Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः शिकार

Posted on April 12, 2014April 12, 2014 by mysansar

-राजेन्द्र ज्ञवाली-

saturday-fiction रोमाञ्च र उत्तेजनाले मेरो सम्पूर्ण शरीर काँपिरहेको थियो। मैले भर्खरै रुखबाट खसेको चरालाई बायाँ हातले उठाए र हेरेँ, पोथी भंगेरा थियो त्यो। मेरो जीवनको पहिलो शिकार!
पहिलो शिकारको रगत गुलेलीमा दल्ने हो भने निसाना सधै अचुक रहने साथीभाइले भनेको सुनेको थिएँ। तर त्यो चराको शरिरबाट रगत बगेको थिएन।

त्यसो त गुलेली लिएर शिकार गर्न घर वरिपरि हिँड्न थालेको दुई महिना जति मात्र भएको थियो। तर मलाई मेरो निसानामा विश्वास थियो। मलाई मात्र किन? मेरो परिवारका सबै जनालाई मेरो निसानामा विश्वास थियो।

लगभग एक वर्ष जति अघि म मावला अर्घखाँची गएकै दिन मामाघरको आँगनमा भएको आँपको रुखमा मैले एउटा ढुंगा हिर्काएर लगभग ५–७ वटा आँप झारेको देखेर सबै छक्क परेका थिए। माइजुले त भन्नु पनि भएको थियो–हेर कति सोझा हात हुन् हाम्रा भाञ्जाका! त्यो सुनेर म गर्वले फुलेको थिएँ।

गर्व त अहिले पनि भइरहेको थियो मलाई। मेरो एकै प्रहारमा भंगेरा रुखबाट खसेको थियो। म भंगेरा बोकेर घरतिर लागेँ। म सबैभन्दा पहिला यो खबर मेरो हजुरवुवालाई सुनाउन चाहन्थेँ।

आखिरमा वहाँ नै त हो घरमा जसले मेरो हरेक कुरामा समर्थन जनाउनु हुन्छ। अनि मेरो हरेक कृयाकलाप हेरेर आनन्द मान्नुहुन्छ। मबाट केही गल्ती भइ हाल्यो भने पनि घरमा कसैले मलाई केही भन्न पाउँदैन। हजुरबुवाले भन्नु हुन्छ–हुँदैन। केटाकेटी भनेका भगवानका रुप हुन्। यिनीहरूलाई केही भन्नु हुँदैन।

म कक्षा चारमा आफ्नो कक्षाभरमा तेस्रो स्थानमा आएको खबरले हजुर बुवाको आँखाबाट खुसीका आँसु झरेका थिए। मेरो हरेक स–सानो सफलतामा मेरो हजुरवुवा गर्व गर्नु हुन्थ्यो।

अनि आज त मेरो पहिलो शिकार देखेर पक्कै पनि हजुरबुबाले मेरो प्रशंसा गर्नु हुनेछ। मेरो सोझो हातको प्रशंसा हजुर बुबाले गर्नु हुनेछ। मैले मनमनै सोचेँ।

हुन पनि कस्तो सोझो मेरो हात! दुई महिनामै म आफ्नो निसानालाई लिएर साथीभाइबीच प्रख्यात भइसकेको थिए। वाह यार! तिम्रो निसाना त गजब छ है। तिम्रो जस्तो निसाना भएको मान्छे त पूरा नेपालगंजमा कोही छैन होला! मेरा साथी भाइ भन्ने गर्थे।

सँगै गुलेली लिएर शिकार गर्न पनि हामी हिँडेका थियौँ। तर जति सोझो हात भए पनि केही शिकार गर्न भने सफल भएका थिएनौँ। हो आफ्नो सोझो हातको प्रमाण दिन अलि पर स–साना सिसी राखेर मैले धेरै पटक फुटालेको थिएँ।

नेपालगंजस्थित सुर्खेत रोडमा बस्थ्यौँ हामी त्यतिबेला। घर पछाडि वेलासपुर भन्ने गाउँ थियो। त्यहाँ आँपको बगैचा थियो। दिनभरी हामी केटाकेटीको काम त्यही बगैँचामा घुम्नु खेल्नु हुन्थ्यो।

म अब दगुर्दै घर आइसकेको थिएँ। बरण्डामा हेरे कोही पनि थिएन। घरभित्र गएर अर्को ढोकाबाट पश्चिम पट्टी बाहिर निस्केँ। त्यहाँ हजुरबुवा, हजुर आमा बसेर कुरा गरिरहनु भएको थियो।

‘हजुर बुवा हेर्नुस त!’ म निकै उत्साह एवं रोमाञ्चमा कराउदै उहाँको नजिक गए। पोथी भंगेरा समातेको बायाँ हातलाई अगाडि सार्दै मैले उहाँलाई आफ्नो उपलब्धि देखाउने प्रयास गरेको थिएँ।

एक्कासी मेरो हजुरबुवा कराउन थाल्नु भयो– ‘राम। राम। राम। के गरिस बाबु तैँले यस्तो। हरे शिव शिव। हेर। के गरेको यस्तो। यस्तो अपराध पनि गर्ने हो। हेर यो निर्दोष प्राणीलाई मारेर ल्याए छ!’

‘यो अनाथले तेरो के बिगारेको थियो र मारिस हँ अपराधी?’ हजुर बुवाको यो रुप मेरा लागि अप्रत्याशित थियो। सबै शान्त र नरम स्वभावको हजुरबुवालाई मैले यस्तो क्रोधमा कहिल्यै देखेको थिइनँ।

‘हेर अझ पोथी रहेछ। बिचरा आफ्नो चल्लाहरूका लागि आहारा खोज्न हिडेकी थिइ होला। राम राम राम। के गरिस बाबु तैले यस्तो।’

म एक्कासी आकासबाट खसेको जस्तो भए। कहाँ हजुरबुबाबाट स्यावाशीको आश गरेको म उहाँको यो रौद्र रुप देखेर म आश्चार्यचकित हुनुकासाथै डराएको पनि थिए। मैले हेरे उहाँको आखाँबाट आँसु वगी रहेको थियो।

एक्कासी मलाई आफ्नो अपराधको बोध भयो। यो के गरे मैले? यस्तो काम गरेर अझ हजुरबुवाको स्याबाशी पाउने आश पनि मैले कसरी गरे?

मेरो हजुरबुवा निकै धार्मीक प्रवृतिको हुनुहुन्थ्यो। हरेक दिन विहान लगभग ३ घण्टा र बेलुका लगभग साढे एक घण्टा पुजा गरेर मात्र उहाँ खान वस्नु हुन्थ्यो। हामी केटाकेटीलाई सधै अहिंशाको पाठ पढाउनु हुन्थ्यो। अझ सबै प्राणीमा इश्वरको वास छ भन्नु हुन्थ्यो। म विहान उठ्नासाथ हजुरबुवाको काखमा गएर वस्थे। उहाँले मलाई भगवानका कथा सुनाउनु हुन्थ्यो। रामायणको कथा त मलाई लगभग पुरा आउथ्यो। उहाँले सबै प्राणीलाई माया गर्नु पर्छ भनेर सिकाउनु हुन्थ्यो। अझ आफूले खाना खानासाथ एक मुठी भात सधै कुकुरका लागि राखि दिनुहुन्थ्यो। अनी विहान सवेरै केही चामलका गेडा चराहरूका लागि राख्नु हुन्थ्यो। माटाका स–साना कचौरा जस्ता भाँडामा पानी पानी राखेर घर वाहिर राख्नु हुन्थ्यो। चराहरूले पिउन पाउन भनेर।

अनि मैले चरा मारेकोमा उहाँ खुसी हुनुहोला भनेर मैले कसरी सोँच्न पुगेछु । हे ईश्वर मबाट कस्तो ठूलो पाप भयो?

त्यो पोथी भंगेराका चल्लाहरू अहिले पनि आफ्नी आमालाई कुरेर वसेका होलान्। यो सम्झेर मलाई भित्रैबाट औडाहा भएर आयो। म आफै मेरो आमालाई एकछिन पनि छोड्न सक्दिन थिए । एक पटक खेलेर आउदा आमालाई देखिन। अनी त्यही बेला फुपुको छोरीले ‘तिम्रो आमा त गाउँ जानु भयो आज अब एक सातापछि मात्र आउनु हुन्छ’ भनेपछि म कुनामा गएर धेरै बेर रोएको थिए। एक सातासम्म आमा विना कसरी वसौँला भनेर म कहालिएको थिए। केही वेरपछि थाहा भयो फुुपुको छोरीले ठट्टा गर्नु भएको रहेछ। आमा त्यही कतै हुनुहुन्थ्यो। म आमालाई देख्नासाथ दौडेर उहाँसँग टासिन पुगेको थिए। आमालाई देखेर पनि मेरो मनको डर हराएको थिएन। म निकै बेरसम्म आमाको काखमा वसेको थिए। सबैले मलाई ‘हेर! यत्रो ठूलो भएर पनि आमा छाड्न नसक्ने’ भनेर जिस्क्याउथे। तर मलाई उनीहरूको कुरामा कुनै मतलब थिएन।

हरे। ती चल्लाहरूले पनि म जस्तै आमा खोज्लान। अनी आफ्नो आमा नआएपछि उनीहरूलाई कस्तो होला? यो सोच आउनासाथ म झनै आत्तिए। मैले त्यो पोथी चरालाई हेरे, ठिक मैरी तल निश्चल लडेको थियो त्यो। हो हल्ला सुनेर परिवारका सबै सदस्य वाहिर आइ सक्नु भएको थियो। ठूलो अपराध बोधबाट ग्रसित म केही आड पाउने आशामा आमासँग गए। उहाँले मेरो टाउकोमा हात राख्नु भयो। तर उहाँ पनि मसँग खुसी नभएको मैले अनुभव गरे। मैले हजुर आमा तिर हेरेँ। उहाँ पनि केही नबोली उभिनु भएको थियो। कतैबाट पनि ढाडस नपाउने देखेपछि पहिले नै अपराध बोधमा डुब्दै गएको म एक्कासी डाँको छोडेर रुन थाले। मलाई आफ्नो अपराध बारे जानकारी भइ सकेको थियो। हजुर बुवाले यतिका दिनसम्म मलाई निर्दोश प्राणीको हत्या गर्नु पाप हो भन्दै सिकाउनु भएको थियो। तर आज मैले के गरे? मैले मेरो हजुरबुवालाई दुखी बनाए। अब सम्भवतः उहाले मलाई हरेक विहान आफ्नो काखमा राख्नु हुने छैन र म पनि राम्रा राम्रा धार्मीक, पौराणिक कथा सुन्नबाट वञ्चित हुनेछु।

म रोइ रहेको थिए। मेरा आँखाबाट आसुका धारा अवीरल बगी रहेका थिए।

‘अब रोएर केही हुदैन। जे हुनु थियो त्यो भइ हाल्यो। जा गंगाजल लिएर मुखमा राखि दे। वैकुण्ठ जान पाओस यो निर्दोस प्राणीले।’ हजुरबुवाले भन्नासाथ हजुर आमाले भित्रबाट एउटा स्यानो कचौरामा गंगा जल ल्याउनु भयो। मैले त्यसमा मैरीमा तुलसिको बोटबाट खसेको तुलसीको पात राखे। भुईमा त्यसै लडेको अवस्थामा रहेको त्यो मृतप्राय चराको मुखमा मैले कचौरा लगेर केही गंगाजल राख्दासम्म मेरो आँसुका केही थोपा पनि त्यो कचौरामा खसेका थिए। मैले चराको मुखलाई त्यही कचौरामा रहेको गंगाजलमा पर्ने गरी अड्याए। म अझ पनि रोइरहेको थिएँ।

हामी सबैले एकै छिन त्यो चरालाई हेरिरहेका थियौँ। हजुरबुबाले संस्कृतका श्र्लोकहरू पाठ गर्न थाल्नु भएको थियो।

मैले आफ्नो अपराधको लागि मनमनै क्षमा मागिरहेको थिएँ।

मैले वरिपरी हेरेँ। सबै जनाको अनुहार गम्भिर थियो। अनि त्यतिकैमा………।

मेरो मात्र होइन, एकै छिन त हामी सबैलाई आफ्नो आँखामा विश्वास भएन। त्यो चरा एक्कासी भुरर्र उडेर नजिकैको अम्बाको रुखको हाँगामा गएर वस्यो।

त्यो देखेर म निकै खुसी भएँ। सम्भवतः चरालाई धेरै चोट लागेको थिएन। त्यो बेहोस मात्र भएको थियो। र पानी खाएपछि ब्युँतिएको थियो।

म अझ पनि रुदै थिए। आमाले मेरो टाउको मुसार्दै भन्नु भयो–अब नरोउ बाबु। हेर चरा ठिक भइ हाल्यो। वरु अब देखि कहिल्यै चरा चुरुंगीलाई केही नोक्सान नपुर्‍याउनु। मैले चरालाई हेरे। उ अनौठो पारामा आफ्नो टाउकोलाई दायाँ बायाँ हल्लाई रहेको थियो। म त्यो चरीसँग क्षमा माग्न चाहन्थे तर मलाई उसको भाषा आउदैन थियो। मैले मनमनै उसँग क्षमा मागे।

हजुरबुबाले पनि मेरो टाउको मुसार्नु भयो। अब देखि निर्दोस प्राणीलाई चोट लाग्ने काम कहिल्यै नगर्नु। मैले हस भन्दै गुलेलीलाई पर मिल्क्याइ दिए। हजुर बुबाले मलाई मायाँ गरेपछि म रुदा रुदै हासे। चरा बाँचेकोमा मलाई निकै खुसी लागेको थियो। म त्यसभन्दा अघि त्यति खुसी कहिल्यै भएको थिइन। एउटा ठूला पाप गर्नबाट म जोगिए जस्तो लागेको थियो मलाई।

अब यसका चल्लाहरू आफ्नो आमालाई देखेपछि म जस्तै खुसी हुनेछन्। मैले मनमनै भने। अनी अब मैले पनि सधै हजुरबुवाबाट राम्रा राम्रँ कथा सुन्न पाउने छु।

आज पनि केटाकेटीहरूलाई गुलेली लिएर हिडेको देख्दा अथवा कुनै चरालाई तारो बनाएको देख्दा मलाई त्यो घटनाको सम्झना आउछ र मेरा आखाँ रसाएर आउछन् ।

7 thoughts on “कथाः शिकार”

  1. Navaraj says:
    April 13, 2014 at 4:47 am

    मेरो आफ्नै कथा जस्तो लाग्यो | बाल्यकालका स्मृतिहरु ताजा भएर आए | मेरो गुलेली, घाइते ढुकुर, अनि चरा प्रति को माया | धन्यवाद राजेन्द सर कथा को लागि |

    Reply
  2. Ram Adhikari says:
    April 12, 2014 at 11:17 pm

    यो कथा ले मलाई पनि हाम्रो गाऊ खुकुटोला देखि पारी पटिको भुल्कढोभा भन्ने ठाउमा गेटिस लिएर बाँस घारीमा चरा मार्न गएको याद आयो. तर मेरो त हात नै बांगो अरु साथी हरुले चै हाने पछि फरक नै नपर्ने मैले चै भनेको ठाउमा लगाउनै नसक्ने.

    Reply
  3. Vicky Dev says:
    April 12, 2014 at 7:11 pm

    राम्रो नैतिक कथा… मलाई त लक्ष्मी प्रसाद देवकोटा को सानो हुँदा पढेको “पाप लाग्छ” भन्ने कविता याद आयो ………….

    “नटिप्नु हेर कोपिला !
    नचुँड्नु पाप लाग्दछ ।
    नच्यात्नु फूल नानि हो !
    दया र धर्म भाग्दछ ।।

    नछोप्नु है चरी बरी
    सराप आँसु लाग्दछ ।
    नमार्नु जन्तु है कुनै
    बसेर काल जाग्दछ ।।”

    Vicky Dev

    Reply
  4. BT Malla says:
    April 12, 2014 at 6:00 pm

    १५ वर्षा अगाडी यो कथा येदि माओबादीका नेता हरुले पढ्न पाएको भए, साएद १३००० सोझा नेपालीहरुको ज्यान जाने थियेनाकी?

    Reply
  5. suzee says:
    April 12, 2014 at 5:52 pm

    मार्मिक ….नैतिक कथा !!!!!!!!!!!!!

    Reply
  6. Suresh says:
    April 12, 2014 at 4:33 pm

    धेरै राम्रो अनि मार्मिक कथा l मलाई मेरो बाल्यकाल को याद आयो l मैले पनि १-२ चोटी येस्तै कु कर्म हरु गरेको थिए सम्झिदा आहिले आएर आत्मग्लानी हुन्छ. सायद मैले पनि मेरो हजुरबुबा लाइ पहिले देखाएको भए सायद अरु पाप गर्न बाट जोगिने थिए होला तर बिडम्बना जहाँ मार्यो तेही पोलेर खान हतार हुन्थ्यो हजुरबुबा सम्म त कहिले पुग्न पाएन 🙁 🙁

    Reply
  7. लौटन अवधि says:
    April 12, 2014 at 10:55 am

    बेलास पुर् को आप को बगैचा मा त हामि नि खूब खेलियो ज्ञवाली सर ! खास गरि आप फल्ने बेला मा !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme