Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : मैले च्यातेको चिठी

Posted on March 15, 2014March 15, 2014 by mysansar

saturday-fiction एक वर्षअघि मात्र सयौं रोपनी जग्गा किनेर हाम्रो स्कुलले शाखा बिस्तार गरेको थियो, मिनभवनको बागमती किनार तिर। सायद त्यतातिर जग्गाको भाउ सस्तो भएको हुनुपर्छ त्यो बेला। त्यहिँ मौकामा एकबर्ष अघि थापाथली स्कुलबाट ट्रान्सफर लिएर आएका थियौं हामी तीन साथीहरु; हो संजिव, सरोज र म एकदम मिल्ने साथी थियौं। औसत विद्यार्थी थियौं हामी, कम-से-कम हाम्रो क्लास ६ को नतिजाको अनुसार।

क्लास ६ पास भएर करिब एक महिनाको छुट्टी पछि क्लास ७ सुरु भएको दिन अचम्ममा परें, आफ्नो क्लासमा थुप्रै नयाँ अनुहारहरु देख्दा। नयाँ बिद्यार्थीहरुको भिडमा, मेरो परिचित अनुहारहरु मध्ये मैले संजिवलाइ मात्र देखें, सोचें सरोज आएको रहेनछ।

“ओए !! यहाँ आइजो” संजिवले क्लासको तेस्रो बेञ्चबाट हात उठेर मलाई बोलायो; मेरो लागि सिट राखिदिएको रहेछ। गएँ र हात मिलाएँ ; गा.बि.स.को सानो स्थानीय स्कुलबाट सहरको नाम चलेको बोर्डिंग पुगेको ३ बर्षमै साथीहरुसंग हात मिलाउने त्यो सहरिया शैलीमा आफुलाई भिजाइ सकेको रहेछु। सहजतापूर्बक बसें र सोधें, “खै, सरोज आएन?”। “ल ! तलाईं थाह छैन? सरोज त सैनिक बिद्यालय पढ्ने भयो नि अबदेखि।”संजिवले जवाफ दियो। सरोजका बा, जो सरकारी सेवामा हुनुहुन्थ्यो त्यो बेला, सरोजलाई सोर्स-फोर्स लगाएर सैनिक बिद्यालय भर्ना गराउनु भएको रहेछ। संजिव र सरोजका बा एउटै कार्यालयका कर्मचारी थिए, संजिवका बा ले पनि संजिवलाइ सैनिक स्कुल भर्ना गराउन खोजेका रहेछन, सायद उनको बा को चिनजान अलि कम्जोर भएको हुनुपर्छ, संजिवले भने भर्ना पाएनछ। यी सबै कुरा संजिवबाट नै थाह पाएँ मैले। अहिलेको जस्तो “फेसबुके” जमाना थिएन, त्यो बेला। त्यो बेला घरमा टेलिफोन राख्न पनि “मन्त्रीको तोक” चाहिन्थ्यो। म जस्तो सामान्य परिवारबाट आएको मान्छेले संजिव र सरोजको घरको जस्तो त्यो सुबिधा पाउने कुनै सम्भावना थिएन। सोहि कारणले पनि सरोज र संजिवसंग त्यो एक महिना मेरो कुनै सम्पर्क हुन पाएको थिएन र सरोज मलाई “जान्छु है” पनि भन्न नपाई स्कुल परिवर्तन गरिसकेको रहेछ। त्यसैले, नसोधी गयो भनेर शिकायत गर्ने कुनै ठाउं त थिएन, तर मन कहाँ मान्दो रहेछ; दुखि हुनबाट आफुलाई रोक्न सकिन।

क्लास ७ पुग्नुको अब कुनै उमंग रहेन मनमा। मेरो उमंग खिन्नताको कुहिरोमा कतै धुमिल भैसकेकोरहेछ। संजिवजस्तो अरुसंग सजिलै घुलमिल हुने खालको पनि थिइन म। छिट्टै उसले कक्ष्याका अरु नयाँ अनुहारहरुसंग आफ्नो परिचय बनाइहाल्यो र गफिन थालिहाल्यो। मलाई भने खै कस्तो न्यास्रोपनले समातेको रहेछ, केहि दिन पढाइमा ध्यान पनि दिन सकिन, रमाइलो केहि लागेन। संजिवले सायद त्यो कुरा ख्याल गरेछ क्यारे, उसले मलाइ एक्लै छाड्न छोड्यो। आफु गफिंदा हाम्रो कुराहरु सुनाउन थाल्यो हाम्रो अगाडी र पछाडीको बेन्चको साथीहरुलाइ; तीनबर्ष अघि मात्र सुरु भएको हाम्रो मित्रताको क्रममा गरेका उत्फ़त्याङ्ग कुराहरु सुनाउने गर्नथाल्यो। म पनि सुनेर रमाउन थाल्ने भएँ। संजिव कै कारण केहि साथीहरुसंग परिचय पनि भयो। त्यसै क्रममा बेञ्च अगाडी बस्ने तीनजना केटि साथीहरु मध्ये एउटी साथी राम्री रहिछिन र नरम बोल्दि रहिछिन् भन्ने मनमा पर्यो, नाम भने सुजाना रहेछ; नाम पनि मनपर्यो।

दिनमा ८ वटा क्लास पढाइ हुने बोर्डिंग स्कुलमा नेपाली बिषयको पढाई हप्तामा तीन क्लास मात्र हुने गर्थ्यो। नेपालीमा बोल्न सहज महसुस गर्थें म र अरु बिषय भन्दा नेपालीको क्लास बढी रमाइलो लाग्थ्यो मलाई, जसले गर्दा नेपाली क्लासको प्रतिक्ष्या गर्ने गर्थें म। थाह छैन, त्यति बेला त्यो मेरो जिद्दीपाना थियो या मातृभाषा प्रतिको प्रेम, म हाम्रो स्कुल जहाँ अंग्रेजी बाहेक अरु भाषा बोल्न पाइन्थिएन, नेपाली बोलेको भेटिए बापत सजायं स्वरूप स्कुल प्रार्थनाको समयमा सबैको अगाडी दिनहुँ उठबस गर्न तयार भएर स्कुलको त्यो जड नियममाथि मौन बिद्रोह गर्दै थिएँ। सायद स्कुलको नियम बिपरित नेपाली बोलेर दिनहुँ सजाय भोग्ने मान्छे भनेर स्कुलका सबै ले चिन्थे मलाई। नेपाली पढाउने शिक्षिका “निलिमा मिस” पनि मेरो माया लागेर स्कुल नियम पालन गर्न सल्लाह दिन्थिन, तर म मान्थिन। नेपाली पढाउने क्रममा बेला बेला बिद्यार्थीलाइ विभिन्न प्रश्न सोध्ने गर्थिन निलिमा मिस, प्राय राम्रो जवाफ दिने विद्यार्थी म नै हुन्थे, तर अब त्यो स्थिति बद्लिन थालेको आभास हुन थाल्यो, जव सुजानको जवाफ निलिमा मिसलाइ मेरो भन्दा मनपरेको महसुस हुन थाल्यो। म भित्र कता-कता जलनको झिल्का सल्किंदै गरेको म महसुस गर्न थालें। हुन पनि उनि नेपालीमा पोख्त रहिछिन्, दमदार र चित्त बुझ्दो जवाफ दिने गर्थिन प्राय सधैं। तर त्यो बेला मैले त्यो कुरा स्वीकार गर्न चाहिन। संजिवले यो कुराको पनि सुइँको पाइसकेको रहेछ, मलाई चिढ्याउन उसले “वाह, क्या दामी बोलि है त्यो केटिले” भन्ने गर्न थाल्यो। मलाई संजिव संग पनि बोल्न मन लाग्थेन उसले त्यसरी मलाई गिज्याउँदा, बोलेर प्रतिकार गर्न सक्थिन उसंग, मात्र मौन प्रतिकार गर्ने गरेँ। तर उसले जिस्काउन छोडेन। मलाई अब राम्री लाग्ने सुजाना नराम्री जस्तो लाग्न थाल्यो, उनको नाम पनि मन नपरे जस्तो लाग्न थाल्यो।

स्कुलले हरेक बर्ष भिभिन्न अतिरिक्त क्रियाकलाप गराउने भनेर धेरै थरि प्रतियोगिता गराउने गर्थ्यो। ति कुनैमा मेरो चासो कहिले पनि भएन। यसपाली पनि प्रतियोगिताको सुचना आएको रहेछ, नेपाली भाषामा वक्तृत्वकला प्रतियोगिता हुँदै रहेछ। खाजा खाएर क्लास फर्किने क्रममा संजिवले अघिल्ला बर्षहरु झैँ “भाग लिई न, तेरो नेपाली राम्रो छ। ” भनेर भन्यो। मैले “ह्या, छोड्दे मलाई केहि लछार-पाटो लाउनु छैन” भन्ने खालको जवाफ दिएँ र हामी कक्ष्या कोठा पस्यौं। नेपाली बिषयको क्लास थियो , निलिमा मिस आउनु भयो र पढाउन सुरु गर्नु अघि नै सोध्नु भयो, “यसपालिको वक्तृत्वकला प्रतियोगितामा क-कसले भाग लिंदै छौ त? कक्ष्या मा केहि हात हरु उठे, ति मध्य मेरो अगाडी बाट एउटा हात उठेको रह्छ त्यहि सुजानाको; त्यो हात मेरै विरुद्ध उठे जस्तो लाग्यो। उठेका हातहरु मध्य मेरो हात नदेख्दा, निलिमा मिसको सोझो नजर म माथि पर्यो तर चुपचाप रहेरै केहि बोले जस्तै लाग्यो। लाग्यो त्यो हेराइ हैन कुनै अस्त्र हो जसले मलाई घोचिरहेछ। नेपाली क्लास पढुन्जेल नै असजिलो जस्तो भइनै रह्यो। नेपाली क्लास सक्ने बित्तिकै हानिएँ – हाम्रो स्कुल इन्चार्ज बिन्दु म्याडमको अफिसमा र आफ्नो नाम लेखाएँ प्रतियोगिताको लागि। संजिव पनि पछि-पछि आएको रहेछ, उसले मैले नाम लेखाको थाह पाएर पनि मुखले केहि भनेन तर मुसु-मुसु हास्दै थियो र उसका आँखा भन्दै थिए, “अघि त खूब भन्दै थिइस त -केहि लछार-पाटो लाउनु छैन, अहिले आएर के भो नि?”। मैले मलाई खिसी गरिरहेको उसको आँखामा आँखा जुधाई राख्नसकिन। नजर मोडेर क्लास फर्किएँ।

तयारी जोड-तोड गरेँ, “हरियो बन, नेपालको धन” शिर्षकमा पाइने लेखहरु टन्न पढें। घरमा भएका बा ले पढाउने अस्कलबाट ल्याउनु भएका स्मारिकाहरु सबै पल्टाएँ। सक्ने जति आफुलाई तिखारें, मलाई जसरि पनि प्रतियोगितामा प्रथम हुनु थियो। प्रतियोगिताको दिन सब भन्दा पहिले मलाइ नै बोल्न लगाइयो, डरले थुर-थुर कापें। माइकमा बोलेको पहिलो अनुभव थियो त्यो, बोल्दा आफ्नो आवाज नै आफ्नो हैन जस्तो लागिरहेको थियो तर पनि धन्न तयारी गरेर गएको भनौं या घोकेको कुरा भने बिर्सिएन सबै बोलेर फ़र्केछु। सुजनाले पनि बोलिन, सधै जस्तो राम्रो। तर मलाई राम्रो लागेन, किनकि त्यो भाषणले मलाई तर्साइरहेको थियो आफ्नो हार प्रति। अरुले के बोले मैले खासै मतलब पनि गरिन। प्रतियोगिता सकिए पछि नतिजा घोषणा गर्दा ढुकढुकी छातिमा हैन, घाँटीमा महसुस गरे जस्तो लाग्यो; स्वास पुरै अड्के जस्तो लाग्यो। आँशु बगेछन आँखा बाट जब प्रतियोगिता मा आफु प्रथम र सुजान दोस्रो भएको नतिजा आयो। नजिक आएर मेरो जितको लागि पहिलो बधाई दिने हात सुजाना कै थियो। बधाईका शब्दहरुसंगै उनले थपिन्, “मलाई थाह थियो प्रथम तिमी नै हुन्छौ भनेर; म त दोस्रो हुन भिडीरहेथें”। इमान्दारितापूर्बक उनले बोलेका शब्दहरु सुनेपछि बल्ल उनि निर्दोष र निष्कपट देखें। महसुस गरेँ, इर्ष्या र जलन म मा मात्र रहेछ, उनीमा रहेनछ – ग्लानि भो। आफ्नो सोचको कारण जितको लगत्तै म फेरी हारें, आफैंसंग अथवा भनौं आफैं बाट। त्यति बोलेर उनले मेरो मनमा छापेकी थिइन – उनि प्रति मेरो श्रद्धा। आगामी दिन म उनि प्रति केहि सहज हुन सकेँ, खुलेर बोल्न सकेँ। त्यो दिन संजिव चुप थियो, र सुजानासंग बोल्नेमा थिएँ – म। अरु दिनहरु पनि क्रमश कुराहरु हुँदै गए हाम्रा, गफ पनि अटो भरे जस्तो लाग्ने- मनपर्ने रंग, मन पर्ने खाना, मनपर्ने कलाकार, मनपर्ने फिल्म, घरको कुकुर आदि इत्यादीको बारे यावत् कुराहरु भए। थाह थिएन किन यस्तो गफ गर्दै थियौं हामी त्यस्ता, सायद क्लास ७ मा गर्ने कुराहरु अरु थिएनन हाम्रा। साथीहरुसंग गफ गर्न खासै नजानेर पनि होला। पाठ्य पुस्तकमा लेखेको कुरा बोल्नु जस्तो सजिलो हुँदो रहेनछ, मान्छेसंग बोल्न।

संजिवले स्कुल सकिएपछि स्कुलमै बास्केट बल प्रशिक्षण लिन थालेपछि उ अवेर सम्म स्कुलमा नै बस्ने भएकोले स्कुलबाट घर फर्किंदा मिनभवनको बस्-स्टप सम्मको साथी सुजाना हुन थालिन्। मिनभवनबाट उनी उकालो लाग्थिइन भने म कोटेश्वरतिर। सायद सुजाना मलाइ सामान्य रूपमा नै लिने गर्थिइन तर मलाई बिस्तारै अलि भिन्न महसुस हुन थाल्यो। केटिसाथीसंगको त्यो निकटताले मलाई असहज बनाइरहेको हुनुपर्छ भनेर म केहि दिन चुप नै बसें। संजिवलाइ यो कुरा सुनाउंदा ठाडै भन्दियो, “तेरो लभ पर्या छ, सुजाना संग” भनेर भन्दियो। “जा, नकरा!! त्यस्तो केहि हैन” मैले भने, तर मनमा आफै भने ढुक्क थिइन, “कतै म सुजानालाइ मन पराउन त थालिन?” भन्ने शङ्का मन भित्रै थियो।

राति सुत्ने बेला मनमा कुराहरु खेलाउन थालें, “कतै सुजानाले त मलाई मनपराउँदिन ? हरेक दिन त्यतिका साथीहरु हुन्छन घर फर्किंदा, हामी नै सधैं किन संगै हुन्छौं अचेल? मलाई सेलरोटि मनपर्छ भन्ने थाहा पाएदेखि घरमा सेलरोटी पाकेको दिन मलाई किन त्यसको खाजा ल्याएर दिन्छिन? ” म सोच्छु,”हो, पक्कै उनले मलाइ मन पराउँछिन”। फेरी अर्को मनले सोच्यो , “धत्, के नचाहिने सोचेको, मिल्ने साथी भएपछि यति पनि गर्दिनन त ? ” आफ्नै कुरा आफै काटें। गर्मी भए जस्तो भयो, उकुस-मुकुस हुन थाल्यो। उठेर कोठाको झ्याल खोलें, पानी पिएँ र पल्टेर फेरी सोच्न थालें, “कतै म पो उनलाई मन पराउँदिन ? स्कुल छुट्टी भए पछि केटाहरु को लाइन बाहिर निस्केको बेला, गेट बाहिर उनलाई कुर्ने पनि त मै हुँ। वक्तृत्वकलामा उनले भाग लिए पछि नै मैले भाग लिएको थिएँ, के त्यो उनी प्रतिको इर्श्या मात्रै थियो ? अभिभावक दिवस मा उनले तामाङ् लुगा लगाएर नाच्दा म किन अवाक भएको थिएँ, के म आकर्षित थिइन ? कतै संजिव ले भनेको कुरा नै सत्य त हैन? “। यति सोच्दा सोच्दै उकुस मुकुस झन बढ्यो, तर यकिनका साथ यही हो भनेर ठम्याउन सकिन। त्यो रात अनिँदो नै रहें।

भोलिपल्ट स्कुलको नोटिसबोर्ड मा टाँसिने, साप्ताहिक भित्ते समाचार तयार गर्ने जिम्मा हामी दुइ जनालाइ दिइयो। त्यसैको लागि मिनभवन गएर चार्ट पेपर किनेर फर्कंदै थियौं अकस्मात् ठुलो पानी पर्यो, कुदेर स्कुल पुग्न खोज्दा हामी पानीमा भिजिसकेका रहेछौं। पानी दर्केकोले उपाय लागेन, ओत लाग्न मैले उनको हात तानेर स्कुलले ठाउं ठाउंमा बनाइराखेको शेडमा लगें। असारको पानी मुशाल्धारे भएर बर्शिरेह्को थियो, शेड को जस्ता मा बज्रेर निरन्तर झररर अवाज गर्दै थियो। नजर लुकाएर उनलाई हेरें, आफ्नो भिजेको कपाल सुकाउने असफल प्रयास गर्दै रहिछिन्। चिसोले काँप्दै पनि थिइन। काँप्दै गरेको देखेर नजिकैको चिया पसल लगेर चिया खाउँ भन्न मन लाग्यो, तर गोजीमा घर फर्किन राखेको ५ रुपैंया बस् भाडा बाहेक केहि नभएको यथार्थबोधले आफैलाइ खिन्न बनायो। बल्ल महसुस गरेँ, शेड बाहिर परेको पानीमा भन्दा बढी त म प्रेममा भिजेको रहेछु। चिया किन्न नसक्दाको खिन्नताले मेरो अघिल्लो रातको हरेक जवाफ हरु को उत्तर दिए झैँ लाग्यो। किनेर ल्याएको चार्ट पेपर हेरेँ, भिजेर लतक्कै गलेको रहेछ, तर त्यो भन्दा बढी मैले मेरो मन फतक्कै गलेको पाएँ उनको मायामा।

आफ्नो मनको कुरा त बुझें, तर त्यो उकुसमुकुस शान्त भएन। मनको कुरा उनलाई नभने सम्म शान्ति पाउछु जस्तो लागेन, संजिवसंग भने। मोरो फेरी मुसु मुसु हाँस्यो, मात्र आखामा एउटा भाव पोख्दै ” देखिस भन्या थिएँ त मैले, अस्ति त खूब- ‘त्यस्तो केहि हैन’ भन्थिस नि “। मैले अब भने हैन भन्न सक्ने अवस्था थिएन, सल्लाह उसैको चाहिएको थियो। उसले कुनै गिफ्ट ल्याएर दे अनि सबै भन् भन्यो। “त्यति सजिलो कहाँ छ? साथीहरु हुन्छन, मलाई डर पनि लाग्छ”। मेरो डर भगाएर साहस भर्ने काम उसैले गर्यो या भनौं मलाई उक्सायो। भोलिपल्ट लन्च टाइममा “क्लासमा सुजाना मात्र छे, जा !!” भनेर खबर उसैले दियो। एउटा कुनामा गएर खल्तीमा रहेको मेरो मुटुको प्रतिक भनेर पान आकारको बेलुन फुकेर दिने बिचार गरेँ र मेरो भावना लेखिएको एउटा पत्र आफ्नो प्यान्टको पछाडी को खल्तीमा राखें। साच्चै क्लासमा उनी मात्रै रहिछिन, डराई-डराई अगाडी गएँ, उनको आँखा रातो भएको सम्म देखें। त्यसपछि अचानक आवाज आयो – डुम्म। झय्साङ्ग भएँ र देखें – उनको हातमा एउटा सेफ्टी पिन। यस्तो लाग्यो त्यो पिनले उनले बेलुनमा हैन, सिधै मेरो मुटुमा घोचिन। त्यो फुटेको बेलुन हैन, मेरा रहरहरु हुन। म बोल्न सक्ने अवस्थामा रहिन, आँखाबाट मेघ बर्षेला जस्तो के लागे थियो, रुने मान्छे म हैन उनी पो निस्कीइन। मलाई झन डर लाग्यो, मैले प्रस्ताब गर्नु अघि नै यस्तो भो !! क्या ब्याड लक् भनेर आफ्नो चिठी च्यातेर डस्ट-बिन मा मिल्काएँ र बाहिर निस्किएँ। त्यो दिन जस्तो खराब दिन मेरो कहिल्यै भएन।

अर्को दिन, क्लास भैरहेको बेला मेरो हात मा अगाडीबाट एउटा सानो चिट आयो। लेखिएको थियो “आइ एम सरी “। जवाफी चिट लेखें ,”इट्स ओके “। फेरी लेखिन, ” आइ नो हाउ उ फिल”। झोक चलिहाल्यो, लेख्दिएँ “नो; यु डोन्ट “। फेरी अर्को चिट आयो -” आइ नो; यु लभ मि “। अचम्म परें, तर पनि अघिल्लो दिनको रिस अझै मरेको रहेनछ, ” नो आइ डोन्ट” लेखेर चिट दिएँ। जवाफ आयो ” त्यसो भए, आइ डोन्ट इदर ..”। झन रिस उठ्यो एक छिन त, तर सोचें चिटमा लेखिएको शब्दमा घोरिएँ “त्यसो भए ….” मतलब के त्यसको ?? फेरी देखें, त्यो नोट मा कोरिएको – आखा झिम्क्याइरहेको एउटा सानो आकृति। धेरै कुरा भन्दै थियो त्यहि “त्यसो भए ….” र त्यो कोरेइएको आकृतिले। मैले बल्ल आखा उठाएर सुजाना तिर हेरें, हिजो जस्तै रोइ रहेकी हैन मुस्कुराई रहेकी रहिछिन् र एउटा किताबभित्र केहि राखेर दिइन। खोलेर हेरें – टेपले टालेको हिजोको मेरो च्यातेको चिठी अनि फुटेका बेलुनका टुक्रा”। त्यसैलाइ मेरो प्रेमको सम्मानको रुपमा लिएँ र उनका आँखाले बोल्दै गरेका भावलाइ मौन स्वीकृतिको रुप मा बुझें। त्यतिबेलै मन चरा बनेर खुला आकाशमा कावा खान थाल्यो, लाग्यो म खुशीले पागल भएको छु। उनीबाटै पछि थाह भयो, अघिल्लो उनको हातको सेप्टी पिनले उनी आफ्नो बेन्चको कुनामा अरुले नदेख्ने गरि लेख्दै थिइन रे – मेरो नाम। म एक्कासी आएको देखेर अत्तालिएको र मैले दिदै गरेको उपहारको उत्साहमा हातमा सेफ्टी पिन भएको हेक्का गर्न नसकेकी रहिछिन् र आफ्नै कारणले आफ़्नोलागि मायाको चिनोको त्यो हालत हुदा रुनु बाहेक अरु नआएको रे!!

7 thoughts on “कथा : मैले च्यातेको चिठी”

  1. Suneel says:
    March 20, 2014 at 12:08 am

    क्लास ७-८ मै तेस्तो चै अलि न भै हल्ला कि…. हामि पनि तेस्तै क्लास बाट गूज्रेको ले अलि थाह छ

    Reply
  2. raaz says:
    March 16, 2014 at 4:12 am

    कथा ta सन्देशमुलक पो हुनु पर्छ. छेउ न…

    Reply
  3. Ashish says:
    March 15, 2014 at 10:49 pm

    ल राम्रो छ.. यो भन्दा पहिला पढेको नि राम्रो थियो..

    Reply
  4. bijay says:
    March 15, 2014 at 10:18 pm

    हरेक सनिबार यौटा न यौटा स्कूलमा पल्लो बेञ्चमा बस्ने केटिसंग लभ परेको कथा मात्र आउछ, के हो एस्तो ?

    Reply
  5. Bishnu Adhikaro says:
    March 15, 2014 at 10:16 pm

    कथा राम्रो लग्यो / प्रेम मा एक आर्कमा शंका गर्दा एस्त कुराहरु भै रहन्छन एसले कि त प्रेम लाइ अझै तिखो बनौछा कि त नदीका दुइ किनारा /

    Reply
  6. Kanchan says:
    March 15, 2014 at 4:34 pm

    दामी लाग्यो…

    Reply
  7. shasi says:
    March 15, 2014 at 4:30 pm

    कथा मा खासै दम छैन शिर्षक र कथा को पनि तालमेल छैन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme