Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रोल्पाका स्कूले विद्यार्थी फागुन १ यसरी सम्झन्छन्

Posted on February 13, 2014February 13, 2014 by mysansar

२०६० अघिका दिनहरू

फागुन १ अर्थात् जनयुद्ध दिवस । त्यो पनि रोल्पा जिल्लामा। जनयुद्धको उद्‌गम स्थल । मैले २०६० सालसम्म रोल्पाको सदरमुकामको एक बोर्डिंङ स्कुलमा पढें । त्यो दिन हामी स्कुलमा हुन्थ्यौ । असुरक्षाको कारणले गर्दा स्कुल छिटो बिदा हुने पक्कापक्की हुन्थ्यो । तर पुरै बिदा गर्न भने नमिल्ने, फेरि जनयुद्ध दिवस मनाएको आरोप लाग्ला भन्ने डर ।

फागुन १ को दिन बिहानैदेखि माहोल अलि गम्भीर हुन्थ्यो तर हामी बच्चाहरूलाई खासै मतलब हुँदैनथ्यो । लिवाङ बजार पारीका डाँडाहरू बाट दिउँसो १२-१ बजेदेखि नै बम, बन्दुक पड्केको आवाज आउन सुरु गर्थ्यो । पुलिसको साइरन बज्थ्यो, बजारका सबै पसलहरू एकाएक बन्द हुन्थे अनि बजार एकछिन मै सुनसान हुन्थ्यो। कर्फ्यु लागेको जस्तै । मसानघाट जस्तै ।

हामी भने कुन आवाज बमको, कुन थ्री नट थ्री को अनि कुन एस. एल. आर. को भन्ने अड्कल लगाउँदै बस्थ्यौ । स्कुल रोल्पा कारागारको छेउमै भएकोले बम, बन्दुको आवाज आएपछि पुलिसहरुको दौडधुप, बन्दुक बोकेर पोजिसन लिने हतार र त्रास हामीले राम्रोसँग देख्न सक्थ्यौं । दिउँसोको १२-१ बजे नै हामीलाई घर जान गाह्रो हुन्थ्यो । कसैको घरबाट ठुला मान्छे लिन आउँथे भने अरू कतिलाई सरले नै घरसम्म पुर्याइदिनुहुन्थ्यो। कतिपय आफै घर जान्थे । काठमाडौँमा तिहारको बेला जस्तै त्यो दिन रातभरि नै बिस्फोटका आवाज आइरहन्थे । खोला पारिको थामालेक, बाइगाउँ, गर्पाका डाँडामा मशाल जुलुसहरू देखिन्थे ।

सायद पुरै बाल्यकाल त्यस्तै वातावरणमा बितेर होला, युद्ध बिनाको वातावारण कस्तो हुन्छ भन्ने कल्पना पनि गर्न गाह्रो हुन्थ्यो । वास्तवमा हामी कल्पनै गर्न सक्दैनथ्यौ । जनयुद्ध अघिको ‘शान्त’ दिनहरूको संझना नै थिएन । आजको जस्तो दिन (युद्ध रहित) दिन आउला भनेर हामीले सोचेका पनि थिएनौ । आजभोलि मान्छेहरुले ‘नेपाल जस्ताको तेस्तै छ, केहि प्रगति भएको छैन’ भनेको सुन्दा उनीहरुले ती दिनहरु बिर्सेको जस्तो लाग्छ । त्यो पनि यति छिटै ।

जनयुद्ध वा सशस्त्र द्वन्द्व जे भने पनि ती दिनहरूमा, त्यो जटिल समयमा ज्यान गुमाउनेहरूको आत्माको चीर शान्तिको कामना । फेरि ती दिन कहिल्यै नदोहोरियुन् । अब जन्मिने बालबालिकाले शान्त दिनको कल्पना गर्न नसक्ने दिन नआओस् ।

9 thoughts on “रोल्पाका स्कूले विद्यार्थी फागुन १ यसरी सम्झन्छन्”

  1. Sunitamaya says:
    February 15, 2014 at 5:26 am

    अत्यन्त दु:ख का साथ भन्न परिरहेछ कि; फाल्गुन १ बाट सल्केको डडेलोले कतै नेपालको अस्तित्व नै सखाप पार्छ कि भन्ने मनमा ठुलो डर लागिरहेको छ / विकास निर्माण र सुधार को सपना त अब केनै देखिन्छ र एक मुठी सास रहेसम्म आफ्नो परिचय नगुमोस ;यहिनै प्रार्थना गर्दछु : साथै हजारौ शहिद प्रति हार्दिक श्रधान्जली अर्पण गर्दछु/ अपराधीहरु ढलीमलि गरि रहेसम्म कुनैपनि दिन युद्ध फेरि हुन सक्छ / युद्ध निम्त्याउने र युद्ध गराउने हरु सबै ज्युँका त्यूँ छन् तेसबेला भन्दा धरै बलिया पनि भएका छन् / यदि हामी जनता ब्युँझेका हुन्थेंउ भने यिनीहरु उहिलेही सखाप भईसक्थे तर हाम्रो गहिरो निन्द्रा अझै खुलेको छैन /निदाएका लाई मार्न केहि आइतबार छैन /

    Reply
  2. लौटन अवधि says:
    February 14, 2014 at 8:30 am

    देश मा भ्रस्टाचार र कुशासन को प्रतिफल थियो स सस्त्र युद्द ! २०५० साल मा प्रहरी निरिक्षक मा नाम निकालेका एक जना दाजु संग ३५००००.०० मागियो ! पैसा माग्ने तत्कालिन कांग्रेस का एक जना ठुलै नेता थिए ! पक्षि ति दाइ माओबादी भए ! बिद्रोह मा जाने लाइ मान्य हुने आधार दिएर मुलधार मा ल्याउने – राज्य र जनता लाइ सु सासन दिएर बिद्रोही लाइ परास्त गर्ने ठाउ मा जताततै भ्रस्टाचार – प्रहरी, सेना को परिचालन ले आगो मा घिउ थप्ने काम गरेको हो ! यो दोसी र उ दोसी भन्ने भन्दा पनि “बिद्रोह के ले जन्मिन्छ?” तपाइँ हामि छर्लंग भएको छ ! नेता तिनै हुन् – तिन को काम गराई को ताल त्येही हो – कर्मचारी उनै हुन् – जनता ले पाउने सास्ती ज्यु का त्यु छ ! महंगी ले आकाश छोएको छ ! पाइला पाइला मा घुष नखुवाई काम भएको कतै देखिदैन ! चाहे सरकारी होस् या गैर्ह सरकारी काम ! लाग्छ फेरी त्यो दिन टाढा रहेन कि ?

    Reply
  3. विबरण says:
    February 14, 2014 at 8:08 am

    फाल्गुन १ लाई राष्ट्रिय शरम दिवसको (National Shame Day ) रूपमा मनाउनु पर्छ । त्यो दिन हामी नेपाली इतिहासको कालखण्डमा कति सम्म क्रुर र विवेकहिन भएका थियौं भनेर सम्झना गरेर भविष्यमा यस्तो कहिल्यै नहोस भनेर आत्मग्लानी गर्ने दिनको रूपमा विताउनु पर्छ ।

    Reply
  4. डिल्ली says:
    February 14, 2014 at 5:49 am

    जो मरे पनि आखिर नेपाली जनताका छोरा-छोरी मरे । आततायीहरू राजधानीमा आलिसान तरिकाले बसेका छन् । उनीहरूकै भाषा पैँचो लिँदा सायद सामन्ति ठाँटमा उनीहरू छन् छोटे राजनहरू जन्माउँदै । जनताका छोरा-छोरीको युद्धले पिल्स्याएको घाउका खाटा कतिमा बसे कति आलै होलान् । आश्वासनको फोहरामा जीवन गुमाउनेहरू १५००० भन्दा बढी छन् । मर्ने पनि नेपाली, मार्ने पनि नेपाली घाइते पनि नेपाली । सायद नीतिमात्र “उस्पार” बाट ल्याइयो क्यारे । “नयाँ नेपाल” बनाउने सपनामा एक पिँडिले शान्ति, युद्ध र मूर्दा शान्ति देख्यो अर्कोले युद्ध र मूर्दा शान्ति भने नयाँ जन्मिने पिँडिले मूर्दा शान्ति देखिरहेको छ ।

    आश्वासन त धेरै सुनिए । देखिए । सेना र पुलिसको बन्दुक आक्कल झुक्कल देख्कने नेपालीले बम आधुनिक राइफल धेरै नेपालीले देखे भोगे होलान् । कति त्यही बन्दुक र बमकाकारण बैशाखी टेकेर हिडिरहेका होलान् । धेरै अपराधी र तिनका मालिक “नेता”ले अकुत आर्जन गरे । धेरै नेपाली युवाले थोत्रो आरए चढेर मलेसियाको जंगल फाँड्न पाए । बोल्न, मोबाइल बोक्न पाउने (त्यो पनि एकताका त सबै बन्द गरिएको थियो क्यारे) बाहेक सामान्य नेपालीले हलगोरु जोत्न छाडेर मरुभूमीमा गधा जोत्न पाए । पहिलेको उचो शीरलाई निहुर्याएर विदेशमा भाँडा माझ्न पाए ।

    नेपालीले इतिहासको सुई उल्टो घुमेको देख्न र भोग्न पाए । सदियौँ देखिका आडैका छिमेकी “शत्रु” भन्न र ठन्न पाए । जनआन्दोलन, बहुदलीय व्यवस्था जनयुद्ध र लोकतन्त्र र नयाँ नेपाल त यसरी बने जस्तो लागि रहेछ । त्यसमाथी पनि क्रान्तिकारी जनयु्द्धको सार त टाउको माथी विदेशी धोति फहराउन पाइएला जस्तो पो लागिरहेको छ ।

    Reply
  5. कृष्ण भारद्वाज, सिड्नी (अष्ट्रेलिया) says:
    February 14, 2014 at 4:57 am

    बाबुराम र प्रचन्न लाई अन्तरास्ट्रिय अदालतमा पुर्याउनु पर्छ !!
    एकपटक गणेशमान सिंह ले भने जस्तै नेपालका जनता भेडा हुन् !! अगाडिको मान्छे जसको पछि लाग्यो सबै उतै लाग्ने !!!

    Reply
  6. Lohani Indra says:
    February 14, 2014 at 12:58 am

    म कुनै राजनीतिज्ञ त होइन! न त म कुनै विश्लेषक नै हूँ! तर फागुन १ गते लाइ कुनै रास्ट्रिय दिवससंग जोडेर हेर्ने हो भने म चाहिं यो दिनलाइ १९०२ को असोज २ गते र २०५८ को जेठ १९ गते भन्दा पनि शोक व्हिवल कालो मोसो जस्तो दिनको रुपमा शोक दिवस मनाउन चाहन्छु |

    Reply
  7. Anil says:
    February 13, 2014 at 11:59 pm

    कथित जनयुद्धकालमा प्रत्यक्ष देखेका घटनाहरु सम्झदा अहिले पनि कहाली लाग्छ| मान्छे मार्नलाई चरा मारे जति पनि संकोच हुन्थेन| जनताको प्राण एउटा सिपाहीको सनकमा जान सक्थ्यो उ दोषी हुनुपर्थेन मारेपछि जबर्जस्ती माओबादिको बिल्ला लगाइन्थ्यो| हामी त्यो अवस्थाबाट पार भएका छौ आफू-आफूमा धेरै लडीसक्यौ अब देशको लागि केहि गर्ने बेला आएको छ|

    Reply
  8. Prakash says:
    February 13, 2014 at 8:20 pm

    “सायद पुरै बाल्यकाल त्यस्तै वातावरणमा बितेर होला, युद्ध बिनाको वातावारण कस्तो हुन्छ भन्ने कल्पना पनि गर्न गाह्रो हुन्थ्यो ।”
    हो साच्चै हामी राजधानी बस्नेले रोल्पाको ब्येथा बुझे जस्तो गर्नुको केहि अर्थ छैन|

    Reply
  9. ekraj says:
    February 13, 2014 at 6:35 pm

    एक दम राम्रो सोचाई | आशा छ हाम्रा राजनैतिक आतंकारी को ह्रिदयेले पनि काम गर्न सुरु गरोश र दिमाग मा बुद्धि भरिओस, र बिधनग्श, नाश, युद्ध र शान्ति लै छुट्याउने तागत आओस |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme