Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः सिङ्क्रोनिसिटी

Posted on March 29, 2014 by mysansar

-विवेक ढकाल-
saturday-fiction “म नौलो यात्रा थाल्दैछु अन्जान दिशा लिएर;
अनन्तसम्मको तारोलाई छुने नौलो लक्ष्य समाएर ।”

माथिको गीत सुनेर आश्चर्य मान्नुपर्ने कुरा केहि थिएन। अरुबेला भएको भए सायद एउटा एफ. एम. खोज्दै गर्दा कुनै आर्को स्टेशनमा बजेको गीततिर धेरैबेर ध्यान जांदैन थियो होला र म पक्कै पनि आफुले खोजेको एफ एम ट्युन गर्न रेडियोको कान दायाँ वा बायाँ घुमाउँथें। तर त्यसबेला भने त्यो गीत बज्नबित्तिकै म टक्क अडिएँ । कहिले नबज्ने गीत एफ एमले बजाको कारणले मात्र भने म अचम्ममा परेको थिइन – कारण अर्कै थियो: मैले हिजो भर्खर एउटा कविता लेखेको थिएँ – ” थाल्नेछु म नौलो यात्रा” र एकजना अफिसको साथीलाई सुनाको थिएँ जसको प्रत्युत्तरमा उसले “यो टाइटलको त गीत नै छ नि, क्या त हामिले एसएलसी दिने बेला तिर को!” भनेको थियो। त्यतिबेलासम्म मलाई यस्तो गीत छ भन्ने हेक्का थिएन र यो पनि हेक्का थिएन कि ठीक भोलिपल्ट म त्यही गीत रेडियोमा सुन्नेछु!

यो घटनालाई एउटा सामान्य कोइन्सिडेंस को रुपमा मैले लिन सक्थें यदि यस्ता घटना हप्तामा ६ – ७ पल्ट नदोहोरिएका भए। सो सामान्य संयोगको एक दुइ हप्ता अघिदेखि मेरो वरिपरि यस्ता अचम्मका कुराहरु भैरहेका थिए। बर्सौ देखि नभेटेको साथिको बारे सोच्नु अनि बेलुकी फेसबुकमा उसको रिक्वेस्ट पाउनु, बिहान पत्रिकामा एउटा पुरानो कलाकारको अन्तर्वार्ता पढ्दा बेलुकी श्रीमतीले सोहि कलाकारको चलचित्र हेरिरहेको देख्नु, धेरै पछि कुनै तरकारी खान मन लागेको कुरा भान्छामा श्रीमतीलाई भन्न जाँदा उसले आज त्यहिँ तरकारी खाउँ न भन्नु, अफिसबाट माइक्रो स्टप जाँदैगर्दा पानी परेर रनभुल्लमा परिरहेको बेला एक्कासि आफ्नै छिमेकी छाता लिएर त्यहिँ स्टपतिर आएको देख्नु जसको कार्यालय त्यता पर्दैन , आदि इत्यादि।यी संयोगहरु सामान्य थिए र मेरो जीवनमा खासै प्रभाव पार्नेखालका थिएनन, र सोकारण इनको बारे सोचेर तनाव लिनुपर्ने आवस्यकता थिएन। तर उमेरले ४० पुग्न लागेको भएपनि केहि वर्ष अघिमात्र इन्टरनेट चलाउन सिकेको मलाइ खुल्दुली लागिहाल्यो – गूगलमा खोजेर हेर्ने। दुइ पटकको किवर्ड सर्चको असफल प्रयास पछि तेस्रो पटकको सर्चले भने एउटा पेज देखायो जसमा मैले भोगेको(?) जस्तो संयोगको बारे लामो लेख थियो — यसलाई भनिँदो रहेछ ” सिङ्क्रोनिसिटी” ।

पछिल्ला दिनहरुमा म यस्ता कुराहरुमा रुचि लिन थालें। श्रीमतीलाई केहि भनिन तर अफिस बस्दा दिनभर नेटमा यस्तै कुराहरु खोज्न थालें। पराविज्ञान, टेलिप्याथी, भविस्य दृष्टि, स्पेल/ म्याजिक, ब्ल्याक म्याजिक, तन्त्र, आत्मा बोलाउने आदि कुराहरुमा चाख राख्न थालें – तर ती खोजको केन्द्रविन्दु भने “सिङ्क्रोनिसिटी” नै थियो। खोज्दै जाँदा यस्ता संयोगहरुबाट आफ्नो जीवनमा हुने घटनाको पूर्वानुमान लगाउने र सो अनुसार आफुलाई सावधान पार्ने उपायहरु दिएको साइट भेटें। सो साइटमा दिइएका विधिहरुलाई पेन ड्राइभमा राखेर अफिसको प्रिन्टरमा प्रिन्ट गरें — ओभरटाइम गर्ने बाहानामा।

तर यो कुरा सबैबाट गुपचुप नै राखें : मेरो अगाडी आफ्नो सर्वाङ्ग देखि लिएर भित्रि मनका कुरा खुलस्त राख्ने श्रीमतीबाट समेत!

विधिहरु लामो भएपनि मुख्य दुइ कुरालाई फोकस गरिएको थियो –एउटा , यस्ता घटना हुनासाथ डायरीमा दिन र समय टिप्ने ; दोश्रो, आफ्नो आध्यात्मिक लेभल बढाउने: अर्थात् ध्यान गर्ने । पहिलो काम त गारो थिएन तर दोश्रोको लागि समय र मुख्य रूपमा एकान्त भेट्टाउनु गारो थियो। अफिस समय ९ देखि ५:३० सम्म थियो; बेलका तरकारी किनिवरि घर आउँदा ६:३० हुन्थ्यो। सन्ध्याकालमा नभए बिहान सबेरै उठेर ध्यान गर्न पनि मिल्थ्यो तर बिहानै ध्यान गर्न जाने काहाँ? श्रीमतीलाई यो कुराको भेउ अझै दिन मन लागेको थिएन — उसले बेक्कार झपार्लि भन्ने शङ्का थियो जसले मेरो मोटिभेसन घट्न सक्थ्यो। घर नजिकै एउटा ध्यान केन्द्र थियो तर शुल्क ज्यादै नचाहिदो जस्तो लाग्यो । अन्त्यमा सोच्दा सोच्दै विकल्प निक्लियो- बिहान नुहाउने र नित्य कर्म गर्ने समय छोट्याएर बाथरूममा नै मेडीटेट गर्ने, २० मिनट!

ध्यान सुरु गरेको दुइ हप्ता सम्म त खै के खै के जस्तो भयो; तर निरन्तर दिनको २० मिनट गर्न थालेकोले तेस्रो हप्तादेखि भने अलि अलि परिवर्तन महसुस हुन थाल्यो। अलिकति अरुबेला भन्दा हल्का र शान्त अनि जिउं पनि स्फुर्त भएको पाएँ। त्यो ध्यान अरु जस्तो स्वास प्रस्वास , मन्त्र स्मरण वा कुनै राम्रो दृश्यको कल्पना गर्ने खालको थिएन — नितान्त फरक, सो ध्यान आँखा चिम्लेर एक दिन पछि के घटना हुन सक्छ भनेर सोच्ने थियो र सो घटनामा आफु प्रत्यक्ष भएको जस्तो बिचार गर्नुपर्ने थियो। यो बिचमा मेरो वरिपरि सिङ्क्रोनिसिटीहरुमा पनि उल्लेख्य ब्रिद्दि हुन थाले। कहिले काही त दिनमै ७ वटा सम्म! तर डायरीमा टिप्ने काम अल्छी नमानी नछुटाई गरेँ; डायरी नभएको बखत घटेका संयोगहरुलाइ भने सम्झेर पछि टिपिहाल्थें वा मोबाइलमा नोट गर्थें।

तीन महिनामा उल्लेख्य परिवर्तन देखिन थाल्यो। अब त म एउटा सिङ्क्रोनिसिटी र अर्को सिङ्क्रोनिसिटी बिचको सम्बन्ध पत्ता लाउन सक्ने हुन थालें। कुनै सानो कुरा हुँदा त्यसले के असर पार्न सक्छ भन्ने हल्काफुल्का अनुमान गर्न सक्न भएँ – कमसेकम राम्रो वा नराम्रो के होला भनेर छुट्याउन सक्ने भएँ। एकपटक अफिसबाट चाडै घर फर्कंदा धेरै समय भेट नभाको एउटा भाइ पर्नेको याद आयो। खै कहाँबाट आयो । त्यहि बखत बाटोमा एउटा प्रहरी जवानले मलाइ ” दाइ टाइम कति भो? ” भनेर सोध्यो। मैले घडी हेरेर ४:२० भने। घर पुगेर एकछिन आराम गरेपछि इन्टरनेटमा फेसबुक खोल्दा कसको हो पेजमा गाँजाको पात भएको फोटोमा अंग्रेजीमा “४२०” लेखेको पाएँ। ४२० को अर्थ गुगलमा खोजें: बिदेशिहरुले ४२० भनेर चोर फटाहा हैन गाँजाको उपभोगलाई भन्दा रहेछन। एक्कासी भित्रि मनले भाइलाई फोन गरिहाल् भन्यो। फोन गरें र भाइले फोन उठाउना साथ् मैले ” तँ गाँजा खाइराको? ” भनेर सोधें।प्रत्युत्तरमा उसले अक्मकाएर हैन भन्यो तर एकैछिनमा “हो दाइ तर तपाइलाइ कसले भन्यो?” भनेर सोध्यो। मैले उसको प्रश्नको जवाफ नदिई खालि “पुलिस आउन सक्छ, फालेर घरतिर लाग्” भनें। २ घण्टापछि खाना खाने बेला त्यहि भाइको कल आयो । फोन उठाउनासाथ् एकै स्वासमा उसले भन्यो- ” थ्याङ्क यु दाइ, हजुरले गर्दा आज म बचें। हजुरले फोन गर्न बित्तिकै मलाई कस्तो कस्तो लाग्यो अनि मैले केटाहरुलाई ‘ म जान्छु मलाई हतार छ ‘ भनेर लागें। म गएको आधा घण्टा पछि त कप्स ले रेड हानेछ नि त दाइ हाम्रो जनक्सन्मा, सबलाई लग्यो। बाल बाल बचें दाइ। हजुरको डन्ठेसंग नि लिंक छ कि क्या हो? ” मैले उसको प्रश्नको उत्तर दिनु आवश्यक ठानिन र ‘अब देखि होश गर् अनि राम्रो सङ्गत गर्’ भनेर फोन राखें। तर फोन राख्न बित्तिकै टेबलमा कुइनाको भरमा अडेको हातलाई मुट्ठी पारेर अङ्रेजी “यस!” भनेजस्तोगरि मुनितिर लगें। श्रीमती ट्वाँ परेर हेरिरहिन, मैले “केहि हैन, एउटा काम मिल्ला जस्तो छ!” भनेर ढांटे। तर उनले “राम्रो संगत गर्” चाँही किन, कसलाई, र के प्रसंगमा भनेको सोधिनन।

डायरीमा आजको घटनालाई हाइलाइट गरेर टिपोट गरें। मलाइ लाग्यो मैले नया सुत्र पत्ता लगाएँ — एउटा अदभूत सुत्र । त्यो रात मलाइ छटपटी भयो। निदाउनुको सट्टा अनेक कुरा सोच्न थालें: एउटा ठुलो भविष्यज्ञाता वा “जान्ने” भएको, मान्छे हरु आफ्नो डेरामा भिड लागेको, अफिस छोडेर यो नया ब्यापारमा लागेर टन्न कमाको, र ध्यान गर्दै जाँदा शक्ति बढ्दै गएर जे सोचे पनि पूर्ण हुने ( धन, गाडी, बंगला, विदेश) अलौकिक शक्ति प्राप्त भाको, आदि।

ध्यान एक दिन पनि टुटेको थिएन- ठ्याक्क २० मिनेटको “साइकिक” ध्यान। माथिको ४२० वाला घटना जस्तो धेरै घटना हुन थाले र यस्ता घटनाहरुको लगभग सहि पूर्वानुमान गर्न थालें। यी घटनाहरु यहाँ उल्लेख गरेर कथाको लम्बाई नवढाम; छोटकरीमा भन्नुपर्दा सिङ्क्रोनिसिटीहरु विश्लेषण गरेर ती सिङ्क्रोनिसिटी बिचको सम्बन्ध अनुसार अब के हुँदैछ भनेर ठ्याक्क भन्न सक्ने भएँ। लोक सेवा को आइ क्यु प्रश्नमा ३, ५, ८, १२, १७….. पछि २३ आउछ भन्ने अनुमान ती अंकहरु बिचको सम्बन्ध बाट गर्न सकिन्छ; यसरी नै , मेरो जीवनमा आएका सिङ्क्रोनिसिटी वा संयोगको श्रिन्खलाबाट अब घट्ने घट्ना पत्ता लगाउन म सक्ने भएँ।

धेरै पछि एक दिन, म अफिस सकेर कोठा आइपुगेको थिएँ। ढोकामा ताल्चा मारेको थियो — मेरी श्रीमतीले बिहानै आज सामाखुसी दिदिकोमा जानु छ, आउँदा अलि ढिलो हुन्छ भनेकी थिई। छोराछोरी लामो विदामा मेरो सालोसँग आफ्नो मामाघर चितवन गएका थिए । दाया काँधमा झुण्डीएको ब्यागबाट साँचो झिकेर ताल्चा खोल्न लाग्दा छिमेकी भाउजुले आफ्नो काम सघाउने केटीलाई गालि गरेको सुनें – ” फेरी कोपिला चुंडीछे रांडले; फूल फूल हेरेर टिप्न सक्दिनस? हेर कोपिलाको नास! “…झल्यास्स मनमा चिसो पस्यो – मेरो श्रीमतीको नाम “कोपिला!” हत्त न पत्त ढोका खोलें अनि देखें आर्को मुटु काम्ने दृश्य जुन अरुबेला भए सामान्य हुन्थ्यो होला: मेरो र श्रीमतीको फोटो भएको फ्रेम भुइंमा खसेको र मेरो साइडतिरको केहि नभई उसको फोटो भाको साइडतिर मात्र सिसा चर्केको। फ्रेमलाइ उठाएर टेबलमा राखें ।श्रीमतीलाई फोन गर्ने आँट आएन, तर नगरी बस्न सकिन। डराउँदै उसको नम्बर डायल गरें तर एनटिसी कि बहिनीले दिएको सम्पर्क हुन नसकेको जानकारी बाहेक अरु आवाज आएन । उसको दिदीको फोनमा कल गरें , नेटवर्क लागेन। उसको भिनाजु बिदेशमा थिए , छोरा छोरी हाम्रा जस्तै सानै थिए र दिदिकोमा अर्को फोन थिएन; सम्पर्कको माध्यम कि कोपिलाको कि उसको दिदीको नम्बर मात्र थियो। दुबैको फोन लागेन।

नौ नाडी गलेर आयो। कसैलाई कल गर्ने बारे सोच्न सकिनं – इश्वरलाई पुकारिन किनकि म नास्तिक थिएँ र यो अहिले म भित्र बिकास भएको शक्ति पनि दैवी कृपा नभएर मेरो आफ्नै ध्यान र मिहेनतले हो भन्ने सोच्थें। अनेक नचाहिने कुरा सोच्न थालें। एक छिनमा रेडियो खोलें — छ बज्ने बेला हुन लागेको थियो र संयोगले कुनै स्टेशनमा ट्राफिक सम्बन्धि समाचार आउने बेला भएको थियो। हत्त न पत्त त्यो एफ एम तिर घुमाएँ –” कोपिला मा रंग चढ्यो फूल हास्न थाल्यो” भन्ने गीत बजिराको रहेछ। झन डराएँ। अन्तिम गीत रहेछ; सकिन बित्तिकै ट्राफिक अपडेट सुरु भयो एक अत्यन्त दुखद घटनाको साथ् जुन मेरो लागि त बज्रपात बराबर थियो। गोंगबुबाट चाबहिल आउदै गरेको गाडीले सामाखुसीमा ५ जनालाई ठहरै बनाइदेछ – ३ महिला, दुइ पुरुष , सनाखत हुन बाँकी। म थर थर काम्न थालें – तर जाडोले हैन! जीवनमा धेरैपछि स्वफ़ुर्त पूजाकोठा भएको स्टोर रुम गएँ र रुदै भगवानको तस्विर अगाडी बिन्तीभाउ गर्न थालें – ” मेरो कोपिलालाई केहि नहोस प्रभु!” तर भित्रि मनलाई थाहा थियो कि यो व्यर्थ भनेर — मेरो छैठौं इन्द्रियले भनेको कुरा कहिले कहिँ मात्र गलत हुन्थ्यो; सिङ्क्रोनिसिटी विश्लेषण प्राय सहि नै हुन्थ्यो। रिजनेबल मनले कोपिला त्यो ३ महिला मध्ये एउटा हो भनेर भनिसकेको थियो; “आसावादी” मन त क्षीण भैसकेको थियो। यत्ति पछि आज आफुले प्राप्त गरेको शक्तिप्रति घृणा जागेर आयो।

मेरो ठाउँमा अरु भएको शायद यस्तो बेला समय व्यर्थ फालेर बस्दैन थियो होला: कि कसैलाई फोन गर्थ्यो — प्रहरिमा, हस्पिटलमा,साथीभाइ आफन्तहरुलाई; कि त दौडिडै घट्नास्थल्तिर जान्थ्यो होला; नभएपनी कम्सेकम अझै फोन ट्राइ गरेर बस्थ्यो होला। तर खै म मेरो सिन्क्रोनिसिटी आनालाइसिसमा यती कन्फिडेन्ट भैसकेको थिएँ कि जे हुनु भईसक्यो भनेर आफुलाईँ सम्झाउदै अब गर्नुपर्ने कर्तब्यको बारे सोच्नुको बिकल्प थिएन। छोरा छोरीको बारे सोच्न थालें — बिचराहरुले थाहा पएपछी के होला? कसरी सम्झाउने बुझाउने के भयो भनेर? आमा विनाको लालाबालाहरु को के हाल हुने हो? तर फेरी झिनै भएपनी मनको कुनामा बसेको आसाको झिल्कोलाई फुक्न थालें, धेरै सम्म नगरेको कामबाट: भगवानको प्रार्थना गरेर!

१० मिनट पूजाकोठामा बिताएपछी फेरी श्रीमतीलाई कल गर्न भनेर लिभिङ्ग रूम आएँ, अनी देखेँ– कोपिला भर्खर भित्र पसेकी रहिछ, हातमा झोला बोकेर। ढोका आधा खुला थियो। हत्त न पत्त अरु केहि नसोची दौडेर उसलाई अँगालो हालेर मुखभरी चुम्बनको बर्सा गर्न थालें। यती खुशी भएँ कि शायद ठुला योगी, सन्यासीहरुले भने जस्तो प्रेजेन्ट मोमेन्ट्मा बाँच्दाको चरम सुख यस्तै हुन्छ होला! “छ्या केटाकेटी घर नहुँदैमा कस्तो छाडा भाको हजुर? देखेभने के भन्ला मान्छेले? ” भनेर उसले खुला झ्याल तिर इसारा गरेर मेरो अँगालो छुटाई। जाडो महिनाको बेलुकी सवा ६ बजे, अध्यारो त थियो नै तैपनि झ्यालको सामुन्ने आर्को घरको छतमा कोहि रहेनछ; ढोकाबाट अगाडी भने हाम्रो घरको कालो मेन गेट थियो। उसले नदेख्ने गरि अध्यारोमा आफ्नो आसु पुछी झ्यालको पर्दा लगाएपछि ढोका लगाएँ र केहि नबोली कोपिलालाई फेरी अंगालो हालें अनि उसको कपाल सुम्सुम्याउन थालें। मेरो काँधमा अडेको टाउको नचलाई अनि एक हातले मेरो ढाड मुसार्दै “के भाको हजुरलाई?” मात्र भनि उसले, कुनै प्रतिकार जनाइन। मनमनै इश्वरको एउटा रूपलाई सम्झेर धन्यवाद दिएँ ।

भोलिपल्ट बिहान म ढिला उठें — ७ बजेतिर, त्यो पनि श्रीमतीले उठाएर । ध्यान गर्न थालेको ६ महिनामा पहिलोपल्ट यति ढिला उठेको थिएँ म र आज पहिलो चोटी ध्यान गर्न छुटाएँ। धेरैपछि बिहानै कोपिलाको हातको चिया खान पाएको थिएँ; पछिल्लो छ महिनासम्म उसलाई चिया र छोराछोरीलाई भिभा म आफैं बनाउथें। उठ्न बित्तिकै उसलाई हेरेर उसको हात समाई निकै गम्भीर भएर फिल्मी पारामा भनें – ” कोपिला, हाम्रो परिवार यत्तिकै सुखी छ है? तिमि, केटाकेटी सधैं मेरो साथ् भए कसम मलाइ गाडी, घर, जग्गा केहि चाहिंदैन- कुनै पावर पनि चाहिन्न। केहि पनि! मलाइ नछोड है?” रुन्चे स्वरमा भनें। त्यसपछिको मेरो श्रीमतीको प्रतिक्रिया, बाँकी बार्तालाप र अरु क्रियाहरु स्वभाविक र याँहा उल्लेख गर्न नपर्ने खालका छन्।

८ बजेतिर नुहाइवरि अनि अफिसको साथीलाई आज आउन ढीला हुन्छ भन्ने जानकारी दिएर म पशुपति गएँ — बीसौं वर्षपछि कुनै मन्दिरभित्र एक्लै र स्वेक्षाले पाइला टेकेको थिएँ। सिङ्क्रोनिसिटी डायरीलाई भने च्यात चुत पारेर हिजै राति कतै मिल्काइसकेको थिएँ।

8 thoughts on “कथाः सिङ्क्रोनिसिटी”

  1. suzee says:
    March 30, 2014 at 3:41 pm

    पिरेम कथा , लघु कथा ….भन्दा धेरै नै स्तरिय पाराले लेखिएको राम्रो सनिबार साहित्य ….., नत्र त सनिबार खाली ताई न तुई को पुङ्ग न पुच्छरको हरफ हरु हेर्नुपर्ने हुन्थ्यो !!!
    बिबेक ढकाल को लेखन शैली ठिक लाग्यो !!!!
    keep it up!!!!

    Reply
  2. Rabin Rai says:
    March 30, 2014 at 6:46 am

    Lovely story with interesting subject and great storytelling craft. I am interested in this subject and want to work further on this topic. Dear Vivek, can we collaborate? my email address is [email protected]. Thx.

    Reply
  3. hb says:
    March 30, 2014 at 6:18 am

    तर मैले नि धेरै चोटी एस्तो भोगेको छु . म जे सोची रहेको हुन्थे
    या जसलाई सोची रहेको हुन्थे ,केहि समय पछि त्यहि मान्छे
    भेट भएको छ . यो केवल संयोग मात्र हैन.
    करिब १० महिना आगाडी,
    सपनी मा मैले. मेरो बित्नु भएको
    बडी आमा हरु लैमेरो dad. संग देखे
    तेस्को २४ घण्टा पनि नभई मेरो dad. बित्नु भो .

    Reply
  4. Nirmal says:
    March 30, 2014 at 12:20 am

    जिन्दगीको बारेमा सामान्यतया चाहिने भन्दा धेरै सोचिदा यस्तो नै हुन्छ. जिन्दगीलाई जस्तो हुन्छ त्यस्तै बग्न दिनु पर्छ सबै ठिकै हुन्छ………….

    Reply
  5. santosh says:
    March 29, 2014 at 9:21 pm

    मलाई त यो कथा पढेपछि के भन्ने, कसो गर्ने कताबाट लेख्न सुरु गर्ने भयोभयो। यो ‘शनिबार साहित्य’ मा आएपनि यो कथा जस्तो छैन। माईसंसार आज साँच्चै मेरो आफ्नै संसार जस्तो अनुभूति भईरहेछ ।
    अफिसमा म संगै काम गर्ने एकजना दिदी (नाम उल्लेख नगरौँ) को बिहे भएको धेरै भएको छैन तर भिनाजु एकदम शंकालु, आफ्नै कुरा मात्र ठिक भन्ने एकोहोरो रहेछन् । आफूले भनेको नमानेको भन्दै दिदीलाई कुटपिट पनि गर्न थालेछन् । दिदीले मलाई यि कुरा बताएर के गर्ने होला भनेर
    र ठिक भन्ने एकोहोरो रहेछन् । आफूले भनेको नमानेको भन्दै दिदीलाई कुटपिट पनि गर्न थालेछन् । दिदीले मलाई यि कुरा बताएर के गर्ने होला भनेर सोध्नुभो । मलाई लागिसकेको थियो कि अब डिभोर्स नै हन्छ होला त्यसो भन्न त भएन अनि मैले भनेँ-: भिनाजुलाई एकपल्ट राम्रोसँग ससम्झाउनुपर्छ तर भिनाजुकै घरपट्टिको मान्छेले मात्रै। भोलिपल्ट दिदीले भन्नुभो-: तिमीले भनेजस्तै भयो । तेरो मान्छेसँग कुरै गर्दिनँ भने भिनाजुले।
    अहिले त साँच्चै डिभोर्स हुुने भएको छ। अहिले आएर मलाई अचम्म लागेको अर्को कुरा ति दिदीको बिहेमा जाँदा के भनौँ के भएर मैले भनेको थिएँ-: “के गर्या ए मिस!”
    यी घटनालाई संयोग मात्रै मान्ने कि माथिको लेखमा बताएजस्तै सिङ्क्रोनिसिटी भएको मान्ने !
    यस्तै घटनाहरु अरु पनि भएका छन् । हाम्रो गाउँ जाने बाटोमा प्रत्येक बर्ष एउटा गाडी दुर्घटना हुने गर्थ्यो गत बर्ष मैले अब गाडी पल्टिने बेला भो भन्ने सोच्न आएथ्यो दिमागमा । त्यसको २ दिन पछि ठ्याक्कै दुर्घटना भयो ।
    फागुनमा नेपल एयरलाईन्सको बिमान दुर्घटना हुनुभन्दा २-३ दिन अघि खै कुन कुरा देखेर/पढेर हो मेरो दिमागमा अब नेपालमा फेरी बिमान दुर्घटना हुन्छ भन्ने कुरा आएथ्यो र ट्वीटरमा लेखौँ लेखौँ जस्तो लागेथ्यो । फेरी मिलेन भने झ्याउ हुन्छ भनेर लेखिँन तर त्यसको २-३ दिनमा नै दुर्घटना भयो ।
    मलाई यहाँ उल्लेख गर्न मन लागेको अर्को कुरा : ज्योतिषशात्रले भन्ने कुराहरु सिङ्क्रोनिसिटी अन्तर्गत पर्न सक्छ कि सक्दैन ? कहिलेकाहीँ त लाग्छ म मा कुनै दैवी शक्ति आएको हो कि ! तर गुगलमा सर्च गर्ने, खोजिनिती गर्ने कार्य चाहिँ गरिँन ।
    दाँया आँखा फर्फराउँदा साथी भेट हुने , देब्रे आँखा/हात चिलाउँदा खर्च हुने कुराहरु कतिपय अबस्थामा मिल्न गएका छन् त्यसलाई के भन्ने !

    Reply
  6. Ram Adhikari says:
    March 29, 2014 at 6:27 pm

    कुनै संयोग ले गर्दा कुनै कुरा मिल्न गयो भन्दैमा हरेक कुरा मिल्न सक्दैन , अर्थात् ४२० को अर्थ गाँजा हुनु अनि भाइको याद आउनु त्यहि समयमा फोन गर्दा उ पनि गाँजा खादै गरेको हुनु सबै संयोग थिए, अनि कोपिला पो टिपिछे भन्दा आफ्नी श्रीमतीको नाम पनि कोपिला नै भएका कारणले नचाहिदा कुरालाई मनमा खेलाउनु यस्ता सबै कुरा खाली मनको भ्रम मात्र हुन्. न कुनै सक्ति हुन्छ न कुनै भबिस्य जान्न सकिन्छ. यी यस्ता कुराको खोजि गर्ने मान्छे नै धेरै पागल बनेका उदाहरण हरु थुप्रै छन्. त्यसैले तपाइले पनि अनाबस्यक कुरा हरुलाई मन मा नल्याउनु होस् आजै देखि सकारात्मक सोच राख्नुस.

    Reply
  7. SURAZ says:
    March 29, 2014 at 2:44 pm

    thanks for d new taste…….worth reading…..

    Reply
  8. Jeevan Sharma says:
    March 29, 2014 at 2:21 pm

    ज्ञान बिज्ञान ध्यान कर्म सबै छोड , यो सब प्रभु को लिला हो , लाग पशुपति तिर , येही भन्न खोजेको हो यो कथा ले ? मलाई त मन परेन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme