Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सावधान, कृष्णभीरको पहिरोले यसपालि बिजोग बनाउन सक्छ

Posted on March 9, 2014March 9, 2014 by mysansar

साभारः nepaleseteacher.org
साभारः nepaleseteacher.org
राजधानीलाई बाँकी भागसँग जोड्ने सबैभन्दा चलेको हाइवे पृथ्वी राजमार्गको कृष्णभीरमा १४ वर्षअघि पहिरोले बिजोग गरेको थियो। हप्तौँसम्म हाइवे बन्द गर्न बाध्य हुनुपरेको थियो। २० दिनसम्म पहिरोका कारण ट्राफिक जाम भएको खबर छापिएको थियो। हजारौँ यात्रुले दुःख पाए, राजधानीको आपूर्ति व्यवस्थामा समेत असर पर्‍यो। दिनसम्मको दुःख दियो कृष्णभीरले। सर्वसाधारणले पहिरो भन्ने बित्तिकै ‘कृष्णभीर’ सम्झने स्थितिसमेत आयो।

बायो इन्जिनियरिङ प्रविधि प्रयोग गरी रोकथामको उपाय अपनाएपछि सन् २००७ देखि यहाँ पहिरो बग्न छाड्यो। खोलो तर्‍यो लौरो बिर्स्यो। पहिरो बग्न छाड्यो, वास्ता पनि गर्न छाडियो। सात वर्ष भयो बेवास्ता।

अहिले त्यहाँको भौगोलिक स्थिति निकै नाजुक रहेको सुख्खा मौसममा नै देखिएकोले मनसुन सुरु हुँदा झन् स्थिति खराब भएर बिजोग बनाउनेतर्फ सचेत गराउँछन् त्रिभुवन विश्वविद्यालय, त्रि-चन्द्र क्याम्पसका भुगर्भ विभागका सह-प्राध्यापक डा. रञ्जनकुमार दाहाल। उनी सम्बन्धित निकायलाई यसरी घच्घच्याउँदैछन्।
krishnabhir2

जाग्दैछ कृष्णभीर पहिरो

-डा. रन्जनकुमार दाहाल-

सन् २००० सालको अगस्त महिनामा सुरु भएको हो कृष्णभीरको पहिरो। पहिरोले सडकमा दिने गरेको हदैसम्मको दुःखको अनुभव गरायो यो पहिरोले। नेपालको इतिहासमै यति दुःख अरु कुनै सडक पहिरोले दिएका थिएनन् होला।

पृथ्वी राजमार्गमा अवस्थित कृष्णभीर पहिरोले हामी नेपाली इन्जिनियर र भूगर्भविद हरुलाई पनि धेरै तरिकाले पाठ सिकाएको छ। मूलभूत रुपमा भन्ने हो भने कृष्णभीर पहिरोले हामीलाइ सडक साइडको पहिरो के हो र यसलाइ कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा धेरै कुज्ञान पनि दिएको छ।

वर्षायाममा मात्र हैन, हिउँदमा पनि बहस
हालैका छापामा आएका खबरहरु जस्तै बैतडीमा सुख्खा पहिरोले दिएको दुःख, बन्दीपोखरा पाल्पामा बगिरहेको जमिन, अनि अर्मलामा परेका खाल्डोले हिमाली इन्जिनियरिङ भूवैज्ञानिक पाटोलाई धेरै हदसम्म प्रस्ट पनि पारेको छ। र, अब पहिरो र जमिन भासिने विषयमा चर्चा र बहस गर्न वर्षायाम मात्र होइन हिउँद याममा पनि उत्तिकै उपयुक्त छ भन्ने कुरा पनि हामी सबैले बुझ्न थालेका छौँ।

कृष्णभीर- स्थिति गम्भीर
जब हामी कृष्णभीरलाई सम्झिन्छौँ, स्थिति अब अति नै गम्भिर भैसकेको महसुस हुन थाल्दछ। गत सालको साउन महिनामा पहिलो पटक कृष्णभीरको बिग्रँदो स्थिति बारे ज्ञान भएको थियो।

त्यतिबेला कृष्णभीरको माथिल्लो क्षेत्रसम्म पुगेर हेर्दा स्थिति अझै बिग्रिन सक्ने भएकोले सम्बन्धित क्षेत्रमा आवाज पुर्‍याउन सामाजिक सञ्जालहरुको मद्दत लिइएको थियो। व्यक्तिगत रुपले भेटेर नै सम्बन्धित निकायलाई घच्घच्याउने काम पनि भएको थियो। तर आशा गरे अनुरुप कुनै बचावटको कार्य नबढेको देखियो।

के हो कृष्णभीरको पहिरो ?

कृष्णभीर पहिरोले कसरी दुःख दिएको थियो भन्ने कुरा तपाईँ हामीमध्ये धेरैले सम्झिएकै हुनुपर्छ। यो पहिरो अति ठूलो पहिरो नभएर मध्यम आकारको पहिरो हो।

नेपालको पहाडमा देखिने गरेका अति ठूला सिंगो पहाड नै बग्ने भीमकाय पहिरोको पोल्टामा यो पहिरो गएको छ।

यसको अर्थ पहिरोमा संलग्न पहिरोका पदार्थहरु केही हजार वर्ष पहिले भीमकाय पहिरोको रुपमा बगिसकेको चट्टान र माटो हो। यसैले त्यहाँ बगेको लेदो, माटो र चट्टानका टुक्राहरु अति कमजोर छन्।

भीमकाय पहिरोभित्रको नयाँ पहिरो भएकोले कृष्णभीर पहिरो भएको ठाउँमा स्लेट चट्टानको पत्रहरु अति नै ध्वस्त भएर टुक्रिएका छन र बलियोपन पट्टकै छैन। यहाँसम्म कि हातले नै चट्टानको पत्र कोपर्न र भत्काउन सकिन्छ। यस्तो कमजोर चट्टान र माटो भएको पहाडी भीरमा कृष्णभीर पहिरो रहेको छ।

यसरी नियन्त्रण गरिएको थियो
कृष्णभिर पहिरो जब सन २००० सालमा गएको थियो, त्यसबेला यसको रोकथाम उपायको लागि धेरै नै चर्चाहरु भए। विभिन्न किसिमका उपायहरु सुझाउँदा सुझाउँदै अन्तमा सस्तो उपाय बायो-इन्जिनियरिङ नै हामीलाई ठिक लाग्यो।

१९८० को दशकमा ब्रिटिस इन्जिनियरहरुले धरान-धनकुटा सडकबाट सिकाएको बायो-इन्जिनियरिङ प्रविधि प्रयोग गरी पहिरो व्यवस्थापन गर्ने प्रयास शुरु भयो।

के हो बायो इन्जिनियरिङ ?
बायो-इन्जिनियरिङ भनेको साधारण भूक्षय र पातलो पत्रको माटो भएको ठाउँमा हुने साना पहिरोहरु रोकथाम गर्न रुख बिरुवा र स-साना टेवा पर्खाल र गेबियन पर्खाल प्रयोग गरिने सस्तो पहिरो रोकथाम प्रविधि हो।

कृष्णभीरमा बायो-इन्जिनियरिङ प्रविधिको छनौट कुनै इन्जिनियरिङ सोचभन्दा पनि गर्नुपर्ने काम जस्तो भएको थियो। सडक विभागका अति नै मिहिनेती इन्जिनियरहरुको झन्डै ५ वर्षको परिश्रमले बायो-इन्जिनियरिङ प्रविधि प्रयोग गरेपछि कृष्णभीर पहिरो सन् २००७ पछि बग्न छोडेको थियो। त्यतिबेला नै पहिरोको भागमा पर्ने सडक पनि पिच गरिएको थियो।

खोलो तर्‍यो, लौरो बिर्स्यो
बायो-इन्जिनियरिङ भनेको लगातार हेरचाह पुराउनु पर्ने प्रविधि हो। बढेका घाँसपात काट्ने, थुनिएका खोल्चो खोल्ने आदि सम्भारका कामहरु नगरे यसले रामरी काम गर्न सक्दैन। फलस्वरुप पहिरोको रोकथाम हुन सक्दैन।

तर, कृष्णभीरमा सन् २००७ मा पहिरो बग्न छाडेपछि आवश्यक रेखदेख गर्न सायद हामी चुकेर नै होला गत सालको वर्षामा यो भत्किने प्रक्रियाको नजिक पुगेको छ।

अहिले कृष्णभीर सडकको माथिल्लो र तल्लो भाग दुवैतिर नराम्ररी धसिन थालेको छ।

गत मङ्सिर महिनामा सडकको तल्लो भाग धसिएर ठूलो ठूलो धजा फाटेको थियो र टेवा पर्खाल झन्डै दुई मिटर सरिसकेको थियो।

तर गत माघ महिनामा त्यो धसिएको ठाउँमा माटो थुपारिएको रहेछ र धाजाहरु छोपेको पाइएको छ।

पातलो पत्रको पहिरो बग्न सुरु
यस्तै गरी झन्डै केही हप्ता अगाडि खिचिएको फोटोमा हेर्दा कृष्णभीरको बीच भागमा पातलो पत्रको पहिरो बग्न सुरु गरेको यो सुख्खा मौसममा पनि ठ्याक्कै देखिन्छ।

कृष्णभीरको दाहिने पट्टीको खोल्चोको माथिल्लो भागमा सबै इन्जिनियरिङ संरचनाहरु भत्किसकेको देखिन्छ।

त्यहाँ पुगेर हेर्दा कृष्णभीर पहिरोभित्र अर्को सानो पहिरो गएर माथिल्लो भागमा लगाएको रुखहरु अहिले “जड्याहा रुख” मा परिवर्तन भएका छन्। रुखहरु ढलेका र ढल्किएका छन्, अनि माटोको लेदो, टेवा पर्खालका टुक्राहरू खोल्चोमा बगिरहेको छ।

उता, सडकको तल भूक्षय पनि बढेको छ र सडकको छेउ भासिने क्रम पनि अति नै बढेको देखिएको छ।

सडकको तल र माथि दुवै ठाउँमा पानीको व्यवस्थापन बिग्रिएको छ र बायो-इन्जिनियरिङ संरचना नाशिदै गएका छन्।

यो सबै बयान अहिले सुख्खा मौसमको हो। अब मनसुन सुरु हुन केवल चार महिना मात्र बाँकी छ। मनसुन अगाडि हुने आँधिबेहरी र पर्ने मुसल्धारे पानीको आगमन पनि पक्का छ।

यस्तो अवस्थामा हामीलाई कृष्णभिरले अहिले कै अवस्थामा साथ दिइरहन नसक्ने कुरामा अब कुनै दुई मत छैन।

थाहा छ, तर चुप
कृष्णभीरको बिग्रँदो अवस्थितिबारे सम्बन्धित निकायलाई थाहा भइसकेको पनि छ। तर हामी तत्काल कदम चाल्न भन्दा पनि अरु बिग्रियोस् भनेर कुरेर बसे झैँ गरिरहेका छौँ।

विश्वविद्यालयका अनुसन्धानकर्मीले समस्याको चुरो देखाएपछि सरकारी निकाय पनि अग्रसर भएर रोकथामतिर उन्मुख भए हामी विपद् व्यवस्थापन गर्न हदैसम्म सक्षम छौँ भन्ने कुरा जनमानसलाई अनुभूति दिन सक्ने थियौँ। र, दिगो अनि प्रकोपविहीन सडकको हाम्रो सपना सँधै साकार हुने थियो।

डा. दाहाल त्रिभुवन विश्वविद्यालय, त्रि-चन्द्र क्याम्पसका सह-प्राध्यापक हुन्। उनलाई उनको व्यक्तिगत वेबसाइट rajan.net.np मा सम्पर्क गर्न सकिन्छ।

[कृष्णभीरको पहिरोले समस्या पार्दाको तपाईँको कुनै अनुभव छ ? सम्बन्धित विज्ञले समस्या औँल्याएपछि तदारुकताका साथ त्यसलाई रोकथाम गर्न तपाईँको स्तरमा दबाब दिन के गर्नुपर्ला ? आफ्नो विचार तल कमेन्टमा लेख्नुस्]

4 thoughts on “सावधान, कृष्णभीरको पहिरोले यसपालि बिजोग बनाउन सक्छ”

  1. chatur rai says:
    March 9, 2014 at 8:16 pm

    नेपालको एउटा दुख भयो कृष्णभीर, समयमा नै ध्यान नपुगे पछि पछुताउनुको कुनै अर्थ रहदैन |

    Reply
  2. Rajesh rai says:
    March 9, 2014 at 7:02 pm

    समयमै सुझाब दिनुभयकोमा धन्यवाद
    सरकारले समयमानै रोकथाम गरि हजारौ यात्रुलाई अलपत्रमा पर्न नपरोस/
    वास्तबमा यो भीरको नाम कंस भिर हुनुपर्ने कसरी कृष्ण भयो/

    Reply
  3. Ranjan Kumar Dahal says:
    March 9, 2014 at 6:22 pm

    उमेश जी, आशा गरौ तपाई र मेरो मिहिनेत खेर नजाओस र यसपाली हामीले कृष्णभीर को दुख सहनु नपरोस |

    Reply
  4. सुगतश्री शरण says:
    March 9, 2014 at 4:02 pm

    यहाँ सुझाव दिएका कुराहरु सम्वद्ध निकायका उत्तरदायी व्यक्तिले महसूस गरी कार्यान्वयन गरेको कुनै रेकर्ड अहिलेको समय सम्म थाहा पाइएन । कुनैछ भने थाहा चाहियो !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme