– सुरेश ‘समान’-
(भाग १ छुटाउनु भएको यहाँ छ )
क.
क्रिस्मस् मुखैमा थियो। हरेक बर्ष बैँकमा, अफिसका कर्मचारीहरु मिलेर पार्टी प्यालेसमा ‘ क्रिस्मस् इभ डिनर’ को आयोजना गर्थे। आ-आफ्ना परिवार, छोरा-छोरी जम्मै लिएर आउँथे रमाइलो गर्न। मैले जान छाडिसकेको थिएँ। यसपल्टको लागि भने मेरो अफिस डेस्कमै आएर जम्मैले आग्रह गरे। मैले पैलेपैले जस्तो रेडिमेड उत्तर दिएँ – “मिल्यो भने आउँछु।” उनीहरुले मानेनन्। निकै ढिप्पी गरे। मेरो घरमा आएर उठाएर भा’नि ल्याउने धम्की नि आयो। मैले ‘हुन्छ, हुन्छ’ भन्नैपर्यो। सोचेँ – एकछिन मुख देखाउन मात्र भा’नी गइदिन्छु। भोलिपल्ट साँझ दिदी घर आइन्, मेरो हालखबर बुझ्न। कैलेकाहीँ आएर म न’भा बेलामा मेरो कोठा मिलाइदिने, लुगामा स्त्री गर्दिने, बराड-कुँराड, थान्कोमुन्को आदि गर्न थालेकी थिइन्। म पर्दैन भन्थे तर माने पो! सामान्य कुराकानी भए। मैले उस्लाई ‘क्रिस्मस डिनर’ जाने कुरो बताएँ। निक्कै खुशी भइन्। मैले बुझिन, डिनर खान जाने म खुशी थि ऊ। अर्को दिन घर फर्किदा ढोकामा हजाम उभ्भिरा’थ्यो। मलाई देखेर भन्यो -“तपाईंको आमाले पठाइलिनु भा’को, बाल कट्वाउन!”
डिनर पार्टीमा पुग्दा, कामका प्रायः सबै पुगिसकेका थिए। प्रायः सबैजना मलाई देखेर छक्क पर्थे। “अरे केसबजी, तपाईं?” भन्थे। धेरैजसोले मेरो नयाँ हुलिया मनपरेको बताए। “चिटिक्क” देखिएको छु भन्थे! वेटरहरु वाइन, भुटन आदि बोकेर एताउता दौडिरा’थे। केटाकेटीहरु कोही रुदैथे, कोही दौडिदैथे, कोही खाँदैथे – प्राय दौडिरा’थे। म वाइनको गिलास लिएर एउटा कुनामा बसिरहेँ। चुरोट सल्काउन लागेको थिएँ एउटा सानो प्लास्टिकको बल मेरो खुट्टामा आएर ठोकियो। एउटी फुच्ची दौडेर आइ।
“अंकल बल,” उस्ले मेरो कुर्सीमुनि बसेको बल देखाउँदै भनी। मलाई केटाकेटी दौडेको खासै मन परिराको थिएन। मैले कुर्सीमुनिको बल ताने र भनेँ – “अबदेखि एता नखेल्ने भए मात्र दिन्छु, हुन्छ?” उस्ले मेरो हातबाट बल लिदै भनी – “हुन्छ अंकल।” बल लिएर अल्लि उता पुगेपछि पछाडि फर्केर भनी – “अंकल, चुरोट खायो भने क्यान्सर हुन्छ!” मैले केही भन्न नपाउदै उ दौडी। मन चियो भयो। चुरोट गोजीमा हालेँ। एकछिन पछि फेरि बल मेरो कुर्सीमुनि आयो। फेरि त्यो फुच्ची आइ र भनी – “अंकल बल”
मैले बल हातमा लिएँ र भनेँ -“अघि मैले के भनेको थिएँ? अब यो बल म नै राख्छु।”
“सरी अंकल, यो लास्ट। अब एता खेल्दिन,” घोसे मुन्टो लाएर उस्ले भनी। मलाई नरमाइलो लाग्यो।
“ठिक छ,” मैले अली नरम हुँदै भनेँ। “तिमीलाई कस्ले सिकायो चुरोट खायो भने क्यान्सर हुन्छ भनेर पैला भन अनि दिन्छु,” मैले जिस्क्याएँ।
“ड्याडीले” उस्ले भनी। “ए हैन, हैन ममीले”
“ड्याडीले कि ममीले?” मैले नबुझेर सोधेँ।
“ड्याडीले ममीलाई भन्नु भयो रे, अनि ममीले मलाई,” उस्ले मतिर हेर्दै भनी।
“अनि खोइ त तिम्रो ड्याडी ममी?” मैले जान्न खोजेँ।
उस्ले आकाश तिर देखाउदै भनी – “ड्याडी त उ त्याँ तारामा हुनुन्छ रे। पर भन्दा पनि धेरै पर।” उस्ले एताउता मान्छेको भिडतिर हेर्दै फेरि के भन्न लागेकीथी, “छोरी, अब घर जानुपर्छ हिडँ” भन्दै एकजना आइन्। ति एकजना
अलि नजिक आएपछि फुच्चीले भनी – “मेरो ममी”
“सर नमस्कार!,” ती एकजनाले भनिन् । “खाना भो सरको?”
म वाल्ल परेँ। चिनिन। अहँ चिन्दैचिनिन।
“म पार्वती,” उस्ले मेरो अनुहार पढि। “एक बर्ष भो बैँकमा। एकाउन्टिङ हेर्छु। सरको अफिस माथ्लो तल्लामा छ, म तल्लो तल्लामा छु। चिन्नुभएन होला त्यही भएर।” उस्ले मलाई असहज नहुनेगरी बताइ। फुच्चीले मेरो हातको बल अघि नै निकालेर दौडीसकिछ। मैले चाल पाइन।
“ए सरी,” मलाई अफ्टेरो भो। “म केसब,” मैले उस्को अघि नै को नमस्कार फर्काउँदै भने। सायद परिचय दिनु जरुरी थिएन होला तै पनि मुखबाट निस्किहाल्यो।
“सर कोटेश्वरमा ‘नेपाल यातायात’ चढ्नु हुन्छ हैन?” उस्ले सोधी। मैले हो भन्न नपाउदै उस्ले भनी -“म तिन्कुनेमा चढ्छु। तपाईंलाई देखीरा’हुन्छु अफिस आउने टाएममा।”
म फिस्स हाँसे। फुच्ची दौडेर आइ र उस्की ममीलाई च्याप्प समाती।
“ल त सर म ऐले लागेँ, अबेर भो,” उस्ले फेरि नमस्कार गर्दै भनी। “अंकललाई ‘बाइ’ भन नानु,” छोरीको कपाल हल्का मुसार्दै उस्ले भनी।
“बाइ बाइ अंकल,” उस्ले कलीला हात हलाउँदै भनी।
मैले पनि हात हल्लाउदै भनेँ – “बाइ बाइ”
पार्टीबाट निस्किएँ। निक्कै राती भैसकेको थियो। तैपनी हिड्दै जाने बिचार गरेर लखरलखर घरको बाटो हिंड्नथालेँ। मलाई कुनै हतारो थिएन घर पुग्नुको। दिनभरीको कोकोहोलो, चहलपहल, भागदौडलाई बिर्सिएर काठमाडौंका ब्यस्त गल्लीहरु उँघ्न-उँघ्न लागेका थिए। फाट्टफुट्ट सडकपेटीमा थापिएका चियापसलहरुमा ड्राइभर, खलासीहरु झुम्मीएका देखिन्थे। कोही घुर बालेर आगो तापिरा’ थिए। गोजीबाट चुरोट निकालेँ। ‘अंकल, चुरोट खायो भने क्यान्सर हुन्छ,’ फुच्चीले भनेको याद आयो। आस्माको याद आयो। बिहे गरीसकेपछि मेरो चुरोट पिउनु निक्कै कम भा’थ्यो। कैलेकाहीँ आस्माले देखि भने मेरो सात्तो लिन्थिन् । ठीक त्यसैगरी ‘क्यान्सर हुन्छ अनि ठीक्क पर्छ,’ भन्थिन् । मैले अझै बुझ्नसकेको छैन, मलाई हुनुपर्ने क्यान्सर उस्लाई किन भयो? मैले पाउनुपर्ने सजाय, उस्ले किन पाइ? हुन त मेरोलागी यो भन्दा ठुलो सजाय के हुन्थ्यो होला र? उ अब थीइनन्! तै फुच्चीकि ड्याडी जस्तै मेरी आस्मा पनि ‘पर भन्दा पनि निक्कै पर,’ गइसकेकी थिइन!
ख.
भोलिपल्ट बसमा फुच्चीकी आमा, पार्वतीलाई देखेँ। उस्ले पार्टीमा भनेजस्तै तीनकुनेबाट उ बस चढि। मलाई देखेर हाँस्दै ‘नमस्कार’ गरी। मैले उस्को नमस्कार फर्काएँ। म बसको अन्तिम-अन्तिम तिरको सिटमा थिएँ। उ ढोकानेर उभीरा’थी। बस बानेस्सोरमा रोकियो। मान्छेको हुल छिचोल्दै बसबाट ओर्लिन मलाई अली समय लाग्यो। तल ओर्लीदा पार्वती कुरिरा’रैछे। उस्ले मलाई देखेर फेरि नमस्कार गरी। मैले पनि फर्काएँ।
“सन्चै सर?,” उस्ले सोधी।
“ठिकै छु,” मैले भनेँ। “तपाईंलाई कस्तो छ नि?”
“आराम छ,” उस्ले भनी। म अघि अघि हिंडे, उ मेरो अल्ली पछिपछि। अफिस पुगेर म सरासर माथ्लो तल्लामा गएँ। अर्को दिन पनि पार्वतीलाई देखेँ। उस्ले नमस्कार गरी, मैले फर्काएँ। बसबाट ओर्लेर ‘सञ्चै सर?,’ सोधी। मैले ‘ठिकै छु,’ भनेँ। अनि मैले ‘तपाईंलाई कस्तो छ नि?’ सोधेँ। उस्ले ‘आराम छ’ भनी। म अघि अघि हिंडे, उ मेरो अल्ली पछिपछि। अफिस पुगेर म सरासर माथ्लो तल्लामा गएँ। अर्को दिन त्यसतै। फेरि त्यस्तै। हरेक दिन म ‘सञ्चै’ हुन्थे, उ ‘आराम’ हुन्थी। म अघि अघि हिँड्थे, उ मेरो अल्ली पछिपछि। अनि अफिस पुगेर म सरासर माथ्लो तल्लामा जान्थे।
एकदिन उपत्यका बन्द भो। सरकारले खाना पकाउने LPG ग्याँसको मुल्यब्रिद्दी गरेको बिरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गरे। आपतकालिन र अत्यावस्यक बाहेक कुनै सवारी-साधन चल्न दिएनन्। कोटेस्वर देखी बानेस्वर पैला निकै हिँडि सकेकोथिएँ – २५-३० मिनेटको बाटो, मलाई बन्दले खासै छोएन। प्राय कोटेश्वरको भित्रीबाटो बाट तिन्कुने हुँदै शान्तीनगरतिर लम्किन्थेँ अनि त बानेश्वर आइहाल्यो। आठै बजेजस्तो निस्किएँ १० बजेको कामका लागि। घर बसेर पनि के नै गर्नुथियो र! बाटोमा एउटा किराना पसलमा चुरोट किन्दैथिएँ, ‘अंकल’ कसैले बोलायो। त्यो आवाज मैले पैला सुनीसकेको आवाज थियो। पछाडि फर्केर हेरेँ। एउटा घरको बार्दलीमा त्यही बल माग्ने फुच्चीलाई देखेँ, पार्वतीकी छोरी। हतार-हतार चुरोट गोजीमा हालेर उ भएतिर हाँस्दै हात हल्लाएँ। छेउमै उभिएकी पार्वतीले नमस्कार गरीन्। मैले नमस्कार फर्काएँ।
“सन्चै सर?,” उस्ले सोधी।
“ठिकै छु,” मैले भनेँ। “तपाईंलाई कस्तो छ नि?”
“आराम छ,” उस्ले भनी। “अफिस त जान लाग्नु भा हैन होला एती चाडै?”
“अफिसै हो,” मैले भनेँ। “आज छिट्टै निस्केको, गाडीहरु ठप्प छन्।”
“तै त आज बन्द गेरेछन्,” उस्ले भनी। अनि छोरीतिर हेर्दै भनी -“इ एस्को पनि स्कुल बन्द रे आज। एक्लै हुन्छे घरमा। मैले त बिदा लिएँ सर आज कामबाट।”
“ठिकै गर्नुभयो,” मैले भनेँ।
“सरलाई हतार छैन भने एक कप चिया खाएर जानुभए नि भो नि,” पार्वतीले भनिन्। “म एक्कैछिन्मा बनाइहाल्छु।”
म के भन्ने, के बाहना बनाउने भनेर सोच्दै थे, उस्की छोरी तल आएर मेरो हात समाउँदै – “जाम अंकल,” भनेर मलाई तान्न थाली। म फुच्चीलाई पछ्याउँदै माथि कोठामा पुगेँ।
“तपाईं बस्दै गर्नोस म चिया ले’र आइहाँले,” भन्दै पार्वती भन्सातिर लागिन्। सायद म बैठक कोठामा थिएँ होला – कोठा चिटिक्क देखिन्थ्यो। एताउता आँखा डुँलाए – कोठामा भएका टिभी, दराज, सोफा, टेबल, कुर्सी जम्मै ब्यबस्तित थिए। भित्तामा एउटा फोटो झुण्डीरा’थ्यो, माला लाएको फोटो। ‘पक्कै पनि उस्को लोग्नेको होला,’ मैले अड्कल काँटे। फुच्ची दौडेर आइ र मेरो छेउमा बसी।
“मेरो त आज छुट्टी, मकै भुट्टी,” उस्ले कम्मर हल्लाउँदै भनी। “अंकलको स्कुल छुट्टी छैन?”
मलाई हाँस उठ्यो। मैले “छैन त मेरो स्कुलमा त आज पनि पढाई हुन्छ,” मैले भनेँ।
“तिमी कती क्लास पुग्यौ?” मैले सोधेँ।
“म यु के जि,” उस्ले गर्वसाथ भनी। “अनि अंकल कती क्लासमा पढीसिन्छ?”
“म त एल के जि,” मैले हाँस्दै भनेँ।
“उस् उस् उस्,” उस्ले मुख बङ्याउदै भनी। म झसँग हुन्छु! ठीक त्यसैगरी आस्माले मेरो कुरा पत्याइनन् भने भन्थिन् ‘उस् उस् उस्।’ म बोलिन।
“अनि अंकल ठुलो भएर के बन्ने?” उस्ले सोधी।
“म?” एकछिन् सोचेँ – म अझै ठुलो हुन बाँकी छ त? अनि उस्लाई जिस्क्याँउदै भने – “म त फिलिमको हिरो बन्ने।”
अघि जस्तै मुख बङ्याउदै उस्ले भनी – ” उस् उस् उस् ।” म फेरि झस्किन्छु। उ भन्दै हुन्छे – “हजुर त हिरोको ड्याडी बन्नमात्र सुहाउँछ होला,” उ हाँस्न थाल्छे। फेरि एक्कासी के सम्झेजस्तो गरी भन्छे – “बरुभन्दा म चै भोलिपर्सी ठुलि भएर हिरोनी बन्छु अनि अंकल हिरोनीको ड्याडी बनिस्यो!” म बोल्न सकिन। “तिम्रो नाम चै के हो नानु? What is your name?” मैले प्रसँग बद्ले।
उ सोफाबाट जुरुक्क उठी र ठिङग, सतर्क मुद्रामा उभिएर भनी -” My name is Aditi Sharma. I read in UKG. My mother’s name is Parbati Sharma….”
अदिती? त्यो नाम त….. पार्वती चिया लिएर भित्र पसिन् । मेरो अगाडिको टेबलमा चिया राख्दै भनिन् – “सरलाई”
मैले ‘Thank you’ भनेँ। उ हलुका हाँसी र भनी ‘वेल्कम।’
चियाको बाफ फेरो नाकमा आएर ठोक्कियो। त्यो बास्ना मैले चिनेको बास्ना थियो। कप उठाएर सुरुप्प पारेँ। त्यो स्वाद मेरो जिब्रोले चाल पायो। मेरो जिब्रो सायद कोमामा थियो, आज ब्युझियो। म टोलाउन थालेँ।
“सरलाई चिनी पुग्यो पुगेन?” म टोलाएको देखेर होला सायद पार्वतीले सोधिन् ।
“हैन हैन, ठीक्क छ,” मैले भनेँ। “मिठ्ठो छ।” फेरि एकछिन सुन्य भयो। अदितीको चियाको ‘सुरुप’ ‘सुरुप’ कोठामा छरियो।
“अनि वहाँ चै….” मैले भित्ताको फोटोतिर इसारा गर्दै सोधेँ। पार्वती अली मलिन भइन्। एकछिन् केही बोल्न सकिनन्। अनि एकछिनमा छोरीतिर हेर्दै भनिन् – “छोरी, जाउ त तिम्रो भोलिको होमवर्क गर। होमवर्क सकाएर हामी घुम्न जाने।”
अदितीका आँखा तेजिला भए। उ जुरुक्क उठी र ममीतिर हेर्दै भनी – “काँ ममी? ‘जु’ जाम है!”
“हुन्छ, हुन्छ,” पार्वतीले हाँस्दै भनिन्। अदिती दौडेर अर्को कोठामा पसी। मैले सायद अदितीको अगाडि सोध्न नहुने थियो। पैला नै भनीसके नि – म एस्ता कुरा जान्दिन! पार्वतीले आफ्नो श्रीमान बिहे भा’को एकहप्ता नबित्दै अमेरिका गएको कुरो बताइन्। पार्वतीलाई पनि उतै लाने बन्दोबस्त गर्दैथिए रे। तर एकदिन उस्को श्रीमान कामगर्ने ठाउँमा केही लुटेराहरु घुसेर उ माथी गोली चलाएछन्! त्यस्को दुईहप्तामा उस्को लोग्ने एउटा बाकसमा अमेरिकाबाट नेपाल फर्किए रे!
यी सब कुरो बताइसकेपछि पार्वतीलाई सम्हालिन निक्कै समय लाग्यो। मेरो बारेमा पनि उस्ले अफिसका कर्मचारीहरुबाट सुनीसकेकी रहिछिन्। मलाई खान खाएर जाने आग्रह गरीन तर म बस्न सकिन! अनि उस्ले स्वस्थानीको ब्रत बस्न लागेकी हुँदा भरे कथा सुन्न अनि खाना खान आउनु भनिन्। मैले ‘नाइ’ भन्न सकिन।
ग.
बेलुका भयो। मन सारै दोधारमा थियो। जान्न, जान्न भन्दाभन्दै खुट्टाले त्यतै हिडाएँ। मलाई देख्नासाथ अदिती दौडेर मेरो हात समाउन आइन्। उस्ले मलाई सोफामा राखेर दिनभरीको काहानी बताइन्। टाइगर, एलीफेन्ट, मङ्की, लायन आदी जम्मै भेटेर आ’की रे उस्ले ‘जु’ मा। उस्को बाल चन्चलता र बालहठ देखेर म पुलकीत भएँ।
“मैले तिम्रो लागि के ल्याको छु, एता आउ त,” मैले अदितीलाई बोलाएँ। उ दौडेर आइ अनि दुबै हात अगाडि बडाउदै भनी – “ल म आँखा चिम्म गर्छु, अनि मेरो हातमा राखीदिस्यो।”
मैले उस्को एउटा हातमा क्याड्बरी र अर्को हातमा प्लास्टिकको बल राखीदिएँ। उस्ले आँखा खोली। उस्का आँखा प्रज्वलित भए। ‘थ्यान्क्यु अंकल,’ भनेर बल उफार्दै उ बार्दलीतिर लागि। पार्वतीले स्वस्थानी किताब निकालिन्। हामी (म, र अदिती) पार्वतीको अगाडि ज्ञानी छात्र-छात्रा भएर पलेटी कसेर बस्यौँ। पार्वतीले सुरु गरिन् – “कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्थ्य मुनी…” स्वस्थानीको पहिलो अध्याय सकेर पार्वती खाना पस्किन लागिन्। धेरै पछि, धेरै पछि मेरो अगाडिका थालबटुका यसरी ब्यबस्थित थिए…।
त्यसपछिका दिनहरुमा मलाई स्वस्थानी सुन्ने लत लाग्यो! म नआइ पार्वतीले स्वस्थानी सुरु गर्दिनथिन। आज पनि म बेलुका पार्वती र अदितीलाई भेटेर आएको छु। आज उन्ले तीन अध्याय पढेर सुनाइन – ६, ७ र ८ । छैठौँ अध्यायमा सतीदेवीले अग्नीकुण्डमा हामफालेर आत्मदाह गर्छिन्। सतीदेवीका पिता दक्ष्यप्रजापतीले आयोजन गरेको अस्वमेघ यज्ञमा महादेवलाई नडाकेर अपमान गरेको सतीदेवीले सहन नसकी अनि आफ्नो पतीको अपमान सुन्न नसकेर यज्ञकुण्डमा होमिएकी हुन्छिन्। सातौँ अध्यायमा – महादेव को आदेशमा वीरभद्र र महाकाली अनि समस्त शिवगण मिलेर दक्ष्यप्रजापतीको यज्ञमा धावा बोल्छन्। त्राही त्राही हुन्छ! यतीसम्म कि स्वयं बिष्णु पनि हार मानेर संग्रामभुमीबाट अन्तरध्यान भइ बैकुण्ठ पुग्छन्। दक्ष्यप्रजापतीको टाउको काटीइन्छ अनि पछि उस्की पत्नीले बिलौना गरेपछि वीरभद्रले बोकाको टाउको हालिदिन्छन्। त्यसै गरी आठौँ अध्यायमा कैलाश सुन्य गरेर गएकी सतीलाई सम्झी महादेव जोर जोरले छाती ठोकीठोकी रुन्छन्। सतीदेवीको मरेको शरीर लिएर चार भुवन डुल्न थाल्छन् – भौतारिदै! स्वस्थानी त पहिला-पहिला पनि पढेको हुँ, सुनेको हुँ तर यो पाली बल्ल बुझेँ, बुझ्दैथिएँ। आज पनि अदिती र मैले ध्यान दिएर सुन्यौँ। पार्वती पढ्दा-पढ्दै बिचबिचमा धेरै अड्किन् तर फेरि कथालाई निरन्तरता दिइरहिन्। कथा टुङिएन….
कथा सुनी सकेर म घर हिड्न भनेर निस्केँ। भर्र्याङ्बाट ओर्लेर बाटोमा पुगेँ।
“केसु अंकल,” माथिबाट अदितीले बोलाइन्। मैले फर्केर हेरेँ। पार्वतीले छोरीलाई कम्मरमा बोकेर मलाई नै हेर्दैथिइन्। त्यो हेराइले पुन: मलाई बिगतको याद दिलायो। मैले टोलाएर माथि हेरीरहेँ। अदितीले आफ्ना हत्केलामा चुप्पा गरिन् र मतिर ‘फू’ गर्दै भनिन् – “ह्यापी भ्यालेन्टाइन्स डे, केसु अंकल!”
मेरा आँखा रसाए। एकनास बार्दलीमा हेरीरहेँ र तेसै गरी ‘फू’ गर्दै भनेँ – “तिमीलाई पनि………तिमीलाई पनि!”
इतीश्री!
धेरै पछि फेरी आज राम्रो कथा पढियो, दिल खुस भयो. Job well done!!!!! Please keep writing…..Ignore all Neg coments… 10 out of 10.
सुरेशजी,
निकै राम्रो | कथाको अन्त्य निकै सुन्दर छ | शान्त, कन्चन र वासना रहित मायामा कथा अन्त्य भएको छ | शायद आस्मा पनि केशवको यो मायामा खुशी छिन होलिन र पार्वतीलाइ सौता नभएर बहिनिको रुपमा हेर्दै छिन होलिन |
कथा राम्रो छ / संयोगान्त चलचित्र हेरेर हाम्रो मन ले संयोगान्त खोजेको हो तर यो दुनियामा सबै घटना संयोगान्त मा मात्र टुंगिदैन / कति वियोग हरु हुन्छन , कति मन परेको मान्छे हरुलाई एक झल्को हेर्छु भन्न पनि नपाइने हुन्छ त्यसले गर्दा मलाई कथाको दुवै भाग मनपर्यो /
कथाको लागि धन्यवाद / कथा को भाग १ जति मिठास थियो भाग २ मा पयियेना / आझै कथाको अन्त्य ले सम्पूर्ण कथाको स्तर लाइ केहि धमिलो बनाइदियो / केसब र पार्वती दुवै जना एकल पुरुष र एकल महिला थिए / तेतिको चिनजान भएपछी कथालाई अलि लम्ब्याएर भए पनि दुवै बीच पुनर्बिबाहा भएपछी अन्त्य भएको भए कथाले पूर्णता पाउ थियो र संदेश मुलक हुनेथियो भन्ने मेरो आफ्नो विचार हो ………….
बिष्णु अधिकारी
मलाई त राम्रो लाग्यो कथा. पढ्न सजिलो बुझ्न सजिलो/ भाषा शैली सरल अनि फरासिलो / “पार्वती पढ्दा-पढ्दै बिचबिचमा धेरै अड्किन् तर फेरि कथालाई निरन्तरता दिइरहिन्। कथा टुङिएन….” बास्तबै जीवन अघाडी बढी रहन्छ /
धेरै राम्रो तर कथा को समाप्ति मा कता कता के नपुगेको के नपुगेको जस्तो खलो भयो. अथितिको ठाउमा पार्वतीले ह्यापी भ्यालेन्टाइन्स डे भनेको भए सुखत अन्त हुन्थियो कि …….
त्यसो भएको भए त फिल्मी हुन्थ्यो…. हाम्लाई हिन्दी फिल्म को संयोगान्त कथानकको बानीले गर्दा कथा यस्तै भैदिए हुन्थ्यो, हिरो हिरोइन मिले हुन्थ्यो, जस्तो लाग्छ…इक्स्पेकटेसन अनुसारकै समाप्ति हुनेभए त कथा के मजा आयो र!
मलाइ जे होस् कथा मन पर्यो| एक दुइ वटा अब्भियस त्रुटी नजरअन्दाज गर्ने हो भने कथा मिठो छ र कथामा बहाव राम्रो छ| कथाको संवादहरु निकै राम्रो र न्याचुरल लाग्यो – अझ Figure of speech को प्रयोग यति राम्रो छ कि कथाकारले कुनै स्थापित शैली पछ्याएर कथा लेखे जस्तो लाग्छ –
” मेरो जिब्रो सायद कोमामा थियो, आज ब्युझियो ”
कथा को समापन चुनौतिपूर्ण हुन्छ र धेरै कम कथाकारहरुले मात्र सफलतापूर्वक कथा इन्ड गर्न सक्छन| सुरेश जी ले प्रयास धेरै राम्रो गर्नु भाको छ | आशा छ, आउने दिनहरुमा उँहाका अझै राम्रा कथाहरु पढ्न पाइनेछ- तर एकै भागमा : D
भाग १ जस्तै भाग २ मा मिठास छैन | १ हप्ता सम्म कुरेको उत्सुकता तितो भयो | नेपालको ब्याङ्क भनेको टोयोटा कम्पनि त होइन, त्यति धेरै नचिन्ने गरी कामदार हुने | नेपालमा आफ्नो अफिसको त कुरै छाडौं, अन्य अफिसको पनि प्राय सबै स्टाफसंग चिनाजानी हुन्छ | भेट भएपछि नेपालीले तीन पुस्ता पनि सोध्छ | त्यत्रो दिन संगै बसमा हिंड्दा पार्वतीको घर सोधिएन होला? अचानक चुरोट किन्दा देखियो? उस उस उस ! अस्वाभाविक कुरा | अरु पनि मिलेको छैन |
आखिर लेखकले “अदितिको साथी” बाट चोरेकै रहेछ | नत्र त्यहिँ नाम किन प्रयोग गर्नु पर्यो?