Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘कान्तिपुर’ले दिने भनेको रु २० लाख नगद राशीको नेपालको ‘नोबल’ पुरस्कार यसपालि पनि कसैले पाएन

Posted on February 19, 2014February 20, 2014 by Salokya

kantipur-democracy-icon [अपडेटः कान्तिपुरका अध्यक्ष कैलाश शिरोहियाले अपराह्न भएको वार्षिकोत्सव सम्बोधनको क्रममा यो पुरस्कारबारे बोलेका रहेछन्। त्यसबारे अपडेट भित्र छ।] ‘विदेशमा नोबल र म्यागासेसे पुरस्कार छन्, हामी पनि हाम्रा श्रद्धेय व्यक्तित्वहरूलाई राष्ट्रको ठूलो पुरस्कारले सम्मान गर्न चाहन्छौँ। त्यसको अभियान कान्तिपुरले थाल्नेछ । पुरस्कार स्थापना त्यसकै अभियान हो।’

ठ्याक्कै दुई वर्षअघि कान्तिपुर पब्लिकेशन्सको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले यस्तो घोषणा गरेका थिए।

यो नेपालकै सबैभन्दा ठूलो राशीको पुरस्कार हुनसक्थ्यो। तर विडम्बना, यो पुरस्कारको योजना बाँड्दै नबाँडी तुहिएको देखिएको छ। घोषणाको अर्को वर्ष २०७० सालमा पुरस्कार बाँड्ने भनिए पनि यो वर्ष पुरस्कारको ‘प’समेत उच्चारण गरिएको छैन।

यस्तो थियो घोषणा-

२०६८ सालको फागुन ८ मा प्रकाशित समाचार
2068

कान्तिपुर डेमोक्रेसी आइकन घोषणा, राशि २० लाख रुपैयाँ
कान्तिपुर संवाददाता
काठमाडौ, फाल्गुन ७ –
कुनै पनि क्षेत्र वा विधाबाट लोकतन्त्रको संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने एक जनालाई कान्तिपुर पब्लिकेसन्सले हरेक वर्ष फागुन ७ गते ‘कान्तिपुर डेमोक्रेसी आइकन’ बाट सम्मान गर्ने भएको छ । आउँदो वर्षबाट प्रदान गरिने उक्त पुरस्कारको राशि २० लाख रुपैयाँ छ ।

पब्लिकेसन्स २० औं वर्ष प्रवेश गरेको अवसरमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आइतबार उक्त पुरस्कार घोषणा गरेका हुन् । उनका अनुसार उक्त ‘आइकन’ को चयन समाजका प्रतिष्ठित प्रतिनिधिहरू रहने विशेष छनोट समिति -सिनेट) र त्यसमातहतको ‘जुरी’ को सिफारिसका आधारमा गरिनेछ । लोकतन्त्र नै पत्रकारिताको आधारस्तम्भ भएकाले लोकतान्त्रिक योद्धाप्रति श्रद्धा प्रकट गर्न पुरस्कार स्थापना गरिएको अध्यक्ष सिरोहियाले बताए । नेपालमा यति ठूलो धनराशिको पुरस्कार यो पहिलो हो ।

‘विदेशमा नोबल र म्यागासेसे पुरस्कार छन्, हामी पनि हाम्रा श्रद्धेय व्यक्तित्वहरूलाई राष्ट्रको ठूलो पुरस्कारले सम्मान गर्न चाहन्छौं,’ उनले भने, ‘त्यसको अभियान कान्तिपुरले थाल्नेछ । पुरस्कार स्थापना त्यसकै अभियान हो । यसको विस्तृत कार्ययोजना केही दिनमै सार्वजनिक गरिनेछ ।’ पुरस्कार हरेक वर्ष फागुन ७ गते पब्लिकेसन्सको वाषिर्कोत्सव समारोहमा प्रदान गरिनेछ ।
प्रकाशित मिति: २०६८ फाल्गुन ८ ०९:०९ लिङ्क क्लिक गरी हेर्नुस्

democracy-icon

बोली फेरियो

२०६८ सालमा हरेक वर्ष भनिसकेपछि २०६९ सालमा पहिलो पुरस्कार बाँड्नु पर्ने हो। कान्तिपुर आफैले समाचारमा ‘नेपालमा यति ठूलो धनराशिको पुरस्कार यो पहिलो हो’ भनिसकेपछि चासो त सबैलाई हुने नै भयो। तर २०६९ सालमा यो पुरस्कार बाँडिएन। त्यसको साटो पत्रिकामा ज्याकेट एड (अघिल्लो पेजलाई ढाक्ने गरी छापिने विज्ञापन) छापी भनियो- दुई दुई वर्षमा बाँड्नेछौँ। २०७० फागुन ७ गते पहिलो पुरस्कार दिइनेछ। नाम सिफारिश पठाउन थाल्नुस्। हेर्नुस् ज्याकेट एड (ठूलो पारी हेर्न विज्ञापनमा क्लिक गर्नुहोला)
kantipur-democracy-icon-award

ज्याकेट एडसँगै त्यो दिनको पत्रिकामा भित्र प्रकाशकीयमा यस्तो लेखिएको थियो-
2069
प्रकाशकीय छापिएको इकान्तिपुरको लिङ्कमा समाचार भने हटाइएको छ। यहाँ क्लिक गरी हेर्नुस्।

हरायो पुरस्कार

२०६९ सालमा छापिएको ज्याकेट एडमा स्पष्ट रुपमा २०७० फागुन ७ गते पहिलो सम्मान दिइने भनिएको थियो। तर आज २०७० सालको फागुन ७ गतेको प्रकाशकीयमा यसबारे कुनै उल्लेख गरिएको छ। पुरस्कारको ‘प’ समेत हराएको छ। हेर्नुस्-
2070 Publishers Note
पुरस्कारको साटो यो वर्ष कान्तिपुरले फेसबुक लाइकमा आधारित वर्ष १० व्यक्तित्व घोषणा गर्‍यो।

आखिर नेपालकै सबैभन्दा ठूलो धनराशीको भनिएको अझ नोबल र म्यागासेसेसँग दाँजिएको पुरस्कार कता हरायो ? केले रोक्यो यो पुरस्कार घोषणा गर्न ? के नेपालमा डेमोक्रेसी आइकन घोषणा गर्न लायक कुनै व्यक्ति वा संस्था नै नभएको हो ? कि पुरस्कार राशी जुटाउन गाह्रो भएको हो ? २० लाख राशीको पुरस्कार किन दिइएन ? देशकै सबैभन्दा प्रभावशाली र नम्बर वन मिडिया भएकोले सोध्ने आँट कसैले गर्न सकेको छैन।

(अपडेटः 2030 pm)
संविधान सभा विघटनलाई दोष
यसैबीच अध्यक्ष कैलाश सिरोहियाले यो पुरस्कार यो वर्ष दिन नसक्नुको कारण संविधान सभा विघटन रहेको बताएका छन्। इकान्तिपुरमा आज प्रकाशित समाचारमा भनिएको छ- यसअघि घोषणा गरिएको ‘कान्तिपुर डेमोक्रेसी आइकन’ संविधानसभा विघटन भएपछि अधूरो रहेको उल्लेख गर्दै सिरोहियाले आगामी वर्षदेखि अघि बढ्न सक्ने अपेक्षा गरे ।

तर यो ढाँटेको कुरा काटे पनि मिल्दैन भन्ने जस्तै भएको छ। संविधान सभा विघटन २०६९ जेठ १४ गते भएको थियो। त्यसको नौ महिनापछि कान्तिपुरले तामझामका साथ ‘ज्याकेट एड’ छापेर २०७० फागुन ७ गते पहिलो पुरस्कार दिने घोषणा गरेको थियो। (माथि हेर्नुस् विज्ञापन) संविधान सभा विघटन भएको नौ महिनापछि आफैले घोषणा गरेको पुरस्कार अहिले आएर नदिएपछि संविधान सभा विघटनलाई कारण देखाउनु कतिको उपयुक्त हो ?

अर्को वर्ष पनि यो पुरस्कार दिने/नदिने निश्चित नभएको देखियो। किनभने समाचारमा ‘आगामी वर्षदेखि अघि बढ्न सक्ने अपेक्षा गरे’को उल्लेख छ। २०६८ सालमा हरेक वर्ष दिने भनेको पुरस्कार २०६९ मा नदिँदा संविधान सभा विघटन जस्तो कुनै कारण देखाइएको थिएन, बरु बोली फेरेर दुई दुई वर्षमा दिने भनियो। २०७० मा भने संविधान सभा विघटनको बहाना देखाइयो। लौ न यो नेपालको नोबल र म्यागासेसे पुरस्कार कहिले बाँड्ने होला….पर्खाइ साह्रै लामो पो भयो त हौ।

16 thoughts on “‘कान्तिपुर’ले दिने भनेको रु २० लाख नगद राशीको नेपालको ‘नोबल’ पुरस्कार यसपालि पनि कसैले पाएन”

  1. Sunil. London says:
    February 22, 2014 at 2:10 am

    सिरोहिया कस्ता व्यक्ति हुन् भन्ने कुरा मैले भनिरहनु परोइन ! २० लाख त के उनले २० हजार दिए भने तेस्लाई पनि “नोवेल पुरस्कार” ठाने हुन्छ !
    २०६९ मा दिएनन् र २०७० मा दिने भने , २०७० मा पनि दिएनन् अब २०७१ मा दिन्छु भन्लान ! म सानो छदा धेरै जसो चिया पसल हरुमा लेखेको सम्झन्छु “आज नगद भोलि उधारो” त्यो भोलि त कहिल्यै नआउने रहेछ गाट्ठे !!!!!

    Reply
  2. dharmendra says:
    February 20, 2014 at 12:27 am

    गफै त हो नि सम्धी ! बोलेको सबै गर्ने भए संबिधान पहिल्येई बन्थ्यो ! देश सिंगापुर बन्थ्यो ! अमेरिका बन्थ्यो ! जापान बन्थ्यो ! के के बन्थ्यो , के के !!
    हामी नेपालीको कर्म सधै मिठो सपना देखेर बिउझिये जस्तो ! यता छामे रित्तो , उता छामे भित्तो ……

    Reply
  3. kishor says:
    February 19, 2014 at 11:10 pm

    गारोछ नि, यौटालै दियो अर्को रिसौछ| अथवा मोल मलाई चल्दै पो छ कि, २० लाख को पुरस्कार १ करोड १ करोड भन्दै ……….|

    Reply
  4. नयनराज says:
    February 19, 2014 at 10:58 pm

    अस्तिको UNICEF को बिज्ञापन भएको अग्रिम बुकिङ्ग सहितको “पुरस्कार” चाहि कसलाई परेछ, कान्तिपुर कि सगरमाथालाई?
    आफैले तजभजका साथ पुरस्कार घोषणा गर्नु अनि फेरी पुरस्कार हराउनुले मेडियाका
    जायन्ट भनेर स्वघोषित मेडिया हाउसले के संदेश दिन खोजेको हो? काँच घरमा बस्नेले अरुको छानामा ढुंगा हान्नु भएन|

    Reply
  5. bibek dhakal says:
    February 19, 2014 at 10:43 pm

    वाह काइदा जानेछन मिडियाहरुले –
    अब अर्कोपालि फेरी आर्को राइभल मिडिया हाउसले ८० लाख राशि बराबरको “नोबेल” पुरस्कार घोषणा गर्ने होला| संबिधान बन्न सकेन भने त माथिको “बाइ डिफल्ट” उपाय छदैं छ; कदम कदाचित बन्यो भने ” संबिधान जस्तो बहुमुल्य उपाहार प्राप्त भएको अवस्थामा नगद पुरष्कार आवश्यक नदेखिएको ” भने भैहाल्यो |||||

    Reply
  6. subodh nepal says:
    February 19, 2014 at 9:24 pm

    अब यो पुरस्कार पनि भोट दिएर लोकमान जस्ता एकमात्र सच्चा प्रजातन्त्रवादीलाइ दिलाइने छ । अग्रीम बधाइ तोकमानजी ।

    Reply
  7. शशांक लामा, न्युयोर्क says:
    February 19, 2014 at 9:23 pm

    कमिशनमा कुरो मिलेन होला| आफुले दिने पुरुष्कारमा आफैले कमिशन खोज्यो होला| बिजिनेश मिडिया हाउस जो ठहर्यो!

    Reply
  8. देवदास says:
    February 19, 2014 at 9:15 pm

    अझै पुर्ण सरकार बनेको छैन त्यै भएर हो ,जब पुर्ण सरकार बन्छ
    र कान्तिपुरको करोड को दुइ नम्बरी काम सरकारले
    पास गरिदीन्छ अनी उसैलाइ २० लाखको पुरस्कार दिन्छ । नाम पनि कमाउने अनि ८० लाख पनि पचाउने ।

    Reply
  9. N Giri says:
    February 19, 2014 at 8:16 pm

    घोषणा गरिएको ‘कान्तिपुर डेमोक्रेसी आइकन’ संविधानसभा विघटन भएपछि अधूरो रहेको उल्लेख गर्दै कैलाश सिरोहियाले आगामी वर्षदेखि अघि बढ्न सक्ने अपेक्षा गरे ।

    अपेक्षा गर्दै रहेछन्, होला नी त !

    Reply
  10. ekraj says:
    February 19, 2014 at 6:53 pm

    ेपाल का स्वाँठ पत्रु नेता र यी मेडिया का माफिया मा के नै फरक छ र? छ भने बोलेको कुरा पुर्याएर देखाउनु परो|

    Reply
  11. ashok says:
    February 19, 2014 at 5:57 pm

    हामी नेपालीहरूलाई जिम्मेवारी र उत्तरदायित्व के हो? बुझ्न अझै बाँकी छ ।

    Reply
  12. kedar says:
    February 19, 2014 at 3:15 pm

    गफ ठोक्न पाएका नेपालीले पैसाको मुख देखेपछि शिवजी का तेस्रो आँखा झैं बलि हाले | अझ बिस बिस लाखको कुरो आए पछि त पुरै कान्तिपुरकै पनी तेस्रो आँखा बल्दा रछन | बोल्ने मात्रै हैन गरेर देखाउने आँट पनी हुनु पारो नि ? नत्र कुरी कुरी गर्लान नि मान्छेले |

    Reply
  13. Santosh pradhan says:
    February 19, 2014 at 3:00 pm

    सिरोहिया आफैलाई दिन नमिल्ने , अरु लाइ दिन चुइया ले नजानेको…

    Reply
  14. डिल्ली says:
    February 19, 2014 at 2:52 pm

    यो लोभ भन्ने चीज पनि गज्जबकै छ । सिरोहिया ज्युलाई पहिले हाइ हाइ गर्दै नाम कमाउन लोभ लागेछ दानीको नाममा । पुरस्कार २० लाख नेपाली रुपैयाँको हुनेछ हरेक वर्ष फागुन ७ गते दिइने छ भन्ने ठोकिहाले । भर्खरै ज्ञवालीहरूसँग फुटेको झोक । नाम कमाउने काइदाको तरिका निकाले छन् । फेरि होइन अलिक धेरै पो जाने भो भनेर सच्याए छन् २ वर्षमा मात्र दिने भन्दै । फेरि अर्को लोभ पलाएछ २ वर्ष अघिको गफ बिर्से होला भन्ने ठाने जस्ता छन् र पुरस्कारको नामै लिएनन् । सायद अब आउने संसोधनमा सन २०७० बाट पो दिने भनेको त भन्ने आउने छ । यो पुरस्कार र पुराणमा गर्ने भनेको दान उस्तै रहेछ बोलेर फेटा गुथ्यो । लाज पचाएर चुप लाग्यो टन्टै खलास् । २० लाख रुपैयाँ भनेरै लेखेछन् र पो त नत्र त २० लाख पैसा दिँदा कुरै सकिने !!!!!

    Reply
  15. लौटन अवधि says:
    February 19, 2014 at 2:29 pm

    बोल्नै लाइ त जे बोल्दिये नि भो !

    Reply
  16. Suresh Paudel says:
    February 19, 2014 at 2:28 pm

    कसैको पनि नाम सिफारिश नभएर पो हो कि ? वा त्यस्तो आइकन नभेट्या पो हो कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme