Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डुंगामा अष्ट्रेलिया? अहँ, कोशिसै नगर्नुस्

Posted on February 23, 2014 by mysansar

-शिरीष खरेल-

17refugees4-custom1 यदि सबै पढने फुर्सद छैन भने यत्ति निचोड पढ्नुहोला – शरणार्थीको मान्यता पाएर अष्ट्रेलिया बसौँला भन्ने आशा अब चटक्कै छोड्नुस्। सबैभन्दा ठूलो तपाईँको ज्यान बच्छ, त्यसपछिका कुरा भनेको आठ दश लाख ठगिन र आठ दश वर्ष जेलमा सड्नबाट बच्नुहुनेछ। शरणार्थीका लागि अष्ट्रेलियाको ढोका गएको झण्डै डेढ वर्षदेखि बन्द भएको छ।

यदि अलिक बुझेको मान्छेको कुरो लाग्ने भए डुङ्गाबाट अष्ट्रेलिया आउने सपना देख्न छोड्नुस्। त्यो डुङ्गामा चढन त्यसै पनि दलाललाई आठ दश लाख बुझाउन परिहाल्छ। बरु त्यो पैसाले नेपालमै गएर केही गर्नुस्।

आठ दश वर्ष अघि नेपालमा हुँदा कहिलेकाहीँ मलेशिया गएका नेपालीहरु त्यहाँबाट इण्डोनेशिया गएको र त्यतैबाट डुंगामा फुत्त अष्ट्रेलिया पसेको कहानी गाउँतिर सुनिन्थ्यो। यस्ता कुराले कहिलेकाही आकर्षित पनि गर्थ्यो।

त्यतिबेलैतिर मैले रिपोर्टिङ गर्ने मूलधारे पत्रिकामा मेरै जिल्लाको डेटलाइन राखेर एकजना ब्यक्तिलाई माओवादीको ज्यान लिने धम्की भन्ने समाचार छापियो। मैले पठाउँदै नपठाएको समाचार मेरै नाममा छापिएपछि एकाध वर्ष माओवादीसँग पानी बाराबार भइगो।

विदेशमा शरणार्थीको रुपमा मान्यता पाउन त्यस्ता समाचारका कटिङ निकै सहायक सिद्ध हुने भएकोले मेरा डेस्क सम्पादकले पाँच हजार रुपैया लिएर त्यस्तो समाचार आफै हालिदिएका रहेछन, पछि थाहा भो।

अहिले म आफै अष्ट्रेलियामा छु र यहाँको राजनीतिक, आर्थिक नीति सँगै बदलिएको शरणार्थी सम्बन्धी रणनीति पनि केही हदसम्म बुझ्दछु। केही हप्ताअघि डुंगामा अष्ट्रेलिया आउन लागेका नेपाली अलपत्र परेको दुईवटा समाचार पढनुपरेपछि यहाँका केही कुरा प्रकाशित भए धेरै नेपालीलाई सहयोग हुन्थ्यो भन्ने लाग्यो।

यदि सबै पढने फुर्सद छैन भने यत्ति निचोड पढनुहोला – शरणार्थीको मान्यता पाएर अष्ट्रेलिया बसौँला भन्ने आशा अब चटक्कै छोड्नुस्। सबैभन्दा ठूलो तपाईँको ज्यान बच्छ, त्यसपछिका कुरा भनेको आठ दश लाख ठगिन र आठ दश वर्ष जेलमा सड्नबाट बच्नुहुनेछ। शरणार्थीका लागि अष्ट्रेलियाको ढोका गएको झण्डै डेढ वर्षदेखि बन्द भएको छ।

17refugees4-custom1
खुड्किलो १. थोत्रो र बिग्रेको डुंगामा महासागरको यात्रा
नक्सामा हेर्दा इण्डोनेशिया र अष्ट्रेलियाको दुरी निकै कम जस्तो देखिन्छ। खासमा इण्डोनेशियाबाट डुंगा यात्रा शुरु गर्नेहरु अष्ट्रेलियाको मूल भूभागसम्म आइपुग्न पनि पर्दैन। एक डेढ बर्ष अघिसम्मको कुरा गर्ने हो भने इण्डोनेशियाको जमिनबाट झण्डै १५ सय किलोमिटर परको क्रिसमस टापु छेउ आइपुग्ने बित्तिकै अष्ट्रेलियाको जलसेनाले ती यात्रुलाई आफनो जहाजमा हालेर त्यो टापुमा रहेको अध्यागमन जेलमा लैजान्थ्यो।

अवस्था हेरेर तीन दिन देखि एक साता सम्म लाग्ने यो यात्रा किन धरापजस्तो हो भने ती यात्रुलाई ओसार्ने डुंगा जानाजान बिगारिएको, थोत्रो पारिएको वा उस्तै परे सानो तिनो प्वाल पारिएको हुन्छ। अष्ट्रेलियाको सामुद्रिक सीमा नजिक आइपुगेपछि हाम्रो डुंगा बिग्रीयो, हामी मर्ने भयौँ, बचाउ भनेर अष्ट्रेलियाको सेनालाई गुहार माग्नुपर्ने भएकोले ती डुंगा नियतबशनै त्यस्तो बनाइने हुन्।

त्यसैले इण्डोनेशियाबाट अष्ट्रेलियाको लागि छुटेका कति डुंगा र त्यसका मान्छे बाटैमा डुब्दाहुन, हराउँदा हुन। कि त ती सग्लै अष्ट्रेलियाको सीमा नजिक पुगेपनि थाहा हुने हो कि अष्ट्रेलियन क्षेत्रतिर डुंगाका अवशेष तैरिएको देखिएभने खोजविन हुने हो। नत्र पानीको बहावले डुंगाका अवशेष पनि अन्तर्राष्ट्रिय पानीक्षेत्र वा मुल महासागरतिर हुत्याइदियो भने तपाइँ कता जानुभो के भयो भनेर संसारले थाहा समेत पाउँदैन।

खुडकिलो २.अष्ट्रेलियाको क्षेत्रमा पस्न पाउनुभयो भने
-डेढ वर्षअघिसम्म के हुन्थ्यो– तपाईलाई सामान्यतया त्यही क्रिसमस टापुको अध्यागमन जेल (क्याम्प)मा लगिन्थ्यो। झण्डै पाच÷सात बर्षको अनुसन्धानपछि यदि तपाई साच्चै शरणार्थी भए अष्ट्रेलियाको भिसा पाउनुहुन्थ्यो, नत्र घर फर्काइन्थ्यो।

-डेढ वर्षदेखि गएको पाँच/छ महिना अघिसम्म के हुन्थ्यो– तपाईलाई क्रिसमस टापुको अध्यागमन जेलमा लगिन्थ्यो। तपाईको स्वास्थ्य परीक्षण गरिन्थ्यो र त्यहाँबाट छिमेकी देश पपुवा न्युगिनीको एउटा दुर्गम इलाकामा बनाइएको क्याम्पमा पठाइन्थ्यो।

सायद आठ/दश वर्षमा तपाईको अनुसन्धान सकिन्थ्यो र तपाईँ त्यही पपुवा न्युगिनी बस्ने कि घर फर्काउने भन्ने टुङ्गो लाग्थ्यो। (सम्झिनुस, तपाई शरणार्थीनै भएपनि अष्ट्रेलियाको पीआर वा नागरिकता लिन पाउनुहुन्नथ्यो।)

-गएको पाच÷छ महिना देखि के हुन्छ– तपाईले गुहार मागेपछि अष्ट्रेलियाको सेना आएर तपाईको डुङ्गा हेर्छ। यदि त्यो डुङ्गामा यात्रा गर्दा तपाईको ज्यानै जाला जस्तो रहेछ भने अर्को अलि सुरक्षित डुङ्गामा तपाईलाई राखेर उल्टो बाटो इण्डोनेशिया तिरै पठाइदिन्छ।

खुडकिलो ३. नारकीय क्याम्प (जेल)मा अनिश्चितकालको बास
पहिला पहिला बिदेशमा थुनिएर नेपाल फर्किनेहरुले सुनाउथे, बिदेशका जेल त हाम्रोतिरका होटल जस्ता हुन्छन सप्पै सुविधा भएका भनेर। ती कुरा साचो झुठो के थिए तिनै जानुन, तर अहिले डुङ्गामा अष्ट्रेलिया आउन खोज्नेहरुलाई राखिने क्याम्प चाहि अफ्रिका तिरका शरणार्थी शिविर वा अविकसित देशका जेल भन्दा पनि अमानवीय छन भनेर सञ्चारमाध्यमले खबर दिइसकेका छन्।

कतिपय यस्ता रिपोर्टलाई शरणार्थी सम्बन्धी राष्ट्रसंघीय निकायले पनि पुष्टि गरेको छ। ती क्याम्पमा मान्छे कसरी बस्छन भन्ने केही उदाहरण यस्ता छन्-

• एकजनालाई दिनको डेढ/दुई लिटर पानी। खाएपनि खाऊ, नुहाए पनि नुहाऊ।
• पालैपालो मिलाएर सुत। सबैजना एकैचोटि सुत्न क्याम्पमा ठाउ पुग्दैन।
• पखाला लाग्यो श्रीमान् वा छोराछोरीसँग बस्न मन लागेको हो ? त्यसो भए घर जाऊ आफनै देशमा।
(अधिकांश यी रिपोर्ट पपुवा न्युगिनीतिर भएका क्याम्पहरुबाट आएका हुन। अष्ट्रेलिया भित्रैको क्याम्पमा त अब नया मान्छे राख्न बन्द भइसक्यो )

अर्को कहाली लाग्दो कुरा चाहिँ त्यो क्याम्पमा कति बस्ने भन्ने हो। जीवनको उर्जाशील आठ दश बर्ष त्यो क्याम्पमा बिताएपछि निवेदन अस्वीकार भयो भने शिथिल शरीर लिएर नेपालमा के गरी खाने हो ७तिस त्यही माथि अहिलेको छानविन प्रक्रिया यति कठोर छ कि पहिला जस्तो माओवादी भजाएर सजिलै भिसा पाउला भन्ने नसोचेपनि हुन्छ।

क्याम्पमा बस्दा बस्दा आजित भएकाहरुले आत्महत्याको प्रयास गरेको, आफनै ओठ सिलाएर बसेको समाचार त कति आउँछन कति।

केही सकारात्मक कुरो
यति धेरै नकारात्मक र डरलाग्दा कुरा लेखेपछि एकदुई वटा चाहि अलि सकारात्मक र राम्रा कुरा लेख्न पाए हुने हो। तर के गर्ने, त्यस्तो कुरो केही छैन।

अघिल्लो साल अष्ट्रेलियामा नयाँ पार्टीको सरकार चुनिएको छ। यसको मुख्य एजेण्डानै त्यस्ता अवैध बाटोबाट आउनेहरुलाई नियन्त्रण गर्ने भन्ने थियो। त्यसैले यो सरकार त्यस्ता डुङ्गावालाको बाटो बन्द गर्न साम दाम दण्ड भेद जे गर्नपर्ने हो गरिरहेको जस्तो छ।

त्यसैले यदि अलिक बुझेको मान्छेको कुरो लाग्ने भए डुङ्गाबाट अष्ट्रेलिया आउने सपना देख्न छोड्नुस्। त्यो डुङ्गामा चढन त्यसै पनि दलाललाई आठ दश लाख बुझाउन परिहाल्छ। बरु त्यो पैसाले नेपालमै गएर केही गर्नुस्।

9 thoughts on “डुंगामा अष्ट्रेलिया? अहँ, कोशिसै नगर्नुस्”

  1. ramesh says:
    February 23, 2014 at 7:37 pm

    आफु त ६५ र्ष सम्म यूके बसिन्छ, तेस्पछि पेन्सन मा नेपाल आइन्छ, चिसो ठाम मा (सडक बात -२०-२५ मिनेट) घर बनाइञ्च सानो, केहि लोकल कुखुरा र बाख्रा पालिन्छ, आफै कोदो को सोमरस बनाउन सिकिन्छ, दिन मा २-३ गिलास कोदो को खाइन्छ र आराम ले दिन काटिन्छ, कुनै ठुलो महत्वकांक्षा छैन, जिन्दगि को मजा त तेतिखेर होला जस्तो लाग्यो. बरु छिट्टै पेन्सन को उमेर भैदिए जस्तो लाग्यो मलाइ त.

    Reply
  2. डिल्ली says:
    February 23, 2014 at 5:57 pm

    लाखौँको खर्च गरेर हिड्न सक्ने नेपालीहरू विदेश जानु “बाध्यता”को नाम दिन्छन् । झण्डै आधा करोड खर्च गरी ज्यान फालेर अबैध रुपमा अमेरिका पुग्ने बाटो रोज्छन् । ८-१० लाख खर्चेर शरणार्थी बन्न अष्ट्रेलिया हान्निन्छन् । अरबबाट अबैध बाटो युरोप पुग्न मानव तस्करको फन्दामा पर्छन् । लाखौँको खर्च गर्दै कोही बिदेशी जेलमा गुमनाम इहलिला समाप्त गर्छन् । सबैको ओठ ओठमा झुण्डिएको हुन्छ “बाध्यता”ले विदेश । तर देश भित्रको यति ठूलो रकम यसरी नै “बाध्यता”को नाममा विदेशिएको छ । सहिष्णुता, विश्वास र सहकार्य गरेर हिड्न जानेन नेपालीले । इमान्दारलाई विश्वास गर्न जानेन नेपालीले केवल जान्यो त अविश्वास गर्न । आकासबाट फल खस्तैन बोटबाट मात्र खस्छ विदेशमा रुखमा पैसा फल्दैन भन्नेलाई विश्वास गर्दैन नेपालीले । जस्ले आकासबाट फल खस्छ तेरोकाम विदेशमा गएर मुख आँ गरेर बस्ने मात्रै हो फल आफैँ मुखमा आइपुग्छ, रुख रुखमा पैसा फल्छ विदेशमा तेरो काम टिप्ने मात्रै हो भन्नेको पछि कुदिरहेको छ नेपाली । अपराधि र दुरुह नेपाली विश्वास पात्र बने जस्ले आश्वासनका झुत्रा सपना बाँढे उही विश्वासिला देखिए । दुःख पाउने पनि नेपाली दुःख दिने पनि नेपाली । मानव तस्कर नेपालीकै लालिपपमा एक मुठ्ठी हरियो घाँसमा लोभिने भेडा बाख्रा जस्तो व्यवहार देखाउने पनि नेपाली । अर्काले रोपिदिएको “जाति” “धर्म” “क्षेत्र” र “पहिचान”मा रुमलिदै मृगतृष्णामा जीवनकै पर्वाह नगरी गुमनाम अन्त्य रोज्दैछन् नेपाली । कर्म गरेर खाने पौरखी हातलाई भोकै मार्दैन नेपालले । पार्टीका हजारौँ हजार अपराधीलाई खुवाएर पनि बाँचेकैछ स्वदेशमा नेपाली ।

    Reply
  3. Narayan says:
    February 23, 2014 at 2:01 pm

    हैन होउ यदि विदेश नै नगई हुदैन भने १,२ लाख खर्चेर खाडी तिर हिडे भइ हाल्यो नि यार
    पढेलेखेको मान्छे ले सेतो सुगुर्कै गुलामी हुनु पर्चा भन्ने के छ र ? कालो को हुदा पनि १,२ लाख मज्जा ले कमौन सकिन्छ त यार ? त्यसको उदाहरण को लागि मलाई नै लिनु हुन्छ भने पनि हुन्छ . १५०० को सुरु को जागिर भए पनि गर्छु भने खोजे चार तिर कहिँ नपाए पछि कतार आए जम्मा जम्मी ७०,००० खर्च भयो १५०००० महिना को कमौछु खर्च सप्पै काटेर ८० देखि १२०००० सम्म मज्जा ले बचौदै छु त . न त महिना दिन सम्म डुंगा मा कुद्नु पर्यो न त कुनै पुलिस देखि भाग्नु पर्यो न त मगन्ते भएर refugee कै रुप मा बस्नु पर्यो अननद
    सके सम्म काम गर्ने हो नसक्ने भएपछि घर जाने मज्जाले हासी खुशी बस्ने 🙂

    Reply
  4. sujan joshi says:
    February 23, 2014 at 1:52 pm

    तैपनि कहिलेकाहि कुरा हुदा भन्छन् 
    बिदेशमा मोज गरि रहेछ

    म जापानमा लाख कमाउछु
    मेरा साथी नेपालमा करोडका कुरा गर्छन्
    म जापानमा अटसमटस गर्दै रेल चड्छु
    मेरा साथी नेपालमा प्राईभेट कार चड्छन्
    म बिहान आखा मिच्दै कामको लागी निक्लन्छु
    मेरा साथी पिठ्युमा घाम लाग्ने बेला सम्म सुत्छन्
    म दिनमा एक दुई घण्टा आराम गर्छु
    मेरा साथी दिनमा एक दुई घण्टा काम गर्छन् 
    म मध्य रातमा थकानले लखतरान भएर फर्कन्छु
    मेरा साथी मध्य रातमा लडबडाउदै फर्कन्छन्

    तैपनि कहिलेकाहि कुरा हुदा भन्छन् 
    बिदेशमा मोज गरि रहेछ

    मेरो र मेरा साथीहरुको फेसबुकमा राखेको फोटोमा

    मेरो पछाडीको अग्ला अग्ला घर देख्छन्
    तिनीहरुको पछाडीको अग्ला अग्ला हिमाल देख्दैनन्
    म भुलिरहेको समुद्र देख्छन्
    तिनीहरु रमाईरहेको झरना देख्दैनन् 
    मैले पिएको बिदेशी बोटल देख्छन् 
    तिनीहरुको सुध्द कोदोको सोमरस देख्दैनन्
    मेरो वरिपरी गोरो छाला देख्छन् 
    तिनीहरुको वरिपरी निश्चल मन देख्दैनन् 

    तैपनि कहिलेकाहि कुरा हुदा भन्छन् 
    बिदेशमा मोज गरि रहेछस्

    गत महिना अनेक नाममा फेसबुकमा सेयर भएको मेरो स्टाटस हो

    Reply
  5. Navin Rayamajhi says:
    February 23, 2014 at 12:41 pm

    विदेश जानकोलागी किन यति मरिहत्ते गरेको होला? अकाल मै मर्ने गरि पनि किन बिदेशमा जानु?

    Reply
  6. sujan says:
    February 23, 2014 at 8:30 am

    कस्तो मरिहत्ते गर्छन मान्छे हरु छि छि छि !!!

    Reply
  7. chatur rai says:
    February 23, 2014 at 6:54 am

    चंगा उडाउने पैसा नभएको मान्छे म , डुंगामा चढ्ने कुरा नै भएन |

    Reply
  8. रबिन सापकोटा says:
    February 23, 2014 at 4:03 am

    आठ दश लाख हैन, एकलाख रुपैंया मात्र छ भने पनि, आफुमा आत्मविश्वास र अठोट भए हाम्रा सरकारी अधिकृतले राज्यकोषबाट पाउने तलब भन्दा बढी कमाउन सकिन्छ ! संचारमाध्यममा आएकै हो, बाटो छेउमा चटपटे बेच्नेले त दिनको पाँच सय बढी कमाउँछन् ! मात्र हामीले श्रम र मेहनत गर्न लजाउनु र हिच्किचाउनु भएन ! विदेशमा भाँडा माझेको पैसाले नेपाल तिर शान दिने हामी धेरै छौं ! तर, भाँडा माझ्ने भन्दा स्तरीय धेरै काम गर्न पनि लाज लाग्छ हामीलाई ! अन्तत, हेयर कटिंग सेलुन र पान पसलबाट भारतीयहरु ले हाम्रा दाजुभाईले खाडीमा जोखिम मोलेर कमाएको भन्दा धेरै रकम लैजान्छन हामीबाट ! शरणार्थी र दोश्रो दर्जाको झैं भएर विदेशमा बस्नु भन्दा, आफ्नो माटोमा पसिना चुहाए छुट्टै आत्मसन्तुष्टि मिल्छ ! विदेशको कृतिम आनन्दहरु र ल्हासाको सुन को मोह छोडौं ! देशमा आमाले पकाएको भात खाएर परिवार र साथीभाई बिचमा बसेर जिन्दगी गुजार्नुको मज्जा विदेशको युरो वा डलरले कहिले पनि किन्न सक्दैन ! म युरोपबाट लेख्दैछु यो, फर्कदैंछु चाँडै, पढाई सकेर !!

    Reply
  9. kedar says:
    February 23, 2014 at 3:45 am

    …..८ दश लाख खर्चेर तेस्माथि येमराज काल पनी संग संगै बोकेर किन मुन्टीने विदेश भनेको मैले त | अरुले दिएको गफको चास्नीमा भुलेर अमेरिका अस्ट्रेलिया जापान यूरोपका सपना देख्ने सर्बसाधारण ले दुर्गती निम्त्याउनु बाहेक अब केहि रहेन | पर्याप्त एकेडेमिक शिप, ज्ञान र सर्टिफिकेट नभएकाहरुले पश्चिमा मुलुक नताके पानी हुन्छ अब | सर्ब साधारणहरुले त खान बस्न पाउने सर्तमा सोह्र सोह्र घण्टा पनी काम गरिरहेका छन् |

    ……हाम्रा गाउँ घर तिर विदेशमा राम्रो गर्ने एक दुइ जनाको हल्ला धेर फैलिन्छ | बिदेशमा दुख पाउने हजारौंले धेरै त विदेश मै दुख लुकाउँछन् र घरकालाइ भन्छन अनि घरकाले बाँकी मर मसला थपेर दुख लुकाउने भन्दा पनी सुख देखाउँछन् र गाउँमा फ़ुक्छन अनि बाँकी गाउँका ठिटाहरु तिनै हल्लाका भरमा लहै लहैमा लागेर दुख बेसाउँछन् |

    …… बिदेशमा हुनेले ए नआइज, एता त एस्तो दुख छ, बरु आउने खर्चले तेती केहि गर भनेर सम्झाउने हुँदैन, आएर तँलाई दुख दिन्न हौ किन डराउँछस भनेर डाइलग मार्न छोडुम |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme