औधी राम्रो छ पाल्पाको श्रीनगरको डाँडो र यसको सेरो फेरो! हालसालैको एसियन यात्रा सर्भेले नेपालका यात्रा गर्नलायक ठाउँ भित्र श्रीनगरको नाम पनि पारेको देखेर मेरो छाती तन्केर बेलुन फुले झैँ भएको छ किनकी म यहीं जन्मेको थिएँ । अफ्नो जीवनको आधार स्तम्भ भएकोले नै होला लुम्बिनी, पाल्पा, श्रीनगर सुन्ने बित्तिकै मन बहकिई हाल्छ । देशको न्यास्रोले हो या रगतमा देशभक्ति बढी भएर हो, यी ठाउँ मात्र होइन की नेपालका कुनै पनि कुना काप्चाको नाम सुन्दा पनि अहिले नै फाल हानेर कुंदौं जस्तो लाग्छ ।
तातेताते गर्दादेखि कक्षा नौसम्म संगै पढेका, संगै गुच्छा र बक्खु खेलेका, चाहिने नचाहिने कुरामा झगडा पछि मिलाप गरी कहिले नछुट्टिने कसम खाएका साथीहरुलाई छाडेर तराईमा बसाई सर्नु पर्दाको त्यो दिन मुटु नै काटे जस्तो भएको थियो मलाई ।
संयोगबस घरायासी किनमेलको सिलसिलामा बुटवलसम्म आउँदै गरेकी सहपाठी जमुनालाई एउटै बसमा भेट्दा मनमा लागेको बिछोडको डडेलो क्षणिक रुपमा भए पनि मथ्थर भएको थियो । तर, पाल्पाबाट बुटवल कति पो छ र ! केहि घण्टा न लाग्छ ! साथीहरु, शिक्षकहरु, स्कूल, पढाई, बसाई सराइ आदिका कुराहरु अलि अलि मात्र गर्दागर्दै आइपुग्यो बुटवल, अनि बिछोडको अन्तिम घडीमा मलमपट्टि बनेकी जमुनासंग पनि छुट्टिनु पर्ने त्यो क्षण ।
रहे बाँचे फेरि पनि भेट हुनेनै छ अहिलेलाई बिदा भनी जमुनासंग छुट्टिएर नारनघाटको बस चढ्दासम्म जबर्जस्ति दबाई राखेका मेरा आँसु बसको रफ्तारसंगै साउने झरी झैँ बर्सिन थाले । हिउँदको खुलेको आकासमा लागेको घाम, दायाँबायाँ पर्ने पहाड र मध्य तराईका सुन्दर दृष्य सबैलाई मनभित्र लागेको खग्रासले खर्लप्पै निली आँखा अगाडि बाक्लो पर्दा लगाइदिएको थियो । बुटवल देखि नारनघाटसम्मको यात्रा बीचका कुनै पनि कुराले भुलाउन सकेन यो मनलाई । आफ्नै कर्म घर, आफ्नै प्राण प्यारो परिवारले समेत बाल्यकालका साथिहरुसंगको बिछोडको पीडालाई तत्कालै मत्थर गर्न सक्दोरहेनछ ।
आफ्नै अगाडि घटेका दर्दनाक दृष्य, आफूलाई मायाँ, स्नेह, रेखदेख गर्ने नजिकको व्यक्तिको दुखान्त घटनाले मात्र कलिलो मानसपटलमा गहिरो मनोबैज्ञानिक, सम्बेगात्मक र भावनात्मक असर नगर्दा रहेछन् । बालापनका साथीहरुसंगको बिछोडले पनि धेरै मर्माहत बनाउँदो रहेछ मान्छेलाई । धेरै दिनसम्मै छोपी रह्यो यो बिछोडको पीडाले । तथापी समय साच्चै नै पीडाको ओखती पनि रहेछ । नयाँ स्कूलमा भर्ना भएपछि बिस्तारै नयाँ साथीहरु बने, अनि पहाडका साथी छाड्दाको पीडा क्रमशः कम हुँदै गयो । कक्षा दशको टेस्ट पास भै साथिहरुसंग छुट्टिनु पर्दा अलिअलि मन खिन्न त भएको थियो तर घर वरिपरी नै संगै पढेका थुप्रै साथी भएकोले त्यस्तो नरमाइलो केही लागेन ।
एस.एल.सि.मा नतिजा राम्रो आयो । भाग्यबस हाम्रै पालामा घर नजिकैको क्याम्पसमा बिज्ञान बिषयको पढाई शुरु भयो । आफ्नै घरको खस्रोमीठो खाएर घरै बसी बिज्ञान बिषय पढ्ने सौभाग्य मिल्यो । नयाँ जोस, नयाँ उमङ्ग, नया लक्ष, नयाँ सपना, सबै नयाँ भए !
स्कूल देखि नै मलाई पहिलो या दोश्रो बेन्चमामात्र बस्न मन पर्थ्यो । कुनै कारणबस त्यो भन्दा पछाडी बस्नु पर्यो भने पढाएको कुरा नै नबुझे जस्तो लाग्थ्यो। क्याम्पसमा दोश्रो बेन्च प्यारो बन्यो । म बस्ने बेन्चको दाहिनेपट्टिको बेन्चमा सधै उनै चार जना महिला विद्यार्थीहरु बस्थे । संगै स्कूल पढेका रे उनीहरु ! मेरो नजिक बस्थिन् जोत्सना ।
हक्की र मिजासिली, गोलो अनुहार र मिलेको शरीर भएकी जोत्सना निकै फरासिली थिइन । बिस्तारै उनको समूह र म घनिष्ठ साथी बन्यौं। हामीहरु पाँचैजना बिरलै गयल हुन्थ्यौं । कारणबस हामी मध्ये कोही कुनै दिन क्याम्पस आएन भने कक्षा सकिने बित्तिकै सबै जना तुरुन्तै उसको घर पुग्थ्यौं । प्रत्येकका परिवारले हामी सबैलाई आफ्नै छोराछोरी सरह मायाँ गर्थे । कुनै एकजनालाई कहीं जानु पर्ने काम भए हामी सबै संगै त्यो ठाउँमा जान्थ्यौं । कसको नोट कोसंग छ, कसले कसको नोट लेखेको छ थाहा हुँदैनथ्यो हामीलाई। यहाँसम्म की रेस्टुरेन्ट गै चिया नास्ता खाँदा मेरो भन्ने नै हुँदैनथ्यो हामीबीचमा । सबैले सबैको भाग खान्थ्यौं। बिर्सने नसक्ने गरी बिते हाम्रा चार बर्षहरु ।
मात्र एकजना केटा र चारजना केटी सधै संगै देख्दा सबै अचम्म पर्थे । एक पटक हाम्रो अंग्रेजीको रामकृष्ण सरले मलाई खुसुक्क बोलाएर उदय, तिम्रो यी चारजना केटीहरु मध्ये कुनसंग छ भनेर समेत सोध्नु भयो । एस्ट्रजन, प्रोजेस्टरौउन, टेस्टसटरौउन आदि होर्मोन को कारणले कतिपय अबस्थामा मनहरु पापी हुँदै भएनन् भन्ने कसमै त खान नमिल्ला तथापी हामीहरुबीच प्रगाढ मित्रता बाहेक कुनै प्रकारको नराम्रो सम्बन्ध थिएन ।
कसले पो काबुमा पार्न सक्छ र समयलाई ! समय धेरै बलबान छ, रुप फेर्छ, असैह चोटलाई निको पनि पार्छ तर जीवनमा सबभन्दा निर्दयी र क्रुर पनि बन्दछ । चार बर्षसम्म पाँच आत्माहरुलाई एउटै सेरोफेरोमा रमाउने अवसर दिएको समय हामीमाथि नै बज्रपात बनेर आइपुग्यो । यो क्याम्पसको पढाई सकियो, जांच भयो अनि हाम्रा भेटहरु बिस्तारै पातलिन थाले । परीक्षाफल प्रकाशन भएपछि त झन भेटै हुन छाड्यो ।
जोत्सनको बिबाह भयो, फेल भएका तीन जना साथी बिस्तारै सम्पर्क बाहिर बस्न थाले, म स्नातकोत्तर पढ्नकोलागि काठमान्डौ लागें । अहिले जस्तो संचारका याबत साधन थिएनन् त्यो बेला । हामी पाँचै जनाको घरमा फोन समेत थिएन । तत्पश्चात हाम्रो सम्पर्क पूर्ण रुपले टुट्यो । २५ बर्ष अघिको जोत्सनाको बिबाहको दिन नै हामी पाँच जनाकोलागि लेटेस्ट भेटको दिन बनेर अंकित बनेको छ आजसम्म् पनि ।
एम.एस्.सी. दोश्रो बर्षको शुरुमै मेरो पनि बिवाह भयो संगै पढ्ने जेसिकासंग । हाम्रो परीक्षाफल प्रकाशन हुँदाको दिन हाम्री प्यारी छोरी रुबीको प्रथम जन्मिन थियो ।
मैले त्रिभुवन विश्वबिद्यालय मै तुरुन्तै अस्थायी सहायक प्राध्यापक बन्ने अबशर पाएँ । त्री.बि.बि.को सजिलो नियम ! स्नातकोत्तर तहमा प्राध्यापन गर्नेले हफ्तामा मात्र १२ वोटा कक्षा लिए पुग्ने अनि आफ्नो कक्षा हुँदामात्र गए हुने! नोट नलेखाई नहुने त्री.बि.बि. को परम्परा, आफूले भर्खरै पढाई सकेकोले सबै ताजै र साथै थियो । तयारी धेरै गर्नै नपर्ने भएकोले मेरो समय प्रसस्त उब्र्यो ।
मेरो अवस्था हरेक दृष्टिकोणबाट उर्बर थियो । पच्चिस बर्षे जवानी, स्नातकोत्तरमा प्रथम श्रेणी, पास हुने बित्तिकै सहायक प्राध्यापक, साथमा शिक्षित र सुन्दर श्रमती, बेलैमा बाउ बन्ने सौभ्याग्य ! यत्रो आशिष आफू माथि हुँदाहुँदै हिंडिरहेका खुट्टा र उडिरहेका पखेटालाई लगाम लगाउन पटक्कै मन मानेन । उब्रेको समय जेसिकाको जागिर खोज्ने र जीवनमा आयाम थप्ने काममा लगाइराख्दा फ्याट युनिभर्सिटि अभ क्यालिफोर्नियामा छात्रवृति सहितको पी.एच.डी.गर्ने राम्रो अबशर मिल्यो । फेरि बसाई सर्ने भयो मेरो पाल्पाबाट शुरु भएको पढाईले। अनि जेसिका, रुबी र म सपरिवार लाग्यौं अमेरिका तर्फ ।
अमेरिको शुरुको बसाई एकदम राम्रो रह्यो । बसाई त अहिले पनि राम्रै छ भन्नु पर्यो । आफ्नै सुबिधा सम्पन्न घर छ, महंगो गाडी छ, राम्रै जागिर छ । भौतिक कुराको कमि छैन नै भन्नु पर्छ । अमेरिका आएको ठ्याक्कै बर्ष दिनमा अनमोलको जन्म भयो । युनिभर्सिटीको नेटवर्क अपार्टमेन्टमा उपलब्ध भएकोले अफ्नो अध्ययन सुपरभाइजरसंग सल्लाह लिनु पर्ने अवस्था बाहेकका धेरै जसो अनुसन्धानका काम घरैबाट गर्न मिल्ने । हरपल परिवार संगै। खुशी र रमाइलै रमाइला बने हरेक दिन परिबर्कैलागि ।
मैले पी.एच.डी. सक्दा रुबी स्कूल जान थालिसकेकी थिइन। अनमोललाई डे केयर सेन्टरमा राखेर जेसिका पनि पार्ट-टाइम काम गर्न शुरु गरेकी थिइन् । मैले जागिर खोज्दै थिएँ । यत्तिकैमा फेरि त्यही युनिभर्सिटी मै पाँच बर्षे पोस्ट-डक गर्ने अवशर मिल्यो । बच्चाहरु पनि हुर्किंदै, बढ्दै, पढ्दै थिए, जेशिका पनि बिस्तारै पूर्णकालीन जागिर गर्न लागेकी थिइन्, मेरो अध्यन पनि राम्रोसंग चल्दै थियो । मेरो छ्त्रबृतिको पैसा, जेसीकाको जागिरको पैसा, सरकारले बच्चाहरुलाई दिने चाइल्ड सपोर्ट आदिले बैंकमा पनि निकै पैसा जम्मा भैसकेको थियो यो बेलासम्म ।
मेरो पोस्ट डक सकिने बेलासम्म छोराछोरीको उमेर, मेरो योग्यता, हाम्रो आर्थिक स्तर वृद्धिको साथसाथै अर्को एउटा कुरा पनि जोडतोडले वृद्धि भै रहेको थियो । त्यो थियो जेसिका र मेरो बीचको मनमुटाब र असमजदारी !
अमेरिकाको खुल्ला र स्वच्छन्द समाज, महिनाको लाखौँ हात पर्ने जेसिकाको जागिरको उन्माद, एउटै कक्षामा पढ्ने व्यक्तिले थपी गरी रहेको डिग्री अथवा अरु के कुराले गर्दा हो जेसिकाकोलागि मसंगको अबको थप एक दिन पनि बढी भैरहेको थियो ।
अन्तत अदालतमा जानै पर्यो । अमेरिकाको कानुन अनुसार श्रीमतीले छोडपत्र दायर गरे पछि श्रीमानले सही गर्नै पर्ने भएकोले बिबसतामा सही गरें । बच्चाहरु नाबालक भएकोले आमासंगै रहनु पर्ने र बाउले पालन पोषणमा सहयोग गर्नु पर्ने, अनि हप्तामा एक पटक बाउले बच्चा भेट्न पाउने गरी हाम्रो सम्बन्ध बिच्छेद भयो ।
आखिर पीरले तान्दो रहेनछ जिन्दगी ! सके पनि नसके पनि, खुशीमा, बेदनामा, मर्ममा जस्तो अबस्थामा भए पनि आफ्नै काँदमा जुवा राखी तानेपछि मात्र चल्दो रहेछ जिन्दगी ! भबिष्य अन्धकार देखी बिगतलाई छाँद हाल्नु भनेको नै आफै भाषिनु रहेछ । त्यसैले एक्लो जिन्दगीलाई बलै तानीरहें र अझैसम्म तानिरहेकै छु । परिवारसंग छिन्नभिन्न भए पछि मेनल्याण्ड अमेरिकामा बस्न मनै मानेन । जागिर खोज्ने क्रममा हवाईको युनिभर्सिटीमा खुलेको सहायक प्राध्यापक पदमा दरखास्त दिएँ, छनौटमा पनि परें, अनि यो ठाउँमा म गत बाह्र बर्षदेखि कार्यरत छु ।
बर्षौसम्म संगै पढी आफूले राम्रोसंग जानेकी, अन्तमा धेरै माझ अफ्नो मनले सर्बोत्तम भनी छानेकी जेसिकाको मन बदलाइ र कानुनको खोस्टाले आफ्नै दुई मुटुका टुक्राहरुलाई आफ्नै हातबाट खोसी हप्ताको एक भेटमा सिमित पारिए पस्चात मानिसको जीवनमा जस्ता अकल्पनीय घटना पनि घट्न सक्दा रहेछन भन्ने कुरा घाम जस्तै भयो ।
यस बर्ष हाम्रो युनिभर्सिटीमा नेपालबाट पनि एक जना विद्यार्थी आउने कुरा पक्का भए पछि भर्नाका कर्मचारीले पालै पालो मलाई भनिरहेका थिए । नेपाल बारे सुन्दै पनि हुरुक्कै हुने मलाई हवाईमा आए पछि काठमान्डौ रेस्टुरेन्टका मालिक निमा शेर्पाजी बाहेक कुनै नेपालीसंग भेट हुने अवसर नै मिलेको थिएन। उत्सुकता साथ नेपाली विद्यार्थी आइपुग्ने दिनको ब्यग्र प्रतिक्षा गर्दागर्दै नेपाली विद्यार्थी पनि आइहाले ।
भूगोल अनुसार काउन्सेलर छान्ने क्रममा यस पटक दक्षिण एसियाका बिद्यार्थीको काउन्सेलर मलाई बनाइएको थियो । तोकिएको समय अनुसार नै नेपाली बिद्यार्थीसंग भेट भयो। व्यक्तिगत विवरण, व्यक्तिगत जीवनका कुरा सोध्न नमिल्ने अमेरिकन कानुन जान्दा जान्दै पनि नेपाली मन, रीति, संस्कार न हो कोही अफ्नो देशको मान्छे भेटेपछि तीन पुस्ते, पहाड घर, कतिजना परिवार, बुवाआमा के गर्ने अदि अदी नसोधी कहाँ चित्त बुझ्छ र ! यसरी सोध्दै जाँदा थाहा भयो की ती बिद्यार्थी रहेछन जोत्सनाका छोरा, अमीत ।
उनी जोत्स्नाका छोरा भन्ने थाहा पाउने बित्तिकै मेरो मानसपटलमा ब्याक गिएर लागी रोलर कोस्टर घुमेर पच्चिस बर्ष पहिलेसम्म फ्लासब्याक भयो ।
साच्चै समय गतिशील छ ! कहाँको हाम्रो त्यो क्याम्पस जीवन, हामी पाँच जना मिल्ने साथीको आजसम्मको अन्तिम मिलन बिन्दु बनेको जोत्सनाको विबाह, मेरै व्यक्तिगत जीवनका उतार चडाब, अनि मेरै युनिभर्सिटीमा अध्यन गर्न आएको र मेरै आँखा अगाडि बसेको जोत्सनको छोरा ! तरंगिनसम्म तरंगियो मेरो दिमाग निकै बेर !
जोत्सना मेरो साथी भएको कुरा थाहा पाए पछि अमीतको अनुहार पनि हजार वाटको चिम बले जस्तै भएर चम्कियो। तीन छक्क पर्यो ऊ पनि ! आखिर उसलाई पनि त सोच्दै नसोचे कै कुरा भएको थियो मसंगको भेट ।
अमीत बस्ने डोरमिटरी मलाई थाहा थियो । मेरो भिजिटिंग कार्ड उसलाई थमाई म बेलुका सात बजे तिमीलाई लिन आउँछु भन्दै त्यो क्षण हामी बिदा भयौं ।
म बेलुको खाना बनाई सकेर गएको थिएँ अमीतलाई लिन । घर आए पछि खाना खाँदै उनको परिवार अनि नेपालका बिबिध बिषयमा थुप्रै कुरा गर्यौं । अफ्नो डोरमिटरीमा फोन जडान नभई सकेको र कलिंग कार्ड किन्ने मेसो पनि नपाएकोले हवाई आए पछि घरमा फोन गरेका रहेनछन् अमीतले । मेरै घरबाट फोन लगायौं अमीतको घर । मेरो बारेमा अमीतले बताउँदा एकछिन त अलमल परिन जोत्सना, तर चिने पछि त यति खुशी भइन की भनी साध्य नै छैन ! जोत्सना र म दुबैलाई बिपना पनि सपना भइरहेको थियो । अमीतलाई घर पुर्याउनु भन्दा पहिले फेरि स्काइपमा कुरा भयो । गाला अलि अलि चाउरी परे पनि उस्तै हँसिली र फरासिली जोत्सना । म पनि अलिअलि चाउरी परेको र तालुखुइले भएको देख्दा उनी पनि अचम्म परिन । जोत्सनाका दुई सन्तान मध्ये अर्चना त्री.बि.बि. मै अर्थशास्त्रमा स्नातकोत्तर गर्दै रहिछन् । एकदम अशल स्वभाब की ! अर्चनाको बान्की अलिअलि रुबीको जस्तै रहेछ । उनीसंग पनि सामान्य कुरा भयो तर उनलाई देख्दा रुबी को सम्झनाले मेरो मुटु नै रेटियो ।
तत्पश्चात फोन, स्काईप मार्फत जोत्सना र मेरो नियमित सम्पर्क हुन थाल्यो र अझसम्म पनि निरन्तर छ । यहाँसम्म आइपुग्दा हामीबीचमा धेरै कुराहरु भए । क्याम्पस पढ्दा उमेरको अपरिपक्कताले अथवा दहकसले भन्न नसकेका कुरा पनि खुलेरै भन्न थाल्यौं एकअर्कालाई हामी अहिले ।
जोत्सनाका श्रीमान राष्ट्रिय योजना आयोगमा उप-सचिब भएको कुरा त थाहा भएको थियो तर शुरुदेखि नै फोन तथा स्काइपमा उहाँसंग एक पटक पनि भेट हुने अवसर मिलेको थिएन ।
क्याम्पस पढ्दादेखि नै म साहित्यमा राम्रो भएको कुरा जोत्सनालाई थाहा थियो किनकी उनकै अगाडि थुप्रै पटक पुरस्कार थापेको थिएँ मैले । जोत्सनालाई गीत निकै मन पर्थ्यो । म पछि लेखनमा उपमा नामले चिनिन थालेपछि मेरा रचना पढे पनि रचनाकार म नै हो भन्ने कुरा थाहा रहेनछ उनलाई । एकदिन कुरा गर्दै जाँदा मैले रचेका रचना मध्ये उनलाई मनपर्न सक्ने गीत इमेलमा पठाइदिन भनिन् । मैले पनि साच्चै नै उनलाई मुख्य पात्र सम्झेर रचना गरेको गीत “मायासंग आसु साटें”जुन मेरो हाल सालै प्रकाशित गीति-संग्रहको नामाकरण पनि हो, पठाई दिएँ र सुत्न गएँ ।
वास्तबमा क्याम्पस पढ्दा मेरो भित्री मनले जोत्सनालाई एकदम मन पराउँथ्यो । उनी अन्मिएर कसैसंग टाँसिएर बसेको बस अगाडि गुड्दै गर्दा उक्त बस मेरो छाती माथिबाटै गुडे जस्तो भएको थियो मलाई पच्चिस बर्ष पहिले। तर उनको मायाँले यो मुटु भरिएको छ भन्ने कुरा बिचरीलाई के थाहा ! यो कुरा मैले उनलाई कहिलै भन्न सकेको थिईन । गीत पठाए पछि मनमा धेरै कुरा खेले । यत्रो बर्षसम्म व्यक्त नगरेको कुरा नभनेको भए पनि हुने जस्तो लग्यो। यस्तै तानाबानाले निद्रै परेन अबेर सम्म नै ।
यत्तिकैमा जोत्सनको फोन आयो । अबेर फोन गरेकोमा माफ माग्दै त्यो गीत रचनाको परिबेस बारे सोधिन उनले । शुरुमा त सिधै नभनू जस्तो लागेको थियो, तर पनि मैले उनलाई औधि मन पराउने कुरा अझ कहिलेसम्म छिपाई रहने ! त्यस माथि पनि हामी दुवै बिबाहित, छोराछोरी पनि हुर्किसकेकाले भन्दा कुनै फरक नपर्ने सोची प्रस्टै भनी दिएँ जोत्सना, मैले कहिलै भन्न नसके पनि म तिमीलाई एकदमै मन पराउँथें । तिम्रो बिबाह पस्चात बिहल हुँदाको अबस्थामा तिम्रै सम्झनामा रचना गरेको हुँ यो गीत भनेर । फोनमा उनको बाक्य बन्द भयो, तर फोन भने राखिएको थिएन ।
पछि मैले उनको मोबाइलमा फोन गरें । फोन त उठ्यो तर उनी एकदम रोइराखेकी थिइन् । एक्कासी रोएको पाउँदा म पनि झस्कें, र किन ? के भयो ? भनी सोधिरहें ! उनी झन डाकै छाडेर रोइन । मैले फेरि पनि सोधी रहें। अनि जोत्सनाले भन्न शुरु गरिन । उनले पनि मलाई एकदम नै मन पराउथिन रे क्याम्पस पढ्दा तर कहिलै भन्ने मौका मिलेन रे, र आँट पनि आएन रे ! हुन पनि त्यति बेला हामी एक्ला एक्लै कहिलै भेटेनौं, जे गर्थ्यौ समूह मै गर्थ्यौं । त्यस पछि हामी दुवै संगसंगै धेरै बेर रोयौं ।
पछि कुरा खोल्दै गइन जोत्सनाले । वास्तबमा उनको हालसालै श्रीमानसंग सम्बन्ध बिच्छेद भएको रहेछ । यो कुराले मेरो आफ्नै सम्बन्ध बिच्छेदको घाउलाई पुनः बल्झायो, म मर्माहत भएँ ! लेखेको कुरामा पटक्कै विश्वास नगर्ने म सोच्न बाध्य भएँ । श्रीष्टिकर्तासंग पनि गुनासो गर्न मनलाग्यो । आफूले सिर्जना गरेको प्रथम मानब अर्को मान्छेको साथ बिना कुनै कुराले खुशीहुन नसकेको देखेर जीवन साथी जुटाइदिने परमेश्वरले किन सबै अशल कुरामात्र लेख्दैन, किन आफैले दिएको जीवन छिन्नभिन्न हुनलागेको देखर रोक्दैन भनेर ! तर यसको जवाफ कहाँ र कसरी पाउने ?
अहिले पनि हामी दुबैले एक अर्कालाई उत्तिकै माया गर्छौ र चाहन्छौ पनि । हाम्रो एक निर्णयले हामी तुरुन्त एक हुन सक्छौ । तर समाजले कोरिदिएको सीमा रेखा छ हाम्रो अगाडि जुन हामी मिच्न, मेटाउन र भत्काउन चाहन्नौ । हामी हाम्रोलागीमात्र बाचिरहेका छैनौ अहिले । समाजका मूल्य र मान्यता, नालनाता र छोराछोरीको इज्जतको लागि पनि बाँचेका छौं । हाम्रै छोराछोरी र आफन्तले नै हाम्रो मिलन गराउने साइत जुराए भने हाम्रोलागी जीवनमा त्यो भन्दा ठूलो र खुशीको कुरा केही हुने छैन । अन्यथा हामीले समाज, परिवार र मान्यताको सीमा रेखा कहिले पनि ननाग्ने प्रण गरेका छौं । प्रेम आखिर प्राप्तिमात्र होइन रहेछ, बलिदान पनि रहेछ। हामी आजीवन बलिदान हुन तयार छौं !
Well written real or fiction. Good job
अब तपाईहरुको मिलन नभएपनि छोरा छोरीहरुको चाँही मिलन गराउन पर्यो नि…………..
राम्रो कथा गौतम जी , यो कथा तपाइको आफ्नै कथा हो भने म तपाइलाई समाजको सिमा रेखा लाई पनि धIन्य मा राखी नया जीवन सुरुवात गर्ने सलाह दिन चाहन्छु I तपाईहरुका छोरा-छोरी र आफन्त हरुले पक्कै मिलाउने छन् तपाईहरुलाई शु -भकIमनI .
nice story. thank you
अतिनै सुन्दर रुपले घटना संयोजन गरिएको | अतिनै मन छुने कथा | मैले दुई पटक पढे | यो सत्य कथा जस्तै लाग्यो किनकि तपाईंका अन्य पत्रिकामा प्रकाशन हुने लेख, गीत, कथा,कविताबाट पनि तपाईं हवाई मै कार्यरत भएको कुरा थाहा हुन्छ | रुन त रोइन तर आँखा भने आँसुले भरिए | के यो सत्य कथा हो गौतमजी ? भन्न मिल्छ? धन्यबाद छ राम्रो रचना पस्किनु भएकोमा |
Like it . Well done ; in both – life & writing too . Gave me flash -back too .
Is it a story or a real life event?
If it is a story, well feels like yet another tale of sad, regretful memories of teenage crush heightened by bitter turns in life.
If it is a real life event, then I’d say, you have a rare second chance in front of you. Time to score and move on, everything is perfect that both of you are single (probably high and dry) and with affinity for each other heightened by memories from past. There will never be a better opportunity to relive your teenage days. “Sacrifice in the name social norms” sounds like a very very lame excuse.
Very well done Uday ji. U gotta live ur life n be happy in ur life. U better move on grab ur happiness. Very touching story.
आशा गरौ पहिलो प्रेम…..मिठो प्रेम को जित होस्……तपाईहरुका छोरा-छोरी र आफन्त हरुले पक्कै मिलाउने छन् तपाईहरुलाई…..एक्लो जीवन सारै निरस हुन्छनै ……आशा गरौ केहि समय पश्चात मिलन को कथा आउने छ फेरि…!!!!!