Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

४३ वर्ष पुरानो निगमको विमान दुर्घटना, यही विमान कांग्रेसले ३० सालमा अपहरण गरेको थियो

Posted on February 16, 2014February 17, 2014 by Salokya

RA
काठमाडौँबाट पोखरा हुँदै जुम्ला र त्यहाँबाट नेपालगञ्जसमेत उड्ने सेड्युल भएको विमान पोखराबाट जुम्लातर्फ उड्दै गर्दा सम्पर्कविहीन भयो। त्यसै अवस्थामा अर्घाखाँचीमा दुर्घटना भएको भनेको नेपाल वायुसेवा निगमको ट्विनअटर विमानको फाइल फोटो यही हो। विमानमा एक बच्चा, एक विदेशी र तीन चालक दलका सदस्यसहित १८ जना थिए।

एउटा अचम्मको संयोग के परेको छ भने यही 9N-ABB विमान नेपाली कांग्रेसले सशस्त्र संघर्षका क्रममा विराटनगरबाट उड्दा अपहरण गरेको थियो। २०३० साल जेठ २८ गते विराटनगरबाट उडेको विमान अपहरण गर्ने योजनामा सुशील कोइराला पनि संलग्न थिए, जो आज नेपालका प्रधानमन्त्री छन्।

RA1
फोटो साभारः Andy Vass Aviation

अपहरणमा परेको विमान यही
क्यानाडेली विमान कम्पनीले यो विमान २०२८ साल असार ३ गते काठमाडौँमा डेलिभरी गरिदिएको थियो। त्यसबेलादेखि यसले निरन्तर निगमको सेवा गर्दै आएको थियो।

यसअघि २०४९ साल असार २१ गते यो विमान जुम्लामै सामान्य दुर्घटनामा परेको थियो। त्यो दिन पनि आइतबारै थियो। त्यतिबेला तीन जना मात्र चढेका थिए। खासै कोही घाइते भएनन् र मर्मतपछि विमान पुनः उडेको थियो।

त्यस्तै २०३० साल जेठ २८ गते नेपाली कांग्रेसले अपहरण गरेको विमान यही थियो। यस सम्बन्धमा श्रीदेव वैद्यको संस्मरण जगत नेपालको बाइलाइनमा नेपाल म्यागेजिनमा छापिएको छ-

वि सं २०३० जेठ २८ गते बिहान सवा ७ बजे तत्कालीन शाही नेपाल वायुसेवा निगमको ९-एनएबीबी ट्वीनअटर विमान काठमाडौँबाट विराटनगरका लागि उड्यो। विमानमा आरके मानन्धर क्याप्टेन, म को-क्याप्टेन र जीबी राई सहयोगी थिए। एक घन्टाको उडानपछि सवा ८ बजे हामी विराटनगर पुग्यौँ। १५ मिनेटपछि काठमाडौँ उड्ने कार्यक्रम थियो।

म ककपिटमै बसिरहेको थिएँ। दुई जना यात्रु जहाजमा चढे। एउटाले कालो ओभरकोट लगाएको थियो र हातमा पहेँलो कागजले बेरेको एक्सरे प्लेट बोकेको थियो। उनीहरू कहाँ बस्ने भनेर सल्लाह गर्दै थिए। मलाई लाग्यो, कस्ता रहेछन्, जहाँ बसे पनि त हुन्छ नि!

उनीहरू सरासर मेरो पछाडिको सिटमा आएर बसे। विराटनगरबाट काठमाडौँका लागि विमान उडेको करिब पाँच मिनेटपछि जहाज छ हजार फिटको उचाइमा थियो। काठमाडौँतिर मोडिएपछि विराटनगर स्टेसनलाई सम्पर्क गरेर ‘गुड नाइट’ भनेपछि फ्रिक्वेन्सी अफ गरियो अनि काठमाडौँका लागि सेट गरियो। ठीक त्यहीबेला झर्‍याप्प दुई जना मानिस आए। म कन्ट्रोलमा थिएँ। एउटाले मलाई समायो र अर्काले कञ्चटमा रिभल्वर तेस्र्याउँदै भन्यो, “बुझ्नु भो, हाइज्याक भनेको यही हो।” हत्तपत्त मेरो हात कञ्चटमा तेस्र्याएको रिभल्वरतिर गयो। “के मजाक गरेको यो?” मैले वाक्य पूरा गर्न पनि पाएको थिइनँ उसले भन्यो, “मेरो मतलब बुझ्नु भएन! हामी कांग्रेसका कार्यकर्ता हौँ। हाम्रो नाममा वारेन्ट छ। तिम्रो राजाले हामीलाई धेरै सतायो। काठमाडौँ जाने बित्तिकै समाउँछ। त्यसैले हामीलाई यतै कतै ओराली देऊ।”

त्यसपछि मैले कन्ट्रोलको जिम्मा क्याप्टेनलाई दिएँ, ‘लेभल आउट’ गरेँ, ताकि विमान त्यसभन्दा माथि नजाओस्। उनीहरूले विमान भारततर्फ लैजान भने।

….ल्यान्ड गरेपछि छेउमै रहेको गाईको बथानको बीचबाट एउटा जिप निस्कियो र सीधै हामीतिर आयो। जिपबाट ‘रोक्नूस्’ भनेर जोडको आवाज आयो। ब्रेक जाम गरेर रोक्नुपर्‍यो। त्यसपछि जिपको ड्राइभर देखियो। जहाँसम्म मलाई लाग्छ ऊ कोइराला परिवारको कुनै सदस्य हुनुपर्छ। उसले टाउको पछिल्तिर लुकायो।

… ३० लाख भारतीय रुपियाँ रहेका तीन बाकस निकालेपछि विनोदले रिभल्वर घुमाउँदै हामीलाई जान भने। फारवीसगन्जबाट हामी सीधै विराटनगरतिर उड्यौँ। हामीले आफूहरू अपहरणमा परेको, राष्ट्र ब्यांकको ३० लाख रुपियाँ लुटिएको तर यात्रुसहित हामी सुरक्षित तरिकाले पुनः विराटनगरतर्फ जाँदै गरेको जानकारी गरायौँ। त्यसबेला शानेवानिको एउटा विमान पटना जाँदै रहेछ। क्याप्टेन डीआर प्रधान थिए। उनले ‘सबैतिर खबर गरिदिन्छु’ भने। हामी विराटनगरमा अवतरण गर्‍यौँ। अपहरणको यो घटना पूरा हुन २७ मिनेट लागेको थियो।

पूरा संस्मरण पढ्न क्लिक गर्नुस्

को-को छन् आज हराएको विमानमा ?
१ मानव सेजुवाल (कांग्रेस जुम्लाका सभापति)
२ गौरी कठायत (पत्रकार)
३ टेकबहादुर महतरा
४ नन्दा महतरा
५ डी महतरा
६ वर्षा हमाल न्यौपाने
७ दीप हमाल (वर्षाका नाबालक छोरा)
८ उमा तामाङ (जिल्ला हुलाक कार्यालय जुम्लाका निमित्त प्रमुख)
९ डा. विकल्प पोखरेल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान)
१० डिपी उपाध्याय
११ राजेन्द्रप्रसाद देवकोटा (कृषि विकास बैंक जुम्लाका प्रमुख)
१२ दीपक श्रेष्ठ (नेपाली सेनाको २४ नं बाहिनीका मेजर)
१३ डि शाही
१४ आर चौलागाईं
१५ एम म्याथिसेन (डेनमार्क)
चालक दलका सदस्य
१ पाइलट शङ्कर श्रेष्ठ
२ को-पाइलट रवीन्द्र बन्जारा
३ विमान परिचारिक मुना महर्जन

विमानमा एक जना डेनिस यात्रु पनि रहेछन्। अब इयुलाई झन् बहाना भयो। नेपालको आकाश असुरक्षित भन्दै इयुले यहाँका सबै एयरलाइन्सलाई ब्ल्याकलिस्ट गरेको थियो। हाम्रा विमान इयुका देशहरुमा उड्न नपाउने र आफ्ना नागरिकहरुलाई नचढ्न पनि भनेका थिए। झन् इयुकै एउटा देश डेनमार्कका नागरिक यसमा परे।

सँगै चाइनिज विमान नभएसम्म अब निगमसित आन्तरिक उडानका लागि एउटा मात्रै ट्विनअटर बाँकी हुने भयो। त्यही चाइनिज विमानकै बहानामा इयुले प्रतिबन्ध लगाएको भनिन्छ। पछिल्लो पटक गत वर्ष निगमको अर्को ४० वर्ष पुरानो ट्विनअटर जोमसोममा टुक्रा हुने गरी दुर्घटना भएको थियो।

विमानमा रहेकी एयर होस्टेस मुना महर्जन
विमानमा रहेकी एयर होस्टेस मुना महर्जन
एयर होस्टेस मुना महर्जन
एयर होस्टेस मुना महर्जन
विमानका को पाइलट कोपाइलट रवीन्द्र बञ्जारा
विमानका को पाइलट कोपाइलट रवीन्द्र बञ्जारा

36 thoughts on “४३ वर्ष पुरानो निगमको विमान दुर्घटना, यही विमान कांग्रेसले ३० सालमा अपहरण गरेको थियो”

  1. chandra says:
    February 18, 2014 at 8:58 am

    काश, यो बिमान मा नेपालका थोत्रा, लोवी-पापी, आधा मगज बिग्रिएका, खुरापाती र खुट्टा-तान्ने-खेल का बिस्व च्याम्पियन नेता हरु राखेर mountain flight मा लैजानु हुन्थ्यो! अरु पनि येस्ता अति पुराना र थोत्रा बिमान बाकी छन् कि छैनन् ? नेता हरुलाई सुहाउने बिमान मा सर्बसाधारण लाइ उडाउनु भएन है !

    Reply
  2. Shankar says:
    February 17, 2014 at 11:35 pm

    पहिले सुसिल( नेपालि कांग्रेस ) ले अपहरण गरेको , अहिले येमराज ले |
    भनेपछि कांग्रेस कोचिज येमराज लाइ किन यति प्यारो ?

    Reply
  3. Pingback: हराएको विमान बिहान भेटियो, सबै यात्रुको मृत्यु « Mysansar
  4. bikash shrestha says:
    February 17, 2014 at 10:09 am

    अब छ्यानबिन समिति गठन हुन्छ अनि संचालक हरु बचन पाइलट को गल्ति देखाउछन . अरु के नै गर्न सक्छ र .

    Reply
  5. Kumar says:
    February 17, 2014 at 9:48 am

    को पाइलट साहेब को कक्पित को फोटो हेर्दा TATA ट्रक को क्याबिन जस्तो लग्यो/ क्यानाडा बनेको जहाज त यसरि खसाउछन भने अब चिनिया जहाज आय पछि कोटेस्वोर मा नै खस्ने होकी ?????

    Reply
  6. ekraj says:
    February 17, 2014 at 8:43 am

    येस्ता दुर्घटनाहरु परिवार र नातापाता लागि मात्र नभएर, सुन्ने र राष्ट्र को लागि पनि पिधादायेक हुन्छन|
    नेपालमा भौगोलिक बनावट र मौसम आदिका कारण ले पनि उडान को लागि बढिनै सतर्क हुनुपने ठाउं हो | तेश्को लागि सेवा दिन लाएक बिमान र मर्मत मा कुनै कसर राख्न नपाइने नीति हुनु पर्ने हो| एदी तेस्तो भएको भए ४३ वर्ष पुरानो ( मिउजिम ) राख्नु पर्ने जहाज आकाश मा उड्न दिन हुने थिएन|
    नेपाल को हरेक क्षेत्रनै “date expired” चिज र मान्छेले चलाई राखेको छ|
    सडेको राजनीतिको दुर्गन्ध ले सबै क्षेत्र प्रभाब पारी सक्यो| पैसाको खेलमा नेताको फोन कल ले देश को नीति, नियेक, संरचना सबै तोडेर भ्रस्टाचार र ठगि नै देश को मूल मन्त्र भए पछि यस्ता दुर्घटना नेपाली को दैनिकी हुनु अति दुखलाग्दो बिडम्बना भएको छ|
    यी सारा हेर्दा दिक्क लागेर माथिका धर्मेन्द्र जी को कमेन्ट जस्तै ” मैले तिम्रा मित्र बोइङ्ग लाई के सुझाब दिन चाहन्छु भने आत्महत्या गर्ने भए गर तर तिम्रा मित्र ले जस्तो एकजना मात्र नेता होइन सबै नेताहरुलाई लिएर जाऊ!”
    दैबले नेपाल को लागि तेती गरि दिए केहि राहत पाइने थियो कि?

    Reply
  7. लौटन अवधि says:
    February 17, 2014 at 8:33 am

    त्यसै ले भनेको नेपाल एयर्लाइन्स र नेपाली बिमान कम्पनि हरु हवाई एम्बुश हुन् यिन मा चढेर आफ्नो ज्यान जोखिम मा नपारोउ !
    १. थोत्रा बिमान
    २. भरपर्दो इञ्जिनियरिङ्ग सर्भे नहुनु !
    ३. तोकिएको भन्दा धेरै बजन लोड गर्नु !
    ४. मौसम र सम्भावित खतरा को ख्याल नगर्नु !
    ५. भ्रस्ट निगम कर्मचारी हुनु !

    Reply
  8. Tekraj shahi says:
    February 17, 2014 at 8:16 am

    हुनु त अहिले प्रथाना गर्ने वेला हो तर पनी नलेखि वस्नै सकिएना विमान दुई घण्टामा जुम्लला पुग्नु पने हो यदी दुई घण्टामापुगे नपुगेको थाहा पाउना वित्तिकै खोजी कार्य जारी हुनु पर्ने हो तर नागरीक उडयन विभाग ले विमान हराएको करीव पाँच घण्टा पछी हराएको प्रचार गर्छ अनि कसरी समयमा उद्धार हुन्छ अव पक्कै पनी केही नराम्रो भईहालेको भए भलै त्यस्तो नहोस जाँच वुझ समिती गठन गर्ने पक्कै होला त्यो वेला अहिलेका पदाधिकारी हरुलाई नै कठघरामा ल्याए कसो होला अनी अहिलेको पुरो नेपाल लाई नयँ नेपाल वनाउछौ भन्दै कराउने नेताका लागी -४३ वर्ष पुरानो निगमको विमान दुर्घटना, यही विमान कांग्रेसले ३० सालमा अपहरण गरेको थियो ।२०३० साल जेठ २८ गते विराटनगरबाट उडेको विमान अपहरण गर्ने योजनामा सुशील कोइराला पनि संलग्न थिए, जो आज नेपालका प्रधानमन्त्री छन् ।
    के गर्ने पंचायत र राजालाई गाली गर्दैमा तिन दशक बित्न लागिसक्यो नेपालीको ।
    अब यसमा पनि पंचायातलाइ गालि गरे भैहैहाल्यो नि ।पन्चे हरुले अल्ली गतिलो जहाज किनेको भए पो हुन्थ्यो । जम्मा ४३ बर्ष चल्ने जहाज किन्ने हो ? पन्चे हरुले यस्तो जहाज किनिदिएर अहिले जनता मारे ।

    Reply
  9. श्याम (सैंबुले) says:
    February 17, 2014 at 4:26 am

    नेपालीको अभागी खप्पर जताततै ठक्करै ठक्कर |

    Reply
  10. डिल्ली says:
    February 17, 2014 at 4:10 am

    नेपाली हवाई आकास मान्छेकालागि भीरको बाटो समान छ । सामान्य टर्च लाइट पनि नदिइ अध्यारोमा भीरको बाटो हिड्न कसैलाई लगाइयो भने जडाहा होस् वा नहोस् लड्ने सम्भावना रहन्छ । यो विमान पनि थोत्रो त हुदै हो त्यसमाथी आधुनिक प्रविधिका नाममा सामान्य जिपिएस पनि नभएको हो । यस्ता विमानका चालकले जमीन, भौगोलिक बनावट र नक्शाका आधारमा गन्तव्यमा पुर्याउने हुन् । तर त्यस्तो अवस्थामा मौसम खराव भए उनीहरू असफल हुन्छन् । सामान्यतया प्रतिकूल मौसममा विमान उढाउन पाइलटले इन्कार नै गर्छन् तर नेता र दुर्गमका उच्चपदस्त कर्मचारीहरू छन् भने विमान जवरजस्ति उढाउन लगाइन्छ र दुर्घटना निम्तिन्छ यस तर्फ कसैको ध्यान गएको देखिदैन । अहिलेसम्म अवस्था पत्तालागि सकेको छैन तसर्थ यात्रु तथा चालक दलको कुसलताको कामना ।

    Reply
  11. Sabin says:
    February 17, 2014 at 4:01 am

    नराम्रो खबर |

    अब भन्नुस, प्रचन्न आतंककारी हुन् भने, शुसिल हुन् किन होइनन ?
    (ए)माओबादि आतंकारी हो भने कांग्रेस हो कि होइन ?

    नेपालका सबै ठुला पार्टी धेरै थोरै मान्छे मारेर, पैसा लुटेर वा आतंक मच्च्यायेर नै यहासम्म आइपुगेको भन्ने देखियो |

    Reply
  12. Deepak says:
    February 17, 2014 at 12:50 am

    GURU जी सारै घत लाग्दो कमेन्ट लेख्नुभयो, जवाफ नदिई बस्नै सकिन ।
    नेपाल यो संसारको सबैभन्दा अचम्बका कुराहरुले भरिएको देश हुने भयो । अरु देशमा नेताहरुले कुनै सानो गल्ति भयपनी नैतिकताको आधारमा राजिनामा दिन्छन, १ पल्ट चुनाब हारेमा अर्को पल्ट चुनाब उठ्दैनन, तर यो देशमा त् चुनाब भनेको स्कुल गएर SLC दिएजस्तो भयो…. जतिपल्ट फेल भयपनी जांच दिन पईने । अझै कम्पार्ट हो कि के भन्छ हो मा परिने …. अनि पास हुन पाईने ।
    युवाहरु सबैलाई बेरोजगार बनाई रोजगार खोज्न विदेश पठाईएको छ, देशमा बाकि रहेकालाई YCL, तरुण दल, ने बि संघ, अनेरास वा के-के हो बिल्ला लगाई रोजगारी दिईएको छ । मान्छेको जिन्दगीको मूल्य छैन, गरिब को घर मा चुलोमा आगो बलेको छैन, न बाटो छ, न पीउनि पानि छ, न त् बत्ति नै छ, तरपनि सबैलाई चाहिएको यौटै छ : कुर्सि !!! बरिस्ठताको आधारमा बनाईइयेको रे सुशील कोईरालालाई प्रधानमन्त्री ………… भनेपछि, जो जतिपल्ट हारेपनि युवालाई मौका मिल्ने भएन, देशको बिकास कसरि हुञ्छ यस्तो तरिकाले ?
    सडकमा गुड्ने बस्-ट्याक्सी नै हेर्नुस वा आकासमा उड्ने जहाज नै हेर्नुस, सबै डेट यक्सपाएर भएकाहरु मात्रै छन् । जब देश हाँक्ने नेता नै अब ” उ गरेर त्यो गर्नुपर्छ ” भनेर भासण गर्छन भने, त्यस्ता नेताबाट जनताले आफ्नो ज्यु धनको सुरक्षाको कसरि अपेक्षा गर्ने?
    यौटा जहाज खस्यो, अब अर्को नयाँ (बिदेशमा २०-२५ बर्ष उडेको) जहाज ल्याईञ्छ अनि फेरी जनतालाई आकासे साईड सिन गरउँदै भुँईमा बजारिञ्छ । मर्छन त् जनता नै मर्छन, नेतालाई के को फिक्री, बरिस्ठताको आधारमा कुर्सि बाँड्दैमा ठिक्कै छ ।
    अन्तमा: सबै मृतात्माको लागि हार्दिक स्रदाञ्जालि !!!!
    दिपक अधिकारी
    जर्मनी

    Reply
  13. mahima says:
    February 17, 2014 at 12:30 am

    एस्तो प्लेन उद्दौनी पैलोट हरु लै ज्यान को माया छैन कि बुद्धि छैन होला है
    सडक आकाश फुटपाथ केहि पनि सुरक्षित छैन ……

    Reply
  14. Sanjay says:
    February 16, 2014 at 11:28 pm

    जे कुरा लाई पनि राजनीति संग जोड्नु उचित नहोला, त्यो एउटा co-incidence हो. But it is true that flight is not safe in Nepal. The thing that makes me more upset is that the concerned authority is not serious ! आफ्नो सन्तान वा आफै त्यस्तो दुर्घटनामा परे भने मात्र थाहा हुञ्छ यिनीहरुलाई ! मृतकहरुको चीर शान्तिको कामना !!!

    Reply
  15. Sushil says:
    February 16, 2014 at 10:59 pm

    नेपाली आकाश असुरछित छ भन्ने यूरोपियन हरु le आफ्नो देश माथि उद्द्न प्रतिबन्ध र नेपाल मा दर्ता भएको जहाज मा नउद्द्न भन्दा भन्दै यि देनिश नागरिक ले उदेर मृत्‍यु बाराण गर्नले अब सधैं को लागि नेपाल यूरोपियन हरु को कालो सुची मा पर्ने त पक्का नै भयो अब एस्तो असुरछित तरिकले उदौने देशमा European एअर बस दिएर आफ्नो कम्पनी को प्रतिस्ठा पनि ग्उम्ने भो एअर बस को

    Reply
    1. neerose says:
      February 17, 2014 at 12:11 am

      आकाश अशुरक्षित छरे?
      के हो त्यो भन्या?
      आकाश पनि शुरक्षित र अशुरक्षित भन्ने हुन्छ र?
      नेपालमा हवाई यात्रा अशुरक्षित छ भंनेकुराहोला किने थोत्रा र म्याद गुज्रेका अनि तारले बानेका, टेपले टालेका, फलामको टेकोले अड्यायाका जस्ता बिमान हरु छन्!
      बिमान उडे पछि परिचारिका सबैलाई आग्रह गर्दै सुचना भन्दछिन, ‘यात्रु महानुभाबहरु कृपया यो उडान अबधिभरि जोडले नाखोकिदिनुहोला, हाच्छिउ नगरिदुनुहोला, किनकि पेज फ़ुक्लिएकोले पंखामा बानेको तार एकसरो मात्र बाकि छ अलिकति झट्का बधिलाग्यो भने त्यो चुड्ने सम्भावना छ फेरी जहाचुद्यो तेही बिमान अवतरण हुनेछ र तपाइको गन्तव्यमा पुग्न पाउनुहुने छैन, धन्यबाद!’
      साधन श्रोत, ब्याबस्थापन र ब्याबसायाको खोट आकाशलाई किन?

      Reply
  16. Aayush says:
    February 16, 2014 at 9:25 pm

    नाम जे सुकै होस् …………………..कोइराला थर हुने जो पनि प्रधानमन्त्री हुने बित्तिकै यो शृंखला शुरु हुन्छ !!!! सन्जोग हो या अभिसाप ????

    Reply
  17. dharmendra says:
    February 16, 2014 at 9:06 pm

    बिचरा बिमान , ४३ बसन्त पार गरिसक्दा पनि तिमीलाई अबकास लिने मौका दिएनन् ! सिर्फ मर्मत भन्दै तिम्रो नाम मा लाखौ डलर को चलखेल गरि खाए र आज बुढेस कालमा आफ्नै र जबर्जस्ति बोकैएको बोझ धान्न नसकी आज आत्महत्या गर्न बाध्य तुल्याए ! तिमि र तिमीमा सवार सबै लाई हार्दिक श्रदान्जली! तर पनि तिमीलाई लाई यो अबस्थामा पुर्याउने एक जना नेता लाई भने सजाए दिएरै छादेउ ! मान्नु पर्छ …
    उमेर ले साना तर शारिरिक रुपमा तिमि भन्दा ठुला र बलिया तिम्रा मित्र बोइङ्ग्को पनि तेही हाल छ! मर्मतको नाममा करोडौ डलर घिच्छन तर डकारदैनन् ! उ पनि यो परम्परा आजित बाट आजित भैसकेको छ ! उसले पनि बिश्राम खोज्दै छ ! येही चाल हो भने उसले पनि छिट्टै आत्मा दाह गर्ने छ ! मैले तिम्रा मित्र बोइङ्ग लाई के सुझाब दिन चाहन्छु भने आत्महत्या गर्ने भए गर तर तिम्रा मित्र ले जस्तो एकजना मात्र नेता होइन सबै नेताहरुलाई लिएर जाऊ!

    Reply
  18. bijay says:
    February 16, 2014 at 8:12 pm

    कर्मको फल मृत आत्माले शान्ति पाउन . कस्तो संयोग जो व्यक्तिले बिमान अपहरण गरे त्यहिँ व्यक्ति देशको प्रधानमन्त्री भए उनले पर्यटन मन्त्रि हप्तौ हुदा सम्म नियुक्ति गर्न सकेन देश मन्त्रि बिहिन छन् उद्दारमा राज्यले तदारुकता देखाउन सकेन . यो भन्दा लाजमर्दो के हुन्छ . जेहोस पिडितलाई क्षतिपूर्ति र याथार्थ कुरा जनतामा आउनु पर्यो . यस्ता ढिलासुस्तीले देश चल्दैन

    Reply
  19. samir Joshi Dhankuta - 5 says:
    February 16, 2014 at 7:55 pm

    नया नेपाली उखान :-
    “नेपाली बिमानको सवारी, यमपुरिको यात्रा”

    Reply
  20. नंदन चालिसे says:
    February 16, 2014 at 7:37 pm

    भने पछी यो झुसिल कोइराला पनी सिखर पुरुस लाऊडा प्रसाद जस्तै अल्छिना रहीछ; एस्ले पनी देश खानी भयो..

    Reply
  21. Pramod says:
    February 16, 2014 at 7:36 pm

    अब फेरी अर्को बिमान दुर्घटना भयो जुन एकदम दुख को कुरा हो. अब सधै को झैँ, छानबिन समिती बन्ने होला अनि फेरी pilot को गल्ति देखाउने होला, ४२ वर्षा पुरानो प्लेन को दोष त हुन्दैन होला.

    Reply
    1. bikash shrestha says:
      February 17, 2014 at 10:05 am

      होइन ! पाइलोत हरु ले पनि एस्तो पुरानो जहाज चलाउन हुन्दैन नि . एस्त पुरानो जहाज नचलाएको भए कमसेकम ज्यान त जोगिने थियो नि . पाइलट जी हरु लाइ सल्लाह . अब देखि एस्तो पुरानो जहाज नचलाउनु . एसले आफु पनि र यात्रु हरु को पनि ज्यानै जना सक्छ .

      Reply
      1. bibek dhakal says:
        February 17, 2014 at 11:03 am

        पाइलट हरु को यस्तो बेरोजगारीको अवस्थामा कुनै पनि एयर्लाइन्समा काम पाउनु नै ठुलो कुरा भाको छ, पाको काम कसरि छोड्नु? झन्डै आधा करोड खर्च गरेर ट्रेनिंग गर्यो अनि काम कुरेर बस्यो — यस्तो बेला पुरानो त के प्राचिन कालकै जाहाज चलाउन पाए पनि छोड्छु भनेर भन्दैनन होला| त्यसैले नागरिक उड्डयन ले हो जे गर्नु छ गर्ने , अनि यस्ता घटनाको जिम्मेवारी लिने | | |

        Reply
  22. GURU says:
    February 16, 2014 at 7:21 pm

    आर्यघाटमा पिन्ड खाने उमेरका, आफ्नो सुरुवालको इजार बाध्न नसक्ने भएका, आधा चेतना गुमाएका नेता यो देश हाक्छन, देश निरन्तर दुर्घटनामा पर्दै थिलथिलो बनेको छ। यस्तै द्रिस्य निरन्तर देखिये मेन्टेनेन्स गर्नै नसक्ने हालतमा मुलुक पुग्न अब धेर कुर्नु पर्दैन। मुलुक जस्तो त्यसका हरेक अङ्ग अङ्ग पनि उस्तै हुने रहेछन। सामान्यतया जहाजको उमेर यसले ल्यान्डिङ र टेकअफ गर्ने फ्रिक्वेन्सिले निर्धारण गर्ने गर्छ किन भने यस बेला यसका विङ, टेल र बडिमा सिर्जना हुने दवाबले यसका सम्रचनालाई कमजोर बनाउदै लाने गर्छन। एसो भनेर बिमान कसैले ह्याङरमा राख्न त किन्दैन। यसले दिन सक्ने सर्भिसको बढी से बढी उपयोग गर्ने कुरा स्वभाविक छ। यस हिसाबले सामान्यतया बिमानको आयु २५ देखी ३० बर्ष मानिन्छन। तर बिडम्बना नेपाल भने अरु बिमान कम्पनिले बिस्थापन गरेको २५ बर्ष आयु पुगेको बिमान खरिद गर्छ र देशका नागरिक आकाशमा पुर्याएर भुइमा पछार्छ। आज दुर्घटना भएको सरकारी जहाज ४३ बर्ष पुरानो भनिएको छ। यती पुरानो जहाज बिदेशी कम्पनिहरुले बिरलै उडाएका होलान दुनियाँमा, एस्ता जहाज मान्छे बोकेर आकाशमा उड्न होइन, एसका पाटपुर्जा सफ्ट ड्रिकको क्यान बनाउन प्रयोग हुन्छ वा स्क्र्यापमा फालिन्छ। कस्तो बिडम्बना र दरिद्र स्थिती छ देशको, कती थेत्तर बनेको छ देश? सालनै पिछ्छे यात्रु बोकेको बिमान भुमिमा पोखिन्छ फेरी पनि चालकको लापर्वाहिले बिमान दुर्घटना भएको प्रतिबेदन तयार गरिन्छ अनी त्यही स्थितिका बिमान फेरी पनि आकाशमा उडाइन्छ र मान्छेको ज्यान लिइन्छ। धन्य छ देश! एस्तो देशले गर्ला पर्यटन प्रबर्धन? नेपालमा “नेपाली बिमानको सवारी, यमपुरिको यात्रा” उखान बनेको छ।

    उहाँहरु सबैप्रति हार्दिक श्रदान्जली अर्पण गर्दछु !!!

    Reply
    1. bipin says:
      February 17, 2014 at 6:13 am

      नेपालको खरीद प्रक्रियाले गुणस्तरभन्दा सस्तोलाई हेर्छ । राम्रो जहाज किन्न खोज्यो भने अख्तियारमा उजूरी पर्छ । अदालतमा रिट पर्छ । सबै कुरामा राजनीति जोडिन पुग्छ । एउटा व्यक्तिको स्वार्थको लागि सबै जनताको हितलाई तिलाञ्जली दिनुपर्ने यो देशमा यस्तो घटना त घट्ने नै भयो नि ।

      Reply
      1. neerose says:
        February 17, 2014 at 8:54 pm

        अनि बिमान स्थल स्तरोन्नति गर्छु सुधार गर्छु ब्याबस्थित र बिकाश गर्छु भन्यो भने देश बेच्नलाग्यो भन्ने बखेडा झिकेर हुनखोज्या र बन्नालाग्या काम भाद्दछन यहाका मान्छे र तेस्को लागि सबैभन्दा बाधक बनायर उपयोग गरिएको छ सर्बोच्च अदालत.!
        यत्रो बन्छ देश!

        Reply
  23. Sbh says:
    February 16, 2014 at 6:35 pm

    Sad to hear… I hope to hear some miracle. The weather all over Nepal is really bad for last three days. CEO of RA should be fired and held accountable.

    Reply
    1. Sbh says:
      February 16, 2014 at 6:38 pm

      I mean N.A.C.

      Reply
  24. kalidash says:
    February 16, 2014 at 6:14 pm

    RIP…..Sad and Tragic moment

    Reply
  25. Kumar says:
    February 16, 2014 at 5:52 pm

    दुर्भाग्य EU ले ेपाल को सबै बिमान लाई प्रतिबन्द लगायो भनाइ खुल्दै छ./ ति खसाल्ने हो बिमान लाई ?

    Reply
  26. pawon says:
    February 16, 2014 at 5:42 pm

    नेपाल मा plane हरुको अवकाश हुदैन सिर्फ अवसान हुन्छ …त्यो पनि १५ बिस जना मान्छे लिएर !!!!!

    Reply
  27. हरि हर शर्मा says:
    February 16, 2014 at 5:40 pm

    अब त पुराना जहाज लाई बिस्थापित गर्ला कि ?
    चेत खुलोस /

    Reply
  28. subodh nepal says:
    February 16, 2014 at 5:19 pm

    अभागी जहाज हाम्रा नेता भन्दा पानो पुरानो रहेछ

    Reply
  29. Hemanta Bhattarai says:
    February 16, 2014 at 5:03 pm

    यी पुरानो जहाज को सती जान रोक्ने चन्द्रशमशेर चाहियो नेपाल लाई !!!!!
    सारै नराम्रो समाचार !!!!!

    Reply
  30. bipin says:
    February 16, 2014 at 4:53 pm

    मौसम खराब भएको थाहा हुँदाहुँदै पनि उडान भर्ने अनुमति दिने पदाधिकारीहरुलाई कारबाही गर्ने कुनै कानून छैन?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme