Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा नेपाली अड्डा- गैरजिम्मेवारीको पराकाष्ठा

Posted on May 3, 2014 by mysansar

संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधिको न्युयोर्कस्थित अफिसबाट हालसम्म नेपालको कन्सुल सेवा नेपालीले पाइआएका थिए| एक्कासी आएर त्यो कन्सुल सेवा बन्द हुँदा राहदानी लगायत अन्य कानुनी कागजात बनाउने कामको लागि थुप्रै नेपालीले कल्पनै नगरेको समस्या भोगिरहेका छन्|

अमेरिकी स्टेट डिपार्टमेण्टको हवाला दिंदै त्यसो गर्नु परेको हो भनेर नेपाली मिसनका अधिकारी सर्वसाधारणलाई जानकारी गराउँछन्| स्टेट डिपार्टमेण्टले आजै र अहिल्यै बन्द गर भनेर अल्टिमेटम त दिएन होला| बन्दै गर्नुपर्ने अवस्था आएपनि वैकल्पिक ब्यवस्था गर्नुपर्दैन?

नेपाली दुतावासको नाममा न्युयोर्कस्थित क्विन्समा एउटा घर भाडा लिएर सेवा सन्चालन गर्दा भैगाको थियो| नभा न्युयोर्कमै रहेको शेर्पा गोम्बाको बेश्मेण्ट १/२ महिनालाई मागेपनि दिन्थ्यो क्यार ! महंगो म्यानहाटनमा बस्नु पर्ने कामै छैन| हाम्रो जस्तै गरीब ल्याटिन अमेरिकी देशहरुको कन्सुलहरु न्युयोर्कको क्विन्समै छन| हाम्लाई किन बस्नुपर्‍यो म्यानहाटनमा? ल न्युयोर्कमा त बन्द भए पनि तत्कालको लागि वासिङटन छंदैछ नि भनेर चित बुझाएका थिए| तर वासिङटनस्थित मूल घर जाँदा न्युयोर्कस्थित सेवा बन्द भएको हाम्लाई थाहा छैन, हाम्लाई परराष्ट्रले केही भनेर ल्याएको छैनन् पो भनेर ल्याउँछन् रे ! अनि कन्सिरी तात्दैन ? के नेपाली अड्डाहरुले जनतालाई अझै रैती भन्ठानेका छन्? प्रजामा गनेका छन्? यस्तो खाले हदैको गैर जिम्मेदार कार्य को,कसबाट र के नियतले हुनगयो? त्यो खुलस्त गरी दोषीलाई सख्त कारबाही होस्| यो कार्य गैर जिम्मेवारीको पराकाष्ठा हो!

*

भरपर्दो सूत्रका अनुसार अमेरिकी स्टेट डिपार्टमेण्टले कन्सुलरको काम तु बन्द गर भनेर कुनै उर्दी जारी गरेको नभै, केवल राष्ट्रसंघका लागि खटिएका कर्मचारीले कन्सुलरको काम गर्नु कानुनसम्मत् नभएको भनेर पत्राचार गरेको सुन्नमा आएको छ्|

न्युयोर्कस्थित राष्ट्रसंघीय अफिसमा काम गरिरहेका कर्मचारीले हालसम्म गरी आएको कन्सुलरको कामलाई औपचारिकता दिनलाई नेपालको परराष्ट्र मन्त्रालयले कुनै ब्यक्ति बिशेषलाई कन्सुलरको कार्य गर्न नियुक्ती दिइ सो को बोधार्थ स्टेट डिपार्टमेण्टलाइ दिए काम फत्ते हुने जानकार सूत्रहरु बताउँछन| यस्तो सजिलोसित हल हुने कामलाई सुनियोजित तरिकाले ब्युरोक्र्याटिक झमेलामा परिणत गरी केही ब्यक्तिहरु आफ्नो दुनो सोझ्याइ रहेका छन्|

*

न्युयोर्कस्थित राष्ट्रसंघीय अफिसको लागि भनेर म्यानहटनको बिभिन्न ठाउंहरुमा नेपाल सरकारको स्वामित्वमा रहेको जम्मा ४ वटा एपार्टमेण्ट छन क्यार| अहिले अफिस रहेको पनि सानो तीन कोठे अपार्टमेण्टमा छ| अरु तीन अपार्टमेण्टहरुमा कर्मचारीहरु बस्छन| एउटा अपार्टमेण्टको सरदर घटिमा नेपाली रुपिया १५ करोड पर्न जान्छ| त्यो एउटा अपार्टमेण्ट बिक्री गर्‍यो भने म्यानहटनबाट आधा घण्टाको बाटोमा क्विन्स भन्ने ठाउंमा त्यो पैसाले १०,१२ कोठे घर नै किन्न सकिन्छ| ९५ % प्रतिशत नेपालीहरु पनि त्यतै बस्छन र सब्जी चामल पनि त्यतै सस्तो पाउँछ|

राष्ट्रसंघको अफिस अपार्टमेण्ट एउटा म्यानहटनमा राखेर सबै कर्मचारी क्विन्समै बस्दा पनि हुन्छ है ! संधै अनुदान खाइ आएका हामीले कसको अगाडि पो शेखी झार्नु छ र ? न्युयोर्क राज्यमा मात्र नेपालीहरु ५० ह्जारको संख्यामा भएको अनुमान गरिन्छ| त्यो राष्ट्रसंघको कार्यालयले अब थेग्दा पनि थेग्दैन।

आफ्नै देशमा छंदा कतिपय सुबिधाबाट बन्चित हुनुपरेको थियो,बिदेशमा आएपछि पनि आफ्नै देशको नियोगले त्यस्तै हेलच्क्र्याइँ गरिरहेको छ, न्युयोर्क पुगेर पनि यो नेपालको कर्मचारीको नियत फेरिएन भनेर ज्याकशन हाइटको डबलीमा न्युयोर्केलीहरु रोष पोख्दैछन| कतिले त यसो पनि भने : बाह्र बर्ष् कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्यो,ढुङ्ग्रै बाङ्गो !!!!!!!!

13 thoughts on “अमेरिकामा नेपाली अड्डा- गैरजिम्मेवारीको पराकाष्ठा”

  1. Shankar says:
    May 6, 2014 at 10:43 pm

    नेपाल सरकार कहा छ ? याहा त् कांग्रेस , एमालेको सरकार छ |
    पार्टी बाहिरका भाड मा जावोस उनीहरुको लागि |

    सरकार बन्छ , पहिले अनि आफ्नो मान्छे क हा कहा राख्ने , कमाउने लुट्ने ठाउ कहा कहा छ |तेस्को खोजि हुन्छ | तेस्कोलागी आफु आफु बीच दाइ पेच चल्छ |
    जनाता धेरै पर को कुरा हो | हा उनीहरु बिदेस किन गए ? जनाताको भलाइको लागि |
    स्वदेश मा डाक्टर छदा छदै विदेश उपचार गर्न किन गए ?
    किनभने आफु मोरे देश र जनता ले ठुलो नेता गुमाउछ |फेरी पनि जनताको भलाइको लागि |
    देश मा लुटेको पैसा बिदेसी ब्यांक मा किन ?
    देस मा राखे दैबी प्रकोप , लुटिने आदि डर हुन्छ , बिदेस मा राखे उच्ह प्रबिधि आदि को कारण सुरक्षित हुन्छ , फेरी पनि जन भलाइ |

    Reply
  2. रमण says:
    May 4, 2014 at 7:46 pm

    शशांकजीलाई धन्यवाद|
    बासुजीले राख्नु भएको प्रश्नहरु प्रति ध्यान दिईनु आवश्यक छ|
    तर नेपालले पर्यटन र बिदेशमा श्रम मेहनत बेच्दै कमाएको रेमिट्यान्स र बिदेशी विनिमयलाई बुद्दिमता पुर्बक खर्च गरिनु पर्छ|
    वास्तवमा यति धेरै नियोग र राजदुतावास खोलिनु पर्ने कुनै आवश्यकता छैन| आफ्नु मान्छेलाई जागिर खुवाउनु मात्र हो| हाम्रो शासन व्यवस्था र बिशेष रुपमा परराष्ट्र मन्त्रालय यति निकमा छ कसले कस्तो काम गरे भन्ने शुरुमा कुनै बेसलाईन र लक्ष्य राखिदैन र त्यसको सही रुपमा मुल्यांकन गरिने व्यवस्था पनि छैन| कति राजदुतले वा नियोगका कर्मचारीले मेडियालाई हात लिएर आफ्नो डम्फु आफै बजाउदै प्रचार गरेका पनि छन्|
    जँहा नेपाली काम्दारीहरु छन् वा वासिन्दाहरु छन् त्यंहा श्रम सहचारी राखेर र भिसा वा कन्सुलर कार्य सहज बनाए पुग्ने हो|
    ल चुनौती छ कुन देशमा हाम्रा राजदुतले तलब भत्ता र खर्चको अनुपातमा साबिकको काम बाहेक कुन त्यस्ता काम गरे जसबाट देशले र देशवासीले फायदा पाए, त्यो देखाउनुस|
    राजदुतावास वा नियोगको एउटा काम विदेशीलाई भिसा दिने र नेपाली लाई कन्सुलर सेवा प्रदान गर्ने हो|
    एयरपोर्टमा भिसा उपलब्ध भैहाल्छ, पर्यटक र छोटो समय नेपाल भ्रमण गर्ने बिदेशीहरुको लागि एयापोर्टको हालको अव्यवस्थित भिसा दिने कामलाई व्यवस्थित र सुचारु अनि सहज रुपले संचालन गरे धेरैले एयरपोर्टमै भिसा लिने थिए|
    कन्सुलर र श्रम सम्बन्धी हेर्ने कर्मचारी राखे भैगो|
    देश विदेश भ्रमण गरेका हाम्रा परराष्ट्रका आफुलाई देशका परराष्ट्र नीतिका कर्णधार हाकिमहरुले कुनै दिन सेवाग्राहीको फीदब्याक लिने व्यवस्था पनि गर्नेछन|
    मुख्य सचिव लीलामणि सरले पनि यो ब्लग हेर्नु हुनेछ|

    Reply
  3. suzee says:
    May 4, 2014 at 5:42 pm

    कुकुर को पुच्छर बाह्र बर्ष ढुङ्ग्रो मा राखेपनि बांगो को बाङ्गै भन्या येही हो !!!
    नेपाली प्रशाशन हुम्लाको कुना तिर होस् कि NY मा काम कुरो भने उस्तै रहेछ !!!!!!!

    लेख बाट बास्तबिकता प्रकासित गरिदिएको मा धन्यवाद !!!!!!!!!!!!!!

    Reply
    1. Suman Bjra. says:
      May 7, 2014 at 10:31 am

      अन्न खाएको भएपो नेताहरुको र कर्मचारी को राम्रो काम तथा विचार आउछ / लुटने चन्दा धन्दा गर्ने भ्रत्सचार गर्ने बाहेक अरु केही गर्न नसक्ने /

      Reply
  4. RB Thapa says:
    May 4, 2014 at 3:44 pm

    ५० हजार नेपाली बस्ने क्विन्स भन्ने ठाउँमा एन आर एन भन्ने संस्था त होला नि | तेस्को के काम त ? जनही १ डलर उठाएर पनि एउटा सानो डेलिगेसन नेपाल पठाउन सकिन्छ; त्यसले पर-राष्ट्र मंत्रीसित र प्रधानमंत्री सित सोझै कुरा राख्न सक्छ | नेपालका ठुला मिडियामा पनि पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्नु पर्छ, अनि पो सरकारको कानमा पुग्छ ? त्यहा बाट कराएर मात्र हुन्छ जस्तो लाग्दैन | यो काम एन आर एनले गर्न सक्दैन भने त्यसको मेम्बर हुनु बेकार हो | म्यानहटनमा गोरेनी धेरै भएर क्वीन्स तिर आउनु नमानेको हो कि ती कर्मचारीहरु ?

    Reply
  5. बशन्त राज says:
    May 4, 2014 at 3:43 pm

    नेपाली दुताबास संसारका जहाँ काही हुन् तिनले एक नेपाली उखान चरितार्थ पार्छन / “बादरको पुछ्छर न लौरो न हतियार /”
    यो नेपाली दुताबास भन्ने कुरा पनि त्यो उखान जस्तै नेपालीलाई कहिले पनि काम लागेनन /

    Reply
  6. sheela says:
    May 4, 2014 at 9:55 am

    नेपालका कर्मचारीहरुको ब्यबहारले गर्दा हामी सर्ब साधारण जनता ले दुख पाउने कुरा त सामान्य भै सक्यो| अब त त्यस माथि पनि पराइ भूमिमा बसेर आफ्नै देशका कर्मचारी बाट सहयोग पाएन भन्नु पर्दाको पिडा र सरम त्यसलाई मात्र थाहा हुन्छा जसले भोजेको हुन्छा| अमेरिकाको मानहतनमा बसेर रमाइलो हेर्ने मात्र कम नगरौना|त्यहाको नीति नियम कस्तो छ र हामीले आफुलाई कुन रुपमा प्रस्तुत गर्नु पर्छ भन्ने कुरा पनि बुज्नु पर्छ होला कर्मचारी महासय हरुले | कम्तिमा अमेरिकालाई पनि नेपाली कारण नगरौना|

    Reply
  7. बासु says:
    May 4, 2014 at 8:44 am

    नेपाल सरकारको लाचारी र निकम्मापनको ज्वलन्त उदाहरण हो यो | आफ्ना जनताको सुविधाकोलागी दिनदिनै संसारभर नियोग खोल्दै जानु पर्नेमा उल्टो बन्द गर्दै जानु सार्है लाज मर्दो र दुखको कुरा हो |
    न्युयोर्क नियोग बन्द हुँदा पक्कैपनि त्यसको चाप वाशिंगटन स्थित नियोगमा पर्नेछ | अर्थात् काममा ढिलाई हुने हुन्छ, अर्थात् दुख पाउने नेपाली पासपोर्टधारी नेपालीले नै हो |
    तर न्यु योर्कका बग्रेल्ती खुलेका र भएका सँस्थाका पदाधिकारीहरु चुप लाग्नुको के रहस्य हो? एक दुइ पत्रिका बाहेक र एक सँस्था बाहेक पत्रकार भनाउंदाका समूहले केहि नबोली बस्नुको कारण के हो? के सरकारलाइ घच्घच्याउनु पर्दैन?

    Reply
  8. ganesh babu gyawali says:
    May 4, 2014 at 2:59 am

    पराकाष्ठा नै चै भन्न हिचकिचाउछु म चै I अमेरिकी दुतावास त छ कमसेकम I
    कतारी दुतावास को हेरेर त के फेद के टुप्पो I

    Reply
  9. prabhat says:
    May 4, 2014 at 12:56 am

    मेरो साथीको पासपोर्ट नबिकरण गर्न न्यु योर्क पठाएको १४ महिना भैसक्यो अझै आएको छैन. एस्तो पनि हुन्छ र भने?

    Reply
    1. नेपाल बहादुर शिंह says:
      May 5, 2014 at 8:25 am

      हुन्छ नि किन नहुनु,पुजारीलाई भेटि कम भा को होला नि,प्रत्येक टपरीमा हाल्नु पर्ने भेटि कुन चाहिं टपरीमा भुल पर्यो !

      Reply
  10. eklavya says:
    May 3, 2014 at 8:29 pm

    जनताको सेवा गरेवापत जनताले तिरेको करबाट आफ्नो जीवनयापन भएको र सकेसम्मन सेवामुलक हुनुपर्छ भन्ने सोचाई हुनुपर्ने कर्मचारीको व्यवहार हेर्ने हो भने कहाँको आफु मन्त्रि हुनुपर्ने मान्छेलाइ जबर्जस्ति यो काम जिम्मा दिएर अब त म गर्दैगर्दिन केहि नपाई कहाँ छोड्छु दिएन भने मेरो बाउको के जान्छ जस्ता मानसिकताले जरो गाडेको छ …वास्तवमा हाम्रो देश बिग्रिनुमा १०%नेताको र बाँकी सबै यिनै घुश्याहाको चलखेल हुने गर्दछ तर नाम अगुवा र हगुवा नेताको आउने गर्छ …हाम्रा कर्मचारीहरु संसारको जुनसुकै कुनामा लगेनि आफ्नो दुनो सोझियेन भने येस्तै हर्कत गरिनेरहनेछ …आखिर देशको गन्ध त आउनैपर्यो नि ..

    Reply
  11. kedar says:
    May 3, 2014 at 7:32 pm

    ढुङ्ग्रै बाङ्गो कर्मचारी तपाईंको न्युयोर्क मात्रै हैन संसार भारी फैलिएर दिनानु दिन नाम र दाम कमाइ राखेका छन्

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme