हो कता। प्राय: समय कक्षा भन्दा चौतारो र एकान्तमै बित्न थालेका थिए। म धेरैको नजरमा ‘बिचरो’ र केहीको नजरमा ‘बदमाश’ हुँदै थिएँ।

यस्तैमा एकदिन , बा’ले एउटी अधबैँशे आइमाई र सानी केटी लिएर आए। म अलमल्ल थिएँ। बाले हातमा डोर्याएर त्यो आइमाई सामु लगेर भने “अबदेखि तेरी आमा उही हो प्रभू , आमा भनेर भन्नू !”

म चुपचाप थिएँ , सानो अनुहार गरेकी त्यो आइमाई र सानी केटीको अनुहार झण्डै-झण्डै उस्तै थियो।

हरेक दिन स्कूल जान लाग्दा , चिया दुकानमा बसेका केटाहरु मलाई देखाएर भन्थे “ल आयो ऊ ! बाउको बिहे देख्ने भाग्यमानी !” तिनीहरु गलल्ल हाँस्थे। मैले बिस्तारै बुझ्दै गएँ कि , त्यो आइमाई मेरो बा’की स्वास्नी भनेर। तर मलाई बा’ले सिकाए जस्तो सम्बोधन गर्न मरिगए आएन।

मेरो ब्रतबन्धको सपना आमा सँगै बिलायो र एकप्रकारले मेरो ब्रतबन्ध बा’को बिहे सँगै छाँयामा पर्यो।

बा फर्केपछि म झन एक्लो भएँ। बालकैमा आमा मरेर टुहुरो भएको बालकमा देखापर्ने असरहरु ममा चाहिँ नपर्ने भन्ने कुरै भएन। म उदण्ड र सन्की हुँदै गएँ। अब स्कूल मन लागे मात्रजाने हुन थाल्यो। घरमा खोजखबर नभए पछि मन लागेको गर्नमा कसैको रोकटोक थिएन।

सबै भन्दा ठूलो कुरो , अब मलाई कान समाएर स्कूल पुर्याउने मेरी आफ्नी आमा थिइनन्।

त्यस्को झण्डै तीन , चार महिना पछि बा’ले सरुवा मिलाएर हाम्रै स्कूलमा आए। उनी सधैँका लागि घरमा हुने भए। मेरा कर्तुतहरु सुनेर बा’ले पिलिक्क मेरो मुखमा हेरे , मैँले नजर झुकाएँ ,तानेर काखमा राखे , सुम्सुम्याए। म छातीमा टाँसिएर हिक्क हिक्क गर्दै रोएँ।

मेरा दिनचर्या नियन्त्रित हुन थाले , तर म अनियन्त्रित। कुनै पनि कुरामा अडिनै सक्दिन थिएँ। स्कूलबाट भागिभागी खोला , चौतारामा बस्ने बानीले गर्दा अब बेलुका घरमा थप्पड पनि मिल्न थाल्यो। बा’की स्वास्नीले मलजल गर्थिन् , बा मेरो पाराबाट आजित हुन्थे र तातिन्थे।

अहिले लाग्छ कि बा’की स्वास्नी त्यति कुरुप थिइनन् तर मलाई उनको दायाँ गालामा झुण्डिएको ठूलो कालो कोठी देख्दा अघोर घीन लाग्थ्यो। मेरी आमाको घर , कोठा र सरसामानमा त्यो सानो अनुहार गरेकी आइमाईको रजाईँ देखेर मलाई असह्य हुन्थ्यो।

सानो कुरामा रिसाउने, घरका सामान तोडफोड गर्ने र जवाफ फर्काउन म चम्मु हुँदै गएँ। आमाकै अनुहारकी उनकी छोरी लीसो झैँ हर-हमेशा आमाकै फरियामा झुण्डिएकी हुन्थी। त्यो धेरै बोल्दिनथी र ठूला आँखा यताउता नचाइरहन्थी।

घरको वातावरणबाट बा मेरो मनोदशा बुझ्दथे , तैपनि उनी केही बोल्न छाडेका थिए। एक रात अबेरसम्म बा घर आएका थिएनन् , म ब्युँझदा , बा मेरो टाउको छातीमा टाँस्दै रोइरहेका थिएअनि केही बर्बराउँदै पनि। उनका आँखा राता थिए र मुखबाट ह्वास्स रक्सीको गन्ध आइरहेको थियो। बाको छातीमा टाँसिदा पसिना र रक्सीको मिश्रित गन्ध बेग्लै प्रकारको थियो। म पनि बा’लाई च्याप्प समाएर उस्तै गरि रुन थालेँ।

अब घरमा बा’को भन्दा बा’की स्वास्नीको चल्ती ज्यादा हुन थाल्यो। बा निरीह र चुप देखिन्थे , अब उनको रक्सी पिउने कार्य लत बनिसकेको थियो। प्राय: हरसाँझ उनी उस्तै चार पाउ हुँदैघर छिर्थे र स्वास्नीको खप्की खान्थे , म नरमाईलो मान्थेँ। कहिलेकाहीँ मेरो सुत्ने कोठा तिर छिर्थे र सुम्सुम्याउँथे , अनि फेरि कहिलेकाहीँ स्कूलबाट भागेको रीस पोख्थे। गाउँमा मेरा बा”दिवाकर मास्टर ” कम र “जँड्याहा दिवाकर” बढी हुन थाले।

एक साँझ अग्लो कदको , ठूला आँखा र हँसीलो अनुहार गरेका मेरा सानुबा घरमा आए। आमा पहिला भन्थिन ” सानुबा काठमान्डूमा पढ्छन् , भोलिपर्सी सानुबा जस्तै तँ पनि ठूलो स्कूलमापढ्ने हुनुपर्छ। ” मलाई हजुरबा , हजुरआमाको याद छैन। हामी अन्त कतैबाट यहाँ आएको भन्नुहुन्थ्यो आमा।

सानुबा हाम्रो गाउँमा सम्भबत: नौला थिए। म उनको साथी भएँ र उनी मेरो। उनी स-साना कुराहरु सोध्थे , हाँस्थे , हँसाउँथे र मलाई खूब माया गर्थे। तिनी निकै चुरोट पिउँथे , हामी मन्दिरकोछेउमा बसेर तल बाटोमा हेर्दै कुरा गर्थ्यौँ। आज सानुबालाई सम्झँदा लाग्छ , उनी मेरा सबैभन्दा नजिकका साथी भएका थिए। आज पर्यन्त सबैका सानुबा देख्दा लाग्छ , सन्सारका सबैसानुबाहरु मेरै जस्ता हुन्छन।

सानुबा फर्केको ठीक दश दिनपछि म घरबाट भागेँ। भाग्दा , बा’ले दशैँमा किनिदिएका एकजोर सर्ट पाईंन्ट , हरियो बुट्टा भएको स्विटर , गोडामा आर्मी रंगको हरियै जुत्ता , पाईन्टको अगाडिखल्तिमा बा’को ज्वारीकोटबाट निकालेको पचहत्तर रुपैयाँ र केही मोहोरहरु र मनमा सानुबालाई भेटिहाल्छु कि भन्ने थोरै आशा म संग सुरक्षित थिए।

घोरेको डाँडामा बस रोकिएपछि मैँले झ्यालबाट मुन्टो निकालेर गाँउलाई अन्तिम पटक हेरेको थिएँ। किन किन “बेकार भागेछु , फर्कुँ क्यार !” जस्तो पनि लागेथ्यो।

बतासको चीसो झोँका हुन्हुनिँदै भित्र पस्यो र बा-आमाको तस्वीर भित्ताबाट लुछेर भुईँमा पछार्यो। सिसा चर्किएर झनै धमीला देखिएका बा-आमाले कोल्टे परेर मलाई नै हेरिरहे जस्तो लाग्यो।

घरबाट भागेपछिको बाह्र बर्ष पछि म फेरि घर फर्केको छु। ती बाह्र बर्षमा चियापसलको कान्छो देखि ग्यारेजको मिस्त्री हुँदै अनेक पेशा गरेँ। यी बीचका समयमा यति धेरै घटना , यति धेरैमोड़ आए कि तिनलाई अब फर्केर हेर्दा क्रम मिलाउनै सक्दिन। सबै जिन्दगी छ्यास्मिस् भए झैँ लाग्छ र कताकता अल्झिरहन्छु।

अहिले लाग्छ , म भाग्नु हुँदैनथ्यो एक्ला बा’लाई छोडेर। फेरि लाग्छ , भागी गएँ त अब लागेर के गर्नु !!

भागी गए पनि म फर्कन सक्थेँ , त्यो पनि गरिन। सम्पर्कमा रहिन। बा कालो झोला भिरेर मलाई लिन आउँथे होलान , फकाउँथे होलान र हल्का हल्का पसिनाको गन्ध भएको छातीमाबेस्सरी टाँस्थे होलान। म फेरि उसैगरी बा’को छातीमा मुख गाडेर हिक्क हिक्क रुन्थेँ होला। तर त्यो सब हुनै पाएन। बा कत्ति भौँतरिए होलान मेरो खोजीमा ! कहाँ कहाँ पुगे होलान ! उनकासारा प्रयास ब्यर्थ भएपछि उनको कुन हविगत भयो होला !!

कता कता भित्र यहि कुराले पोलिरहन्छ। अब यहि मानेर बसेको छु कि , बा’को भाग्यमा पुत्र-सुख रहँदै रहेनछ।

झण्डै बाह्र बर्ष पछि भानुसँग भेट गराएर दैबले मौका त दिएको थियो तैपनि म बेलैमा फर्केर आइन।

बाहिरबाट कसैले घरक्क ढोका खोल्यो , पुरेतबा रहेछन्। हातमा मैँलो गाता भएको पुस्तक च्यापेका उनी स्यू….स्यू गर्दै सुकुलमा बसे। पहिले देखि बसिरहेका अरु दुईजना उठे र बाहिर लागे , भानुआफ्नै ठाउँमा कम्बलले छोपिएर बसेको छ। कोठा एकपटक फेरि चुरोटको धुवाँले गुम्म भरियो।

केही बेरको मौनता पछि पुरेत’बा जुरुक्क उठे र भने “ल ! अब जानु पर्छ , पाँच बज्यो !”
भानु सँगै राधेश्याम काका पनि उठे।

बाहिर निस्किएँ , झिसमिसे उज्यालो भएछ , दुई दिन देखिको झरी उसैगरी झरिरहेकै छ। आबश्यक सरसामान बोकेर भानु अघि लाग्यो , म पछि पछि।

पँधेरामा पुग्यौँ , खासै मान्छे थिएनन् , झरीले होला ! भएकाले बाटो छाडिदिए।

कसैले सोध्यो , “आज कति दिन भयो पुरेत’बा ?”

“आज तेह्रौँ बा।”

छातीभित्र त्यसै त्यसै औडाहा जस्तो भयो, भित्र केही जलिरहे जस्तो। बरर्रऽऽ आँसु झरे। आँखा सामु बा’को दुब्लो तर गम्भीर अनुहार आयो।

ओहो !! कुनैदिन घर छोडेर बा’लाई एक्लो बनाएथेँ , त्यसको साटो आज उनले कहिल्यै नफर्कने गरि यो धरा छाडेर मलाई पनि एक्लो बनाए।

बा’ले म सँग बदला लिए।

चिसो सेतो कछाडले तातो आँसु पुछ्दै , म पुरेत’बा को बिधी अनुरुप मेरा बा’को तेह्रौँ गर्न थालेँ।

समाप्त

16 thoughts on “कथा : प्रकारान्तर”

  1. Rupesh says:
    May 28, 2014 at 3:11 pm

    धेरै राम्रो छ मित्र , निरन्तर लेख्दै जानुहोला शुभकामना

    Reply
  2. sarmila says:
    May 26, 2014 at 9:49 pm

    कथा मार्मिक छ ,मुटु छोयो ….
    आखा रसायो …..

    Reply
  3. jayaram tamang says:
    May 21, 2014 at 6:33 am

    मेरो पनि आँखा बाट आँसु झर्यो
    यो कथा हो कि भएको रियल कुरा हो . लेखाइ सारै मार्मिक छ .

    Reply
  4. सिर्जने says:
    May 19, 2014 at 7:42 pm

    धेरै राम्रो कथा / आँशु आउने खालको /

    Reply
  5. Aditya says:
    May 19, 2014 at 7:26 am

    कथा अति नै मार्मिक छ | तर केहि ठाउँमा परिच्छेद बीचको सम्बन्ध मिलेको छैन | बा, आमालाई उनि, तिनी, आए, ल्याए, आदि लेखेको अलि सुहाएन | आफुभन्दा ठूलालाई आदरार्थी शब्दहरु प्रयोग गर्नु हाम्रो बिशेसता होइन र !?

    Reply
  6. D.B. Gurung says:
    May 18, 2014 at 3:47 pm

    कुनै पनि कथा उपन्यास पढ्दा खेरि दृश्य देखिनु पर्छ अनि पढ्न जाँगर चल्छ मलाई.. यो कथा पढ्दा यस्तै महसुस भयो. लेख्दै जानु होला

    Reply
  7. suzee says:
    May 18, 2014 at 3:21 pm

    मार्मिक मार्मिक मार्मिक धेरै मार्मिक , मन छुने लेखन कला ,

    Reply
  8. kumar budhathoki says:
    May 18, 2014 at 2:21 pm

    भित्रै सम्म छुन सफल कथा ।
    वहा अनन्त जी तपाईँको लेखाईमा जादु छ ।

    Reply
  9. Nirmala says:
    May 18, 2014 at 12:55 pm

    एक साथर्क लेखन ..मन बाँध्न निकै कठिन भो …

    Reply
  10. uttam says:
    May 18, 2014 at 9:27 am

    अनन्त जी, कथा शुरु गरेपछि नै कथामा नै हराए म त ……सारै राम्रो लेखन शैली……भबिस्यमा तपाई बाट नेपाली साहित्य ले धेरै स्तरिय रचना पाउने छ भन्ने आशामा…..लेख्दै जानुहोला ….

    Reply
  11. निश्चल, सिड्नी says:
    May 18, 2014 at 7:43 am

    लम्सालजी, धेरै राम्रो लाग्यो . Keep it on.

    Reply
  12. Damodar Dhungel says:
    May 18, 2014 at 6:53 am

    ओहो.. यो साथी को कलम मा दम छ यार . धेरै पछि एथार्थ जस्तो लाग्ने कथा पढ़न पायो. धन्येबाद मित्र.

    Reply
  13. Gurugopal says:
    May 18, 2014 at 3:20 am

    विदेश म़ा भयका ले होला पढेर बाऊ आमा सम्झी आसु नै झरे आजै रति सपनी बा लाई देखेको थिय तुरुन्तै फोन गरे ,, बा बिरामी रहेछन ,,, झन् भक्क्नो छुट्यो ,,, आखा बाट आसु झर्न थाले
    बा ले थाहा पायर भन्नु भो काईला किन रोयको ?? केहि भयको छैन मलाई ,,, त तेसै चिन्ता गर्छस ,,,, खप्न सकिन फोन राखिदिय र फेरी कथा पढ्दै आसु झार्न थाले,,,,,,

    Reply
  14. Sallu says:
    May 18, 2014 at 1:22 am

    धेरै राम्रो कथा मन कटक्क खायो अनि आसु नि झर्यो

    Reply
  15. tashi says:
    May 17, 2014 at 11:13 pm

    सार्है राम्रो ….मुटु छोयो …आँखा रसाए …

    Reply
  16. shyam says:
    May 17, 2014 at 8:09 pm

    ….. आशु नै झर्यो आँखा बाट …..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme