Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकप यात्राको सुखद अन्त्य, अफगानी हराउँदै दोस्रो

Posted on March 21, 2014March 21, 2014 by Salokya

sompalबिहीबारको दिन क्रिकेटप्रेमी नेपालीका लागि स्मरणीय रह्यो। टि-२० मा अहिलेसम्म हराउन नसकेको र अरु ढाँचाका क्रिकेटमा पनि लगातार ६ खेलमा पराजय भोग्न बाध्य बनाउने अफगानिस्तानलाई नेपालले नौ रनले पराजित गर्‍यो। यो ठूलो उपलब्धि थियो। लगत्तै अर्को खेलमा आयोजक बंगलादेशलाई एसोसिएट टिम हङकङले १०८ रनमै समेटेपछि समूह प्रथम हुँदै नेपालै पो अर्को चरण सुपर टेनमा पुगेर भारत, पाकिस्तान, अस्ट्रेलिया र वेस्ट इन्डिजसित खेल्ने हो कि भन्ने आशा पलायो। हङकङले १३.१ ओभरमा विजय लक्ष्य भेट्टाएको भए त्यो संभव पनि हुन्थ्यो। त्यसो हुन नसकेकोले पराजित भए पनि बंगलादेश रनरेटका आधारमा समूह प्रथम हुँदै सुपर टेनमा पुग्यो। अङ्क तालिकामा बंगलादेश र नेपाल बराबरी ४ अङ्कमा छन्। खैर, सुपर टेनमा पुग्ने नेपालले सोचेको थिएन नै। नेपाल कप्तान पारस खड्काले भने जस्तै विश्वलाई आफ्नो खेल देखाउन र चिनाउन आएको थियो। हङकङलाई ८० रनले हराउनु अनि बंगलादेश जस्तो टेस्ट खेल्ने देशसँग २० ओभरै टिकेर खेल्नु र चीर प्रतिद्वन्द्वी अफगानिस्तानलाई पहिलो पटक टि२० मा हराउनु सानोतिनो उपलब्धि हैन। नेपाली खेलाडीको खेलले धेरैको मन पनि जितेको छ। यो झनै ठूलो उपलब्धि हो।

भिडियोहरु हेर्नुस्-

• म्यान अफ दि म्याच जितेन्द्र मुखियाको बलिङ

• अफगानिस्तानका विकेट यसरी झरे

• खेलका टप फाइभ क्षण

•जितेन्द्र मुखियाको बलिङ प्याकेज

•म्याच प्रिजेन्टेसन

•पारस खड्का के भन्छन् ? (हाम्रा क्याप्टेनको सन्तुलित प्रतिक्रियाका लागि यो भिडियो अवश्य हेर्नुहोला। उनी भन्छन्- ‘एउटा म्याच जित्यो भन्दैमा धेरै excited हुनुपर्ने देख्दिनँ, हाम्रो लक्ष्य ठूलो छ’

•खेलका प्रमुख अंश

यस्तो थियो नेपालको ब्याटिङ
पछिल्ला छ वटा क्रिकेट खेलमा नेपाललाई अफगानिस्तानले तगारो हाल्दै आएको थियो। सँधै नेपालविरुद्ध ब्याटिङ र बलिङमा उनीहरु छाउँथे र नेपालले दबाबमा परेर खेलेको देखिन्थ्यो। अफगानिस्तान आइसिसीको एसोसिएट सदस्य राष्ट्रमध्ये सबैभन्दा माथिल्लो श्रेणीमा रहने टिम पनि हो।

यस पटक भने अफगानिस्तानसँग नेपाल दबिएर खेलेन। नेपालले खेलेका सबै तीन वटा खेलमा टस हारेको थियो। यस पटक पनि टस हारेर ब्याटिङका लागि निम्त्यायो अफगानिस्तानले।

क्रिजमा आए ओपनर सुभाष खकुरेल र सागर पुन। तर १९ रनको साझेदारी मै यो जोडी टुट्यो। ढिलो सुरुवात गरिरहेको नेपालको लागि सागरको विकेटले झट्का दियो। उनले ८ रनमात्रै जोडेका थिए।

खकुरेललाई साथ दिए ज्ञानेन्द्र मल्ल आए। छैटौँ ओभरमा ज्ञानेन्द्रले स्ट्राइक पाउने बित्तिकै समिमुल्लाह शेनवारीको बलमा १८ रन जोडेर सुस्तिएको रन रेटलाई बढाए। उनले पहिलो, चौथो र पाँचौँ बलमा चौका र अन्तिम बलमा लङ अनको बाउन्ड्री बोर्ड बाहिर पुग्ने गरी छक्का हिर्काए।

तर ज्ञानेन्द्र आठौँ ओभरको चौथो बलमा रिस्की सट खेल्ने क्रममा अफगान कप्तान नाबीको बलमा आउट हुन पुगे। उनले २२ रन मात्रै बनाउन सके। ज्ञानेन्द्र पछि आएका कप्तान पारस खड्का समेत पाँच बलमा एक रनमात्र बनाई आउट हुन पुगे। पारस आउट हुँदा स्कोरबोर्डमा नेपालको रन नौ ओभरमा ५३/३ थियो।

नेपालको इनिङलाई सम्हाल्ने काम गरे त्यसपछि आएका शरद भेसावकर र सुवास खकुरेलको जोडीले। यो जोडीले चौथो विकेटका लागि ७६ रनको साझेदारी गर्‍यो।

१६ औँ ओभरमा भेसावकरले तीन वटा चौका र दुई वटा दुई रन लिएर १६ रन बनाए। त्यसअघि १५ औँ ओभरमा खकुरेलले एक छक्का र एक चौकासहित १६ रनै बनाएका थिए।

दुई ब्याट्सम्यान जमिरहेका बेला १९ औँ ‌ओभरमा नेपालले धक्का सहनु पर्‍यो। पहिलो बलमा खकुरेल र तेस्रो बलमा भेसावकर आउट हुन पुगे। अन्तिम केही बलमा नेपालको रन बन्ने संभावना यसरी कम भयो।

नरेस बुढायर र विनोद भण्डारी नयाँ ब्याटसम्यानका रुपमा क्रिजमा थिए। अन्तिम ओभरमा बलिङ गर्न कप्तान नाबी नै आए। पहिलो बलमा नरेसले कुनै रन लिन भ्याएनन्। दोस्रो बलमा एक रन लिएपछि स्ट्राइकमा विनोद आए। तेस्रो बललाई उनले लेगसाइडतिर हिर्काएर बाउन्ड्री कटाए। अर्को दुई बलमा कुनै रन बनेन भने अन्तिम बलमा एक लेग बाई आयो।

५ ओभरको क्षतिमा नेपालले कूल १४१ रन बनायो।

यस्तो थियो बलिङ
अफगानिस्तान जस्तो टिमका लागि १४२ रनको लक्ष्य कठिन होला ? नेपाली बलिङ आक्रमण सुरु नभएसम्म भन्न कठिन थियो।

चौथो ओभरको पहिलो बलमा नै सोमपाल कामीले करिम सदिकलाई आठ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरिदिए।

पाँचौँ ओभरमा त झन् म्यान अफ दि म्याच जितेन्द्र मुखियाले तहल्कै मच्चाए। तेस्रो बलमा मोहम्मद सहजाद र चौथो बलमा नजिबुल्लाह जदरनलाई आउट गरेर ह्याट्रिक नजिक पुगे। जदरनले हावामा उडाएको बललाई मिड अन नजिकै पक्रन जितेन्द्र स्वयं दौडेका थिए। तर मिड अफबाट कप्तान पारस खड्का दौड्दै आएको देखेपछि उनले हाँस्दै बाटो छाडिदिए। पारसले क्याच गरी नेपाली समर्थकको जोसलाई बढाए।

कप्तान पारस खड्का लेक्याच गर्दा जितेन्द्र मुखिया हाँस्दै। फोटो सौजन्यः आइसिसी
कप्तान पारस खड्का लेक्याच गर्दा जितेन्द्र मुखिया हाँस्दै। फोटो सौजन्यः आइसिसी

नवौँ ओभरको दोस्रो बल। शक्ति गौचनले नवरोज मंगललाई बल फ्याँके। उनले उडाएको बललाई सर्ट फाइन लेगबाट डिप स्क्वायर लेग बाउन्ड्रीतिर दौड्दै गए, स्क्वायर लेगको फिल्डरलाई कराएर सतर्क गराउँदा पनि आँखा बलमै थियो। अनि बायाँतर्फ डाइभ गरी च्याप्पै समाते। क्रिकइन्फोका मोहम्मद इसामले यसलाई १९८३ को विश्वकपको फाइनलमा कपिल देवको क्याचसँग तुलना गरेका छन्। यसपछि अफगानिस्तान ४७ रनमा ४ विकेटको क्षतिमा थियो।

चार बलपछि शक्तिले विपक्षी कप्तान नाबीको महत्त्वपूर्ण विकेट एलबिडब्ल्यु धरापमा पारी लिए।

महँगो बलिङ गरिरहेका वसन्त रेग्मीले पनि ३६ रन बनाएर नेपाललाई चुनौति दिइरहेका सफिकुल्लाहलाई सागर पुनबाट १५ औँ ओभरको पहिलो बलमा क्याच आउट गराए।

अन्तिम दुई ओभरमा अफगानिस्तानलाई ३० रनको आवश्यकता थियो १९ औँ ओभरमा बलिङ आक्रमणका लागि जितेन्द्र मुखिया आए। सुरुका तीन बलमा एक रन दिएपछि चौथो बलमा उनले १४ रन बनाएका समिमुल्लाहलाई आउट गरे। आकाशमा उडेको बल समात्न स्वयं मुखिया अघि बढेका थिए। उनी अर्का फिल्डरलाई हट्न इशारा गर्दै थिए। दुई फिल्डरबीच क्याच समात्न कन्फ्युज भइरहेकै बेला पारस मिड अनमा आएर फरवार्ड डाइभ गर्दै क्याच समात्न सफल भए।

अन्तिम ६ बलमा २४ रनले अफगानिस्तान विजय हुनसक्थ्यो। सबै चौका बने यो संभव पनि थियो। बिग हिट गर्न कुनै कसर नछाड्ने अफगानी खेलाडीको भर पनि हुँदैन थियो। यो महत्त्वपूर्ण ओभरमा बलिङ गर्न आए सोमपाल कामी।

पहिलो बलमा अस्गर स्टानिकजाइले चौका बनाए।
दोस्रो बल, त्यो पनि चौका।
तेस्रो बलमा २ रन बन्यो।
चौथो बल पनि चौका। अब बाँकी दुई बलमध्ये एउटामा छक्का बने खेल अफगानिस्तानको पक्षमा जान सक्थ्यो।

सबको मुटु ढुक ढुक।
पाँचौँ बल- बाउन्ड्री नजिकै पुग्यो तर ज्ञानेन्द्र मल्लको हातमा परेर अस्गर क्याच आउट भएपछि नेपाल विजयी भयो।
छैटौँ बलमा जितका लागि १० रन आवश्यक हुन्थ्यो अफगानिस्तानका लागि, जुन असंभव थियो।

यसरी नेपालले अफगानिस्तानविरुद्धको खेल नौ रनले जित्यो। देश र विदेशमा रहेका नेपाली क्रिकेटप्रेमीहरुले अन्तिम ओभरतिरको यो रोचक क्षण र विजयलाई धेरैपछिसम्म याद गरिरहने छन्।

जोशको माहौल टोलटोलमा ठूलो पर्दामा हेर्नेहरु मात्र हैन, न्युजरुममा समेत थियो। अन्नपूर्ण पोस्टको दृश्य यस्तो थियो

.@CricketNep beats @ACBofficials by 9 runs in a thriller in Group A of #wt20 #AfgvNep #OneBigOver pic.twitter.com/DQAJvIsBIR

— ICC (@ICC) March 20, 2014

आइसिसीले एउटा समूहबाट दुई वटा टिम अर्को चरणमा जाने बनाएको भए नेपाल पक्कै पनि जान्थ्यो। तर एसोसिएट टिमलाई सौताको छोरा जस्तो व्यवहार गर्ने भएकोले नेपालले विश्वकपमा खेलेर पनि टेस्ट खेल्ने राष्ट्रका रुपमा बंगलादेशसँग मात्रै खेलेर अनुभव बटुल्ने मौका पायो।

क्रिकेट भनेको तथ्याङ्कको पनि खेल हो। अङ्क तालिकामा समान रहे पनि नेट रन रेटमा पछाडि परेपछि नेपाललाई पछाडि पारेर हङकङसित हारे पनि बंगलादेश सुपर टेनका लागि छनौट भयो।
netrr

मन जित्न सफल विश्वकप यात्रा
नेपालले विश्वकप यात्रामा दुई खेल जित्यो। मन भने धेरैको जित्यो। स्वदेशी र विदेशी दुवैको।

नेपाल र नेपालीलाई चिनाउन सफल भएर नेपाली टिम फर्कने सम्बन्धि पवित्रा राउतले चट्गाउँबाट लेखेकी छिन्-

नेपाली खेलाडीले मैदान बाहिर देखाएको अनुशासन र आत्मविश्वास अनि अन्तर्वार्ताका क्रममा कप्तान पारस खड्का र अन्य खेलाडीले देखाएको भद्र र आत्मविश्वासी प्रतिक्रियाले पनि धेरैको मन जितेको छ।

‘पहिलो विश्वकपमा पनि तपाईं धेरै आत्मविश्वासी देखिनु हुन्छ नि, यसको कारण के होला?’, एक बंगलादेशी पत्रकारले सोधेका थिए। त्यसको जवाफमा पारसले भनेका थिए, ‘हामी देशको प्रतिनिधित्व गरेर सिक्न आएका हौं, यसमा अत्तालिनुपर्ने कारण छैन। क्रिकेट कुनै पनि खेलाडीको नामले होइन, बल र ब्याटले खेलिन्छ।’

शरद भेसावकरले पनि भने, ‘क्रिकेट हाम्रा लागि एकताको प्रतीक हो, अन्य टोलीका जस्ता हामीसँंग फरक देशका खेलाडी छैनन्। हामी नेपालमै जन्मिएका नेपाली हौं र राष्ट्रका लागि एक ढिक्का भएर खेल्छौं। सीमित साधन स्रोत भए पनि यसलाई हामी आफ्नो कमजोरी लुकाउने बहाना कहिल्यै बनाउँदैनौं।’ थप विवरण यहाँ

भारतीय पत्रकार तथा कमेन्टटेटर आनन्द वसु

My admiration for Paras Khadka is growing by the day. Why does he not have an IPL contract? Scouts not watching? #BdeshvNep #wt20

— anand vasu (@anandvasu) March 18, 2014

भारतीय क्रिकेट कमेन्टेटर

irrespective of what happens in the next 13 overs, nepal have won a lot of hearts here.

— Harsha Bhogle (@bhogleharsha) March 20, 2014

अफगानिस्तान क्रिकेट बोर्ड

Congratulations Nepal for their Great Batting Bowling & Fielding they were brilliant in all departments Nepal beat Afghanistan by 9 runs .

— Afghan Cricket Board (@ACBofficials) March 20, 2014

Paras Khadka gets a lot of credit for Nepal's success and rightly so but cannot understate the impact that coach Pubudu Dassanayake has had.

— Peter Della Penna (@PeterDellaPenna) March 20, 2014

USA used to be neck and neck with Nepal on the playing field before Dassanayake came along. Now Nepal has comfortably left USA in the dust.

— Peter Della Penna (@PeterDellaPenna) March 20, 2014

यो मन त मेरो नेपाली हो #TeamNepal #GoNepalGo @nepalcricket pic.twitter.com/d5yO0c2uIG

— Akur Rimal (@fluctuating) March 20, 2014

28 thoughts on “विश्वकप यात्राको सुखद अन्त्य, अफगानी हराउँदै दोस्रो”

  1. kale krishna says:
    March 22, 2014 at 2:46 pm

    सचिनले सन्यास लिए पछि मैले पनि क्रिकेट हेर्न सन्यास लिएको थिए! तर अहिले फेरी नेपाली टिमले गर्दा क्रिकेट मा Interest जागेर आयो! पारसको त्यो confident batting देखेर नेपाली टिम निकट भबिस्यमा केहि गर्छ कि जस्तो लाग्यो!
    फेरी एकचोटी बधाई छ नेपाली क्रिकेट टिम इतिहास रचेको मा!!!

    Reply
  2. Milan says:
    March 22, 2014 at 8:00 am

    सबैले नेपाली Team को खेल को प्रसंसा गर्यो, गर्नु पनि पर्छ / तर coach को कसैले पनि नाम समेत उल्लेख गरेन / मेरो बिचारमा coach को पनि एकदम ठुलो योगदान छ / खोला तर्यो लौरो बिर्स्यो गर्नु हुन्दैन / सायद हारेको भए चाहि गालि गर्ने होला उसलाई /

    Reply
  3. रैथाने says:
    March 21, 2014 at 9:32 pm

    ज्यान छाडेर खेलेको रैछ भन्नेकुरा देखि बुझे यी माथि राखेका केहि भिडिओ हेरे पछि!
    तर यतिमै हामि मख्ख नबनाऊ है!
    ह्या इन्डियालाई कमसेकम एक पटक हरायको हेरेर मर्ने चाहना छ!
    बंगलादेशलाई त के भो र अर्को भेटमा पक्कै हराउछ भन्ने लाग्यो!
    तर इण्डिया संग भेट हुन पनि सकिरहेको अबस्था छ तेसैले लामो बाटो उक्लिनु छ, तै पनि नेपालि क्रिकेटको जुन तरिकाले अगाडि बढी रहेको छ यो गति कायम राख्दै अलिकति बल खेलाडीले गर्ने र अलिकति थप स्पोंसोर गरि शक्ति थपिदिने अनि र अलिकति हामि समर्थक हरुले झिन्झोरने हो भने इन्डियालाई छिटै भेटाइञ्छ र दुइ चार पालि खेली तिनेरुको भेउ पायामा हराउन पनि सकिन्छ भन्छु म त क्या!
    देश र क्रिकेट कता पुग्ला त्यो चिन्ता पिर पछि नै गरौला तर यहा एक दुइ बंगाली र दुइ चार इण्डियनको शेखी न झारी मर्ने मन छैन मलाइ!

    धेरै चाक् नफुकौ साथीहो!
    अब चिन्ता त क्रिकेटको यो स्पिरिट र गतिलाई नेपाल ले धानी राख्न सक्छ कि सक्दैन भन्ने पनि छ!

    Reply
  4. Santosh Lamichhane says:
    March 21, 2014 at 8:58 pm

    Besides Paras’ great skill in the sport, he also demonstrates a profound understanding of Nepal’s standing on international arena, how various structures of cricket councils and associations affect the team, how a team should make a strategy based on ground realities, and how media and fans should be dealt with. It feels great to see such a mature and intellectual person taking the lead in sports. Great way to inspire new generation; to subtly say, one has to have great understanding of things and education, in addition to skills in the sport itself.

    Reply
  5. B. K. Thapa says:
    March 21, 2014 at 7:35 pm

    अरु त होइन सुपर १० मा गएर एक चोटी भारतलाई हराएको हेर्न सारै मन थियो !!!

    Reply
  6. Maheswor says:
    March 21, 2014 at 7:09 pm

    ” ए बलले नहान मेरो बाख्रालाइ लाग्ला मेरो बाख्रा मर्यो भने म त्यहि बलले तिमीहरुलाई पनि ………” भन्ने धम्किपूर्ण गालि खाँदै क्रिकेट खेलको माध्यमबाट नेपाल र नेपालीलाई विश्व सामु चिनाउन सफल नेपाली क्रिकेट टोलिलाइ हार्दिक बधाई

    Reply
  7. Kamal bishwokarma says:
    March 21, 2014 at 6:55 pm

    खुशीको आँशु थाम्न सकिन, साधु बाद!!!!

    Reply
  8. Priti Rana says:
    March 21, 2014 at 6:52 pm

    मैले आज ‘स्याबास’ लेखे
    आज मैले पक्का हजुर
    यो देशको खुसि देखे |

    Reply
  9. gopal kandel says:
    March 21, 2014 at 6:10 pm

    नेपाली क्रिकेट टिमको प्रदर्शन र प्रगति बाट खुसि त लागेको छ सबैलाई तर अब प्रगतिसंग यसमा पनि राजनीति घुस्ने छ , माओबादीको अधिनायकबाद , एमालेको भ्रस्टचार अनि कांग्रेस को लाथालिंगाबाद को प्रतक्ष्य असर पर्ने छ , बयावासयिक होइन राजनीतिक नियुक्ति हुने छ र यिनीहरुले जसरि राष्ट्रलाइ आपंग बनायक छन् तेसैगरी क्रिकेट लाइ पनि बर्बाद बनाउने छन् .

    Reply
  10. गोपी says:
    March 21, 2014 at 2:12 pm

    “गर्भ” ले फुलेको भुडी भन्दा ठुलो भएर
    फुल्यो मेरो छाती “गर्ब” ले …
    एउटा पठानी सित अस्तिदेखि निकै टक्कर
    परिराथ्यो क्रिकेट को बारेमा…
    हिजो निच्च पर्यो बिचरो….

    Reply
  11. Kishor says:
    March 21, 2014 at 1:23 pm

    अब खेलाडीहरुको भबिस्यको लागि सक्नेले केहिनकेहि गर्ने पर्छ ! बिश्वकै धनीमा पर्ने भनिएका चौधरी महोदयले पनि हरेक खेलाडीको लागि केहि गर्नुहोस भनेर आग्रह गर्न चाहन्छु / किनकि हाम्रा खेलाडीहरु हाम्रो र देश को लागि आझै धेरै काम गर्नु छ ! भिभिन्न बिदेसी मिडिया लाई आधार मानेर भन्ने हो भने नेपाली क्रिच्केट र खेलाडीहरुलाई बलियो आर्थिक श्रोतको आभाब रहेको छ ! पैसाको कमीले अगि बढिरहेको नेपालको यो आवसरलाई रोकिन दिन हुदैन….!

    Reply
  12. Prabin says:
    March 21, 2014 at 12:16 pm

    बेलायेत बाट सुरु भै पछि येसका उपनिवेश राष्ट्र हरु अस्ट्रेलिया, न्यु जिल्यान्ड, वेस्टइन्दिज, साउथ अफ्रीका, भारत, पाकिस्तान मा फैलिएको क्रिकेट अब SOUTH ASIAN गेम जस्तो हुन लग्यो! जहाँ पहिलेनै टेस्ट मान्यता प्राप्त देश क रुप मा पाकिस्तान, भारत, श्रीलंका र बग्लादेश त थिए नै अब येस्मा अफगानिस्तान र नेपाल पनि थपिने भो! अब SOUTH एसियन ८ देश हरु मा भुटान र मल्दिब्स ले मात्र केहि गर्न बाकी छ! जय नेपाली क्रिकेट टिम!

    Reply
  13. DINESH says:
    March 21, 2014 at 12:12 pm

    नेताहरुले दशकौं दिन नसकेको खुसि केटाहरुले दस दिन मा दियो त्यो पनि पुरा विश्व को अगाडी जय हो नेपाली टिम केटा हरुले ज्यान दिएर खेलेको देख्दा आँखा बाट आँसु आयो

    Reply
  14. Narayan says:
    March 21, 2014 at 10:11 am

    छक्का, चौका, विकेट, एउटा ले बल हुत्याउने अर्काले मुग्रो ले हान्ने …..खासै केहि interest थिएन क्रिकेट मा तर म फिदा भै सके त्यहि क्रिकेटको …..केटाहरुको खेलले मेरो मन पुरै परिबर्तित गर्दियो….कारण तिनीहरुले देशलाइ चिनाए /

    Reply
  15. bakullo says:
    March 21, 2014 at 9:28 am

    जोसिएर आए केटाहरु मैदानमा
    रन रेट त सुस्तै थियो सुरु सुरुमा
    तर सुबासको सोलिड डिफेन्स
    अनि ज्ञानेन्द्रको छक्का र चौकामा
    चालिस त मजाले कटिहाल्यो नि पावर प्लेमा

    फेरी कुरा बिग्रन थाल्यो बिचमा
    ज्ञानेन्द्रको रिभर्ष स्वीप्ले गरेन काम
    पारसको त सजिलै भो काम तमाम
    लड्खडायो इनिंग बाह्र तेह्र ओबरमा
    फ्यान भए निराश
    अब सबै सरद र सुबासको आशमा

    फेरी सुस्त सुस्त बन्न थाल्यो पार्ट्नर्शिप
    एक छेउतिर अड्डा जमाये सुवासले
    अर्को छेउ बाट बजाउन थाले शरदले
    चौका र छक्का त दायां बाया उड्न पो थाल्यो
    हेर्दा हेर्दै एकै ओभरमा अठार रन बनी हाल्यो

    बन्न त बन्यो ढुलमुल गर्दै
    १४१ रनको लक्ष्य
    अब के अफगानिस्तानलाइ
    रोक्न बलर छन् त हाम्रा दक्ष्य ?

    जुक्ति लगाए कप्तानले
    झारे स्पिनर सुरुमै
    अफगानी ओपनरले
    हानी दियो २ वटा चौका पहिलो ओबर मै

    अनि आए हाम्रा फस्ट बलर हरु
    सटिक लाइन र लेन्थमा
    अनि त अफगानको के लाग्थ्यो
    विकेटको त बर्षात भयो चीतागोंगमा
    हेर्दाहेर्दै ५० रनमा त ५ विकेट हाम्रो हातमा

    अनि त के चाहियो केटाहरु त झन् हौसिए
    यता पनि डाइव उता पनि डाइव
    गौचन र पुन को स्पिन अगाडी
    अफगानी ब्याट्स्मनको भयो ब्रेन फ्राइड

    मुखियाको योर्कर मलिन्गाको भन्दा के कम?
    आखिरमा केटाहरुले देखाई छाडे आफ्नो दम
    कोशिस त गर्यो लास्टमा अफगानिस्तानले पनि
    तर कोशिस भयो थोरै कम
    रचिहाले केटाहरुले एतिहासिक क्षण |

    बधाई छ केटा हो |

    Reply
    1. Sailendra Thapa says:
      March 21, 2014 at 11:54 am

      यो कविता त नेपाली पाठ्यक्रम मा राख्नु पर्छ जस्तो लाग्यो है मलाई .

      Reply
    2. neerose says:
      March 21, 2014 at 11:36 pm

      यो बकुल्लो लाइ,
      ‘छड्के कबि’ को उपाधि दिए मैले ल!

      Reply
  16. premji says:
    March 21, 2014 at 9:26 am

    कहिलै क्रिकेट नहेर्ने मैले समेत गत दुइ खेलको लाइव स्कोर हेरेर बसें | नेपाली टिमलाइ बधाई र देशको नाम उँचो राखेकोमा धन्यबाद पनि !

    Reply
  17. Kalyan says:
    March 21, 2014 at 9:18 am

    Cricket is the game of gentleman. This quote has got the real meaning.And Nepal provided the meaning by the discipline they showed in the field and outside the field.

    Reply
  18. Suman Bjra. says:
    March 21, 2014 at 8:12 am

    क्रिक्केटका समपूर्ण टोलि लाई धेरै धेरै शुभकामना नेपाली को नाम बिस्वो मा फैलाएको मा आज नेपालीहरु पैसा को लागि देश बेचने अनि सरनार्थी बन्नेहरु कम छैन तर देशको सेवागारे मेहेनत गररे देखाए नेपाली ले हामीले पनि गर्न सक्छु भनेर , अनि टिमका प्रसिचेक लाई पनि धेरै धेरै धन्बाद /

    Reply
  19. डिल्ली says:
    March 21, 2014 at 5:26 am

    सबैलाई खुशी तुल्याएको छ । बिपक्षी टिमलाई अब नेपालसँग पनि बलियो प्रतिस्पर्धा गर्नु पर्छ भन्ने सन्देश दिन सक्नु सानो कुरा होइन । सलाम छ नेपाली टोलीलाई ।

    Reply
  20. विकु सिंह says:
    March 21, 2014 at 3:53 am

    अब सबै जना एरपोर्टमा स्वागत गर्न जाउ है | नेपाली हुनुमा गर्ब आज जस्तो कहिले भएन |

    Reply
  21. मणि says:
    March 21, 2014 at 3:31 am

    हार्दिक शुभकामना समस्त नेपाली क्रिकेट समुहका सदस्य अनि नेपाली क्रिकेट प्रेमीलाइ!
    अब क्रिकेटका निक्कै प्रतिभाहरु उत्पादन हुनेछन हाम्रो देशमा |

    Reply
    1. मणि says:
      March 22, 2014 at 5:54 pm

      रातो लाउने मान्छे को होला है? मुर्खसंग भगवान नि डराउछन भन्थे, हो क्यारे!

      Reply
  22. binay says:
    March 21, 2014 at 2:55 am

    म लुकेर खेल्न जादा सधै गाली गर्ने मेरी हजुरआमाले आज क्रीकेट हेर्नुभएछ क्यारे मुजा परेका गाला तन्काउदै पारसलाई T.V मा देखाएर भन्नु भयो :- जा नाती यो पैसाले तेस्तै काठको फलेक अनी बल किनेर ति बाबु जस्तै बनी देशको नाम राख्नु । धन्य पारस तिम्रो मेहनतले आजकल बाबु-आमाले खेल्न नि प्रेरित गर्न थाले । तिम्रो जय होस् !

    Reply
  23. bijay says:
    March 21, 2014 at 2:31 am

    यो जित कसको
    नेपालको
    हिप हिप हुर्रे

    Reply
  24. Shakti Raj Pandey says:
    March 21, 2014 at 2:26 am

    नेपाल क्रिकेट टिम को सनसनीपूर्ण प्रदर्शनले गर्दा आज सम्पूर्ण नेपालीको खुसि को सीमा छैन , धन्यवाद नेपाल क्रिकेट टिम

    Reply
  25. kedar says:
    March 21, 2014 at 2:11 am

    क्रिकेटमा खासै रुचि नभएको मान्छे म, आज पुरै क्रिकेट हेरें त्यो पनी मच्ची मच्ची कराउंदै, ख्याल स्वाद आएन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme