Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्ता छन् विश्वका उत्कृष्ट फोटोहरु

Posted on February 14, 2014February 15, 2014 by Salokya

01_john-stanmeyer विश्वका फोटो पत्रकारहरु माझ एकदमै प्रतिष्ठाको मानिने वर्ल्ड प्रेस फोटो अवार्ड शुक्रबार घोषणा भएको छ। प्रतियोगितामा विश्वभरका १३२ देशका ५ हजार ७५४ फोटो पत्रकारहरुले पठाएका ९८ हजारभन्दा बढी फोटोमध्येबाट अमेरिकाका जोन स्टानमेयरको माथिको फोटोलाई वर्षको उत्कृष्ट फोटो अर्थात् फोटो अफ दि इयर २०१३ घोषणा गरिएको छ।

सिग्नल शीर्षकको यो फोटोमा अफ्रिकी आप्रवासीहरु Djibouti सहरमा मोबाइल उचालेर छिमेकी देश सोमालियाबाट आउने बहुमूल्य सिग्नल टिप्न खोज्दैछन्। यो सहर सोमालिया, इथियोपिया र इरिट्रियाका आप्रवासीहरुको साझा बिसौनी थलो रहेछ। अरु फोटोहरु हेर्नुस्-
01_John-Stanmeyer
सिग्नल शीर्षकको यो फोटोमा अफ्रिकी आप्रवासीहरु Djibouti शहरमा मोबाइल उचालेर छिमेकी देश सोमालियाबाट आउने बहुमूल्य सिग्नल टिप्न खोज्दैछन्। यो शहर सोमालिया, इथियोपिया र इरिट्रियाका आप्रवासीहरुको साझा बिसौनी थलो रहेछ।

02_Alessandro-Penso
जनरल न्युज सिङ्गल श्रेणीमा पहिलो पुरस्कार जितेको यो फोटो Alessandro Penso ले OnOff Picture का लागि खिचेका हुन्। २१ नोभेम्बर २०१३ का दिन बुल्गेरियाको सोफियास्थित एउटा स्कूलमा यो आपतकालीन शरणार्थी केन्द्र खोलिएको थियो। यसमा ३९० बालबच्चासहित ८०० सिरियन शरणार्थीहरु बस्थे।

03_William-Daniels
जनरल न्युज स्टोरिजमा दोस्रो पुरस्कार जितेको यो फोटो William Daniels ले टाइमका लागि Panos Pictures मार्फत् खिचेका हुन्। १७ नोभेम्बर २०१३ का दिन खिचिएको यो फोटोमा मध्य अफ्रिकी गणतन्त्रका प्रदर्शनकारीहरु अन्तरिम राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन्।

04_Phillipe-Lopez
स्पट न्युज सिङ्गलमा पहिलो पुरस्कार जितेको Phillipe Lopez ले AFP का लागि खिचेका हुन्। ८ हजारभन्दा बढीको ज्यान जाने गरी फिलिपन्समा आएको आँधीबाट बचेकाहरु टोलोसामा धार्मिक जुलुसमा सहभागी हुँदै गर्दाको फोटो हो यो।

05_Goran-Tomasevic
Goran Tomasevic ले Reuters का लागि खिचेको यो फोटोले स्पट न्युज स्टोरिजमा पहिलो पुरस्कार जित्यो। सिरियाली सेनाको ट्याङ्कले हानेको ट्याङ्क सेलपछि सिरियाली विद्रोही लडाकुहरु भागाभाग हुँदै गर्दाको फोटो हो यो।

06_Tyler-Hicks
Tyler Hicks ले The New York Times का लागि खिचेको यो फोटो स्पट न्युज स्टोरिजमा दोस्रो पुरस्कार जित्न सफल भयो। २१ सेप्टेम्बर २०१३ मा केन्याको नैरोबीस्थित एउटा मलमा आत‍ंकवादीहरुले आक्रमण गर्दा ज्यान बचाउन लुकिरहेका एक महिला र बच्चाहरु। बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हाने पनि उनीहरु सुरक्षित रहे।

07_Christopher-Vanegas
Christopher ले La Vanguardia/El Guardían का लागि खिचेको यो फोटोले कन्टेम्पोररी इस्युज सिङ्गलमा तेस्रो पुरस्कार जित्यो। मेक्सिकोका संगठित अपराधीहरुले अर्को समूहका व्यक्तिको हत्या गरेको स्थानमा प्रहरी आइपुग्दाको फोटो हो यो। यहाँ दुई वटा लाश एउटा पुलमा झुण्डिएका छन् भने बाँकी तीन जमिनमा छन्।

08_Sara-Naomi-Lewkowicz
Sara Naomi Lewkowicz ले TIME का लागि खिचेको यो फोटो कन्टेम्पोररी स्टोरिजमा प्रथम पुरस्कार जित्न सफल भयो। झगडा चर्कँदै गर्दा शेनले म्यागीलाई भान्सामा कुटाइ खाने कि आफूसँगै तल बेसमेन्टमा गएर निजी कुराकानी गर्ने छान्न भन्दै गर्दाको फोटो अमेरिकामा खिचिएको हो।

09_julius-schrank
Julius Schrank ले De Volkskrant का लागि खिचेको यो फोटोले डेली लाइफ सिङ्गलमा पहिलो पुरस्कार जित्यो। बर्माका काचिन इन्डेपेन्डेन्स आर्मी फाइटर्सहरु एक दिन अघि मारिएका आफ्ना एक कमान्डरको अन्त्येष्टिपछि पिउँदै रमाउँदै गरेको बेलाको फोटो। त्यतिबेला शहर बर्मेली सेनाको घेराबन्दीमा थियो।

10_Fred-Ramos
Fred Ramos ले El Faro का लागि खिचेको यो फोटोले डेली लाइफ स्टोरिजमा पहिलो पुरस्कार जित्यो। एल साल्भाडोरको सान साल्भाडोरमा भेटिएको १७/१८ वर्षकी किशोरीको अवशेष। यो ठाउँ विश्वकै हिंसात्मक ठाउँमध्येमा पर्छ। कतिपय केसमा भेटिएका लुगा मात्रै पहिचानको एक मात्र उपाय हुने गर्छ त्यहाँ।

11_Andrzej-Grygiel
Andrzej Grygiel ले PAP-Polska Agencja Prasowa का लागि खिचेको यो फोटो स्पोर्टस् एक्सन सिङ्गलमा दोस्रो हुन सफल भयो। पोल्यान्डमा खिचेको फोटो।

12_Quinn_Ronney
Quinn Rooney ले Getty Images का लागि खिचेको यो फोटोले भने स्पोर्टस् एक्सन स्टोरिजका लागि तेस्रो पुरस्कार जित्यो। अस्ट्रेलियन स्विमिङ च्याम्पियनसिपका बेला १०० मिटरको ब्याकस्ट्रोक गर्दैगर्दा ड्यानियल अर्नामार्टको फोटो।

13_Peter-Holgersson
Peter Holgersson ले खिचेको यो फोटो स्पोर्टस् फिचर स्टोरिजमा पहिलो पुरस्कार जित्न सफल भयो। क्यान्सर भेटिएका स्विडिश खेलाडी अन्तिम उपचारपछि राम्रो महसूस गर्दै र्दाको फोटो। बिरामी हुँदा पनि उनले ट्रेनिङ भने गरिरहेकी थिइन् एक दिन निको हुने र रियो ओलम्पिकमा भाग लिने आशाका साथ।

14_Markus-Schreiber
Markus Schreiber ले AP का लागि खिचेको यो फोटो People/Observed Portraits Stories मा पहिलो भयो। नेल्सन मन्डेलाको पार्थिव शरीर राखिएको ठाउँमा दर्शन गर्न तेस्रो तथा अन्तिम दिन पनि नपाएपछि एक महिला निराश हुँदै गर्दाको फोटो।

15_Carla-Kogelman
Carla Kogelman ले खिचेको यो फोटो पनि People/Observed Portraits Stories मा विजेता बन्न सफल भयो। अस्ट्रियाको गाउँमा बस्ने दिदीबहिनीको फोटो।

16_Brent-Stirton
Brent Stirton ले Getty Images का लागि खिचेको यो फोटो People – Staged Portraits Single मा पहिलो भयो। भारतको पश्चिम बंगालमा दृष्टिविहीनका लागि स्कूलको बोर्डरुममा फोटो खिचाउँदै दृष्टिविहीन विद्यार्थीको समूह।

17_Denis-Dailleux
Denis Dailleux ले Agence Vu का लागि खिचेको यो फोटो eople/Staged Portraits Stories मा दोस्रो भयो। यो इजिप्टको कायरोमा एक युवा बडी बिल्डर आफ्नी आमासित फोटो खिचाउँदै छन्।

18_Christian-Ziegler
Christian Ziegler ले National Geographic Magazine का लागि खिचेको यो फोटो नेचर स्टोरिजमा तेस्रो भयो। कंगोको कोकोलोपोरी बोनोबो रिजर्भमा एउटा पाँच वर्षको बोनोबोको फोटो।

19_Steve-Winter
Steve Winter ले National Geographic का लागि खिचेको यो फोटोले नेचर स्टोरिजका लागि पहिलो पुरस्कार जित्यो। अमेरिकाको लस एन्जलसमा खिचेको दृश्य।

SPORT-SLEDDING-GRANDE ODYSSE-FEATURES
Jeff Pachoud ले Agence France-Press/Getty Images का लागि फ्रान्समा खिचेको यो फोटोले स्पोर्टस् फिचर सिङ्गलमा पहिलो पुरस्कार जित्यो।

pva_henline_010
Observed Portraits Stories मा दोस्रो पुरस्कार जितेको यो फोटो Peter van Agtmael ले खिचेका हुन्। फोटोमा देखिएका व्यक्ति बबी हेनलाइन हुन्। अमेरिकी सेना थिए। चौथो पटक इराकमा तैनाथ भएको तेस्रो हप्तामा बम पड्कँदा ४१ वर्षका हेनलाइन बाँचे तर ४० प्रतिशत शरीर जलेको थियो र अनुहारका हड्डी भाँचिएका थिए। देब्रे हात काट्नु पर्‍यो पछि। दुई साता त उनी कोमा (लामो बेहोसी) मा रहे। अहिले उनी उभिएर ठट्यौली सुनाएर अरुलाई हँसाउने नयाँ पेशामा लागेका छन्।

top10_lastembrace
Taslima Akhter ले खिचेको यो ब‍ंगलादेशमा गार्मेन्ट फ्याक्ट्री रहेको भवन भत्कँदा मरेका एक जोडीको फोटो स्पट न्युज सिङ्गल्समा तेस्रो पुरस्कार जित्न सफल भयो।

वर्षको उत्कृष्ट फोटो घोषित हुनेले १० हजार युरो पुरस्कार पाउँछ। त्यसैगरी नौ क्याटेगोरीमा पहिलो, दोस्रो र तेस्रो घोषणा गरिन्छ। पहिलो हुनेले १५ सय युरो नगद पुरस्कार पाउँछ। यो वर्ष २५ देशका ५३ फोटोग्राफरले पुरस्कार पाए। दक्षिण एसियामा बंगलादेशका फोटोग्राफरले मात्रै पुरस्कार जित्न सक्यो।

पुरस्कार जित्ने अरु फोटोहरु तपाईँ यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ।

तपाईँलाई व्यक्तिगत रुपमा कुन चाहिँ फोटो राम्रो लाग्यो त ? तल कमेन्टमा लेख्नुस् है।

9 thoughts on “यस्ता छन् विश्वका उत्कृष्ट फोटोहरु”

  1. Limbu HarataraH says:
    February 16, 2014 at 4:07 pm

    “दृश्यले प्रस्ट्याएको दर्दनाक वा अर्थपूर्ण – सिरियाली सेनाको ट्याङ्कले.. हुँदै गर्दाको, फिलिपिनका, मारिएका दृश्यका फोटो मलाई मन पर्यो/ न कि कथाले बोकेको दृश्य होइन”

    Reply
  2. Kishor Sharma says:
    February 16, 2014 at 3:18 am

    यस पालिको WPP प्रतियोगिता सम्बन्धि केहि रोचक तथ्य हरु:
    – यस पालिको सर्बोत्तक्रिष्ट फोटो १०,००० ISO मा खिचिएको हो, त्यो भनेको सामान्यतया हाम्रो आँखाले देख्न गाह्रो हुने परिमाणको प्रकाशमा खिचिएको बुझिन्छ।
    – प्रतियोगितामा पठाइएका फोटाहरु मध्ये झन्डै ९% फोटाहरु मान्यहुने भन्दा बढी मात्रामा कम्प्युटर बाट छेड-छाड गरिएकोले अयोग्य ठहरिएको बताइएको छ।
    – सर्बोत्तक्रिष्ट तस्विर बिजेता जोन स्टानमायेर र प्रतियोगिताका मुख्य-जुरी ग्यारी नाइट VII नामक एजेन्सीमा कार्यरत मित्र हरु हुन्। ग्यारी नाइटले यस अघि पनि २ पटक सहायेक र १ पटक मुख्य जुरीको भूमिका निभाई सकेकाले उनको पेसागत भूमिकामा सन्देह गर्ने ठाउँ कम भए पनि केहि आलोचकहरुले भने यसलाई पनि आलोचनात्मक रुपमा हेरेका छन्।

    यस पालि बंगलादेशबाट बिजेता भएका दुबै जना ‘पाठशाला’ भन्ने मिडिया तथा फोटो स्कुल बाट अध्ययन गरेका फोटोपत्रकार हुन् भने सन्जोग ले दुबैको फोटो एकै घटनामा (गार्मेन्ट उद्धोघ भत्किएको) खिचिएको छ। वास्तवमै बिस्वभरि बाट झन्डै १ लाख फोटो बाट छानिने यस प्रतियोगितामा विस्वभरिका फोटोपत्रकार हरुको आँखा रहने गर्छ। नेपालबाट अहिले सम्म कसैले नजिते पनि नेपालमा खिचिएको फोटोले चाहि यस अघिका केहि प्रतियोगितामा बिजयी भएको पाइन्छ।

    ‘नेपाली फोटोग्राफरहरुले कहिले सिक्ने होला यस्तो फोटो खिच्न?’ एकजना मित्रले कमेन्टमा सोध्नु भएको प्रश्न। वास्तवमै नेपाली फोटोग्राफर हरुलाई फोटो खिच्नै नआउने हो त? तेसो भन्नु अघि २-४ कुरा मनन् गर्न जरुरि छ।

    एक त यो कुरा बुझ्नु पर्यो कि ‘राम्रो-फोटो’ खिच्नु र ‘राम्रो-फोटो पत्रकारिता’ गर्नु अलग कुरा हुन्। हामीकोमा फोटो-पत्रकारिता बामे सर्दै गरेको अवस्थामा छ। जसरि ‘पाठशाला’ले बंगलादेशमा फोटोपत्रकार हरुलाई बिस्वस्तरको तालिम दिने र अन्तरास्ट्रिय स्तरमा काम हेर्ने र देखाउने बाताबरण बनाएको छ; त्यो स्तर मा नेपालमा फोटो-पत्रकारिताको अध्ययन-अध्यापन हुने गरेकै छैन। वहांले भने जस्तै फोटो पत्रकारहरुले उद्‌घाटनको, रिबन काटेको, पानसमा बत्ती बालेको फोटो खिच्नु रहर मात्रै नभै बाध्यता पनि हो किनकि नेपाली पत्रकारितामा अझै पनि फोटो-पत्रकारलाइ ‘दोस्रो-दर्जाको’ रिपोर्टरको रुपमा लिने चलन छ; र फोटो-पत्रकार हरुमा पनि त्यसलाई नाघेर अलि परको समाचार खोज्ने जाँगर कमै चलाएको पाइन्छ। बिस्वमै अहिले फोटो-पत्रकारितामा गरिने लगानी कटौती भएको र त्यसको असर कसरि खोजमुलक फोटो-पत्रकारितामा परेको छ भनेर यो प्रतियोगिताको मुख्य-जुरी ग्यारी नाइटले अन्तर्वार्तामा भनेका छन्। अब नेपालको अवस्थाको त कुरै नगरौ! फोटो-पत्रकार माग्दा ‘आफ्नै बाइक र क्यामेरा भएको’ भनेर माग्ने त मिडिया हाउस छन् हामीकहाँ; अनि आफ्नै-बलबुताले कुनै स्वतन्त्र फोटो-पत्रकारले कुनै सामग्री ल्यायोभने सकेसम्म फोकटमा छाप्न खोज्ने नत्र बस भाडा पनि नउठ्ने रकम हातमा राखिदिने गर्छन।

    यी र येस्तै अरु पनि कारणहरु छन्; जसले गर्दा नेपाली-फोतोपत्रकरिताले अझै पनि सोचेको जस्तो उपस्थिति देखाउन सकेको छैन; तर सहि तालिम र स्रोत उपलब्ध हुने हो भने नेपाली फोटो-पत्रकारिताले पनि फड्को मार्ने कुरामा मलाई चाही कुनै संका छैन।

    Reply
  3. Hemanta Bhattarai says:
    February 15, 2014 at 6:15 pm

    सबै फोटा हरु एकदमै उत्कृस्ट छन् ! विश्व ले्i उतकृस्ट भनेको फोटो मैले नराम्रो मान्ने त कुरै छैन ! तर गार्मेन्ट फ्याक्ट्री रहेको भवन भत्कँदा मरेका एक जोडीको फोटो एकदमै दर्दनाक लग्यो ! साँची के छ र है मान्छे को जिबन एकमुठी सास त हो ! फुस्स सकिनालाई कतिबेर लाग्दो रैछ र ??

    Reply
  4. MAGAR SANTA says:
    February 15, 2014 at 3:57 pm

    तस्बिर आफै बोल्छ

    Reply
  5. रविकिरण says:
    February 15, 2014 at 11:44 am

    पक्कै पनि नेपालीहरुले सिक्नु पर्छ
    त्यो Carla Kogelman ले खिचेको जस्तो फोटो (वेबसाइटमा गएर अरु फोटो हेर्नुस् त) खिचेको भए नग्नता, अश्लीलता, बाल यौनशोषण, प्राइभेसी भनेर कति कराउँथे, चिच्याउँथे होला यहाँका अजासुहरु 🙁

    Reply
  6. हरिश न्यौपाने says:
    February 15, 2014 at 11:39 am

    नेपाली फोटोग्राफरहरुले कहिले सिक्ने होला यस्तो फोटो खिच्न ?
    सालाहरु सबै मन्त्री र प्रधानमन्त्रीको उद्‌घाटनको, रिबन काटेको, पानसमा बत्ती बालेको फोटो खिच्छन्
    एउटा नेताले बोल्दा एक हुल असभ्य भएर ठेलमठेल गरेर फोटो खिच्छन्

    Reply
    1. Jamuna says:
      February 15, 2014 at 9:52 pm

      यो रातो लाउनेहरु चाहिं नेपालका मै हुँ भनाउँदा फोटोग्राफरहरु होलान् पक्कै 🙂

      Reply
    2. bipin says:
      February 16, 2014 at 6:48 am

      हरिशजीको भनाईमा सत्यता भए पनि भन्ने तरीका नमिलेको जस्तो लाग्छ ।

      Reply
  7. विनय says:
    February 15, 2014 at 11:36 am

    मलाई त त्यो बंगलादेशको फोटो साह्रै मार्मिक लाग्यो। मर्दा पनि कस्तो प्रेम !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme