Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हराइरहेको विमानको नेपाल कनेक्सन

Posted on March 15, 2014March 15, 2024 by Salokya

BixJG-8IUAE-X0n मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङतर्फ उड्दै गर्दा हराएको मलेसिया एयरलाइन्सको MH370 बोइङ विमान आठौँ दिन पनि फेला परेन। तर यो दिन केही नयाँ खुलासा आधिकारिक रुपमा त्यहाँका प्रधानमन्त्री नजिब रजाकले गरे। सिभिलियन राडारबाट र टावरसँगको सम्पर्क जानाजानी विमानभित्रै रहेका कोही अनुभवीले विच्छेद गरेको र बेइजिङतिरको निर्धारित बाटो नगई मलेसिया फर्किएर पश्चिमतिर लागेको उनले भने। आजदेखि साउथ चाइना समुद्रमा खोज्ने काम रोकिएको छ र नयाँ ठाउँहरुमा खोजी कार्य थालिएको छ। नयाँ ठाउँ निकै वृहत् छ। विमान नेपाली आकाश हुँदै उडेकोसमेत हुनसक्ने संभावना छ। त्यसैले अनुसन्धानकर्ताहरुले नेपालबाट समेत राडार तथ्याङ्क खोज्ने भएको बीबीसीले जनाएको छ।

BixJG-8IUAE-X0n
मलेसिया सरकारले जारी गरेको नक्सा। स्याटेलाइट तथ्याङ्कको विश्लेषणबाट रातो चिह्न लगाइएको स्थानमा कतै विमान हुनसक्ने संभावना।

मलेसियाली प्रधानमन्त्रीले विमानको अन्तिम संकेत देखिएको ठाउँ उज्बेकिस्तान र कजाखस्तानको सीमामाथिको आकाश हुनसक्ने बताएका छन्। त्यहाँसम्म जानलाई नेपालको आकाश पनि प्रयोग भएको हुनसक्छ।

त्यही भएर बीबीसीका क्वालालम्पुरमा रहेका संवाददाता जोनाह फिसरले भनेका छन्– अनुसन्धानकर्ताहरु अब यो बोइङ उडेर गएको हुनसक्ने कुनै पनि देशका राडार तथ्याङ्क लिने प्रयास गरिरहेका छन्। त्यसमा थाइल्यान्ड, म्यानमार, बंगलादेश, चीन, भारत, पाकिस्तानसँगै नेपालको पनि नाम छ।

अहिलेलाई यो विमान नेपालको आकाशबाट उडेर गएको हुनसक्ने अनुमान मात्र गरिएको छ। नेपालमै कतै ओर्लिएको वा ठोक्किएको अनुमान छैन। अनुसन्धानकर्ताहरुले नेपालको राडारबाट यो विमान उडेर गएको भए कति उचाइबाट उडेर गयो, कुन समयमा उडेर गयो र कुन बाटो भएर उड्यो, आदिको जानकारी खोजेका हुनसक्छन्।

नेपालमा ओर्लिएको भए राजविराज विमानस्थल र टिआइएमात्रै संभावना ?
WNYC ले एउटा गज्जबको डेटा भिजुलाइजेसन गरेको छ। सिभिलियन राडारबाट बेपत्ता भइसकेपछि विमान कतै अवतरण गर्‍यो कि भन्ने अनुमान पनि केही केहीले गरेका छन्। त्यसो हो भने यो बोइङ पछिल्लो पटक थाहा भएको स्थानबाट भएको इन्धनका आधारमा २२०० नटिकल माइलसम्मका कुनै पनि ठाउँमा अवतरण गर्न सक्छ। तर बोइङ अवतरण गर्न ५ हजार फिटको रनवे आवश्यक हुन्छ। WNYC डेटा न्युज टिमले यो ठाउँभित्र विश्वका २६ देशका ६३४ वटा रनवे भेट्टाएको छ। त्यसमध्ये नेपालको राजविराज विमानस्थल र काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई यसले सूचिकृत गरेको छ। तलको एम्बेड नक्सा नखुले यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ

BiwIRpxCEAExAgl
सिंगापुर टुडेले अनुमान गरेको संभावित रुट।

अर्को नेपाल कनेक्सन
नेपालको आकाश भएर उडेको हुनसक्ने एउटा कनेक्सन भइहाल्यो। अर्को कनेक्सन चाहिँ यो हराइरहेको विमानका नौ जना यात्रु नेपाल घुमेर घर फर्किरहेकाहरु रहेछन्।

यो समाचार पनि बीबीसीले नै दिएको हो। विमानमा नौ जना चिनियाँ नागरिक थिए। पेन्सन पाकिसकेका उनीहरु पुराना साथी रहेछन्। अनि सँगै नेपाल घुम्न आएका रहेछन्। नेपाल घुमिसकेर घर फर्कन मलेसिया हुँदै बेइजिङ जान लागेका बेला यो घटना भइदिएछ।

विमानमा कूल २२७ यात्रु थिए। त्यसमा १५३ चिनियाँ र ३८ मलेसियाली थिए। १९ जना चिनियाँ कलाकारको टोली मलेसियामा भएको कला प्रदर्शनीमा भाग लिएर फर्कँदै थिए। दुई जना नक्कली पासपोर्ट प्रयोग गरेकाहरु थिए भने चार जनाले चेक इन गरे पनि विमानस्थलमा देखा परेका थिएनन्।

अनुसन्धान नयाँ चरणमा
आज मलेसियाली प्रधानमन्त्रीले सार्वजनिक गरेका तथ्यहरुले विमान अपहरण भएको हुनसक्ने संकेत दिए पनि यसको पुष्टि भने भइसकेको छैन। तर दुर्घटना भएर मरिसकेको ठानिएकाहरु जीवितै छन् कि भन्ने आशा चाहिँ पलाएको छ। प्रधानमन्त्री रजाकले पनि अनुसन्धान चालक दलका सदस्य र यात्रुहरुमा फोकस हुने गरी नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। पाइलटको घरमा खानतलाशी गरेको खबर पनि आएका छन्।

मलेसिया एयरलाइन्सले यात्रुका परिवारहरुलाई अब फौजदारी अनुसन्धान सुरु भएको र औपचारिक जानकारीहरु सरकारका तर्फबाट नै दिइने जानकारी दिएको रहेछ।

आठौँ दिनमा आएर केही कुरा भने निश्चित भयो-

-विमानका सबै सञ्चार सम्पर्क आफसेआफ एकाएक विच्छेद भएको हैन रहेछ, जानाजानी गरिएको रहेछ।
-एलियन वा बर्मूडा ट्रयाङ्गल जस्ता थेउरीहरु गलत रहेछन्।
-विमान साउथ चाइना सिमा खसेको हैन रहेछ।

तर अझै कयौँ प्रश्न भने बाँकी नै छन्
-कसले, किन, कसरी, कहाँ आदि आदि।
-अपहरण भएकै हो भने पनि अहिलेसम्म कुनै माग राखिएन।
-विमान सग्लै छ कि दुर्घटना भइसक्यो ?
-अरु घटनाको तुलनामा अमेरिकाको प्रतिक्रिया किन आक्रामक नभएको ?

यी प्रश्नका जवाफ खोज्न अझै कति दिन लाग्ने हो, कुनै टुङ्गो छैन। यात्रुको परिवार र आफन्तलाई कस्तो भइरहेको होला ? एक जना आफन्तको त चीनमा मृत्यु पनि भयो रे भन्ने खबर सिन्ह्वामा पढ्न पाइएको थियो।

यति ठूलो एरियामा कहाँ खोज्ने अब विमानलाई ?

New information on last known whereabouts of #MH370 has sharply shifted the search area. http://t.co/Teu0Yd2eBj pic.twitter.com/PQIHNf7u9G

— Troy McCullough (@TroyWSJ) March 15, 2014

10 thoughts on “हराइरहेको विमानको नेपाल कनेक्सन”

  1. Anuj says:
    March 16, 2014 at 1:06 pm

    जहाजमा भएका निर्दोष passenger हरुको कुशल अवस्थाको कामना गर्दछु श्री पशुपतिनाथ संग

    Reply
  2. rosebindi says:
    March 16, 2014 at 9:51 am

    हैन मंगल ग्रह मा भएको कुरा पत्ता लगाउने अनि पृथ्बी मा भएको कुरा पत्ता लगाउन नसक्ने बैज्ञानिक हरु पनि फेल खाएको होकी के हो

    Reply
  3. Bhola says:
    March 16, 2014 at 9:13 am

    पहिले को खोजि चेस बोर्ड मा खोजे जस्तो थियो भने अबको खोजि चै फूटबल ग्राउण्ड मा खोजे जस्तो हो भनेर भन्छन जानकार हरु .

    Reply
  4. yub raj kandel says:
    March 16, 2014 at 9:09 am

    यस घटनाले यो प्रमाणित हुन गैरहेको छ कि मलेशिया, चाईना, अमेरिका वा कुनै एक देश मात्र होईन, सम्पुर्ण मानव जगतका विज्ञान वा विश्वमा भएभरका सारा वैज्ञानिकहरु नै असफल भएका छन्। मंगलग्रह, चन्द्रमा, अन्तरिक्षका अनेकानेक खोजअनुसन्धानमा यान पठाउँछन्, पुर्याउँछन्। पृथ्वीबाटै रिमोट कन्ट्रोलले हो कि खै के जातीले हो अथाह अगण्य त्यती टाढा दुरीमा रहेका ग्रह र अन्तरिक्षका हरेक कुरा यहीं बसीबसी पत्ता लगाउँछन्। तर पृथ्वी भित्रैको कुरोको चैं कति खोज अनुसन्धान गर्दा पनि कुनै सुँईको सम्म पत्ता लगाउन नसक्ने। ल ठीक छ मान्न सकिन्छ कि विमानमा भएका सबै सञ्चार सम्पर्कका उपकरणहरु निस्कृय पारेर अपहरणकर्ताहरुले कन्ट्रोल टावर सँग त सम्पर्क विक्षेद गरे रे । तर स्याटेलाईट, राडार जस्ता विविध वैज्ञानिक उपकरणहरु त जताततै जडित थियो नि। आखिर ती सब निकाम भए। भनेपछी यदी अपहरण नै भएको हो, र त्यो पृथ्वी भित्रैकाले गरेका भए स्पष्टरुपमा ती अपहरणकारीहरु विज्ञानको अत्यन्तै विकसित अवस्थामा पुगीसकेका छन्। जोहरु सँग विश्वका कुनै पनि राष्ट्रका वैज्ञानिकहरुलाई तुलना नै गर्न सकिन्न। पृथ्वी भन्दा बाहिर अन्तरिक्षको कुनै ग्रहहरुबाट पृथ्वीको खोज अनुसन्धानमा आएका एलियन्सहरुले कब्जा गरेर लगेका पनि हुन सक्छन्। त्यो पनि होईन र दुर्घटनामा परेर विस्फोट भएको रहेछ भने एक दिन न एकदिन पत्तो लाग्ने छ। धैर्यधारण मात्र गर्न सक्नु पर्छ हामीले। वश! यती हो मैले जानेको बुझेको चैं।

    Reply
  5. Shakti Raj Pandey says:
    March 16, 2014 at 4:11 am

    the plane is abducted and i think Dalai Lama is behind it , as there were 149 chinese in the plane , this master plan plan is for FREE TIBET ,

    Reply
  6. Abhi says:
    March 16, 2014 at 3:22 am

    जे भए नि राजविराज मा अर्को अन्तरराष्ट्रिय एरपोर्ट बनौन सकिने सजिलो सम्भावना रहेछ , तत्काल यो कुरा लै कार्यान्यन गर्न पहल मा लागौ

    Reply
  7. Bishnu Adhikari says:
    March 16, 2014 at 2:27 am

    कि हाम्रा अनुभबी प्रधानमन्त्री सुशील कोइराला ले अपहरण गरे मलेसियन जहाजलाई / बिराटनगर मा पनि land गर्न मिल्ने थियो रे

    Reply
  8. ashok says:
    March 16, 2014 at 1:50 am

    मलाई एउटा कुरा चित्त बुझ्दै नबुझेको चाही के हो भने हामीले हरेक कुरा बैज्ञानिक दृस्टीकोणबाट मात्र पुस्टि गर्न खोज्छौ र प्रमाणित गर्न नसकेको खण्डमा हामी त्यसलाई तेतिकै छोडीदिन्छौ ! यो ब्रह्माण्ड बैज्ञानिक शुत्रले मात्र अडिएको छैन; कुनै तेस्रो शक्तिले पनि नियन्त्रण गरिरहेको छ भन्ने मलाई लाग्छ ! यो मेरो नितान्त ब्यक्तिगत बुझाई हो ! जहाज हराउनुको पछाडी बैज्ञानिक त्रूती मात्र नभएर कुनै दैविक शक्तिको पनि हस्तक्षेप हुन सक्छ ! अध्यात्मिक दर्शनमा बिश्वास नगर्नेहरुको लागी मेरो कुरा गलत हुन सक्छ, तर मलाई पूर्ण बिश्वास छ ! कसै कसैलाई यो कुरा बुझाउन ‘नर्मेटिक एप्रोच’ अपनाउनु पर्ने हुन्छ, जुन मेरो लागी निकै गाह्रो कुरो हो !

    Reply
  9. sujan joshi says:
    March 16, 2014 at 1:01 am

    गुगल जस्तो प्राइभेट कम्पनिको स्याटलाइटले त संसारको कुनाकाप्चा देखाइरहदा , अमेरिका चिन जस्ता बिस्वका महाशक्ति राष्ट्रहरु संग कुनै त्यस्तो प्रबिधी छैन होला ?
    बोइङ विमान खेलौना त होइन नि झोलामा लुकाएर राख्नको लागि ……

    Reply
  10. kedar says:
    March 15, 2014 at 11:36 pm

    सबैथोक स्मार्ट हुन् थालेको दुनियाँमा अब यो नयाँ स्मार्ट अपहरण पनी देखियो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme