Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बालबालिकाको व्यापार यसरी हुँदो रहेछ, एक सञ्चालक यसरी परे फन्दामा

Posted on March 20, 2014March 20, 2014 by mysansar

अहिल जेलमा रहेका विश्वप्रताप आचार्य
अहिल जेलमा रहेका विश्वप्रताप आचार्य
ललितपुर जिल्ला अदालतले यसै साताको सुरुमा धापाखेलस्थित एउटा बालगृह ह्यापी होमका सञ्चालक विश्वप्रताप आचार्यलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो। नेपाल प्रहरीको सिआइबीले बालबालिका बन्दी, अपहरण तथा बेचबिखन गरेको आरोपमा अनुसन्धान गर्न फागुन ६ गते उनलाई पक्राउ गरेको थियो।

तर यो बालगृहका सञ्चालकलाई कानुनी दायरामा ल्याउने काम त्यति सजिलो भने रहेन। त्यहाँको अनियमितताबारे जनवरी २०१३ मा विदेशी दाता तथा स्वयंसेवक, परिवार र शिक्षकहरूको एक समूहले नेपाल प्रहरी, केन्द्रीय बालकल्याण समिति तथा जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दर्ता गर्‍यो। तर पावरवाला मान्छे रहेछ। कुनै कारबाही भएन। बेलायती संस्था फ्रिडम म्याटर्सको सहयोगमा नेपालको सानो पाइला (अ लिटल स्टेप) संस्थाले आफै सूचना र प्रमाण जुटाउन थाल्यो र प्रहरीमा उजुरी दिन पर्याप्त ठानेपछि जाहेरी दियो।
happyhome
बालबालिका कमाउने उद्योग
नेपालमा लगभग ७४३ वटा बालगृहहरू छन्, जहाँ कम्तीमा ११ हजार जना बालबालिका आश्रय लिइरहेका छन्। यीमध्ये धेरैजसो बालगृहहरूले वेबसाइटमार्फत आफूहरूलाई गरिब, सुविधावञ्चित, दुर्व्यवहारबाट पीडित र लापर्बाहीका शिकार बनेका अनाथ बालबालिका, बाबुआमाले छोडेका बालबालिका वा परिवार अत्यन्त गरिब भएकाले पालनपोषण हुन नसकेका बालबालिकाहरूलाई आश्रय दिने अनाथालयको रूपमा विज्ञापन गर्छन्। तर वास्तवमा धेरै यस्ता बालगृहहरूको स्थापना तथा सञ्चालन बालगृहका सञ्चालकहरूले आफू कमाउन गरेका हुन्छन्। यो रकम आर्जन गर्ने उद्योग बन्न पुगेको छ।

स्वयंसेवकको रूपमा काम गर्ने अवसरको खोजी गरिरहेका धेरै विदेशी पर्यटकलाई समेत उनीहरूले आफ्ना परिवार तथा साथीहरूबाट ल्याउनसक्ने अनुदानका लागि शोषण गरिन्छ। यसलाई ‘स्वयंसेवा’ भन्ने गरिएको छ।

केही यस्ता सञ्चालकहरू बाल बेचबिखनकर्ताहरूसँग काम गर्छन्। बालबेचबिखनकर्ताहरू गाउँसमुदायमा पुगी गरिब तथा जीविका चलाउन गाह्रो परिवारहरूमा पुग्छन्। उनीहरूका बालबालिकाहरूलाई बसोबास र शिक्षाको राम्रो व्यवस्था मिलाइदिने प्रलोभन देखाउँदै करकापमा पार्छन्।

काठमाडौँ लगेर पढाइदिने भनी उनीहरूलाई दिइएको गलत सूचनाका आधारमा परिवारहरूले बेचबिखनकर्तासँग आफ्ना बालबालिकाहरू पठाउँछन्। कहिलेकाहीँ यस्ता बेचबिखनकर्ता आफ्नै नातेदार समेत रहने गरेका छन्।

आफ्ना बालबालिका पाल्न समेत संघर्ष गरिरहेका अशिक्षित बाबुआमाका लागि यस्तो कुरा अत्यन्त पत्यारिलो र भरपर्दो विषय बन्नसक्छ।

बालगृहमा पुर्‍याइएपछि यसो गरिन्छ
बालबालिकालाई बालगृहमा लगेपछि उनीहरूको नाम परिवर्तन गरिन्छ र आफ्नो पृष्ठभूमिको बारेमा अक्सर ढाँट्न बाध्य बनाइन्छ।

उनीहरूको हेरचाहका लागि प्रयोग हुनुपर्ने रकमलाई हिनामिना गरिन्छ र न्यूनतम रकम मात्र खाना, लुगाकपडा, औषधि उपचार, कर्मचारी, ओढ्ने–ओछ्याउने, खेल्ने सामग्री, किताब वा विद्यालयका सामग्रीहरूमा खर्च गरिन्छ।

यस्ता बालगृहहरूको अनुगमन अत्यन्त कम मात्र हुन्छ वा हुँदैहुँदैन भन्दा पनि हुन्छ। वास्तवमा के भइरहेको छ भन्ने बारेमा विदेशी दातृसंस्थाहरू समेत अनभिज्ञ हुन्छन्, चाहे उनीहरूको आशय जतिसुकै असल किन नहोस्।

भन्ने बेलामा अनाथ र सडकबाट उठाएको, खासमा घरपरिवार भएका
‘ह्याप्पी होम’को वेबसाइटमा पनि बालबालिकासम्बन्धी विवरण राखी उनीहरूलाई अनाथ, सडक बालबालिका वा परिवारले छोडेका बालबालिकाका रूपमा प्रस्तुत गर्दै उनीहरूको गलत प्रतिनिधित्व गरिएको थियो।

तर प्रमाणबाट के पुष्टि भएको छ भने धेरै जना बालबालिकाका बाबुआमा छन् र उनीहरूले असल शिक्षाको वचन पाएकाले मात्र आफ्ना बालबालिकालाई त्यहाँ पठाएका हुन्।

हालैको तथ्याङ्कले के सङ्केत गरेको छ भने नेपालका १०% बालगृहहरूले मात्र सरकारको आवासीय बालगृहको नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी नियमावलीको पालना गरेका छन्।

राष्ट्रिय मानवअधिकार आयोगले सन् २०१२ को आफ्नो मानव बेचबिखनसम्बन्धी प्रतिवेदनमा भनेको छ, “… अनुगमनसम्बन्धी प्रतिवेदनहरूले के सङ्केत गरेका छन् भने बालगृहमा रहेका बालबालिकाहरू प्रायः यौन शोषण, शारीरिक तथा मानसिक यातना र विभेदबाट पीडित बन्ने गरेका छन् र उनीहरूलाई पढ्नबाट वञ्चित गरिएको छ, हिँडडुल गर्नमा रोक लगाइएको छ, परिवारसँग कुनै सम्पर्क गर्न दिइएको छैन र बेचबिखन गरिएको छ।”

के छ कानुन ?

यस मुद्दाको सन्दर्भमा नेपालको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा निहित निम्न दफाअन्तर्गतका परिभाषाहरू आकर्षित हुने देखिन्छ :

परिभाषा : २(ङ) “शोषण” भन्नाले दास तुल्याउने, बाँधा बनाउने कार्य सम्झनुपर्छ।

शोषणको प्रमाणले साक्षी तथा पीडितका बयानहरू समेटेको छ, जसमा शिक्षाको वचन दिइएका बालबालिकाहरूलाई सञ्चालकको फ्ल्याटमा राखी दासको रूपमा प्रयोग गरिएको छ, उनीहरूलाई त्यहीँभित्र बसाइएको र सुताइएको छ र सञ्चालकका लुगा धुने, खाना पकाउने, सरसफाइ गर्ने, छोराछोरीको हेरचाह गर्ने र व्यक्तिगत मालिस गराउने लगायतका घरेलु सेवा प्रदान गर्न बाध्य तुल्याइएको छ। श्रम ऐनको उल्लङ्घन गर्दै बालबालिकालाई होस्टेलको दोस्रो तल्ला निर्माण गर्ने कार्यमा समेत प्रयोग गरिएको छ।

बेचबिखन तथा ओसारपसार ठहरिने कार्यहरू :
दफा ४–२(ख) “वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारको ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरणमा पारी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने।”

ओसारपसारको प्रमाणले साक्षी तथा पीडितका बयानहरू समेटेको छ, जसबाट के सङ्केत भएको छ भने कम्तीमा एक जना बालकलाई सडकबाट लगिएको छ, अन्यलाई आमा वा बाबुको इच्छाविपरित लगिएको छ भने अर्का एक जनालाई टाढाको गाउँबाट स्थानीय राजनीतिज्ञले लगेका छन् र उनका परिवारलाई उनको बारेमा अत्तोपत्तो नभएको तीन वर्षभन्दा बढी भइसक्यो (ती बालक ह्याप्पी होममा छन्)।

कतिसम्म गर्न सकेका !
वर्षौँदेखिको बाल दुर्व्यवहारको प्रवृत्तिलाई चित्रण गर्ने गरी बालबालिकाहरूबाट धेरै बयान आएका छन्, जसबाट के प्रष्ट हुन्छ भनी बालबालिकामाथि पूर्ण नियन्त्रण कायम गर्ने आशयले उनीहरूलाई व्यवस्थित, सङ्गठित तथा दैनिक रूपमा कुटपिट गरिएको छ। यस्तो प्रकारको कुनै पनि दुर्व्यवहारको नतिजास्वरूप गम्भीर चोटपटक नलागेको वा मृत्यु नभएको भए तापनि एक जना बालकलाई चरम भावानात्मक आघातका कारण अस्पताल लगियो भने अन्य कतिपय बालबालिकाको अवस्था बारे जानकारी छैन।

के कुरा पनि याद गर्नु पर्दछ भने हालै त्यहाँबाट उद्धार गरिएका बालबालिकाका जीउभरि जुम्रा परेका थिए र उनीहरूलाई लुतो लागेको थियो। अपाङ्ग बालिकाको फोक्सोमा सङ्क्रमण भएको थियो, जसबाट उनको जीवनलाई खतरामा पार्ने गरी निमोनिया रोग लाग्नसक्थ्यो।

तीन बालबालिकाहरूलाई उनीहरूको इच्छाविरुद्ध लुकाएर राखिएको थियो। उनीहरूलाई तालाबन्दी गर्दै निगरानी गरिएको थियो र न्यानोको नाममा एउटा पातलो कम्बल मात्र ओढ्न दिइएको थियो। ह्याप्पी होमका सञ्चालकविरुद्ध उनीहरुकी आमाले जावलाखेलको प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएकी थिइन्।

ठगीसम्बन्धी जटिल तथा व्यापक प्रमाण भेटिएको छ, जसमा विदेशबाट अनुदान आकर्षित गर्नका लागि बालबालिकाको अनाथ वा छाडिएका बालबालिकाका रूपमा गलत प्रतिनिधित्व भएको छ। यस्तो ठगी एक प्रकारको बालबालिका बेचबिखनको रूपमा विकसित भएको छ।

ह्याप्पी होमको वेबसाइटबाट छापिएका प्रतिहरूमा बालबालिकालाई सडक बालबालिका, अनाथ वा छाडिएका बालबालिकाका रूपमा व्याख्या गर्ने कथाहरू समावेश छन्। फलो–अप अनुसन्धानले के सङ्केत गर्‍यो भने यस बालगृहमा रहेका अधिकांश बालबालिकाहरूका परिवार तथा बाबुआमा जीवित भएकाले यी कथाहरू झुठा हुन्।

बालगृहका सञ्चालकहरूले धेरैजसो अवस्थामा विदेशी दाताहरूबाट अनुदान आकर्षित गर्नका लागि प्रयोग गर्ने विधि यही हो।

आमाले लैजान्छु भन्दा पनि दिएनन्
अ लिटल स्टेपले हुम्लामा एउटा परिवार पत्ता लगायो। तीन वर्षअघि त्यस परिवारबाट ७ वर्षको छोरालाई एक जना एजेन्टले लगेर गएका थिए र त्यसपछि परिवारलाई ती बालकको बारेमा कुनै अत्तोपत्तो थिएन। ती बालक ह्याप्पी होममा थिए।

ह्याप्पी होममा रहेका तीन जना बालबालिकाकी आमा लोजुङ शेर्पालाई संस्थाले भेट्यो। २०७० माघ २२ गते बुधबारका दिन उनी ह्याप्पी होममा छोराछोरी भेट्न गइन्। उनले छोराछोरीलाई देखिन् र त्यहाँबाट निकाल्न खोजिन्। सञ्चालक विश्व आचार्यले तिनीहरूलाई उनीसँग जान दिएनन्। उनले छोरालाई नदेखेको ८ वर्ष भएको थियो। त्यसपछि फेरि उनी छोराछोरी लिन त्यहाँ तीन पटक गइन्। तर प्रत्येक पटक विश्व र उनकी श्रीमती पूजाले हस्तक्षेप गरे र उनलाई छोराछोरी लैजान दिएनन्।

त्यसपछि विश्वले ती बालबालिकालाई नजिकैको घरमा उनीहरूको इच्छाविरुद्ध लुकाए र उनीहरूलाई दुई हप्तासम्म गएगुज्रेको र चिसो अवस्थामा राखे।

आमाले प्रहरीमा उजुरी दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला बाल कल्याण समितिको कार्यालय ललितपुर, जिल्ला प्रशासन कार्यालय ललितपुर लगायतको संयुक्त टोली जाँदा विश्वले सुरुमा त ती बालबालिका बालगृहमा नै रहेको जानकारी दिए। खोज्दा भेटिएन।

अनि उनले आफ्नी श्रीमतिको साथमा ३/४ दिन देखि ध्यान र उपचारमा गएको भने।

टोलीले खोज्दै जाँदा फागुन २ गते धापाखेलकै पारस पोखरेलको घरमा दुई बालबालिकालाई लुकाई राखेको अवस्थामा उद्दार गर्‍यो। नव किरण आश्रम अगाडि सडक किनारमा लुकाई राखेको अवस्थामा अर्का एक बालक पनि भेटियो। उनीहरुको उद्दार गरी महानगरीय प्रहरी परिसर ललितपुरको महिला तथा बालबालिका सेवा केन्द्र मार्फत आमा लुजी किपा शेर्पालाई जिम्मा लगाइदियो। त्यही दिन प्रहरीले विश्वलाई हिरासतमा लियो।

प्रहरीले मुद्दा ललितपुर जिल्ला अदालतमा दायर गरेपछि चैत ३ गते अदालतले मुद्दाको फैसला नहुन्जेल पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो।

ह्यापी होममा रहेका बालबालिकालाई भने उनीहरुकै परिवार वा अन्य गृहमा पुनर्स्थापना गर्ने तयारी भइरहेको छ। उनीहरुलाई अहिले अस्थायी रुपमा रिसिभिङ होममा राखिएको छ। यसका लागि ६ महिनासम्म समय लाग्ने भनिएको छ।

17 thoughts on “बालबालिकाको व्यापार यसरी हुँदो रहेछ, एक सञ्चालक यसरी परे फन्दामा”

  1. Sujan says:
    March 21, 2014 at 5:31 pm

    हाम्रो देशमा सारै बिडम्मनको कुरो के छ भने, लाखौ सहयोग आउछ देस बहिर भित्र बाट तर त्यो पैसादिने सस्थाले किन सुपरिबेछक राख्दैन। किन खोज्दैन आफ्नो पैसा का गई रछ भनेर? भनेको काम भो की भएन भनेर? अथवा यो आश्रमको केसमा इ आश्रमहरुको अवस्था कस्तो छ भनेर? बरु आधी पैसा मात्रै राम्रो काममा प्रयोग होस तर जाती प्रयोग हुन्छ राम्रारी होस।येस्तै हो भने आश्रमहरु दुखी गरीबका लगी होइन, चोरहरुको मागी खाने भाड़ो मात्रै हुनेछ।

    Reply
  2. Sekhu says:
    March 21, 2014 at 3:08 pm

    बालगृह भनेर नव इसाई हरु ले संचालन गरेका चर्च हरु को छानबिन कहिले हुने हो

    Reply
  3. Gopal says:
    March 20, 2014 at 8:43 pm

    नेपाल – एक अविकसित (विकासोन्मुख?) देश
    केहि समय अगाडी (अहिले पनि?) धेरै नेपाली कुनै न कुनै तवरले सोशित नै थिए (छन्.)
    कमै मात्र सोशक थिए (छन्)
    पहिला जमिन्दार, राजा महाराजा, आसेपासे तथा तिनका भारदारहरु, कुनै न कुनै तवरले सोशक बर्गसंगको हिमचिम भएकाले देखेको जानेको पेशा भनेकै सोषण हो
    अहिले नेताले साधारण जनतालाई गर्ने एक किसिमको भावनात्मक सोषण नै हो
    त्यसैले जतिसुकै मानवाधिकार, नारी अधिकर, बालअधिकार जे सुकै भने पनि हाम्रो रगतमै भएको र सामाजिक नैतिकताको अभाबले कुनै न कुनै किसिमको सोषण मा हामी सबैको हात हुन्छा

    मागी बिबाह को सुहागरात (७०%?) लोग्ने मान्छेले आफ्नी स्वास्नीलाई कुनै हदसम्मको बलात्कार गरेकै हुन्छा
    कुनै पनि पुनर्स्थापन केन्द्र चलाउनेको घरमा हेर्नुस पाएसम्मा काम गर्ने केटाकेटी नै राखेको हुन्छा (बल सोषण र श्रमसोशण)???

    त्यसैले हामी सबैले नेपाललाइ बिकसित मुलुक संग दाजेर नकरात्मक टिकटिप्पणि गर्नु भन्दा उस्तैखाले GPD भएका पश्चिमी अफ्रिकी देशसंग दाज्नुहोस र चित्त बुझौनुहोस
    उनेरुको भन्दा हाम्रोमा धेरै राम्रो छ

    Reply
  4. jitu says:
    March 20, 2014 at 7:56 pm

    दिल शोभा लाई एउटा औडियो को भरमा दोसी ठहर गर्ने हो र कुनै तद्थ्य नै पुस्टि नगरी दण्ड दिने हो भने नेता हरु लाई चाँही किन केहि नगरेको हो. के हेप्न सक्ने लाई मात्र ठोक्ने हो कि अनि नसक्ने बाट लुक्ने हो नेपालीहरु. आरोपको भरमा दण्ड दिनु उचित होर ? यो त गाउँ गाउँ मा बोक्सी लगायो भन्दै बुडी आइमाई लाई कुटपिट गरे जस्तो भएन ?

    Reply
  5. ekraj says:
    March 20, 2014 at 3:39 pm

    यो दानब को पावर पछाडी को रहेछ? कतै मन्त्रि तथा नेता भनौदा फटाहा र अपराधी छन् भने तिनको पनि पर्दाफास गरे हुन्छा|

    हाल नेपाल मा भै राखेका गतिबिधि र समाचारहरु हेर्दा स्थीतिबडा डरलाग्दो र संबेदनशिल छ| विधिको बिधान र कानुनी राज्य भए यस्ता समाचार कमै मात्र सुनिन्थो होला|
    नेता लाई कुर्सीकै लागि लड्दा समय छैन, पुलिश लाई यस्तै अपराधी बाट बेक्तिगत फाइदाको लागि पैसा उठाउदै फुर्सद छैन, अरु कर्मचारी लाई घुस खाँदै फुर्सद छैन|
    एस्तो बिजोगहुँदा पनि देश चल्दो रहेछ| यो कस्तो देश नेपाल!
    धन्यवाद सालोक्य जी ! यस्ता पिसाच हरुको पर्दाफास गरेर सके फाँसीमा चढ़ऊँ सके, अरु अपराधीले पनि सोच्नु पर्ने स्थिति आउने थियो|

    Reply
  6. chandra says:
    March 20, 2014 at 1:13 pm

    मलाई अचम्म लगेर आउछ – किन होला नेपाल मा नै येस्ता येस्ता बाहिर बाहिर “हिरा” भित्र भित्र भने “किरा” भएका होलान????
    १. समाज सेवा गर्छु भन्ने सोषण गर्ने/ब्यविचार गर्ने : जन्म दिने बाबुले छोरी बलात्कार गरेको जस्तो!
    २. नेताहरु को भाषण सुन्यो गरिब-असहायलाई धनि र सुखी बनाउन राजनीति गरेको, जेल-नेल खाएको भन्छन! मन्त्रि को सम्पत्ति विवरण हेर्दा करोड-करोड दाइजो/पेवा, किलो-किलो सुन अनि काठमाडौँ मा रोपनी रोपनी घडेरी -स्वॉर्जन, दाइजो, पेवा देखिन्छा!!!!!!!!!
    ३. बिद्यार्थी नेताहरु पुस्तक र ज्ञानको संकलन भन्दा पनि बन्दुक र पेस्तोल जम्मा गर्ने!
    ४. —————————————-
    —- अनगिन्ति

    कुनै बिद्द्वानसंग जवाफ छ कि ???????? जवाफ थाहा भए धन्य हुनेथिए!!!!!

    Reply
  7. Bishal shrestha says:
    March 20, 2014 at 11:54 am

    हाकु काले को. Dialog याद आयॊ Kathmandu Sahara हेर्दा लाग्छ रहर हात थापेर केहि paidaina धुत्न जान्नु पर्छ पासा

    Reply
  8. Prakash Pun says:
    March 20, 2014 at 8:37 am

    मेरो बिचार मा नेपाल मा अहिले यो धन्दा निकै फस्ताएको छ जस्ले साचिकै सेवा गर्ने हरुलाई धेरै नराम्रो असर् गरेको छ / दयालु मन गरेर सेवा गर्ने प्रदेशी/स्वदेशी नेपाली तथा बिदेशी हरु सतर्क हुन जरुरी छ

    Reply
  9. Tenzing Gaba says:
    March 20, 2014 at 6:20 am

    # कसैले बालगृह खोलेर बालकहरुको शोसन गर्ने
    # कसैले महिला आश्रम खोलेर महिलाको शोषण गर्ने
    # कसैले बृदाश्रम खोलेर वृद्-बृदाहरुको शोसन गर्ने

    लौ न अब २-४ बटा नेताआश्रम पनि खोल्न पहल गरौ

    Reply
  10. डिल्ली says:
    March 20, 2014 at 5:15 am

    मानव बेचविखन कति मौलाएको हो नेपालमा ? बच्चादेखि युवासम्ममा दलालको आँखा पुगेको छ । पहिले मैला लुगा देखाएर ठगि खाँदै अन्त्यमा मान्छे नै धर्मपुत्र पुत्रीको रुपमा बेच्ने यस्ता गिरोहहरू कहिले देखि नियन्त्रण हुने होला ? नेपालले मृत्युदण्ड व्यवस्था गर्ने बारे एक पटक सोच्ने बेला आए जस्तो छ । संबिधान “बनाउँदै” भनिरहेका छन् क्यारे त्यसैबाट र जनकपुर बम काण्ड गराउने सभाषदलाई नै मृत्युदण्ड दिएर शुरू गर्ने सुनौलो अवसर पनि छ । अपराध गर्नेलाई जोगाउनमात्र सकृय हुने मानव अधिकार किन चाहियो र भन्या पिडित सधैँ पिडितै वस्नु पर्ने भए ।

    Reply
  11. प्रदीप says:
    March 20, 2014 at 4:15 am

    विश्वप्रताप आचार्य जस्ता अपराधीलाई जन्म-कैद दिने खालको कानुन छैन हाम्रो ऐन-कानुनमा? त्यस्ता कलिला बाल-बालिकाको जीवन बर्बाद पारेर कमाइ खाने भाँडो बनाउनु देश द्रोह गर्नु र हत्या गर्नु भन्दा कम छ र?

    Reply
  12. Shyam says:
    March 20, 2014 at 3:44 am

    यस्ता अपराधीलाई जेलको चिसोमा जन्मकैद दिनुपर्छ !

    Reply
  13. kedar says:
    March 20, 2014 at 3:03 am

    …..जसरी Malaysia Airlines Flight 370 आकस्मिक दुर्घटनामा परेर दक्षिण चिन सागरमा झरो भनेर एक हप्ता सम्म खोज्दै र अमरिकी सहयोगमा अनुसन्धान गर्दै जाँदा सोच्नै नसकिने नयाँ नयाँ तथ्यहरु फेला पर्दै गए ……..
    …..तेसरी नै अनाथहरुको उपकार गर्ने भन्दै खोलिएका नेपालका बालगृहहरुको सोच्नै नसकिने नयाँ नयाँ कमाउ र व्यापारिक कमाउ धन्दाको येसरिनै पटाक्षेप हुँदै जाने छन् |
    ……अनि मात्रै आमा घरको छापले मोतिबिन्दु भएकाहरुको जालो पातलिंदै जाने छ |

    Reply
  14. jeevan verma says:
    March 20, 2014 at 2:27 am

    दिल शोभा लाई अनुसन्धान गर्दा कोको होलो मचाउने अहिले कता गए ? कहाँ छौ बिजय कुमार ?

    Reply
  15. Shankar says:
    March 20, 2014 at 1:56 am

    धनि मानि लाइ किड्नी फेर्न , बा मोज मस्ती ले कुएको सरिर मा कुनै अंग फेर्न दलाली पो गरेको छ कि यो पिचासले राम्ररि पत्तालायेर एस्लाई ह्याप्पी होम बाट हेल मा ट्रान्सफर गर्नु पर्यो |

    Reply
  16. Sabin says:
    March 20, 2014 at 1:14 am

    सोल्टीले अब उल्टोतिरबाट विश्व- प्रताप फैलाउने भए जस्तो छ

    Reply
  17. jarus says:
    March 20, 2014 at 1:09 am

    काठमाडौँमा अहिले पनि यस्ता मान्छेहरु छन् जो गरिब बच्चाहरु को लागि आएको सहयोग आफुले नै उपभोग गरिरहेका छन् . गरिब बाल बालिकाहरुलाई निसुल्क पढाउने भनेर बिद्यालय संचालन गर्छन अनि बिदेशी दाताहरु संग पैसा बतुल्छन र आफ्नो छोरा छोरी अमेरिका युरोप पठाऊछन् अनि ति बाल बालिकाको लागि आएका सहयोग आफ्नो निजी रुप मा उपयोग गर्छन. समाज अनि सरकार मौन छन् . तेही पैसाले जग्गा किनेर घर बनाएर चैन गर्छन र बिधार्थी संग सुल्क लिन्छन ….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme