Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सोमलालको सरकार र नेपाली खेलकुद

Posted on April 4, 2014April 4, 2014 by mysansar

– राजेन्द्र ज्ञवाली –

gyawali त्यस दिन बिहानै सोमलाल मलाई उठाउन आएको थियो। म आँखा मिच्दै उसँगै बाहिर गएँ। उसले आफ्नो हत्केलामा मुस्किलले अटाएको कालो गोलो भकुण्डो देखाउँदै ‘खेल्न जाम’ भन्यो। म पनि १०–१५ दिनदेखि यस नयाँ खेलमा निकै रमाएको थिए। हात मुख धोएर उसँगै घर पछाडिको चउरमा पुग्दासम्म मैले थाहा पाइ सकेको थिएँ, उसको हातमा भएको कालो भकुण्डो वास्तवमा अलकत्राको डल्लो थियो। त्यसलाई उसले क्रिकेट बलको आकार दिने प्रयास गरेको थियो।

नेपालगंजस्थित सुर्खेत रोडमा त्यतिबेला कालोपत्रे गरिँदै थियो, त्यसैले अलकत्राको कुनै कमी थिएन।

त्यसअघि एक दिन सोमलालले काठको भकुण्डो ल्याएको थियो, जुन पूर्ण गोलाकार भने थिएन। ब्याटका लागि भने उसले आफ्नो घरमा कपडा धुँदा त्यसमा हिर्काउने काठको फल्याकलाई ल्याएको थियो।

अनि एक दिन बेलुका सुत्ने बेलामा उसले रोटी बेल्ने बेलनालाई नै बीचबाट काटेर क्रिकेटको भकुण्डो बनाएको थियो। त्यो भेद खुल्न दुई चार दिनभन्दा बढी लागेन, र त्यसो गरेकोमा उसले निकै कुटाइ खाएको थियो।

त्यतिमात्र होइन रिसको झोकमा आमाले त्यो बललाई कतै मिल्क्याइदिएकी थिइन्। कपडा धुने मुंग्रो भने हामीले खेलिसकेपछि यथास्थानमा राखेका थियौँ। तर भकुण्डो अभावले खेल रोकिएको थियो।

त्यसैले दुई चार दिनदेखि हामी क्रिकेटका ‘होनहार खेलाडी’ अभ्यासबाट बन्चित भएका थियौँ। हामी चउरमा गएर निकै खेल्यौँ त्यस दिन।

तर सोमलाल र मेरो खेलकुद प्रतिको रुचि एकै पटक क्रिकेटकासाथ सुरु भएको भने थिएन। त्यसअघि हामीले एथलेटिक्स, भलिबल, फुटबल, कुस्ती, कपर्दी जस्ता खेलमा निकै गम्भीर भएर भविष्यमा ठूलो खेलाडी बनेर देश विदेशमा नेपालको नाम चिनाउने अठोटकासाथ समय बिताएका थियौँ। तर त्यो अठोट कुनै अर्को खेल नआउँदासम्म मात्र हुन्थ्यो।

अर्थात् नेपालगंजमा फुटबल प्रतियोगिता भएको बेला हामीभन्दा उमेरमा अलि ठूलो सोमलालले सबैलाई फुटबल खेल्ने प्रेरणा दिन्थ्यो। अनि हामीले जसरी तसरी एउटा ३ नम्बर बल किन्थ्यौँ र त्यही चउरमा पुग्थ्यौँ।

अनि केही समयपछि एथलेटिक्स प्रतियोगिता भएपछि त्यही चउरमा ६ फुट जति लामो र ५ फुट चाक्लो अनि ४ इन्च जति गहिरो खाल्डो खनेर त्यसमा माटो हाल्थ्यौँ र हाइ जम्प, लङ जम्प अनि ट्रिपल जम्प खेल्ने गर्थ्यौँ। त्यसअघि बिहान दगुर्न त अनिवार्य जस्तै थियो।

त्यस्तै भलिबल प्रतियोगिता भएको बेला कतैबाट पुरानो भलिबल ल्याएर खेल्थ्यौँ। त्यो सबै सोमलालको नेतृत्वमा हुने गर्थ्यो। र हरेक खेल खेल्दा हामीले त्यसमा अन्तर्राष्ट्रिय स्तरमा सफलता पाउने कसम खान बिर्सँदैन थियौँ।

तर नेपालगञ्जमा वीरेन्द्र रनिङ शिल्ड हुँदा भने हामी केटाकेटीको नेता सोमलाललाई निकै अप्ठेरो पर्थ्यो। किनभने त्यसमा एथलेटिक्स, फुटबल, भलिबल, सबै हुने गर्थे र हामीले कुन खेल खेल्ने भन्ने दुविधा हुने गर्थ्यो।

अहिले हाम्रो त्यो साथी सोमलाल कहाँ छन् पत्तो छैन। गाँउतिर गएर शिक्षक भए भन्ने सुनिएको थियो। आफू भने खेलाडी हुन नपाए पनि खेलका बारेमा कागज रंगाउनेसम्म भइएको छ।

तर जब जब नेपालमा खेलकुद सम्बन्धी विशेष समाचार आउने गर्छ म सोमलाललाई सम्झने गर्छु। अझ विशेषगरी कुनै एउटा खेलमा नेपाली टोलीले राम्रो प्रदर्शन गरेको बेला म सोमलालसँग बिताएको आफ्नो बाल्यकाललाई सम्झने गर्छु।

सोमलाललाई सम्झनु पर्ने कारण
अहिले नेपाल पूरै क्रिकेटमय भएको छ। बंगलादेशमा जारी विश्वकप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गरेको नेपाली टोलीलाई सम्मान थाप्न भ्याइ नभ्याइ छ।

सर्वत्र क्रिकेटको मात्र चर्चा छ र यस खेलका विकासका लागि सरकार निकै गम्भीर भएको खेलकुद मन्त्रीले बताइसके।

केही समयपछि सबै कुरा सामान्य हुँदै जान्छ, अहिले क्रिकेट र क्रिकेटरहरूको प्रशंसा गरिरहेको सरकार आफ्नो आन्तरिक तथा बाह्य राजनीतिमा व्यस्त हुनेछ।

नेपाली क्रिकेटले विश्वकपमा हासिल गरेको उपलब्धि समाचारका पानामा पुराना खबर भएर थन्कने छन्।

हो, सोमलाललाई सम्झनु पर्ने कारण यही हो। अनि यस्तै बेला मलाई शंका लाग्छ कतै सरकारको नेतृत्व मेरै बाल सखा सोमलालले त गरेको छैन?

१२ वर्षअगाडि पनि ‘गम्भीर’ थियो सरकार
वास्तवमा नेपालको हरेक सरकारमा मेरो बालसखा सोमलालको चरित्र देखिन्छ। जसरी नेपालगंजमा आयोजना हुने प्रतियोगिता अनुसारको खेल खेल्न सोमलालले हामीलाई हौस्याउँथ्यो, त्यसरी नै हाम्रो सरकार अन्तर्राष्ट्रिय स्तरमा नेपालले राम्रो प्रदर्शन गरेको खेलको विकासका लागि गम्भिर भएको बताउन चुक्दैन।

क्रिकेटकै कुरा गर्ने हो भने पनि सरकारले यसको विकासका लागि आफू गम्भिर भएको बताएको पहिलो पटक होइन। सन् २००२ मा न्युजिल्यान्डमा भएको १९ वर्ष मुनिका खेलाडीहरूको युवा विश्वकप क्रिकेट प्रतियोगिताको प्लेट च्याम्पियनसिपमा दोस्रो भएपछि नेपाली टोलीलाई यस्तै सम्मान थाप्न भ्याइ नभ्याइ थियो।

अनि त्यतिबेला पनि सरकार क्रिकेटको विकासमा गम्भिर भएको बताइएको थियो।

प्रधानमन्त्री देखि खेलकुद मन्त्रीसम्म क्रिकेटको विकासका लागि उत्सुक देखिएका थिए।

तर…

अझसम्म नेपालमा क्रिकेटको एउटा अन्तर्राष्ट्रिय स्तरको मैदानसम्म बन्न सकेको छैन।

त्यस्तै त्यसको केही समयपछि हो नेपालकी तेक्वान्दो खेलाडी संगीना वैद्य एथेन्स ओलम्पिकका लागि छनोट भएपछि देशमा त्यस्तै वातावरण देखिएको थियो। धेरै समय भएको छैन। काठमाडौंमा भएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका क्रममा पनि वातावरण यस्तै हुन पुगेको थियो। त्यतिबेला देश फुटबलमय भएको थियो।

कुरा मात्रै हो, सिन्को भाँचिने हैन
अचम्म लाग्छ! अन्य देशमा खेलकुदमा लगानी गरिन्छ र त्यहाँ खेलाडीले उपलब्धि प्राप्त गर्छन्। नेपालमा भने पहिला खेलकुदले उपलब्धि हासिल गर्नु पर्छ, अनि सरकारले लगानी गर्ने कुरा मात्र गर्छ तर सिन्को भाँच्दैन।

सरकारको मुखबाट खेल र खेलाडीका लागि प्रशंसाको दुई शब्द निकाल्न पनि हाम्रा खेलाडीले आफ्नै बलमा विश्वकपसम्मको यात्रा तय गर्नु पर्छ। अझ त्यतिले मात्र पुग्दैन त्यहाँ केही राम्रो प्रदर्शन गर्नु पर्छ अनी सरकारको घैटाँमा घाम लागेको जस्तो भान हुन्छ।

के सरकारको कर्त्यब्य यही हो? खेलाडीले विश्वकपसम्म पुगेर राम्रो प्रदर्शन गरेपछि मात्र सरकारले खेलको विकास गर्ने कुरा गर्ने हो भने विश्वकपसम्म पुग्न कसले मदत गर्ने? कसले लगानी गर्ने? खेलाडी आफैले गर्नु पर्ने हो?

नेपालमा खेल क्षेत्रमा सक्दो लगानी गर्न पनि सरकारले सकेको छैन। न त खेलकुदमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहित नै गरेको छ। आज विश्वकपमा राम्रो प्रदर्शन गर्ने नेपाली खेलाडीहरूले वास्तवमा देशको इज्जत राखेकै हुन् भने वास्तवमा पारस खडकाको टोली प्रति हरेक नेपालीलाई गर्व छ भने उनको टोलीका केही सदस्यहरूले नेपाली सेनाको सबैभन्दा तल्लो दर्जाको नोकरीका लागि प्रयास गर्नु पर्थ्यो?

नेपाली क्रिकेट र क्रिकेटरले देशको इज्जत बढाएको भन्दै नथाक्ने निजी क्षेत्रले के त्यस्ता खेलाडीलाई आफ्नो कम्पनीमा राख्न सक्दैनन्? नेपाली खेलाडीको नाम लिदा पनि गर्व अनुभव गर्ने निजी क्षेत्रले केही खेलाडीलाई सम्मानजनक नोकरी दिन सक्दैनन्? केही खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेर सम्बन्धित कम्पनीको व्यापार वृद्धि होला तर नेपाली खेल र खेलाडीलाई दूरगामी असर पर्दैन।

भारतीय क्रिकेटरले कपडा धुने पैसा नपाउने बेला..
सन् १९८०को दशकसम्म भारतमा समेत क्रिकेट खेलाडीको अहिलेको जस्तो आमदानी हुन्थेन। त्यतिबेला भारतीय क्रिकेट टिमको क्षेत्ररक्षण निकै खराब मानिन्थ्यो। एक पटक त इंग्ल्यान्डको एउटा समाचार पत्रले भारतीय टिमको खराब क्षेत्ररक्षणको कारण बारे ठट्टा गर्दै लेखेको थियो–भारतीय खेलाडीले कपडा धुने पैसा नपाउने हुनाले क्षेत्ररक्षणमा मिहिनेत गर्दैनन्। त्यतिबेला भारतीय खेलाडीहरूलाई त्यहाँका निजी कम्पनीहरूले जागिर दिएका थिए। यो चलन श्रीलंका र पाकिस्तान जस्तो मुलुकमा पनि थियो।

हो, हाम्रो अर्थव्यवस्था त्यति ठूलो छैन, तर विश्वकपमा उत्कृष्टता सावित गरेर फर्केका खेलाडीहरूलाई जीवन यापनका लागि सेनाको तल्लो स्तरको जागिर खानु पर्ने जस्तो खराब पनि पक्कै छैन।

दशक अघि काठमाडौंमा भएको आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता पूर्व नेपालका थुप्रै निजी कम्पनीले पदक जित्ने खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेका थिए। तर त्यतिबेला नेपालले ऐतिहासिक प्रदर्शन गर्दै ३१ वटा स्वर्ण मात्र जितेको थियो। तर खेल समाप्त भएपछि पदक जित्ने खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेकामध्ये धेरै हराएका थिए। निजी क्षेत्र मात्र किन खेलको समापन समारोहमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइले स्वर्ण जित्ने खेलाडीलाई काठमाडौंमा घडेरी र नोकरीको घोषणा गरे पनि त्यो पुरा हुन सकेन।

तत्कालीन प्रधानमन्त्रीको त्यो घोषणा पनि अन्तर पार्टी कलहको शिकार भयो र भट्टराईपछिको उनकै पार्टीको सरकारले नकच्चरो पारामा राष्ट्रिय अभिलेखालयमा सो कुराको उल्लेख नभएकोले पुरस्कार दिन नमिल्ने बताएर जिम्मेवारीबाट पञ्छिएको थियो। पछि चौतर्फी विरोध भएपछि घोषित पुरस्कारको केही अंश खेलाडीले पाएका थिए।

त्यतिबेला देशका सबै निर्वाचन क्षेत्रमा खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरिएको थियो। अझ त्यस अघि त झन हिमाल देखि तराईसम्म खेलकुद भन्ने नारा ल्याइएको थियो। तर कुनै पनि घोषणाले मूर्त रुप लिन सकेनन्।

ऋषि धमला किन जोकको पात्र ?
अहिले देशभर नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको अन्तरर्वार्ता लिएका रिपोर्ट्स क्लबका अध्यक्ष ऋषि धमलाको चर्चा छ। क्रिकेट नबुझी किन अन्तरवार्ता लिएको भनेर उनीबारे बनाइएको चुटकिलाले सामाजिक संजाल भरिएको छ।

तर ऋषिले त क्रिकेटमात्र नबुझेको होलान सरकारले त समग्र खेलकुद नै बुझ्न सकेको छैन। यसको खेलकुदप्रतिको जिम्मेवारी भनेकै कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाउने खेल बारे दुई चार प्रशंसाका शब्द खर्चनुमा सिमित छ।

अनि सरकारलाई मात्र किन दोष? सरकार पनि त समाजकै उपज हो। यही समाजबाटै त सरकार बनेको हो, सरकार पनि त हाम्रै समाजको प्रतिविम्व हो। अनि हाम्रो समाज र हामीहरूको चाहना कस्तो भने कुनै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता भएको खण्डमा नेपाली टोलीले जितेर हामी भित्रको राष्ट्रियतालाई जोगाइ दिनु पर्ने?

प्रतियोगिता अघि खेलाडीले कस्तो स्थितिको सामना गरिरहेका छन्? उनीहरूले कस्तो किसिमको साधन र श्रोतको उपभोग गरिरहेका छन्? उनीहरूले कस्तो वातावरणमा खेलिरहेका छन्? उनीहरूको खेलको भौतिक पूर्वाधारको स्थिति कस्तो छ भन्ने बारे हामीले कहिल्यै वास्ता पनि त गर्दैनौँ!

आखिरमा आफ्नो जीवनको यो अमूल्य समय खेलकुदमा खर्चने हाम्रै भाइ, बहिनीहरू होइनन्? उनीहरूको सुविधा बारे चासो राख्ने जिम्मेवारी हाम्रो पनि होइन र?

क्रिकेट खेलको सुरुवात बेलायतबाट भएको हो र यसका थुप्रै नियमहरू छन्। त्यसैले सबैलाई यसको हरेक नियमबारे जानकारी नहुन सक्छ। तर कपर्दी त हाम्रै माटोमा जन्मिएको खेल हो, त्यसको नियम पनि जटिल छैन। त्यस्तै सरल नियम भएका अन्य खेल पनि छन्।

धमलाले त क्रिकेट बुझेनन् तर सरकारले त कपर्दी पनि बुझेको छैन भलिबल बुझेको छैन, एथलेटिक्स बुझेको छैन, डण्डीबियो पनि बुझेको छैन। कुनै खेल बुझेको छैन। कि बुझ पचाएको ?

[हाल अमेरिकामा रहेका ज्ञवालीले लामो समय कान्तिपुर र नागरिक दैनिकको खेल ब्युरोको नेतृत्व गरेका थिए]

3 thoughts on “सोमलालको सरकार र नेपाली खेलकुद”

  1. Ram Adhikari says:
    April 4, 2014 at 2:32 pm

    लेखक को विश्लेषण लाई धन्यवाद दिनै पर्छ. अब आयो कुरा खेलकुदको, राज्यले महत्व पूर्ण संबिधान सभाको बैठक लाई त निरन्तरता दिन सक्ने र संबिधान लेख्ने कुरो लाई त अगाडी बडाउन सक्ने स्थिति छैन अब खेलकुद को बिकास गर्ने कुरा त कता हो कता. देशमा स्थिरता छैन एउटा सरकारले घोषणा गर्छ अनि अर्को सरकारले पुरा गर्दैन. जब सम्म देशमा स्थिरता हुदैन तब सम्म सरकार बाट आस गर्नु ब्यर्थ हुन्छ . यस्तो अबस्थामा खेलाडीले तल्लो स्तरको जागिर नखोजेर के गर्ने त ?

    Reply
  2. neerose says:
    April 4, 2014 at 2:27 pm

    अहिले देश आन्तारिमाबस्थामा छ!
    संक्रमण कालमा छ!
    खेलकुद बुझी खेलकुद हेर्नेकी देशलाई संक्रमण कालबाट पार लगाउने?
    देश संक्रमण कालबाट पार भै स्थिर शाशन प्रणालीमा स्थापित भयपछि खेलकुदको पालो आउछ!
    अहिले खेलकुदलाई जसो तसो थम्यायर तलमाथि अघिपछि जुन अबस्थामा चलिरहेको छ यत्तिमै रहनादिदा फरक पर्दैन!
    फेरी खेलकुदलाई ब्याबसायिकरण तर्फ सोच्नेहो भने ब्याबसायी हरुले सोच्नेहो तेहा सरकार भन्दा ब्याबसायी हरु को बढी खाचो हुन्छ, सबैकुरा सधै सरकार मात्र ताकिरहेर पनि हुदैन हो सरकारले गर्नेकुरा गर्लान गर्छ तर अहिले खेलकुद भनेर खेलाडि र दर्सक संगै सरकार पनि दगुर्नु जरुरि छैन तेसोगर्दा त्यो के भंछनी,
    ” सबै छाडि कुनी के मा हो हात”
    देशको अनि सरकारको आफ्नो प्राथामिकता हुन्छ!
    अहिलेको अबस्थामा खेलकुद यो देश र सरकारको प्राथामिकता मा अग्र पंक्तिमा पर्दैन!
    हुनत तपाइँ खेलकुद पत्राकार र तेही पेशा अन्तर्गत भयकोले तेस्को बारेमा चिन्ता गर्नु र त्यो कुरा माथिल्लो प्राथामिकतामा राख्नु तपाइको स्वोधर्मा होला तर देशलाई यो छैन!
    बरु पारश खड्काले कुरा बुझेका छन् एक पटक फत्तुरे पत्राकार धमाला र पारशको कुराकानी गहिरियर पारशको कुरा बुझ्ने प्रयत्न गर्नुहोला महाशय!
    देशको अर्थतन्त्र सुरक्षित हुदै जब सम्ब्रिद्दि तिर अघि बढ्दछ तब खेलकुदले प्राथामिकता खुड्किलो उक्लिन थाल्ने छ आफै र त्यो सरकारको नजरमा पहिलो हुनसक्छ!
    पहिले देशलाई यो गिनगालोबाट कसरि पार लगाउने हो टी बारेमा सोचेर दुइ हरफ खर्चिनुस्न भकुण्डे पत्राकार महासय!

    Reply
  3. eklavya says:
    April 4, 2014 at 12:57 pm

    सोमलाल देखि सरकारसम्मको व्यंग्यात्मक लेखकोलागि लेखक तारिफ योग्य छन् सरकारको बारेमा के भन्ने बाटो खन्ने भनेर जताततै खाल्डो खनेर ADB र दात्रीराष्ट्रहरुलाई नेपालको दुरावस्था भन्दै आफ्नो खल्ती भर्ने नेताहरुले बनेको सरकारको लागि खेलकुदको अर्थ खेल र कुद मात्र हो तिनले दिएका भरोसाका पछि लाग्नु भनेको आफैले खुट्टाले बन्चारोलाई हान्नु समान हो …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme