Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : भ्यालेन्टाइन्स डे

Posted on February 15, 2014February 22, 2014 by mysansar

– सुरेश ‘समान’ –
saturday-fiction
क.
“अनि के छ त भ्यालेन्टाइन्स् डे को प्लान केसु?”
“प्लान? नो प्लान!” मैले खाटभरी असरल्ल छरिएका कागजपत्र, पुर्जी, बिल समेट्दै भनेँ।
” उस् उस्! तपाईंको प्लान नहुने! लु पत्याएँ!” आस्माले पत्याइनन्।
“छैन त के भन्ने?” मैले भने। मेरो ध्यान एउटा पुर्जीमा थियो।
“उस् उस् उस्,” आस्माले फेरि पत्याइनन्।
“हो भन्या, सत्ते,” मैले उ तिर फर्केर किल्किले समाउँदै प्रमाण जुटाउन खोजेँ।
” उस् उस् उस्,”
“छ प्लान ल, दरो प्लान छ। खुशी?,” अल्ली कड्केर हेर्दै मैले भनेँ।
“के प्लान छ, हामी पनि सुनम् न त,” लेग्रो तानेर सोध्छे आस्मा।
” डेटिङ् जाने प्लान छ नि एउटी च्वाँकसँग,” मैले आँखा सन्काउदै भनेँ।
“उस् उस् उस्”
“छैन भन्दा नि तिम्रो उस् उस्…. छ भन्दा नि उस् उस्? अरु केही भन्न आउँदैन?” म चर्किएँ। उस्को सेतो अनुहार पहिला कालो भयो अनि निलो भयो। आस्मा उठेर हिँडीन्। मैले वास्ता गरिन्।

एकछिन पछि आस्मा चिया लिएर भित्र पसिन् । यो उस्को पहिले देखीको बानी हो। मसँग रिसाइ भने उ चिया बनाउथी दुवैलाई। भन्थी – “रिसाएर केही हुँदैँन, यो गुलियो चिया खाएर दुवैको मनको तितोपन पखाल्नु पर्छ।” मेरो रिस चियाको प्रतेक चुस्कीसङै क्रमस धमिलिदै जान्थ्यो अनि मन मिठिदै। उस्को अनुहारमा पनि मिठास छाँउथ्यो, मिठ्ठो चिया जस्तै। हुन त म नै उस्तो हुँ। आमाले त उहिलेदेखी नै भन्नुहुन्थ्यो ‘नाकका टुप्पामा छन तेरा रिस।’ फेरि एकैछिनमा आस्मासँगको रिस आफुतिर सर्छ। आफु फोकटमा रिसाएकोमा आँफैसँग रिस उठ्छ अनि बिस्तारै सेलाउँदै जान्छ – आस्माको चिया जस्तै। उस्लाई फकाउन म प्राय पुराना कलेजका दिनहरु कोट्याउने गर्छु अनि आँफै पनि टोलाउन थाल्छु। उ ध्यानमग्न भएर सुनिराख्छे। छिट्टै फकिन्छे मेरी बुढी। लाग्छ उ स्वस्थानीको अगस्त्य मुनी हो र म महादेव र सतीदेवीको प्रेमगाथा बाचन गर्दैछु स्कन्द कुमारजी भएर।

उ नै मेरो पहिलो माया हो। पहिले माया हार्ने आँट कसको हुन्छ र! उ बेला आस्माको काकालाई नमस्कार ठोकियो, उसका साथीको बस भाँडा तिरियो। कलेजका बाटा फेरिए। दौंतरीका – ‘क्या दोस्त! लड्की मिल गै, दोस्त भुल गै’- गुनासा खेपिए। अनेक तान बुनियो। म माया जित्ने दौडमा थिए, जितेँ। त्यो बेला अहिले जस्तो फेसबुक, ट्वीटर, स्काइप केही थिएन। अहिले जस्तो इन्टर्नेटमा प्रेम कम, बिज्ञापन बढी देखिने ढर्‍रा फोटाहरु राखिन्नथे। फोटो राख्नै परे’नी पर्सको कुनोतिर राख्थे- मैले जस्तो! जे होस् गर्व लाग्छ-अरुका जस्तै मेरी बुढी आजसम्म रिसाएर माइत गएकी छैन। वास्तबमै उ पानी हो, मैले जस्तोसुकै आकार लिए पनि उ त्यतै प्रकार लिन सक्छे। हुन त उस्ले मुखै फोरेर त भनेकी थीइन तर आस्माका नजानिदा इसाराहरुले मलाई हौस्याएका थिए उबेला। सधैं ‘केसब’ भन्नेले एकदिन ‘केसु’ भनिन् पहिलोपल्ट। उनले लजाएर स्विकारीन्। म पास भएँ। त्यो दिन भ्यालेन्टाइन्स डे थियो।

आस्माले स्विकारे पछि हाम्रो दैनिकी बद्लियो। अनि मायाका नियमित भेट, कलेजका हिँडाइ, छड्के हेराइ, मायालु घुरक्याइ, लबस्तरो हाँसो…. वाह! पछि परीवार र परम्परासँग जुधेर आस्मा मसँग आइन्। उन्का परिवारलाई – मेरो जात उन्को जत्रो भएन रे! आज सम्म, ५ बर्ष भो – हाम्रो माया बिसको उन्नाइस भा’छैन। सानोतिनो भनाभन् त कस्कामा पो हुँदैन र? एकै ठाउँ राखेका थाल-बटुका कैलेकाहीँ ठोक्किन्छन्, आवाज निस्कन्छ अनि छिन् मै शान्त हुन्छन्!

“रिसाउनु हुन्न भने एउटा कुरा सोधुँ?,” पलङको एक कुनामा टुसुक्क बस्दै आस्माले सोधिन्।

“भनन, किन रिसाउने… मलाई तिमीले आफुलाई लागेको कुरा भन्ने अनि मैले तिमीलाई भन्ने, त्यही हैन लोग्ने-श्वासनी भन्या?” म रोमान्टिक हुन खोजेँ। आस्मा मुस्कुराइन्। हुन त म लठ्ठु नै छु-माया देखाउने/जताउने मामलामा। मुटु भित्र औधी लाग्छ तर लोलोपोतो, भन्छनी चिल्लो घस्न, फुलबुट्टा भर्न जान्दिन। साथीहरु सायरी, गजल, कबिता के के जाती लेख्छन्। आफ्नी प्रियालाई जुनतारासँग तुलना गर्छन्। तर अहँ मैले त्यो सब कैले जानिन। खैर जे होस्, आस्माले मलाई चिनेकीछीन्। मेरो माया बुझेकीछिन्। जुन, तारा त टाढाका कुरा भए-मैले त उस्लाई नजिकै, मुटुमै राखेकोछु नि। जुन तारासँग दाजेर किन टाढा पार्नु?

“छ नि, हामी दिल्ली नजाम ल,” गह भरी आँसु राखेर आस्माले भक्कानिदै भनिन्। छताछुल्ल आँसुहरु मनपरी उस्का गालामा पोखिन पो थाले। उ अली वर सरेर मेरो छातीमा आएर घोप्टो परी। मेरो छातीमा खसेका उस्का आँसुले मलाई बिझायो। पोल्यो। मेरो पनि आँखा रसाए तर आफुलाई दरो बनाउने प्रयत्न गरेँ-लामो सास ताने। मेरो गला अवरुद्द भयो। यस्तो बेला त मैले उस्लाई सम्झाउनु पर्ने, नरोउ भन्नु पर्ने, भरोसा दिनु पर्ने… तर अघी नै भनीहालेँ नि म लठ्ठु छु-जान्दिन देखाउन। आफ्नो हातले उस्को कपाल सुम्सुम्याए, उ घुँक्कघुँक्क गर्दैथी मेरो छातीमा। बिस्तारै उस्को टाउको उठाएँ, कपाल छरिपस्ट थिए-सम्हालिदिँए। छेउको रुमाल तानेर उस्का आँसु पुछीदिए। उ एकटक मलाई हेरिरहेकीथी। दुई थोपा आँसु फेरि खसे उस्को गालामा। तीनलाई पनि मैले मिल्काइदिएँ। उस्का गालामा आँसुका दागहरु देखिनथाले। उस्ले पनि मेरो आँखा पुछीदीइ। मैले आस्माको चिउडो हल्का उचालेर भनेँ – “ह्यापी भ्यालेन्टाइन्स डे!”
उस्ले आँखा चिम्म गरी अनि मेरो छातीमा हल्का मुक्का हान्दै भनि -“तपाइँलाई नि!”

ख.

आस्मालाई मनाउन यो पाली भने अल्ली बढी नै कसरत गर्नुपर्‍यो। मैले धेरै तर्क राखेँ तर जम्मै फोस्रा भै’दिए। उ भन्थी – “भो पर्दैन अब यो किमो सिमो म केही गर्दिन। दिल्ली जा-आइज, खर्चको भार। मलाई अब बाँकी जीवन आनन्दले बाँच्न दिनोस, बिन्ती! जती समय छ त्यो म तपाईंसँग बिताउन चाहन्छु। हस्पिटलमा हैन। मेरो खप्परमा तपाईंलाई दु:ख दिन लेख्यारे’छ, मलाई माफ गरिदिनोस्…,” उ भक्कानिएर बोल्न सकिन। सल ले आँसु पुछिन्। म उस्लाई एकनासले हेरिरहेँ। काँक्राका चिराजस्ती रस भरिएकी मेरी आस्मा, आज दुब्लाएर हाड र छालामात्र बाँकी थियो उस्को शरीरमा। किमोथेरापी अनि रेडिएसन ट्रिट्मेन्टले होला उस्को सल्सल् परेका कपाल पातलइँदै जाँदैथिए। हातगोडा तोरीको डाँठजस्ता कम्जोर देखिन थालेका थिए। लुगाका बिचमा राखेको कपुर दानाजस्तो उनी प्रतीदिन बिलाउँदै जादैँथी।

उ भन्दैथी -“पक्कै पनि उ जन्ममा मैले केही पुण्य गरेको हुनुपर्छ, तपाईंजस्तो लोग्ने पाएँ। तपाईंले त छोराछोरीको नाम पनि जुराइसक्नु भा’थ्यो। छोरी भइ भने ‘अदिती’, छोरा भए ‘अनुराग’। याद छ? म कत्ती छोराको जिद गर्थे अनि तपाईं छोरीको रट लाउनुहुन्थ्यो। हामी कती हाँस्थ्यौ, कती खुशी थियौँ । खै कुन दैव लागेर हुन मैले तपाईंलाई सन्तानखुस दिन सकिन। मेरो बाँजोपनमा पनि सहस्र साथ दिनुभयो। मेरो चित्त दुख्ला भनेर आफुभित्रै आफ्ना दु:ख दबाउनुभयो। आफ्नो पिडाको एक झन्कोसम्म पनि मेरो नजिक आउनदिनु भएन। म त तपाईंसँग भागेर आ’की। अरु आफ्ना भन्नेहरु मेरो गर्भ खस्दा हेर्नसम्म पनि आएनन्। बरु उल्टै ‘ठीक्क पर्‍यो’ र ‘खुच्चिङ’ को व्यबहार देखाए। तपाईंले केवल मेरो वास्ता गर्नुभयो, दुनियाँको बार-सत्ताइस कुरोमा कुनै चाख दिनुभएन…..।” अरु पनि के के भन्न खोज्दैथि तर उनको गला अवरुद्ध भयो र बोल्न सकिन।

उ अनेक तर्क निकलेर मलाई महान बनाउन खोज्दैथी तर मलाई महान बन्नु थिएन। म त्यो बेला पनि उस्को श्रीमान थिएँ, यो बेला पनि श्रीमान हुँ अनि आउने अनेकौँ साल पनि उसैको श्रीमान बन्नुछ। लाटी भन्नु कि बाठी- मलाई सन्तान दिन सकिन भनेर आफुलाई कोस्छे, आफ्नो भाग्यलाइ सराप्छे! मलाई दिने भनेको सन्तान उस्को पनि त हुन्थ्यो नि। अनि उस्लाई झन कती पिडा भयो होला? रोएको बच्चा फकाउदै काखमा राखेर आँत सेक्ने घाममा टाउकोमा तोरीको तेल लगाइदिने उस्को इच्छा धमिलिँदा कस्तो भयो होला? के उस्को पनि इच्छा थिएन होला र ‘थिगीरी नानी थिगिरी’ भन्दै बालखका कलीला पाइलाका डाम पछयाउने? ति सब इच्छामा चिसो स्याँठ चल्दा कस्तो भयो होला मेरी आस्मालाई?

भिर जोत्नुभन्दा नि कठिन भयो आस्मालाई दिल्लीको लागि मनाउन। मैले ‘हुन्छ’ भन्न सकिन। उस्को प्रस्ताव ‘मर्ने तयारी’ गर्छु भन्नेतिर थियो। त्यो मलाई कदापी स्विकार्य थिएन। उस्को प्रस्ताव र मेरो ढिटमा जीवन र मृत्‍यु अडिएको थियो। मैले मानिन, मान्दै मानिन। अन्त्यमा मेरो जिदले जित्यो। हामी दिल्ली जाने भयौँ, यो एकपल्टको लागि भनेर मैले उस्लाई मनाएँ! हामी दिल्ली पुग्यौँ। हामीले लागेका एक्स्रे, औसदीका पुर्जी केही काम लागेन। फेरि जम्मै सुरुबाट जाँच भयो। डाक्टरले एक दिन मलाई सुटुक्क बोलाएर भन्यो -“ज्यादा से ज्यादा छे महिने हे आपके पत्नीके पास।” मेरो खुट्टा मुनीको जमिन धसियो।
हामी नेपाल फर्कियौँ। नेपाल फर्केको दिन देखी आस्माको स्वाथ्य झनै उँधो लाग्दै गयो। आफुलाई प्यारो लाग्ने चिज पाउन मान्छेले अनेक गर्छ। मैले पनि गरेँ। डाक्टरी दवाइका साथसाथ झारफुक पनि गराएँ। ‘गुगल’ गरेँ – केही भेटिन्छ कि भन्ने आसमा तर उस्को क्यान्सर दुवै म्रिगौलाहुँदै शरीरभरी फैलीसकेको हुँदा, मैले कुनै उत्तर पाइन। साथीभाइको सल्लाह अनुरुप अब मैले आस्मालाई घर मै राख्ने निधोमा पुगेँ। आस्मा पनि खुशी भइन्। महिनादिन जस्तो पछि उस्को कम्मर मुन्तिरको भाग चल्न छाड्यो। बिस्तारै हात। बोल्न पनि निक्कै सकस हुनथाल्यो। उ टुलुटुलु मलाई हेर्थी, मेरो लाचारीपनलाई। एकदिन बल गरेर मेरो कानमा बिस्तारै भनि – “मेरो आत्माले सान्ती पाओस भन्ने चाहनुहुन्छ भने, बिन्ती घरजम गर्नोस है! लोग्नेभन्दा पहिला जान पाएँ, मलाई दुखेसो छैन!”
भोलीपल्ट बिहानै एक्कासी ढप्क्याएका झ्याल ह्वाँङग खुले। एक मुस्ट तातो हावा बाहिर निस्के। आस्मामा अब सास रहेन…. मात्र उस्को सुवास थियो… बिलाएका कपुरका अवसेस!

सान्त्वना र सहानुभुती दिनेहरुका ओहीरो लाग्यो। लोग्ने-श्वासनी रथका दुई पाङ्रा भन्छन्। म एक पैयामा झरेँ-स्थिर! हामीले रचेको सुन्दर संसारमा जरा त गाड्यौँ तर उम्रिन पाएनौँ, हाँगाबिगाँ हुँदै फैलिन नपाउँदै अल्पायुमा मेरी आस्माले सधाको लागि आँखा चिम्लीसकेकीथिन्। म सोच्थेँ – क्यान्सर, हस्पिटल, डाक्टरको ओहोरदोहोर, आफन्तका जिज्ञासा, बिरामीको ब्यथा आदी कुराहरु त अरुलाई मात्र हुन्छ, अझ आस्माले हेर्ने गरेका हिन्दी धारावाहिकमा मात्र हुन्छ। तर मैले आस्मासँग बसेर हेरेका अनेकन् ‘मेलो ड्रामा’ का सिनहरु म आँफै भोग्दैथेँ। आस गर्छु कसैले ‘कट्’ भन्नेछ अनि आस्मा फेरि बिउँझिनेछिन्। तर उ बगेको खोला भइन्, फर्किनन्। साथीभाइहरुले सम्झाउदै गर्दा मेरो शरीरको कोस कोस टन्टन् हुन्थ्यो। म बाट मेरो मुटु चुडिएकोथियो। अन्तिम दिनहरुमा आस्मा ले भनेकीथीइन्-“धेरै चिन्ता नलिनु, प्रेसर बड्छ।” आज उनी भइदिएकी भए भन्नेथिएँ -“मेरो मुटु कसैले चुडेर लगी सक्यो आस्मा। मुटु नै नभए के को प्रेसर?”

ग.

आस्माले मलाई छाडेर अर्कै लोकमा गइन्। आज दुई बर्ष भयो। उ गएको अलीदिन पछि सान्त्वना र सहानुभुती दिनेहरुको भिड पातलिदै गयो। लग्भग जिरो मै पुग्यो। आस्माको चिताको आगो त सेलाइसकेको थियो तर मेरो मनमा लागेको डँढेलो – दन्किरह्यो। रातबेरात एत्तीकै टोलाउँथे, शहरका गल्लीगल्लीमा। काममा फिट्टो मन हुँदैनथ्यो। घर गयो – सिङै घर खर्लप्प उल्टिएर मलाई निल्न आउथ्यो। आस्मा थीइन्, घर उज्यालो थियो। घरजाने बाहना थियो। चाहना हुन्थ्यो। कसैले ढोकामा आँखा ओछ्याएर मेरो बाटो कुरिराहुन्थ्यो। कहिलेकाहीँ ढिला हुँदा ‘किन ढिला?’ प्रश्न सोध्थ्यो। ‘आज छिट्टै आउनोस है, फिलिम जानुपर्छ’ मायालु आग्रह गर्थियो। चुरा बज्थ्यो। पाउजु छन्किन्थ्यो। खानामा स्वाद हुन्थ्यो। रिस हुन्थ्यो। रस हुन्थ्यो…….।

मेरो जीवनमा उनको आगमन सँगै म बद्लिएको मात्र थिइन, म मा बल पनि थपिएको थियो। मेरो मनको भाव – सुख, दु:ख आदी बुझ्ने एक अनौठो लिट्मस मैले गुमाए। मेरो हृदय लाग्छ सुकिसकेको खहरो बन्यो। त्यो खहरोलाई रक्सीले धेरै भिजाएँ। धुँवामा धेरै उडाए। कत्तीले ‘देबदास’ भने, कतीले ‘पागल’। अझै पनि मेरा लुगाहरुमा, सिरक-डस्ना, सिराने हरुमा उस्का आभाहरु म महसुस गर्छु। कतीपल्ट त अस्माका काला लामा केसहरु मेरा शरीरमा टाँसिएको भेटेकोछु, भेट्छु। आस्माले साडीमा लाउने गरेको हुप्सियो, मेरो सर्टका खुस्किएका टाँकहरु, फुटेका चुराका अवसेशहरु, ड्रेसिङ टेबलमा लडिरहेको थाक्रो, नङपालिसका खाली बट्टा….. सुन्नेहरु हाँस्दा हुन्, तर यि यावत स-साना चिजहरुले मलाई चिमोटिरन्छन्। घोच्छन्। अनि पुन: आस्मा बल्झिन्छिन्। त्यस्तो बेला आस्मा भा’को लोक जाने कोशीस नगेको हैन! आस्मा सपनामा आएर अनेक सम्झाउथिन्। बाँच्नको लागि हौस्याउथिन्। एउटै कुरो दोहोर्याउछिन – ‘घरजम गर्नोस!’ म रिसाउँदै ब्युझन्थे।…….मलाई आस्माको रिस पखाल्ने चियाले ठुङ्थ्यो!

“हेर भाइ, अब यसरी जीवन चल्दैन! बिचार गरे,” दिदीले धेरै सम्झाउथिन्। “भगवान शिवले त दोस्रो विवाह गरे!”

“म भगवान हैन!” म झर्किन्थे। म एकान्तमै रम्न थालीसकेको थिएँ। कसैको सल्लाह, सुझाब वाइहात लाग्थे। “तपाईंका कुरामा मेरो कुनै रुची छैन! मेरो सुर्य अस्ताइसक्यो, कहिल्यै नउदाउने गरी। आइन्दा एस्तो कुरो नगरे जाती!”

यसरी सम्झाउनेहरुमा मेरी दिदी मात्र लागेकी थिइनन्, मेरा साथीभाइहरुले पनि अनेक प्रस्ताब ल्याएकाथिए। उनीहरु भन्थे -“कती विधुर भएर बाँच्छस? तेरो अगाडि एउटा लामो जीवन पर्खिरहेकोछ।”

कती त फोटो बोकेरै पनि आए। मैले वास्ता गरिन। भनीहालेँ नि मेरो हृदय सुकीसकेको थियो। उनीहरु मरभुमीमा मलजल गर्ने प्रयास गर्दैथिए!

दुईचार दिन दिदी चुपलाग्थिन अनि फेरि कोट्याउन थाल्थिन – “हेर बाबु, हामी तेरो भलो नै चाहन्छौ। बुहारीले मलाई मर्ने बेलामा यही एउटा इच्छा रहेको बताएकीथिन्। उस्को इच्छा पुरा गर्नु तेरो कर्तब्य हो।”

एकदिन आमाले पनि यस्तै-यस्तै कुरा गर्नथाल्नुभयो। आमाको सपनामा आएर बुहारीले मेरो घरग्रीहस्तीको लागि रोइकराइ बिन्ती गरिन रे! अनि उँहा म काँ सिफारिस गर्न आउनुभयो। मैले उँहालाई सम्झाउदै भने – “हेर्नोस आमा, मैले दिदिलाई अनि मेरा साथीभाइहरुलाई जे भन्ने गरेकोछु तपाईंलाई नि त्यही भन्ने छु। मलाई कठोर भइस भन्नुहोला तर मैले यस बिषयमा केही सोचेको छैन। म मेरो एक्लोपनमै रत्तिन थालिसकेँ। ल मैले ‘हुन्छ’ भने रे, तपाईं आँफै सोच्नोस त मसँग बिहे गरेर आउनेको के दसा होला? म आस्मालाई बिर्सिएर अरु कसैलाई माया दिन सकुँला र? मैले त आँसु निलेर जिउन सिकीसकेँ तर के उस्को आँसुले उस्लाई जिउन देला र? के म असल लोग्ने बन्न सकुँला र? एउटा अर्को जिन्दगीको बलिदान दिन म कसरी तत्पर हुनसक्छु? आस्माको आफ्नै स्थान छ मेरो जीवनमा। जम्मैजना अस्मालाई बिर्सी भन्छन् तर म बिर्सिन चाहन्न – उस्को ‘साटो’ अरु ल्याएर! त्यसैले यो फोटो, प्रस्ताब लिएर नआउनोस्। यदी गर्नै परे म आँफै भनुलाँ। मेरोलागी अब कसैले झन्झट नलिनुहोला।”

आमाले मेरो कुरा एकाग्र भएर सुन्नुभयो तर उहाको अनुहारले प्रस्ट बताउदैथियो कि उँहा सहमत हुनुहुन्न भनेर। आमालाई पनि के दोस् दिनु? आफ्ना छोराछोरी खुशी हुन, घरजम गरेर टुङगोमा पुगुन भन्ने चाह होला नै! आमाबाले खाने भनेको छोराछोरीको खुशी न हो।
“कैले सम्म एतिकै बस्छस् त?” आमा अली रुखो हुनुभयो। तर वहाँको रुखोपन पछाडिको माया मैले प्रस्ट देख्नसक्थेँ। वास्तवमै आँखाले कहिल्यै झुट बोल्दैनन्! भिजेका आँखाका चेपहरु सारीको सेप्कोले थप्थपाउँदै बिस्तारै भन्दैहुनुन्थ्यो – “हेर बाबु, तँ मेरो एक्लो छोरा होस्। तेरा बा बित्नु भयो। मेरो पनि एउटा खुट्टा घाटमा छन एउटा घरमा। कैले दैवले उठाउनेहुन पत्तो छैन। मर्नु अघी तेरो राम्रो भएको हेर्ने मेरो इच्छा पुरा गरिदेउ मेरो बाबु।”
“के नचाइँदो कुरा गर्नुहुन्छ? मर्ने कुरा नगर्नोस मेरो अगाडि!,” म झन्किन्छु। “के मेरो इच्छा चै इच्छै हैन? मैले चै आफुले लागेको गर्न नपाउने?”

“रिस हेर न रिस,” आमाले भन्नुभयो। “नाकका टुपामा छन्।”

“अनि के त?” मैले भने। “कोही भेटेँ भने आँफै भनुलाँ, अब धेरै किच्किच् नगरनोस्,” मैले प्रसँग टाल्न खोजेँ।

“मैले त बोल्यो कि तलाई किच्किच् हुन्छ है?” आमाले बाउठिदै भन्नुभयो। “छोराछोरी साना छँदा मर्लान् भन्ने पिर, ठुला भए मार्लान् भन्ने पिर।”

त्यो दिन आमा चुपलाग्नु भएन। थुप्रै उदाहरणहरु थिए उँहासँग, पुन: विवाह गरेर बसेकाहरुको। एक एक गर्दै जम्मै सुनाउनुभयो। टेलिभिजनमा आउने हरीवंस आचार्य देखी हाम्रो गाउँको रिक्सावाला हरिबोल चौधरी सम्मका कुरा सुनाउन भ्याउनुभयो। वहाँले सुनाए मध्येका प्राय मैले दिदीको अनि अरु साथीहरुको मुखबाट सुनीसकेको थिएँ। जानेबेलामा भन्नुभयो – ” एकपल्ट धैर्य गरेर बिचारेस बाबु मेरा कुरा। आफुलाई हेर-गतीगरास हराइसक्यो! कोठाभरी डुङ्डुङ्ती रक्सी चुरोटको टर्‍रो गन्ध फैलिएको छ। छोरीमान्छे न’भा घर, घर हुँदैन-नपत्याए आफ्नै वरीपरी हेर! अरु केही नगरे पनि यसो बाहिर निस्की, घुम्न जा, साथीभाइसँग घुलमिल गर, हावा खा! कती दिन यसरी जोगीताल गरेर बस्छस?”

आमाले भनेजस्तै मेरो ‘जोगीताल’ नै भएकोथियो क्यार! आमा जानु भएपछि ऐना अगाडि उभिएर निकैबेर आफुलाई निहाले- को को नचिनेको मान्छेलाई मैले हेरेजस्तो लाग्यो। लाग्छ मेरो अगाडि एउटा कङ्काल उभीइरहेको छ – लुगा लगाएको कङ्काल! याद छैन अन्तिम पटक कैले दार्हीजुँगा खोरेथेँ। आँखा ओरिपरी काला दागले घेरा हालेका थिए। आँखा स्वयम चै भित्र कता गाडीएका थिए, मेरा कङ्काल आँखा! टाउकोमा जिङ्रिङ्ग कपाल – तिनमा काइयो नजोतिएको जुग बितीसेकेको थियो। लुगा दस ठाँउ उध्रिएको, मैलो। हातगोडाका नङ कुनै बड्दैथे, कुनै आँफै भाचीदैथे। नसाहरुमा रगत संचार नपुगेर घाममा सुकेका गडेउला जस्ता देखिन्थे। भोल्टेज कम जिरो वाट बत्तीजस्तै थियो मेरो अनुहारको तेज – मधुरो पहेलोँ।

मलाई दिन, महिना, गतेको कुनै हेक्का थिएन। कतीपल्ट त म शनिबार, चाडपर्वका बिदाका दिनमा पनि अफिस पुग्थेँ। बैँकमा झुण्डिएको भोटेताल्चा देखेर घर फर्नक्थे। खल्तीबाट फोन निकालेर हेँरे – Saturday, December 15, 2012. डिसेम्बर २१ मा प्रलय हुन्छ रे! – हल्ला उड्दै गरेको मैले सुनेकोथिएँ। ‘प्रिथ्वी ध्वस्त हुन्छ’, ‘जम्मै मान्छे मर्छन,’ जस्ता बातहरु बतासिएका थिए देशभरी। मैले सोँचे ‘अब ६ दिन।’ मन हलुङ्गो भयो। बाहिर बार्दलीमा निस्केँ – केटाकेटीहरु गल्लीमा दौडीरा’थे, चोरपुलीस खेल्दैथे क्यार! ‘एssss त्रिसुलिको कान्छी बदाम, माम्फुली, माम्फुली’ गर्दै एउटा ठिटो मेरो घरको बाटो आयो। केटाकेटी उस्का वरीपरी झुम्मिए। मैले माथिबाट बोलाएँ – “ए भाइ, एक मानो मलाई हाल्दै गर त, म तल आएँ।” न्यानो पारिलो घाम लागेको थियो त्यसदिन।

२१ डिसेम्बर आयो, गयो। २२ को बिहान घाम उदायो। मन खिन्न भयो मेरो।

क्रमशः…भाग २ पढ्न यहाँ क्लिक गर्नुस्…

19 thoughts on “कथा : भ्यालेन्टाइन्स डे”

  1. Pingback: कथाः भ्यालेन्टाइन्स डे (भाग- २) « Mysansar
  2. Ram Hari says:
    February 21, 2014 at 6:01 pm

    दुइ सब्द सापट लिदैमा लेखकको प्रतिभामा प्रस्न उठाउन मिल्दैन / सुरेशजी तपाईमा प्रतिभा प्रसस्त छ / लेख्दै जानोस/ सुभकामना !

    Reply
  3. गौतम "उदय" says:
    February 21, 2014 at 3:42 pm

    “अदितिको साथी ” का केही शब्दमात्र हुबाहू प्रयोग गरिएको नै रहेछ | संयोगले यस्तो हुँदैन | अवश्य लेखकज्यूले त्यो कथा पढ्नु भएको छ | तर लेखकमा आफ्नै प्रतिभा भने प्रसस्त छ |

    Reply
  4. mahim says:
    February 20, 2014 at 1:35 pm

    अदितिको साथी कथाका मात्र दुइ लाइन चै ठ्याक्कै मिल्छ काकालाई नमस्कार वाला…बाँकि त कथा फरक छ हैन र ??
    साँची कथाकारले कहाँ बाट त्यो कुरा यहाँ जोड्नु भयो….साँच्ची नै अदितिको साथी बाट नै लिनु भाको हो त ?
    दुइ लाइन ले गर्दा बोर भयो नि त

    Reply
  5. माधव says:
    February 19, 2014 at 2:48 pm

    🙂 ‘अदितिको साथी’ बाट केइ केइ त चोरेकै हो… आफ्नै हो भने त के भनुम…
    — http://thinkings-meaningless.blogspot.com/2011/02/blog-post.html

    Reply
  6. MAHIM says:
    February 18, 2014 at 3:58 pm

    राम्रो छ . अर्को भागको प्रतिक्छ्यामा छु . तपाई ले लेख्नु भएको को पहिला को कथा पनि राम्रो छ. लेख्दै रहनुहोला .
    mahim

    Reply
  7. durga kumar shrestha says:
    February 18, 2014 at 10:02 am

    धेरै राम्रो धन्यवाद लेखकलाई////////////

    Reply
  8. deepak paudel says:
    February 17, 2014 at 2:26 pm

    सुरुमा लामो लागे पनि पढ्दै जादा पत्तै नपाई सिध्याई सकेको रहेछु आँसुले भिजेका आँखा एबं गालाको आँसु पुच्दै / लेखन सैली सरल अनि मार्मिक लाग्यो / ऐले सम्म कथा एकदमै राम्रो छ लेखकज्यु / बाकि भागको प्रतिकक्षामा छु /

    Reply
  9. ramesh says:
    February 17, 2014 at 12:58 am

    सुरेशजी निकै राम्रो कथा | लोग्ने मानिस रुनु हुदैन भन्थे तर तपाइँको कथा पढ्दा पत्तै नपाइ आँशु खसेछन | कृपया अर्को भागमा केशबलाइ हरिबंश नबनाउनुहोला | माया मन हो तन होइन, तन बिलाएर गए पनि मन त मर्दैन | तेसैले केशबकि भ्यलेनटिन मरेर गएकी छैनन् |

    Reply
  10. MOHAN says:
    February 16, 2014 at 12:38 pm

    सुरेश जी को कथाहरु पढ्ने अबशर शायद मिलेनछ क्यार पहिले पहिले . माई संसारमा यस्तो बेजोड कथा पस्केर मनोरंजन दिनुभएकोमा शाधुबाद. कथा निकै सरल रुपमा निकै सन्दर्विक एवम समसामयिक कथा वस्तुमा आधारित भएर निर्वाद रुपमा बगेको छ. शव्द र भाषा शैली मा उत्क्रिस्ठ नेपाली पन ल्याउनु भएको छ. नेपाली झर्रो एवम समसामयिक शव्द तथा वाक्य हरु प्रयोग गरि अत्यन्त मिठास थप्नु भएको छ. कथा अहिले जसरी बगिरहेको छ, बाँकि भाग को विसर्जन पनि त्यहि शैलीमा गर्न्र सक्नु भएमा यहाको कथा निश्चयनै अब्बल दर्जाको साहित्यिक विधा हुनेछ र माई संसारमा प्रकाशित कृति हरुमा सर्ब श्रेष्ठ. यहाँको शफ़लताको लागि हार्दिक शुभकामना !!!

    Reply
  11. Ram Hari says:
    February 16, 2014 at 9:00 am

    “उ बेला आस्माको काकालाई नमस्कार ठोकियो, उसका साथीको बस भाँडा तिरियो। कलेजका बाटा फेरिए। दौंतरीका – ‘क्या दोस्त! लड्की मिल गै, दोस्त भुल गै’- गुनासा खेपिए। अनेक तान बुनियो।” – सहि छ ! कति मिठा सब्दहरु मनै छुने ! बाकि भागको ब्यग्र कुराईमा ! धेरै राम्रो सुरेश ‘समान’ जी/ लेख्दै जानोस /

    Reply
  12. yash ghimire says:
    February 16, 2014 at 6:06 am

    एउटा जिबन्त कथा | मानबिय समबेदनाको प्रस्ट अनुभूत हुन्छ | बाकी भागको व्यग्र प्रतिक्ष्यारत बनाउन सफल हुनुले नै कथा राम्रो छ भन्न सकिन्छ |

    Reply
  13. Bishwaraj says:
    February 16, 2014 at 1:05 am

    भ्यालेन्टाइन डे र हनिमुन भन्ने हगु गरेर आची पुछ्न नजान्ने, आची नै बोकेर हिड्नेहरुले पनि बुझेका हुन्छ, तर भाइटीका किन मनाईन्छ र सरस्वोती पुजा कीन गरीन्छ भन्ने थाहा हुन्न- यही कारण हामी नेपाली-

    Reply
  14. Kabte says:
    February 16, 2014 at 12:55 am

    सुरुमा लामो लागे पनि पढ्दै जादा पत्तै नपाई सिध्याई सकेकी रहिछु / लेखन सैली सरल अनि मार्मिक लाग्यो / ऐले सम्म कथा एकदमै राम्रो छ लेखकज्यु / बाकि भागको प्रतिकक्षामा छु / आस गरौ कथाले पात्रलाइ न्याय नै गर्नेछ /

    Reply
  15. nimesh, bkk says:
    February 15, 2014 at 10:36 pm

    अत्यन्त मार्मिक, तर
    मन खिन्न भयो क्रमशःले …

    Reply
  16. Hari Prasad Lamichhane-Saudi says:
    February 15, 2014 at 9:02 pm

    नजाने गाउ को बाटै न सोध्नु भन्थे त्यस्तै छ यो भ्यालेन्टाइन डे पनि |

    Reply
  17. bishnu adhikari says:
    February 15, 2014 at 7:39 pm

    कथा पढ्दा अलि लामो जस्तो लागे पनि राम्रो लग्यो/ अब केसब ले के गर्छ होला भन्ने खुल्दुली मेट्न एक हप्ता कुर्न पर्ने भयो / कथाको सुरुवात सुखद बाट सुरु भएर बिस्तारै दुखद तिर धकेलिरहेको छ…………………………….. भ्यालेन्टाइन्स डे को रोमान्स पछि एक आपसमा आलिङ्गन केसब र आस्मा छोरी को रुवाई बाट झसङ्ग बिउझिदा केसबले यो त सपना देखेको रहेछ / अन्त्यमा एस्तो सुखद क्षण होस् त कि पाठक लाइ पनि दुखको अनुभूति नहोस
    बिष्णु अधिकारी

    Reply
  18. sallu says:
    February 15, 2014 at 7:06 pm

    राम्रो कथा तर मलाई वियोगान्त कथा मन पर्दैन संयोगान्त भाको भए झन राम्रो हुन्थ्यो कि

    Reply
  19. नब कुमार श्रेष्ठ says:
    February 15, 2014 at 1:38 pm

    Superb :-), keep on writing..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme