Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनलाइनमा अब ‘ब्रेन’ आवश्यक छ, ‘मार्केट’ले ‘सपोर्ट’ गर्न थालिसक्यो : धर्मराज भुसाल

Posted on May 1, 2014May 1, 2014 by Salokya
अनलाइनखबरका संस्थापक तथा प्रधानसम्पादक धर्मराज भुसाल
अनलाइनखबरका संस्थापक तथा प्रधानसम्पादक धर्मराज भुसाल

गुल्मीबाट राजधानी छिर्दा नै पत्रकारितामा केही गरी देखाउने सोच थियो धर्मराज भुसालको। त्रिभुवन विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिताको सैद्धान्तिक ज्ञान लिँदै उनी छापा पत्रकारितामा केही समय रमाए। विश्वविद्यालयको पढाइमा ‘मिडिया म्यानेजमेन्ट’को व्यवहारिक ज्ञान पाइँदैन। भुसालभित्र त्यो क्षमता थियो। ‘सस्टेन’ गर्नेमात्र हैन, नाफा कमाउने म्यागेजिनहरु उनले विद्यार्थी हुँदै निकालिसकेका थिए।

२०६२/६३ को जनआन्दोलनताका नेपाली भाषाको पहिलो इन्डेपेन्डेन्ट न्युजपोर्टल ‘परेवा डट कम’ एकदमै सफल भयो। तर कुशल व्यवस्थापनकै अभावमा यसले असामयिक मृत्युवरण गर्न बाध्य भयो। भुसालले यसलाई ‘वाच’ गरिरहेका थिए। राम्रोसँग ‘म्यानेज’ गर्ने हो भने अनलाइन पत्रकारितामै भविष्य भएको उनको अन्तरआत्माले ठहर गर्‍यो। यसलाई उनले आफ्ना साथीहरुमाझ ‘सेयर’ गरे। बजार नहोला कि भन्ने आशंकाबीच पनि उत्साही प्रतिक्रिया पाएपछि सन् २००६ को नोभेम्बर १ देखि मिडिया सपोर्ट सिस्टम प्रा.लि.को नामबाट उनले थाले अनलाइनखबर डट कम, जसको ट्यागलाइन थियो- ‘सबभन्दा तेज’।

सन् २००७ को फेब्रुअरी २४ मा यस्तो थियो अनलाइनखबरको होमपेज
सन् २००७ को फेब्रुअरी २४ मा यस्तो थियो अनलाइनखबरको होमपेज

तर अनलाइनखबरलाई ‘तेजिलो’ बन्न त्यति सजिलो भने भएन। योबीचमा उनले निकै हन्डर खाइसके, निकै लाञ्छना झेलिसके, निकै पटक पछारिँदै-उठ्दै गरिसके। ‘मान्छेहरु हामीलाई ‘हेडलाइनखबर’ भनेरसमेत हेप्थे’, भुसाल सम्झन्छन्, ‘हामीलाई यताउताका न्युज चोरचार पारेर साइटमा राख्ने औकात नभएका भन्थे।’

आठ वर्षपछि आज ‘अनलाइनखबर’ एउटा ब्रान्ड बनेको छ। ठूला लगानीका मिडिया हाउसका अनलाइनहरुलाई पछार्दै उसले गाडेको सफलताको झण्डालाई उखेल्नु त परै जाओस्, छेउछाउसम्म पुग्न पनि सकेका छैनन् अरुहरु। अनलाइनखबर ‘ट्रेन्डसेटर’ बनेको छ। अनलाइनखबरकै समाचारहरु हेरेर, थपथाप पारेर राष्ट्रिय दैनिकका अखबारका केही संवाददाताहरु जागिर पचाउँछन्। राष्ट्रिय दैनिकका रिपोर्टरका कम्प्युटरहरु समाचारमा अपडेट हुन अनलाइनखबर ब्राउज गर्छन्। अनलाइनखबरले गरेको फुजेलको स्थलगत रिपोर्टिङले राष्ट्रिय राजनीतिमा नै प्रभाव पार्‍यो।

dharma_salokya
के छ त अहिले नेपालमा अनलाइनको स्थिति? अहिले अलि फूर्सद भएको मौका पारी केही साथीहरुसहित म अनलाइनखबरको नयाँ बानेश्वरस्थित कार्यालयमा हिजो पुगेको थिएँ। स्नातकोत्तरका सहपाठी र अनलाइनखबरको ‘ग्रोथ’लाई नजिकबाट नियालेको साथी हुनाले धर्म मलाई समय दिन आनाकानी कहिल्यै गर्दैनन्। सुरुको अनलाइनखबरको कार्यालय र अहिलेको कार्यालयमा निकै परिवर्तन भइसकेछ। अहिले कार्यालयलाई निकै व्यवस्थित बनाइएको रहेछ।

भुसालकै फराकिलो कार्यकक्षमा सम्पादक अरुण बरालसहित बसेर हामीले अनलाइन पत्रकारिताको समग्र स्थितिबारे फराकिलै छलफल गर्‍यौँ।

अनलाइनखबरका प्रधानसम्पादक धर्मराज भुसाल (बायाँ) र सम्पादक अरुण बराल (दायाँ)
अनलाइनखबरका प्रधानसम्पादक धर्मराज भुसाल (बायाँ) र सम्पादक अरुण बराल (दायाँ)

सफलताको बिन्दू
छोटा समाचारहरु छिटो दिएर ‘सबभन्दा तेज’ अपडेट गर्ने उद्देश्य बोकेर अनलाइनकारितामा होमिएको अनलाइनखबरको ‘टर्निङ प्वाइन्ट’ त्यो ट्रेन्डलाई ब्रेक गरेपछि भयो। सादा खबरमात्र नदिई खबरभित्रका खबर अर्थात् समाचारलाई एङ्गलिङ गर्न थालेपछि यसका पाठक बढ्न थाले। ‘मौलिक सामाग्री’मा पाठकको बढी रुचि हुने रहेछ भन्ने थाहा पाएरै उनी त्यसमा अघि बढे। यही नै कन्टेन्टको हिसाबले अनलाइनखबरको टर्निङ प्वाइन्ट थियो, किनकि उसले अरुलाई पछ्याउन हैन, अरुलाई आफ्नो पछि आउन बाध्य बनायो।

दोस्रो टर्निङ प्वाइन्ट गुगल एड गुमेपछि भयो। सुरुमा त उनी हताश भए। तर फैलिँदै दुई दर्जनको हाराहारीमा पुगिसकेको टिमको सम्पूर्ण जिम्मेवारी आफ्नो टाउकोमा आइपरेको देखेपछि उनी कस्सिए। गुगल एडको कमाइले लोकल मार्केटमा अनलाइनहरुको ध्यानै गइरहेको थिएन। उनी पसे यसमा। विज्ञापनदातालाई सम्झाए, नबुझ्नेलाई बुझाए। साइट यसै नम्बर वन छँदै थियो, त्यसलाई ‘सेल’ गरे।

‘विज्ञापनदाताले कुनै पनि मिडियालाई दान दिने हैन, उनीहरुले आफ्नो व्यापार बढाउन नै विज्ञापन दिने हुन्। उनीहरुलाई हामी नभई हुन्न। नयाँ मिडिया भएकोले कुरा बुझ्न मात्र नसकेका हुन्, बुझेपछि कन्भिन्स हुन्छन्’, भुसाल सुनाउँछन्।

आज ठूला भनिएका मिडिया हाउसले नियमित तलब खुवाउन ढिला गरिरहँदा अनलाइनखबरले राम्रो ‘स्यालरी’ तोकिएको समयभित्रै आफ्नो टिमलाई दिएको मात्रै छैन, ठूला मिडिया हाउसका जनशक्तिसमेत आफूकहाँ आकर्षित गर्न सफल भएको छ।
onlinekhabar1
‘रिसर्च आवश्यक’
अहिले मूलतः राष्ट्रिय दैनिक अखबार निकाल्ने ठूला मिडिया हाउसका अनलाइन र अखबार बिना अनलाइनमात्रै चलाउनेहरु गरी दुई धार देखिएको छ। पहिलो धारको नेतृत्व गरेको छ कान्तिपुर र नागरिकले। दोस्रो धारको नेतृत्व अनलाइनखबरले गरेको छ। अनलाइनखबरले देखाएको बाटो पछ्याएर अहिले धेरै यस्ता अनलाइनहरु खुलेका छन्।

पछिल्लो समयमा आफ्नो वर्गको ‘मिसन’सहित अनलाइन चलाउने पनि देखिएको छ जसको नेतृत्व विभिन्न रङ्गका ‘पाटी’हरुले गरेका छन्। केही यस्ता अनलाइनहरु पनि छन् जसलाई इथिक्सको कुनै वास्ता छैन। एक दिन एक पक्षलाई उचालेर, अर्को पक्षलाई खसालेर न्युज लेख्छन्, भोलिपल्ट त्यो न्युज डिलिट गरेर हिजो विरोध गरेकै पक्षलाई राम्रो बनाएर हिजो समर्थन गरेकोको विरोधमा न्युज राख्छन्। आफूसँग सम्बन्धित समाचारै एउटा अनलाइनले यसरी छापेको प्रत्यक्ष देखियो। कुनै दिन यसबारे कुरा राखौँला।

अहिले भने धर्म अनलाइनमा मूलतः रिसर्चको आवश्यकता देख्छन्। त्यो पनि बाहिरी देशबाट कसैले दान दिएको पैसाले हैन।

‘कसैले हामीलाई अब मोबाइलको जमानामा कहाँ लामो लामो न्युज/आर्टिकल राखिरहेको भन्छन्, कसैले होइन त्यही पढ्ने हुन् भन्छन्’, धर्म भन्छन्, ‘अनलाइनको सामाग्रीलाई कस्तो हिसाबले दिने भन्ने चुनौति थपिएको छ।’

अनलाइनखबरका सम्पादक अरुण बराल आफ्नै कार्यालयमा।
अनलाइनखबरका सम्पादक अरुण बराल आफ्नै कार्यालयमा।

अब ‘ब्रेन’ आवश्यक
नेपालको अनलाइन पत्रकारितालाई डोर्‍याउन अब ‘ब्रेन’ आवश्यक हुने उनको कथन छ। “अनलाइनमा छिटोछिटो नयाँ प्रविधि भित्रिरहन्छ, त्यही अनुसार आफूलाई अपडेट गर्दै सामाग्री छनौट र प्रस्तुतिमा नयाँपन दिएर लैजान सक्ने ‘ब्रेन’ अबको आवश्यकता हो, उनी भन्छन्, “जहाँसम्म मार्केटको कुरा छ, त्यसले सपोर्ट गर्न थालिसकेको छ।”

बिग हाउसका अनलाइनभन्दा पनि ‘मिडियम’ र ‘स्टार्टअप’ हरुले आउँदा वर्षहरुमा अनलाइनमा केही गर्न सक्षम हुने उनको विश्वास छ। ‘जबसम्म बिग हाउसहरुले अनलाइनलाई मुख्य प्रडक्ट मान्दैनन्, तबसम्म उनीहरुको अनलाइनलाई अरुले चुनौति दिने क्रम रोकिने छैन’, धर्म भन्छन्।

हुन पनि बिग हाउसले अनलाइनलाई महत्व दिएको देखिँदैन। पाँच/छ जनाको जनशक्तिले अनलाइन चल्छ भन्ने ठान्छन्, जबकि अधिकांश जनशक्ति पत्रिकाको कन्टेन्ट हाल्दैमा ठीक्क हुन्छन्। उनीहरुको सिर्जनात्मकता जति ‘Shovalware’ मा नष्ट भइरहेको हुन्छ। बिग हाउसका अनलाइनमा नेतृत्व पनि कतै कार्टुनिस्टको कतै जिल्ला कोअर्डिनेटरको छ, अनलाइन बुझेकाहरु लाइनमा धेरै पछाडि राखिएका छन्। गफ भने एउटै सामाग्री २ लाख, ४ लाखले पढ्यो भनेर हाँकिरहेका हुन्छन्। उनीहरुलाई यतिसम्म ज्ञान छैन कि अनलाइन पत्रकारितामा सामान्य भिजेको मान्छेले समेत यो कति उडन्ते गफ हो भनेर बुझ्न दिमाग खियाइरहनु पर्दैन।

जनशक्तिको ठूलो खडेरी देख्छन् धर्म, ‘आवश्यकै परेर मान्छे खोज्न थाल्यौँ भने हामीलाई चाहिने जनशक्ति पाउनै गाह्रो छ।’

नेपालमा यत्रा टेलिभिजन छन्, यति धेरै रेडियो छन्। तर खोजी हेर्ने हो भने दक्ष जनशक्ति पाउनै गाह्रो भएको उनको अनुभव छ। न्युज भनेकै नेताको वरपर घुम्ने विषयवस्तु ठान्ने परम्पराबाट पनि उनी दिक्क छन्।

सम्पादक अरुण बराल पनि भन्छन्, सम्पादक पनि मेसिन हो र ठ्याक्क ठ्याक्क यो विषय लेख भनेर निर्देशन दिनलाई। उसले पनि अध्ययन गर्नुपर्‍यो, विषयवस्तु बुझ्नुपर्‍यो। रिपोर्टरहरुमा आफै खोज्ने क्षमता पनि हुनुपर्‍यो। समाचार सुँघ्ने शक्ति nose for news भन्ने हुन्छ नि।

धर्म फेरि दोहोर्‍याउँछन्- अब एक दशकअघि जस्तो मार्केट छैन भनेर दोष दिन पाइन्न। मार्केट छ, तर आवश्यक छ नेतृत्व दिने ‘ब्रेन’को- ‘म्यानेजमेन्ट’ र ‘कन्टेन्ट’ दुवैमा।

नेपालको नम्बर वन अनलाइन साइटको सम्पूर्ण व्यवस्थापन, मार्केटिङ र कन्टेन्टमा समेत संस्थापक/प्रधान सम्पादकको हैसियतले नेतृत्व गरिरहेका धर्मराज भुसालको ‘ब्रेन’ लाई चुनौति दिने अरु कोही निस्किएला ? हेर्न बाँकी छ।

13 thoughts on “अनलाइनमा अब ‘ब्रेन’ आवश्यक छ, ‘मार्केट’ले ‘सपोर्ट’ गर्न थालिसक्यो : धर्मराज भुसाल”

  1. Santosh bhattarai says:
    May 4, 2014 at 9:15 am

    अनलाइनखवरको राम्रो कुरा भने यिनीहरु अन्य पत्रिका झै कुनै एक पक्षलाई सखाप पार्छु र कसैलाई हिरो बनाउछु भनेर लागेको देखिन्न । कतैबाट परिचालित पत्रकारिता हैन भन्ने परेकै कारण हामी जस्ता पाठकले रुचाएको हो । कहिले काही बिषयवस्तु एकदमै एन्टी करेन्ट आउछन । ठूला मिडिायलाई च्यालेन् जगर्ने दुस्साहससंगै आफ्नो स्ट्रैन्थ बढायो भने मात्र अनलाइनखबरले आगामी दशक पाठकको मनमा रा जगर्न सक्छ । अझै खोजमुलक सामाग्रीको अपेक्षा गर्दछु ।

    Reply
  2. Rabin says:
    May 3, 2014 at 9:20 am

    onlinekhabar is no doubt one of the popular website in Nepal. It is ranked #4 in Alexa ranking in Nepal and rank #1 among Nepali websites. I still remember the marketing strategies of Onlinekhabar earlier days. They used to publish cheap entertainment news in their website to attract the visitors. Infact the strategy worked in favor of them. But the things are changed now. They are doing their best to provide quality of information and brought the concept of research media in Nepal. Good luck to them. 🙂

    Reply
  3. bishnu Chapa says:
    May 2, 2014 at 8:38 am

    म पनी सम्बभ भयसम्म अनलाइन खबर दैनिक र छिन छिन मा हेर्ने कोशिश गर्छु | केहि अपबाद खासगरी मनोरंजन पोर्टल बाहेक यसको समाचार पोर्टल राम्रो छ यसको लागि धर्म जी र टिम बधाईका पात्र हुनु हुन्छ | आशा छ यसले अझ राम्रो गरोस, सफलताको कामना !
    बिष्णु चापागाई

    Reply
  4. बिजय तामाङ says:
    May 2, 2014 at 8:17 am

    अनलाइन खबरले विगत ४/५ बर्षमा अनलाइन पत्रकारितामा उल्लेखनिय प्रगति हासिल गरेको छ । यसको गुणात्मक सुधारतर्फ धर्मजीले बिशेष ध्यान पुरयाउनु भएको छ । मेरो बिचारमा नेपालको अनलाइन पत्रकारितामा धर्म राज भुसाल एउटा कुशल व्यवस्थापक स्थापित हुनुभएको छ । अाम पाठकले कस्तो कन्टेन्ट र सामाग्री रूचाउँछन भन्ने बिषयको उहाँलार्इ राम्रो जानकारी छ र साथै उहाँले अरूले दिएको उचित सुझावहरूलार्इ पनि अवश्यकताअनुसार प्रयोग गर्दै जानुभएकोले पनि अनलाइन खबर अज यहाँ अइपुगेको जस्तो लाग्छ । बाँकी योग्य र सक्षम टीम छनोट र त्यही टीमको लगनशीलता नै अनलाइन खबरको सफलता निर्भर छ । अनलाइन खबरलार्इ सफलताको शूभकामना ।

    Reply
  5. Bikas says:
    May 2, 2014 at 8:07 am

    गल्ति समाचार लेखेको हुञ्छ onlinekhabar.com मा अनि politely सच्चाएर कमेन्ट राख्यो कमेन्ट नै publish गर्दैन, कहिले कहिँ समाचार सच्चायौछ कहिले कहिँ तेही पनि गर्दैन | most of the news copy गर्छ तर source खुलौदैन | अरु भन्दा अलिकति थोरै समचार चोर हो

    Reply
  6. bijay says:
    May 2, 2014 at 4:19 am

    नेपाली सामाजिक र राजनीतिक समाचारको कुरा गर्ने हो भने onlinekhabar राम्रै लाग्छ/

    तर यो website मा हरेक दिन कुनै न कुनै यौटा नया टाउको न पुछरको समाचार हुन्छ, जस्तो कि फलानो फलानो मोडेलको beach मा मस्ती, फलानो फलानोलाइ आफ्नो लुगाले छोप्न नसक्दा,,अनि एस्तो देखेपछि दिमाग रनक्क हुन्छ, के काम नपाएको समाचार लेखेको होला भनेर/ अनि कहिले कहिले चाही कुनै अंतर्बर्तामा कसको अन्तरबार्ता लिएको हो भनेर लेखिएको नै हुन्न र सबै पढी सकेपछि यो कसको अन्तरबार्ता होला भनेर सोच्दै बस्नु पर्छ /

    नत्र ठिकै लाग्छ यो website/

    Reply
  7. विकु सिंह says:
    May 2, 2014 at 3:06 am

    मैले पनि onlinekhabar.com नहेरेको सायद दिन छैन होला | अब तपाईहरुले यसको contents लाई अजै राम्रो बनाउनु होला | आफ्नो मार्केट विस्तार गर्न quantity भन्दा quality लाई अजै तिखार्नुस | nepalnews.com जस्तै अब बिस्तारै video contents हरु पनि थपिदै जानु भयो भने आफ्नो मार्केट अजै राम्रो विस्तार हुन्छ र हामी जस्तै दर्सकलाई पनि थप हेर्न मजा हुन्छ |
    अजै अरु सफलताको शुभकामना छ |

    Reply
  8. बशन्त राज says:
    May 2, 2014 at 12:37 am

    अन्य अनलाईन समाचार पत्रीका, मेडिया ग्रुप, डिजीटल पत्रीकाहरुले चलाउन नसकेर दुताबासमा बिदेसी दाता आदि संङ्ग पत्रीका चलाउने भिक मागीरहदा यो अनलाईन खबर चाहि राम्रो संग बिना बिदेसी अनुदान चलेको छ पो भन्छ/ हैन हो कुरा नै बुज्न सकीएन हो ?

    Reply
  9. शशङ लामा says:
    May 1, 2014 at 10:04 pm

    दिनमा एकचोटि ओनलाइन खबर हेर्ने गर्छु| अहिलेको सबभन्दा बेस्ट ओनलाइन समाचार पत्र यहि होला | सेता र राता ओनलाइनहरुमा केवल आरोप र प्रत्यारोप मात्र हुन्छा बिधुतिय संचारको विकासले गर्दा अहिले पत्रकारहरुले ठुलो चुनौतिको सामना गर्नु परिरहेको छ| छिटो छरितो र मिठो शैलीमा समाचार पस्किन जानेन भने पछि परिहालिन्छ| कहिलेकाहीं त फेस्सबुकेहरु पो समाचार दिन पहिला हुन्छन|

    Reply
  10. बासु says:
    May 1, 2014 at 7:21 pm

    मैले यहाँ अमेरिकाबाट यो अनलाइनखवर नहेरेको दिन हुँदैन | हुन त अन्य अनलाइनपनि हेरिन्छ तर किन हो कुन्नी यो चाहिं अलि नन बायस जस्तो लाग्छ | अझ भन्नु पर्दा अर्का दुइ ठुला नै कता हो कता बायस लाग्छन |
    उमेशजीले यसको रचना गर्भको बारेमा जानकारी दिनु भएर धन्यवादको पात्र हुनु भएको छ | संधै पढिने श्रोतको रचना गर्भ थाहा पाउनु खुशीकै कुरा हो नि !
    अर्को कुरा, च्याउ झै उम्रिएका अन्य अनलाइनहरुले हामी यति घाटामा गयौं, उति नोक्सान छ भएर कराउनेहरुलाईपनि यो ब्लग शिक्षाप्रद हुनसक्छ |
    उमेशजीलाई धन्यवाद र अनलाइन खवर डटकमका टिमलाई सफलताको शुभकामना |

    बासु

    Reply
  11. नविन says:
    May 1, 2014 at 7:04 pm

    शुन्य लगानीबाट शुरु गरेर करोडौका लगानीका स‌न्चालित अनलाईन मिडियालाई पछार्नु अनलाईनखबरको सानोतिनो सफलता होईन । भुसाल अनलाईनका जाईन्ट हुन् यसमा दुईमत छैन तर यही अवस्थामा व्यवसायिक धारमा अनलाईन टिकाईराख्नु उनको चुनौती हो । राजनीतिक धोती र डलरवादी धारबाट बचाईराख्न सकुन् शुभकामना ।

    Reply
  12. chetan kayastha says:
    May 1, 2014 at 5:40 pm

    onlinekhabar.com साईट राम्रो छ, Alexa मा पनि यसको Rank सबभन्दा माथि नै छ
    जति पनि Ad हरु छन्, तेस्लाई त्यति मै सिमित राखनु हुन अनुरोध छ.
    Ad ले पैसा त आऊँला तर पाठक गुम्न सक्छ

    Reply
  13. Madan Mani says:
    May 1, 2014 at 3:46 pm

    ल राम्रो रिपोर्ट छ है उमेशको ! धर्मको अनलाइनकारिता राम्रो छ। ब्रेन त नेपाली पत्रकारीतामा धेरै कम प्रयोग हुँदै आएको हो। अब चैं क्रेनले काम गर्दैन ब्रेन लगाउन पर्छ नै। कन्टेन्टका लागी लगानी नगर्ने चलनलाई बिदा दिनैपर्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme