Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पारसको अन्तर्वार्ता र स्वचालित ड्रोनको नेपाली प्याटेन्ट

Posted on April 11, 2014April 15, 2014 by विज्ञान बा

-विज्ञान बा-

आफु क्रिकेटको पारखी नभए पनि केहि दिन अघि माइसंसारमा आएको पारस खड्काको अन्तरवार्ता हेर्न पुगें — त्यो पनि रमाइलोको लागि । अन्तरवार्ता लिइएको शैलीलाइ लिएर त छलफल गरिहालियो तर मलाइ सबभन्दा बढी स्ट्राइक चाहि पारस खड्काका विचारहरुले गरे । त्यसैले जसरि हेर्न पुगे पनि हेरेकोमा खुशी लाग्यो । नेपालमा खेलको स्थिति यस्तो हुनुमा या क्रिकेटमा अझै अगाडी जान नसक्नुमा कसलाई दोष दिनुहुन्छ भन्ने पटक-पटकको प्रश्नमा उनले सिधै दोष कसैलाई नथोपरी निकै गम्भीर जवाफहरु दिए — जनतालाई राम्रो संग खान र औषधि उपचार गर्न नपुगेको अवस्थामा सरकारले हेरेन भनेर पनि भन्न सकिने अवस्था छैन । उनले बहुशंख्यक युवाहरुको सोच भन्दा फरक विचार प्रसतुत गरे किनकि साधारणतया हामी जे जस्तो कुरामा पनि सरकारलाई दोष लगाउछौं र उम्किन्छौँ तर आफ्नो दायित्व चाहि सम्झिन्नौं । हामीले बन्द, हड्ताल र आन्दोलन गरेर पहिलै सहुलियत पाएको तेलमा अझ १० रुपैया प्रतिलिटर भाउ घटाउँदा हुम्लाका जनताको छाक काटिएको हुन सक्छ भन्ने बिर्सिन्छौँ । रोजगारीको संख्या बढाउँनको लागि ब्यबहारिक शिक्षा र निजीस्तरका उद्द्योगको प्रोत्साहनको माग गर्नुको सट्टा बेरोजगार भत्ता माग्न महिनौ बन्द, हड्ताल गरि अर्थतन्त्रलाई उल्टो धराशायी बनाऊँछौं । हुन त यसमा स्वार्थि युवा नेताहरु लागि परेका हुन्छन, तर सबै बिर्सेर हामी पनि सहयोग गर्छौं उनीहरुलाई । हाम्रो दायित्वको बारेमा पछि छलफल गर्दै गरौंला तर अहिलेलाइ विचार गरौँ किन सबै दोष कसैलाई दिन मिल्दैन भनेर ।

अर्थशास्त्रमा दुइ वटा चक्रहरुको व्याख्या गरिएको हुन्छ: क्रुर चक्र (Vicious cycle) र गुणी चक्र (Virtuous cycle) । कुनैपनि अर्थतन्त्र या अरु सामाजिक कुराहरुमा निकै जटिल फिड-ब्याक प्रक्रिया हुन्छ – एउटा कुराले अर्कोलाइ असर गर्ने र त्यो असर फेरी घुमेर सुरुकै कुरामा पर्ने । खेलको उदाहरण लिएर यसलाई चर्चा गरौँ ।

चित्रमा देखाइए जस्तै खेलको टिम राम्रो हुन उनीहरुलाई राम्रो तालिम र प्रोत्साहन चाहिन्छ । यसको लागि उचित आधारभूत संरचना (infrastructure) हुनु पर्दछ, जसको लागि आर्थिक सपोर्ट लगायत प्रसंशकहरु उल्लेख्य रुपमा हुनुपर्छ | प्रसंशकहरु हुनको लागि खेलाडी, टिम राम्रो हुनु पर्छ । अब क्रुर चक्रमा फसेको अवस्थामा टिम राम्रो हुन सक्दैन, जसले गर्दा न त प्रसंशक हुन्छन न त खेलबाट राजस्व आम्दानि हुन्छ र फलस्वरूप आधारभूत संरचना बिग्रिन गइ टिम कहिलै माथि उठ्न सक्दैन |

हाम्रोमा खेललाइ त्यति महत्व दिइदैन तर राम्रो टिमहरु भएका खेलहरुबाट राजस्व मात्र आम्दानि हुने नभई सम्पूर्ण अर्थतन्त्रलाइ नै मजबूत पार्न सक्ने क्षमता हुन्छ, किनकि खेलहरु लोकप्रिय हुँदा पैसाको तरलता बढ्छ र बग्छ। यो पैसा भन्ने चिज जति तरल भयो, अर्थतन्त्र उति नै राम्रो हुने रहेछ, नत्र सिरानीमुनि पैसा हालेर थुन्ने र बहाव रोक्ने हो भने यसको असर नराम्रो हुने रहेछ। (जग्गामा पैसा फसाउने पनि यस्तै होला) । जिल्ला र शहर-शहरका टिमहरु राम्रो हुँदा स्थानीय अर्थतन्त्रमा टेवा पुग्छ भने राष्ट्रिय टिम बलियो हुँदा सिंगो देशलाई फाइदा पुग्छ । त्यो भन्दा पनि खेलले जनतालाई एक ढिक्कामा समेट्छ र जुन गौरब महसुस हुन्छ, त्यो साच्चिकै अमूल्य हुन्छ । अमेरिकाको कुरा गर्ने हो भने अमेरिकी फुटबल, बेसबल र बास्केटबल यति लोकप्रिय छन् कि जुन शहरको टिमले जित्छ, त्यहाको स्थानीय अर्थतन्त्रमा निकै ठुलो प्रभाव पार्छ ।

यो खेलको कुरा भयो । त्यसरी नै फिल्मि उद्योग देखि लिएर बिज्ञान, प्रविधि र शिक्षा पनि यस्तै चक्रमा फसेका छन् । शिक्षा, बिज्ञान र प्रबिधिको आधारभूत संरचना नबने सम्म देशको उन्नति हुँदैन भनेर त दिनहुँ हाम्रै नेताले पनि भनिरहेका हुन्छन तर त्यो किन भनेको हो भन्ने शायद उनीहरुलाई नै थाह छैन होला । इलेक्ट्रोनिक्स प्रबिधिको संरचना राम्रो हुँदा देशको कति उन्नति कसरी हुने रहेछ भन्ने त स्याम्सङ्ग कम्पनिले कोरिया भित्र्याएको पैसा हेरेर पनि सजिलै देख्न सकिन्छ, तर तपाइले खल्तीमा हालेर हिड्ने त्यहि ग्यालेक्सी फोनको जीपीएस ले काम गर्दा जुन आइन्स्टाइनको रिलेटिभिटिको सिद्धान्त लगाइएको छ, त्यो सिद्दान्त आज आएर फोनमा प्रयोग होला या इलेक्ट्रोन प्रबेगकमा प्रयोग होला भनेर निकालेका हैनन् आइन्स्टाइनले । त्यस्तै शुरुमा क्वान्टम मेकानिक्सको बिकास पनि आज आएर रसायन शास्त्र विकास गर्न या तपाइले अहिले प्रयोग गर्दै गरेको कम्प्युटर बनाउनकै लागि गरिएको हैन। यस्ता भबिस्यमा के मा काम लाग्छ भन्ने पनि थाह नभएको बिज्ञानमा लगानी हुन्थेन भने आज हामी यी कुनै पनि चिजहरु उपयोग गर्न पाउने थिएनौं । यो सबै सम्भब भएको आधारभूत बिज्ञानलाइ पनि बढ्ने मौका दिएकोले हो।

अब आउँ फेरी पारस खड्काको अन्तरवार्ता तिर । क्रिकेटमा अहिलेको परिणाम त्यो क्रुर चक्रबाट फुत्किने आशाको किरण बनेको छ । अब आउँछ, हाम्रो सरकारको दायित्वको । गरिबी र अशिक्षाको क्रुर चक्रबाट गुज्रिरहेको देशमा सरकारले के गर्ने स्पष्ट हुन सक्दो रहेनछ । समस्या नै समस्या भएको तर अर्थको अभाब भएको र राजनीति ट्रांजिसनल फेजमा भएको स्थितिमा कुनै पनि कुराको आधारभूत संरचनालाइ मजबूत पार्नुको सट्टा यस्ता काम-चलाउ सरकारले जनताले सिधै देख्ने पपुलर कार्यक्रमहरु, र यदाकदा आउने आक्रोशलाइ सामसुम पार्न नै पैसा खन्याउन बढी इच्छुक हुने रहेछन। दुर्गम हुम्ला जुम्ला लगायतका हामी सम्पूर्ण जनताको पैसा कुनै नीति तथा उद्देश्य बाट संचालित हुने भन्दा पनि व्यक्तिगत रुचि भए अनुसार या पपुलर हुनसक्ने गरि व्यक्ति बिशेषहरुलाई पैसा बाडेको पनि देखिन्छ । खेलको आधारभूत संरचनामा त खर्च पनि धेरै गर्नु पर्ने, सिधै पनि नदेखिने | तर कसो कसो गरेर टिमले जिते पछि अलि अलि पुरस्कार दिए भयो । सबै खुशी । कुनै एक जोगीको आश्रम बनाउन त करोडौ ठेल्दिने रहेछन नेताहरु भने अलि अलि राम्रो कुरामा पनि खर्च गरेकोमा राम्रो नै देखिने भयो । तर यतिले जनताको नजरबाट फुत्कन सकिएला, क्रुर चक्रबाट फुत्किन सकिन्न ! त्यसैले पनि पारस खड्काले “आधारभूत संरचना” मा जोड दिएका हुन् । थोरै बजेट भएपनि कमसेकम बिधिको शासन हुनु पर्यो । खेलाडी चयन जस्तै पदाधिकारी चयन पनि पारदर्शी र योग्यताको आधारमा हुनुपर्यो । पुरस्कारै दिने कुरा पनि किन संस्थागत गर्न सकिन्न ? किन खेल परिषदले पहिले घोषणा गर्न सक्दैन कि जितेर आउने राष्ट्रिय टिमलाइ यसरी पुरस्कृत गरिन्छ भनेर ? मान्छेहरुलाई खुशी पार्न मात्र बिधि नै नबसाली यदा-कदा चारो हालेर मात्र खेलको विकास हुन्न ।

त्यस्तै हालत बिज्ञानको छ । अब म प्रसंग जोड्न खोज्दै छु, केहि दिन अगाडि नागरिकमा आएको समाचारको — स्वचालित ड्रोनको प्याटेन्टको बारेमा र सरकारसंग सहयोग मागिएको सन्दर्भमा।

अवश्य पनि देशको नागरिकले राम्रो काम गर्न खोज्दा प्रोत्साहन गर्नु पर्छ । तर प्रोत्साहन गर्ने बिधि खै ? स्वचालित ड्रोनको कन्सेप्ट नयाँ हैन तर फाइदाजनक र कुनै मौलिक र राम्रो ट्विस्ट रहेछ नै भने नेपाल आर्मीले किन लगानी नगर्ने? या इञ्जिनियरिङ्ग अध्ययन संस्थानले किन नगर्ने? या निजी क्षेत्रसंग पार्टनरशिप किन नगर्ने ? कसैले पूर्ण रुपमा जनताको पैसाले व्यक्तिगत प्याटेन्ट गर्न पाउने कि नपाउने? त्यसको स्वामित्व जनता (सरकार) मा पनि हुने कि नहुने ? प्याटेन्ट भन्ने कुरा व्यापारिक फाइदाको लागि गरिन्छ । आम्दानी हुने नहुने बारे बैज्ञानिक/आर्थिक समितिहरुले आइडियाको मौलिकता को साथै बजार विश्लेषणको सिफारिस नगरी जनताको पैसा लगानी गर्ने कि नगर्ने ? कहाँ छ प्रबिधि प्रतिष्ठानको भूमिका ? खै इञ्जिनियरिङ्ग काउन्सिल या कमिटि जसले स्वतन्त्र रुपले नितान्त बैज्ञानिक हिसाबले सिफारिस देओस? व्यक्तिगत प्याटेन्ट गर्न अनुदान दिने हो कि ऋण दिने? प्रश्नहरु धेरै छन्, गम्भीर बहस र छलफलका बिषयहरु हुन् यिनीहरु ।

नत्र भने कि सधैं यस्तो गर्ने — पत्रिकामा प्रचार गर्ने, मन्त्रीकोमा सिधै माग्न जाने, आफ्नो कामको ब्याख्या गर्ने अनि पाए झोली भरेर आउने, नपाए सरकारले केहि गरेन भन्ने ? यहा उठाउन खोजेको बिषय बस्तु के हो भने कुनै पनि देशको विकासमा भूमिका खेल्ने बिज्ञान र प्रबिधिको आधारभूत संरचनामा हो, सरकारले हेर्नु पर्ने । कुन कुराहरुमा पूर्वाधार बनाउने या कसरी युवा बैज्ञानिकहरुलाई सक्षम बनाउने भन्ने कुरामा सरकारले सहयोग गर्न सक्छ । युवाहरुलाई बिज्ञान र प्रबिधिमा खोज गर्न प्रपोजल मागेर अनुदान दिने जुन चलन छ, त्यसलाइ सशक्त बनाऔं । बजेट र दायरा बढाऔं । आफ्नै किसिमले नयाँ कम्पनिहरु खोल्न खोज्ने युवाहरुलाई पनि प्रपोजलको चुस्त विश्लेषण गरि ऋण दिने बिधि बसालौ । त्यो पो हो त हामीले आशा गर्ने सरकारसंग । कुनै बिधि नै नबसाली बहकावकै भरमा कहिले यता २-४ लाख फाल्ने, कहिले उता फाल्ने गरि चारो हालेर विज्ञानको बिकास हुँदैन ।

अन्तमा स्वचालित ड्रोनको कुरा गर्दा एउटा निकै राम्रो प्रसंग जोडिहालौं । एक जना लियन कोह नाम गरेका युवा इकोलोजिस्ट, प्रोफेसर नेपालमा नेपाल आर्मी संग मिलेर स्वचालित ड्रोनको सहायताले चितवन राष्ट्रिय निकुञ्जको अध्ययन-अनुसन्धान गर्दा रहेछन । उनको भिडियो टेड-टकमा देख्न पाउँदा मलाइ निकै खुशी लाग्यो — तपाइँ पनि हेर्नुहोस यहाँ :

8 thoughts on “पारसको अन्तर्वार्ता र स्वचालित ड्रोनको नेपाली प्याटेन्ट”

  1. Rajan Upriti, Baltimore says:
    April 12, 2014 at 10:15 pm

    त्यस्तो अरुले आविष्कार गरेको चिज पनि पेटेन्ट गर्न मिल्छ ? त्यसो त म TV रेडीयो घडी सबै गर्ने थें | फेरी पेटेन्ट को पनि परीक्षा दिनु पर्छ, SLC जस्तो ?

    Reply
  2. Prakash_Edm_Canada says:
    April 11, 2014 at 11:48 pm

    सब्र प्रथम त अमेरिका मा Idea, Concept र planning को patient हुदैन, दोश्रो patient दर्ता गर्न 35 dollars मात्र लाग्छ १०० dollar मा complete patient दर्ता भनेर रात दिन TV मा add आउच, तेश्रो patient को लागि कुनै परिक्ष्या दिनु पर्दैन, चार यो प्रबिदी 1974 देखी प्रयोग मा छ | अब कसरि सरकार ले 20 lakh सयोग गर्नु पर्ने ? मेरो विचार मा यो एउटा स्काम मात्र हो |

    Reply
    1. Asal says:
      April 13, 2014 at 10:19 pm

      Patient त हस्पीटलमा दर्ता हुन्छ ब्रो.

      Reply
    2. Anil Mandal says:
      April 14, 2014 at 11:24 am

      Patient hoina PATENT ho.

      Reply
  3. हृदय says:
    April 11, 2014 at 9:17 pm

    बिज्ञान बा ले उठाउनु भएको प्रशंग साँचै नै सह्र्रानिय छ l राष्ट्रिय दैनिक प्रथम पृष्ठमा यदाकदा छाई रहने यस्ता “बैज्ञानिक समाचार” हरुले म जस्ता अलि अलि बिज्ञान जानेका प्राय पाठक उत्साहित हुने भन्दा पनि रनभुल्ल मा पर्ने गरेको मेरो बुझाई छ l उदाहरण को लागि , ” नेपाल मा प्रथम पटक जहाज बनाएर उडाइयो, http://gorkhapatra.org.np/rising.detail.php?article_id=11071&cat_id=4 परिक्षण उडानको भिडियोका लागि https://www.youtube.com/watch?v=wVIzB251td4 हो, नया प्रतिभाको निश्चित रुपमा नै प्रोत्साहन हुनु पर्छ, तर राइट दाजुभाइले Dec 17, 1903 मा प्रथम यान्त्रिक उडान गरेबाट अहिले सम्म आइपुग्दा हवाई जहाज कहाँ बाट कहा पुगी सकेको छ l पोखरामा परिक्षण उडान गरिएको यो “जहाज” त्यहि पोखरा बाटै Tourist sight seeing का लागि दिनदिनै उड्ने Power Glider भन्दा के कति कुराले “नया” भयो त ?? भिडियो हेरेर जसले पनि मुल्यांकन गर्न सक्छ l के विदेशबाट पाट पुर्जा ल्याएर नेपाल मा जोडेर बनाउदैमा “प्रथम पटक नेपाल मै बनाएर उडाएको” भनेर गरिएको तेत्रो प्रचारबाजी जरुरि थियो र ?? एस बारेमा पनि बिज्ञान बा को बिचार जान्न पाए आभारी हुने थिए l

    Reply
  4. Shankar says:
    April 11, 2014 at 6:08 pm

    बस मा ७ ० , ८० जना बसला , प्लेन मा २,४ सय बसला , रेल चढने हजारौ होला फेरी पनि यात्राको जिम्बेबार ड्राइभर नै हुन्छ , तेसैले बेथिति र भद्रगोलको लागि सरकारै जिम्बेबार भनेर आरोप लगाउनु नागरिक दावित्त्व बाट पन्छिन खोज्नु हैन |नागरिक त् जिम्बेबार हुनै पर्छ | फेरी पनि क्यान्सर लागेको भागको कुरा हुन्छ ,त्यो ठाउ बाट काटेर फालिन्छ बा उपचार गरिन्छ पुरा जिउ को हैन |नेपाल मा तेस्ता चक्र बनेकै छैनन् , त् चक्रिय रुप मा चल्ने कुरै भएँन |
    पुजी मा कसको नियंत्रण छ , महागी मा कसको नियन्त्रण छ , बास्तबिक शक्ति को साचो कहा छ यो नै राम्ररि भेरिफाइ हुन् सकेको छैन | शक्तिको स्रोत जनता भनिएको छ
    फेरी पनि जनता हारेका सुजाता , माकुने ,को हैकम सहन बाध्य भए का थे |
    हामि नेपालीको समस्या भनेकै रसिया को थ्योरी , चीन को थ्योरी को पछि लाग्ने
    नेपाल को आफ्नै थ्योरी हुन्छ भन्ने बिचार न गर्ने | रसिया र चाइना मा पानि पर्दा
    भूगोल पार्क मा छाता ओढ्ने |
    ल थ्योरी पनि राम्ररि बुझेर अनुसरण गरे त् केहि लाभ हुन्थ्यो नि प्रचण्ड पथ, नौलो जनबाद बनाउनु पर्ने | मौका न पाउञ्जेल आखा चिम्म पारेर ठुलो ठुलो कुरा गर्ने मौका पाएपछि भने गहत को झोल मा जात फाल्ने |

    खेलकुद क्षेत्र का ले डाइरेक्ट सरकारलाई आरोप लगाएँन भनेर यिनले चै गाठी कुरो बुझेको रहिछ भन्ठान्नु कालिदासे भ्रम हो |उसै पनि देश को पहिलो सबाल गाँस ,बास , कपास हो खेलकुद तेस्पछि आउने कुरा हो जुन कुरा पारस ले उजागर गर्न खोजेका हुन् |पारस नेपाल का हिरो हुन् |
    खेल कुद मा पारस जस्तै बिज्ञान मा पनि अलि अलि कोइ कोइ चौका , छक्का मारिरहेको होला त्यो पनि अमेरिकी , युरोप ,जापान को युनिभर्सिटी तिर | नेपाल मा भने देबकोटा ले सेक्स पियर भेडा चराइरहेको भन्थे क्यारे , आज काल चै आइन्स्टाइन , सेक्स पियर पार्टीको झण्डा बोकेर भडुवा नेताको पछि लागेरहेको हुन् सक्छ |

    Reply
  5. Yadab says:
    April 11, 2014 at 3:34 pm

    नेपाली क्रिकेट खेलाडी हरुले गरेको पत्रकार सम्मेलन धेरै घटना क्रम हरुको प्रतिफाल को रुपमा आएको देखिन्छ /पक्कै पनि खेलकुद जस्तो आर्थिक, सामाजिक महत्तो बोकेको निकाए हाक्ने व्यक्ति पार्टी का झोला बोक्ने भन्दा पनि खेलकुद बुझेको तथा यसको ब्यबस्थापन गर्न सक्ने छ्यमता को हुनु पर्छ./आजको दिनमा एस खेलले जुन सफलता हात पारेको छ एसको निरन्तरता को लागि पनि विषेस कार्यक्रमको जरुरत छ.एस्तो अवस्थामा क्यान ले आफ्नो भूमिका निर्बाह गर्न नसक्नु सम्पूर्ण खेलाडी तथा खेलप्रेमीका लागि दुखको कुरा हो /एसका साथ् साथै ब्याट र बल समाउने हातहरु येसरी माइक समात्दै हिड्नु पर्ने अवस्थाले ,खेल जगतमा अनुशासन हिनताको नराम्रो संस्कार को सुरुवात त हुँदै छैन ? भन्ने प्रस्न पनि उब्जाएको छ/

    Reply
  6. भुवन पोखरेल says:
    April 11, 2014 at 2:19 pm

    Conservation Drone को प्रयोग नेपालमै भईरहेको रहेछ, गज्जब लाग्यो | यस्ता सामग्री उजागर गर्नु भएकोमा ‘बिज्ञान बा’ लाई धन्यबाद !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme