Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कामरेड वामदेवको जय नेपाल

Posted on February 27, 2014 by सूर्य खड्का

जय सम्भो हरहर महादेव भन्दै हजारौँ साधुसन्त महन्तहरु वर्ष ०७० को महाशिवरात्री मेला भर्न पाशुपतक्षेत्रमा गोलबन्द भइरहेका बेला राजधानीका गुन्डा नाइकेहरुलाई जेल हाल्ने र सडकपेटीका फुटपाथे व्यापारीहरुलाई तह लगाउने उर्दी आइसकेको छ। सँधै आफ्ना कामरेडहरुलाई लालसलाम गर्ने वामनेता गृहमन्त्रीको कुर्सीमा बसेर जय नेपालको अभिवादन गर्न मात्र के थालेका थिए, राजधानीमा नयाँ सरकारको भन्दा गृहमन्त्रीको कोठे चोठे र रेष्टुरे चर्चाहरु बाक्लिन थालेका छन्।

हो, १२ वर्षमा खोलो फर्कन्छ भन्छन् बूढापाकाहरु। नेकपा एमाले नेता वामदेव गौतमको राजनीतिक करिअरमा सत्ताशक्तिको खोलो फर्कन पनि लगभग १२–१४ वर्ष नै लाग्यो।

संविधान सभाको दोस्रो निर्वाचनले पार्टीलाई कंग्रेस भन्दा थोरै सानो दोस्रो ठूलो दल बनाएपछि नवगठित कंग्रेस नेतृत्वको सुशील कोइराला गठबन्धन सरकारको शक्तिशाली उपप्रधान, गृहमन्त्री भई छाडे वामदेव।

सत्ता गठबन्धनको राजनीतिक खालमा आफ्नो शक्ति आर्जनका खातिर उनले आन्तरिक पार्टी समीकरणमा पार्टी अध्यक्ष झलनाथ खनाल खेमालाई बाई–बाई र नेता के.पी. ओली खेमालाई हाई–हाई गरेर आफूलाई पार्टीका तर्फबाट सो पदमा प्रस्तावित गराएका थिए –संस्थागत रुपमै। प्रमुख सत्ता घटक कंग्रेसको चर्को अरुची बीच सरकारको सबैभन्दा महत्वपूर्ण र शक्तिशाली उपप्रधान तथा गृहमन्त्रीमा आसिन वामदेवका लागि यो नयाँ सत्ता स्वाद अवश्य नै होइन।

२०५४ मा गृहमन्त्रीकै रुपमा उनले तत्कालीन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई छाँयामा पारेर सम्पन्न गराएको स्थानीय निकाय चुनावमा एमालेलाई देशभर जसो जिताएका थिए –साम, दाम, दण्डभेद सबै हत्कण्डा अपनाएर। वामदेव शैलीको सत्ता दुरुपयोगको नजिर बनाएर।

कुनै सत्ता परिवर्तनपछि बन्ने सरकारमा कुनै व्यक्तिको चयन अक्सर महत्वपूर्ण हैन। तर बेदाग छविका वयोवृद्ध कंग्रेस सभापति कोइरालाको क्याविनेटमा कट्टरपन्थी वामदेवको गृह नेतृत्व सत्ता सञ्चालन भन्दा पनि ज्यादा सत्ता शक्ति दुरुपयोगको मानेमा निकै महत्वपूर्ण छ। यदि तेस्रो ठूलो दल एकीकृत माओवादी र अन्य मधेसवादी दलहरु समेतलाई विश्वासमा लिन सकेमा वा सहमत गराउन सफल भएमा प्रम सुशील देशमा १६ वर्षदेखि अवरुद्ध स्थानीय निकाय (गाविस, जिविस, नपा.) को चुनाव गराउन चाहन्छन्। ढिलोचाँडो हुने स्थानीय चुनावमा सत्ता शक्ति दुरुपयोगबाट पार्टीलाइ कीर्तिमानी विजय हासिल गराउन वामदेवले फेरि पनि के पो नगर्लान्।

आँटी भन्दा पनि ज्यादा दुस्साहासी आफ्नो अडानमा नडगमगाउने र उस्तै परे कानुनै हातमा लिन पछि नपर्ने वामदेव बानी गृहमन्त्रीको कुर्सीमा बढी नै प्रखर हुँदा देशमा जनताको भन्दा एमालेको हैकम बढ्नेछ आउँदा दिनमा।

गृह एमालेले नै पाउनु पर्ने र त्यसमा वामदेव नै हुनुपर्ने भनी सत्तारोहणका लागि दुई सातासम्म सत्ता बार्गेनिङमा एमालेले ०५४ को सत्ता हस्तक्षेपको इतिहास आउँदो स्थानीय चुनाउमा पनि पुनरावृत गराउन नै गरेको हो।

उसो त सुशील नै प्रधानमन्त्रीको कुर्सीमा रहे पनि दैनिक प्रशासनिक प्रक्रियासँग जोडिएको गृहमा कारण यो सरकार वामदेवको दवदवापूर्ण भनौ उनकै छायाँमा रहने छ। देव्रे बुद्धीका देव हुन जान्छ, वामदेवको नामको अर्थ हो। उनी शासकका रुपमा पनि उस्तै निडर, महत्वकांछी र आक्रामक शैलिका हुनेछन्। पुलिस प्रशासन, भन्सार, राजस्व आदिमा अव उनको सिधा स्वार्थ रहनेछ। धेरै दिनदेखि खान नपाएको उडुस झै बनेका धेरै एमाले युवा दस्ता अब वामदेवको सत्ताशक्तिको आडमा सल्बलाउने छन्। सत्ता शक्तिको आडमा चन्दा असुलेर बल्खु दरवार ठड्याएका वामदेवको इतिहास हस्तक्षेपकारी र आक्रामक छ। जसका कारण देशले राम्रो होइन मिचाहा, सन्काहा र पेलुवा गृहशासकबाट गुज्रनु पर्ने छ। २०५६ मा एमालेलाई टुक्राएर माले गठन गरेवापत नेपालकै नं १ भ्रष्टचारीको उपमा उनले एमालेकै प्रदिप नेपाल एण्ड कम्पनीबाट पाएका थिए। तथापि माले सुक्दै गएपछि उनी एमाले मै फर्केर सीपी मैनाली हुनबाट जोगीए। माओवादी प्रतिको नाम दृष्टि विचारका कारण आलोचित रहने उनले आन्तरिक पार्टी समिकरणमा उखान टुक्के नेता ओलीसँग हातेमालो गरेपछि अब शक्ति पुजारी हुन सकेका छन्। शक्ति हत्याउन जे पनि गर्ने उनको मौलिक विशेषता पनि छ।

एमालेको आगामी महाधिवेशन लाई खर्च जुटाउने देखी देशमा भ्रष्टचारी तस्करी अवैध धन्दा र कालो बजारीलाई एमालेलाई सहायता गर्ने सर्तमा दशैँ आयो भन्दिदा अतिशयोक्ति हुने छैन किनभने पार्टीका हितका नाममा जे पनि गर्न गराउन माहिर छन् वामदेव। संविधान जारी नगरुन्जेलका लागी भनिएका शुशिल कोईराला सरकारले स्थायित्व पाउन्जेल वामदेव हाइ–हाइ नै रहलान्। विरोधिलाई पेल्ने र आफ्नालाई काखी च्याप्ने शाशकका रुपमा वामदेवले आफ्नालाई मोटाउने र विरोधीलाई सिध्याउने शैलि स्थापित गर्न कुनै कसरी बाँकी नराख्लान् भन्नलाई विरोधि जतिलाई खाल्डामा पुर्ने उनको पुरानो उद्घोषले नै स्मरण गराउछ। तत्कालीन आइजिपि अच्युतकृष्ण खरेललाई एक महिनै नपुग्दै बर्खास्त गरेर प्रहरी संगठनामा नाङगो राजनितिक हस्तक्षेपको श्रृखला सुरु गरेका वामदेवको पालामा अव जनताका हैन देशको हैन, बल्खु दरवारको बन्ने छ – पुलिस प्रशासन। यो सवसे खतरनाक हो–जनताका लागी, असल गृहमन्त्रिका रुपमा वामदेवबाट कसैले केहि अपेक्षा गर्नु त व्यर्थ नै हुनेछ।

यी पाका कमरेड ले जसोतसो शत्ता शक्ति पाउँदा एमाले जतिलाई कमाउने मौका आछ। त्यसले हामी भन्दिउँ- कमरेड वामदेव जय नेपाल, गरी खाऊ!

19 thoughts on “कामरेड वामदेवको जय नेपाल”

  1. Hari Prasad Lamichhane-Saudi says:
    March 2, 2014 at 12:51 am

    भ्रस्टचारी त जुन सुकै पनि नराम्रो नै हो , तर खुमबहादुर जस्तालाइ कारबाही गर्ने सरकारी निकायले बामदेव लाइ किन कारबाही नगरेको होला ? त्यसैले प्रमाणित कुराहरु गर्नु नै जायज होला कि ? त्यस्तो भ्रस्ट हो भने सम्भंधित निकायले किन कारबाही नगरेको बामदेवलाइ ?

    आफुलाई मन परेन भन्दैमा जे पायो त्यहि भन्नु पनि उचित हैन कि , खड्का जी को प्रचण्ड भक्ति (एउटा लेख आएको थियो खड्का जी को उम्दा प्रचण्ड घुम्दा एमाले कांग्रेस भन्ने ) अहिले आएर बामदेव घिर्णामा परिणत भएको जस्तो लाग्यो , सप्रमाण उजुरी दिनुस खड्का जी तपाई पनि जिम्मेवार नागरिक हो देश को नत्र कसैको चरित्र हत्या गर्ने खालको लेख न लेख्दै राम्रो |

    Reply
  2. Sisir says:
    February 28, 2014 at 5:14 pm

    बामदेवले भ्रस्टचार र अपराधमा सुन्य सहन्सिलता भन्नु र नेपालका मै हु भन्ने ब्यापारी / उधोग्पतिले सहि तरिकाले पुरै कर तिर्नु भनेको एका देशको कथा मात्र हो …

    Reply
  3. ajay says:
    February 28, 2014 at 12:55 am

    प्रधान मत्री हुनुपर्ने मान्छे बल्ल गृह हुन्दैछ किन यत्रो चर्चा
    देशलाई यस्तै आँटिला मान्छे चाहिन्छा अनि केहि हुन्छा कि
    नत्र केहि हुँदैन सुशील ले के गर्ने हो मत्रिमंडल बनौन त २-३ हप्ता लगायो

    Reply
  4. shersingh Nepali says:
    February 27, 2014 at 10:57 pm

    बामपन्थीको खोलमा नेपालको तस्कर मध्य बामदेब पनि एक हो भन्ने कुरा सबै सचेत नागरिकलाई
    राम्ररी थाहा छ !

    Reply
  5. Adwait Sharma says:
    February 27, 2014 at 10:35 pm

    हुन त म एमाले होइन , तर यति छिट्टै किन गाली गर्ने बामदेव लाई ? कम्तिमा एक महिना त काम गर्न पाउन / प्रशंशा वा बिरोध जे गरे पनि पछि गरेको काम को आधारम़ा गर्दा राम्रो होला कि ?

    Reply
  6. madan bajracharya says:
    February 27, 2014 at 9:46 pm

    कुनै पनि सरकारको कुनै पनि मन्त्रालय उत्तिक्कै महत्वो हुनु पर्ने थियो/ तर फलाना मन्त्रालय बढी महत्वो पूर्ण र शक्तिशाली हुने ब्यबस्था इनिहरुले बनाउनुको तात्पर्य भित्रै गलत आशय रहेको छ/ कुनैको पनि सरकार बने देसको प्रहरी सेना निजामति कर्मचारीहरु र निकायहरु देसको कानुन र संबिधान अनुसारनै चल्नु पर्ने थियो/ तर आज सम्मको घटनाहरुलाई हेर्दा बुझ्दा समबन्धित मन्त्रालयको मन्त्रीको आदेशलाई सम्बन्धित निकायको कर्मचारीले देसको कानुन र संबिधान भन्दा बाध्यात्मक हुने स्थिति इनिहरुले बनाउनु बात देस कानुन र संबिधान बात नचल्ने बनायाको स्पस्ट देखिन्छ/

    जनताको लागि कानुन र संबिधान बनाउने मुद्दामा कहिले नमिल्ने इनिहरु आफ्नो भत्ता सुबिधा बढाउँन र मिलाउन संधै मिले बात इनिहरु देस र नागरिकलाई सुब्यबस्था मिलाउनुको सट्टा आआफ्नैको निमित र आ आफ्नो आसेपासेको निमित रास्ट्रको कोष समेत लुताउन मात्रै सरकारमा जान लालाइत भयको देखियकै कुरो हो/ मन्त्रि परिषदको निर्णय माथि कुनै निकायले प्रश्न उठाउन नपाउने अख्तियारले हेर्न नपाउने नियमको इनिहरुले रास्ट्रनै कंगाल हुने हद सम्म लुट्न सफल भयको छ र यो मामिलामा ग्रिह मन्त्रालय सबै भन्दा बढी बद्नाम भयकोछ/

    दुर्गम जिल्लामा हैजा को महामारी फैलिन्दा हैजा बात मर्न लागेको त्याहाको गरिब नागरिकहरु लाइ जीवन जल उपलब्ध गर्नमा पनि बजेट छैन भनेर पन्छिने सरकार बनाउने यमाले कै बामदेव यसपाली मारी हत्ते गरेर फेरी पनि ग्रिह मन्त्रालय लियको छ/ तेतिबेला जीवन जल उपलब्ध गर्न बजेट छैन भन्ने त्यो दलले आफ्ना कति सम्पन्न कार्यकर्तालाई बिभिन्न शिर्सकमा राहत उपचार गर्न रास्ट्रको कोष रित्यायो/ ग्रिहमन्त्रालय जुन पार्टीको हातमा परे त्यो पार्टीको बिशेस (……)हरुले बिशेस मोज गरे लाभ उठाय अपराध गरेर पनि उन्मुक्ति पायो/ त् अब के गर्ने हुन् बामदेवले ?

    कुनै पनि दललाई सच्याउन नसकिने कुरा तितो सत्य बनेको छ नेपालमा/ आज सम्म जो पनि प्रधान मन्त्रि बने ग्रिह मन्त्रि बने बा कुनै पनि महत्वपूर्ण मन्त्रालयको मन्त्रि बने तिनीहरु सबै आफ्नै निनित र आफ्नो दलको कार्यकर्ता र दलको भतुवाहरुको प्रधान मन्त्रि र मन्त्रि बनेका छन् देसको नागरिकहरुको निमित प्रधान मन्त्रि र मन्त्रि बनेको छैन/ संबिधान त् संबिधान सभालाई बनाउन नदिनेले देसको कानुनको सम्मान नगर्ने कुरा इनिहरुले कस्ता कस्ता अपराधिहरुलाई संरछ्याँन दिंदै आयको छ र कस्ता कस्ता अपराधीहरुलाई सदनमा हुलेको मात्रै होइन मन्त्रि समेत बनायको कुराले नै देखाउंछ/

    अपाराधि कार्यकर्ताको मसिहा बनेको ओलीको मित बनेर ग्रिहमन्त्रि बनेको बामदेव फरक बन्न सक्ला भनेर आस कसरि गर्ने? अरु कारण किन उल्लेख गर्ने ; बामदेव तेही यमालेको नेता हो जसले ट्राफिक नियम पालाना नगरेकोमा यमालेको कार्यक्राहरुलाई दण्ड दिने प्रहरीलाई घुंडा टेकेर माफी माग्न र सडक मै बर्दी फुकाल्न बाध्य गरेको थियो/

    Reply
  7. Chetan Nepali says:
    February 27, 2014 at 9:35 pm

    बामदेवलाई मौका र चुनौती दुवै छन् हेर्दै जाम क गर्छ यो बामेले, पुरानै तालमा हिद्छन कि नया बुद्धि र विवेकले काम गर्छन !

    Reply
  8. ज्ञानेन्द्र खतिवडा says:
    February 27, 2014 at 7:50 pm

    सुर्य जे मा अलिकति नि चेतना नआएको देख्दा मन भुतुक्क पोलेर आयो.. अहिले को नेपाल ५४/५५ साल को हैन र तपाई जस्ता कस्तो रंग को कट्टु लागको छ भनेर हेर्ने मान्छे को को पनि यहाँ खाचो छैन खबरदारी गर्न लाई/ तपाई जसरि पारस मा सत्बुद्धि आएको देख्नु हुन्छ अरु लाई पनि तेही आखा ले हेर्न सक्नु हुन्न? कुनै कुरा सुरु नै नभई बिरोध गर्नु भन्दा केहि नराम्रो हुन्छ गर्दै छ कि भनेर खबरदारी गर्नु राम्रो हुन्छ/ हामी आफु नि केहि गर्न नसक्ने अनि गर्छु भनेर जादा नि यस्तो भन्ने प्रवृति ले गर्दा जहाँ को त्यहि भएको कुरा लाई मनन गर्न सके राम्रो हुन्छ कि/

    Reply
  9. Shankar says:
    February 27, 2014 at 6:44 pm

    धेरै पछि सुर्य जी को बिचारोतेजक लेख आयो | सबैले देश को राजनीति सोच्ने मौका पाए , अविकसित नेपाल भएकोमा , मानबिय नाताले तपाइले ज्ञानेन्द्र यन्ड कम्पनि लाइ सफ्ट कर्नर दिनुभएको मा तपाइलाइ आक्रोस पोख्ने मौका पाए | कमसेकम कसैको हात दारीमा र कसैको कपाल मा पुग्ने भो |
    कुरा सहि हो यो बामदेब हैन हाम देब हो | खान कैलागी कहिले माले बन्छ , कहिले एमाले
    उस्तै परे माउबादी बन्न पनि बेर मान्दैन |
    सुसिल जस्तो सज्जन लाइ पहरेदार राखेर आराम ले सुत्ने सोचेका नेपालि जनताले बामदेब जस्ता उडुस लाइ ओछ्यान मा पाउदा पक्कै हैरान हुनेछन

    Reply
  10. bijay says:
    February 27, 2014 at 5:54 pm

    चुनाब आयो चुनाब गयो फुस्सा , घुमिफिरी फेरी त्यहि सरकार आयो / फेरी त्यै पुरानै गन्हाएका अनुहार हेर्नु थियो त किन येत्रो चुनाबको नाटक गर्नु पर्यो (त्यो पनि प्रत्यक्ष्य भन्दा समानुपातिक सभासद बढी हुने ठाउँमा) /
    ल बधाई छ बाम जी, जति सुकै जे गरेपनि तपाइको पुर्पुरो बलियो रहेछ, डोकोमै दुध दुहे पनि नाचुहिने रहेछ / बरु अर्को पटक यो चुनाब गरेर पैसा र समय बर्बाद गर्नु अगाडी देशले एकपटक सोच्ने पो हो कि, किन भने घुमिफिरी फेरी त्यै पुरानै अनुहार त हेर्ने हो नि /

    Reply
  11. Ratna Thapa Magar says:
    February 27, 2014 at 5:49 pm

    कटु सत्य यहि हो, सत्तामा पुग्न साथ कार्यकर्ताको लर्को आ – आफ्नो माग राख्न थाले, उनले पनि उर्दी दिदै सबै गुण्डा पक्डिञ्छौ रे, होइन सरकारको प्राथमिकता के हो ? पहिला देशलाई सम्बिधान होइन र ?
    काले काले मिलेर खाउ भाले जस्तो यिनले त चुनाव ताका के भन्दै भोट मागेका थिय ?
    कोइ लाइ के को धन्दा घर ज्वाइलाइ खानुकै धन्दा भनेजस्तो के हो यो अनेकका ५ बुधे ६ बुधे प्रतिबध्दता ?

    Reply
  12. SURENDRA hongkong says:
    February 27, 2014 at 3:28 pm

    ज -जस ले जुन तरिका अपनाएर लुटे हुने हाम्रो देश मा बामदेव गृहमन्त्री हुदै मा खासै आपत्ति न होला किन कि बाम राज होइन यो गणतान्त्रिक देश हो भन्ने पनि हेक्का राख्ने हो कि?खाली लुट को सैली मा परिबर्तन होला तर बामदेव बाटै खासै फरक न होला भनेर बयोबृद हाम्रा शुसिल प्रधानमन्त्री ले पनि आँकलन गरेर नै एमान्ग्रेस बनाएर सत्ता अगाडी बढाएका होलान/

    Reply
  13. hari says:
    February 27, 2014 at 3:09 pm

    गृह मन्त्रि त यी सुर्य खड्का भन्ने लाइ पो बनाउनु पर्ने रैछ. कसले के गर्छ सब यिनलाई थाहा हुदो रैछ. हिजो सपथ भयो आज गालि सुरु. दिमाग मा नकारात्मक कुरा मात्र भरिएपछि येस्ता लेख फुर्ने होला . बामदेव, रामदेव, श्यामदेव जो भए नि तपाई हामि आफ्नो काम गर्ने बस्ने गर्दा नै राम्रो. गृह मन्त्रीले आफ्नो काम गर्छ. प्रधान मन्त्रि ले आफ्नो काम गर्छ. यहा सबै बढी जान्ने भएर कुरो बिग्रने हो. सबैलाई ठुलो कुरो मात्र गर्नु पर्छ.
    यी बामदेव भन्नेले कस्तो काम गर्छन त्यो त हेर्न बाकि नै छ नि.

    Reply
  14. Raman Dhakal says:
    February 27, 2014 at 1:59 pm

    प्रधानमन्त्री संग आँट हुने हो भने बामे जस्ताहरुको केहि चल्ने वाला छैन/ कांग्रेसी मन्त्रीहरुको जिम्मेवारी झनै बढेको छ, उनीहरु आफु भ्रस्ट नहुने हो र इमान्दारी साथ जनताको सेवा गर्ने उद्देस्य हो भने बामदेव एक्लै वामपुड्के साबित हुनेछ/ २०५३ /५४ सालको नेपाल होइन यो, अहिले संचार छेत्र निकै सक्रिय र खबरदारी गर्न सक्ने भैसकेको छ/ अर्को तिर लोकमान सिंह कार्की अर्थात् अख्तियार निरिह बन्ने वाला छैन भन्ने आभास जनताले पाई सकेका छन्/
    भ्रस्टाचार र अनियमितताको खबरदारी आम जनताले पनि गर्न थाली सकेका छन्/ राजनीतिक दल, नामधारी मानब अधिकारकर्मी अनि (अना) गरिक समाजको भर पर्नु आत्मघाती हुनेछ/

    Reply
  15. नवीन रायमाझी says:
    February 27, 2014 at 1:37 pm

    सुशील कोइरालाले आफ्नो कुर्सि बचाउन बामदेब गौतम लाई बोकेर हिडेका छन्, कुन खाल्टो मा पर्छन धेरै कुर्नु पर्दैन.

    Reply
  16. Tenzing K Ukyab says:
    February 27, 2014 at 1:04 pm

    बिगत लाइ मात्रै नहेरी केहि दिन, हप्ता पर्खने होकी ? तपाइँ पारस जस्तो लाइ साहनुभूति
    देखाउने तर यहाँ यसरि भबिस्य बानि पोख्नु भन्दा दुइ हप्ता को समयमा यसरि यी खतरा हरु लेखि NC र जनता लाइ सचेत गराउनु पर्थ्यो, हैन र ? रोक्नु बल गर्नु पर्थ्यो , त्यो भएन अब
    धेरै नकारात्मक पनि नहोउ, धेरै भए देशमा एस्ता, मेरो सुझाब यहाँलाइ, हेरौ अलि फेरि पनि दोहोरिए बिरोध मात्र होइन बरु तपाई अगुवाई गर्नुस हामि सबै मिलि राजिनामा मंगौ I

    Reply
  17. डिल्ली says:
    February 27, 2014 at 12:52 pm

    प्रहरीले चालेको गुण्डा तह लगाउने अभियानमा बामदेवको लिला कस्तो देखिने हो हेर्न बाँकी नै छ तर उनको विगतलाई केलाउने हो भने एमालेका गुण्डा नायक क. खङ्ग ओली, क. बामदेव र क. प्रदिप नेपालको नाम अग्र पङ्तिमै आउँछ । त्यसैले गुण्डा नायक नै सत्तामा पुग्दा हालिमुहाली गुण्डाको भागमा नपर्ला भन्ने आधार देखिदैन ।

    चुनाब धाँधली युक्त विकसित मुलुक त हुने रहेछ भने नेपाल जस्तो देशमा नहुने र नगर्ने कुरै भएन । आ-आफ्नै भोगाइ होला सायद त्यसैले बुझाइ पनि फरक हुन सक्छ । धाँधलीको मामिलामा एमाले कामरेडहरू पहिले प्रोक्सी मत हालेर गर्थे । काँग्रेसी मित्रहरू बुथ क्याप्चर गरेर गर्थे भने जल्दा बल्दा कामरेडहरूले दुबै गर्न थालेका थिए । यस देशमा ठूला वा उपल्ला भनिएका नेता त पार्टिमा यता र उता गर्दै पोइल हिड्छन् भने सत्ताधारीको मोहमा स्थानीय निकाय नपर्ने कुरै भएन । प्राय सत्तामा जस्को रजगज चलेको छ त्यसैको छायाँ स्थानीय निकायमा रहेको जस्तो लाग्छ । त्यसैले सूर्यजीले उठाएको कुरा अलिक एकतर्फी बन्ला कि!

    पहिलेको चुनाबमा एमालेका मित्रहरूले प्रोक्सी मत जमाएर हालेका थिए र स्थानीय निकाय जितेका पनि थिए । तर यस पटक त्यस्तो भैहाल्ला भन्ने त लाग्दैन किनभने मतदाता परिचय पत्र र नामावली पनि निर्वाचन आयोगले अद्यावधिक गरिसकेर यौटा चुनाव पनि सम्पन्न गराइ सकेको छ । त्यसैको कारणले पनि होला प्रोक्सी हाल्न र बुथ क्याप्चर गर्न नपाएर जल्दा बल्दा कामरेडहरूले धाँधली भो भन्न भ्याएका थिए । गृह मन्त्रीले धाँधली गर्न पुलिस लगाए भने प्रधानमन्त्रीसंग पनि सेना छँदै छ नि कि कसो ? आखिर चुनावमा सेना पनि खटाउने गरेकै छन् क्यारे त !

    Reply
  18. ram says:
    February 27, 2014 at 12:42 pm

    हैन हो साथी तपैले बामदेव लै त राम्रै गरि चिन्नु भएको रहेछ l फेरि तपैले एमाले ले कमाउने मौका पौने भए भन्नु भयो, केहि हद सम्म त यो बास्तविक होला पनि, तर तपाईको कुरा गरे अनुसार तपाई कांग्रेस पर्नु भयो जस्तो छ, एउटा कुरा तपैले नि विचार गर्नु होला कि कांग्रेसक नेताहरु पनि कतिका भ्रस्टचारी छन् भनेर, गृह मन्त्रि कृष्ण सिटौला, खुम बहादुर खड्का, अनि अर्थ मन्त्रि रामशरण महत आदि अरु नेता हरु चै के हुन् त परोपकारी अनि देस बिकासमा आफ्नु गोजीको बजेट दिने l त्यो त जुन र घाम जस्तै छर्लंग नै छ नि हैन र ? यदि कसैको बारेमा नराम्रो कुरा गर्नु भन्दा पहिले आफ्नु बारेमा राम्रो कुरा देखौन सक्नु परो नि हो कि कसो हो ?

    Reply
  19. Kamal Shretstha says:
    February 27, 2014 at 11:56 am

    अहिले सम्म सुनिएका र यो समाचार को आधारमा मेरो निस्कर्ष हिजो रातिको बामदेव ज्यु ले गर्नु भएको पांच बुंदे घोषणा र प्रहरी प्रमुख हरु लाइ दिएको आदेश एक प्रकार ले जनमानसमा किताबी वाहा वाहि पाहुने योजना भन्दा किहि होइन जस्तो

    तर पनि मा भित्र कतै बाट भने होइन सचेत भैसकेका जनतालाई अब त्यति सजिलो संग अचेत पार्न सम्भब होला र?

    आशा गरौ देश र जनताको भलो गर्ने काम अब का सम्पुण सांसद ले गर्नेछन भनेर यो एक बर्ष बास्तबमै इ सबै पार्टी र त्यहा भएका अधिकांस सांसद को अन्तिम परीछेर्ण को मौका इ सबैले अबस्ये सदुपयोग नै गर्ने छन् भनेर.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme