Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मच्छिन्द्रनाथको रथयात्रा (प्यानोरामा फोटो)

Posted on April 10, 2014April 10, 2014 by Salokya

intro
काठमाडौँ कंक्रिटको जंगलमात्र हैन, आधुनिकताले गाँजिसक्दा पनि संस्कृतिलाई जीवन्त रुपमा जोगाएर राख्‍न सक्षम थोरै ठाउँहरुमध्ये एक हो। मच्छिन्द्रनाथको रथयात्रा त्यस्तै एउटा परम्परा हो, जुन वर्षौँदेखि जारी छ। यहाँ मैले केही फोटो र प्यानोरामा पनि खिच्ने प्रयास गरेको थिएँ, त्यही राखेको छु।

काठमाडौँको जमलस्थित तीनधारा पाठशाला छेउमा विधिपूर्वक यो रथ बनाइन्छ। यो रथ बनाउँदा किला एक ठाउँमा पनि ठोकिँदैन। काठ र डोरीले मात्र बाँधेर रथ बनाउनु पर्छ।

रथ पनि एक प्रकारको मन्दिर नै हो। तर गुड्ने मन्दिर। यो रथमा १३ तला हुन्छ, गजुरसहितको है! यसले जनाउने रहेछ त्रयोदशक भुवन। पहिलो तला प्रमोदिदभ र अन्तिम तला ज्ञानवती। प्रत्येक चरणले निर्वाणको पथतिर डोर्‍याउँदो रहेछ। त्रिकोणाकारले स्थिरता निर्धारण गर्ने र ऊर्जाको सही प्रवाह देखाउने गर्दो रहेछ। प्रत्येक त्रिकोको भुजाले तीन यो ब्रह्माण्डको तीन लोक- स्वर्ग, मर्त्य र नर्क देखाउँदो रहेछ। यी तीनै लोकका दुःख हटाउने नै यसको उद्देश्य हुँदो रहेछ।

रथको कूल लम्बाई भूँइदेखि गजुरको टुप्पोसम्म ४८ फिट अग्लो हुन्छ। यसको चौडाइ पनि त्यति नै फिट हुन्छ। चार पाङ्ग्राको कूल व्यास पनि ४८ फिट नै हुन्छ। ४८ फिटको महत्त्व किन भयो भन्ने तपाईँलाई लाग्यो होला। ४८ फिट भनेको ३२ हात बराबर हुन्छ। परम्परागत रुपमा हातले लम्बाइ नाप्ने गरिन्थ्यो। एक हात बराबर १८ इञ्च हुन्छ। ३२ अङ्क हिन्दू र बौद्ध दुवै दर्शनमा महत्त्वपूर्ण छ। ३२ लक्षणले युक्त भन्ने शब्द त तपाईँहरुले सुन्नुभएकै होला। यसको अर्थ यो ब्रह्माण्डको सबै सकारात्मक ऊर्जा भएको भन्ने हो र यही सिद्धान्तले रथ बनाइन्छ।

रथका चार पाङ्ग्राले चार भैरवको सांकेतिक प्रतिनिधित्व गर्छ- यमकान्तक (कालो), प्रज्ञान्तक (सेतो), पद्‍मान्तक (रातो) र बिगमान्तक (नीलो)।

यो रथ बनाउन ३०० भन्दा बढी काठका टुक्रा जोडिन्छन्। कूल १०० टुक्रा त पाङ्ग्रामा मात्रै जान्छ। हरेक पाङ्ग्रामा २५ टुक्रा हुन्छन्। विभिन्न किसिमका (करिब आठ प्रकारका) काठ प्रयोग गरिन्छ। नःसिं (फलाम जस्तो बलियो काठ) पाङ्ग्रा बनाउन प्रयोग गरिन्छ। फलामे किला प्रयोग गर्न नहुने हुनाले यसलाई मिलाएर आपसमा जोड्नु पर्छ र बेदाले बाँध्नुपर्छ।

एक्लो व्यक्ति वा समूहको प्रयासमा रथ बन्ने हैन। यसका लागि विशेषज्ञता प्राप्त विभिन्न समूह एकजुट हुन्छन्। यसले उपत्यकाका विभिन्न जातजाति र समूहबीच एकता र सौहाद्रता बढाउँछ। जस्तै काठमाडौँका दुई स्थान थःने (माथिल्लो भागका टोल) र क्वःने (तल्लो भागका टोल) का ज्यापु जातका नेवारहरुले रथ बनाउँदै आएका छन्। रथ बनाउन धार्मिक रुपले महत्वपूर्ण लः स्वां नामको फूल आवश्यक हुन्छ, जुन मुनिकार जातका नेवारहरुले विशेष रुपमा फूलाउँछन्। पुजारीहरु शाक्य जातका नेवार हुन्छन्।

यसलाई काठमाडौँ उपत्यकाका हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरुले समान रुपमा उस्तै आस्था राखी पूजा गर्ने गर्छन्।

केही प्यानोरामा फोटो हेर्नुस्। तपाईँ यसलाई माउसले दायाँ-बायाँ, तल-माथि चलाउँदै हेर्न सक्नुहुन्छ। पहिलो पटक प्रयोग गरेकोले कमजोरीहरु त होलान् नै, पचाइदिनु होला।


यो जैसिदेवलको साँघुरो गल्लीबाट लगन लाँदै गर्दाको फोटो।


यो जैसिदेवल चोकमा रथ रहँदाको फोटो।


यो लगन चोकमा पुगिसकेपछिको फोटो।


यो लगन लाँदै गर्दाको फोटो।

अब अरु केही फोटो-
crowd

mother_of_machhindra1
लगनमा रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर। यही मन्दिर रथले तीन पटक परिक्रमा गराउन यहाँ ल्याइने हो।

mother_of_machhindra
मच्छिन्द्रनाथकी आमाको मूर्ति नजिकबाट हेर्दा।

kumari
रथयात्रा हेर्न जीवित देवी कुमारीको पनि उपस्थिति हुन्छ।

भिडियो हेर्नुस्-

4 thoughts on “मच्छिन्द्रनाथको रथयात्रा (प्यानोरामा फोटो)”

  1. nirmal says:
    April 11, 2014 at 4:28 am

    धेरै धन्यवाद हाम्रो संस्कृति को झलक हेर्न पाउन्दा. इतिहास र कथा पनि भएको भय राम्रो हुने थियो.

    Reply
  2. Jaisidewal says:
    April 10, 2014 at 2:18 pm

    Thank you very much My Sansar and Salokya for this Blog. Missing All those Festivals. Happy to see this pictures and videos near to my
    house from abroad.Thank you so much.

    Reply
  3. suzee says:
    April 10, 2014 at 1:27 pm

    ktm को समाचार अनि fotos makes me happy!!!!!!!!!!!!!!!!!!
    thankx salokya jii

    Reply
  4. Shishir Bastakoti says:
    April 10, 2014 at 9:07 am

    अलि व्यवस्थित पार्न सक्ने हो भने दुर्घटना कम हुने थियो र झनै आकर्सक हुने थियो /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme