Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : अँध्यारो

Posted on May 10, 2014 by mysansar

– अनमोलमणि –

saturday-fiction झ्याप्प बत्ती गयो। चुकजस्तो अँध्यारो फेरि बढ्यो। आकाशमा तारा चम्केजस्तो देखिने सहरको दृश्य कालो भयो। कतै कतै झल्याक झुलुक प्रकाश देखिए पनि गाढा अध्यारोमा तिनको उपस्थिति दरिलो बन्न सकेन। अर्थात् अध्यारोले आफ्नो साम्राज्य फेरि जमायो।
‘लोडसेडिङ फेरि बढ्यो’, नीलिमाले भनी, ‘विद्युत् प्राधिकरणले दिनको १७ घण्टा बत्ती जान्छ भनेको छ। साँझ घरमा कहिल्यै बत्ती नहुने भैगयो। पख्नोस् म ढिब्री बालेर ल्याउँछु।’

त्यसपछि केही बेर ऊ भित्र कतै अलप भई।

फर्केर आउँदा अँध्यारो चिर्न कोठामा ढिब्री बल्यो। मधुरो प्रकाशले भित्ताभरि छायाका टाटाहरु देखिए। त्यसमा हाम्रो छाया पनि थियो। टाउको झट्कारे पिच्छे भित्तामा हल्लिरहने छायामा उसको कपाल हल्लियो। नाक कहिले लामो कहिले चुच्चो देखियो।

हातका हाउभाउ हल्का बतासले पनि हल्लिरहने बुख्याचाजस्तो भएर भित्तामा चल्मलाए। भित्ताको छायामा मेरो टाउको कहिले सानो किहिले ठूलो देखियो। समग्र आकृति कहिले अग्लो कहिले होचो बन्यो।

मझेरीको ठीक विचमा राखिएको चिम बल्दा बिजुलीको उज्यालोमा मैले कहिल्यै यस्तो छाया देखिनँ।

थाहा छ, छाया सही होइन। छाया भ्रम हो। र पनि आज मलाई ती छायाहरु प्रिय लागे। लाग्यो, जीवन यस्तै टुक्रा टुक्रा छायाहरुको सग्लो रुप हो। अर्थात् छायानै हाम्रो वास्तविक रुप हो।

मलाई के पनि लाग्थ्यो भने अध्यारो कठोर हुन्छ। अझ यसो भनौं, संसारमा अध्यारोमात्रै सबैभन्दा कठोर हुन्छ। होइन रहेछ। उज्यालो पनि कठोर हुने रहेछ। उज्यालो मेरा लागि कठोर भएर आयो। त्यो कठोर उज्यालो घामको थिएन बिजुलीको कृतिम उज्यालो थियो। पानी मथेर आएको उज्यालो। अर्थात् पानीको उज्यालो। लोडसेडिङ हुनु अघि तारै तार कुदेर आएको त्यही उज्यालोले कुनै समय मेरो जीवनको चहक मधुरो बनाएको थियो।

सहरको सामान्य रेस्टुरेन्टबाट हाम्रो भेटघाट सुरु भएको थियो। त्यसपछि पार्क, नदी किनार, मन्दिर र देवलहरु घुमेर हामीले प्रेमको रंग थप गाढा बनाएका थियौं। झरी पर्दा एउटै छाता ओढेर आधाआधा भिज्थ्यौं। लजाउदै नीलिमा भन्थी, ‘विहे गरेपछि पनि यस्तै होला?’

घाम लाग्दा एउटै छाता ओढेर आधा आधा पोलिन्थ्यौं। नीलिमा भन्थी, ‘सामान्य कुराले पनि कहिले काही सम्बन्धमा समस्या ल्याउछ भन्छन्? हामीमा त त्यस्तो कहिल्यै नहोस् है।’

जाडोमा एक अर्काका हत्केलाहरु माडेर तातो बनाउथ्यौं। नीलिमा भन्थी, ‘अब हामीले एक अर्काको दुःख साट्नु पर्छ र खुसी बाँड्नु पर्छ। तिमीलाई दुख्दा मलाई पनि दुख्नु पर्छ। मलाई दुख्दा तिमीलाई पनि।’

यसबीच हामीलाई यस्तो भयो कि याद बिना गास गलाबाट नछिर्ने। स्वर नसुनी निद्रा र सपना असम्भव जस्तै लाग्ने। सहरवीच लेउले छपक्कै ढाकेको पोखरीको किनारमा अंगालिएर घुम्दै गर्दा एक साँझ नीलिमाले भनेकी थिइ, ‘बिजुलीको उज्यालो भन्दा हामीलाई लोडसेडिङनै ठीक छ। कसैले देख्दैन। देखे पनि चिन्दैनन्। उज्यालोमा भन्दा अँध्यारोमा तिमीलाई हेरेर म आनन्दित हुन्छु।’

त्यसपछि हामीले एक हुने निर्णय गर्‍यौं। अर्थात् हाम्रो बिहे भयो। जागिर भयो। कोठाबाट हामी सहरको कुनामा बनाएको एक तले घरमा सरयौं। अर्थात अब आफ्नो घर भयो।
जाडोमा आगो ताप्न घरमा अगेनो थिएन। बेसिन युक्त किचन बनेको थियो। साँझमा बाल्न बोतल दुलो पारेर बनाइएको ढिब्रि, दीयो थिएन। सबैतिर बिजुली जोडिएको थियो। घर बिजुलीले झिलिमिली बनेको थियो। भात बिजुलीले पाक्थ्यो। पानी बिजुलीले तात्थ्यो। जाडोलाई बिजुलीले परास्त गरिदिएको थियो, बिजुलीकै कारण हामीले हप हप गर्मी अनुभव गर्नु परेको थिएन।

हामी दुई बाहेक घरमा बिजुलीका अरु प्रियवस्तु पनि थिए, कम्प्युटर। ल्यापटप। मोबाइल। टीभि। माइक्रो ओभन आदि। बस् सुखै सुख थियो। साँझको अध्यारोमा झुल्केर बिजुली घरका कुना कुना उज्यालो बनाउथ्यो। लाग्थ्यो, बिजुली घामजस्तै उज्यालो छरेर अध्यारो हटाउँदैछ।

पहाड प्वाल पारेर कासौं पर पुगेको पानीको छहराबाट निस्केको बिजुली सम्झदा मनमा यस्तो तर्कना आउथ्यो, ‘घाम डुबे पनि, जून उदाए पनि, झ्याउकिरी र भुस्याहा कुकुर एकोहोरो कराए पनि त्यो रात होइन। बिजुलीको उपस्थितिमा यसलाइ कुनै हालतमा रात भन्न पाउन्नौं। पूरा पूर यो उज्यालो दिन नै हो, घडीको काटालेमात्रै यसलाई रात बनाइदिएको हो।’

सँधै एकनास रहेन। ठीकठाक चल्दै गरेको हाम्रो सम्बन्ध विस्तारै बदलियो। पत्याउनुस् नपत्याउनुस् सुन्दा अचम्म लाग्न सक्छ, त्यसको एकमात्र कारण थियो बिजुली।
ऊ बिजुली बिना केही गर्नै नसक्ने भइ। नीलिमाको ध्यान मतिर भन्दा टिभी तिर बढ्न थाल्यो। जतिनै समय बितोस् हरेक सिरियल हेर्नै पर्ने। रियालीटि सो हेर्नै पर्ने। समाचार आयो भने ऊ भन्थी, ‘झ्यास, पाखेजस्तो यस्तो समाचार पनि हेर्छन्। खाली तिनै नेताको भाषण त हो।’

यति भनेर हातको रिमोट किटिक्क दबाउँथी र कुनै रुन्चे सिरियलको एउटा भागमा स्क्रिन अड्याउँथी। कम्प्युटर चलाउँथी। इन्टरनेटमा झुम्थी। गेम खेल्थी। फेसबुक, ट्वीटरमा साथीसित कुरा गर्थी। खाना बसाल्थी पाके नपाकेको वास्ता थिएन। तरकारी बसाल्थी डढे नडढेको चासो थिएन।

बिजुलीले विस्तारै उसलाई एकोहोरो बनाउँदै लगेको थियो। घरमा उसको व्यस्तता यसरी बढेर गयो कि हामी एकअर्कामा बोल्न नभ्याउने हुदै गयौं। बिजुली हुन्थ्यो ऊ कि टिभीमा झुमेर बसेकी हुन्थी। कि ल्यापटप अघिल्तिर घोप्टिएकी हुन्थी। कि कम्प्युटरको माउस सुम्सुम्याइरहेकी हुन्थी।

कोठाबाहेक उसले श्रीमान् बिर्सिँदै गई। छिमेकी बिर्सिँदै गइ। घरको कौसी र बरन्डा बिर्सिदै गइ। बिजुलीले उसको विचार र कल्पनालाई जित्दै गयो। विचार र कल्पना व्यक्तिको परिचय हो भन्ने म ठान्थे। उसलाई त्यस्तो कहिल्यै लागेन।

अति भएपछि मैले एक दिन भने, ‘यसरी कसरी चल्छ। जीवन सम्बन्धमा हुन्छ नीलिमा। जीवन धेरै लामो छ। जीवन रहुन्जेल सबै रहन्छन्। सम्बन्ध रहुन्जेल सबै चिज प्रिय हुन्छन्। यसले तिमीलाई राम्रो गर्दैन। हमी दुई भएका बेला त यसलाई छाड न।’
उसले सुने नसुन्यै गरी। विवाद बढ्दै गयो। टिभी हेर्ने, कम्प्युटर, मोबाइल चलाउने विषयको सामान्य विवाद असामान्य हुन थाल्यो।

विवादवीच एकसाझ उसले झोक्किएर भनी, ‘ठीकै छ। तिमीलाई शान्ति हुन्छ भने म गइदिउँला।’ उसको आसय माइत गएर बस्छु भन्ने थियो।

त्यसअघि पनि यस्तै भएको थियो। निहुँ सामान्य थियो। तर त्यही निहु असामान्य भएर बढ्दै गएर विवादको रुप लियो। उसले टिभीको रिमोट भित्तामा हुर्‍याउदै भनी, ‘आखिर हेर्न नमिल्ने भए किन ल्याइराखेको यो ठाँडो। बरु बिजुली सधैलाई गए हुन्थ्यो नि। म ढिब्री बालेर बस्छु भन्या होला बस्दिन त्यसरी त।’

मैले पनि हल्का झोक्किएरै भनेथे, ‘मधुरो होला तर ढिब्रीको प्रकाश दिगो हुन्छ। त्यसले खास जीवन देखाउछ।’ त्यहा मेरो उत्तरको कुनै अर्थ थिएन। मैले मधुरो उज्यालो दिने ढिब्री सम्झेँ, गाउँमा छँदा, स्कुलेनै हुदा वतासको बेगले ढिब्री निभाउन खोज्थ्यो। त्यो ढिब्रीको उज्यालोलाई मैले कति पल्ट हत्केलाले छेकेर जोगाए। ढिब्री उज्यालो जोगाउदा म ठान्थे, मैले जीवन जोगाएको छु। जीवनमा मैले जोगाउने पर्ने उज्यालाहरु धेरै छन्।
गाउँमा मान्छेहरु अहिले पनि हरेक साझ ढिब्री बाल्छन्। ढिब्री निभाउछन्। दियो बाल्छन्, दियो निभाउछन्। मलाई त्यो खास जीवनजस्तो लाग्छ।

अन्तत बत्ती सधैलाई गए हुन्थ्यो भन्ने उसको इच्छा पूरा भयो।

लोडसेडिङ बढ्यो। बढ्दै गएर दैनिक १७ घण्टा लोडसेडिंग हुन थाल्यो। बिजुली आउने भन्दा जाने समय धेरै भए पछि उसको व्यस्तता घट्यो। बिजुलीले लिएको घरको ठाउ सानो सोलार इन्भर्टर, व्याट्रीबाट चल्ने सानो टर्च र ढिब्रीले लिए। पूजा पाठका लागि बाल्न प्रयोग गरिने पित्तलको दियो पनि कहिले काही बल्न थाल्यो। सानो गिलेनको आधा गिलेन मटि्टतेल भान्सा कोठाको एउटा कुनामा थन्कियो। टिभी ठूलो खालको सेतो रुमालले छोपियो। चार्ज नपुगेर मोबाइल प्राय अफ मुडमै रहन थाल्यो। झिलिमिली बल्ने बत्तीमा माकुराहरु देखिन थाले।

यसलाई संयोग, औषधी वा जादू जे ठाने पनि हुन्छ।

विस्तारै हामीवीचको विवाद कम हुन थाल्यो। समयमा खाना पाक्न थाल्यो। भान्सा हुन थाल्यो। घरको धन्दा बेलैमा सकिन लाग्यो। फेरि हाम्रो कुराकानी पहिलेजस्तै बढ्न थाल्यो। हामी कौसीमा टहलिएर अध्यारोले छेकेका परका दृश्यहरु हेर्न थाल्यौं। बेला बेला कतैकतै देखिने दृश्यमा रमाउन थाल्यौं। एउटै ओच्छ्यानमा पनि छोइएलाझै सुत्ने हामी अब अंगालो मारेर सुत्न थाल्यौं।
********
झ्याप्प बिजुली गयो। अँध्यारो बढ्यो। मैले ढिब्री सल्काएँ र त्यसैको मधुरो उज्यालोमा कथा लेखिसकेर नीलिमालाई सुनाएँ।

‘ल भन यसको शीर्षक के राख्ने होला?’

हल्का मुस्कानसाथ कर्के आखाले हेर्दै उसले उत्तर दिइ, ‘अँध्यारो।’

5 thoughts on “कथा : अँध्यारो”

  1. Nirajan says:
    May 12, 2014 at 12:33 pm

    एक दम राम्रो समाजिक झटारो र संदेश मुलक कथा! यो कथामा जीवन छ, सम्बन्द छ अनि एथार्थ छ, लेख्दै जानुस आन्मोलजी.

    Reply
  2. kedar says:
    May 11, 2014 at 10:48 am

    धरै मन पर्यो ! धन्यवाद अनमोल जी !

    Reply
  3. laxmi says:
    May 10, 2014 at 2:28 pm

    सन्देश मुलक कथा । हरेक चिज सँग आफु हिड्ने कि , आफु सँग हरेक चिज लाई हिडाउने भन्ने बुझ्न जरुरी छ । धन्यवाद राम्रो लाग्यो कथा !!

    Reply
  4. गोपी says:
    May 10, 2014 at 1:32 pm

    मिठो झटारो ठोक्नुभयो लेखक जी ले
    चलिरहेको सामाजिक बिकृति को लागि…
    बास्तबमै यो एकदम सत्य यथार्थ हो ,,,

    Reply
  5. kumar thapa says:
    May 10, 2014 at 9:23 am

    Wow! Very interesting and live illustrations of contemporary life style.
    Hope more and more beautiful story be created in future.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme