Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ल बुझौं न त डीएनए को भाषा

Posted on March 20, 2014June 30, 2014 by विज्ञान बा

(गौतम ‘उदय’ ले हरेक आइतबार प्रस्तुत गर्ने सन्डे साइन्सको पहिलो ब्लगपछि सम्बन्धित बिषयमा अनुसन्धान गर्नुका साथै विश्वविद्यालयमा पढाउने एक प्राध्यापकले पनि माइसंसारका लागि नियमित ब्लग लेख्ने वाचा गर्नुभएको छ। उनी अहिलेलाई आफ्नो उपनाम ‘विज्ञान बा’ बाट मात्र परिचित हुन चाहन्छन्)

dnaकमेन्टहरु हेर्दा माइसन्सारका पाठकहरुले बिज्ञान सम्बन्धि लेखहरु स्वागत गरेको हुदा केहि लेखौं भन्ने लाग्यो। नेपालीमा बिज्ञानका लेख लेख्न कठिन छ, किनकि बैज्ञानिक शब्दहरु हाम्रो भाषामा उल्थ्याउंदा पनि के के नमिलेको जस्तो हुन्छ। मैले यहाँ कहिँ बाट उल्था नगरी आफैले सरल भाषामा आफुले जाने अनुसार प्रस्तुत गर्ने जमर्को गरेको छु। लेखमै सबैले बुझ्ने गरी विज्ञानको कुनै पनि कुराको ठ्याक्कै बर्णन त गारो होला तर मोटा-मोटी बिज्ञान चाही सहि रहोस भन्ने प्रयास गर्दछु। ठुला ठुला सिद्धान्त सरल भाषामा बताउन गार्हो पनि हुन्छ, किनकि कतिलाइ त अत्यन्त हिसाब घुसाउन पर्छ बर्णन गर्न पनि। आफैले पनि हेर्दै, उल्था गर्दै लेख्नु पर्छ, जसको लागि प्रसस्त समय लाग्छ। त्यहि भएर अलि बुझेको र बुझाउन सजिला कुराहरु राख्ने प्रयास गरेको हुँ।

शुरु गरौ डीएनए बाट। तर यसको सुरुवात अलि घुमाउरो पाराले गरौ।

तपाइँ हिमाल चढ्न जानु भयो भने बेस-क्याम्प पुगेको एकै दिनमा सिधै टाकुरामा हानिनुको सट्टा एकदिन अलिकति माथि चढेर ओर्लनु हुन्छ, बास बस्नु हुन्छ अनि फेरी अर्को दिन चढ्नु हुन्छ ओर्लनु हुन्छ, केहि दिन यसो गरे पछि मात्र तपाइँ टाकुरामा चढ्न जानु पर्छ। किन? किनकि तपाईलाइ उचाईमा बस्ने बानि पर्नु पर्छ। नत्र लेक लाग्ने भन्छन नि, फतक्क ज्यान गलेर आउने, वाक-वाक हुने, रिंगटा लागेर आउने, त्यहि हुन्छ। त्यो भएको अक्सिजनको कमीले हो। शरीरमा सक्ति प्रदान गर्न अक्सिजन चाहिन्छ तर जति उचाइ चढ्दै जानुहुन्छ त्यति अक्सिजन पातलिएर जान्छ अनि पुग्दैन। किनकि तपाइँ १३०० मिटरको उचाईमा काठमाडौँमा बस्ने मान्छे, एकै चोटी ५००० मिटरमा पुग्दा त फरक परिहाल्छ। तपाइँ हिमाली भेगमै बस्नु हुन्छ भने लेक लाग्ने कुरै भएन, नत्र किन बस्नु हुन्थ्यो र हैन ? यसो किन भयो त ? यो हो बातावरण र परिस्थिति संगको घुलमिल। हजारौ वर्षदेखि यहाँ बस्नेहरुमा अक्सिजनको मात्रा कम भए पनि फरक नपर्ने। त्यसको लागि शरीरले धेरै रगत (रातो सेल ) बनाउने रहेछ। अरु कुरा हरुपनि छन् जस्तै बिपिजी भन्ने मलिकुल, जुन बढेको खण्डमा अक्सिजन कम हुने बेलामा सजिलो हुने। यस बारेमा मात्रै किताबै हुन्छन भने अहिले सबै बर्णन गर्न गारो छ। तर पनि सार के भने केहि दिन उचाइमा तल माथि गर्दा पनि तपाइको शरीरले अक्सिजनको कमि बुझेर रगतको रातो सेलको संख्या बढाउन थाल्दो रहेछ।

रातो सेलमा के छ त्यस्तो कि कम अक्सिजन हुदा सजिलो पार्ने ?

त्यो हो शरीरमा अक्सिजन बोकेर हिड्ने एउटा सुक्ष्म-यन्त्र जसलाई हिमोग्लोबिन भनिन्छ। यो बडो अचम्मको गुजुल्टो आकारको हुन्छ। यसमा ४ वटा फलामका अणु ४ तिर बसेका हुन्छन। अक्सिजन फेरी फलाममा सजिलै टासिने। हुन्छ नि, एउटा फलामको काटिलाई बाहिर हावा-पानीमा केहि दिन छोड्यो भने खिया लागेर रातो हुने। हो त्यस्तै हो एक किसिमले। रगत रातो भएको पनि फलाममा अक्सिजन जोडिएर हो। अक्सिजन नहुने हो भने त्यो अलि निलो पो देखिन्छ त — जस्तो कि थिलिएको ठाउमा या अझ मृत शरीरमा।

अनुमान गरिसक्नुभयो होला- हिमोगलोबिन रगतमा हुने र रगत शरीरभरि संचार हुने, भनेपछि यसैले नै फोक्सोबाट अक्सिजन बटुलेर हाम्रा कोष-कोषमा पुर्याउने रहेछ। कोष -कोष हरुबाट फेरी कार्बन डाइ अक्साइड ल्याएर फेरी फोक्सो बाटै बाहिर फाल्ने। स्वास-प्रस्वास भयो यो। रक्त संचारको चित्र हेर्दा अक्सिजन लिएर गएको रातो नली र अक्सिजन छोडेर फर्केको नीलोले देखाउछ नि – त्यो पनि बुझिहाल्नु भयो। सास लिंदा हावामा अक्सिजनको मात्रा जति छ त्यहि हिसाबले नै फोक्सोमा पुग्छ। बाहिर कम भयो भने फोक्सोमा पनि कम हुने भयो। तर धेरै रक्त-कोस हुदा अक्सिजन लिन आउने हिमोग्लोबिन धेरै हुने भयो अनि शरीरमा मात्रा पुग्ने भयो। अब हिमोगलोबिन कति महत्वपूर्ण रहेछ भन्ने जानकारी त भैहाल्यो। भर्खर रक्त-दान गर्नु भएको छ या चोट लागेर रगतको कमि भयो भने शरीरले तुरुन्ता-तुरुन्त हिमोगलोबिन बनाउनमा लाग्छ। रक्त-दान गरेको केहि दिनमै पुरानै लेभलमा फर्किन्छ।

यो कसरि बन्छ त शरीरमा ?

यो जान्नु भन्दा पहिला जानौं – के चिजले बनेको छ त यो गुजुल्टो ? फलाम त फलाम भैहाल्यो त्यो पनि मात्र ४ वटा अणु। शरीरमा फलाम चाहिने यसैका लागि पनि हो। तर गुजुल्टोमा अरु हजारौं अणुहरू हुन्छन। त्यो गुजुल्टो हो एक प्रोटिन। हाम्रो शरीरमा हजारौ किसिमका यस्ता प्रोटिन हुन्छन – हिमोगलोबिन ति मध्ये को एक हो। हिमोगलोबिन नभई जिबन नचले जस्तै हजारौ यस्तै नभई नहुने प्रोटिनहरु हाम्रो शरीरमा हर क्षण बनिरहेका छन्, प्रयोग भैरहेका छन्। कुनै प्रोटिन शरीरका मासु या तन्तु बनाउन प्रायोग भैरहेका छन् भने कुनै खाना पचाउन। जिम जानु हुन्छ भने मसल फुलाउन प्रोटिन खानु पर्ने हुन्छ किन कि मसलका रेसा च्यातिदै फेरी मर्मत हुदै गर्ने क्रममा मसल बढ्दै जान्छ, पर्याप्त प्रोटिन पुग्यो भने। खाना पचाउने इञ्जाइम (अर्को प्रोटिन) नहुने हो भने एक छाक पचाउन बर्षौं- बर्ष लाग्दो हो। (घुस पचाउन भने इञ्जाइम लाग्दो रहेन छ है)। अरु त अरु तपाईलाई अचानक डर लगेर आंग सिरिङ्ग हुदा पनि यस्तै प्रोटिनहरु शरीरमा तुरुन्त बनिकन तपाइको रौ ठड्याई दिन्छन। हामीलाई त्यति काम नलागे पनि बिरालो या अरु जनावरलाइ त रौ ठडिने जीवन रक्षाको लागि हो। त्यो रौँ पनि आफैमा अर्को प्रोटिनले बनेको हुन्छ नि फेरी। कुनै प्रोटिन तपाइको मूड परिवर्तन गराइदिञ्छन, कुनै तपाइको मेमोरी बनाउछन त कुनै तपाइलाइ स्वस्थ राख्न भाइरस संग लडिरहेका हुन्छन। तपाई सुत्नु हुन्छ – यी प्रोटिन हरु आफ्नो काम गरिरहेका हुन्छन र आवश्यकता अनुसार निरन्तर बनि नै रहेका हुन्छन।

हजारौं किसिमका यस्ता प्रोटिनहरु शरीरमा बन्दा सबै लामा लामा त्यान्द्रा जस्ता भएर बन्छन । त्यो पनि जम्मा २० किसिमका साना-साना त्यान्द्रा जोडिएर, साइकलको चेन जोडीए जस्तै गरि। अझ भनौ मालतीको माला उने जस्तै। मानौं २० किसिमका ठुला साना या रंगी चंगी मालतीका गेडा जस्तै। अचम्म पर्नु होला – यो संसारमा उब्जेजतिको प्राणी या जीवित बस्तुका प्रोटिनहरु यिनै २० किसिमका गेडाकै माला बाट बनेका हुन। यी गेडा हरुलाई अमिनो एसिड भन्छन। यी बिसै किसिमका अमिनो एसिडको पनि मुख्य बनोट एकै हुन्छ कार्बन-कार्बन-नाइट्रोजन। फरक भनेको साइड-ग्रुप मात्र हो, जुन फरक साइज र फरक रासायनिक गुणका हुन्छन।

बिस किसिमका गेडा मिसाएर कति थरिका फरक फरक माला बनाउन सक्नु हुन्छ ? यो कति लामो चेन बनाउनु हुन्छ त्यसमा भर पर्छ। दुइ वटा मात्र गेडाको माला बनाउने हो भने पनि ४०० किसिमका माला बनाउन सक्नु हुन्छ। यो २० वटा अक्षर भएको बर्णमाला बाट दुइ-अक्षरका कति वटा शब्द बनाउन सक्नु हुन्छ भने जस्तै हो। क देखि न सम्म हुन आउदो रहेछ २० वटा अल्फाबेट। दुइ-अक्षर का सब्द हरु “कक” “कख” “कग” गर्दै “नन” सम्म पुर्याउदा ४०० हुन्छ। तिन वटा गेडाको माला ८००० किसिमका बनाउन सक्नु हुन्छ। नपत्याए आफै बनाएर हेर्नुस। थाह भैह्ल्यो होला अब कि जति वटा गेडा (या अक्षर) बढाउदै जाने हो २० ले गुणन गर्दै जानु पर्ने रहेछ।

अब आउनुस हिमोगलोबिनमा नै फेरी। हिमोगलोबिनमा दुइ थरि का तर जम्मा ४ वटा चेन हुन्छन – हरेकमा करिब डेढसय जति अमिनो एसिड (१४१ र १४६)। भनेपछि ४ वटा डेढ-डेढ सय गेडाका माला। डेढसय गेडाका माला कति थरिका होलान ? २०x२०x२०x२०x२० … गर्दै १५० पटक गुणन गर्नु पर्यो। साधारण क्यालकुलेटरले भ्याउदैन। अथाह भनौं अहिले लाइ। तर यी अथाह चेन मध्ये हिमोगलोबिन को एउटा चेन यिनै गेडाहरुको ठ्याक्कै एउटा माला मात्रै हो। कुन लहरमा ति गेडा मिलाइएको छ, त्यसले एउटा सिक्वेन्स बन्छ, र हेमोग्लोबिन बन्नको अलि अलि फरक पर्नु बाहेक त्यहि नै सिक्वेन्स चाहिन्छ। यत्रो अथाह चेन मध्ये यहि नै शरीरले कसरि रोज्छ त ?

यो दिन्छ डीएनए ले !

क्रमश …

31 thoughts on “ल बुझौं न त डीएनए को भाषा”

  1. Rishi says:
    March 22, 2014 at 7:55 am

    यो उदिप लाइ गौतम प्रति किन त्यत्रो पुर्बह्ग्रह होला ? तपाईंहरु कांग्रेस कम्निस्ट हो ? उसका कुरा, प्रस्तुत डाटापनि ठिकै छः ! खै किन खैरो खनेको हो ? तपाईं नै बिज्ञान बा बनेको त होइन ?

    Reply
  2. bibek dhakal says:
    March 21, 2014 at 1:10 pm

    खै आफुंलाई त यो बिज्ञान सम्बन्धि खासै जानकारी छैन र सोहि कारण त्यति चासो को कुरा पनि हैन तर पनि माइसन्सारले यस्ता कोलमहरुलाई स्थान दिंदा विज्ञानमा रुचि राख्ने, विज्ञानका विद्यार्थी र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा लागेका जो सुकैलाई पनि एउटा राम्रो, पठनीय खुराक भने पक्कै हुन्छ जस्तो लाग्छ|

    Reply
  3. Udeep says:
    March 21, 2014 at 12:02 pm

    गौतम “उदय” ले लेखेको लेख फटाहा थियो | तर बिज्ञान sir ले लेखेको यो अंश चै सतप्रतिसत ठिक छ |
    तल केहि पाठकहरुले हिसाब गर्दा चै गल्ति गरे | सिधा combination को फोर्मुला amino -acid हरु मा चै लगाउन मिल्दैन, किनकि combination को फोर्मुलामा कक, खख आदि लाई गन्दैन, तेसैले तपैहरुको हिसाब मा २० कम आयो | तेसैले यसको लागि फोर्मुला भनेको n to the power k हो, मतलब २० वटा molecule को २ जोडी बनाउने हो भने बिज्ञानजी ले भने जस्तै २० square = ४०० फरक जोडी (where “ab” not equal to “ba”) bancha |

    Reply
  4. Resham says:
    March 21, 2014 at 11:22 am

    यो शृंखला शुरु गरेकोमा धेरै खुशी लाग्यो . संधै भरि राजनैतिक र अन्य topic र तेस्पछिका विभिन्नखाले उत्तौलोपना भयका comments हरु पढी पढी वाक्कै भयको बेला येस्ता ज्ञान गुन भयको लेखहरु पढ्न पाउँदा धेरै राहत भयको महशुस भयकोछ. यसको लागि मेरो संसार लाई धेरै धेरै साधुबाद.

    Reply
  5. samrat~ says:
    March 21, 2014 at 9:35 am

    एकदम राम्रो ..सरल भाषा मा उल्था गरिएको छ. सधै मात्र पोलिटिक्स र भ्रस्टाचार को कुरा बाट कहिले काही ज्ञान गुन को कुरा पढ्न पाए यो माइ संसार अझ रंगिन हुने छ. ध्न्येबाद बिज्ञान बा !! लास्ट मा आएर सबै लाइ बिज्ञान बा को हो को हो भनेर खस खस भै रहेको बेला , ध्यान टर्यान !!! अर्को साल फोटो सहित ग्रान्ड इन्ट्री होला जस्तो छ. तर राम्रो लाग्यो. अरु पनि नया बिज्ञान को लेख को पर्खाइमा है.

    Reply
  6. shiva hari adhikari says:
    March 21, 2014 at 7:31 am

    मेरो हार्दिक नमस्कर बिज्ञान जी म त झन् हेमोग्लोबिन कै बिरामी ……धरै ज्ञान पाए मैले यक्दम खुसिलाग्यो हजुर को जय होओस साथै म्य्संसर्लाई पनि

    Reply
  7. bimal says:
    March 21, 2014 at 7:00 am

    केहि कुरो बुझे बुजे जस्तो ,केहि स्कुल तिर पडे पढे जस्तो लाग्यो , बिस्तारै सबै बुजीएला ।

    Reply
  8. sudip says:
    March 21, 2014 at 4:22 am

    include figures if possible. that will make it easier to explain about structures of proteins and nucleic acids.

    Reply
  9. Krishna says:
    March 21, 2014 at 1:11 am

    “दुइ वटा मात्र गेडाको माला बनाउने हो भने पनि ४०० किसिमका माला बनाउन सक्नु हुन्छ।”
    कसरी होला अलिकति हिसाब बताई दिनुभए हुन्थ्यो …

    Reply
    1. तेजप्रसाद अधिकारी says:
      March 21, 2014 at 5:03 am

      मान्नुहोस दुइ गेडा मतलब क अनि ख , अनि यो बर्णमाला मा २० किसिमका गेडा मतलब क देखि न , अब सम्पूर्ण बर्णमाला बाट दुइ दुइ अक्षर को शब्द बनाउनुहोस… जस्तै कक, कख, कग, कघ……कन … जम्मा २० वटा शब्द, अब ख को पालो… खक, खख, खग……..खन… यो पनि २० वटा अब ग को पालो … यानी सबै २० वटै गेडा बाट २० गुना २० वटा बराबर ४०० ।अब बुझ्नु भो…?

      Reply
    2. Himal Asai says:
      March 21, 2014 at 6:10 am

      ये हजुर जम्मा २० वोटा छन् अब ति मध्हे एक पटक मा २ वोटा को दर ले जोडा बनाउनुस त जस्तै aa ab ac ….. अनि फेरी ba bb bc …. .

      Reply
    3. Suraj says:
      March 21, 2014 at 7:00 am

      सायद यो permutation को फर्मुला प्रयोग गरि निकालेको होला, 20 nPr 2 = 380.

      Reply
    4. Satish says:
      March 21, 2014 at 7:33 am

      दुइ वटा गेडा मात्र प्रयोग गर्ने भनेको हैन नि त. ति बिस गेडा हरु बाट एक पटक मा दुइटा गेडा मात्र प्रयोग गरे अनि ४०० किसिम का माला बन्छ भन्न खोजेको

      Reply
    5. Daya says:
      March 21, 2014 at 8:00 am

      लेखकले भन्न खोजेको के हो भने, तपाई संग २० थरि फूल छन् (१ सेट मात्र), अब तपाईंले २ वटा फूल मात्र जोडेर एउटा माला बनाउनु छ, (२ वटा मात्र फूलको माला कस्तो बन्छ, मलाई पनि थाहा छैन), तर, पहिलो फूलसंग बाँकि १९ फूल मध्धे एउटा, त्यस्तै दोश्रो फूल संग बाँकी १९ वटा फूल मध्धे एउटा, गर्दै जाँदा ४०० थरि फूल बनाउने सम्भाव्यता रहन्छ।

      Reply
    6. Daya says:
      March 21, 2014 at 8:03 am

      २० कम ४०० हुनु पर्ने (१ वटा मात्र सेट भएमा)

      Reply
    7. Sam says:
      March 21, 2014 at 11:23 am

      हरे के भएको हामी नेपाली लाई!!! भन्न खोजेको आसय बुझ्नुस न किन नम्बर मा जानु हुन्छ !!!!!!!!!

      Reply
  10. Daya says:
    March 20, 2014 at 10:41 pm

    लेखकले आफ्नो परिचय दिन किन नखोजेका हुन्, बुझिएन। बिज्ञान सम्बन्धि लेख त तथ्यको संगालो हो, साहित्य त होइन नि! यस्ता लेखहरु विकिपिडिया हेरेर जसले पनि लेख्न सक्छ तर लेखक विश्वसनीय हुनको लागि पूरा परिचय सहित आउनुपर्छ।

    Reply
    1. kaluram thapa says:
      March 21, 2014 at 1:52 am

      सुरूवात राम्रो छ, बिज्ञानका लेखहरु अंग्रेजी बाट नेपालीमा उल्था गरेर लेखन पनि सजिलो छैन। माइसंसारमा कमेन्ट लेख्नेअधिकांस हरु,कुनै न कुनै बिधा मा जानकार भएको जस्तो लाग्छ , तसर्थ नकारात्मक कमेन्ट को सट्टा संबन्धित लेख उहाहरु बाट आए देखि (अनुबाद नै किन न होस् ) अझ राम्रो हुनेथियो कि।

      Reply
    2. Sam says:
      March 21, 2014 at 11:28 am

      लेख्नुस न त दया जी, आफु पनि नलेख्ने अनि अरुले सरल भाषा मा लेखिदिएको यति राम्रो कुरा मा पनि किन बकम्फुसे बात गर्नु हुन्छ !!!! अंग्रेजी नजान्ने हरुको लागि त झनै कति राम्रो भयो उल्था गरिदिएर !!!!!!

      Reply
  11. Aditya says:
    March 20, 2014 at 7:12 pm

    फेरी पनि यदि विज्ञानको बारेमा लेख लेख्ने हो भने लेखकको पुरा नाम, योग्यता र काम गर्दै आएको संस्थाको बारेमा पाठकले थाहा पाउनु पर्छ ! छद्म नामले लेख्दा पाठकको बिस्वाश जित्न सकिन्न |

    Reply
  12. neeraj says:
    March 20, 2014 at 6:18 pm

    जटिल कुरा लाई सरल भाषा मा भन्नु गारो नै हुन्छ

    Reply
  13. eklavya says:
    March 20, 2014 at 4:35 pm

    भनिन्छ थोरै ज्ञान खतरनाक हुन्छ भनेर यहाँ लेखकले सम्झाउन गार्हो भन्दै छोटो बाटो अपनाएको देखियो यो भन्दा त गार्हो नै लेख्नुस पढ़नेहरुलाई सजिलो होला छुने मात्रको कोशिस बेकार छ …बरु मेरो संसारले एउटा घरेलु उपचार सम्बन्धि कुनै लेखहरु साप्ताहिक रुपमा दिए आभारी हुन्थ्यो….. या कुनै रोगहरु सम्बन्धि जन्कार्मुलक भए झन् राम्रो…

    Reply
    1. Sujan says:
      March 20, 2014 at 11:15 pm

      होइन यो लेख विस्तृत नै छ ओ एकलव्य जी. यहा लेखकले कुनै science lecture दिन खोज्नुभाको होइन सादरण जानकारी मात्रै हो. मलाई त अजै बढी जानकारी जस्तो पो लाग्दै छ त. जसले ११-१२ मा science ल्याएर पढेन तेस्ले येही तपाइले “छुने मात्रको कोशिस” पनी बुज्न सक्दैन. यो भन्दा बिस्तृतमा लेख्नुको कुनै अर्थ हुदैन.

      Reply
  14. binaya says:
    March 20, 2014 at 4:34 pm

    Very interesting article. Desperately waiting for second part.
    Thank you ‘Bigyan’ ji.

    Reply
  15. SURENDRA hongkong says:
    March 20, 2014 at 3:12 pm

    यो लेख राम्रो हो तर सबै भाषा सरल भएर पनि बुज्न सकिएन यस को लागि डाक्टरी नै पढेको हुनु पर्ने रहेछ/

    Reply
    1. Sujan says:
      March 21, 2014 at 4:05 am

      हाहा तेस्तो सारो नि नहोला सुरेन्द्र जी,
      माथिको लेखलाई बुदागत रुपमा भन्नु पर्दा:
      १) red cell अथवा रातो कोसिकाले oxygen बोक्ने काम गर्छ। Oxygen लैजनालाई रातो कोसीका भित्र हेमोग्लोबिन (hemoglobin) भन्ने चिज हुन्छ। हेमोग्लोबिनमा फलामका अणु हुन्छन जसमा चाही oxygen का अणु टासिएर सरीरको विभिन्न अंगहरुमा पुग्छन । सरिर ले oxygen को प्रयोग गर्छ अनि carbondioxide फोहोरको रुपमा फाल्छ र यसलाई केही मात्रामा रातो कोसीकाले फेरी फोक्सोमा फिर्ता ल्याउछ जहाबाट यो बाहिर निक्लिन्छ।

      २) यो हेमोग्लोबिन प्रोटिन हो। सारीरमा येस्ता प्रोटिन टन्नै हुन्छन फरकफरक कामको लागी। साच्चै भन्ने हो भने हाम्रो सरिरभित्र जे हुन्छ पाचन प्रक्रिया देखी, खुसीदुखी हुने, भोकलाग्ने देखी सरिर बाहिरको रुप, रंग, सबै यिनै प्रोटिनले निर्धारण गर्छन।

      ३) प्रोटिन फेरी २० थरिका “माला ” ammino acid बाट बन्छन। यी माला धेरै तरिकाले अगाडी पछाडी गर्दै कति लामो प्रोटिन बनाउने हो तेतिनै तरिकाले मिलाउन सकिन्छ। अनगिन्ती प्रोटिन बन्न सक्छन…

      ४) र यी मालालाई कसरि अगाडी पछाडी बस्नुपर्छ, कती लामो हुनुपर्छ भनेर कस्ले भन्छ? त्यो भन्ने काम हाम्रो DNA मित्रको हो।

      Reply
  16. chetan says:
    March 20, 2014 at 3:10 pm

    अत्यन्त सुन्दर ! प्रस्ट र सरल भाषा . धेरै धेरै धन्यवाद यो लेख को लागि

    Reply
  17. डिल्ली says:
    March 20, 2014 at 2:44 pm

    गौतम उदयजीले साँच्चै सरल भाषामा बुझाउन कोशस गर्नु भएको छ । जसलाई अणुवाँशिक विज्ञानको ज्ञान कम छ उसलाई बुझ्न अत्यन्त सहज हुनेगरी लेख्नु भएको छ तर पनि यस्ता केही शव्दावली छन् जुन उल्था गर्नै सकिदैन त्यसैले जवर्जस्ति उल्था गर्दा अनर्थ लाग्ने बन्न सक्ने रहेछ । फेरि विज्ञहरूको कमेन्टको लहर चल्न सक्छ । वास्तवमा आम नेपालीलाई गणित र विज्ञान पढ्न गाह्रो भएकै सरल भाषामा बुझाउन नसकेर हो भन्ने लाग्छ । अङ्ग्रेजीमै मात्र बुझ्नु जरुरी छैन किनकि अङ्ग्रेजी सामान्यतया नबोलिने देश चीन जापान कोरिया आदिमा आफ्नै भाषामा पढेर पनि पुगेकै छ ।

    Reply
  18. KEDAR says:
    March 20, 2014 at 2:33 pm

    अर्को राम्रो सुरुआतको लागि धन्यबाद |
    मेरो एउटा सुझाब बिज्ञान ब्लग जस्तै विभिन्न रोगका कारण, तेस्बाट सुरक्षित रहने उपाए, र लागेको रोगको उपचार बिधि सहितको स्वास्थ ब्लग पनी राख्ने कोसिस गरे देखि सुनमा सुगन्ध हुने थियो | सन्डे साइन्स ब्लगको सुरुआत जस्तै येसरी नै हरेक बारको लागि महत्वपुर्ण सिर्शकहरुले भर्न पाए त आहा आ आ आ .

    Reply
  19. MAHIM says:
    March 20, 2014 at 1:19 pm

    भाषा सरल छ , बुझ्न सजिलो छ . धन्यवाद.

    Reply
  20. रामचन्द्र says:
    March 20, 2014 at 1:19 pm

    बिज्ञान सम्बन्धि नेपाली लेखको अभाव दयानन्द ब्रजाचार्य सरको अभाव संग संगै खट्किंदै थियो तर अब यस अभावलाई माईसंसारले पुरा गर्ने लक्षण देखिंदैछ । यो जान्न पाउँदा निकै खुसी लागेको छ र यस ब्लगका सञ्चालक महोदयको प्रयासलाई लाख लाख धन्यबाद दिन चाहन्छु ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme